विकासन्युज

नाफाको २५ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था गलत छ- बसन्तराज लम्साल

नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संचालनमा रहेका बैंक तथा वित्तीय संस्था मध्ये सबैभन्दा धेरै संख्यामा ‘घ’ वर्गका लघुवित्तहरु रहेका छन् । विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका यस्ता लघुवित्तको संख्या ९० वटा छ र देशभर यसको सञ्जाल छ । यी संस्थाहरुको अवस्था कस्तो छ ? संकटको बेलामा उनीहरुले कसरी सेवा दिईरहेका छन् ? प्रस्तुत छ नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष एवं विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालसँग विकासन्युजकी मञ्जरी पौडेलले गरेको कुराकानी । लकडाउनको समयमा काम कसरी भईरहेको छ ? प्रमुख कार्यालयहरु केही शुरु भएका छन् । फिल्डमा धेरै काम भएको छैन । अहिले स्टाफ ट्रेनिङमा जोड दिएको छु । त्यसैले, कर्मचारीहरुलाई यो समयमा क्यापासीटी डेभलपमेन्टमा सर्पोट गर्ने भनेर ट्रेनिङ चलाईरहेको छु । अहिलेको अवस्थामा माइक्रोफाइनान्सहरुले ग्राहकहरुलाई सेवा कसरी दिईरहेका छन् ? हामीले सेवा सुचारु गर्ने प्रयास चाहिँ गरेका छौं । केही शाखाहरु खोल्ने प्रयास गरिरहेका छौं र धेरैजसो खुलिरहेकै पनि छन् । समस्या कहाँनिर छ भने, हाम्रो धेरै अपरेशन फिल्डबाटै हुने भएकाले फिल्डमा जान सकिएको अवस्था छैन । माइक्रोफाइनान्सको त गाउँमा गएर ग्रुप मिटिङ्गहरु गरेर त्यहाँबाट पैसा लगानी गर्ने, उठाउने कार्य गर्ने हो । त्यो काम चाहि हामीले गर्न सकिरहेका छैनौं । यो बेला हिँडडुल गर्न नपाईने, धेरैजना जम्मा हुन नपाईने भन्ने सरकारको निर्णयलाई पालना गरिरहेका छौं । त्यसकारणले हामीले अफिस चाहिँ खोलेका छौं । कोहि मान्छे अफिसमा आएर सानोतिनो सेवा लिन खोज्छन् भने उनीहरुलाई सेवा दिने प्रयास गरिरहेका छौं । तर माइक्रोफाइनान्सको अफिसमै आएर काम गर्ने चाहिँ थोरै हुन्छन् । त्यसकारणले, खासै धेरै इफेक्टिभ अपरेशन चाहिँ भएको छैन । वित्तीय संस्थाहरुले व्याजदर घटाउनु पर्छ भनेर ऋणिको पक्षबाट माग उठिरहेको छ । यस्तो बेलामा तपाईंहरुले ब्याजदर घटाउन सक्नुहुन्छ कि सक्नुहुन्न ? वाणिज्य बैंक र हाम्रोमा धेरै फरक छ । उहाँहरुले डिपोजिटमा हामीले घटायौं अब जेठबाट लोनमा पनि घटाउँछौं भनेर निर्णय गर्नुभएको छ । उहाँहरुले ग्राहकको खाताको पैसा, हिजो ५ प्रतिशत दिएका थियौं अब ४ प्रतिशत दिन्छौं भन्दिए भईहाल्यो । तर हामीसँग त्यस्तो डिपोजिटहरु छैन । हामीले त्यहि वाणिज्य बैंकबाटै लिने पैसा हो । उहाँहरुले जेठबाट बल्ल हामीले पैसा घटाउँछु भन्नु भएको छ । उहाँहरुले ब्याजदर कति घटाउनु हुन्छ । त्यसपछि हामीले पनि घटाउने प्रयास गर्ने हो । अहिले तुरुन्तै यति घटाउन सक्छौं भनेर चाहिँ भनेका छैनौं । वाणिज्य बैंकहरुले घटाएको आधारमा कति जति चाहिँ घटाउन सक्नुहुन्छ यहाँहरुले ? अब बैंकहरुको कति घट्छ भन्ने हो । उहाँहरुले घटाएको नाममा ०.२५, ०.५ प्रतिशत मात्रै घटाउनु भयो भने चाहिँ हाम्रोमा मेजर चेञ्जेज हुँदैन । हामीले धेरै गर्न सक्दैनौं । त्यो भन्दा बढी घट्यो भने चाहिँ हामीले पनि घटाउने प्रयास गर्नेछौं । हामीलाई पनि नेपाल राष्ट्र बैंकले स्प्रेडदर तोकेको छ । हामीले सस्तो व्याजमा पैसा पायौं भने कर्जाको व्याज पनि घटिहाल्छ । बढी मार्जिन हुने बित्तिकै हामीलाई राष्ट्र बैंकले कारबाही गर्छ । हाम्रो कष्ट घट्ने वित्तीकै आटोमेटिकल्ली व्याजदर घट्नु पर्छ । हामीले अहिले बैंकबाट एकदमै महंगोमा पैसा लिइरहेका छौं । त्यसैले उहाँहरुले कसरी घटाउनु हुन्छ, कस्तो खालको रोल रहन्छ, सरकारले कस्तो व्यवस्था गर्छ, त्यसमा भर पर्छ । अर्को, हाम्रोमा तुरुन्तै घटाउने, तुरुन्तै बढाउने सम्भावना हुँदैन । अहिले १ प्रतिशत अथवा २ प्रतिशत घटाउने फेरि ६ महिनापछि २ प्रतिशत बढाउने गर्न पाईदैन । किनभने हाम्रो ग्राहकहरु गाउँका हुने भएर प्रायः अनपढ अथवा अलि कम बुझ्ने नै हुनुहुन्छ । उहाँहरुलाई एकपटक यो यस्तो भनेर बुझाई सकेपछि अर्को पटक अर्को भनेर बुझाउँदा भएङ्कर विद्रोह हुन्छ । त्यसैले, यसमा चाहिँ हामीले एकदमै सर्तकता पूर्वक, एकदमै विचार पुर्याएर गर्नुपर्ने हुन्छ । एकचोटि घटाईसकेपछि फेरि बढाउने सम्भावना हुँदैन । वाणिज्य बैंकको सजिलो के छ भने उहाँहरुको ग्राहकहरु अलि बुझेका हुन्छन्, ठूला ठूला व्यापारीहरु हुन्छन् । ल यस्तो भयो, यो कारणले बढाए भनेर एउटा चिठी देखाईदिएको भरमा हुन्छ । तर हाम्रोमा त्यो काम कठिन नै छ । देशभर लकडाउनको परिस्थिति छ, यस्तो बेलामा माइक्रोफाइनान्सहरुमा क्रेडिट डिमाण्डको अवस्था कस्तो छ ? अहिले के कस्तो छ ठ्याक्कै आईसक्या छैन । किनभने सबै बन्द छ । तर क्रेडिट डिमाण्ड चाहिँ बढ्न सक्छ भन्ने अनुमान छ, बढ्छ पनि । अहिले तुलनात्मक ग्रोथभन्दा अलि बढी माग बढ्छ । धेरै मागेर पनि हामीले दिने अवस्था हुँदैन । हाम्रो पनि एउटा लिमिट हुन्छ, ऋण कै पनि यतिभन्दा माथि जान नपाउने भन्ने लिमिट छ । यो खुलेपछि फागुन महिनाको लगानीको तुलनामा १० देखि १५ प्रतिशतसम्म कर्जा माग बढ्न सक्छ । कर्जा माग बढेको बेला कसरी व्यवस्थापन हुन्छ ? ग्राहकहरूले डबलै बढाएर मागे भने चाहिँ हामीले दिने अवस्था हुँदैन । किनभने तिर्ने क्षमता नै कम भएको व्यक्तिहरुलाई धेरै दिन पनि सक्दैनौं । २० देखि ३० प्रतिशतसम्म चाहिँ बढाएर दिन सक्छौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर आउनुभएको छ । बैंक पनि ६५औं वार्षिकोत्सव मनाउँन गईरहेको छ । यस्तो बेलामा लघुवित्तको पक्षबाट के कस्तो अपेक्षा गरिरहनु भएको छ ? हामीले हाम्रो माइक्रोफाइनान्स संघको तर्फबाट राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएका छौं । यी कुराहरु गरिदिनु पर्छ भनेका छौं । गभर्नर पदमा पनि राष्ट्र बैंक बुझेको मान्छे आउनु भएको छ । ३० वर्ष उक्त बैंकमा काम गरेर बाहिर गएर आउनु भएको छ । त्यसैले हामीले एकदमै आशा गरेका छौं कि नयाँ गर्भनरले हाम्रा सुझावहरुलाई समेट्नु हुन्छ । अहिलेको परिस्थितिमा ग्राहकहरुले पैसा नतिर्ने बित्तिकै हाम्रो पनि पोर्टफोलियो रिक्समा गईरहेको छ । पैसा नउठ्ने सम्भावना त्यत्तिकै छ । पैसा नउठ्नु भनेको हाम्रो संस्थालाई भएङ्कर ठूलो घाटा हुनु हो । किनभने हामीले वाणिज्य बैंकबाट ऋण लिएर आएका छौं । हाम्रो लगानी उठेन भने हामीले पनि बैंकहरुलाई कसरी तिर्ने ? यस्ता कुरालाई समेटेर भोलि राष्ट्र बैंकले पोलिसी तथा नेपाल सरकारले राहतको प्याकेजहरुको व्यवस्था गर्नुहुन्छ भन्ने आश गरेका छौं । अहिले माक्रोफाइनान्सहरुले एकदमै थोरै व्याज मार्जिनमा काम गरिरहेका छन् । तरपनि हामीलाई तिमीहरुले एकदमै धेरै व्याज लिन्छौ भन्ने आरोप त छ । ठ्याक्कै अहिले व्याजदर कति छ ? अहिले हाम्रो १८ प्रतिशतको हाराहारीमा छ । तर हामीले चाहिँ त्यो पैसा भनेको १२ प्रतिशत व्याजमा ल्याएका हौं । १२ मा पैसा लिएर १८ मा लगानी गरेका छौं । जुन खर्च ६ प्रतिशत भनेको स्टाफ खर्चदेखि लिएर सबै खर्च त्यसमै पर्छ । सबै खर्च जोड्दा हाम्रो कुल १७ प्रतिशत खर्च भइरहेको हुन्छ । भोलि हामीले पनि ९/१० प्रतिशत व्याजमा पैसा पायौं भने चाहिँ हामीले पनि १६/१७ प्रतिशत व्याजमा पैसा दिने अवस्था हुन्छ । राष्ट्र बैंक समक्ष संघको तर्फबाट दिएका सुझावमा के छ ? कोभिड १९ बाट सिजृत हालको जटिल अवस्थामा लघुवित्त क्षेत्रको स्थायीत्व एवं सम्वद्र्धनका लागि नेपाल राष्ट्र बैंक समक्ष विशेष व्यवस्था गर्न अनुरोध गरेका छौं । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुमा पर्न सक्ने अल्पकालिन तथा दीर्घकालिन असरलाई मध्यनजर गर्दै एउटा विशेष लघुवित्त कोषको व्यवस्था गर्न सुझाव दिएका छौं । त्यस्तै, तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले स्थापना गरेको पुर्नकर्जा कोष मार्फत लघुवित्त संस्थाहरुलाई पनि पुनर्कर्जा दिने व्यवस्था गराउन माग गरेका छौं । साथै, लगानीको आन्तरिक तथा बाह्य स्रोत परिचालन तथा लागत कम गर्ने र संघले ऋणी सदस्यको किस्ता भूक्तानीको समय सीमा बढाउने, समयमै भुक्तानी गर्नेलाई व्याज छुट दिने, कर्जा भुक्तानीको ग्रेस अवधि थप गर्ने, कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्ने तथा कर्जा तथा सापट र लगानीको सीमा बढाउने सम्बन्धमाः आवश्यक नीतिगत व्यवस्था गर्न अनुरोध गरेका छौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा अंकुश लगाएको छ । यसले चाहिँ संस्था र सेयरधनी दुबैलाई कस्तो असर परेको छ ? केही समयअघि राष्ट्र बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गरेमा संस्थाले २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसले चाहिँ नकारात्मक असर नै परेको छ । बाढ्न पाउने नाफा घट्ने भयो । धेरै नाफा गर्ने संस्थाहरुलाई धेरै नाफाबाट घट्ने भयो । यो त संस्थागत हिसावले असर नै भईहाल्यो । मार्केट पनि राम्रै चलिरहेकै अवस्था थियो । तर एकाएक नियामकको यो निर्णयले सेयरधनीहरुमा हिट गर्यो र मार्केटमा उच्च गिरावट आयो । ग्राहक संरक्षण कोषमा २५ प्रतिशत रकम दिनु पर्ने व्यवस्था त ठिक छ । किनकी हामीले आफ्ना ग्राहकहरुलाई सपोर्ट गर्न सक्छौं । तर सीएसआर कोषमा २५ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था चाहिँ नाजायज नै छ । किनभने कसैलाई अनुदान दिने कुरा चाहिँ आफुले नाफा गरेको पैसा तैँले यो सीएसआरमा लगानी गर भन्ने कुरा हुँदैन । यसलाई करेक्सन गराउनु पर्छ भनेर हालै पनि हामीले राष्ट्र बैंक समक्ष भनिरहेकै छौं । सायद उहाँहरुले अबको मौद्रिक नीतिमा यसलाई हेरफेर गरेर संशोधन गर्नुहुन्छ ।

काेराेनाकाे कहरसँगै सरकारले अघि बढायाे दुई सय सडक निर्माण

काठमाडौं । सरकारले देशभरका झण्डै दुई सय स्थानमा सडक र पुल निर्माण अघि बढाएको छ । ‘लकडाउन’ को समयमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर यी सडक निर्माण अघि बढाइएको हो । सडक विभागअन्तर्गत डिभिजन सडक कार्यालयले राष्ट्रिय राजमार्गमा सडक र पुल निर्माणसँगै मर्मतको काम अघि बढाएको छ । प्रतिकूल अवस्थामा पनि सजगता र होसियारीसाथ निर्माणलाई अघि बढाइएको सडक विभागले जनाएको छ । अहिले निर्माण भइरहेका स्थानबाहेक थप केही स्थानमा अझै निर्माण हुने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, “त्यहाँको आवश्यकता र निर्माण व्यवसायी तयार रहेका थप ८र१० स्थानमा निर्माण हुनेछ ।” वर्षा शुरु हुन केही महिना मात्रै बाँकी रहेकाले त्यसअघि नगरिनहुने कामहरु अहिले भइरहेको महानिर्देशक शर्माले बताए । पुल र सडकमा भइरहेको काम जुन अहिले नगर्दा भइरहेका संरचना भत्कन्छ भने त्यो काम भइरहेको छ । यीमध्ये कतिपय सम्पन्न हुने चरणमा पुगेका काम भएको र कतिपय अहिले नै सम्पन्न नभए पनि अलपत्र कामलाई व्यवस्थापन भइरहेको छ । कुनै सडकमा अहिले खाल्टा छन् अहिले नै मर्मत नहुँदा वर्षाको समयमा ठूलो खाडल पर्न सक्ने हुँदा तीनलाई अघि बढाइएको हो । उनले भने, “हामीले कुन कुन स्थानमा तत्काल काम नगर्दा थप क्षति हुनसक्छ भनी पहिचान गरी अघि बढाइरहेका छौँ ।” त्रिभुवन राजपथ, कोशी राजमार्ग र महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र हुलाकी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढिरहेको छ । त्रिभुवन राजपथको हेटौँडा–भैसे–लामीडाँडा सडकखण्ड, कोशी राजमार्गको देउराली–मुढे खण्ड र महेन्द्र राजमार्गको लम्की अत्तरिया खण्डमा निर्माणको काम अघि बढेको हो । महेन्द्र राजमार्गको चुरे हेटौँडा खण्ड आवधिक मर्मतको काम भइरहेको छ । पृथ्वी राजमार्ग फिस्लिङ–जोगीमारा खण्ड पटके मर्मत अघि बढेको छ । दमकस्थित डिभिजन सडक कार्यालयले झापामा पुल र सडक निर्माण गरिरहेको छ । जुम्ला डिभिजन कार्यालयले गमगढी सडक स्तरोन्नति गरिरहेको छ । कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डमा निर्माण अघि बढेको छ । सडक विभागले राष्ट्रिय राजमार्गसँगै स्थानीय सडकमा निर्माणाधीन पुललाई समेत अघि बढाइरहेको छ । त्रिशूली पुल ठिमुरा निर्माणको काम भइरहेको छ । बूढी खोला पुल निर्माणको काम अहिले अघि बढिरहेको छ । कर्णाली राजमार्ग कालीकोट खण्डमा सडक मर्मत र नवलपरासीमा तुरीया खोला पुल निर्माण अघि बढिरहेको छ । डिभिजन सडक कार्यालय दाङले पुलको फुटपाथ निर्माण गरिरहेको छ । सरकारले निर्माणाधीन आयोजनाका काम स्वास्थ्य सावधानी अपनाउँदै अघि बढाइने निर्णय गरेसँगै सम्बन्धित जिल्लाका प्रशासनले सडक निर्माणका सहजीकरण गरिरहेका छन् । सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन् । ती स्थानमा भीडभाड नगर्ने, कामदारलाई त्यही ‘क्लोज क्याम्प’ मा राख्ने, मास्क र सेनिटाइजर प्रयोग गरेर काम भइरहेको विभागले जनाएको छ । आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको अलपत्र योजना सम्पन्न गराउन निर्माण अघि बढाइएको हो । डिभिजन सडक कार्यालयले गत साता नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आवधिक मर्मत शुरु गरेको थियो । उपत्यकाका व्यस्त सडकमा सवारी चाप नभएको समयमा काम गर्न थाले पनि निर्माण सामग्री नपाउँदा अहिले ठप्प बनेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । यसअघि सामाजिक दूरी कायम गरेर सडक चिह्न लगाउने काम गरेको विभागले मर्मतको काम शुरु गरे पनि धेरै दिन गर्न सकेन । उनले भने, “अहिले पनि हामी निर्माण सामग्रीका लागि सम्बन्धित पालिकासँग सम्पर्क गरिरहेका छौँ ।” उपत्यका बाहिरका अरु सडकमा भने निर्माण सामग्रीको अभाव नरहेको महानिर्देशक शर्माले बताए । उपत्यका बाहिरका सडक निर्माणमा स्थानीयवासी र स्थानीय तहको पनि सहयोग रहेको छ । उनले भने, “स्थानीयस्तरमा सहयोग भएका सडकमा मात्रै काम भइरहेको छ, विरोध हुने स्थानमा काम गरिएको छैन ।” नेपाल निर्माण व्यवसायी महासङ्घले दुई साता पहिले नै प्रेस विज्ञप्तिमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो । महासङ्घले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्टा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताएको थियो । महासङ्घले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो । अधिकांश आयोजना मजदुर निर्माणस्थलमै रहेको महासचिव रोशन दाहालले बताए । उनले भने, “काम गर्न ठूलो सङ्ख्यामा मजदुर निर्माणस्थलमै छन् ।” रासस

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । एनआरएन स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेको कोडिभ १९ उच्चस्तरीय समिति एनआरएनर्का प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । नेपालमा भने ४९ जनामा कोरोना संक्रमण देखिएको तथा १२ जना कोरोनामुक्त भएको समितिले जनाएको छ । यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको बताइएको छ । संक्रमित हुने नेपालीमा अमेरिका एक हजार, बेलायत सात सय, संयुक्त अरब इमिरेट्स ८१, बहराइन ४९, कुवेत ४२, पोर्तुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, बेल्जियम छ, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चारचार, मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रस तीनतीन, जापान, हङकंङ र माल्टा दुईदुई तथा फ्रान्समा एक जना रहेको समितिले जनाएको छ । समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । यसैबीच कोरोना भाइरसको महमारीबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनले आफ्ना शाखालाई परिचालन गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना महामारीपछि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । कोरोना संक्रमणपछि विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ । डा शर्माका अनुसार ७० भन्दा बढी गैरआवासीय नेपाली चिकित्सकसमेतले कोरोना संक्रमित देशमा गैरआवासीय नेपालीलाई सघाइरहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भएलगत्तै एनआरएनले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरी काम अघि बढाएको थियो । रासस

कोभिड–१९ को विरुद्ध परिचालन हुने कर्मचारीलाई बीमासहित जोखिम भत्ता

डोटी। जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ । स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह गरिएको छ । स्थानीय तहले कर्मचारीका लागि तलब स्केलको ४० देखि ६० प्रतिशतसम्म सो भत्ता दिने निर्णय गरेका छन् । गत चैत १५ गतेदेखि लागू हुने गरी हेल्थ डेस्कमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, क्वारेन्टाइनमा खटिने कर्मचारी तथा अनुगमनमा खटिएका कर्मचारीलाई तलबको ६० प्रतिशत सुविधा थप दिने निर्णय भएको छ । त्यसैगरी कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको ज्यान गएमा उनका घरपरिवारलाई रु पाँच लाख बीमा दिइने भएको छ । यसबाहेक स्वास्थ्यचौकीमा खटिएका कर्मचारीलाई शुरुवाती तलबको ४० प्रतिशत सुविधा थप दिने निर्णय भएको पूर्वीचौकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजु खड्काले जानकारी दिए । कोरोना जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसबाट प्रभावित क्षेत्रका स्थानीयवासीका लागि राहत सुविधा प्रदान गर्न ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी नमूना मापदण्ड–२०७६’ पनि स्थानीय तहले पारित गरेका छन् । यसका साथै कोरोना भाइरसको सामना गर्न सबै स्थानीय तहमा रहेका जनशक्तिलाई तयारी अवस्थामा रहन र आवश्यक परेको बेला उपस्थित हुनुपर्ने निर्णय गरिएको दीपायल सिलगढी नगरपालिकाले जनाएको छ । रासस  

फेरि दुई जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ५१ पुग्यो

काठमाडौं । नेपालमा फेरि दुई जनामा कोरोना भाइरस देखिएको छ । आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएकाे हाे । याे सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिङ – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टी भएको संख्या दुई छ । उनीहरू दुवै पर्सा , बीरगंज निवासी ५० बर्षीय पुरुषहरू हुन्। हाल सम्म प्राप्त विवरण अनुसार निजहरू आइसोलेशनमा अस्पतालमा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । । हाल सम्म पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेका मध्ये १२ जना निको भई डिस्चार्ज भएका छन् ।

चार्टर्ड, नविल, इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवाबाट विटक्वाइनको कारोबार !

काठमाडौं । नेपालमा अबैध मानिएको विटक्वाइनको काराबोर केही बाणिज्य बैंकबाट गर्न सकिने सन्देश प्रवाह भएको छ । यद्यपि ती बैंकहरुले आफूहरुको बैंकबाट विटक्वाइनको कारोबार नहुने बताएका छन् । लोकलविटक्वाइन्सडटकम नामक वेबसाइटमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र सिटिजन्स बैंकबाट विटक्वाइनको कारोबार गर्न सकिने उल्लेख गरिएको छ । भर्चुअल मनीको रुपमा रहेको विटक्वाइन नेपालमा कारोबार गर्न पाइदैन । सो वेबसाइटमा विभिन्न व्यक्तिले नेपालका ती बैंकमा रकम जम्मा गरेर विटक्वाइनको कारोबार गरेको उल्लेख गरिएको छ । यस्तै, युटिलिटी पेमेन्टको कार्य गर्दै आएको इसेवामार्फत पनि रकम भुक्तानी गर्न सकिने जानकारी गराइएको छ । तर, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नविल बैंकबाट विटक्वाइनको कारोबार नभएको र हुनै नसक्ने बताए । वेबसाइटमा एउटै विटक्वाइन ८ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्ममा कारोबार भएको उल्लेख गरिएको छ । अपडेट सिटिजन्स बैंक इन्टरनेसलले पनि विटक्वाइनको कारोबारको लागि आफूले कसैलाई पनि स्वीकृति नदिएको र यस्तो कार्य गैरकानुनी भएको बताएको छ । विटक्वाइनको कारोबारमा सिटिजन्स बैंकको नाम समेत उल्लेख भएको व्यहोराको समाचार प्रकाशित भए लगत्तै बैंकले आन्तरिक रुपमा छानविन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए । ‘समाचार आउने वित्तिकै हामीले छानविन थालिसकेका छौं, यो वेबसाइट फिनल्याण्डबाट संचालन भइरहेको देखिएको छ, हामीले कसैलाई पनि विटक्वाइनको कारोबार गर्न स्वीकृति दिएका छैनौं, यो कार्य सरासर गैरकानुनी हो,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने । राष्ट्र बैंक भन्छः विटक्वाइन गैरकानुनी हो, कारोबार गर्न पाइदैन नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी भएको स्पष्ट पारेका छन् । नेपालमा विटक्वाइनको कारोबारमा प्रतिबन्द लगाइएकोले कसैले पनि यस्तो कारोबार गर्न गराउन नपाउने उनको भनाइ छ । ‘विभिन्न बैंकको नाम जोडेर विटक्वाइन कारोबार हुने गरेको भन्ने जानकारी हामीले पनि भर्खरै पाएका छौं, विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी हो, यो विषयमा कहाँ के भएको रहेछ भनेर हामी पनि बुझ्दैछौं,’ डा. भट्टले भने । विटक्वाइन कारोबार गैरकानुनी हो, दिएका छैनौंः इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आफ्नो बैंकले विटक्वाइन तथा अन्य कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार गर्न अनुमति नदिएको बताएको छ । विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्न सम्बन्धित बैंक र करेन्सीबीच सम्झौता हुनुपर्ने भएको र नेपालमा अवैध रहेको यस्तो कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकबाट हुन सक्ने कल्पना पनि नगरिएको बैंकका सुचना अधिकारी विजेन्द्र सुवालले बताए । ‘हाम्रो बैंकको नाम जोडेर हामीलाई बद्नाम गर्न पनि कसैले यस्तो कार्य गरेको हुन सक्छ, कसैले हुण्डी जस्तो गरी बैंकको प्रणालीले थाहा नपाउने गरी काम गरेको पनि हुन सक्छ, तर हामीले कसैसँग पनि विटक्वाइन वा यस्तै प्रकारका अरु कुनै पनि क्रिप्टो करेन्सीको कारोबारका लागि सम्झौता गरेका वा अनुमति दिएका छैनौं, जे जसरी हाम्रो बैंकको नाम जोडिएको छ, त्यसको अध्ययन गरेर हामी कानुनी कारबाहीको प्रक्रियामा जान्छौं,’ सुचना अधिकारी सुवालले भने । हाम्रो बैंकबाट विटक्वाइनको कारोबार हुँदैन, गर्न पनि दिदैनौंः स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्डर्ड बैंक नेपालले पनि आफ्नो बैंकबाट विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार नहुने र हुन पनि नदिने बताएको छ । नेपालको कानुन तथा नियामक निकायले कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबारलाई गैरकानुनी तोकेकोले यसको कारोबार हुनै नसक्ने बैंकका सुचना अधिकारी प्रनु सिंहले बताइन् । ‘स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल क्रिप्टो करेन्सी जस्ता कुनै पनि व्यवसायमा संलग्न छैन, नेपालको कानुन र नियामक निकायले तोकेका विषयको अधिनमा रहेर हामीले बैंकिङ कारोबार गरिरहेका छौं,’ सुचना अधिकारी सिंहले भनिन् । विटक्वाइनको कारोबार हुन दिएका छैनौं, हाम्रो नाम किन जोडिएको रहेछ, अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउँछौंः इसेवा भुक्तानी सेवा प्रदायक इसेवाले पनि आफूले विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि संस्था, निकाय वा कम्पनीसँग सम्झौता गरेर कारोबार नगरे नगराएको बताएको छ । इसेवाले प्रदान गर्दै आएको रकम ट्रान्सफरको सुविधालाई कसैले दुरुपयोग गरेका वा कसैले आफ्नो कम्पनीलाई बद्नाम गर्ने उदेश्यले यस्तो गरेको भएपनि कारबाही प्रक्रियामा जाने इसेवाका प्रमुख संचालन अधिकृत रोशन लामिछानेले बताए । ‘विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि मर्चेन्ट बैंकर हामीसँग आवद्ध छैनन्, नेपालमा गैरकानुनी मानिएको विटक्वाइनको कारोबारमा इसेवाबाट रकम भुक्तानी गर्न पाइने भन्ने कुरा सम्भव छैन, तर राष्ट्र बैंकले दिएको सीमासम्मको रकम इसेवाबाट एक व्यक्तिले अर्काे व्यक्तिलाई पठाउन सकिन्छ, यही सुविधा दुरुपयोग गरेर कसैले यस्तो कार्य गरेको रहेछ भने पनि हामी कानुनी कारबाही गर्छाैं,’ प्रमुख संचालन अधिकृत लामिछानेले भने ।

नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवः नयाँ वेवसाइट लञ्च

काठमाडाैं । नेपाल राष्ट्र बैंक आज(बैशाख १४ गते) बाट ६५ औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा बैंकले आफ्नाे नयाँ वेवसाइट लञ्च गरेकाे छ । ‘पुरानो वेवसाइट प्रयोगकर्तालाई उपयोग गर्न असहज भएकाे कारणले नयाँ साइट बनाएकाे हाे, जुन आधुनिक र सूचना प्रविधिमैत्री रहेकाे’ राष्ट्र बैंकले जनाएकाे छ । साथै, यस अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर, स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्ने प्रतिवद्धता गरेकाे छ ।

अरुलाई राहत दिने नाउँमा बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुनु हुँदैन- सरोजकाजी तुलाधर

सरोजकाजी तुलाधर- अध्यक्ष, नेपाल वित्तीय संस्था संघ नेपाल राष्ट्र बैंकले ६५ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय क्षेत्रको विकास र विस्तारमा गर्न सकेका र नगर्न सकेका काम कारबाही तथा योजनाहरु, कोरोनाले नेपाली अर्थतन्त्रमा पारेकाे असर र प्रभावित क्षेत्र तथा वर्गलाई के कस्ता प्याकेज ल्याउन उचित होला ? भन्ने विषयमा वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । नेपाल राष्ट्र बैंक ६५ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकको यो यात्रालाई तपाई कसरी लिनु हुन्छ ? सर्वप्रथम, नेपाल राष्ट्र बैंक ६५ वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिन चाहन्छु । राष्ट्र बैंकको यात्रा सुनौलो अक्षरले नै लेख्नु पर्ने खालको छ । राष्ट्र बैंक हरेक समयमा राम्रै किसिमले अगाडि बढिरहेको छ । देशको अर्थतन्त्रलाई मजबुद बनाउनको लागि राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ । हेरक वर्षको बजेटलाई कार्यान्वयन तथा सफल बनाउनको लागि केन्द्रिय बैंकले ठूलो भूमिका खेल्छ । यो काम राष्ट्र बैंकले अहिले पनि गर्दै आएको छ र भविष्यमा पनि गरिरहने छ भन्ने आशा छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुको अभिभावक पनि हो । यसले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरेको छ ? अवश्य नै छ । राष्ट्र बैंकले राम्रै भूमिका निर्वाह गरेकै कारणले देशका विभिन्न क्षेत्र तथा ठाउँहरुमा बैंकिङ पहँच पुगेको छ । नागरिकमा बैंकिङ साक्षरता बढेको छ । हामी पेपरलेस मनितर्फ अगाडि बढिरहेका छौं । पहिला–पहिला चेक क्लियर गर्नका लागि २/३ दिन अर्थात एक हप्ता नै लाग्थ्यो । तर, अहिले एकछिनमै हुन्छ । यी सबै राष्ट्र बैंकको उचित कदमकै कारण सम्भव भएको हो । बैंकिङ क्षेत्र प्रभावकारी र आम नागरिकले गुणस्तरीय सेवा पाउनका लागि राष्ट्र बैंकले कसरी अगाडि बढ्नु पर्थ्यो, अर्थात कस्ता खालका योजना रणनिती ल्याउनु पर्थ्यो जस्तो लाग्छ । तपाईको अपेक्षा के हो ? हुन त राष्ट्र बैंकले हालसम्म राम्रै भूमिका खेलेर अगाडि बढिरहेको छ । सबैका आ-आफ्नै चाहना र अपेक्षा हुन्छन् नै । प्रमुख कुरा त राष्ट्र बैंकबाट दिगो विकास लक्ष्य र फाइनान्सिङ सेक्टर स्टाविलिटीको कुरा हो । यसलाई निरन्तरता देओस् भन्ने मेरो चाहना हो । अर्को वर्ष वार्षिकोत्सव आउने बेलासम्म कोरोना भाइरसले पार्ने असरको सुक्ष्म अध्ययन गरेर त्यसलाई आवश्यक किसिमको ट्रिटमेन्ट बैंकिङ क्षेत्रलाई दिनु पर्छ । हाम्रो चाहना त्यति नै हो । अहिले कोरोनाको कारण देश मात्र नभएर विश्वलाई असर परिरहेको अवस्था छ । राष्ट्र बैंकले यो समयमा समस्यामा परेकाहरुको मल्हम लगाउने काम गर्न सक्छ । कोरोनाको कारण भएको लकडाउनले धेरै असर परेको क्षेत्रलाई अध्ययन गरेर उचित किसिमको प्याकेजहरु ल्याउनु पर्छ नै । निक्षेपकर्ताहरुको निक्षेपलाई चलायमान बनाउनका लागि त्यसको ब्याक पनि पाउनु पर्छ । सबैलाई उचित किसिमको राहत दिनु पर्छ । तर, अरुलाई राहत दिने नाउँमा बैंक तथा वित्तीय संस्थाहरु धरासायी हुनु हुँदैन । अब राष्ट्र बैंकले झन प्रभावकारी भूमिका खेल्न के कसरी अगाडि बढ्नु पर्ला । कसरी अगाडि बढ्दा देशको अर्थतन्त्र मजबुद र नागरिकले गुणस्तरीय सेवा पाउन सक्छन ? यसमा एउटा मात्र कुरा छ । जसको आवाज बुलन्द रुपमा सरकार र नियामकहरु सम्म पुग्दैन । उनीहरुको मध्यस्तकर्ताका रुपमा राष्ट्र बैंकले अगाडि बढ्नु पर्छ । हाम्रोमा सानो-सानो ऋण लिने जमात ठूलो छ । उनीहरुको आवश्यकता हेर्दै तिनीहरुको प्रतिनिधित्व गर्ने र मर्का बुझिदिने काम राष्ट्र बैंकले गर्नु पर्छ । तपाईले अगाडि पनि भन्नुभयो कि राष्ट्र बैंकले बैंकिङ पहुँच बढाउन धेरै भूमिका खेलेको छ । तर, अझैं पनि ६/७ स्थानीय तहमा बैंकिङ सेवा पुग्न सकेको छैन । ती स्थानीय तहमा वित्तीय पहुँच र वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकले कसरी अगाडि बढ्नु पर्छ ? बैंकिङ पहुँच विस्तारै अगाडि बढ्ने कुरा हो । सबै काम एकै पटक हुन पनि सम्भव हुँदैन । अहिले जारी रहेको लकडाउनले डिजिटाइजेसनमा जानु पर्छ भन्ने पाठ पनि सिकाएको छ । हामीले पेपरलेस कारोबार गर्नु पर्छ त भनेका छौं । तर, अझै पनि त्यो हामीलाई पुगेको रहेनछ । अझ धेरै नै गर्नु पर्छ भन्ने सिकाई यसले सिकाएको छ । डिजिटल बैंकिङमा सबैले बढी ध्यान दिनु पर्छ । विकास भन्ने कुरा विस्तारै हुने हो । देखा परेका चुनौतीहरुलाई समाधान गर्दै अगाडि जानु पर्छ भन्ने मलाई लाग्छ । अहिले विश्वभर कोरोना भाइरसको सन्त्रास छ । यसले धेरै क्षेत्रलाई उत्तिकै प्रभाव परेको छ । विशेष गरेर उद्योग व्यवसायी धेरै समस्यामा परेका छाैं भनेर आवाज उठाइरहेका छन् । उनीहरुका लागि राष्ट्र बैंकले कस्ता प्याकेज ल्याउँदा उचित होला ? अहिले राष्ट्र बैंकमा कोरोना भाइरसको असर तथा प्रभाव अध्ययन गर्ने एउटा समिति नै बनेको छ । उद्योगी व्यवसायी वा बैंकका ग्राहकका लागि के कस्ता राहतका प्याकेज ल्याउने भन्ने बारे समितिले नै काम गरिरहेका छन् । कोरोना भाइरसको कारण एउटा क्षेत्रभन्दा पनि धेरै क्षेत्रलाई असर पारेको अवस्था छ । दैनिक ज्यालादारी काम गरेर खाने मजदुरलाई पनि निकै असर पारेको छ । सबैलाई राहत दिन्छु भनेर सरकारले काम गर्न पनि सक्दैन । यसमा सबैको भूमिका र जिम्मेवारी उत्तिकै आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाहरु, श्रमिकहरु काम गर्ने सम्बन्धित कम्पनी वा संस्थाको पनि महत्वपूर्ण भूमिका हुन्छ । अहिले राष्ट्र बैंकले एकै पटक असारमा व्याज तिर्न पाउने भनेको छ । तर, एकपटक तिर्दा उनीहरुलाई नै बढी समस्या पर्न सक्छ । तिर्नै पर्ने भएपछि तीन महिना थपिएर आउँदा फेरि गाह्रो हुन्छ । समयावधि थपिएरै जाँदा झन तिर्न नसक्ने अवस्था आयो भने के गर्न सकिन्छ ? कसरी व्यवस्थापन गर्ने ? त्यो पनि सोच्नु पर्छ । अहिले पनि धेरै कामदारलाई, कतिलाई ५० प्रतिशत तलब दिने कतिको तलब कटौती गर्ने, कतिपयको बेतलबी बस्ने भन्ने पनि सुनिएको छ । त्यसले सोसियल अन्रेष्ट (सामाजिक अशान्ती) आउन सक्छ । त्यो आउन नदिनको लागि सबैले सोच्नु पर्ने हुन्छ । अर्थमन्त्रालयले पनि के कसरी योजना लिएर आउने भन्ने बारे सोच्नु पर्छ । अहिले ५९ अर्बको रिफाइनान्सिङ फण्ड छ । त्यसलाई ठूलो बनाउन सकिन्छ । बाहिरी फण्ड अर्थात ऋण ल्याएर केही प्याकेज दिएर कामदारहरुले जागिरबाट हात धुनु नपर्ने खालको वातावरण सिर्जना गर्न सकिन्छ कि भनेर पनि सोच्नु पर्छ । अर्को लकडाउनको कारण विदेशमा रहेका धेरै युवाहरु स्वदेश फर्कने अवस्था आयो् भने उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? कमसेकम कोरोना भाइरसको कारण खाना नपाएर मर्ने अवस्था नआउन दिनको लागि हामी सबैले चनाखो हुनु पर्छ । अहिले साना तथा मझौला उद्यमीहरुले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर छुट अर्थात घटाउन माग पनि गरिरहेका छन् । यो सम्भव छ कि छैन ? व्याजदर घटाउनु पर्छ तर व्याजदर घटाउनका लागि सबैभन्दा पहिले बैंक तथा वित्तीय संस्थाले आफ्नो कष्ट अर्थात निक्षेप घटाउनु पर्ने भयो । त्यसको सबैभन्दा उत्तम विकल्प भनेको निक्षेपको व्याजदर घटाउनु पर्यो । निक्षेपकर्ताहरुलाई व्याजदर भन्दा अलि माथिको प्रिमियम नपाइकन त्यो डिपोजिटको वा कर्जामा कसरी घटाउने हो ? व्यापारीहरुले तिर्नु पर्नेलाई समायावधि सार्दै जाने हो भने डिपोजिटरलाई तिर्नु पर्ने पैसा त घट्दैन । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको हो । उद्योगी व्यवसायीहरुले दुई महिना दश दिन त काम गरेरै कमाएकै हो नी । भनेपछि चैत सम्मको पैसा तिर्न त गाह्रो नहुनु पर्ने हो । तर त्यसको म्याद असार सम्म लिएर जाँदा अब तिनीहरुको आम्दानी नभएको कारणले असारको तिर्न गाह्रो हुन सक्छ । मिल्छ भने अहिले नै तिर्नु पर्ने हो । कोरोनाले सबैलाई असर गरेको छ । सबैलाई त्यो घटाएको व्याजदरको फाइदा दिनु पर्छ । आजको दिनमा कसैले आधारदर प्लस ६ प्रतिशतमा पनि ऋण लिएका छन् भने कसैले आधारदर प्लस प्वाइन्ट फाइभ मा पनि ऋण लिएका छन् । तर, अब यो असारसम्ममा सबैलाई एकै किसिमबाट व्याज दियो भने एउटा समाधान हुन सक्छ । यो सँगै ऋण लिएको कम्पनीले आफ्नो कामदार निकाल्न नपाउने नीति हुनु पर्छ । यो कोरोना महामारीको समयमा देशमा आर्थिक संकट कम गर्न राष्ट्र बैंकको भूमिका के हुन सक्छ ? पहिलो त असरलाई कसरी कम गर्ने भन्ने हो । लकडाउनमा जुन किसिमको र्यापिड टेष्ट हुनु पर्ने हो त्यो भएको छैन । यो समय भनेको व्यक्तिले सुरक्षित रहनु हो । अर्थतन्त्र हेरेर लकडाउन तुरुन्तै नै छोडिहाल्यो भने पनि जापानको जस्तो अवस्था आउन सक्छ । त्यो जोखिम हाम्रो स्वास्थ्य क्षेत्रले धान्न सक्दैन । लकडाउन बढाउँदै लग्यो भने पनि हाम्रो अर्थतन्त्रलाई ठूलो असर पर्न सक्छ । आम्दानी पनि साँघुरो हुँदै जाने अवस्था आउँछ । व्यक्तिको मात्र होइन,देशमा नै सप्लाई चेन बिग्रिन सक्छ । घर-घरमा खाद्यान्नको अभाव हुन सक्ने भएको कारणले विस्तारै खुला चाहिँ गरेर जानु पर्छ । तर, यो खुला गरेर जाँदा खेरि सामाजिक दुरी पालना गर्ने क्षेत्रहरुलाई पहिचान गरेर जान सकिन्छ । यसरी नै विस्तारै अर्थतन्त्रमा पनि क्रमिक सुधार गर्दै जाने हो । यो अभ्यासले हाम्रो अर्थतन्त्रमा असर कम पर्छ । एकछिन स्मरण गरौं, तपाईको विचारमा राष्ट्र बैंक कहाँ चुक्यो ? कुन अवस्थामा राम्रो गर्न सक्थ्यो । केही सुझाव सल्लाह छन् ? सबै काममा पूर्ण कोही पनि हुँदैन् । काम गर्दै जाँदा कुनै न कुनै काम गलत र कुनै काम छुटी नै रहेको हुन्छ । त्यो गलतलाई समयमै सिकाइका रुपमा लिएर सुधार गर्दै जाने हो । अहिले राष्ट्र बैंकले नयाँ नेतृत्व पनि पाएको छ । नयाँ आउनु भएका गभर्नर आफैमा सक्षम व्यक्ति पनि हुनुहुन्छ । अहिलेको सिनारियोलाई कसरी सामान्यिकरण गरेर सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सँगै लिएर समन्वय भूमिका गरेर अगाडि बढ्यो भने उहाँको कार्यकाल झन फलदायी हुन्छ जस्तो मलाई लाग्छ ।