महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउँदै चीन
बेइजिङ । चीनले कोभिड-१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड-१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न पाँच कुटनीतिक प्राथमिकतालाई पनि जोड दिने चिनियाँ राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले आइतबार नियमित पत्रकार सम्मेलनमा बताए । वाङको यो भनाई चिनियाँ संसदको वार्षिक राष्ट्रिय अधिवेशन चलिरहेका समय आएको बताइएको छ । वाङले भने, ‘चीनले सन् २०२० का प्राथमिकतामा को कुटनीति घरेलु विकासलाई प्रोत्साहन, राष्ट्रिय चासोहरूको सुरक्षा, अन्य साझेदार मुलुकहरूसँगको मित्रतालाई थप प्रगाढ बनाउने, बहुपक्षीयतामा कडा अडान र अन्तर्राष्ट्रिय समन्वयलाई कोरोनाविरूद्धको लडाईसँगै सक्रियतासाथ विस्तार गर्ने नीति लिनेछ ।’ उनले भने, ‘महामारीको अवधिमा चीन-पाकिस्तान आर्थिक करिडोर उर्जा परियोजना, चीन यूरोप रेललगायत ‘बेल्ट एण्ड रोड’ बीआरआईसम्बन्धी पूर्वाधार निर्माण परियोजना तथा जनताको जीवनसँग घनिष्ट सम्बन्ध भएका परियोजनाहरूले महामारी प्रतिरोधका महत्वपूर्ण भूमिकालाई अघि बढाइनेछ ।’ महामारीपछि चीनले सम्बद्ध मुलुकसँगै स्वस्थ रेशम मार्गको निर्माणलाई अघि बढाउँदै उचित समयमा बीआरआई उच्चस्तरीय भिडियो कन्फरेन्सको आयोजना गर्ने पनि उनले बताए । उनले डिजिटल रेशमी मार्गमा महत्व दिँदै विभिन्न मुलुकको आर्थिक विकासका लागि थप सहयोग गरिनुपर्नेमा पनि जोड दिए । रासस/सिन्ह्वा
नेपाल पर्वतारोहण संघले पर्यटन मन्त्रालयमा बुझायाे संयूक्त माग-पत्र, यस्ता छन् मागहरू
काठमाडाैं । संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणसँग सम्बद्ध रहेका जनशक्तिलाई हिमाल सरसफाई लगायतका क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उक्त कुरा मन्त्री भट्टराईले आइतबार मन्त्रालयमा नेपाल पर्वतारोहण संघको अगुवाईमा पर्वतीयपर्यटनसँग सम्बद्ध संघ संगठनहरुको तर्फबाट बुझाइएको संयूक्त माग-पत्र बुँझ्दै बताएका हुन् । त्यस अवसरमा कोरोना (कोभिड-१९) भाइरसको माहामारीका कारण पर्वतीय पर्यटन क्षेत्रमा परिरहेको संकटले यस क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीहरुलाई अत्यन्तै मार्का परेको तर्फ सरकारको ध्यान आकृष्ट भएको बताउँदै मन्त्री भट्टराईले यस चालू आर्थिक बर्षभित्रै हिमाल सरसफाईको कार्यक्रम राखी आरोही र आरोहणमा संलग्न सहयोगीहरुलाई तत्कालै राहतपुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए । नेपाल पर्वतारोहण संघको अगुवाईमा नेशनल माउन्टेन गाइड एसाेशियसन, नेपाल माउन्टेन इन्स्ट्रक्चर्स/एभरेष्ट समिटर्स एशाेसियसन) का संघसंस्थाहरुका तर्फबाट मन्त्री समक्ष माग-पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा मागपत्र मन्त्री समक्ष हस्तान्तरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीहरुका तत्कालै राहतका कार्यक्रम सञ्चालन गर्न माग गरे । अध्यक्ष लामाले मागहरुको कार्यान्वनमा लैजान र आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा पनि समावेश गरी पर्वतीय पर्यटन क्षेत्रको पूनर्जीवन दिन समेत मन्त्री समक्ष माग गरे । त्यस अवसरमा संघका महासचिव कुलबहादुर गुरुङले संघको अगुवाईमा बुझाईएको माग-पत्र, प्रस्तावित पर्यटन ऐन २०७६ का सम्बन्धमा संघको तर्फबाट राखिएका सुझावहरु र संघ मार्फत भइरहेका प्रयासहरुका विषयमा प्रस्तुत गरेका थिए । विभिन्न संघ संस्थाका तर्फबाट मन्त्रीसमक्ष प्रस्तुत गरिएका मागपत्रहरु माहिमाल सरसफाई कार्यक्रम, हिमचुलीहरुको अध्ययन तथा पहिचान कार्यक्रम, पदमार्ग, आरोहण मार्ग र उच्च भञ्ज्याङ (हाइपासेस)हरुको अध्ययन, निर्माण तथापुनःनिर्माणका साथै चेन एङकर जडान र साइनेज जडानको कार्यक्रमहरु, उच्च हिमाली भागहरुमा पोर्टर सेल्टर र शौचालय निर्माण, पुनःनिर्माण तथा मर्मतको कार्य, हिमाल आरोहणसँग सम्बन्धित जनचेतना मूलक कार्यक्रम तथा हिमाल आरोहण गर्दा हुने जोखिमलाई न्यूनीकरण गर्न, उत्तरदायी र दीगोपनाका लागि आरोहणसँग सम्बन्धित माउण्टेन गाइड तथा आरोहणमा संलग्न सहयोगीहरुलाई पूनर्ताजगी तालिमहरु रहेका छन् । कार्यक्रममा नेपाल नेशनल माउन्टेन गाइड एसोशियसनका अध्यक्ष आङ नोर्बु शेर्पा, नेपाल माउन्टेन इन्स्ट्रक्चर्स एसोशियसनका महासचिव छिरिङ पाण्डे भोटे र एभरेष्ट समिटर्स एसोशियसनका अध्यक्ष माया शेर्पा र संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईको सहभागिता रहेको थियो ।
बन्दाबन्दीमा एकदिन पनि रोकिएन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
काठमाडाैं । राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो । पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थलको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरुमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ । हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ । त्यस्तै भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । त्यस्तै बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ । बन्दाबन्दीमा विमानस्थलको निर्माण नियमित बन्दाबन्दीका बेला पनि पर्यटन मन्त्रालयअन्तर्गत पर्ने दुई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम एक दिन पनि रोकिएको छैन । ‘अवस्था सामान्य भइदिएको भए पर्यटन मन्त्रालय अन्तर्गतका आयोजनाको प्रगति अवस्था निकै राम्रो हुने थियो’, पर्यटनमन्त्री योगेशकुमार भट्टराईले भने, ‘लकडाउनकै समयमा पनि हामीले भ्याएसम्म साधन स्रोतको प्रयोग गरेर काम गरिरहेका छौँ ।’ लकडाउन खुलेर अवस्था सामान्य भएपछि गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडै नै सम्पन्न हुने र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम यही अवस्थाबीच पनि तोकिएकै समयमा सम्पन्न हुने मन्त्री भट्टराईले बताए । गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अहिले पनि २९ चाइनिजसहित १५० जनाले काम गरी रहेको सो विमानस्थल आयोजनामा प्रमुख प्रवेश अधिकारीले बताए । सन् २०२० को मार्चसम्ममा निमार्ण सम्पन्न गरिसक्ने गरी सन् २०१४ नोभेम्बरबाट निर्माण थालिएको यस विमानस्थलको काम विश्व महामारीको रुप लिएको कोभिड-१९ का कारण केही समय पर धकेलिए पनि महामारीकै बीच पनि उपलब्ध साधन स्रोतको उच्चतम प्रयोगका साथ भइरहेको आयोजना प्रमुख अधिकारीले बताए । तीन महिनामा सबै काम पूरा हुने कोभिडको महामारी शुरु हुनुअघि भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ५५ प्रतिशत रहेको यो विमानस्थलको काम अहिलेसम्म भौतिकतर्फ ९० प्रतिशत तथा आर्थिकतर्फ ६३ प्रतिशत प्रगति भइसकेको आयोजना प्रमुख अधिकारीले बताए । मार्चमम्ममा काम सकिने भने पनि जनवरीबाटै चीनवाट आउनुपर्ने सामग्री रोकिएपछि काम प्रभावित भएको हो । अहिले पनि कतिपय सामग्रीबीच बाटो (ल्हासा)मा आएर रोकिएका छन् भने कतिपय सामग्री प्याकिङ नै नभएको अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले चिनियाँ पक्षलाई आउनुपर्ने सामग्री चीनको सीमासम्म ल्याउने पहल गरिदिन आग्रह गरिरहेका छौँ । त्यहाँसम्म ल्याउने अवस्था भयो भने यताबाट हाम्रै पहलमा ल्याएर भने पनि कामलाई गति दिने थियौँ ।’ सबै निर्माण सामग्री आएको खण्डमा तीन महिनामा निर्माणको सबै काम पूरा हुने उनको भनाइ छ । अहिलेसम्म विमानस्थलमा तीन किलोमिटर धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको छ भने ट्याक्सी वे र एप्रोन निर्माणको काम पनि सकिएको छ । कार्गो टर्मिनलभवनको काम पनि करीब ५० प्रतिशत सकिएको छ । कार्गो टर्मिनल भवन आगामी कात्तिक १२ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सेक्युरिटी भवन निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ । त्यस्तै, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा २५० चिनियाँ र नेपाली १०० गरी ३५० जनाले काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । उनले केही सामग्री केरुङ नाका र कलकता बन्दरगाहमा रोकिए पनि स्टक सामग्री भएकाले अहिलेसम्म काममा बाधा नआएको बताउनुभयो । मुनकर्मीले भने, ‘अझै पनि स्टक सामान एक महिनाका लागि छ, केरुङमा रोकिएका सामान मात्र ल्याउन सकियो भने तीन महिनालाई काम गर्न पुग्छ ।’ आगामी जुलाईसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि काम प्रगतिका आधारमा लक्ष्यभन्दा छ महिना अगाडि नै योजना सम्पन्न हुने अपेक्षा गरिएको थियो । अहिले पनि बाहिरबाट सामग्री ल्याउन लकडाउनले असर नपारेको अवस्थामा तोकिएकै समयमा काम पूरा हुने पनि आयोजना प्रमुख मुनकर्मीले बताए । रासस
सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए । सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ । अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाे वेवसाइट ह्याक
काठमाडाैं । नेपाल उड्डय प्राधिकरणकाे वेवसाइट ह्याक गरिएकाे छ । प्राधिकरणकाे वेवसाइट ह्याक गर्ने भारतीय ह्याकर समूह भएकाे बुझिएकाे छ । ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो। साे ह्याकरकाे समूहले हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइनु भन्ने शन्देस छोडेको थियो। अहिले भने उक्त साइट सामन्य अवस्थामा फर्किएको छ। बिहिबार मात्रै ह्याकरले बाँकेकाे वन अनुसन्धान केन्द्रकाे वेवसाइट ह्याक गरेकाे थियाे ।
इद मनाउन कोरोना अस्पतालमै कपडा र सेवई
काठमाडाैं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना भाइरस संक्रमितलाई इदुल फित्रका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । मुसलमानको मुख्य पर्व इद सोमबार मनाइने भएकाले कोरोना संक्रमित मुसलमान समुदायका व्यक्तिलाई अस्पतालले कपडा र खाद्य पदार्थ वितरण गरेको हो । कपिलवस्तु र रुपन्देही जिल्लाका मुसलमान समुदायका १२ व्यक्तिलाई नयाँ कपडा, नमाज पढ्दा बिछयाइने मुसल्ला, इदमा खाइने सेवई वितरण गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए । उनीहरुलाई बुटवलस्थित धागो कारखानामा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा सामग्री वितरण गरिएको डा खनालले बताए । उक्त अस्पतालमा उपचारार्थ मुसलमानमध्ये शनिबार चार जना कोरोना जितेर घर फर्किएका छन् । साथै अस्पतालमा रहेका सबै संक्रमितलाई सेवई खाने व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । कपिलवस्तुका १० संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ फिजिसियन डा सुुदर्शन थापाले जानकारी दिए । कपिलवस्तुमा शनिबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएसँंगै जिल्लामा कोरोना संक्रमित ८० पुगेका छन् ।
भारतबाट लुकीछिपी आउने दिन सकिए, अब सुरक्षित तवर ल्याइने
काठमाडाैं । भोजपुरबाट रोजगारीको सिलसिलामा भारत गइ सीमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाइ गरे पनि दिनरात लगाएर पैदल हिँडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवर ल्याउने तयारी भएको हो । लुकेर आउने र उनीहरुको तथ्याङ सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै सङ्क्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना सङ्क्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सीमा रहेको लेगुवाबाट मात्र ल्याउने तयारी रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो । प्रजिअ पुरीले भने, ‘हामीले भारत-नेपालको सीमा क्षेत्रमा रहेका भोजपुरका नागरिकलाई उद्धार गरेर ल्याउने तयारी गरेका छौँ, सीमा क्षेत्रमा रोक्दा रातरात भागेर आउने क्रम देखिएपछि झनै सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षित तरिकाबाट क्वारेन्टिनमा राख्ने गरी ल्याउने तयारी गरेका हौँ ।’ पहिलो चरणमा पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकालगायतका नागरिकको उद्धार गरिने जनाइएको छ । उद्धार गरिएको नागरिकलाई राख्नका लागि अरुण गाउँपालिका वडा नं ६ र ७ मा रहेका कोशी प्राथमिक विद्यालय, सूर्योदय प्राथमिक विद्यालय र जनश्रमदान बालकल्याण प्राथमिक विद्यालयमा ८० श्यया क्षमतामा होल्डिङ एरिया छनोट गरिएको छ । आफ्नो जिल्लाका नागरिकलाई उद्धार गर्नु स्वागतयोग्य भए पनि सङ्क्रमणको डरसँगै उनीहरुलाई व्यवस्थापन गर्न आर्थिक समस्या हुने भएकाले सबैले सहयोग गर्नुपर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले भने, ‘यो स्वागतयोग्य काम हो, तर जोखिमको सम्भावना पनि त्यत्तिकै मात्रामा छ, तत्काललाई होल्डिङ एरिया हाम्रो गाउँपालिकामा बनाउने तयारी रहेकाले आर्थिकरूपमा अन्य स्थानीय तहले पनि सहयोग गर्न आवश्यक छ ।’ उद्धार गरिएका नागरिकलाई होल्डिङ एरियामा राखेर कोरोना परीक्षण गरेपश्चात रिपोर्ट नेगेटिभ आए सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइने तथा पोजेटिभ आएमा उपचारका लागि धरान अथवा विराटनगरको कोराना विषेश अस्पताल पठाइने जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको भनाइ छ । नेपाल-भारतको सिमाना काँकारभिट्टा, सुनौलीलगायत ठाउँमा रहेका पौवादुङमा गाउँपालिकाका १०, आमचोक गाउँपालिकाका १७, षडानन्द नगरपालिकाका छ र साल्पासिछो गाउँपालिकाका नौ जना सम्पर्कमा रहेकाले उनीहरुलाई ल्याउने तयारी गरिएको हो । रासस
लकडाउनमा सरकारले दिएको ‘राहत’को भार बैंक हुँदै निक्षेपकर्तामा
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न गरेको लकडाउनकै कारण नेपालकाे अर्थतन्त्रलाई ठूलो झट्का लागेको छ । मानिसका दैनिक गतिविधिदेखि ठूला–ठूला उद्योगधन्दाहरु अहिले निकै प्रभावित बनेका छन् । यसको असर बैंकिङ क्षेत्रमा पनि छ । लकडाउनकै कारण वित्तीय क्षेत्रमा ठूलै असर परेको पछिल्ला केही घटनाक्रम र अभिव्यक्तिहरुले देखाउन थालेका छन् । गत बिहीबार मात्रै उद्योगपति विनोद चौधरीकोे ८० प्रतिशत बैंकहरु बन्द हुन सक्ने अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्र निकै तरंगित बनेको छ । यहीबीचमा आफ्नो उद्योग व्यवसाय धरापमा परेको भन्दै उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट राहत तथा सहुलियतको माग पनि गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको व्याजमा २ प्रतिशत सहुलियत दिन बैंकहरुलाई निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजमा छुट दिन सुरु गरिसकेका छन् । बैंकहरु नै समस्यामा परिहरेको अवस्थामा आउने नाफा नै घटाउनु परेपछि वित्तीय संस्थाहरुले त्यसको विकल्प खोजेका छन् । वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको व्याजमा छुट दिन सुरु गरेपछि बैंकरहरुले निक्षेपको व्याज पनि घटाएका छन् । के भन्छन् बैंकर ? निक्षेपको व्याजदर बैशाखदेखि नै लागू भइसकेको बैंकरहरुको भनाई छ । उनीहरुका अनुसार निक्षेपको व्याजदरमा १ देखि १ं.५ प्रतिसतसम्म परिवर्तन भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले बचतमा ५.७५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत र संस्थागतमा ७ प्रतिशतसम्म व्याज दिइरहेको बताइएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याज घटाएको स्वीकार गरे । उनले विकान्युज डटकमको प्रस्तुति विकास वहसमा नेपालका सम्पूर्ण वाणिज्य बैंकहरुले बैशाखको १ गतेबाट लागू हुनेगरी बचतमा ३.५ देखि ५.५ प्रतिशतसम्म बनाउन सकिने गरी व्याजदर कायम गरेको बताए । ‘बैैंकर्स संघको निर्णय बमोजिम निक्षेपको व्याजदर तोकिएको छ, व्यक्तिगत मद्धतीमा १ प्रतिशतको हाराहारीमा र संस्थागत निक्षेपमा १.५ प्रतिशतको घटेको छ, उनले भने । चैत मसान्तमा उठ्नुपर्ने व्याज रकमको ५७ प्रतिशत मात्रै उठ्यो, नउठेको ४३ प्रतिशत व्याज रकम नै १ अर्ब ८ करोड रुपैयाँ थियो, व्याज रकम १० प्रतिशत छुट दिँदा नै १२ करोड रुपैयाँ कम भयो, असार मसान्तमा पनि यसरी छुट दिँदा हाम्रो बैंकको मात्रै व्याज आम्दानी ४५ करोड रुपैयाँ कम हुने देखिएको छ,’ अधिकारीले भने । यस्तै, कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले पनि निक्षेपमा अधिकतम ५.५ प्रतिशतसम्म व्याजदर कायम गरेका बताए । ‘कर्जाको व्याजदर घटाउने कुरा राष्ट्र बैंकले निर्देशन दिनुभन्दा पहिले नै बैंकर्स संघले गरिसकेको थियो, कर्जाको ब्याज घटेपछि निक्षेपमा पनि एडजस्ट गर्न खोजिएको हो,’ उपाध्यायले भने । राष्ट्र बैंकले तोकेअनुसार २ प्रतिशत व्याज छुट दिँदा आफ्नो बैंकको व्याज आम्दानी करिब ९० करोड रुपैयाँ कम हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । यस्तै, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले चालु आर्थिक वर्षको चैत ९ अघिसम्म बैंकको नाफा उत्साहजनक नै भएपनि लकडाउनपछिको अवस्था विश्लेषण गर्दा नाफा उच्च नहुने बताए । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । मर्कामा सर्वसाधारण यसरी बैंकले दिने निक्षेपको ब्याजदर घट्दा सर्वसाधारणहरु मर्कामा पर्न सक्ने सम्भावना बढी छ । आफ्नो मासिक जम्मा गरेको आम्दानीबाट आएको व्याजबाट गुजारा चलाइरहेकाहरुलाई यसले धेरै समस्यामा पार्न सक्ने धेरैको बुझाई छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको निक्षेपको व्याज आम्दानीले नै जीवन चलाउनेहरु अब प्रभावित हन सक्ने धेरैको ठहर छ । मासिक आम्दानी गरेर बैंकमा जम्मा गरेको रकमको व्याजबाट गुजारा चलाउनेहरुलाई घटेको व्याजदरले धेरै सम्म असर पर्न सक्छ । राष्ट बैंकले कर्जामा २ प्रतिशत व्याजदर घटाउन निर्देशन दिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा पनि व्याजदर घटाएका छन् । यसले व्यक्तिगत निक्षेपकर्ता बढी प्रभावित हुनेछन् । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । २०७६ चैत मसान्तमा चल्तीमा ८.५ प्रतिशत, बचतमा ३२.२ प्रतिशत र मुद्दतीको कुल निक्षेपमा ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो । २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो । बैंकरहरु भने सवैसाधारणहरुलाई मर्का नपर्ने गरी निक्षेपमा व्याजदर तोकेको बताउँछन् । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकमा मात्र चैतयता करिब ७९ अर्ब रुपैयाँ निक्षेप बढेको छ भने ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको बताइएको छ । यस्तै, राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । निक्षेपकर्तालाई मर्कामा पार्नु हुँदैनः प्रवक्ता डा.भट्ट नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट निक्षेपकर्तालाई मर्कामा पार्नु नहुने बताउँछन् । राष्ट्र बैंकले पनि निक्षेप घटबढ सम्बन्धि कुनै निर्देशन नदिएको र बैंक तथा वित्तीय संस्थाहरुले खास गरी व्यक्तिगत निक्षेपकर्तालाई निरुत्साहित बनाउन नहुने उनको भनाइ छ । ‘व्यक्तिगत निक्षेपकर्तालाई निरुत्साहित गर्नु हुँदैन, उनीहरुलाई निरुत्साहित गर्यो भने भोलि अर्को समस्या पनि हुन सक्छ, व्याजदरमा निक्षेपकर्तालाई समस्यामा पार्नु हुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भने । भट्टले अहिलेको परिस्थिति नै प्रतिकुल रहेकोले सबैले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठान बचाउनको लागि कर्जामा सुविधाको नीतिगत व्यवस्था गरिएको भन्दै उनले यस्तो सुविधा लामो समयसम्म दिन नसकिने बताए । राष्ट्र बैंकले संस्थागत निक्षेपको हकमा ब्याजदर नघटाउन भनिसकेको उनको भनाइ छ । ‘यो महामारीको बेलामा एकअर्कालाई सहयोग गर्नुको विकल्प छैन, बैंकहरुले पनि सामाजिक लागतको भार व्यहोर्नु परेको हो, देशलाई अप्ठेरो परेको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्छ,’उनले भने । उनले राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बैंक नोक्सानीमै जाने अवस्था भने नआउने दाबी गरे । ‘बैंक नै नोक्सानीमा जाने वा अन्य यस्तो अप्ठेरो अवस्थामा बैंक पुग्न सक्ने अवस्था आउँदैन, चालु आर्थिक वर्षमा बैंकहरुले गत वर्षको हाराहारीमा नै नाफा गर्ने देखिएको छ,’ उनले भने ।