विकासन्युज

बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिने

काठमाडौं । बाँकेको नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाे छ । कोरोना भाइरस संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको हाे । कुल ११४ जनामा कोरोना संक्रमण देखिएको नरैनापुरमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

जोखिम बढ्यो, किट छैन

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो । किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । ‘जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन’, उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।’ उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरुपमा रोकिएको जानकारी दिए । नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए । नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताएका छन् । उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताए । त्यस्तै सङ्क्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले दिनप्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताएका छन् । स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए । जानकी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ । भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ । नगरपालिकामा किट नहुँदा क्वारेन्टिनको समय पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताएका छन् । मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए । उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र रु एक हजार १०० पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए । नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टिनमा रहेका छन् । भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ । जोसिपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए । रासस

एक्सिलेन्ट सेक्युरिटि सर्भिसका सबै कर्मचारीको कोरोना बीमा प्रभु इन्स्योरेन्समा

काठमाडौं । एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्मिसले उनीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रुपैयाँका दरले कोरोना बीमा गराएको हो । प्रभु इन्स्यारेन्समा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिनेछ ।

कोरोना बीमामा एकै पटक ठूलो संख्यामा दाबी परे पाइन्छ भुक्तानी ?

काठमाडौं । बीमा समितिको विशेष अग्रसरतामा आएको कोरोना बीमाको भविष्यलाई लिएर केही प्रश्न उठाउन थालिएको छ । पीसीआर पद्धतीबाट कोरोना संक्रमण पुष्टी हुने वित्तिकै बिमितलाई दाबी भुक्तानी दिने गरी ल्याइएको यो प्रडक्टमा जोखिम धेरै भएकोले चासो प्रकट भएको हो । अहिलेसम्म नेपालमा कोरोना पुष्टी भएका संक्रमितको संख्या ६ सयको हाराहारीमा छ । कोरोना बीमा गर्नेहरुमा संक्रमण पुष्टी हुनेको संख्या धेरै भएमा बीमा कम्पनीहरुले दाबी भुक्तानीमा समस्या पर्ने हो कि भनेर यो प्रडक्टबारे चासो देखाइएको हो । बीमा कम्पनीहरु भने एकै पटक धेरै बिमितहरुलाई दाबी भुक्तानी दिनु पर्ने अवस्था आए पनि समस्या नपर्ने बताउँछन् । नेपालमै पुल मार्फत बीमा गराइएको कारण यो प्रडक्टप्रति शंका गर्नेहरुले बीमा कम्पनीले एकैपटक धेरैलाई दाबी भुक्तानी दिनुपर्ने अवस्था आए कम्पनीको भविष्य के हुने भनेर शंका गरेका हुन् । कम्पनीहरुले कोरोना बीमा नाफाका लागि भन्दापनि बिमितहरुको सेवाका लागि ल्याइएकोले नाफा घाटाको हिसाव गर्नु उपयुक्त नहुने बताएका छन् । दाबी भुक्तानी प्रक्रिया कोरोेना बीमा हाल संचालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीहरुबाट गर्न मिल्छ । जुनसुकै बीमा कम्पनीबाट बीमा गरिएको भए पनि दाबी भुक्तानीको लागि सबै निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीले दायित्व बोकेका हुन्छन् । जुनसुकै बीमा कम्पनीबाट कोरोना बीमा गराए पनि बीमा शुल्क सबै निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशतको दरले र पुनर्बीमा कम्पनीले २० प्रतिशत बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानीमा पनि यही प्रक्रिया अनुसार हुन्छ । त्यसैले बीमा दाबी भुक्तानीमा सबै बीमा कम्पनीहरुलाई समान दायित्व पर्छ । अहिले संचालनमा रहेको कोरोना बीमा पोलिसी ३ महिनाको लागि ल्याइएको हो । यो पोलिसी संचालनमा आएको करिब १ महिना पूरा भइसकेको छ । बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार अब करिब २ महिनासम्म यही प्रकृयामा कोरोना बीमा हुन्छ । तर २ महिनापछिको अवस्था मूल्यांकन गरेर यो बीमालाई कुन रुपमा अगाडि बढाउने भन्ने निक्र्योल हुनेछ । बीमा समितिले पनि यो बीमालेख स्वीकृत गर्ने बेलामा नै प्रत्येक महिना यो बीमालेखको विषयमा पुनर्बिचार गर्ने जनाएको थियो । कम्पनीहरु कोरोना महामारीले एकसाथ जोखिम सिर्जना गरेको अवस्थामा समेत आफूहरुले सेवा दिन केही योजना बनाएका छन् । यो बीमालेख जारी गर्ने बेलामा सबै निर्जीवन बीमा कम्पनीको भागमा ४÷४ करोड रुपैयाँ तथा नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँ दायित्व पर्दासम्म यो प्रडक्ट संचालन गर्ने गरी ल्याइएको बताइएको छ । यसरी दायित्व लिँदा १ अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी गर्न सकिन्छ । कोरोना बीमामा २ प्रकारका बीमालेख छन् । एउटा प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानी गर्न पाउने र अर्काे १ लाख रुपैयाँसम्मको दाबी भुक्तानी लिन पाइने गरी २ प्रकारका बीमालेख संचालनमा ल्याइएको हो । ५० हजार रुपैयाँको बीमा गर्न ६ सय रुपैयाँ तिर्नुपर्छ भने १ लाख रुपैयाँको बीमा गर्न १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । बीमा शुल्क रकम एक पटक तिरेपछि एक वर्षलाई बीमा हुन्छ । एक अर्ब रुपैयाँसम्म दाबी भुक्तानीको लागि तयार भएर बीमा कम्पनीहरुले संचालनमा ल्याएको यो बीमालेखले १ लाख रुपैयाँको बीमा गर्ने १० हजार जनालाई र ५० हजारको बीमा गर्ने २० हजार जनासम्मलाई दाबी भुक्तानी दिन समस्या नपर्ने देखिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार आगामी दिनमा स्थिति असहज बन्ने अनुमानका आधारमा अहिलेदेखि नै काम गर्न छाड्नु हुन्न भन्ने छ । ‘स्थिति कावु बाहिर जान पनि सक्ला, तर अहिले नै डराएर बीमा कोरोना बीमा नै रोक्ने भन्ने हुँदैन, बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना बीमा गरेका हुन्, थेग्नै नसक्ने अवस्था आयो भने त्यही बेला छलफल गरौंला, अहिले नै आत्तिने बेला होइन,’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसँग भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार तत्कालका लागि कोरोना बीमा गराउँदा भोलि निम्तिने सम्भावित संकटका लागि अहिले आत्तिनु पर्दैन । ‘बीमा कम्पनीहरुले पुनर्बीमा पनि गराउँने भएकाले कुनै पनि जोखिममा दाबी भुक्तानीको लागि आत्तिनु पदैन तर भोलि अवस्था तिनै विकराल बन्दै गयो त्यतिबेलै निर्णय हुन्छ, अहिले आत्तिनुपर्ने अवस्था छैन,’ अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कुन कम्पनीले कति उठाए बीमा शुल्क ? पछिल्लो समय बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोरोना भाईरस (कोभिड–१९) विरुद्धको बीमाबाट ८ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । सो बीमा गराउँने बिमितको संख्या भने १ लाख ५९ हजार छ । कोरोना बीमा पोलिसीबाट अजोड इन्स्योरेन्सले ५१ लाख ९३ हजार रुपैयाँ, आईएमई जनरलले ३६ लाख ५४ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २५ लाख ७४ हजार, एनएलजी इन्स्योरेन्सले ६३ लाख ५० हजार, प्रिमियर इन्स्योरेन्सले २८ लाख ६६ हजार र सगरमाथा इन्स्योरेन्सले ६० लाख १२ हजार बीमाशुल्क आर्जन गरेका छन् । यस्तै, शिखर इन्स्योरेन्सले १ करोड ७५ लाख रुपैयाँ, लुम्बिनी जनरलले ४४ लाख ४६ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ३३ लाख ८१ हजार रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले २६ लाख ३८ हजार, सिद्धार्थ इन्स्योरेन्सले ७८ लाख ४९ हजार, नेको इन्स्योरेन्सले ४३ लाख ६ हजार, प्रभु इन्स्योरेन्सले १६ लाख ६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । युनाईटेड इन्स्योरेन्समा ३१ लाख ८२ हजार, नेशनल इन्स्योरेन्समा ११ लाख ५२ हजार, हिमालयन जनरलमा ५० लाख ५५ हजार, सानिमामा १८ लाख ३१ हजार, ओरेन्टलमा २३ लाख ३९ हजार, जीआईसीमा २५ लाख १० हजार र राष्ट्रिय बीमा कम्पनीमा १६ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन भएको छ ।

थप १९ जना संक्रमित थपिए, नुवाकाेटमा पनि देखियाे काेराेना

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यस्तै नुवाकाेट जिल्लामा पहिलाेपल्ट काेराेना देखिएकाे छ । यससँगै नेपालमा ४२ जिल्लामा काेराेना संक्रमण फैलिएको छ । १९ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ जसमा ८७ जना निकाे भईसकेका छन् ।

कोरोना संक्रमितको लागि एशियन लाईफ इन्स्योरेन्सले दियो एक लाख ५१ हजार रुपैयाँ

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको लागि उक्त सहयोग उपलब्ध गराएको हो । महानगरले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा उपचार सम्बन्धी पूर्वाधार निर्माण गर्न उक्त अभियान शुरु गरेको हो । कम्पनीको तर्फबाट प्रदेश २ प्रमुख रामरुप सहनीले आइतबार वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् । साथै, संस्थाले यसअघि सात वटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पिसीआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ हजार २९५ जनाको पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा दुई हजार ७६० जनाको पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए । तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा दुई हजार ३७९ जनाको पिसिआर भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशकै सुर्खेतमा भने दुई हजार २९४ जनाको पिसिआर भएको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसीआर परीक्षण गरिएको बताउनुभयो । उनका अनुसार आइतबारसम्म दुई हजार ७६० जनाको परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ आएको उनले बताए । प्रतिष्ठानले प्रयोगशाला प्रमुख विवेक पुन मगरको नेतृत्वमा परीक्षण कार्य गरिरहेको छ । हुम्ला र मुगुमा आरडिटी पोजेटिभ देखिएका तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हुम्ला नाम्खाका दुई र मुगु खत्याडका एक जनाको आरडिटी पोजेटिभ देखिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसीआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसीआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठान आफैँले थप दुई हजार भिटीएम किट खरिद गरिसकेको छ । ती भिटीएम मङ्गलबारसम्म जुम्ला पुग्ने उनले बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकोप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । डोल्पा जिल्लाको मुट्केचुल्ला र जगदुल्ला गाउँपालिकामा प्रतिष्ठानले स्वाब सङ्कलनका लागि चिकित्सकसहितको टोली खटाएको छ । दुई/चार दिनभित्र त्यहाँका सङ्कलित स्वाब जुम्ला ल्याएर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्यो कारोबार

काठमाडाैं । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्र्याउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ । इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ ।