के लकडाउन गरेर मात्र यो समस्याको समाधान होला र ?
आज विश्व कोभिड १९ नामक भाइरसबाट आक्रान्त छ । एशिया होस या यूरोप वा अति शक्तिशाली राष्ट्र भनिने अमेरिका यो आलेख तयार पार्दासम्म यो भाईरसबाट करिव १ लाख २६ हजार भन्दा बढी मानव जातिको मृत्यु भईसकेको छ । करिव १९ लाख भन्दा बढी संक्रमित भैसकेको छ । यसको खोप तथा औषधीको लागि विश्वका वैज्ञानिकहरु अहोरात्र जुटिरहेका छन् तर उपलब्धी केही हुन सकेको छैन । विश्वका अति लोकतान्त्रिक पद्दती अपनाउने देशहरु पनि आफ्ना नागरिकहरुलाई लकडाउनको नाममा घरमा थुनिरहेका छन् । के लकडाउन गरेर (थुनेर) मात्र यो समस्याको समाधान होला र ? यसरी लकडाउन लम्बिदै जाने हो भने भोलिको दिन सम्पूर्ण विश्वको लागि अझ भनौ मानव जातिका लागि झन ठुलो चुनौति तथा भोकमरीको सामना गर्नुपर्ने हुन सक्छ । यसका लागि विश्वका सरकारहरुले के सोचेका छन्? भोलिका दिनहरुमा खाद्यान्न संकटका कारण अझ ठुलो भोक र रोगको शिकार हरेक देशका नागरिकहरु हुने पक्का पक्की छ । यसका लागि विश्वले आज नै अथवा अहिले नै सोच्नु पर्ने बेला आएको होईन र? के हामीले अति विकसित भन्ने ठुला राष्ट्रहरुसंग प्रश्न गर्ने बेला आएको होईन र यो भाईरस सर्वप्रथाम कहाँबाट उत्पत्ति भयो? उत्पत्ति पश्चात् त्यो देशले सम्पुर्ण मानव जातिको रक्षार्थ के कस्तो कदम चाल्यो? के यो भाईर आफै उत्पत्ति भएको हो या उत्पत्ति गराईएको हो? के यो भईरसको भ्याक्सीन तयार भएकै छैन वा तयार भएर पनि लुकाईएको छ? हाम्रो जस्तो अल्पविकसित देशका लागि यसबाट हुने असरका बारे कस्ले सोच्ने? आदी आदी । हाम्रो जस्तो देशमा त अहिले अन्न बाली भित्र्याउने र रोप्ने बेलामा युवा शक्ति वा किसानलाई कोठामा थुनेर राखिएको छ जसले गर्दा ती तन्नेरी किसान भोलिको दिनमा डिप्रेसनमा गई मानसिक रोगी हुन सक्ने सम्भावना रहन्छ जसले गर्दा देशको उत्पादकत्वमा ह्रास आउने निश्चित छ । देशमा भएका उद्योग धन्दा सवै बन्द छन् रोजगारीका अवसरहरु दिन प्रतिदिन घट्दो छ भने विश्व बजारमा गएका हाम्रा युवाहरु पनि यसैका कारणले स्वदेश फर्कने सम्भावना अधिक छ । के सरकारले यसका बारेमा अजै सोच्नु पर्ने होईन र? भोलि विभिन्न देशमा रहेका युवाहरुलाई उहाँहरुले विदेशबाट आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशको उन्नती तथा प्रगतिका लागि परिचालन गर्ने के कस्तो रणनीति तयार गर्नुपर्ने हो त्यसका बारेमा हाम्रा सम्पूर्ण राजनैतिक पार्टीहरुले आजदेखि सोच्नु पर्ने होईन र ? यदि यस्तो हुन सकेन भने भोलिका दिनमा देशका सामु ठूलै चूनौति खडा हुने निश्चित छ । यसैले हाम्रो देशको सरकारले विश्वले जे जस्तो तरिका वा रणनीति अपनाएता पनि आफ्ना देशमा भएका किसान तथा गरिखाने व्यक्तिहरुका लागि वाह्य संसर्गबाट टाढा राखी काम गर्न गराउन पाउने व्यवस्था आजैका दिन देखि मिलाउनु पर्ने हो कि? अन्यथा आजैका दिनदेखि स्वदेशी उत्पादनमा हामीले जोड नदिने हो भने भोलिका दिनमा हामीले झन् ठुलो जटिलताको सामना गर्नुपर्ने देखिन्छ किनकी एकातिर उत्पादन छैन अर्कातिर भएका कृषकहरु पनि डिप्रेसको शिकार । यसमा सरकारको ध्यान बेलैमा जाओस् । यसरी मानिसहरुलाई लकडाउनको नाममा महिनौसम्म थुनेर राख्ने हो भने हामी मात्र हैन अन्य मुलुकहरु जहाँबाट हामी खाद्यान्न लगाएत सामाग्री आयात गर्छौ त्यहाँ पनि यो समस्या आउने निश्चित छ । जसका कारणले भोलिका हरेक देशका नयाँ पिंढीले यो शासन व्यवस्था र यसका संचालकहरुसंग अवश्य प्रश्न गर्नेछन् कि के यो व्यवस्था जवाफदेहिता विहिन व्यवस्था हो? के यो वैज्ञानीक युगले मानव सभ्यतालाई नै संकटमा पुर्याएको हो ? आदि आदि ।
लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक छ : मुख्यमन्त्री पौडेल
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने जानकारी दिए । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो”, उनले भने । राहत वितरणको काम बल्ल शुरु गर्ने बेला भएको उनको तर्क थियो । उनले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताए । मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका हुन् । रासस
लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिन ग्रील तथा स्टील व्यवसायी महसंघले प्रदान गर्याे मेनक्याच स्टीक
काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महसंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरिय प्रहरी बृत कमलपोखरीका प्रमुख भरत बहादुर बिकलाई मेनक्याच स्टीक निशुल्क हस्तान्तरण गरेका छन् । नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न लकडाउन उलंघन गर्नेलाई सुरक्षित किसिमले सोसियल डिस्टेन्स कायम गरि नियन्त्रणमा लिन उक्त मेनक्याच स्टीक उपयोगी हुने महासंघले जनाएकाे छ । यदि सन्क्रमित व्यक्ति भए दुबै जना सुरक्षित हुने हुँदा यसकाे महत्त्वलाई महसुस गरी आफ्नो जिउ ज्यान जोखिममा राखी जनताको जिधनको सुरक्षाको निम्ति अहोरात आफ्नो ड्युटिमा खरिरहेका सुरक्षाकर्मीलाई सुरक्षित राख्न र मनोबल बढाउन उपयाेगी हुने उक्त स्टीक दिइएकाे महासंघले बतायाे । नेपालमै उपलब्ध सामानको प्रयोग गरि तयार गरिएको मेनक्याच स्टीक महासंघले देशका अन्य स्थानमा पनि उपलब्ध गराउने जानकारी अध्यक्ष कटुवालले बताए ।महासंघले यस अघि आफ्ना मातहतका जिल्लाहरु ललितपुरले सर्जिल मास्क र सेनिटाइजर मकवानपुर जिल्लाले श्रमिकहरुलाई खाद्यान्न, ठूलो भर्र्याङ्सु इकाइबाट हात धुनको लागि पानी टेन्किको व्यवस्था गरेको थियो । साथै, अध्यक्ष कटुवालले सामुदायिक प्रहरी सेवा नक्सालका प्रहरी प्रमुख वसन्त थापालाई २०० थान सर्जिकल माक्स प्रदान गरेका छन् ।
प्रदेश नं ५ सरकारबाट स्थानीय तहलाई कोरोना विशेष अनुदान
काठमाडौं । प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशका १०९ स्थानीय तह र १२ जिल्ला समन्वय समितिलाई गरी १३ करोड ६० लाख रुपैयाँ विशेष अनुदान उपलब्ध गराउने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । विशेष अनुदानअन्तर्गत प्रत्येक स्थानीय तहलाई १३ करोड रुपैयाँ र जिससलाई ६० लाख रुपैयाँ उपलब्ध गराइने छ । बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिकालाई २०/२० लाख रुपैयाँ, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई रु १५/१५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाखका दरले रकम उपलब्ध गराइने निर्णय भएको प्रेस सल्लाहकारले जानकारी दिए । प्रदेशभित्रका १२ जिससलाई पाँच लाखका दरले उपलब्ध गराउन र जिससको अनुगनको कामलाई प्रभावकारी बनाउन कार्याधिकार तोकिएको छ । बैठक र अनुगमनमा जिससका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने तोकिएको छ । सरकारले उपलब्ध गराउने कोरोना विशेष अनुदानको बजेट स्थानीय तहले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहतसम्बन्धी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम स्थानीय तहमा सञ्चालन गरिएको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्नुपर्ने तथा लकडाउनबाट अतिप्रभावित श्रमिक तथा निम्नवर्गीय व्यक्तिलाई खाद्यान्न सामग्री खरीद गरी राहतस्वरुप वितरण गरिनुपर्नेलगायत मापदण्डसमेत तय गरिएको छ । रासस
जनताको घरमा चुलो बलेको छ कि छैन भन्ने अनुगमन गर्दै वडाध्यक्ष
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका—७ का वडाध्यक्ष रामलखन थारुको दिनचर्या बदलिएको छ । वडाध्यक्ष थारुले आफूहरु जनताको घरमा चुलो बलेको छ कि छैन भन्ने अनुगमन गर्दै चुलो नबल्ने अवस्थामा अत्यावश्यकीय खाद्यान्नको व्यवस्था गरिरहेको बताए । पहिले वडावासी जनता अध्यक्षलाई भेट्न बसेको ठाउँमा आउँथे, अहिले भने जनता भेट्न वडाध्यक्ष थारु उनीहरुको घरदैलोमा पुग्ने गर्छन । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दी लम्बिदै गएपछि बाँकेका जनप्रतिनिधिहरु जनताको घर–घरमा पुगेर बन्दाबन्दीले दैनिक जिविकोपार्जनबाट प्रभावित बन्न पुगेका मजदूर तथा विपन्न समुदायलाई तत्काल राहत वितरण गर्ने गरेका छन् । “सबैलाई राहत वितरण गर्दा समय लाग्न सक्छ, त्यसैले हामी जनताको घर–घरमा पुगेर साँझ बिहान खानेकुराको समस्या परेकालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने गरेका छौं, उनले भने, “लकडाउनका कारण कोही पनि वडावासीलाई हामी भोकै बस्न दिदैनौँ, सबैको घर–घरमा पुगेर अवस्था अनुसारको सहयोग गरिरहेका छौं ।” नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० का अध्यक्ष कृष्ण कार्कीले बन्दाबन्दीबाट प्रभावित अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई दैनिक उपभोग्य सामग्री सङ्कलन गरेर वितरण गर्दै आएको बताए । दैनिक गरिखाने मजदूर तथा विपन्न समुदायलाई साँझ विहान खानाको अभाव भएपछि वडा नं. २० ले घर–घरमा पुगेर अति आवश्यक खाद्यान्न वितरण गरेको उनको भनाइ छ । राप्तीसोनारी गाउँपालिका— ६ का वडाध्यक्ष जनक थारुले जनताको घरमा चुलो नबल्ने अवस्था रहेको जानकारी प्राप्त भएको आधा घण्टामै राहत सामग्रीसहित सम्बन्धित व्यक्तिको घरमा पुग्ने गरेको जानकारी दिए । “लकडाउनका कारण काम गरेर खाने विपन्नहरुलाई धेरै समस्या परेको छ, लगत सङ्कलनको काम भइरहेको छ तर दाल चामल नभएर चुलो नबल्ने अवस्था रहेमा तत्काल फोन गर्न आग्रह गरेका छौँ”, उनले भने, “फोन आउनासाथ आवश्यक राहतसहित जनताको घरदैलोमा पुगेका छौं, यो जनताको सेवा गर्ने मौका पनि हो ।” कोरोना भाइरस महामारीको त्रास फैलिएका बेला वडाध्यक्षनै घर–घरमा राहत र सहयोग लिएर आउन थालेपछि वडावासी दङ्ग छन् । स्थानीय अगुवा अमर खड्काले भने, “अहिलेको जटिल परिस्थितिमा पनि जनप्रतिनिधिले घर–घरमा स्थानीय सरकारको उपस्थिति जनाएको छ, यो खुशीको कुरा हो ।” खजुरा गाउँपालिका वडा नं.४ का अध्यक्ष तीलकवीर सुनार हिजो–आज वडा कार्यालय र घरमा भेटिदैनन् । “वडावासी जनतालाई भोकै बस्ने अवस्था आउन नदिन सजक छौं, टोल–टोलमा पुगेर अवस्था अध्ययन गरी नयाँ व्यक्ति प्रवेश गर्न नदिन लागि परेका छौं”, उनले भने । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकावासी कोही पनि बन्दाबन्दीका कारण भोकै बस्न नपर्ने गरी आवश्यक तयारी गरिएको बताए । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बन्दावन्दीका कारण समस्यामा परेका मजदूर तथा विपन्न समुदायलाई सहयोगका लागि वडाध्यक्षलगायत सबै जनप्रतिनिधिलाई जनताको घर–घरमा परिचालन गरेको बताए । रासस
अकुत सम्पत्ति आर्जन गरी श्रीमतिकाे खातामा जम्मा गर्ने त्रिभुवन विमानस्थलका कर्मचारीविरुद्द २ करोड बढी भ्रष्टाचारकाे मुद्दा
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडाैंका एक्सरे टेक्निसियन राज कुमार ढकाल विरुद्द २ कराेड बढीकाे भ्रष्टाचारको मुद्दा दायर गभएकाे छ । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले बुधबार उनी विरुद्द विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे हाे । उनले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले उनी विरुद्द अदालतमा मुद्दा दायर गरेको बताएको हो । उनले दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको खुलेको छ । उ आयोगले सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको हुँदा निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चलरअचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको बताइएको छ। ढकालले आफ्नो श्रीमतीको नाममा समेत घर जग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात रहे/भएको लगानी तथा खर्च गरेको पाइएकोले उनी विरूद्द मुद्दा दायर गरिएकाे विज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको देखिंदा ढकाललाई बिगो दुई करोड दुई हजार आठ सय छ्यासी रुपैया पैसठी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुनसमेत जनाइएको छ ।
कोरोना संक्रमितको पहिचान नखुलाईदिन आग्रह
काठमाडौं । कोरोना संक्रमितहरुको पहिचान नखुलाईदिन सरकारले आग्रह गरिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको पहिचान गोप्य राखिदिन आग्रह गरेका हुन् । विभिन्न संचारमाध्यममा कोभिड १९ का बिरामीहरुको वस्तृत व्यक्तिगत विवरणहरु प्रसारण गरिएकोले यस्तो नर्गन देवकोटाले आग्रह गरेका छन् । निजको अनुमती बिना उनको व्यक्तिगत विवरण सार्वजनिक गर्न नपाउने उनले बताए । जनस्वास्थ्यको दृष्टिकोणबाट मन्त्रालयले आवश्यक विवरण आफै दिने उनले बताए ।
निओस्फेयरले विद्यार्थीहरुलाई निःशुल्क अनलाईन ट्रेनिङ्ग दिँदै, सहभागी हुन के गर्ने ?
काठमाडौं । निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरु सञ्चालन गर्दैछ । उक्त ट्रेनिङ्ग सबै उमेर समूहका विद्यार्थीलाई हुने गरी प्रोग्रामिङ्ग र ग्राफिस डिजाइनिङ्गमा केन्द्रित भएर दिइने छ । निओस्फेयरका अनुसार उक्त कक्षाहरुमा १००० विद्यार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराइनेछ । अहिलेको परिस्थितिमा विद्यार्थीहरुको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यका लागि तयार हुनको निमित्त नेओस्फेयरले उक्त कक्षा सञ्चालन गर्न लागेको हो । इच्छुक विद्यार्थीहरुले निओस्फेयरको वेवसाइट www.neosphere.com.np मा गएर रजिष्ट्रर गर्न सक्नेछन् । शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पुर्याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ । विश्वभर फैलिएको कोभिड-१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि हामी सबै घर बस्न बाध्य भएका छौं ।