विकासन्युज

कोरोना रोगको उपचारमा आशाका साथ परीक्षण गरिएको प्लाज्मा थेरापी के हो ?

काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् । त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि अहिले भारतमा समेत ४ ओटा अस्पतालले प्लाज्मा थेरापीबाट उपचारको लागि अनुमति पाएको छ । कोरोना संक्रमणको उपचारमा भर्खरै मात्र सुरु गरिएको प्लाज्मा थेरापी नयाँ उपचार पद्दति नयाँ भने हैन । यो पद्दतिको सुरुवात सन १८९० बाट नै भएको हो । सन १९१८ मा फैलिएको स्पेनिस फ्लूको माहामारीको उपचारमा समेत यो पद्दतिको सफल प्रयोग गरिएको थियो । जोन्स हकिङ्स ब्लुमबर्ग स्कुलअफ पब्लिक हेल्थका प्राध्यापक डा. आरतुरो कासादेवालका अनुसार आजभन्दा पहिलेको प्रयोगको कुरा गर्ने हो भने प्लाज्मा थेरापीको आँकडा अत्यन्त सकारात्म रहेको छ । स्पेनिस फ्लु, मार्स, सार्स लगायलका भइरसजन्य फ्लुमा यसको प्रयोगबाट गरिएको उपचार सफल रहेको छ । ‘तर कोरोनाको सन्दर्भमा अहिले केही भन्न सक्ने अवस्था छैन । कोरोना भाइरस हाम्रो लागि अत्यन्त नयाँ हो,’ डा. आरतुरोले भने । प्लाज्मा थेरापीको कोरोनामा पर्ने प्रभावको बारेमा उचित जानकारीका लागि यसको क्लिनिकल परीक्षण बढाउनु पर्ने डा. आरतुरो कासादेवालको धारणा रहेको छ । के हो प्लाज्मा थेरापी ? कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ । शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग (कनब्यालेसेन्ट प्लाज्मा ) लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ । रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो । प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद््दतिको एक सफल उदाहरण हो ।

टर्कीमा रहेका नेपालीद्वारा स्वदेश फिर्तीको आग्रह

काठमाडौं । टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासलाई एक पत्रमार्फत लकडाउन जारी गरिएसँगै हजारौंको सङ्ख्यामा टर्कीमा अवैधानिकरूपमा रहेका नेपालीको अवस्था कठिन बन्दै गएको जानकारी गराएको छ । समाजका अध्यक्ष उज्वलकुमार घिसिङले वैधानिक श्रमिकले समेत रोजगारी गुमाउनुपर्ने वा बेतलबी बिदामा बस्नुपर्दाको पीडाले झन् निराशा सिर्जना गरिसकेको उल्लेख गरे । उनका अनुसार कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको कठिन अवस्थालाई ध्यानमा राखेर टर्की सरकारले अवैधानिक आप्रवासी कामदारका लागि जरिवाना मिनाहा र आममाफीको निर्णय गरी स्वदेश फिर्तीका लागि प्रक्रिया शुरु गरिसकेको छ । सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै समाजले स्वदेश फिर्तीका लागि पहल गरिदिन इस्लामावादस्थित नेपाली राजदूतावाससमक्ष अनुरोध गरेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत टर्कीमा रहेका नेपालीको अवस्था र स्वास्थ्यस्थितिका बारे चासो लिँदै सहयोगका लागि त्यहाँको सरकारसँग समन्वयमा रहेको जनाए । टर्कीमा रहेका नेपालीका समस्याबारे गैरआवासीय नेपाली सङ्घले पनि आवश्यक चासो लिई सहयोगका लागि पहल गरिरहेको सङ्घको ‘कोभिड–१९ उच्चस्तरीय समिति’ अन्तर्गतको स्वास्थ्य समितिका सदस्य अतुल कोइरालाले जानकारी दिए । रासस

लकडाउन जारी रहेपछि औद्योगिक क्षेत्रमा दैनिक ३० करोड घाटा

हेटाैंडा ।  लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक ३० करोड रूपैयाँ घाटा भइरहेको छ । विश्वमा नै फैलिएकाे कोभिड–१९ को जोखिम हुन नदिन गरेकाे लकडाउनकाे कारण दैनिक उक्त रकम बराबर घाटा भइरहेकाे हाे । हेटौंडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी १११ उद्योग छन् । औद्योगिक क्षेत्रमा पाँच हजार कर्मचारीरसहित मजदुर कार्यरत रहेका छन् । लकडाउनका कारणले सो उद्योग बन्द भएपछि अहिले उद्योगको अवस्था दयनीय छ भने मजदुरको समेत रोजगारी गुमेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब तीन करोडभन्दा बढीको कारोवार हुने गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका अनुसार अतिआवश्यक वस्तुहरु उत्पादन गर्ने २०/२१ उद्योग मात्र सञ्चालनमा रहेको छ । समाजिक दूरी तथा स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको ती उद्योगसमेत आंशिकरूपमा चलेको बताइन्छ । उद्योगमा कच्चा पदार्थ, मजदुर अभाव, दुवानी र बिक्री वितरणको समस्याले आंशिक रूपमा चलेको छ । कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगमा दुग्ध उद्योग, खानेपानी उद्योग, बेकरी तथा बिस्कुट उद्योग, मैदा उद्योग, पशुपक्षी दान उद्योग, प्लास्टिक उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योग पनि मझौला उद्योगहरु हुन् । उद्योग बन्दले घाटा खानुपरेकाले बैंकको ऋण तिर्न समस्या परेको तथा कर्मचारीको तलब दिनुपर्नेलगायतका थुप्रे समस्या आएको उद्योग सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष लेखराज पोखरेलको अनुसार उद्योगीको व्यापक गुनासो रहेको उल्लेख गरे । उद्योग बाहिर बस्ने मजदुरलाई काम गर्न जाँदा बाटोमा प्रहरीले अप्ठ्यारो पार्ने गरेको मजदुरको गुनासो छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग, शिवम सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग र एशियन पेन्टस उद्योगलगायतका अन्य ठूला उद्योग बन्द छन् । त्यसैगरी हेटौंडा उपमहानगर क्षेत्रमा रहेका कावार खानामा कावार संलग्न गर्ने मजदुर पनि बेरोजगार छन् । लोहा, टिना प्लास्टिक तथा सिसाको बोतल र टुटफुट भएका सामान सङ्कलन गर्ने व्यवसायी एवं मजदुरी गर्ने कारोवार ठप्प छ । हेटौँडमा विभिन्न टोलमा गरी चार दर्जनभन्दा बढी कावारखाना रहेको र ५ सयभन्दा बढी मजदुर आश्रित रहेको हेटौँडा–४ कारखानाका सञ्चालक राम एकवाल गुप्ताले जानकारी दिए । सर्लाही सुदरमुकामका बासिन्दा रहेका हेटौँडामा कावार सङ्कलन गर्ने दिनेश साहले मासिक २५ हजार कमाउने गर्थे तर लकडाउनले खानपन आपत परेको गुनासो गरेको पाइएको छ । त्यस्तै ग्रिल र फर्निचर उद्योगमा कार्यरत मजदुर उद्योगीको समेत समस्या भएको गुनासो छ । वाग्मती प्रदेश नेपाली काँग्रेस प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले मजदुरको समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाए  । उनले भने “यस्तो अवस्थामा सबै दलबीच समन्वय जरुरी छ । ” रासस

लकडाउनकाे समयमा उपत्यका मात्र २ सय २ घटना

काठमाडाैं । ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौंका डिआइजी विश्वराज पोखरेलले बताएका छन् । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका उनले जानकारी दिए । सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना, बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका डिआइजी पोखरेलले बताए । सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन् । “हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भने । सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ । उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । लकडाउनमा दैनिक दुई हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उनले यो अवधिमा उल्लङ्घन गर्ने ७३ हजार बढीलाई कारवाही गरिएको बताए । लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ । स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन् । यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । रासस

कोरोनासँगै औंलो फैलिन सक्ने, लामखुट्टेबाट टाढा र सफाईमा ध्यान दिन आग्रह

काठमाडौं । क्वारेन्टाइनमा बसेका मानिसमा औंलो देखिएकाे छ । कोरोनासँगै औंलो रोग फैलिन सक्ने हुँदा व्यक्तिगत तथा वातावरणिय सफाईमा ध्यान दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आग्रह गरेका छन् । औलोको कारण विश्वमा प्रत्येक २ मिनेटमा एक बच्चाको मृत्यु हुने गरेको छ । विश्व औला दिवसको अवसरमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गर्मी याम लागेसँगै कोरोनाको महामारीमा नै औलो फैलिन सक्ने हुँदा सफाईमा ध्यान दिन डा. देवकोटाले आग्रह गरेका हुन् । आफैबाट शुरु गरौं औंला शुन्य पुर्याै भन्ने नाराका साथ नेपालले सन् २०२५ सम्ममा मुक्त देश घोषणा गर्ने लक्ष्य राखेको छ । यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । पछिल्ला दिनमा क्वारेन्टाइनमा बसेका व्यक्तिमा पनि औंलो परीक्षण गर्दा देखा पोजेटिभ देखिए पछि मन्त्रालयले औंलो परीक्षणको पनि व्यवस्था गर्ने जानकारी दिए । गर्मी यामसँगै विशेष गरि गर्भवति महिला र बच्चालाई लामखुट्टेबाट जोगिन पर्नेछ । त्यस्तै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा कोरोना लागेका गर्भवती महिलालाई प्रसुती गराउने व्यवस्था भएको निर्देशक डा. जागेश्वर गौतम बताए ।

विश्वचर्चित बुल्गेरियन ड्रामा ‘अण्डरकभर’ डिसहोम रियालिटी टि.भि.शो मा

काठमाडौं । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा अण्डरकभर डिशहोमको रियालिटी टि.भि.मा प्रसारण हुने भएको छ । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा टेलिभिजन सिरिज ‘अण्डरकभर’ डिशहोमको च्यानल नं १ सय २ रियालिटि टि.भि.मा प्रसारण हुने भएको छ । बुलगेरियन माफियाका गिरोह विरुद्ध प्रहरीको अन्डर कभर अपरेशनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिशहोमको रियालिटी शो मा हरेक आइतबार राति ८ः३० बजे प्रसारण हुन लागेको हो । अण्डरकभर एक काल्पनिक आधुनिक अपराध श्रृंखला हो, जसले बुलगेरियन अण्डरवल्र्डको वास्तविकतालाई चित्रण गर्दछ । यस अपराध कथाले वास्तविक घटनाहरुलाई जस्ताको तस्तै कभर गरेर श्रंखला बनाउँछ । जसमा ग्यानस्टार, युद्ध,लागुऔषध वितरण, जालसाँजी, शहरको केन्द्रमै बन्दुक हमला, भ्रष्टाचार योजना, बैंक डकैती आदी कथा समावेश छन् ।  

सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

काठमाडौं । सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत तिर्न सकिनेछ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुरुवात गरेको छ । अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहज रुपमा भुक्तानी गर्न सकिनेछ । कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई सेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्पको साथै थप सहजता प्रदान गरेको छ ।

गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाटभुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क तिर्न सकिन्छ । गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने । ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’ देशभरी ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोडभन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सार्वधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सार्वधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ ।