लकडाउनले ह्वात्तै घट्यो मोटर बीमामा दाबी
काठमाडौं । लकडाउनअघि बीमा कम्पनीहरुमा मोटर बीमा सम्बन्धि औसतमा दैनिक ५० वटा जति दाबी पथ्र्यो । लकडाउनको अवधिमा सो संख्या दैनिक १ देखि २ मा समित हुन पुगेको छ । लकडाउनले सडकमा सवारी साधन गुड्न नपाउँदा बीमा कम्पनीहरुमा आउँने मोटर दाबीको संख्यामा ह्वात्तै कमी आएको कम्पनीहरुले बताएका छन् । विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले बताए अनुसार लकडाउनकै कारण पहिलेको तुलनामा अहिले मोटर बीमाको दाबी संख्या अत्यन्तै न्युन छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिएको जानकारी अनुसार सडकमा अहिले गाढी ठप्प रहेकाले दुर्घटना कम भएको तथा बीमा दाबी पनि घटेको हो । ‘लकडाउन पहिले दैनिक ४० को संख्यामा सवारी दुर्घटना बीमा दाबी पर्ने गरेको थियो, अहिले मुस्किलले १ देखि २ वटा दाबी पर्ने गरेका छन्, सडकमा गाडीको संख्या घटेसँगै बीमा दाबी समेत एकाएक घट्न थालेको हो’, प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने । यस्तै, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार मोटरको दाबी केही मात्रामा परेपनि संख्या भने घटेको छ । ‘अहिले अलि–अलि दाबी परेपनि पहिलेको तुलनामा घटेको छ, दाबी संख्या घट्बढ भइरहने भएपनि लकडाउनको कारण अर्थतन्त्र नै प्रभावित हुने अवस्था आएमा बीमा कम्पनीहरुले आवश्यक रणनीति अपनाएर अघि बढ्नु पर्छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैद्यवारका अनुसार मोटर दाबी अत्यन्तै कम परेका छन् । तर, जति दाबी परेका छन्, तिनको भुक्तानी बीमा कम्पनीहरुले तुरुन्तै गराउँदै आएका छन् । ‘लकडाउन पहिले एकदिनमा पर्ने मोटर बीमा दाबी अहिले बल्लतल्ल महिनामा दिनमा पर्न थालेको छ, हामी कहाँ परेको दाबीको तत्काल भुक्तानी गर्ने गरेका छौं,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने ।
अम्बे स्टीलसले गर्याे कोरोना रोकथाम कोषमा २५ लाख सहयोग
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा अम्बे स्टीलस्ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । अम्बे स्टीलसका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निम्ताएको आपतकालीन अवस्थामा सहयोग अम्बे स्टीलसले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तर गरेको हो । अम्बे स्टीलसले स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको जानकारी दिँदै आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने प्रतिवद्धता जायर गरेको छ ।
पाकिस्तानमा लकडाउनको अवधि लम्बियो
इस्लामावाद । पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागु भइरहने घोषणा शुक्रबार गरेको हो । केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए । देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २ सय ४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसबाट सवैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८ सय ५१ जना सङ्क्रमित भेटिएका छन् । महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ । शनिबारदेखि मुिस्लम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ । रासस/एएनआई
तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै
काठमाडौं । गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आए यता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ । त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् । तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको आठ करोड ३१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् । चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो । रासस
पैदलै थातथलो फर्किने क्रम बढ्दै
काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौँबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए । “लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र रु”, उनले भने । यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौँ बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौँमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए । यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए । रासस
जनप्रतिनिधिहरुको सक्रियता पछि फर्किन थाले मकवानपुरका मजदुर घर
काठमाडौं । लकडाउनको कारणले काठमाडौं र पोखरामा अलपत्र परेकाहरु मकवानपुर फर्किन थालेका छन् । संभिर सांसद र स्थानिय तहको सक्रियता पछि मकवानपुरका नागरिकहरु जिल्ला फर्किन थालेका हुन । मकवानपुरका संघिय सांसद कृष्ण प्रासद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, प्रदेश सांसद प्रेम पुलामी, इन्द्रबादुर बानिया तथा गाउँपालिका र वडासगँको संयोजनमा मकवानपुका नागरिकहरुलाई देशैभरबाट उद्धार सुरु भएको छ । काठमाडौंमा अलपत्र परेकाहरुका लागि पुरानो नारायणी यातायात कम्पनी प्रालि र नयाँ नारायणी यातायात कम्पनी प्रालिको सहयोगमा बस व्यवस्थापन गरि उद्धार भइरहेको हो । पुरानो नारायणी यातायात कम्पनी प्रालिका सचिव ठाकुरनाथ सुवेदीले कम्पनीले बसको व्यवस्थापन गरि लकडाउनको कारणले काठमाडौंमा रहेकाहरुलाई जिल्ला ल्याउन थालिएको बताए । उनले भने २० वटा बस मार्फत उद्धार मकवानपुर जिल्लाकालाई ल्याएको जानकारी दिए । मकवानपुरको कैलाश गाउँपालिकामा रहेकाहरुलाई दश वटा बस मार्फत काठमाडौंमा ज्वरो जाँच गर्ने, मास्क, ग्लोव्स र स्यानीटाइजरको प्रयोग गरेपछी मात्र बसमा राखेर मजदुरी गर्दै आएका नागरिकलाई ल्याउन लागिएको हो ।
लकडाउन फेरि १५ दिन लम्बियो, यस्ता छन् उच्चस्तरीय समितिका निर्णय
काठमाडौं । सरकारले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको हो । यो सँगै अब लकडाउन बैशाख ३० गतेसम्म रहनेछ । सरकारले कोरोना भाइरसको जोखिम कम गर्नको गर्नको लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । बैठकले कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय पनि गरेको छ । विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने निर्णय भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने समितिीले निर्णय गरेको हो । यो सँगै ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा थियो भने अहिले बैशाख १५ गतेसम्मको लागि लकडाउन कायमै छ ।
पुनःनिर्माणको पाँच वर्ष : २० हजार घर बनाउन बाँकी
काठमाडौं । शुक्रबार वैशाख १२, अर्थात् गोरखा भूकम्पको पाँच वर्ष बितेको छ । यो पाँच वर्षमा पुनःनिर्माणका सम्पूर्ण काम सम्पन्न गर्ने योजना पूरा हुनसकेको छैन । निजी आवास पुनःनिर्माणको कामले तीव्रता लिए पनि अझै २० हजारभन्दा बढी घर निर्माण सम्पन्न भएको छैन । धादिङ जिल्लामा सर्वेक्षणबाट पहिचान भएका कूल लाभग्राही ७० हजार ५ सय ८१ रहेको थियो । सर्वेक्षणमा आफ्नो घर छुटेको भन्दै गुनासो गरेपछि थप भएका लाभग्राही १३ हजार ८ सय ५९ गरी ८४ हजार ४ सय ४० परिवार लाभग्राही सूचीमा छन् । यसमध्ये पहिलो किस्ता लिने लाभग्राही ७९ हजार ७ सय ६२ छन् । हालसम्म घर निर्माण सम्पन्न गरी ६३ हजार १ सय ७ परिवारले तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका व्यवस्थापन सूचना प्रणालीविज्ञ इञ्जिनीयर दीपेन्द्र पौडेलले बताए । यसरी हेर्दा अझै २१ हजार ३ सय ३३ नागरिकको घर निर्माण हुनसकेको छैन । धादिङ जिल्लामा एक हजार ४ सय २ परिवारले पुनरावेदन दर्ता गराएका छन् भने लाभग्राही परिवर्तनका लागि ४ सय ६९ परिवारले निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्रवलीकरण (रेक्ट्रोफिटिङ) का लागि पाँच हजार १ सय १२ परिवार लाभग्राही कायम भएकामा २४ जनाले मात्र दोस्रो किस्ता लिएर प्रवलीकरणको काम सकेका छन् । चार सय १२ परिवार जोखिमयुक्त लाभग्राही पहिचान भएकामा २ सय १३ परिवारले मात्र घर निर्माण गरेका छन् । १ सय २९ भूमिहीन लाभग्राही रहेकामा १२ परिवारले मात्र तेस्रो किस्ता लिएका छन् । निजी आवास निर्मणमा कहालीलाग्दो अवस्था छ । निजी आवास पुनःनिर्माणको काम पुस मसान्तसम्म सक्ने भनिए पनि लकडाउनका कारण पुनः निर्माणको काम सबै प्रभावित भएको र समयमै नसकिने अवस्थामा भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका वित्तीय व्यवस्थापनविज्ञ आनन्दराज पाण्डेले बताए । बन्दाबन्दीका कारण पुनःनिर्माणको काम ठप्प भएको छ । निर्माण सामग्री गाउँसम्म लान सकिएको छैन । निर्माण मजदुर क्वारेनटाइनमा बसेका छन् । कोही बाहिर निस्कन नपाएका कारण पुनःनिर्माण प्रभावित भएको पाण्डेको भनाइ छ । लाभग्राही सूचीमा नपरे पनि वास्तविक पीडितहरु छुटेको अवस्थामा सरकारी निकायले विशेष निर्णय गरेर वास्तविक पीडितलाई लाभग्राही कायम गर्नुपर्ने देखिएको छ । वैशाख १२ को भूकम्पपछि तत्काल घर आवश्यक हुनेले घर निर्माण गरेर बनाएकाहरु, केही सीमान्तकृत टोलहरुमा बस्तीका अधिकांश परिवार यसरी लाभग्राही सूचीमा नपरेर सरकारले दिने अनुदानबाट बञ्चित भएकाले उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले विशेष निर्णय गरेर लाभग्रही कायम गर्नुपर्ने यससम्बन्धी वकालत गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल धादिङका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताए । रासस