जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण आजदेखि बन्द
काठमाडौ. । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण आजदेखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका थिए । सर्लाहीका १४ वर्षीय किशोरको रिपोर्ट उक्त पिसिआर मेशिनले नेगेटिभ देखाएको थियो । जबकि ती किशोरकै स्वाब थप परीक्षण गर्दा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पोजेटिभ रिपोर्ट आयो । सोही कारण जनकपुरको पिसिआर मेशिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ । जनकपुर प्रयोगशालाका इञ्चार्ज रामविनय साह भने, “सर्लाहीको किशोरको घटनाले मेशिनमाथि आशङ्का उत्पन्न भएको छ, त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौं ।” उनले हालसम्म एक सय भन्दाबढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए । त्यही मेशिनले नेगेटिभ देखाएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकटवा बस्ने १४ वर्षीय बालकमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । किशोरको गत ६ गते सर्लाहीको हरकटवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा रहेको पिसिआर (स्वाब टेस्ट) मेशिनमा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । प्रादेशिक अस्पतालको पिसिआर टेस्ट नेगेटिभ आएपछि आइसोलेसनबाट फिर्ता गरिएका बालकलाई भने हरकट्वास्थित गाउँपालिकाको क्वारेन्टाइनमा नै राखिएको थियो । पुनः राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । चैत २३ गते भारतको नयाँदिल्लीबाट उनी गाउँ हरकट्वा आएका थिए । रासस
भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण
काठमाडौं । वि.सं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पुर्याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनः निर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । पाँच वर्षको अवधिमा भक्तपुरमा ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । जिल्लामा पुनःनिर्माण गर्नुपर्ने २८ हजार ५ सय ४५ र प्रवलीकरण गर्नुपर्ने ६ सय ९९ गरी कूल २९ हजार २ सय ४४ लाभग्राही सूचीमा परे पनि हालसम्म १० हजार ३ सय ३१ निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिए । पुनःनिर्माण लाभग्राहीमध्ये २४ हजार ७ सय २७ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये २४ हजार ७ सय २४ ले प्रथम किस्ता, १० हजार ६ सय ८१ ले दोस्रो किस्ता र १० हजार ८५ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका छन् भने थप २ सय ४६ पुनःनिर्माण सम्पन्न गरिसकेकाले तेस्रो किस्ता लैजाने चरणमा रहेको सूचना अधिकृत भट्टले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८५ दशमलव आठ प्रतिशत, दोस्रो किस्ता ३६ दशमलव पाँच प्रतिशत र तेस्रो किस्ता लैजाने ३४ दशमलव पाँच प्रतिशत लगेका छन् । हाल दुई हजार ५ सय ४ को निजी आवास पुनःनिर्माण शुरु गरेका छन् भने पहिलो किस्ताको ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने ११ हजार ८ सय ९२ रहेको छ । त्यस्तै पूर्णक्षति नभएको तर प्रवलीकरण गर्नुपर्ने निजी आवासअन्तर्गत प्रवलीकरण लाभग्राही सूचीमा रहेका ६ सय ९९ मध्ये ३ सय ५९ ले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने दुई लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ४२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनःनिर्माणका लागि सात हजार १ सय ६५ ले प्रथम किस्ता, तीन हजार ४ सय २७ ले दोस्रो किस्ता र तीन हजार २ सय २९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । भूकम्पमा सबैभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ३७ दशमलव नौ प्रतिशत सम्पन्न भएको छ । यो नगरपालिकामा १० हजार ४३ ले प्रथम किस्ता, चार हजार ४ सय ५५ ले दोस्रो किस्ता र चार हजार २ सय ६५ ले तेस्रो किस्ता लिएका छन् । त्यस्तै सबैभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ दशमलव छ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार १ सय ५४ ले प्रथम किस्ता, ८ सय १ ले दोस्रो किस्ता र ७ सय ७२ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिए । भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ दशमलव दुई प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ पाँच हजार ७ सय २१ ले प्रथम किस्ता, दुई हजारले दोस्रो किस्ता र एक हजार ८ सय १९ ले तेस्रो किस्ता रकम लगेका छन् । जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेकोजस्ता कारणले पुर्ननिर्माणमा समस्या आएको उनको भनाइ छ । समस्या समाधानका लागि कार्यालयले अनुगमन एवं अन्तक्र्रिया कार्यक्रम, जनप्रतिनिधिसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाइ गर्दै आएको छ । पहिलो किस्ता लिएकाले आगामी असार मसान्तसम्म दोस्रो किस्ता र आगामी मङ्सिर मसान्तसम्म पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम लिई सक्नुपर्ने प्राधिकरणले जनाएको छ । रासस
अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा जारी
काठमाडौं । अजोड इन्स्योरेन्सले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड-१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना एक हजार दुई सय ५७ जना कर्मचारीहरुका लागि एक लाख बीमाड्ढको बीमालेख खरिद गरेको हो । सो बीमालेखले कोरोना भाईरस (कोभिड – १९) को संक्रमण भएको भनि पिसिआर टेस्ट पोजेटिभ पुष्टि हुंना साथ बीमाड्ढ रकम बराबरको एक लाख रुपैयाँ बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बीमालेख वापत भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सय रुपैयाँको दरले सात लाख ५४ हजार २ सय बीमा शुल्क भुक्तानी गरेको छ । साथै अजोड इन्स्योरेन्स लि.ले महुली लघुवित्त वित्तिय संस्थाका दुई सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।
कोरोना रोकथाम गर्न नौ करोड ९३ लाख निकासा
काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई नौ करोड ९३ लाख निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई एक करोड रुपैयाँ, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख रुपैयाँ, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई २० लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई तीन करोड ७७ लाख रुपैयाँ, हेटौंडा अस्पताललाई ५१ लाख रुपैयाँ, भक्तपुर अस्पताललाई ४१ लाख रुपैयाँ, धादिङ अस्पताललाई ३१ लाख रुपैयाँ, त्रिशूली र सिन्धुली अस्पताललाई पनि ३१/३१ लाख रुपैयाँ निकासा गरेको हो । त्यसैगरी स्वास्थ्य निर्देशनालयलाई २२ लाख रुपैयाँ, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख रुपैयाँ, चौतारा अस्पताललाई २१ लाख रुपैयाँ गरी कूल रु नौ करोड ९३ लाख रुपैयाँ निकासा गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
पोखरा महानगरको राहत कोषमा चार करोड सात लाख
काठमाडौं । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । आजसम्म महानगरको कोषमा चार करोड सात लाख ३३ हजार ४९ रुपैयाँ जम्मा भएको छ । कोषमा निर्माण व्यवसायी समिति पोखराले एक लाख एक हजार पाँच र सगरमाथा माबिबाट ५० हजार रुपैयाँ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ कास्कीले २४ हजार ५ सय रुपैयाँ, कलम बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार, नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्दकुमारी गुरुङले २० हजार रुपैयाँ उपलब्ध गराएको छ । महानगरपालिकाले दुई करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारको एक करोड रुपैयाँबाट शुरु गरिएको राहत कोषमा विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिए । भौगोलिक हिसाबले सबैभन्दा ठूलो सो महानगरपालिकाका ३३ वडाका ३० हजार ७ सय ४५ घरपरिवारलाई लगभग तीन करोड ५० लाख रुपैयाँ बराबर राहत वितरण गरिसकिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । रासस
राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ । नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए । कतिपय विद्यार्थी काठमाडौंबाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आइनसकेका कारण लकडाउनको मारमा परेका थिए । एक महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए । राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीहरूलाई सबैभन्दा नजिकको मुकाम ढाका (बंगलादेश) पुऱ्याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुऱ्याएको हो । राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए । चौधरी फाउन्डेसनकालागि कोरोना परीक्षणका लागि चिनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए ।
काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु
काठमाडौं । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौंमा दुई जना रहेको अनुमान गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । रासस
टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट प्रदान गर्यो
काठमाडौं । सिंगापूर लगानीकर्ता कम्पनीअन्तर्गत परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १० हजार फर्टिट्यूड किट प्रदान गरेको छ । उक्त किट नेपाली सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सीद्वारा एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि ‘अलइनवान’ १ चरण आरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँछ । टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालकाहाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहस पूर्वक कोभिड—१९ का अवस्थालाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । निरन्तर सहकार्यलाई कायम गर्दै एकअर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।” टेमासेक फाउन्डेशनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ्य मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा.बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्वयन प्रयासका लागि आभार व्यक्त गरेका छन् । श्री एयरलाइन्स र निजि क्षेत्रका दुई उदार व्यक्तित्व पशुपति मुराकर र शेखर गोल्छा बिना यो सम्भव थिएन जसले सिंगापूरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए । टेमासेक फाउन्डेशनले सन् २०१४ माप्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचना सुदृढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेशनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ ।