विकासन्युज

डेनमार्कमा एक महिनादेखि बन्द विद्यालयहरु खुल्न थाले

कोपेनहेगन । कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोविड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए । तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ । सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएको छ । रासस–एएफपी

उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु

अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै १ सय वटा घरमा क्षति पुगेको छ । ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ र उनीहरुको मुख्य पेशा माछा मार्ने हो । ताराबाका प्रहरी प्रवक्ता डेभिड मिसालले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको बताए । दुबै समुदायबीचको उक्त हिंसाको मुख्य कारण भने थाहा भइसकेको छैन । स्थानीयबासीका अनुसार दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ । सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन् । हिंसात्मक झडप भएको स्थानमा सशस्त्र प्रहरी खटाइएको छ । रासस–सिन्ह्वा

मृत्यु संस्कारमा जानेबाहेक अरूलाई सवारी पास नदिने

काठमाडौं । परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि जानेले सवारी पास नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीड हुन गई लकडाउनको पालना नभएको भन्दै अन्य कारण जाने व्यक्तिलाई पास नपाउने भएका हुन् । पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँग सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु बढ्दो क्रममा घर फर्किरहेका छन् । काेराेनाकाे कहरसँगै उपत्यकामा अलपत्र परेका तथा विशेष कामले पनि लामाे दुरीसम्म हिडेर जाने बाध्यतालाई लिएर गृहमन्त्रालयले हिजाे मात्र (बैशाख २ गते) इ – पासकाे लिने व्यवस्था गरेकाे थियाे ।

पासको दुरुपयोग गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस्, ट्राफिक प्रहरीको कारवाहीमा पर्नुहाेला !

काठमाडौं । कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएको लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न लागेको हो । सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए । उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरि अबस्था हेर्न, पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका छन, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निग्रानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताए । हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड तथा १८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो अनावश्यक हिड्डुल गर्न र पासको दुरुपयोग समेत रोक्नका लागी सिभील प्रहरी खटाउनुको साथै सिसिटिभीबाट समेत निग्रानी गरिनेछ । लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने। ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेकोछ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ । ट्राफिक प्रहरी महाशाखाले तिब्रगतिमा सवारी नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न सबैमा अनुरोध समेत गरेको छ ।

लकडाउनकाे समयमा ज्याेति विकास बैंककाे देशैभरका विभिन्न शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण समेत बढिरहेको र जोखिम न्युनिकरणको लागि सरकारले हाल जारी रहेको लकडाउनको अवधि लम्ब्याएर वैशाख १५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । साेही अनुसार ज्याेति विकास बैंकले पनि वैशाख ३ गतेदेखि वैशाख १५ गतेसम्म विभिन्न शाखा कार्यालयबाट सेवा सुविधा दिने बुधबार नयाँ सूचना मार्फत जानकारी गराएकाे छ । लकडाउनकाे परिस्थिति सृजना भएकाे शुरूवातदेखि विभिन्न शाखाबाट सेवा दिँदै आएको यस विकास बैंकले पनि कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्य संवेदनशिलतालाई मनन गर्दै सो अवधिभर बैंकका विभिन्न शाखा कार्यालयहरु दिनको दुई घण्टा सञ्चालनमा ल्याउने जानकारी गराएको छ । बैंकले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौं उपत्यका सहित बाहिरका समेत गरी निम्न शाखाबाट सेवा प्रदान गर्ने छ । यस अवधिमा बैंकले निक्षेप संकलन तथा भुक्तानी र रेमिट्यान्टसँग सम्बन्धित सेवाहरु प्रदान गर्ने छ । यसका साथै, सेवा लिने क्रममा केहि गुनासा तथा केही जानकारी लिनुपरेमा विकास बैंकका कर्मचारीहरुलाई निम्म नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था विकास बैंकले गराएकाे छ ।

खडेरी पीडित किसानलाई मकैको बीउ

काठमाडौं । गत वर्षको खडेरी पीडित किसानलाई हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाले मकैको बीउ वितरण शुरु गरेको छ । गत वर्ष भएको लामो समयको खडेरीका कारण मकै छर्न नपाएका र छरेका मकैको बिरुवासमेत खडेरीले मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ वितरण शुरु गरिएको हो । खडेरीका कारण मकैको बीउविहीन बनेका किसानलाई बाहिरी जिल्लाबाट खरिद गरेर ल्याइएको मकैको बीउ प्रतिघर चार केजीका दरले वितरण शुरु गरिएको नगरप्रमुख इवन राईले बताए । “खडेरीका कारण मकैको बीउ मासिएको क्षेत्र, आवश्यक पर्ने बीउको परिमाण र बीउ खरिदका लागि आवश्यक बजेट निकासाका लागि माग गर्न ११ वटै वडा कार्यालयलाई पत्राचार गरिएको थियो”, उनले भने, “बीउ नै मासिएपछि समस्यामा परेका किसानलाई ध्यानमा राखेर वडा कार्यालयको मागको आधारमा नगरपालिकाको तर्फबाट निःशुल्क मकैको बीउ वितरण शुरु गरिएको हो ।” जिल्लाको प्रमुख बालीका रुपमा लगाइने मकै छर्ने बेला शुरु भएको अवस्थामा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरीपीडित किसानलाई निःशुल्क वितरण शुरु गरेपछि किसानसमेत हर्षित बनेका छन् । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ किसानलाई वितरण शुरु गरिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, बडहरे, मङ्गलटार, दुर्छिम, सल्ले, राजापानी, अर्खौलेलगायत ११ वटै वडामा गत वर्षको वैशाख र जेठमा छरेको मकैको बिरुवा लामो समयको खडेरीले सुकेर सोत्तर भएको थियो । खडेरीका कारण कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् । जिल्लामा मकै छर्ने सिजन गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरेका थिए । तर, बेमौसममा छरिएको मकैको बीउ उम्रिए पनि उत्पादन भने नदिएको किसानहरुले बताएका छन् । नगरपालिकाको दूधकोशी र सुनकोशी किनार आसपासमा छरिएको मकै खडेरीले सबैभन्दा बढी सोत्तर बनेको थियो । विसं २०६८ मा सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा विसं २०१८ र २०३४ पछि २०७६ सालमा लामो समयसम्म खडेरी गएको स्थानीयवासीले बताएका छन् । खडेरीले मकैको विरुवा सुकेपछि कतिपय किसानले उखालेर गाईवस्तुलाई घाँस खुवाएका थिए भने कतिपय किसानले उखालेर बारीमै छाडेका थिए । मकैको बीउ नै मासिएपछि नगरपालिकामा खाद्यान्न सङ्कट निम्तिएको छ । उता, खोटेहाङ गाउँपालिकाले पनि यसअघि नै खडेरीपीडित किसानलाई ७५ प्रतिशत अनुदानमा ८ सय केजी मकैको बीउ वितरण गरेको थियो । काठमाडौंबाट एक लाख २० हजार रुपैयाँमा खरिद गरेर ल्याइएको मकैको बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । गाउँपालिकाले वडा नम्बर–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजार तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई मनोकामना–३ र देउती जातको मकैको बीउ वितरण गरेको थियो । किसानलाई वितरण गरेको मकैको बीउले डढुवा सहन सक्ने, ध्वाँसे लाग्न नदिने र घोगा नकुहिने गाउँपालिकाले दाबी गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्षको खडेरीले ठूलो क्षति गरेको थियो । पूर्वी पहाडी भेगमा पर्ने खोटाङ जिल्लामा खडेरीले अन्नबाली सखाप भएपछि अधिकांश स्थानीय तहमा भोकमरी शुरु भएको छ । गाउँमा भोकमरी शुरु भएपछि जिल्लाका अधिकांश युवापुस्ता दैनिक ज्यालादारी काम गर्न भारत गएका छन् । कोरोना भाइरसको महामारी भारतमा समेत फैलिएसँगै लकडाउन घोषणा गरिएपछि उनीहरु जिल्ला फर्कन पाएका छैनन् । जिल्लामै दैनिक ज्यालादारी काम गरेर बिहान÷बेलुकाको छाक टार्दै आएकालाई सम्बन्धित स्थानीय तहले राहत वितरण गरिरहेको छ । जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको हलेसी तुवाचुङ नगरपालिकाले राहत अनुदानअन्तर्गत एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिहेको छ । रासस

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको बताइएकाे छ ।  उनलाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केही दिन अगाडि नै मन्त्रिपरिषदमा पुगेको थियो  ।

लकडाउनले बाँकेमा दूध बिक्री नहुँदा पोख्दै किसान

काठमाडौं । बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोखेका छन् । दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले मङ्गलबार दूध खरीद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताए । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन् । दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ । बन्दाबन्दीका कारण डेरीले दूध खरीद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हुँदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताए । गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्कनुपरेको उनको गुनासो छ । ठूलो परिमाणमा दूध सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध सङ्कलनमा ५० प्रतिशत कटौती गरेको छ । आयोजनाले दैनिक १३ हजार लिटर दूध खरीद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर सङ्कलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताए । उनका भने, ‘दैनिक सङ्कलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ । कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध सङ्कलनमा पनि कटौती गर्नुपरेको हो ।’ पोखरा जाने दूधमा ५० प्रतिशत कमी भएसँगै बाँकेमा किसानबाट दूध सङ्कलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताए । ‘लकडाउनको शुरुमा एक हप्ता त होलिडे नै भयो, अहिले त्यस्तो छैन । सबै किसानको दूध खरीद गर्न सकेका छैनौँ, जसले फोन गर्छ, समस्या छ, उसको लिएका छौ । आफै+ व्यवस्थापन गरिरहेका किसानको खोजिनिती गरेका छैनौँ’, उनले भने । रासस