गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय
भीमदत्तनगर । कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक भित्रिएका थिए । नेपाल–भारत सीमा सिल गर्नुका साथै लकडाउन थालिएयता यहाँको दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी र पुर्नवासलगायतका क्षेत्रमा लुकीछिपी आउने क्रम रोकिएको छैन । “दशगजामा आएर नेपाली अलपत्र पर्न थालेपछि व्यवस्थित तवरले उद्धार गरी ल्याउन गड्डाचौकी नाकाबाट आउन लिने निर्णय गरिएको हो”, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने, “गड्डाचौकीमा स्वास्थ्य जाँचदेखि आवागमन व्यवस्थित बनाउन तयारी गरिएको छ ।” बिहानैदेखि सेना र स्वास्थ्यकर्मीको चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै सशस्त्र र नेपाल प्रहरीले लाइन व्यवस्थापनलगायतमा खटिने तयारी प्रशासनले गरेको जनाएको छ । भारतमा यातायात सुचारु भएसँगै यहाँका नाकामा नेपाली अलपत्र पर्ने क्रम केही दिनयता बढ्दै गएको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि औषधोपचारबाहेकका सबै सेवा बन्द गर्ने निर्णयसमेत गरेको छ । औषधोपचारबाहेक तकारी बजार, फलफूल, खाद्यान्न पसल र बैंकलगायत सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । रासस
भरुवा बन्दुक पड्किँदा ८ वर्षिय बालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो । उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । रासस
मुस्लिम समुदायले आज ईद मनाउँदै
काठमाडौं । मुस्लिम समुदायले आज इदुलफित्र (ईद) मनाइरहेका छन् । सरकारले ईदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ इस्लाम परम्परा अनुसार ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गरिन्छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्न भन्ने एक खालको मुस्लिम समुदायमा विश्वास छ । मिठो खाने कुरा तथा नयाँ लुगा लगाउने यो पर्व मनाइन्छ । विश्वमा नै कोरोना फैलिएसँगै यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान गरेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान साढे ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ९४ हजार ४ सय ६४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४६ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ९९ हजार ३ सय ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९९ हजार ३ सय जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ८६ हजार ४ सय ४५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म ४ हजार २४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ सय ३ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
भरतपुरमा हावाहुरीले एकको मृत्यु चार घाइते
भरतपुर । देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा छन् । उनको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । घटना साँझ ५ः४५ मा भएको थियो ।
एकता र सहिष्णुताका पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्न प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए । बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाएका छन् । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।
चालु आवमा हिमाल सफाइको कार्यक्रम सञ्चालन गरिने
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणसँग सम्बन्धित जनशक्तिलाई हिमाल सफाइलगायत क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । पर्वतीय पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यक्तिसँग आज मन्त्रालयमा भएको छलफलमा उनले चालु आर्थिक वर्षभित्र हिमाल सफाइको कार्यक्रम सञ्चालनको तयारी भएको जानकारी दिए । नेपाल पर्वतारोहण संघ (एनएमए) को अगुवाइमा बुझाइएको संयुक्त मागपत्र बुझ्दै उहाँले आरोही तथा अन्य कर्मचारीलाई राहत पुग्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण भएको स्पष्ट गरे । एनएमए अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीका लागि तत्कालै राहतका कार्यक्रम सञ्चालन गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा समावेश गरेर पर्वतीय पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन माग गरे । प्रस्तावित पर्यटन ऐन २०७६ का सम्बन्धमा संघका तर्फबाट राखिएका सुझाव र संघमार्फत भएका प्रयासका विषयमा समेत जानकारी गराइएको थियो । उक्त मागपत्रमा हिमाल सफाइ, हिमचुलीको अध्ययन तथा पहिचान, पदमार्ग, आरोहण मार्ग र उच्च भञ्ज्याङको अध्ययन, निर्माण तथा पुनः निर्माण, चेन एङकर र साइनेज जडानलगायत कार्यक्रमबारे अवगत गराइएको छ । त्यसैगरी हिमाली भागमा पोर्टर सेल्टर र शौचालय निर्माण, आरोहणसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमको दिगोपनका लागि आरोहणसँग सम्बन्धित माउण्टेन गाइड तथा आरोहणमा संलग्न सहयोगीका लागि नवीकरणीय तालिमको माग गरिएको संघले जनाएको छ ।
चौधरी नेतृत्व समितिकाे प्रतिवेदन- विपन्नलाई ३ महिनासम्म मासिक ५ हजार देउ
काठमाडौं । नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगारका बारेमा प्रतिवेदन तयार परेको छ।विनोद चौधरी नेतृत्वको समितिले आगामी आर्थिक बर्षभित्र सरकारले लिनुपर्ने नीतिगत एवं व्यवाहारिक कदमहरुकाे बारेमा प्रतिवेदन तयार पारेकाे हाे । उक्त प्रतिवेदन समितिले कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्थतन्त्र केन्द्रित विशेष समितिका संयोजक डा. रामशरण महतसलाई बुझाएको छ। लकडाउनकामा रोगसँगै भोकको समस्या पनि उत्तिकै हुने भन्दै समितिले तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। समितिले यसमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र विपन्नहरूलाई सरकारले दाल, चामलको विकल्पमा जीवनयापनका लागि लकडाउनभरि र लकडाउन सकिएको ३ महिनासम्म प्रतिविपन्न परिवार न्यूनतम मासिक ५ हजार रूपैयाँका दरले नगद रकम दिनुपर्ने निष्कर्ष निकालेको छ।