भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला बन्ने
झापा । भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १ सय शय्याको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर प्रयोगशाला राख्ने निर्णय भएको बताए । झापामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् भने झापा गाउँपालिकाका एक सङ्क्रमित थपिएका छन् । पूर्वीनाका काँकडभिट्टालगायतका सीमावर्ती क्षेत्रबाट सयौँ नेपाली घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पीसीआर प्रयोगशाला र कोभिड अस्पताल निर्माण हुनुपर्ने जरुरी देखिएको थियो । कोभिड विशेष अस्पताल बनाउने भनिएको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको हुँदा त्यसलाई पूरा गर्न केही बजेट आवश्यक पर्ने प्रदेशसभा सदस्य वसन्त बानियाँले बताए । अहिलेलाई तत्कालीन जनस्वास्थ्य कार्यालयको तालिम केन्द्र खाली र पूर्वाधारयुक्त भएको हुँदा पीसीआर प्रयोगशाला मेसिन आउनासाथ सञ्चालनमा ल्याउन सकिने अवस्था छ । रासस
‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट नेपाली राजदूत शाक्य सम्मानित
काठमाडौं । इजरायलको ७२औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित गरिएको हो । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो ।उनी यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुन्। राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताइन । विसं २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आएकी छिन् । कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी भएकोमा आभार व्यक्त गरे । केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो । शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ । रासस
सिटी एक्सप्रेसले सबै कर्मचारीको गरायो कोरोना बीमा
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गराएकाे छ । यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड १९ सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका कर्मचारीको कोरोना बीमा गराएको हो । लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरुले घरमै बसेर आफ्नो कामहरु गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुदाँ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरु मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ । यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
डिल्लीबजार कारागारमा विवाद
काठमाडाैं । काठमाडौंको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका बिहान विवाद हुँदा झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको रहेकाे जनाएका छन् । प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
तरकारी भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई
रोल्पा । सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उनी त्यत्तिकै गाउँ फर्किए । पिँठ्यूमा डोकोभरिको तरकारी र घाँटीमा तराजु भिर्नुभएका उनले भने, “सस्तै मूल्यमा भए बिक्री गर्न खोज्दा पनि भएन, त्यति टाढाबाट थोरै भए पनि पैसा पर्छ कि भनेर बोकेर ल्याएँ, अब घर लगेर भैँसीलाई दाना बनाई दिनुपर्ला ।” रोल्पा नगरपालिका वडा नं ४ लिवाङ निवासी विष्णु बुढालाई साँझबिहान के तरकारी पकाऊँ भन्ने चिन्ताले दिनदिनै पिरोल्छ । बाहिर बजारमा सुनसान सडक, सबै पसल बन्द, एकाबिहानै उहाँले घरको छतबाट बाहिर सडकतिर कसैले तरकारी बेच्न ल्याउँछ कि भनेर हेर्दा पाएनन् । सदरमुकाम लिवाङमा तरकारी पसल गर्दै आउनुभएका गोमा पुन झण्डै दुई महिनादेखि पसल बन्द गरेर बसेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बजारमा चहलपहल नभएकाले व्यापार नभएपछि पसल बन्द गर्नुपरेको उनको भनाइ छ । पुनले भने, “तरकारी डोकोमा सस्तोमा त आउँछ, तर राखेर के गर्नू, बिक्री हुँदैन, यहाँ पनि कुहिएरै जाने हो ।” यस्तै सदरमुकाममा तरकारी तथा फलफूलको व्यापार गर्ने जुना पुनले पनि झण्डै दुई महिनादेखि पसल बन्द गरे । बाहिरबाट आउने तरकारी र फलफूल किन्दा कोरोना संक्रमणको जोखिम हुने त्रासले पसल बन्द गर्नुपरेको उनले बताए । उनले भने, “पसल खोलेर के गर्नू, व्यापार पनि छैन, आफू पनि सुरक्षित हुनुपर्याे।” सदरमुकाममा बसोबास गर्ने मानिसहरु बजार आसपासका किसानले डोकामा बोकेर ल्याएको तरकारी प्रयोग गर्छन् । बन्दाबन्दीले गर्दा जिल्ला सदरमुकाममा जिल्ला बाहिरबाट बेमौसमी तरकारी र फलफूल आउनेक्रम रोकिएपछि अहिले लिवाङ बजारका तरकारी पसल प्रायः बन्द छन् । बन्दाबन्दीअघि तरकारी व्यापारीहरु खरीद गर्नका लागि कृषककै बारीमा आउने गरेको नगरपलिका वडा नं २ का कृषक गौरी केसी बताए । उनले भने,, “पहिले थोक तथा फुटकरमै बारीमै बिक्री हुन्थ्यो, अहिले घरघरमा डुलाउँदा पनि बिक्री हुँदैन, मैले त अब बजारमा लैजान पनि छाडेँ ।” द्वन्द्वका बेला गाउँमा बस्ने वातावरण नभएपछि सदरमुकाममा आएर बजार नजीकैका बाँझो जमीन भाडामा लिई तरकारी खेती गर्नेको सङ्ख्या रोल्पामा धेरै छ । रसोलाबाङ, थलिबाङ, काभ्रेखर्क, धनमुडा, कालिबाटी, मूलपानी, देउराली, मेवाङ र माडीचौरलगायत स्थानमा किसानले मुख्य बालीका रुपमा तरकारी खेती गर्दै आएका छन् । बजार आसपासका कृषकले उत्पादन गरेको तरकारीले नै सदरमुकाम लिबाङमा माग धानेको छ । बन्दाबन्दीका कारण आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा जीविकोपार्जनमा समस्या थपिएको किसानको गुनासो छ । किसानको खेतबारीमा अहिले प्याज, टमाटर, सिमी, लसुन, बन्दा, काउली, साग, आलुलगायत तरकारी उत्पादन हुने गरेका छन् । बारीमा उत्पादित तरकारीले बजार नपाउँदा किसानहरु घरपालुवा जनावरलाई खुवाउन बाध्य छन् । सदरमुकाम लिवाङ बजारबासी भने ताजा फलफूल र तरकारी नपाउँदा दिक्क बनेका छन् । रासस
बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण
राँझा । बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ । खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा –५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । नरैनापुरमा शनिबार कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् । प्रहरी चौकी कालाफाँटा बन्द कोहलपुर– प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ । बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् । रासस
आज दिने भनिएको सार्वजनिक विदा सोमबार दिने गृह मन्त्रालयको निर्णय
काठमाडौं । सरकारले जेठ ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा १२ गते सोमबार दिने भएको छ । गत जेठ ९ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियो । नेपाल र एसियाबाट जेठ १० गतेमा चन्द्रमा नदेखिएको कारण उक्त पर्व जेठ १२ गते सोमबार मनाउनका लागि मुस्लिम आयोगबाट अनुरोध आएसँगै गृहमन्त्रालयले आइतबारको सट्टा सोमबार सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका
धनगढी । सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ । सङ्क्रमितमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन् । बाँकी नौ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । शनिबार थप चार जनामा पुष्टि भएको हो भने शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । शनिबार पुष्टि भएका सुदूरपश्चिमका सबै बैतडीका रहेका छन् । त्यसमा पनि सबै एउटै शिवनाथ गाउँपालिकाका रहेका जिल्ला अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबै ४ जना जेठ ८ गते भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै फर्किएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । शिवनाथ गाउँपालिकाका २० वर्षीय दुई, २२ वर्षीय एक र २७ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै बैतडीमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । यसअघि शुक्रबार सङ्क्रमण पुष्टि भएका बैतडीका युवकको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवक कर्तव्य ज्यान मुद्दामा गएको वैशाख १५ देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । यसअघि सुदूरपश्चिममा शुक्रबार मात्रै कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमारहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरुको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । त्यसयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् । सङ्क्रमित सम्पर्कमा रहेका व्यक्तिको स्वाब सङ्कलन बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि धनगढी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ प्रहरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारी, जिल्ला अदालतमा कार्यरत १२ कर्मचारी र जिल्ला अस्पतालका एक चिकित्सकको स्वाब सङ्कलन गरिएको उनले बताए । यस्तै सङ्क्रमित युवक शिवनाथका भएकाले ती युवकको सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र उनका आफन्त गरेर २२ जनाको स्वाब सङ्कलनका लागि भिटीएम पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । उनीहरुको स्वाब सङ्कलन गरेर भोलि धनगढी पठाइने छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरिएको हो । ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने वयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब सङ्कलन गरिएको हो । गाउँमा त्रास बढ्यो बैतडीको एकै पालिकाका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा कोरोनाको त्रास बढेको छ । भारतबाट फर्केकाहरुमा सङ्क्रमण पुष्टि भएकाले स्थानीयस्तरमा त्रास बढेको हो । अहिलेसम्म जिल्लाका पाँच जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका हुन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका–२ का हुन भने उनको स्वाब सङ्कलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टि भएको हो । उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन् । यस्तै शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका चार पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन् । उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन् । उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । शनिबार पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ । सङ्क्रमित युवकहरु बैतडी नआए पनि उनीहरुसँगै रहेका धेरै युवक बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए । शनिबारसम्म ४ सय ७५ जना शिवनाथका मात्रै भित्रिएका छन् । उनीहरु सङ्क्रमितसँगै भारतको मुम्बई, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ । गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिनापरीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १ सय ६२ बिनापरीक्षण जिल्ला भित्रिएका छन् । भारतबाट फर्केका नागरिकको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ । रासस