लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को (चार कार्गो र चार उद्धार उडानसहित) आठ, टीटान एयरको तीन, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) दुई, बुद्ध एयरको एक र कोरियन एयरको दुई उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एक–एक उडान भएका छन् । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका मलेशिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत चैत १९ गते चार्टर्ड उडान भरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउनको अवधिम उल्लेख्य सङ्ख्यामा कार्गो र उद्धार उडान भएका छन् । आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो । आन्तरिक उडान खुलाउने तयारी सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौंको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारी बताउँछन् । नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए । छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको ‘मिनिष्ट्री अफ सिभिल एभिएशन’ ले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ । रासस
चितवनमा युवकको काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ, बागलुङकी युवती डिस्चार्ज
काठमाडौं । चितवनको २७ वर्षिय युवकको कोरोना परीक्षणको रिपोर्ट पुन नेगेटिभ आएको छ । कोरोना संक्रमित युवकको भरतपुर अस्पतालमा उपचार भइरहेको थियाे । उनको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । त्यस्तै बागलुङकी कोरोना संक्रमित युवतीलाई भने शुक्रबार बेलुका नै अस्पतालले डिस्चार्ज गरेको हो । सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती निको भई धवलागिरि अञ्चल अस्पतालले शुक्रबार राति अस्पतालबाट घर फर्किएकी हुन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका जनाएको छ । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेमा ११ औं नम्बरमा बागलुङकी १९ बर्षिय युवती परेकी छिन् भने चितवनका २७ वर्षिय युवक १४ औं निकाे भएर घर फर्किने काेराेना संक्रमित हुनेछन् ।
प्रदेश नं. १ मा कोरोना सङ्क्रमित २९ जना
विराटनगर । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १ सय ६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र तीन हजार ८ सय ८४ पुरुष छन् । यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १ सय ६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९ सय ३ महिला र चार हजार ४ सय ८४ पुरुष गरी कूल पाँच हजार ३ सय ८७ बसिरहेका छन् । नेपाल भरी नै काेराेना सङ्क्रमितकाे संख्या ४९ पुगेकाे छ । कोरोना कोषमा २८ करोडभन्दा बढी प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड र दोस्रो चरणमा १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए । कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस
कोरोना संक्रमणः यस्तो छ ताजा तथ्यांक
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ः१५ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख २५ हजार ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने अहिलेसम्म ७८० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
२५४ प्रतिशतभन्दा माथि ग्रोथ र मनोज ज्ञवालीको क्रमभंगता
काठमाडौं । बैंकिङ क्षेत्रमा धेरै चर्चित बैंकर्सको रुपमा उदाएका छन् मनोज ज्ञवाली । सूचनामा राम्रो पहुँच, दरिलो प्रस्तुति, प्रशंसनीय कार्यसम्पादन नतिजा । नेपाल राष्ट्र बैंक, ग्लोवल आईएमई बैंक जस्ता ठूला संस्थामा काम गर्दै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका ज्ञवालीले सोहि बैंकमा आफ्नो क्षमता देखाएका छन् । उनको नेतृत्वमा बैंकले करिव ४ वर्षमा २५४ प्रतिशतदेखि ३८३ प्रतिशतसम्मको ग्रोथ हासिल गरेको छ । तर पनि उनको प्रमुख कार्यकारी पदमा क्रमभंगता आएको छ । बैशाख १५ मा उनको कार्यकाल सकिने तर कार्यसमितिले कार्यकाल नथप्ने भएपछि उनले स्वभाविक राजीनामा दिएका छन् । पद त्यागेपछि प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंक धेरै राम्रो अवस्थामा रहेकाे बताएका छन् । बैंक अहिलेको अवस्थामा आउनमा बैंकका कर्मचारी, सञ्चालक समिति र सेयरधनीको ठूलो भूमिका भएको उनले टिप्पणी गरे । ज्योति विकास बैंकमा करिब चार वर्ष काम गरेका ज्ञवालीले आफ्नो कार्यकालमा संस्थाले धेरै सूचकाङ्कमा फड्को मारेको बताएका छन् । ‘म २०७३ असारमा ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसँग जोडिदै गर्दा बैकको २४ वटा शाखा, ९८ करोड रुपैयाँ पुँजी, ७.५ अर्ब रुपैयाँ निक्षेप र ६ अर्ब रुपैयाँ कर्जा थियो भने हामी २०० हाराहारी कर्मचारी थियौ’ उनले पुरानो अवस्थाबारे छोटकरीमा भने । हाल बैंकको १०५ वटा शाखा भएका छन् । ३ अर्ब ५० करोड रुपैयाँ पुँजी पुगेको छ । ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । २९ अर्ब रुपैयाँ कर्जा छ र ८०० भन्दा बढि कर्मचारी साथीहरु बैंकमा छन् । चार वर्षको अवधिमा शाखा ३३७ दशलवमल५ प्रतिशतले वृद्धि भएको छ । पुँजी २५७ प्रतिशतले वृद्धि भएको छ । निक्षेप ३५३ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्जा ३८३ प्रतिशतले वृद्धि भएको छ । कर्मचारी ३०० प्रतिशतले वृद्धि भएको छ । ‘त्यति बेला बैंकको नाफा १५ करोड रुपैयाँ थियो । गत बर्ष नै रु.५३ करोड भन्दा माथि पुगेको छ । नाफा वृद्धि पनि २५४ प्रतिशत रहेको छ । बैंकले अहिले सम्मकै सबैभन्दा बढि १२.७५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ’ बैंक छोडेपछि उनले विकासन्युजसँग कुरा गर्दै भने । सम्पत्तिको गुणस्तर अझै परिस्कृत भएको, १.३९ प्रतिशत रहेको निस्कृय कर्जा अहिले घटेर शुन्य दशमलव ५४ प्रतिशतमा सीमित रहेको ज्ञवालीले बताए । ‘हामीले धैरै प्रोडक्टहरु थप्यौं, तिनीहरु बनायौं, आइटी सेक्युरिटीमा काम गर्यों । बैंकलाई प्रविधिसँग जोड्यौं’ अंकमा व्यक्त गर्न नसकिने सुधारबारे उनले भने । ‘मैले १.५ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत, ४.५ महिना का.मु. प्रमुख कार्यकारी अधिकृत र २ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेँ । र, संस्थाको सबै सूचकाङ्कहरु चार वर्ष भन्दा कम अबधिमा धेरै माथि पुगेका छन्’ उनले बैंकले भने । उनकै कार्यकालमा तीन वटा क्षेत्रीय स्तरका विकास बैकहरु प्राप्ति /मर्जर प्रक्रिया सफलता पूर्वक सम्पन्न भए । विगत २ वर्ष बैंकिङको लागि धेरै कारणले चुनौति पूर्ण थियो । तरलता अभावको कारण व्यावसाय वृद्धि अझ धेरै चुनौति पूर्ण थियो । ‘यस्ताे कठिन अवस्थामा संस्थालाई आगडि बढाउने सहयोग गर्ने साथीहरुबारे उल्लेख गर्दै उनले भने ‘मेरा संगीसाथी तथा आफन्तहरुको साथ, नियमनकारी निकायको मार्ग दर्शन, मेरा असल सहकर्मीहरुको दिनरात मेहनेत, शेयरधनी र ग्राहकहरुको विश्वास, तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले बनाईदिएको आधार र संचालक समितिको मार्गनिर्देशन तथा दिएको सिकाईको भूमिका महत्वपूर्ण छ । सँगै हामी पुँजी पुर्याउछौं, तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने सञ्चालक समिति र सेयरधनीको ठूलो भूमिका छ’ उनले भने । स्रोतहरुको अनुसार बैंकको वित्तीय प्रगति राम्रो भए पनि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच केही इगोको समस्या रहेका थिए । ज्ञवालीले अलि बढी स्वतन्त्रता खोजेका थिए भने संचालकले अलि बढी अंकुश लगाउन खोजिरहेको थियो । ज्योति विकास बैंकमा प्रमुख कार्यकारी पद अस्थीर नै भएको छ । १२ वर्षको बैंकले अब पाँचौ प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्दैछ । झलकप्रसाद खनाल, हेमराज रानाभाट, कृष्णबहादुर कुँवर र मनोज ज्ञवाली पछि पारसराज कँडेल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।
नेपाल बैंकले पायो ‘ए’ स्तरको रेटिङ्ग, व्यवसाय वृद्धिमा योगदान पुग्ने
काठमाडौं । नेपाल बैंकले नेपाल स्थित रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङ्ग कायम गरेको छ । यससँगै बैंकको कर्जा जोखिम न्यून रहेको बुझिन्छ । यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुन्छ । यससँगै बैंक प्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । बैंकद्वारा वित्तीय दबावलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विष्लेषण, व्यवस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावरणीय तत्वहरुको विषलेशण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, निति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, सम्पत्तिहरुको गुणस्तर, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र ईण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा नेपाल बैंक ‘ए’ रेटिङ्गमा पर्न सफल भएको हो । साथै, यस बैंकले हालको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सर्तकता अपनाउँदै आफ्ना सबै शाखाहरुमार्फत सिमित कर्मचारीहरुलाई संलग्न गराई सिमित बैंकिङ्ग सेवाहरु देशभर संचालन गरिरहेको छ ।
मजवुत आत्मविश्वास र सम्वृद्धिकाे यात्रा
वाईन उत्पादन प्रयोजनका लागि काठमाण्डौको एक रिर्सोटमा गरिएको अंगुर खेती (फोटोग्राफर–लेखक आफै) मानवजाति अहिले कोरोना महामारीका कारण विश्वव्यापी संकटको सामना गर्दैछ र यो हाम्रो पुस्ताले भोग्ने सम्भवत सबैभन्दा ठूलो संकट हुनसक्छ । यो महामारीले हाम्रो स्वास्थ्य सेवामा मात्र नभई समग्र विश्व अर्थव्यवस्था, राजनीतिक, भू–सामाजिक, एवं संस्कृतिक आधारहरु माथि निमर्म प्रहार गरिरहेको छ । मानवजातिको उद्भवदेखि नै पृथ्वीमा प्रकोप, महामारी वा ईभोलुसनका प्रक्रियाहरु निरन्तर देखिरहेका हुन् । तर आफ्नो अस्तित्वको रक्षाका लागि कयौ विकराल स्थितिमा पनि मानिसले आफ्नो विजय सुनिश्चित गरेको छ । आपतकालिन अवस्थाको सहि निर्णयले धेरै जनधनको सुरक्षा भएको छ भने भने त्यसको अभावमा ठूलो जोखिम बेहोरेको ईतिहास मानवजातिले भोगेको छ । युभल नोह हरारीले भनेका छन्, सापियन्स (आधुनिक मानिस) को अस्तित्व छिटो संकटमा पुग्नसक्छ जुन ३० हजार वर्ष पहिले मात्र उद्भव भएको थियो । तुलनात्मक रुपमा होमो ईरेक्टस (अहिले अस्तित्वमा आएको भन्दा पहिलेको प्रजाति) ले २० लाख वर्ष पृथ्वीमा राज गरेको थियो । त्यो बखत होमो सापियन्ससंगै मानिसका अनेकौं प्रजातिहरु होमो ईरेक्टस, नेएन्दरथल्स, होमोसोलोनेसिस लगायतका अस्तित्वमा थिए । तर सबैको अस्तित्वलाई नामेट पारेर सापियन्सको विकास भयो जसलाई हरारीले कग्नेटिभ रिभोलुसन (दिमागको विकास) को कारण मानेका छन् । तर लामो समय राज गरेका होमो ईरेक्टस लगायतका प्रजातिहरुले प्रकृतिको नियम र अस्तित्वलाई स्वीकार गरेकाले नै तुलनात्मक रुपमा दीर्घकालिन अस्तित्व प्राप्त गरेको हरारीले स्वीकार गरेका छन् । आधुनिक मानिस प्रकृति वा पर्यावरणबाट टाढा हुदै गएको छ जुन आफैमा जोखिम हो । पछिल्लो समय मानिसको जीवनशैली अस्तित्व विमुख ज्यादा भएको छ । प्रकृति र पर्यावरणबिनाको मानिसमा परिस्कृत जीबन सम्भव हुदैन त्यो अवस्थामा मानिस कृतिम जीवन जीउनका लागि प्रेरित रहन्छ । कृतिम जीवन जुनसुकै समय काँच फुटे झै झुरा–झुरा हुनु अश्वभाविक होइन । यो अर्थमा आजको मानिसभित्र प्राकृतिक मानवतत्वको अभाव देखिन थालेको छ । किनकि मानिसका प्रत्येक बाच्ने शैलीहरुले कृतिम श्वास, कृतिम खाना, कृतिम प्रकाश, कृतिम जल र कृतिम आकाशको साहारा खोजिरहेको छ । एक अर्थमा हामीले भोग्ने पञ्चतत्वहरु कृतिम भईसकेकाछन् । तिनै कृतिम अवयव र तत्वहरुको सहाराको खोजिमा हामी पनि भौतारिन थालेका छौ । शहरहरुको अवस्था झन् विकराल छ किनकि त्यहाँ न श्वच्छ हावा छ र न पानी प्राकृतिक गुणयुक्त छ । केमिकल राखेर शुद्ध पारिएको पानीदेखि प्याकेटमा उपलब्ध हुने खाना सबैले प्राकृतिक प्रक्रियाको जीवनलाई निर्मुल गरिरहेको छ । मानिसको जवनशैली ईकोलोजिकल सिस्टमबाट टाढा भाग्दै गएको छ । शहरहरुको अवस्था झन् विकराल छ किनकि त्यहाँ न श्वच्छ हावा छ र न पानी प्राकृतिक गुणयुक्त छ । केमिकल राखेर शुद्ध पारिएको पानीदेखि प्याकेटमा उपलब्ध हुने खाना सबैले प्राकृतिक प्रक्रियाको जीवनलाई निर्मुल गरिरहेको छ । मानिसको जवनशैली ईकोलोजिकल सिस्टमबाट टाढा भाग्दै गएको छ । शहरीयाहरु परिस्कृत जीवनबाट टाढिएर कृतिम जीवन जीउन बाध्य देखिन्छन् । शहर बाहिरको पनि अवस्था विकराल बन्दै छ किनकि त्यहाँ पनि मानिसको ज्यादतिले प्रकृतिको विनास भईरहेको छ । प्रकृतिको अस्तित्व माथिको हस्तक्षेपले जैविक सन्तुलन बिगारेको छ र विविधतायुक्त पर्यावरणिय चक्र खलबल्याईदिएको छ । अर्थात मानिसले पृथ्वी माथिको अन्य जीवजन्तु वा वनस्पतिको साझा हक खोसेको छ । आलोचनामुक्त नभएपनि थोमस माल्थसले भने जस्तै जैविक वा अजैविक प्रक्रियामार्फत पृथ्वीमा मानिसको भार आफै सन्तुलनमा आउने भन्ने तर्क एक अर्थमा श्वभाविक पनि लाग्दैछ । लेखक विश्वव्यापी फैलिएको महामारीबाट तत्काल सिक्ने सबैभन्दा ठूलो पाठ नै अब प्रकृति माथिको ज्यादतीको बन्द गर्नु हो । कोरोनाको शुरु कुनै अमुक जीवजन्तुहरु हुन् वा होईनन भन्ने विषय पुष्टि भईरहनु आवश्यक छैन । तर भाइरस वा परावैज्ञानिक विकिरणहरु पृथ्वीको प्राकृतिक संन्तुलन बिग्रेपछि फैलिने हो भन्ने तथ्य ध्रुवसत्य छ । जनसंख्याको चापसंगै पृथ्वीमा उपलव्ध स्रोतहरुको समुचित र दिगोपना कायम गरी उपयोग गर्नु आवश्यक छ भन्ने तथ्य बोध हुनु कोरोनाको महामारीले सिकाएको ठूलो शिक्षा हुनसक्छ । पछिल्लो चरणमा मानिस धेरुे चरम आत्मपरक बन्दै गएको छ । आफ्नो मन वा आत्माले खोजेको बाहेक बाहिरका सबै साध्य वा साधनलाई उसले तिरस्कार गर्न थालेको छ । जसको नतिजा हाम्रा नयाँ पिंढिहरु परिवार, समाज र आफन्तबाट टाढा हुन थालेका छन् । संक्रमणपछि मानिसलाई एकअर्काको साथ चाहिन्छ भन्ने तथ्यको वोधगम्य समेत कोरोनाले गराएकोछ । मानिस सामाजिक संरचनाबाट जसरी पृथक हुन खोजेको थियो त्यसैगरी उसको पुनरागमन हुने निश्चित देखिन थालेको । भच्र्युअल संसारको उपयोग चरम सीमामा छ र जसका केहि नकारात्मक परिणामहरु अब निमिट्यान्न पार्न कोरोना बरावरको धक्का आवश्यक समेत देखिएको थियो । अहिले मानिस–मानिस भित्र पनि विभेद उत्कर्षमा छ । पूँजीको उपयोगले वर्गिय संरचना सिर्जना गरेपछि त्यो व्यापक बनेको हो । धनी वा गरिव बीचको विभेद मानिसका बीचमा मात्र सीमित छैन । देश, भूगोल र क्षेत्रिय हुदै यसले बहुरुपिय आकार ग्रहण गरेको छ । अमेरिकन वा युरोपिनहरु धनी र अफ्रिकन वा अन्य पिछडिएका मुलुकहरु गरिव हुन् भन्ने मानसिकता स्थापित हुनु पनि विभेद नै हो । किनकि यो आँखाले मुलुकहरुको वर्गिकरण गर्ने प्रचलन विकासका अन्तराष्ट्रिय साझेदारहरुले नै शुरु गरेका हुन् । वल्र्ड बैंक, आईएमएफ वा युएनले वर्गिकरण गरेको तिनै विभेदकारी प्रतिवेदनलाई अरुले पनि आधार लिनु अश्वभाविक होइन । तर कोरोनाले गरिव, धनी वा शक्तिसम्पन्न भनेको पाईदैन । न त यो संक्रमणले नेता वा सर्वसाधारण छुट्याएको छ । बितेको ५० वर्षयता संसारको जैविक र अजैविक प्रारुप पनि खलबलिएको छ । हिमाली क्षेत्रमा पाईने खाद्यान्न वा जडिबुटिको संरक्षणका लागि त्यहाँको हावा र पर्यावरण आवश्यक हुन्छ । समुन्द्र किनारमा र्यार्सागुम्बा फलाउन खोज्नु मूर्खता मात्र हुनसक्छ । अर्थात जहाँ जुन जैविक वस्तुको उपार्जन हुन्छ, त्यसको खपत वा विसर्जन पनि त्यहि पर्यावणमा हुनु आवश्यक छ । तर आजको दिनमा विश्व एउटै गाँउ पुकारीदै कथित “भूमण्डलिकरण” को अवधारणाले यो सन्तुलनलाई खल्बल्याएको छ । त्यो संगै हामीले हाम्रा शास्त्रीय मान्यतालाई समेत तिलाञ्जली दिएका छौ । जुन धरातलमा जुन उपज वा सस्कृतिको विकास भयो त्यो हजारौ वर्षौदेखि त्यहाँको प्रकृतिसंग घुलमिल भई पर्यावरणिय चक्रमा समाहित भएको थियो । तर त्यो सत्यता प्रमाणिकरण गर्न हामीले चुके पनि विस्तारै आज हाम्रो मान्यता र जैबिक आधारहरु जीवन्त सत्य र विज्ञान सम्मत पुष्टि हुन थालेका छन् । धनी वा गरिव बीचको विभेद मानिसका बीचमा मात्र सीमित छैन । देश, भूगोल र क्षेत्रिय हुदै यसले बहुरुपिय आकार ग्रहण गरेको छ । अमेरिकन वा युरोपिनहरु धनी र अफ्रिकन वा अन्य पिछडिएका मुलुकहरु गरिब हुन् भन्ने मानसिकता स्थापित हुनु पनि विभेद नै हो । नमस्कारको अभ्यास वा खानपानको पूर्विय शैलीको औचित्य आफै वैज्ञानिक पुष्टि भईसकेको छ । हाम्रा नित्य कर्महरु पानीसँग पल पल जोडिएकाछन् जसकाकारण हामीले कहिल्यै टिस्यु पेपर वा ह्याण्डरब प्रयोग गर्न जानेनौं । आजको जोखिम एक अर्थमा प्रकृति माथिको चरम हस्तक्षेप र पर्यावरणिय चक्रमा समाहित शास्त्रीय परम्परालाई विस्थापित गर्नुको नतिजा पनि हो । चुनौतिहरु कोरोना भाईरसका कारण विश्वभरका मुलुकहरुमा अर्थतन्त्रको पुनरुत्थानका सन्दर्भमा यो समय शताव्दीको लागि कठिन हुनसक्ने संकेत देखिएको छ । अहिलेको अवस्था सन् २००८ को जस्तो आर्थिक संकटको बरावरको सीमित अंकमा गणना गर्न सम्भव नहुने देखिएको छ । बेरोजगारीको दर लगायत आर्थिक तथा सामाजिक सूचकहरु विश्वयुद्ध पछिको चरणमा पुगेको अनुमान छ । कोरोनापछि विश्वव्यवस्थामा समेत उथलपुथल आउने तर्कहरु गरिएको छ । यसकारण विश्व व्यवस्थासंगै अन्तराष्ट्रिय सम्बन्धलाई समेत अब परिस्कृत ढंगले अगाडि बढाउन आवश्यक देखिएको छ । विवाद वा कटुतापूर्ण सम्बन्ध मानिसको अस्तित्वका लागि धातक हुन्छ भन्ने सिद्ध भईसकेको छ । मानवताका लागि हामी एक हुनेछौ र त्यो नै मानवको अस्तित्वको रक्षाका लागि एउटै उपाय हुनेछ भन्ने तथ्यलाई सबै मुलुकले वोधगम्य गर्नु आवश्यक छ । खाद्यय मसला र फलफुल उत्पादन गरिएको काभ्रे जिल्लामा अवस्थित एक बगैचाबारी (फोटोग्राफर–लेखक आफै) संकटको समयमा सबै उचित निर्णयको पर्खाइमा रहन्छन् । तसर्थ, नेतृत्वले तत्काल त्यसको केहि जिम्मेवारी लिनु आवश्यक हुन्छ । विश्वव्यापी सहकार्यको आवश्यकता झन् टड्कारो देखिएको छ र त्यो सहकार्यले नै आर्थिक व्यवस्थाको पुनरुत्थान सम्भव हुने देखिन्छ । यो समय हाम्रो आर्थिक कारोबारहरु वा व्यापारहरु सत्रौ शताव्दी जस्तो क्षेत्र विशेष वा राज्यसँग मात्र सीमित छैन् । तसर्थ, विश्वको आर्थिक मजवुतिलाई पूर्ववत रुपमा फर्काउन अन्तराष्ट्रिय वित्तीय संस्थाहरु जस्तै मुद्रा कोष वा विश्व बैंकको पहलमा विश्वव्यापी कार्ययोजनामा एकमत भई लाग्नु आवश्यक छ । कोरोनाभाइरस महामारी मानवीय सहायता र एकताको लागि एउटा परीक्षाको घडी हो । अबका दिनमा हामीहरुको प्रत्येक गतिविधि प्रकृतिमैत्रि, विज्ञान सम्मत र चेतनशिल हुनु आवश्यक छ । उन्नतशिल व्यक्तित्व, समुन्नत मानव समाज र प्रकृति जन्य सम्पदाहरुको संरक्षणतर्फ चासो बढाउनु आवश्यक छ । मानव प्रजातिको अस्तित्व रक्षाका लागि एकताबद्ध विश्व समुदाय हाम्रो परिकल्पना हो । कोरोनाभाइरस महामारी मानवीय सहायता र एकताको लागि एउटा परीक्षाको घडी हो । अबका दिनमा हामीहरुको प्रत्येक गतिविधि प्रकृतिमैत्रि, विज्ञान सम्मत र चेतनशिल हुनु आवश्यक छ । सोहि अनुरुप हामीले हाम्रो दैनिकीलाई परिस्कृत र परिमार्जन गर्न आवश्यक छ । उन्नतशिल व्यक्तित्व, समुन्नत मानव समाज र प्रकृति जन्य सम्पदाहरुको संरक्षणतर्फ चासो बढाउनु आवश्यक छ । मानव प्रजातिको अस्तित्व रक्षाका लागि एकताबद्ध विश्व समुदाय हाम्रो परिकल्पना हो । चीनको अनुभव लिन अमेरिकाले आफ्नो आडम्वर त्याग्नु आवश्यक छ भने अमेरिकालाई कसरी संक्रमित शुन्य बनाउने भन्ने विषयमा अनुभव जन्य सुझावहरू दिन चीन हिचकिचाउनु मुर्खता हुन्छ । भारतको सद्भावपूर्ण सहयोगविना नेपालमा कोरोनाशुन्य अवस्थाको कल्पना गर्न सकिन्न । तसर्थ, विश्व समुदायभर उग्र राष्ट्रवादी शैली भन्दा विश्वव्यापी एकताले कोरोना परास्त गर्न सकिन्छ भन्ने मतैक्यता बन्न अझै केहि चुनौतिपूर्ण हुने पछिल्ला घटनाक्रमले देखाएको छ । अंकगणितिय आधारमा मात्र नोक्सानीको गणना नहुन सक्छ किनकि असरहरु दीर्घकालसम्म पनि देखिन सक्छ । आज विश्वका सबै मुलुकहरु एकअर्काको उत्पादनमा निर्भर छन् तसर्थ असरको अन्तिम विन्दुको अनुमानका लागि समेत विश्वभर प्रतिकुल अवस्थाको पर्खाईमा पुग्नुपर्ने हुन्छ । आज सबै देशका गतिविधिहरु जोखिमयुक्त परिवेशबाट टाढा हुन खोजेका छन् फलश्वरुप बाह्य मुलुकसँगको व्यापार र आवागमन गतिविधि ठप्प भएको छ । यो अवस्था लामो समय जारी भएमा कमजोर राष्ट्रहरु झन् प्रत्यक्ष मारमा पर्ने देखिन्छ । क्षतिको न्यूनिकरण र क्षतिपछिको आर्थिक मजवुतिको लागि आवश्यक स्रोतहरुको व्यवस्थापनमा शक्तिशाली मुलुकहरु जति अभ्यस्त छन् तुलनात्मक रुपमा साना मुलुकहरुको क्षमता कमजोर रहन्छ । विश्वभरको आपूर्ति प्रणालीले स्फूर्त काम गर्न नपाउँदा ती मुलुकहरुमा देखिने क्षतिको अवस्था परिकल्पना भन्दा टाढा हुन्छ । तसर्थ प्रकोप निरोधका लागि परिणामुखि नतिजा नआईसकेको समयमा अविकसित मुलुकहरुले आफ्नो आपूर्ति प्रणाली, रोकथामको घनिभूत अभ्यास, जनचेतना र लकडाउन जारी राख्ने वा सामाजिक दुरी कायम गर्ने जस्ता विषयलाई निरन्तरता दिनु मात्र पनि धेरै चुनौतिपूर्ण हुने देखिन्छ । मुलुकभित्र पनि उत्पादनमा विशेष जोड, मौद्रिक असन्तुलनको व्यवस्थापन, अतिरिक्त रोजगारको सिर्जना अविकसित मुलुकहरुले विश्वव्यापी संकटको समयमा कुशलताका साथ व्यवस्थापन गर्नुपर्ने विषयहरु हुन् । आयात–निर्यात प्रभावित हुने, विप्रेषणको आम्दानी बन्द हुने, मौद्रिक व्यवस्थापनमा कठिनाई देखिने, आपूर्ति प्रणाली बिग्रने, कालोबजारी प्रथा मौलाउने, बेरोजगारको दर बढ्ने लगायतका समस्याहरु यो समय सामान्य हुन् । त्यो सँगै दीर्घकालमा समग्र अर्थतन्त्रको आकारमा अपेक्षाकृत प्रतिफल नदेखिने, मुद्रा कमजोर हुने, महँगी सधैका लागि बढ्ने, उत्पादनमा असर गर्ने, विकास र पूर्वाधारका कार्यहरु अलपत्र हुने र अन्तत अर्थतन्त्रमा सबै क्षेत्रको योगदान खुम्चिने निश्चित छ । तसर्थ नेपाल लगायत कमजोर मुलुकहरुले यो विषयमा विशेष चनाखो भई अपेक्षाकृत प्रतिफल हासिल गर्न धेरै मिहेनत गर्नुपर्ने देखिन्छ । अहिलेको अवस्था केहि समय स्थिर हुने वा महामारीको रोकथाम तत्काल हुने हो भने पनि विश्व अर्थव्यवस्थामा पुनः आफ्नो लयमा फर्कन केहि समय लाग्नेछ । निरन्तर व्यापारमा नोक्सान, बेरोजगारी, कमजोर आत्मबल र नीतिगत सुधारमा एकरुपकताको अभावले गर्दा आर्थिक क्षेत्रका संरचनाहरुमा छिटो पुनरुत्थान हुने अवस्थामा अवरोध आउनसक्छ । विप्रेषण, पर्यटन वा निर्यातमार्फत प्राप्त हुने आयलाई सन्तुलन गर्न उत्पादनमार्फत जनशक्तिलाई जोडेर राष्ट्रिय आय बढाउने लगायतका कार्यहरु आफैमा चुनौतिपूर्ण छ । किनकि अबको केहि वर्ष विप्रेषण, वैदेशिक सहयोग, पर्यटन वा निर्यात व्यापारले मुलुकको आम्दानीलाई पहिले जसरी टेवा दिन सक्दैन । कोरोनाका कारण पर्यटनजन्य उद्योगहरु एयरलाईन्स, होटल, ट्राभल्स, अन्य हस्पिटालिटि लगायत लगानी बैंकहरु, शेयर बजार, निर्माण, पूर्वाधार विकास, खेलकुद, यातायात, विज्ञापन तथा अन्य उद्यमीहरुको व्यवसायले ठूलो नोक्सानी वेहोर्नुपर्ने निश्चित छ । तसर्थ यी क्षेत्रको योगदानलाई कुन विधिमार्फत स्थायीत्व गर्ने भन्ने विषय छनौट गर्नु आफैमा चुनौतिपूर्ण हुने देखिन्छ । अवसरहरु केरा उत्पादन गरिएको धादिङ जिल्लामा अवस्थित एक बगैचावारी (फोटोग्राफर–लेखक आफैं) प्रकोपले दिएको चेतना मूल्यवान हुन्छ र यस्तो चेतनाले सबैलाई अवसरहरुको सहि उपयोग गर्ने दिशामा हिड्न प्रेरित गर्दछ । प्रकोप पछिको समय सम्वेदनशिल हुन्छ । यसर्थ प्रभावकारी पुनरुत्थान र नयाँ अवसरहरुको उपयोगका लागि विपत्ति र धक्कापछिको चेतनाले ठूलो काम गर्नसक्छ । विपत्तिलाई अनुभवको रुपमा उपयोग गरेर प्राकृतिक रुपले उपलव्ध स्रोतहरुको आदर्शतम् उपयोग गर्नु अब आवश्यक छ । कालो बादलको बाहिर सेतो चाँदीको घेरा हुन्छ भने जस्तै संकटले धेरै अवसरहरु पनि सिर्जना गर्नसक्छ । व्यापार र उत्पादनका दृष्टिकोण केहि अवसरहरु सिर्जना पनि हुने देखिएकोछ । जनचेतनाको स्तर बढेको छ भने स्वास्थ्य सेवाको महत्व पनि बढेको छ । यो क्षेत्रको विकासमा राज्यले धेरै लगानी गर्ने अवस्था आएको छ । सो अनुरुपका पूर्वाधारहरुको विकास तिव्र स्तरमा हुने अनुमानसँगै सो क्षेत्रमा लगानी गर्ने विकल्पहरु धेरै रोज्न सकिन्छ । अब नेपालले आफ्नो आन्तरिक उत्पादन वृद्धिका लागि परिश्रमि जनशक्तिहरुलाई संलग्न गराई आयात विस्थापित गर्ने रणनीति अख्तियार गर्नसक्छ । उत्पादन वृद्धिका लागि घरेलु उत्पादन र विशेषत कृषिलाई जोड दिनु आवश्यक देखिन्छ । तत्कालका लागि नेपाली र नेपालको सम्वृद्धिको पुनर्चित्रणको खाका कोर्नका लागि कृषिमा प्राथमिकता दिएर कृषि उत्पादमार्फत आयात प्रतिस्थापन गर्नु आवश्यक देखिन्छ । यो सँगै दुरगामी दृष्टिकोणले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधारहरुको निमार्णको तयारीमा केहि समय सदुपयोग गर्न सकिन्छ । उत्पादन वा सो सँग सम्वन्धित क्षेत्रहरुमा सहुलियत ऋणहरु प्रवाह गर्ने, आपूर्ति प्रणाली श्वचालित बनाउने र मूल्य नियन्त्रण स्थीर कायम गराउने प्रयत्न सफल भएमा भविष्यमा प्राप्त हुने प्रतिफल गुणात्मक रहने अपेक्षा गर्न सकिन्छ । तसर्थ यो अवसरको उपयोगका लागि कार्ययोजना सक्षम नेतृत्व सहितको प्रभावकारी व्यवस्थापनले अथतन्त्र छिटो तंग्रिने निश्चित छ । कोरोनाको महामारीपछि केहि क्षेत्रहरुमा व्यवसायिक दृष्टिकोणले समेत नयाँ अवसरहरु सिर्जना हुनसक्ने अपेक्षा गर्न सकिन्छ । ई–कमर्श, मनोरञ्जन, टेलिफोन तथा ईन्टरनेट, डेलिभरी, डिजिटल वेभहरु, शुद्ध खाद्य वस्तुहरु, ग्रोसेरी वस्तुहरु जस्तै सावुन, कस्मेटिक, औषधिजन्य वस्तु, मेडिकल उपकरण लगायतका वस्तुहरुको माग उच्च हुनुले यो कुरा पुष्टि गरेकोछ । शिक्षा र श्वास्थ्यको क्षेत्रमा समेत नविनतम सोचको आवश्यकता महसुस भएको छ । अबको बजार प्रणालीले पनि नयाँ प्रविधि, प्रणाली र सो अनुरुप परिवर्तन आत्मसाथ गर्नुपर्ने समय आएको छ । नेपालले चीन वा भारतको जस्तो लगानीका लागि भूराजनीतिक अवसरहरुको उपयोग गर्न सक्दैन । भूराजनीतिक अवसरको अर्थ अर्को मुलुकमा अवस्थित वहुराष्ट्रिय लगानीलाई त्यहाँको भन्दा वढि प्रतिफल, सुविधा वा आकर्षण देखाई त्यहाँबाट प्रतिस्थापन गरी आफ्नो मुलुकमा ल्याउन सक्ने सामथ्र्य हुनु हो । तर केहि सीमित लगानीका लागि उचित वातावरण तयार गरेर लगानीको क्षेत्रमा केहि नयाँ संस्थाहरु आकर्षित गर्ने अवसरहरु पाउन सक्छ । भविष्य कोरोनाको महामारीसँगै नेपालीहरुले अनुभूति गरेको सबल पक्ष भनेको मजवुत आत्मविश्वास हो । हामीले धेरै हण्डरहरु जस्तै भूकम्प, नाकावन्दी, लगातारको अस्थिरतासँगै बन्दाबन्दिहरु र माओवादी जनयुद्ध भोगेका छौं । यसले हामीलाई दरिलो बनाएको छ र त्यहि जगमा हामी कोरोनाको सामना गर्न तत्पर भएका छौं । कोरोनाको महामारीसँगै नेपालीहरुले अनुभूति गरेको सबल पक्ष भनेको मजवुत आत्मविश्वास हो । हामीले धेरै हण्डरहरु जस्तै भूकम्प, नाकावन्दी, लगातारको अस्थिरतासँगै बन्दाबन्दिहरु र माओवादी जनयुद्ध भोगेका छौं । यसले हामीलाई दरिलो बनाएको छ र त्यहि जगमा हामी कोरोनाको सामना गर्न तत्पर भएका छौं । कोरोनाको प्रकोपले विश्वको सामाजिक, आर्थिक र भौगोलिक विविधतासागै मानव जीवनको मूल्य र मान्यताहरुलाई पृथक ढंगले सोच्न बाध्य बनाएको छ । अब जीवनको नयाँ मूल्य र मान्यतासहित पर्यावरिणय सन्तुलनको बारेमा बहस चल्नु आवश्यक छ । किनकि मानिस र मानव निर्मित संरचनाहरुको प्रतिस्पर्धामा समग्र पृथ्वीको प्राकृतिक संरचना नै विपद्का लागि हौसिएको प्रतित भएको छ । अब समयको कित्ताकाट हुने निश्चित छ र मानव समुदाय अर्को युगको संघारमा आईपुगेको छ । प्रि–कोरोना र पोष्ट–कोरोना युगको नामाकरण विश्वव्यवस्थामा प्रचलित हुनसक्छ । शितयुद्ध (पोष्ट कोल्डवार) पछि अमेरिका शक्तिसाली बने झै यो पटक पनि चीनलाई सम्भावित शक्तिको रुपमा हेरिएको छ । यो समय शक्तिको होडबाजी भन्दा पनि समन्यायिक ढंगले विकसित देशहरुले विकाससिल मुलुकहरु प्रति श्वास्थ्य सेवा तथा वस्तुहरुको आपूर्ति सहज गराई मानव अस्तित्वको रक्षाका लागि उत्रनु आवश्यक छ । उदाहरणको लागि चीन वा भारतले तत्काल औषधिजन्य सामाग्री, उपकरण र किट उपलव्ध नगराउने हो भने नेपालमा त्यसले निम्त्याउने अवस्थाको परिकल्पना गर्न समेत सकिदैन । जुन अन्तत तिनै मुलुकका लागि पनि प्रतिपादक हुन सक्छ । कोरोनापछि विश्वव्यापी रुपमा तेलको मागमा व्यापक गिरावट आएको र त्यो केहि अबको समय यहि स्थितिमा रहने अनुमान गर्न सकिन्छ । तेल सस्तो हुने वित्तिकै नेपाल सरकारको वित्तिय घाटा कम भएको छ भने तेलका कारण हुने मुद्रास्फृति नियन्त्रणमुखि बन्दैछ । तसर्थ तेलको खपत हुनसक्ने औद्योगिक उत्पादन केहि सस्तो हुने अपेक्षा गर्न सकिन्छ । सरकारको अर्थव्यवस्थालाई टेवा दिन उपभोग बढाउनुपर्ने अवस्था छ तर आयमा आएको संकुचनका कारण उपभोग झन् तल झर्ने देखिन्छ । व्यक्तिगत आयमा कर सुविधा, खाद्यन्नमा राहत, न्यून आयस्तरका परिवारलाई राहत सुविधा मार्फत उपभोग सन्तुलनमा ल्याउनुपर्ने हुन्छ । यी उपायहरु मार्फत राज्यले सम्वेदनशिल भई काम गरेमा संकटको व्यवस्थापन केहि सहज समेत हुनसक्छ । भविष्य कति उज्वल छ भन्ने कुरा नेतृत्वको निर्णय क्षमतामा भर पदर्छ । आशा गरौ, हाम्रो नेतृत्व अब समय अनुसार परिमार्जित हुनेछ र नागरिकको सेवामा समर्पित हुनेछ । हाम्रो समाजको चेतनास्तर पनि सम्वृद्ध हुनेछ जसका कारण परिवर्तनलाई स्वीकार गर्न अफ्ठेरो हुनेछैन । नागरिक र समाजको उन्नत चेतनास्तरले सरकार र विभिन्न संरचनालाई पनि सहि निर्णयका लागि घच घच्याउनेछ । नागरिकका लागि पनि संकटसंगै अवसरका क्षेत्रहरु बढेकाले प्रतिफलको सम्भावना पनि बढ्न सक्छ । उद्यमशिलताको विकासलाई यो समय उत्पादनको साधनसँग जोड्ने प्रयत्न गरेमा नेपालको भविष्य उज्यालो हुने देखिन्छ । सरकार र नागरिकको हातेमालो नै कोरोनाको विरुद्धमा विजय हासिल गर्ने अस्त्र हुनसक्छ । आशा गरौं, कोरोनापछिको युगमा नेपालले सम्वृद्धिको यात्रा तय गर्नेछ । (लेखककाे नाेटःअबको समय श्वदेशी उत्पादन र विशेषत कृषि उद्यमलाई जोड दिनु आवश्यक देखिन्छ । तत्कालका लागि नेपाली र नेपालको सम्वृद्धिको पुनर्चित्रणको खाका कोर्नका लागि कृषिमा प्राथमिता दिएर कृषि–उत्पादनमार्फत आयात प्रतिस्थापन गर्नु आवश्यक देखिन्छ । सो सन्दर्भमा केहि नमुना कृषि उत्पादनको फिल्ड फोटो संलग्न गरिएको छ ।) [email protected]
कोरोना भाइरसपछिको आर्थिक मन्दी हटाउन विश्व बैंक, आईएमएफ र एडीबीले कस्तो प्याकेज ल्याए ?
काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै कोरोनाको कहरबाट अहिले सारा विश्व नै आक्रान्त छ । कोरोनाको कहरबाट उत्पन्न भएको आर्थिक तथा मानवीय समस्याले संशारभर दिनदिनै चुनौति थपिँदै गैरहेको छ । यो समाचार तयार पार्दा सम्म करिब २७ लाख मानिसमा कोरोनाको संक्रमण भएको प्रमाणित भएको छ । करिब २ लाख मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो वैश्विक माहामारिले मानवजातिको अस्तित्वलाई नै चुनौति दिइरहेको छ । यो कहरको अहिलेको स्थितिले गर्दा वैश्विक अर्थतन्त्रमा चरममन्दी आउन सक्ने भविष्यवाणी सरोकारवाला निकायले गरेका गरेका छन् । विश्व अर्थतन्त्रको बृद्धि, विस्तार तथा स्थिरताका लागि निरन्तर कार्यरत अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाले विश्व अर्थतन्त्रलाई सहयोग गर्न के कस्तो सहयोग गरेका छन् भनेर यो सामग्री तयार पारिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीको आर्थिक प्रभाव सामना गरिरहेका सदस्य राष्ट्रहरुका लागि विभिन्न शिर्षकहरुमा कुल ६ हजार ४ सय ८१ मिलियन अमेरिकी डलरको आपतकालिन आर्थिक सहयोगको घोषणा गरेको छ । आईएमएफको कार्यकारी बोर्ड द्वारा र्यापिड क्रेडिट फ्यासिलिटी (आरसीएफ) तथा र्यापिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट (आरएफआई) अन्तर्गत अनुमोदन गरिएको आपतकालिन सहायता, विद्यमान वित्तीय राहात व्यवस्था अन्तर्गत बढाउन सक्ने समेत जानकारी दिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले क्षेत्रगत आधारमा छुट्याएको राहत यसप्रकार रहेको छ । एसिया प्रसान्त क्षेत्र यो क्षेत्रमा जम्मा २४.११ मिलियन अमेरिकी डलर छुट्याएको छ । यो क्षेत्रमा नेपालसमेत रहेको छ । नेपालको भागमा २४.११ मिलियन अमेरिकी डलरमध्ये २.८५ मिलियन अमेरिकी डलर रहेको छ भने माल्दिभ्सलाई २१.२ मिलियन अमेरिकी डलर रहेको छ । युरोप कोरोनाको संक्रमणबाट ठूलो रुपमा आर्थिक तथा मानवीय क्षति ब्यहोरेको युरोपमा अन्तर्राष्ट्रिय मुद्रा कोषले ७५८.६ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । मध्यपूर्व र मध्यएशिया जैविक इन्धन तथा पर्यटनलाई नै अर्थतन्त्रको मेरुदन्डको रुपमा विकास गरेको मध्यपूर्व तथा मध्यएशिया क्षेत्रमा कोरोना भाइरसको कारण उत्पन्न भएको आर्थिक मन्दीको अत्यन्त गम्भीर असर पारेको छ । यमन, सिरिया, लिबिया जस्ता द्वन्द्धग्रस्त क्षेत्रमा भने न्युनतम मानवीय आवश्यकतासमेत पुग्न सकेको छैन । यो क्षेत्रमा अर्थतन्त्रलाइ संरक्षण तथा मानवीय आवश्यतालाई विचार गरेर १ हजार ७६९.८५ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । साहारा अफ्रिका क्षेत्र गरिबी तथा भोकमरीले ग्रस्त यस क्षेत्रमा कोरोनाको कारण समस्या झनै थपिएको छ । मानव बिकासको सुचाङ्कमा पुछारमा रहेको यो क्षेत्र गरिबीको चरमउत्कर्समा पुग्ने जोखिम उच्च रहेको छ । कोरोना प्रकोप नियन्त्रणको तयारी, उत्पन्न हुनसक्ने अन्य संकटको न्यूनिकरणका लागि २ हजार ८३२.९४ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । पश्चिमी गोलार्ध बोलिभिया, पनामा, हैटीलगायतका राष्ट्रहरु रहेको यो क्षेत्रका लागि भनेर १ हजार १९१.५ मिलियन अमेरिकी डलरको आर्थिक राहात प्याकेज छुट्याएको छ । एसियाली विकाश बैंक (एडीबी) एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरसको महामारीले निम्त्याएको आर्थिक क्षति तथा मन्दीलाई कम गर्न आफ्नो पूर्वघोषित सहयोग रकमलाई तीन गुणाले बढाएर २० बिलियन डलरमा पुर्याएको छ । मार्च १८ मा घोषणा गरेको ६.६ बिलियन डलरको आर्थिक राहात प्याकेजमा अप्रिल १३ मा १३.३ विलियन डलर थप गरी २० विलियन डलरमा पुर्याएको हो । एडीबीका अध्यक्ष मसासटुगु असकावाका अनुसार ‘यो महामारीले एसिया र प्रशान्त क्षेत्रमा आर्थिक, सामाजिक र विकास सम्पूर्ण आयामहरुमा गम्भीर रूपमा असर गर्ने, विकासका सुचकहरुलाई पछाडि पार्ने, गरिबी न्यूनीकरणमा उल्टो प्रगति र अर्थव्यवस्थालाई मन्दीमा र्पुयाउने खतरा बढेर गएको छ । मार्चमा भन्दा अहिले परिस्थिति झनै नाजुक भएकोले सहयोग रकममा वृद्धि गरिएको हो । हाम्रो यो विस्तारित राहात प्याकेज बोर्डको समर्थन, सहमति तथा सहयोगबाट नै सम्भव भएको हो । विश्व बैंकले कोभिड(१९ को असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालिन सहयोग घोषणा गरेको थियो । गत फेब्रुअरी महिनाको अन्त्यमा उक्त घोषणापछि भने विश्व बैंकले हालसम्म अर्को नयाँ राहत योजना ल्याएको छैन । विकासशील राष्ट्रका लागि यो आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुध्न खर्च गरिने उल्लेख गरिएको छ । यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो । विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले विकासशील राष्ट्रले कोरोना भाइरसको प्रकोप र असरसँग जुध्न आवश्यकता अनुसार सहायता लिन सक्ने बताएका छन् । आपूर्ति प्रणालीको दिगोपना र सम्भावित जोखिम न्यूनीकरणमा आईएफसीले सहयोग गर्नेछ । विश्व बैंकले अहिलेको विश्वव्यापी संकट समाधान गर्न अन्य अन्तराष्ट्रिय संस्था र राष्ट्रिय निकायसँगको समन्वयमा काम गर्ने जनाएको छ । बैंकको यो पहलले कोरोना भाइरसले सिर्जना गरेको आर्थिक तथा सामाजिक प्रभाव न्यूनीकरणमा सहयोग बताइएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा