काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘मैले मेरो प्रशासनलाई डब्लूएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’
डब्लूएचओलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र अमेरिका हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर सहयोग गरेको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा डब्लूएचओ ‘असफल’ भएको उनले बताएका छन् । डब्लूएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको उनको आरोप छ ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्लूएचओले कोरोना भाइरस चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको राष्ट्रपति ट्रम्पको गम्भीर आरोप छ । यो अव्यवस्थाका लागि डब्लूएचओ जिम्मेवार हुनुपर्ने उनले बताए । यसअघि पनि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाएका थिए ।
त्यसको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारीलाई राजनीतीकरण नगर्न आग्रह गरेका थिए । ट्रम्पले डब्लूएचओलाई दोषी देखाए पनि अमेरिकामा भने समयमै विज्ञहरुको कुरा नसुन्दा र गम्भीरताका साथ सजगता नअनाउँदा कोरोना संक्रमण बढी फैलिएको र धेरै मानिसको ज्यान गएको भन्दै उनको प्रशासनको आलोचना भइरहेको छ । उनले भने आफूले गरेका सबै काम सही र उपयुक्त रहेको दाबी गरिरहेका छन् ।
कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने पाँच लाख ९२ हजार भन्दा बढी संक्रमित भएका छन् । बीबीसी