विकासन्युज

मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरुले मेगा स्मार्ट क्यूआर कोडबाट रकम भुक्तानी गरी १० प्रतिशतसम्म छुट पाउने सहमति भएको छ । देशव्यापी लकडाउनको विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि मेगा बैंकले दैनिक उपभोग्य सामानका लागि किराना डटकम र औषधिका लागि केन फार्मेसीसँग सम्झौता गरिसकेको छ । विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरी लकडाउनमा पनि आफ्ना ग्राहकहरुलाई अतिरिक्त सेवा र सुविधाहरु प्रदान गरेको मेगा बैंकले जनाएको छ ।

फागुन ३० गते हिमालयन एयरलाईन्सबाट नेपाल आएका थिए भोजपुरका कोरोना संक्रमित

काठमाडौं । भोजपुराको कोरोना (कोभिड–१९) संक्रमित २६ वषिर्य पुरुष फागुन ३० गते नेपाल आएका थिए । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भोजपुराको ४८ औं कोरोना संक्रमित पुरुष फागुन ३० गते नेपाल आएकाे बताएका हुन् । उनी हिमालयन एयरलाईन्सबाट फागुन ३० गते साउदीबाट नेपाल आएका देवकाेटाले बताए । उनी काठमाडौंबाट उदयपुरमा केही दिन बसेकाे र त्यसपछि भाेजपुर गएका थिए । उनीसँग उदयपुरमा सं‌म्पर्कमा आएकाे  सबैकाे नमुना संकलन भइसकेकाे उनले बताए । उनी हाल हतुवागढीमा चिकित्सककाे निगरानीमा रहेकाे र विराटनागर ल्याउने तयारी भईरहेकाे देवकाेटाले जानकारी दिए । भाेजपुरमा आरडिटी पाेजेटिभ देखिएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  पिसिआर विधीबाट जाँच गर्दा उनमा बिहीबार साँझ काेराेना पाेजेटिभ देखिएकाे हाे । नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेकाे छ जसमध्ये १० जना निकाे भएर घर गइसकेका छन् । हालसम्म नेपालमा ९ हजार ४ सय ७ जनाकाे पिसिआर विधीबाट र ३८ हजार ८७ जनाकाे आरडिटी विधीबाट परीक्षण भएकाे छ ।

कोरोना उपचार कोषमा जीवन बीमक संघले गर्याे करिब साढे चार करोड सहयोग

काठमाडौं । कोरोना रोकथाम तथा उपचार कोषमा जीवन बीमक संघले एक मुष्ट ४ करोड ४९ लाख ५१ हजार सहयोग गरेका छन् । जीवन बीमक संघसँग आवद्ध जीवन बीमा कम्पनी एकमुष्ट ८२ लाख ५० हजार र सोझै उक्त कोषमा ३ करोड ६७ लाख एक हजार गरी जम्मा ४ करोड ४९ लाख ५१ हजार योगदान गरेका हुन् । जीवक बीमक संघ नेपाल सम्पूर्ण बीमित, ग्राहक तथा अभिकर्तामा सेवा तथा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन हुन आग्रह गरेको छ । जीवन वीमक संघ यस विषय परिस्थितिमा सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता तथा सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने अनुरोध गरेका छन् ।

ज्योति विकास बैंकबाट बाहिरिए मनोज ज्ञवाली, कामु सीईओ पारस कँडेल

काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजीनामा दिएका छन् । बैशाख १५ गतेदेखि लागू हुने ज्ञवालीले राजीनामा दिएकाे अध्यक्ष हरि चन्द्र खड्काले विकासन्युजलाई बताए । बैंकले कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पारसराज कँडेललाई ताेकेकाे छ । कँडेल ज्याेति विकास बैंकमा मर्ज भएकाे तत्कालिन हाम्राे विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । हाल उनी ज्याेति विकास बैंकमा नायब महाप्रबन्धक पदमा छन् । ज्ञवालीले ज्योति विकास बैंक उच्च व्यवस्थापनमा रहेर चार वर्ष काम गरेका थिए । ज्ञवाली प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष र कामु प्रमुख कार्यकारी तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष कार्यरत थिए । ज्ञवालीको कार्यकालमा बैंकमा वित्तीय सूचकहरु धेरै राम्रो देखिएको थियो । ३ अर्ब ४९ कराेड चुक्ता पुँजी भएकाे यस बैंककाे वासलात पुस मसान्तमा ४१ अर्ब ६२ कराेड रूपैयाँ छ । बैंककाे निक्षेप करिब ३० अर्ब छ, कर्जा लगानी करिव २७ अर्ब रूपैयाँ छ । पुस मसान्तसम्ममा बैंककाे नाफा १४ कराेड २८ लाख रूपैयाँ छ । तैपनि बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच केही असहज वातावरण रहेको जानकारहरु बताउँछन् । ज्योति विकास बैंकमा प्रमुख कार्यकारी पद अस्थीर नै भएको छ ।

सिमानाकामा रोकिएकाको प्रश्न, कहिले नेपाल आउन पाउने हो ?

दार्जुला । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् । “भारत पिथौरागढको दार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्यो । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौं”, बैतडीका दीपक चुनाराले भने, “स्वदेश फिर्ता ल्याउँछौं ल्याउँछौं भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो ?” उहाँले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोखे । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् । भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बसेका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् । अमृत बोहरा भने, “क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।” नेपालमा पौडिएर गएकाहरु राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । उनले भने, “क्वारेन्टाइनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ” । तर उनीसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २ सय २० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन् । गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उनको श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिए । रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । आजसम्म यहाँका पाँच वटा क्वारेन्टाइनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाकोे समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए । “हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौं”, प्रजिअ पौडेलले भने, “सरकारले निर्णय गर्नेबित्तिकै उद्धार हुन्छ । अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौं । ” भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन् । बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताए । “चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्”, उनले भने, “उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।” जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताए। तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए । बैठकका एक सहभागीका अनुसार दुई÷तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन् । बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी थिए । रासस

राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश खारेज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्। आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन्। चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता

न्यूयोर्क । कोरोना भाइरसको बढ्दो संक्रमणले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको अवधिमा नर्सिङ होममा रहेबसेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोना भाइरसकै कारण ज्यान गएको छ । अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोनाभाइरसको पर्याप्त परीक्षण गर्न नसकिएको खबरले सबैलाई सोचमग्न बनाएको छ । अझ न त संघीय सरकार न न्यूयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन । अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा रहेका छन् । यीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ । परीक्षणपछि मात्र भाइरसको प्रसार रोक्न र बिरामी व्यक्तिलाई अलग्याउन सकिन्छ । “यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथाहरु अरु धेरै पढ्न पाउने छौं,” फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले बताए । “एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिन्न । परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ । त्यसपछि त शवको थुप्रो लाग्ने न हो ।” यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ । गत हप्ता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो । त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षण मात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए । भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झण्डै दुई हप्ता ढिला भएको स्वीकारेका छन् । परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो । पछि, परीक्षण गर्दा कूल ९२ जनामा कोरोना पोजेटिभ देखियो । अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताए । उनको भनाईमा संघीय र राज्य सरकारले शुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन् । “यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,” पार्किन्सनले भने । “पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाईं नर्सिङ होमहरुमा हुनु पर्दछ । यहाँ पहिलो प्राथमिकता दिइनु पर्दछ ।” संयुक्तराज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि “परीक्षण किटहरूमा सहज पहुँच” छैन । झण्डै ५० हजार वरिष्ट स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न सङ्घर्ष गर्नु परिरहेको छ । “स्थानीय अस्पतालहरू र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्” ल्याक्स्टनले भने । सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तै शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन् । स्वास्थ्यकर्मीको शरीरको तापक्रम नबढेको हुनसक्छ, र उनीहरु नर्सिङ होममा निर्वाध आवतजावत गरिरहेका हुन्छन् । तर नर्सिङ होम भ्रमण गर्ने सबैको कडा र बारम्बार परीक्षणले मात्र समाधान दिन्छ । ह्वाइट हाउसकी भाइरस सम्बन्धी सल्लाहकार डेबोरा बक्र्सको विचारमा यी अदृश्य क्यारिअर पत्ता लगाएर तिनीहरुलाई अलग्याउन सकिए मात्र भाइरसको प्रसार रोक्न सकिन्छ । अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ । सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाईमा यसलाई अझ बढाउन पर्नेछ । हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा आशिष झाले भने, “भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दशौं लाख परीक्षण गर्नु आवश्यक छ ।” संघीय स्वास्थ्य तथा मानव सेवा विभागले एसोसिएटेड प्रेससँगको जिज्ञासामा “अहिले धेरै परीक्षण भइरहेको र आफूहरुसँग पर्याप्त क्षमता रहेको” बताएको छ । अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होमहरूमा बिनाशर्त परीक्षण गर्न आदेश दिए । डेट्रोइट नगरका मेयर माइक डग्गनले शहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिए । यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ । म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किटहरू एकाएक रोक्नु परेको थियो । खासगरी यी किटमध्ये करिब ४ हजार काम लाग्ने थिएनन् । न्यू हेम्पशायर, कोलोराडो, फ्लोरिडा, मेरिल्याण्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यहरूले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन् । संघीय सरकारले यसै हप्ता कोरोना संक्रमणको अवस्था ट्राक गर्ने र नर्सिङ होमको अवस्था समेतलाई समेटेर विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ । यसैबीच, एपीले राज्यका स्वास्थ्य विभागहरू र मिडिया रिपोर्टका आधारमा संकलन गरेको विवरण अनुसार अमेरिकाभर नर्सिङ होम र दिर्घरोगीका उपचार केन्द्रहरुमा कोरोनाभाइरसको संक्रमणबाट ११ हजार २६० जनाको मृत्यु भएको छ । यीमध्ये करिब एक तिहाई न्यूयोर्कका रहेका छन् । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होमहरुमा भएको संक्रमणलाई “सुख्खा घाँसमा लागेको आगो” को संज्ञा दिए । उनले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तिब्र परीक्षण गर्न आग्रह गरे । उनले भने, “यो परीक्षण दिनहुँ लाखौंको संख्यामा गर्नु पर्ने हुन्छ ।” कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताए । उनले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिए । यस दुर्घटनाहरूको बीचमा आशावादी घटनाहरू पनि देखा परेका छन् जसमा प्रारम्भिक र आक्रामक परीक्षणले ठूलो फरक पारेको छ । विस्कन्सिनको शेबोयगन नर्सिङ होममा दुई जनाको मृत्यु भएपछि स्थानीय अन्य बासिन्दा तथा कर्मचारीहरू बिरामी पर्न थाले । नर्सिङ होमका प्रशासक कोलिन्डा नाप्पाले फोन गरी राज्यका अधिकारीहरूसँग बिन्ती गरे, “के भइरहेको छ भनेर मलाई थाहा भयो ।” लगत्तै नेसनल गार्डको एउटा ६५ सदस्यीय परीक्षण टोली आइपुग्यो । उनीहरुले टाउकोदेखि पैतालासम्मको सुरक्षा कवच लगाएका थिए । उनीहरुले नर्सिङ होममा रहेका १ सय जना र १ सय ५० जना कर्मचारीको तुरुन्तै परीक्षण गरे । समग्रमा, १९ जनामा पोजेटिभ देखियो । उनीहरु सबैलाई अहिले त्यही केयर होममा वा घरमा क्वारेन्टिनमा राखिएको छ । अहिले थप व्यक्तिको मृत्यु भएको छैन । करिब ४३ जना वृद्धवृद्धाको मृत्यु भएको सियाटल क्षेत्रको एउटा नर्सिङ होममा स्वास्थ्य अधिकारीहरुले सामान्य सङ्केत देखिएका सबैको परीक्षण गरेका छन् । राज्यमा कोरोनाभाइरसका “हटस्पट” समाप्त गर्ने भन्दै अरु १९ वटा त्यस्तै नर्सिङ होममा योजनाबद्ध रुपमा परीक्षणहरु केन्द्रित गरिएको छ । गत हप्ता, वासिङ्टन विश्वविद्यालयका डा थुआन ओङको नेतृत्वमा चिकित्सा टोलीहरुले नर्सिङ होमका कोठा कोठामा गएर सबैको स्वाब सङ्कलन गरेका थिए । उनीहरुले परीक्षण गरेका सबै १ सय १५ जनामा कोरोनाको संक्रमण देखिएन । यो कार्यले सबैमा खुशीको सीमा थिएन । “रोग फैलिनुभन्दा अघि यसलाई थाहा पाउनुको महत्व सबैभन्दा बढी छ,” डा ओङले भने । रासस–एपी

उद्यम व्यवसाय चल्ने र बैंक पनि नडुब्ने बिधि अपनाएर जानुपर्छः सीईओ शाह

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन अनिलकेशरी शाह । उनी एक सेलिब्रेटी बैंकर्सका रुपमा परिचित छन् । शाह नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष पनि हुन् । उनै शाहसँग नविल बैंककाे बारेमा, कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव र लकडाउनको समयमा डिजिटल बैंकिङको आवश्यकता जस्ता विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको अंश । लकडाउनको समय छ, ग्राहकलाई कसरी सेवा प्रवाह गर्दै हुनुहुन्छ ? हो, कोरोना भाइरस संक्रमणा राेक्न सरकारले देशभर लकडाउन गरेकाे छ । बैंकिङ अत्यावश्यक सेवा भएकोले पनि यो समयमा ग्राहकलाई मर्का नपर्ने किसिमले सेवा दिइरहेका छौं । कसरी ग्राहकलाई छिटो छरिताे तथा गुणस्तरीय सेवा दिन सकिन्छ हामी लागिरहेका छौं । डिजिटल सेवा भएको ठाउँमा डिजिटललाई नै फोकस गरिरहेका छौं भने त्यसको पहुँचमा नभएका ग्राहकलाई त्यहाँका शाखाहरु खोलेर काम गरिरहेका नै छौं । राष्ट्र बैंकले ल्याएको राहत प्याकेज पनि हाम्रा ग्राहकलाई दिइरहेका नै छौं । त्यो पट्टी पनि हामीले ध्यान दिएका छौं । हुन त यो समयमा सबैलाई गाह्रो नै छ । तर, अत्यावश्यक सेवा भएको भएर हामी निरन्तर सेवा दिइरहेका छौं । अहिले कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगी व्यवसायीहरुले समस्यामा पर्यौं भन्ने गरेका छन्, तपाईले विशेषगरि साना तथा मझौला उद्यमीका लागि केही योजना ल्याउने सोच बनाउनु भएको छ ? हामीले नेपाल बैंकर्स संघमै कुरा गरेका छाैं । राष्ट्र बैंकबाट नै त्यो प्याकेज आउँछ होला । त्यो प्याकेजमा एसएमईको लागि पनि आउँछ होला । अहिले पनि साना तथा मझौला उद्यमीहरुका लागि अन्य कर्पोरट कर्जाहरु जस्तै राहतहरु दिइरहेका छौं । व्याज तिर्यो भने राहत दिने, नतिर्यो भने तीन महिनासम्म समयावधि सारिदिने काम गरिहेका छौं । अहिले नै तिर्नु पर्छ भनेर कसैलाई दवाव पनि दिएका छैनौं । तीन महिनापछि पनि केही होला । कसरी हुन्छ सहज तरिकाले अगाडि बढ्ने र यो अवस्थालाई सहजै पार लगाउने हो । अहिले हाम्रो मुलमन्त्र भनेको हामी पनि बाँच्ने र हाम्रा ग्राहकहरुलाई पनि बचाउने हो । हामीले मात्र बाँच्ने र हामीले मात्र नाफा कमाउने होइन । फेरि ग्राहकलाई बचाएर बैंक नै डुब्ने पनि होइन । यसका लागि हामी सन्तुलित भएर काम गरिरहेका छौं । कोरोनाको कारण धेरै व्यापार व्यवसायका क्षेत्रहरु संकटमा छन् । यो समयमा बैंक तथा वित्तीय संस्थाहरुले कस्तो क्षेत्रमा बढी प्राथमिकता दिएर लगानी गर्नुपर्ला ? यसमा हामी केही गृहकार्य गरिरहेका छौं । कोरोना भाइरसले गर्दा कुनकुन क्षेत्रलाई बढी नकरात्म प्रभाव परेको छ र अझैं पर्छ ? कुन कुनलाई ठीक–ठिकै हुन्छ ? कुनैलाई प्रभाव नै नपर्ला जस्तै खाद्यान्न, औषधि । यी विभिन्न क्षेत्रहरुलाई हेरिरहेका छौं । हामी बैंकर्स संघबाट एउटा धारणा बनाउँछौं । हाम्रो विचारमा यो क्षेत्रलाई एकदमै घाटा भएको छ । जुनलाई बढी प्रभाव परेको छ, सबैभन्दा बढी राहत त्यहाँ जानु पर्छ । इक्वालिटी र इक्विटी आधारमा हामी लगानी गर्छौं । जस्तै, नेपाल सरकारले नेपाली सबै जनालाई राहत ५/५ हजार दिने भन्यो भने त्यो एक्वालिटी हो । तर त्यो राहत कसैलाई नचाहिएको हुन सक्छ । अब इक्विटी भनेको जसले चाहेको छ, त्यसलाई हेरेर लगानी गर्छौं । अब बैंकहरुले पनि एक्वालिटी होइन, इक्विटी आधारमा लगानी गर्छौं । जसलाई चाहेको छ उसैले पाउँछ । हामीले पनि बाँच्नु पर्छ । छुट दिनु पर्छ । तर सबैलाई छुट दियो भने नचाहिँनेले पनि त्यो छुट पाउन सक्छ । त्यसकारण यी विविध पक्षहरुलाई अध्ययन गरेर हामी लगानी गर्छौं । उद्योगी व्यवसायीहरुले केही समयका लागि व्याज मिनाहा अर्थात छुटको माग पनि गरिरहेका छन् । तपाईहरुले कर्जाको प्रवाह र छुट के कसरी गर्दै हुनुहुन्छ ? कर्जा पुरानै हो । पहिलेकै अनुसार कर्जा प्रवाह भइरहेको छ । व्याज अहिले घटिरहेको छ । हामीले निक्षेप र कर्जा दुवैमा व्याजदर घटाएका छौं । अब आउनेमा अझै घट्छ । हामी त्यसको गृहकार्यमा छौं । आधारदर घट्दैछ । आधारदर घटेपछि व्याजदर पनि अवश्य घट्छ नै । कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्रमा ठूल्लो धक्का लाग्न सक्ने अनुमान गरिएको छ । यसले नेपालको अर्थतन्त्रलाई पनि असर पार्छ नै । नेपाली अर्थतन्त्रमा त्यति धेरै गिरावट आउन नदिनको लागि के गर्नु पर्ला जस्तो लाग्छ ? हरेक मानिसहरुले लकडाउनको समयमा मेरो व्यवसाय के गर्ने ? लकडाउन खुलेपछि कसरी अगाडि बढ्ने ? भनेर योजना बनाउन आवश्यक छ । विभिन्न उद्योगी तथा व्यवासायीहरुले आ–आफ्नै योजना तथा तयारीहरु बनाउनु पर्छ । अहिलेको समयमा घरमा टीभी हेर्नेभन्दा पनि सबैले वर्तमान प्रविधिको प्रयोग गरेर सबैको सुझाव सल्लाह लिएर योजना तर्जुमा गर्नुपर्छ । हामीले लकडाउन खुलेपछि राजश्व कसरी बृद्धी गर्न सक्छौं, कष्ट मेन्टेन कसरी गर्न सक्छौं भनेर सोच्न आवश्यक छ । सबै जनाले बैंककाे व्याज मात्र भन्नुहुन्छ । बैंकले त राहत दियो । हाम्रो ग्राहकले सिमेन्ट बनाइरहनु भएको छ भने उनीहरुले आफ्ना ग्राहकलाई कसरी राहत दिने त ? सिमेन्टको एक बोराको मूल्य एक हजार थियो भने अब ७ सयमा बेच्ने कि ? राहत एक ठाउँमा गएर अड्किनु भएन । माथिदेखि सर्वसाधारण नेपालीले त्यो राहत पाउनु पर्यो । खाद्यानन्नमा हामीले राहत दिएका थियौं भने हाम्रो चामलको मूल्य घटाउनु पर्यो । दाल तेलको मूल्य घट्नु पर्यो । यसरी अगाडि बढ्यो भने सबैलाई सन्तुलन किसिमको राहत हुन्छ । कोही पनि भोकले मर्दैनन् । विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फर्केका छन् । यसले पनि रेमिट्यान्स अवश्य नै घट्न । अब उनीहरुलाई स्वरोजगार बनाउनका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ ? हामी कृषि प्रधान देश भन्छौं । यसको विकास र यस सम्बन्धि कार्यक्रमहरु वित्तीय संस्थाले मात्र गर्न सक्दैन । यसमा नेपाल सरकार, विभिन्न संघ संस्थाहरु मिलेर रणनीति बनाउनु पर्छ । उनीहरु पनि विदेशबाट केही सीप सिकेर आएका हुन्छन् । उनीहरुको सीप अनुसार कसरी व्यवस्थापन गर्ने ? उनीहरुलाई कुन क्षेत्रमा ल्याउने भन्ने विषयमा हाम्रो ध्यान जानुपर्छ । व्यक्तिले गाउँ नै गएर किसान बन्छु भन्यो भने पनि यो एउटा अवसर आएको छ । युवाहरुको सीप देशमै व्यवस्थापन गर्ने वातावरण सबैले सिर्जना गर्नुपर्छ । अहिले नागरिक घरभित्रै छन् । घरभित्रैबाट बैंकिङ सेवा लिनको लागि डिजिटल बैंकिङले महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसलाई नविल बैंकले कतिको प्राथमिकता दिएको छ ? हामीले डिजिटल बैंकिङलाई पहिले देखिनै प्राथमिकता दिँदै आएका छौं । यसका ग्राहक पनि दैनिक बढ्दै गएका छन् । हामीले डिजिटल बैंकिङको सेवा दिँदै आएको १०/१२ वर्ष भइसकेको छ । तर, पहिले ग्राहकले त्यसको प्रयोग त्यति गरेका थिएनन् । अहिले कोरोना भाइरसले गर्दा डिजिटल बैंकिङको माग बढेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डको सेवा धेरै बढेको देखिन्छ । मलाई लाग्छ, हामीले यसलाई प्रोत्साहन गर्यो भने आउने दिनहरुमा यो बढेको बढ्यै हुन्छ । लकडाउनको समयमा नविल बैंकमा तीन दोब्बरले डिजिटल बैंकिङको सेवा लिनेको संख्या बढेको छ । हाम्रा ७ लाख ग्राहकहरुमध्ये डिजिटल बैंकिङका दुई लाख ग्राहकहरु छन् । दैनिक रुपमा बढ्दै पनि गएको छ । यसमा विश्वसनियता चाहिँ कत्तिको छ ? आजसम्म कुनै नेपालीले मेरो खाताबाट अनलाइन चलाएर पैसा चोर्यो भन्ने कुरा आएको छैन । नबिल बैंकले काम गरेको ३५ वर्ष भएको छ । तर, एक रुपैयाँ पनि हराएको छैन । नविल बैंक मात्र होइन, नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा खाताबाट पैसा चोरेर म बर्बाद भएँ भन्ने कुरा सुनिएको छैन । भनेपछि यो विश्वासिलो नै छ । नभए चोरी भइहाल्थ्यो नि । अन्तिममा, सरकारले पनि क्यासलेस प्रणालीलाई बढी प्राथमिकता दिनुपर्छ भनिरहेको छ । नेपालमा क्यासलेस कतिको सम्भव छ ? क्यासलेस होइन लेस क्यास गर्नुपर्छ । क्यासलेस त सायद मेरो क्यारियरमा हुँदैन होला । कम क्यास चलाउन तर्फ लागौं । क्युआरहरुमा पनि हामी लागिरहेका छौं । जसले तरकारी किन्दा पनि फोनबाट नै पेमेन्ट गर्न सकिन्छ । जति सकिन्छ लेस क्यास गरौं । क्यासलेस त अहिले संसारमा कुनै देश पनि भएको छैन तर अहिले कोरोनाले गर्दा नेपालमा पनि लेस क्यास सुरु हुँदैछ ।