विकासन्युज

संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले बिरामी ओसार्न नमान्दा संक्रमितलाई कोरोना उपचार अस्पतालमा समयमै पुु¥याउन सकिएको छैन । नगरमा झण्डै २० संक्रमित भेटिसक्दा पनि आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको नेतृत्व अन्योलमा छ । सरकारले लकडाउनले उपचारको तयारीका लागि पर्याप्त समय पाइरहेको बताउँदै गर्दा वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन ढिलाइ गरेको छ । बाणगङ्गा नगरमै कोरोना संक्रमित १७ जना फेला परेपछि मात्र आइसोलेशन सेन्टर निर्माण गर्ने ठाउँ खोज्न शुरु गरिएको छ । शुक्रबार बिहान वाणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था आजसम्म भएको छैन । संक्रमित बालिका आजसम्म पनि घरमै छिन् । सोही दिन बालिकासँंगै कोरोना संक्रमण पुष्टिको रिपोर्ट आएका बाणगङ्गा ११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ः०० बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमा पुु¥याइएको थियो । वाणगङ्गा –४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन । कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल थापाले भने, “यो बेला समस्या त हुन्छ तर हामीे समस्यालाई मात्र हेरेर बस्ने होइन ।” विपद्का समयमा स्थानयवासीको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए । संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उनले जानकारी दिए । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै मायादेवी गाउँपालिकाले पनि आफ्नै पालिकामा १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिए । पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ । यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् । ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पु¥याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् । शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उहाँ आफ्नै स्कुटर चलाएर बुटवलस्थित कोरोना अस्पताल पुग्नुभयो । उनले भने,“सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुप¥यो ।” यस्तै शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुु¥याइयो । कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससंँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ । यता आज मात्र वाणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको नगर प्रमुख मंगलप्रसाद थारुले बताए । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको वाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउने काम शुुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्यचौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आज साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताए । अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका पदाधिकारी छविरेश्मी मगरले वाणगङ्गा–४, जीतपुरमा निर्माणाधीन आफ्ना १८ कोठासहितको ६ तले घर नै आइसोलेसन सेन्टर निर्माणका लागि उपलब्ध गराउन तयार भए पनि निर्माण सम्पन्न हुँदासम्म ढिलाइ हुने भएकाले अन्य विकल्प खोजिएको बताए । रासस

राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने

काठमाडौं ।  राष्ट्रियसभाको सोमबारका लागि तय गरिएको बैठक मङ्गलबारका लागि सारिएको छ । सोमबार मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक स्थगन गरी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति तय गरेका हुन् । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले एक सार्वजनिक सूचनामार्फत उक्त कुराको जानकारी दिए । सिंहदरबारस्थित राष्ट्रियसभाको अध्यक्षको कार्यकक्षमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो । मुस्लिम समुदायको महान् पर्व इदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निष्कर्ष निकालेको थियो । यस्तै, नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा सङ्घीय संसद्को लोगो (प्रतीक) र राष्ट्रियसभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै सङ्घीय संसद्का दुवै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निष्कर्ष निकालिएको थियो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र सङ्घीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोकेबमोजिम हुने व्यवस्था रहेको छ ।

आन्तरिक हवाई उडान सञ्चालन निर्देशिका बन्दै

काठमाडौं । बन्दाबन्दीले दुई महिनादेखि मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन छ । यो अवस्था कहिलेसम्म रहने हो अहिले नै अनुमान गर्न नसकिने अधिकारी बताउँछन् । बन्दाबन्दी खुलेपछि मुलुकको आन्तरिक उडान सञ्चालनबारे नियामक निकायले पहल गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई समेत अपनाएर आन्तरिक उडान सञ्चालनका लागि निर्देशिका बनाउने अन्तिम तयारीमा प्राधिकरण जुटेको छ । मस्यौदाका रुपमा तयार भएको निर्देशिका एकसाताभित्रै पारित गरेर सबै विमानस्थल र एयरलाइन्सलाई पठाइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “आन्तरिक उडान सञ्चालनका लागि छिट्टै निर्देशिका ल्याउँदैछौँ, कार्यालयसम्बन्धी निर्देशिका बनाएर सबै कार्यालयमा पठाइसकेका छौँ”, उनले भने । निर्देशिकामा स्वास्थ्य मापदण्डअनुरुप सामाजिक दूरी कायमदेखि स्वास्थ्य सतर्कताका लागि सेनिटाइजर, मास्क उपयोग गर्नेजस्ता विषय समेटिने छन् । जहाजको हालको सिट पनि हेरफेर हुनेछ, यसको विस्तृत कार्यको टुङ्गो लागि नसकेको प्राधिकरणले जनाएको छ ।

नेपाल बंगलादेश बैंकले सरकारलाई दियो एक करोड ४५ लाख रुपैयाँ

काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका थिए ।

बन्दाबन्दीमा सर्वाधिक उडान गर्ने नेपाल एयरलाइन्स

काठमाडौं । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित) १५ अन्तर्राष्ट्रिय उडान गरेको छ । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा प्रदायक कम्पनीमध्ये निगम पहिलो स्थानमा पर्छ । कतार एयरवेजले ११ चार्टर्ड उडान गरेको छ । उक्त अवधिमा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले पनि सर्वाधिक १० कार्गो चार्टर्ड उडान गरेको छ । बुद्ध एयरले तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ भने आन्तरिक उडानको श्री एयरलाइन्सले पनि चीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेको छ । त्यसैगरी बन्दाबन्दीको अवधिमा एयर इण्डिया, चिनियाँ एयर फोर्स, एयर चाइना, पाकिस्तान एयर, एयर अरेबिया, मलेसियन एयर, मालिन्दो एयर, एयर थाइलाइन एयर, इतिहाद, श्रीलङ्का एयरवेज, जर्नी एभिएसन, रोयल फ्लाई एयर, टाइटन एयर र कोरियन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि निगमले ११ वटा चार्टर्ड उडान गरेको छ । निजी क्षेत्रका यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, समिट एयरलगायतले पनि आन्तरिकतर्फ केही सङ्ख्यामा चार्टर्ड उडान गरेका छन् । विसं २०७६ चैत १० देखि २०७७ जेठ ९ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६६ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसबाहेक १७ कार्गो उडान भएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बन्दाबन्दीको अवधिमा नेपाल एयरलाइन्सले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको बताउनुभयो । हिमालय एयरलाइन्सले पनि पछिल्लो समय चीनका विभिन्न शहरमा सर्वाधिक कार्गो उडान गरिरहेको छ । हिमालयको एयरबस ए ३२० जहाजले आज पनि चीनको चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन त्यसतर्फ गएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाओ र बेइजिङबाट मात्रै आठ कार्गो उडान ग¥यो भने हिमालयले पनि ग्वाङ्जाओ, बेइजिङ, चाङ्सालगायत शहरबाट कार्गो उडान गरी अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । नेपाल एयरलाइन्स र कतार एयरवेजले आज राति थप एक/एक उडान गर्दैछन् । सरकारले कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणका लागि गत चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । पछिल्लोपटक जेठ २० सम्मका लागि बन्दाबन्दीको अवधि थपिएको छ । त्यस्तै चैत १० बाट नेपालमा उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको उडान स्थगन गरिएको छ । यो अवधि जेठ मसान्तसम्म लम्ब्याइएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् । नेपाल एयरलाइन्सले नेपालमा बन्दाबन्दी शुरु हुनुअघि नै कोभिड–१९ को उद्गमस्थल चीनको हुवेई प्रान्तको वुहान शहरबाट पहिलोपटक उद्धार उडान गरी १७५ नेपाली काठमाडौँ ल्याएको थियो । त्यसयता बन्दाबन्दीको अवधिमा उडान सारथी बनिरहेको निगमले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडानलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा तीन र जापानमा चार उडान नेपाल एयरलाइन्सले बन्दाबन्दीमा आफ्ना दुई वाइड बडी जहाजले लामा गन्तव्य अष्ट्रेलिया र जापानमा अधिक उडान ग¥यो । जापानको नारितामा मात्रै एयरलाइन्सको चार उडान भएको छ । विभिन्न मितिमा तीन उडान भइसकेका छन् भने आज राति चौथो उडान गर्दैछ । त्यस्तै नेपाल एयरलाइन्सले अष्ट्रेलियामा इतिहासकै लामो अर्थात् करिब १३ घण्टाको उडान गरेको छ । सिड्नी र ब्रिस्बेनमा एक/एक उडान गरेको थियो । आगामी जेठ २३ गते अष्ट्रेलियाको राजधानी क्यानबेरामा तेस्रो चार्टर्ड उडान गर्दैछ । चीनको बेइजिङमा पनि निगमले पहिलोपटक कार्गो उडान गरेको थियो । निगमले चीनका अन्य शहरमा पनि थप कार्गो उडान गर्ने योजना बनाएको छ । तथापि कार्गो उडानको तालिका तय भइनसकेको निगमले उल्लेख गरेको छ । ६ हजार ४७७ अन्तर्राष्ट्रिय यात्रु फर्किए बन्दाबन्दीको अवधिमा नेपालमा रोकिएका ६ हजारभन्दा बढी हवाई यात्रु विभिन्न मुलुक फर्किएका छन् । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यका अनुसार बन्दाबन्दीको अवधिमा कार्गो र चार्टर्ड गरी जम्मा ८३ अन्तर्राष्ट्रिय उडान भएका छन् । ती उडानबाट ६ हजार ४७७ यात्रु बाहिरिएका छन् । यो सङ्ख्यामध्ये केही नेपाली पनि हुन् । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा उनीहरुलाई स्वदेश फर्कन सहजीकरण गरेको थियो ।    

महालक्ष्मी लाईफ इन्स्याेरेन्सले सबै कर्मचारीकाे गरायाे काेराेना बीमा

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्याेरेन्सले कम्पनीमा कार्यरत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे छ । इन्स्याेरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाल मार्फत सबै कर्मचारीकाे काेराेना बीमा गराएकाे हाे । यससँगै, कोरोना बीमाको विमाङ्क रकम प्रतिकर्मचारी १ लाख रूपैयाँकाे रहेकाे कम्पनीले जानकारी दिएकाे छ । यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा/उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी सबैकाे काेराेना बीमा गराइएकाे इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् ।

कोरोना महामारीकाे साईकोडेमीक असरबाट कसरी बच्ने ?

काठमाडौं । विश्वमा कोरोना सक्रमितको संख्या बढ्दै जाँदा मानिसहरुमा यसको मनोसामाजिक असरहरु देखा पर्न थालेका छन् । संक्रमितको थुकको छिटाबाट सर्ने यो रोगले मानिसहरु नै अब एक अर्कोसँग नजिक हुन नसक्ने अवस्था ल्याइदिएको छ । दुई जना मानिस एक भएपछि चल्ने यो संसार अहिले मानिसहरु जति टाढा त्यति सुरक्षित हुने अवस्थाले मानिसहरुलाई मानसिक रुपमा ठूलो असर गरेको छ । कोरोना संक्रमणको त्रास लामो समय नहरला । तर, यसले ल्याएको असर दीर्घकालिन हुनसक्छ । त्यसैले यसले ल्याउने साईकोडेमिक असरबाट तपाई टाढा रहनुपर्छ । यसको लागि केही निश्चित विधिहरु अपनाउन सकिन्छ । आफूलाई शंका नगर्नुहोस् आफुलाई बिना कुनै कारण कोरोना लाग्यो भन्ने शंका नगर्नुहोस् । शंका तथा तनावले टाउको दुख्ने, ज्वरो आएजस्तो हुने तर नाप्दा ज्वरो नदेखिने र घाँंटी खसखस भएजस्तो लाग्ने जस्ता समस्या देखिन सक्छन् । यस्तै, रिंगटा लागेको भान हुने, कमजोरी अनुभव हुने, निद्रा नलाग्ने, मन खुसी नहुने, जोशजाँगर नहुने, छाती पोल्ने, खुट्टा पोल्नेलगायतका शारीरिक लक्षणहरु देखाउँछ जसले गर्दामलाइ साँच्चै कोरोना संक्रमण भएको हो कि भन्ने महसुस हुन्छ । त्यसैले कोरोनाको साईकोडोमीबाट बच्न आफूलाई विश्वास गर्नुहोस् । आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमताप्रति विश्वास गर्नुहोस् । म सजग छु त्यसैले मलाइ कोरोना संक्रमण हुँदैन भनेर ढुक्क हुने, निश्चिन्त हुने बानी विकास गर्नुहोस् । संक्रमितको संख्या सुनेर चिन्ता नगर्नुहोस् विश्वका धेरै देशको तुलनामा हामी निकै सुरक्षित छौं । संक्रमितको पहिचान हुनु राम्रो कुरा हो । किनभने यसले रोग रोकथाममा ठूलो सहयोग गर्दछ । यदि तपाईले सुरक्षाका विधि अपनाउनु भयो भने तपाईलाई संक्रमण हुने सम्भावना निकै कम हुन्छ । निको भएर घर गएका कोरोना संक्रमित आत्माबल नै सबैभन्दा ठूलो भएको बताउँदै आएका छन् । आफूलाई सधैं टिपटप राख्नुहोस् तपाईको कार्यस्थल बन्द भएपनि वा घरबाट काम गरिरहनु भए तापनि आफ्नो दैनिकीमा परिवर्तन नल्याउनुहोस् । दैनिक दाँत माझ्ने, मेकअप गर्ने, अन्य समयमा कार्यालयमा जाँदा जस्तै सफा चिटिक्क भएर आफ्नो काम सुरु गर्नुहोस् । यसरी दैनिकीहरुमा यथावत राख्दा तपाईलाई महामारीको त्यति वास्ता पनि हुँदैन र बिरामी भएको महसुस हुँदैन । योग तथा ध्यान गर्ने आफ्नो आत्मशान्ति र भित्री शीतलताको लागि योग तथा ध्यान गर्ने बानी बसाल्नुहोस । यसले तपाईमा जीवन र जगतप्रति सकारात्मक धारणा जागृत गराउँदछ । सामाजिक संजालमा धेरै प्रतिकृया दिने बानी बन्द गर्नुहोस् सामाजिक संजालमा समाचार सेयर गर्ने, जुनै पनि विषयमा प्रतिकृया दिने काम बन्द गर्नुहोस् । एक अध्ययन अनुसार जसले धेरै पटक सामाजिक संजालमा पोस्ट गरिरहन्छ, त्यो उसको भित्री चिन्ताको विस्फोट हो । सार्वजनिक समाचारलाई हामीले पोस्ट गर्ने, हरेक कुरामा आफ्नो बिचार राख्ने तथा लाइक, कमेन्ट र सेयरको गणना गर्ने बानीलाई अनुत्पादक र प्रतिक्रियात्मक मानिन्छ । यसले तपाईमा भित्र भएको शान्तिलाई पनि भंग गर्न सक्छ । त्यसैले सामाजिक संजाललाई सिमित समय मात्र दिनुहोस् । अनावश्यक विवाद नगर्नुहोस् यो महामारीको बेला आफ्नो परिवारको तथा देशको चिन्ता गर्नुपर्ने समयमा राजनीतिका अनावश्यक पक्ष, विपक्षमा विवाद गर्नुको कुनै औचित्य छैन । तसर्थ जीवन र जगतको पक्षधर बन्ने बानी विकास गर्नुहोस् । यसले तनाब मुक्तिमा सहयोग गर्दछ । भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् यो महामारीले अधिकांश व्यक्तिको आर्थिक अवस्था चौपट पारेको छ । आर्थिक नोक्सानीको चिन्ता गरेर समाधान हुने होइन । यो नाफा र घाटाको चक्र दिन र रात जस्तै हो । त्यसैले आशा गरौँ यो रात ढलेपछि उज्यालो हुनेछ र त्यो उज्यालोको आलोकले हाम्रो गिरेको अर्थतन्त्र अझै सुदृढ भएर आउनेछ । त्यसैले भोलिलाई सम्झेर आजलाई खेर नफाल्नुहोस् । तपाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहे तपाईले मनग्य धन कमाउँन सक्नुहुनेछ । आफ्नो रुचि र लुकेको क्षमतालाई उजागर गर्नुहोस् यो जिन्दगीको दौडधुपमा हामी यति धेरै व्यस्त भयौं कि हामी धेरैले आफ्नो लागि समय नै निकालेनौं । त्यसैले अहिले पाएको समयलाई अवसर मान्नुहोस । किनभने फेरि यस्तो समय आउनेछैन । यो समयमा आफ्नो रुची भएको विषयहरु सिक्नुहोस् । आर्ट गर्ने, गीत गाउने, नाच्ने, कविता लेख्ने, कथा लेख्ने, मनपरेका पुस्तक पढ्ने, मुभी हेर्ने गर्नुहोस् । यो पललाई एक एक गरेर बाँच्नुहोस् । मिडिया ब्रेक लिनुहोस् कहिलेकाँही मिडिया ब्रत बस्नुहोस् । समाचार हेर्ने, सुन्ने, पढ्ने, सामाजिक संजाल चाहार्ने दिनको ३ छाक मात्र गर्नुहोस् । जसरी धेरै खाए चिनी पनि तितो हुन्छ, खाना पनि अजिर्ण हुन्छ, रक्सीले पनि बेहोश बनाउँछ त्यसैगरी मिडियाले पनि तनाव सिर्जना गरेर दिमाग ह्याङ गराउँछ । आफूलाई माया गर्नुहोस् हामी दोस्रो व्यक्तिलाई माया गर्दा गर्दै आफूलाई माया गर्न नै बिर्सन्छौं । याद राख्नुहोस् तपाईले आफ्नो ख्याल गरेमात्र दोस्रो व्यक्तिको पनि ख्याल गर्नसक्नुहुन्छ । सरसफाई गर्ने, धोएका सुकिला कपडा लगाउने, घाममा बस्ने, पोषिलो खाने, छिटो सुत्ने, छिटो उठ्ने गर्नुहोस् । दिनको १ घन्टा शरीरलाई दिनुहोस । शरीरले दिनको २३ घण्टा तपाइंलाई दिनेछ । अर्थात १ घण्टा व्यायाम गरेर शरीरलाई चार्ज गर्दा बाँकी २३ घन्टा शरीरले राम्रोसँग काम गर्छ । यो दुर्लभ स्वच्छ हावामा समय बिताउने अवसर नगुमाउनुहोस् सास हुनु जीवनको प्रतिक हो । प्राणायाम गर्ने, स्वच्छ हावा सेवन गर्ने, बन्द कोठामा भन्दा हावा लाग्ने ठाउँमा धेरै समय बिताउने गर्नुहोस् । यो दुर्लभ स्वच्छ हावा सेवन गर्ने अवसर नगुमाउनुहोस् । क्यामरामा यादहरु कैद गर्नुहोस् यो समयलाई तस्विरमा कैद गर्न नबिर्सिनुहोस् । तपाईले युट्युब हेरेर बनाएको नयाँ परिकारको तस्विर खिच्नुहोस, तपाईको बुवाले नाचेको भिडियो खिच्नुहोस्, खेलेको भिडियो खिच्नुहोस् । धेरै यादहरुलाई आफ्नो मोबाईलको क्यामरामा कैद गर्नुहोस् । चराको मिठो चिरबीर सुन्नुहोस् । हावाको संगीत सुन्नुहोस्, जनावरको भाषा बुझ्नुहोस्, मंगलध्वनि सुनेर कानलाई सिंचित गर्नुहोस् । रक्सी, चुरोट, सुर्ती, गुट्खा तथा ड्रग नखानुहोस् । यी पदार्थले शरीर र मनलाई धुजाधुजा पार्छन् । रोगसँग लड्ने क्षमता घटाउँछन् । गमला, करेसाबारी तथा खेतबारीमा काम गर्नुहोस् । तरकारी, फूल, फलफूल लगाउनुहोस् । किनभने माटोसँग खेल्दा असिम आनन्दबोध हुन्छ । सहयोगी, सकारात्मक तथा प्रिय व्यक्तिसँग नियमित सम्पर्कमा रहनुहोस् । हल्ला र भ्रमको पछि नलाग्नुहोस् । सही र आधिकारिक जानकारी लिने बानी गर्नुहोस् । हल्ला सबैभन्दा छिटो फैलिने सरुवा रोग हो । त्यसैले यसको सिकार नबन्नुहोस् । घरमा तथा मनमा यो समय पनि बितेर जानेछ, त्यसपछि हाम्रो जीवन पूर्ववत लयमा फर्किनेछ भन्ने मन्त्र राख्नुहोस् ।  

शिक्षकसहित विद्यालय कर्मचारीले शुरू गरे डिजिटल आन्दोलन

काठमाडाैं । मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन तथा सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन आन्दोलन शुरु गरिएको सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । लकडाउनको अवधिमा भेला हुन नमिल्ने भएकाले प्रविधिको सहयोग लिएर सामाजिक सञ्जालबाट सङ्घीय सरकारलाई शिक्षकका मामलामा गम्भीर बनाउन डिजिटल आन्दोलन शुरु गरिएको उनले बताए । ‘मुलुकमा ३६ हजार बाल विकासका शिक्षक र ३२ हजार विद्यालय कर्मचारी अहिले पनि न्यून परिश्रममा बाँच्न बाध्य छन्’, अध्यक्ष अधिकारीले भने, ‘यो सरासर अन्याय हो । श्रम ऐनले तोकेबमोजिम राज्यले उनीहरुलाई तलबभत्ता र दरबन्दीको सिर्जना गरी स्थायी प्रक्रियामा लग्नुपर्दछ ।’ त्यस्तै द्वन्द्वपीडित शिक्षकका समस्या समाधान, उपचारका लागि अस्पताल स्थापना, सामुदायिक विद्यालयको निजी स्रोत तथा निजी विद्यालयका कार्यरत शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोष, स्थायी शिक्षकको अस्थायी सेवा अवधि गणनाका लागि सरकारलाई सामाजिक सञ्जालमार्फत अनुरोध गर्ने अध्यक्ष अधिकारीले बताए । डिजिटल आन्दोलनका क्रममा उच्चस्तरीय दरबन्दी मिलान तथा पुनः व्यवस्थापन सुझाव कार्यदलको सिफारिसअनुसार राहत, अनुदान, साविक उच्च मावि र प्राविधिक धारमा कार्यरत शिक्षकको दरबन्दी व्यवस्थापन गरी स्थायी गर्नेदेखि शहीद स्मृति आवसीय विद्यालयमा कार्यरत शिक्षक कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत सिकाइ अनुदान र स्वयंसेवक शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्नेलगायत मागहरु सरकारको आगामी बजेट तथा कार्यक्रममा समवेश गराउन प्रविधिमार्फत सरकारलाई दबाब दिने सङ्गठनले जनाएको छ । रासस