बर्जर पेन्ट्स नेपालको प्रयास : पेन्टर समुदायलाई सहजता दिलाउने
काठमाडौं । विश्व परिदृश्यमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले अत्याधिक संख्यामा हताहत भएको छ । सरकारद्वारा नोबल कोभिड–१९ को संक्रमण फैलिन नदिन जारी गरिएको देशव्यापी लकडाउनको कारण धेरै आप्रवासी र दैनिक ज्यालादारी कामदारहरुलाई जीवनयापन गर्न ठूलो आर्थिक कठिनाई व्यहोर्न बाध्य पारेको छ । धेरैजसो व्यवसायहरु अचानक बन्द भएपछि आवश्यक आर्थिक र अन्य सो्रतको अभावले गर्दा कमजोर समूदायमा ठूलो समस्या निम्त्याएको छ । बर्जर पेन्ट्स नेपालले कम्पनीको “सम्बन्ध” योजनामा आबद्ध पेन्ट ठेकेदारहरु र पेन्टरहरुमा पर्न गएको आर्थिक दवाबको असरलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ सहयोगी हात बढाएको छ । बर्जर नेपालले प्रोत्साहन स्वरुप योजनामा उल्लेखित जिन्सी पुरस्कारको सट्टामा आबद्ध पेन्टरहरुको बैंक खातामा सिधै रकम जम्मा गरिदिएर सहायताको पहल शुरु गरेको छ । यसप्रकारको तत्काल वित्तीय सहायताले पेन्टर समाजलाई अहिले आइपरेको कठिन घडीमा उनीहरुको घरायसी खर्चहरुको आर्थिक व्यवस्थापन गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ । बर्जर पेन्ट्स नेपालले यो पहल अन्तर्गत १ हजार २ सयभन्दा बढी पेन्टरहरुलाई रकम प्रदान गर्ने लक्ष्य लिएकोे छ । पहिलो चरणमा हालसम्म ३ सयभन्दा बढी पेन्टरहरु लाभान्वीत भैसकेका छन । उनीहरुको बैंक खातामा ३ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइसकिएको छ । यो बर्जर पेन्ट्ससँग आबद्ध असँगठित क्षेत्रमा काम गर्ने मानिसहरु प्रति कम्पनीद्वारा प्रदर्शित मानवता र असाधारण सहायताको एक उदाहरण हो । यस पहलको बारेमा कुराकानी गर्दै बर्जर पेन्ट्स नेपालकाकन्ट्री मैनेजर श्री सैवाल घोषले भने “पेन्टिङ्ग ठेकेदारहरु सदैव बर्जर पेन्ट्स परिवारको एक अभिन्न अंग रहँदै आएका छन् र यस्तो विपत्तिको समयमा हामीले एक अर्कालाई सहयोग गर्नु जरुरी छ । हामी हाम्रा पेन्टर समाजमा अहिलेको संकटग्रस्त समयमा आर्थिक रुपमा सबल बन्न मद्दत गर्ने तथा यो समुदायलाई अधिक सहजता दिलाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।”
हवाई सेवा जेठ २ सम्मका लागि बन्द गर्ने उच्चस्तरीय समितिकाे निर्णय
काठमाडाैं ।अब आन्तरिक एवम् वाह्य हवाई उडान सेवा जेठ २ गतेसम्मका लागि स्थगित नै राखिने भएकाे छ । उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको बताइएकाे हाे । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवा बन्द गर्ने निर्णय भएकाे थियाे । अब भने जेठ २ गतेसम्म पनि बन्द नै लकडाउनकाे बारेमा भने भाेलिकाे मन्त्रिपरिषद्काे बैठकले नै निर्णय गर्ने बताइएकाे छ । शनिबारकाे बैठकमा लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समिक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको बताइएकाे छ । प्रदेशहरुलाई समन्वय गर्ने मन्त्रीहरुको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ ।
लकडाउनले बीमा कम्पनीहरुको ७ अर्बको आईपीओ अन्योलमा
काठमाडौं । पछिल्लो समय लाईसेन्स पाएका (नयाँ बीमा कम्पनी) हरुको साधारण सेयर कहिले निष्काशन हुने भन्ने विषयमा कुनै टुंगो लागेको छैन । साधारण सेयरका लागि कतिपय कम्पनीहरुले प्रकृया पूरा गरेपनि निष्काशनलाई भने समय लाग्ने देखिएको छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार बीमा कम्पनीहरुले आफ्नो तर्फबाट गर्नु पर्ने काम सकेका छन् । सेयर निष्कासनको लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबा हुनु पर्ने केही काम भने बाँकी छन् । ‘अहिले देशभर लकडाउन छ, हामीले साधारण सेयर निष्काशन लागि गर्नुपर्ने सबै काम गरिसकेका छौं, धितोपत्र बोर्डमा विचाराधिन अवस्थामा रहेका कामहरु अहिले त्यत्तिकै थाती छन्, अहिले देशको परिस्थिति नै विषम छ, हरेक किसिमका क्रियाकलाप अहिले रोकिएकाले सेयर निष्कासन दोस्रो प्राथमिकताको विषय भएको छ,’ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले विकासन्युजसँग भने । यस्तै, जनलर इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक एसके टमोटका अनुसार केही ढिलाईबाट भएपनि कम्पनीहरु सेयर निष्कासनको प्रक्रियामा अघि बढिसकेका छन् । तर, सेयर निष्कासन प्रक्रियालार्य लकडाउनले प्रभावित पारेको छ । ‘हामीले चैत्र १४ गते आर्थिक वर्ष २०७५/७६ को एजिएम राखेका थियौं, तर कोरोना महामारीका कारण एजिएम नै स्थगित हुन पुग्यो, सोही कारण हामीले एजिएम सारेका छौँ, अब अफिसहरु सामान्य रुपमा सुचारु भएपछि प्रकृया अघि बढ्छ, बोर्डबाट पास हुनपनि महिनौ लाग्ने देखिएको छ, त्यहाँबाट फटाफट काम भएमा त चाडै निष्काशन हुने सम्भावना पनि छ’, जनरल इन्स्योरेन्स कम्पनीका महा–प्रबन्धक टमोटले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार धितोपत्र बोर्डले केही कमेन्ट गरेको र त्यसको जवाफ दिन खोज्दैगर्दा लकडाउनको कारण काम रोकिएको छ । ‘साधारण सेयर निष्कासनको लागि धितोपत्र बोर्डले अन्तिम चरणमा पुगेको जानकारी दिएको थियो, हामीले आफ्नोतर्फबाट काम गरिरहेकै थियौं, बोर्डबाट आएको केही कमेन्टको जवाफ दिन बाँकी नै हुँदा काम रोकिन पुगेको अवस्था छ, चालु आर्थिक वर्षको असार मसान्तसम्म साधारण सेयर निष्काशन गर्न पनि त्यति सहज देखिदैन, अब हेर्दै जाउँ के के हुन्छ,’ अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कति आउँछ आईपीओ ? अहिले संचालनमा रहेका १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेका छैनन् । निर्जीवन बीमा कम्पनीतर्फ अडोज, जनरल र सानिमा जनरलले ३०/३० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । यस्तै, जीवन बीमा कम्पनीतर्फ सिटिजन लाइफले ७५ करोड, ज्योति लाइफले ६६ करोड, युनियन लाइफले ६४ करोड ५० लाख, रिलायन्स लाइफले ६३ करोड र सानिमा लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । प्रभु लाइफ, आईएमई लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६०/६० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेका छन् । तर, कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले देशभर लागू गरेको लकडाउनको कारण कम्पनीहरुले जारी गर्न लागेको आईपीओ अनिश्चित भएको छ । यी सबै कम्पनीको गरी करिब ७ अर्ब रुपैयाँ बराबरको आईपीओ आउनेछ । आईपीओ जारी गर्ने प्रक्रियामा रहेको नेपाल पुनर्बीमा कम्पनीले भने आईपीओ जारी गरिसकेको छ ।
राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा
काठमाडौं । ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिए । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिए । कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन्छ । उन भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित । राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाएका बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ । राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए । कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरे । रासस/एएनआई
राजनीतिको ‘र’ बुझ्नेलाई पनि भैँसेपाटीको निर्णय थाहा छ भन्दै वास्कोटाले यस्तो ट्वीट गरे
काठमाडौं । सरकारका पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजनीतिकाे ‘र’ बुझ्नेलाई पनि भैंसेपटीको निर्णय थाहा हुने बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै सो कूरा बताएका हुन् । उनले भनेका छन्, ‘साथीहरुले भैंसेपाटिको गोप्य निर्णय के होला भने ? मैले गोप्य छैन, राजनीतिको ‘र’ बुझ्ने सबैलाई थाहा छ भन्दिएँ ।’ उनले पछिल्लाे समय सामाजिक सञ्जालमा यस्ता पेचिलाे किसिमले आफ्नाे विचार राख्दै आएका छन् ।
लकडाउनबारे आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने
काठमाडाैं । देशमा भइरहेकाे लकडाउनकाे बारेमा आइतबारको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । शनिबार लकडाउनकाे बारेमा निर्णय गर्न ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेपनि केही निर्णय नभएकाे बुझिएकाे हाे । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बताइएकाे हाे । उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ । लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।
दैनिक उपभोग्य वस्तु अभावमा भुल्के गाउँको जनजीवन कष्टकर बन्दै
काठमाडौं । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ । गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने, “ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।” स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनले भने, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ” आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताए । “खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौं। ” गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरे सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । रासस
नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा
काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए । उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । “नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन”, उनले भने, “त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।” नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड –१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड– १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड– १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २ सय ५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४ सय ९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४ सय ९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किएका छन् । रासस