नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट चौथो व्यक्तिकाे मृत्यु भएको छ । बीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षिय वृद्धलाई कोरोना पोजेटिभ देखिएको हाे । मृगौलामा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका वृद्धको शंकास्पद लक्षण देखिएसँगै स्वाब परीक्षणका लागि काठमाडौं पठाएका थिए र भर्खरै स्वाबको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएकाे छ । कोरोना कै कारण सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका एक युवक र गुल्मीका शिक्षकले ज्यान गुमाइसकेका छन् ।
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५
काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पौने ११ बजे थप ७२ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा गरिएकाे परीक्षाणमा ३७ जना, वि.पी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा ५ जना, किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र, हेटाैंडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जमा ५ जना, प्रदेश अस्पताल सुर्खेत/ पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतमा २ जना गरि ७२ जनामा काेराेना सक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो । बन्दाबन्दीको समयमा व्यक्तिगत र पारिवारिक काम गर्न कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न बहाना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । “बीस वर्षअघि मृत्यु भएका जगतबहादुर थापाका आफन्तले गत जेठ–८ गते मृत्यु भएको नक्कली कागजात तयार गरेर मृत्यु संस्कारका लागि भन्दै शनिबार साँझ गाउँ आएको खुलेको छ”, उनले भने, “नक्कली कागजातकै भरमा दिक्तेल आइपुगेका उनीहरुलाई प्रहरीले रोकेपछि जनप्रतिनिधिको आग्रहमा क्वारेन्टिनमा राख्ने गरी छाडिएको छ ।” इलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलब्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलब्ध गराइएको उल्लेख छ । दुई दशकअघि मृत्यु भएका वृद्धको अन्तिम संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका रहेका छन् । नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो तर उनीहरुले इलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खुलेको छ । नक्कली कागजात बनाएर गाउँ आएका उनीहरु पाँचै जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरी डाँडास्थित अन्नपूर्ण माविको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए । “गाउँ भित्रिन गरिएको कडाइका बीचमा पनि विभिन्न बहानामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन”, उनले भने, “लुकीछिपी गाउँ प्रवेश गर्ने जोकोहीलाई अनिवार्यरुपमा १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा राख्ने गरिएको छ ।” एउटा टोलबाट अर्को टोल आवतजावत गर्नमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लामा रहेका कतिपय व्यक्तिले पहुँचको भरमा समेत कागजात बनाएर आवतजावत गर्ने गरेको पाइएको छ । जिल्लामा एउटा कामका लागि प्रशासनबाट सवारी अनुमति लिएका सवारी साधन अर्कै काममा प्रयोग हुने गरेकोसमेत पाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि मङ्गलबार साँझ एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ । जिल्लामै पहिलोपटक कोरोना सङ्क्रमित भेटिएसँगै उनका परिवारसहित ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ । रासस
एनआईसी एशिया क्यापिटलले संचालनमा ल्यायाे संस्थागत परामर्श सेवा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा सञ्चालनमा ल्याएकाे छ । जस अन्तर्गत क्यापिटलले नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना अनुरुपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यवसायीक योजना तयार गरिदिनेछ । यसका साथै, नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्ताव सम्बन्धी शर्त, आवश्यक कागजात तथा माग गरे बमोजिमको विवरण अनुरुपको व्यवसायीक योजना समेत तयार गरिदिने छ । यस प्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यवसायीक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरुलाई उहाँहरुको ज्ञान, सीप तथा क्षमता अनुसारको व्यवसायीक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुवाती पुँजी जुटाउन समेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ । संस्थाले ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन शुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा उल्लेख भए अनुसारको प्रस्ताव तयार गरिदिने सेवा संचालनमा ल्याएको हाे । यस याेजना अन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले बैशाख २९ गते नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आव्हान गरेकाे थियाे । साथै, यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकहरुलाई निःशुल्क रुपमा उक्त सेवा उपलब्ध गराउने जानकारी गराएको छ ।
कोरोना सङ्क्रमितका कारण रोकियो जोरपाटी–सुन्दरीजल सडक
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा कोरोना सङ्क्रमित भेटिएपछि जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम रोकिएको छ । बन्दाबन्दीको एक महिनापछि सुरक्षा विधि अपनाएर पुनः शुरु भएको सडक निर्माण अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हलुका सवारी चालक पदमा कार्यरत ५८ वर्षीय स्थानीयवासीमा कोरोना पुष्टि भएपछि नगरपालिकाको वडा नं ४ सिल गरिएकाले रोकिएको हो । सङ्क्रमितसँग सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण नगरेसम्म वडा नं ४ मा सडक बिस्तारको काम नगरिने वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । यही जेठ ६ गते नगरवासीमा कोरोना पुष्टि भएपछि धेरै ठाउँमा भइरहेको काम रोकिएको हो । वडा नं १ को केही भागमा भने पर्खाल लगाउने काम भइरहेको छ । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक दायाँबायाँ घर भएका स्थानीयवासीले विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी ५८ करोड रुपैयाँ लागतमा भइरहेको काम नसकिने भएको छ । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाइए पनि विद्युत्को पोल, तारलगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी श्याम तामाङले गुनासो गरे । रासस
भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु
काठमाडौं । भरतपुर अस्पतालमा आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । बुटवलको लुम्बिनी सिटी अस्पतालबाट आइतबार राति रिफर भएर आएका नवलपरासी रामग्राम ५ निवासी ४८ बर्षका पुरूषको विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घाँटी, छाती तथा निमोनियाको समस्या देखिएका विरामीलाई अस्पताल ल्याउँदा सिरियस अवस्था रहेको र अस्पतालले सम्भव भएका प्रयास गर्दा पनि बचाउँन नसकेको जनाएको छ । बुटवल अस्पतालमा नै कोरोना परीक्षणका लागि स्वाब निकाले पनि नतिजा नआएकोले भरतपुर अस्पतालले कोरोना परीक्षणका लागि स्वाब निकालेको छ ।
व्यासीको कथा : सुन्दरताभित्र गुम्सिएको पीडा
दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा) ।” चारैतिर डाँडाकाँडा र हिमालले घेरिएको गाउँ । उत्तरतिर भएर बग्ने काली र दक्षिण भएर बग्ने तिङ्कर खोलाको सुसाइ । हिमाली क्षेत्रको चिसो हावा र बिहान घामको झुल्कोसँगै यहाँको प्राकृतिक सौन्दर्य । शान्त वातावरण । सुनसान जङ्गलभित्रको घनाबस्ती । गाउँ वरिपरि फूलझैँ फक्रिएका सल्लाका रुखहरु । यो ठाउँमा बस्नेलाई लाग्छ, ‘हामी स्वर्गको नजिकै छौं।’ आकाश खुलेपछि अरु गाउँ देख्न सकिँदैन, त्यही अपिनाम्पा हिमालका चुचुरा । कैलाश मानसरोवरको दर्शन । कैलाश गुफा र अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने जो कोहीलाई स्वर्गको अनुभूति हुन्छ । सदरमुकाम खलङ्गाबाट ९० किलोमिटर टाढाको बस्ती । बिहान घामको राप र बेलुकी बत्तीको उज्यालोले झिलीमिली । गाउँभरि ठड्याइएका बिजुलीका पोलहरु । बाटोहरु चिटिक्क परेका चिल्ला । वर्ष दिनलाई पुग्ने गरी दाउराको जोहो । पहाडका खोँचमा निर्माण गरिएका अग्ला घरहरु माटोले चिटिक्क परेका र टल्किएका । खेती गर्न हाते ट्र्याक्टर । सङ्घसंस्थाका बोर्डहरु । सीमापारि भारतीय क्षेत्र र उत्तरपट्टि चीनको ताक्लाकोट शहर नजिकै । ५/६ घण्टाको सीमासम्मको हिँडाइपछि चीनसम्मको सहज यात्रा । घोडा खच्चड, याक र चौँरीहरु । यसरी हेर्दा लाग्छ यो बस्ती विकट छैन । दुर्गमताको आभास छैन । लहरै फलेका स्याउ, हरियो तरकारी, उवा, फापर, आलू फल्ने ठाउँ छ । फूलैफूलको संसारमा बसेको अनुभूति जो कोहीलाई पनि हुन्छ । तर जति सुन्दर देखिन्छ यो क्षेत्र, त्यहाँ बसोबास गर्नेको पीडा त्योभन्दा कम छैन । १० दिनदेखि सौका कुञ्चा बाटोमै व्यास गाउँपालिका–१ छाङ्रुका अञ्जु बोहरा सदरमुकाम खलङ्गाबाट गाउँ जान हिँडेको १० दिन भयो । नेपालकै बाटो भएर गाउँ जाने सोचसहित पशुचौपाया लिएर गएका थिए । सामान्यतया नेपालकै बाटो भएर बढीमा ५ दिनमा गाउँ पुगिन्छ । एक सातासम्मको तयारी गरी रासन बोकेर गएका बोहरा १० दिनसम्म गाउँ पुग्नु त कता आधा बाटो नि पुग्न सकेनन् । नेपालतिरै बाटो बन्ला भन्ने आशामा गएका छाङ्रुका कुञ्चा १० दिनसम्म पनि तम्बाकु क्षेत्रमै अड्किएका छन् । गाउँपालिकाले यो क्षेत्रमा गाेरेटोबाटो मर्मतको काम गरिरहेको थियो तर तम्बाकु मौरा भेल क्षेत्रका कडा चट्टानमा बाटो बनाउन नसक्दा व्यासी कुञ्चाले माथि उक्लिन नसकेका हुन् । भारतीय बाटो भएर यही जेठ ८ गते हिँडेको कुञ्चा गव्र्याङ पुगेको छ । नेपालतिर बाटो खुल्ने अवस्था नभएपछि रङ समुदायले भारतीय सरकारसँग पहल गरेर महाकाली नदीमा अस्थायी काठेपुल लगाएर नेपाल भएर गएका कुञ्चा पनि भारत हुँदै गाउँ जाँदैछन् । दुवैतर्फको आपसी सम्बन्धको हिसाबमा भारतीय क्षेत्रमा रहने सौका समुदायले जिम्मेवारी लिने गरी छाङ्रुका कुञ्चालाई भारतीय बाटोमा प्रवेश दिइएको व्यास–१ का स्थानीय विमल बोहराले बताए । भारतबाट स्वास्थ्यकर्मीसहितको टोली पठाएर उनीहरुको स्वास्थ्य परीक्षण गर्दै भारत प्रवेश गराइएको छ । तम्बाकुमा महाकाली नदीमाथि अस्थायी काठेपुल लगाइएको छ । छाङ्रुका कुञ्चा तम्बाकुभन्दा माथि जान नसक्ने अवस्था आएपछि भारतीय क्षेत्रमा रहेका सौका समुदायमार्फत पहल गरिएको बोहरा बताए । भारतको धार्चुला हुँदै गएका तिङ्कर समुदायका पशुचौपाया आइतबार बेलुकी बुदी पुगेका छन् । विगतमा वडाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति भारतीय एसडिएम कार्यालयमार्फत स्वीकृत भएपछि मात्रै व्यास जान पाइन्थ्यो तर यो पटक बन्दाबन्दीका कारण अनुमतिबिनै उनीहरु गाउँ गएका हुन् । भारतीय विधायक हरिशसिंह धामी तथा भारतीय रङ समुदायले सहजीकरण गरेपछि उनीहरु गाउँ जान पाउने भएका हुन् । भारतको छायालेकभन्दा माथिल्लो क्षेत्र ‘नोटिफाइ’ क्षेत्र हो । यो क्षेत्रमा प्रवेशका लागि भारतीय पक्षले सहजीकरण गरिदिएको बोहरा बताए । उनले भने, “अब दुई दिनपछि सबै कुञ्चा व्यास पुग्छन् । उनीहरु नेपाल भारत जोड्ने सीतापूल हुँदै गाउँ प्रवेश गर्नेछन् ।” व्यासी सौका समाजका अध्यक्ष यशोदा तिङ्करी व्यासीहरुले यो पटक जस्तो गाउँ पुग्न दुःख कहिल्यै भोग्नु नपरेको बताए । “हाम्रा जनताले गाउँ पुग्न पाएका छैनन्,” उनले भने, “जनता बीच बाटोमै अलपत्र छन्, सरकारले नेपालतिर बाटो खोल्छ भन्छन् तर कहिले खोल्ने हुन् ?” नेपालले आफ्नो भूमि भएर गाउँ जान बाटो नबनाउँदा केही नागरिक भारतीय बाटो भएर गए । एकसाताका लागि बन्दोबस्ती रासन लिएर गएका कुञ्चाले खान पाएका छैनन् । दुम्लिङ आएर रासन खान बाध्य छन् । “सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्नु ठिक हो”, उनले भने, “तर आफ्ना जनता गाउँ पुगेका छन कि छैनन् भनेर र हेर्नुपर्छ कि पर्दैन? पुर्खादेखि जनताले भूमि रक्षा गरेका छन् । अहिले केही भारतबाट व्यास गएका छन् केही नेपालबाट गएकाहरु बीच बाटोमै समस्यामा छन् ।” उनका अनुसार अहिले सम्बन्धका हिसाबले सात आठ महिनापछि गाउँ जान पाउँदैछन् । “खेतपाती लगाउने समय सकियो । यार्सा सङ्कलनमा रोक लगाइएको छ । सीमा नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । यस्तो अवस्थामा व्यासवासीले गाउँमा कसरी बस्ने ? के खाने ? सरकारले तत्काल खाद्यान्न आपूर्ति व्यवस्था गर्नुपर्छ”, उनले भने । कसरी बन्यो बाटो, के खान्छन् व्यासी ? हेर्दा स्वर्ग झैँ लाग्ने व्यास–१ छाङ्रु र तिङ्करका नागरिकहरुको जीवन कसरी चलेको छ ? धेरैले यसतर्फ सोधिखोजी गरेका छैनन् । आफ्नो भूमि भएर जाने बाटो बन्द भएको डेढ दशक भयो । व्यासका स्व बहादुरसिंह ऐतवाल नगेन्द्रप्रसाद रिजाल मन्त्रिमण्डलमा सहायक राज्यमन्त्री थिए । दार्चुलाको व्यासी सौका समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति ऐतवालले दार्चुलादेखि व्यासको तिङ्करसम्म गाेरेटो बाटो निर्माणको शुरुआत गरे । त्यो बेला पञ्चायती व्यवस्था हुँदा शुरु भएको गाेरेटो बाटो सशस्त्र द्वन्द्वको समय अघिसम्म राम्रै चलेको थियो । झण्डै ०४०।४५ सालसम्म यो बाटो भएर भारतीय नागरिकहरु समेत आवतजावत गर्थे । भारतका सात गाउँ बुदी, गव्र्याङ, नपलचु, गुञ्जी, नावी, राकाङ, कुटी तथा कैलाश मानसरोवर दर्शन गर्न जाने यात्री र व्यापारीहरुसमेत नेपालकै बाटो प्रयोग गर्थे । नेपालतिर महाकाली नदी किनारै किनार घोरेटो बाटो थियो । चीनको ताक्लोकोटसँग सीधा व्यापार सम्पर्क थियो । “सजिलै ताक्लोकाटको सामान खलङ्गा आइपुग्थो,” सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय व्यासमै जागिर गरेका पूर्व कर्मचारी भवानसिंह ठगुन्नाले भने, “गाेरेटोबाटो कहीँ अवरुद्ध थिएन ।” पञ्चायत कालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रममार्फत गाेरेटो बाटो निर्माण भएको हो । बाटो राम्रो थियो । द्वन्द्वकाल अघिसम्म व्यापारको हिसाबले पनि यो बाटो राम्रो थियो । तर द्वन्द्वपछि भन्सार कार्यालय हट्यो । बाटोमा हिँड्न डर थियो । गाेरेटोबाटो मर्मत हुन सकेन । अहिले आएर यो बाटो पूर्णरूपमा बन्द हुन गएको ठगुन्ना बताए । यही बाटो भएर ताक्लाकोटको सामान ०५८ अघिसम्म दार्चुलासम्म पुग्थ्यो । त्यो बेला तिङ्करदेखि खलङ्गासम्मको भाडा मात्रै १ सय रुपैयाँ प्रतिकिलो थियो । अहिले नेपालतिर बाटो नै छैन । यहाँका स्थानीयवासीले चीन र भारतबाट खाद्यान्न निर्यात गर्दै खाने गरेका छन् । पैसा हुनेले ६ महिनाका लागि पुग्नेगरी खलङ्गाबाटै घोडा खच्चडमा खाद्य सामग्री लैजाने गरेको व्यासका स्थानीयवास विमल बोहरा बताए । “गरिबलाई खाद्यान्नको निकै समस्या छ । भारतीय सरकारले गर्दा केही राहत थियो । अहिले त्यो अवस्था रहन्छ रहँदैन थाहा छैन”, उनले निराशा व्यक्त गरे । उनका अनुसार विगतमा भारतीय पक्षसँगको सुमधुर सम्बन्धमा खाद्यान्न किनिन्थ्यो । चीनले दिने अनुदान सहयोगमा खाद्यान्न पुग्थ्यो तर तीन चार वर्षयता चीनले दिने सहायता रोकेको छ । अहिले नेपालतिर खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । “बाटोघाटो बन्यो भने घोडा खच्चडमार्फत ढुवानी गर्न मिल्ने हो,” उनले भने, “हामीसँग अहिले उवा फापर थोरै हुन्छ । अहिलेको समयमा भने व्यासीले के खाने कसरी जीविका चलाउने चिन्ता छ ।” व्यासी सौका समाजका अध्यक्ष तिङ्करी राज्यले व्यासमा तत्काल खाद्य डिपो स्थापना गर्नुपर्ने बताउँछन् । “अहिलेसम्म हामीले चीन र भारतबाट किनेर खायौं, अहिले बन्दाबन्दीले त्यो क्षेत्रबाट ल्याउन सकिने अवस्था पनि छैन । सरकारले नागरिक गाउँ गएपछि तत्काल खाद्यान्न ढुवानी गर्नुपर्छ”, उनले भने । अहिलेको अवस्थामा खाद्यान्न पुर्याउन नसके व्यासी नागरिकलाई खाद्यान्न समस्या हुने उनको भनाइ छ । यो क्षेत्रमा वर्षमा एक पटक मात्रै खाद्यबाली लगाइन्छ । यो क्षेत्रमा आलु, फापर, निप्पल, कोदो, उवा जस्ता खाद्यबाली उब्जनी हुने गरेको छ । व्यास–१ छाङ्रुमा १ सय १५ तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ । यो क्षेत्रमा १ हजार २ सयको हाराहारीमा जनसङ्ख्या रहेको छ । सात महिनापछि गाउँको ढोका खुल्दै गत कात्तिक अन्तिमतिर छाङ्रु र तिङ्करका स्थानीयवासी पशुचौपायासहित खलङ्गा झरेका थिए । हिमपात हुन थालेपछि खलङ्गा झरेका व्यासीहरु वैशाख महिनामै व्यास उक्लनुपर्ने हो तर यो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र भारत दुवैतर्फ सीमानाका बन्द भएपछि उनीहरुको कुञ्चा जेठ पहिलो साता मात्रै सरेको छ । बन्दाबन्दीका कारण सीमानाका नखुल्दा उनीहरुको कुञ्चा ढिलाइ भयो । नेपालतिर बाटो छैन । बाटो मर्मत गर्न शुरु गरे पनि अहिले कुञ्चा सर्न सक्ने अवस्था रहेन । व्यास तिङ्करको कुञ्चा भारतीय मार्ग हुँदै गाउँ गएको छ भने छाङ्रुको कुञ्चा नेपालको आधा बाटो र त्यसपछि महाकाली तरेर भारत हुँदै गाउँ उक्लिएको हो । “कुञ्चा गाउँ नजिकै पुग्दैछ”, कुञ्चा जानुभएका दानसिंह तिङ्करीले भन्नुभयो, “एक दुई दिनमै गाउँ पुग्छौँ ।” पशुचौपाया र लालाबालासहित उनीहरु गाउँ गएका हुन् । गाउँबाट फर्किँदा ढोकामा ताला लगाएर आएका हुन् व्यासीहरु । “पूरै गाउँ भगवान् भरोसामा छोडिएको हुन्छ”, तिङ्करी भन्नुहुन्छ, “गाउँभरि एक जनामात्रै गाउँ हेरालु हुन्छन् । हिमपातले गर्दा पूरै गाउँ ढाकिएको हुन्छ । अहिलेसम्म चोरी भएको छैन ।” यही जेठ ८ गते दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल भएर छाङ्रु र तिङ्करका १ सय १४ पुरुष, ७३ महिला र आठ बालबालिका गरी १ सय ९५ जना गाउँ फर्किएका छन् । उनीहरूसँगै २ सय ८४ पशुचौपाया गाउँ गएका छन् । व्यास छाङ्रुको पशुचौपाया र केही स्थानीयवासी भने नेपालकै बाटो भएर गाउँ गएका छन् । उनीहरुको तथ्याङ्क प्राप्त भएको छैन । व्यासीको सडक सपना व्यासीहरुलाई नेपालकै बाटो भएर गाउँ जाने रहर भने अहिलेदेखिको होइन । आर्थिक वर्ष ०६४।०६५ मा दार्चुला–तिङ्कर सडक शुरु भएसँगै व्यासीहरुलाई आफ्नो भूमि भएर गाउँ जाने सपना थियो । सडक बन्ला, व्यासमा फलेको स्याउ दार्चुला र तराई क्षेत्र जाला, आलु, उवा, फापर बजारमा लगेर र खलङ्गाबाट स्वदेशकै बाटो भएर खाद्यान्न ढुवानी गर्ने व्यासीहरुको सपना थियो । व्यासका स्थानीयवासी जीतबहादुर बोहरा नेपालको सडक शुरु भएपछि आफूले व्यासमा स्याउ खेती शुरु गरेको सम्झिए । उनले भारतको हिमाञ्चल प्रदेशबाट बिरुवा ल्याएर स्याउ खेती गरेका हुन् । अहिले उनकै मात्र ३० क्विन्टलभन्दा बढी स्याउ फल्छ । हजारौं बोट स्याउ व्यासमा फलेका छन् तर सडक नहुँदा बर्सेनि स्याउ कुहिएर जान्छ, उत्पादनले बजार पाएको छैन । अहिले व्यास क्षेत्रमा अन्य व्यक्तिले पनि स्याउ खेती शुरु गरेका छन् । नेपालको सडक बनेपछि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने भन्दै उनले लाखौं रकम खर्च गरेर काठै काठबाट निर्मित घरहरु बनाए । कैलाश मानसरोवर दर्शन गर्न जाने बाटोमै उनको घर पर्छ तर उनले सोचेअनुसार सडक बनेको छैन । सडक नबन्दा उन मात्र होइन सम्पूर्ण व्यासी निराश छन् । सडक निर्माण शुरु भएको १२ वर्षसम्म पनि सडकले गति लिएन । सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका सुनसेरासम्मको ४० किलोमिटर सडकको ट्र्याक खुल्न १२ वर्ष लाग्यो । व्यासको सडक सपना अधुरै रह्यो । अहिले सरकारले गत वैशाख १४ गते व्यास–२ माल नजिकैबाट चीनको ताक्लाकोट जोड्ने गरी निर्माण हुने महाकाली लोकमार्गअन्तर्गत दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडक नेपाली सेनामार्फत बनाउने जिम्मेवारी दिएको छ । सेनालाई बाँकी सडकको काम दिएपछि व्यासीमा व्यासम्म सडक पुग्ने विश्वास जागेको छ । अहिले सेना व्यासको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुटेको छ । सेनाले छिट्टै सडक निर्माणको काम पनि शुरु गर्ने तयारी गरेको छ । रासस
तुरुन्तै आम्दानी दिने हाउजिङ व्यवसायलाई व्याज छुट दिनुपर्छ, लगानीको सीमा बढाउनुः काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसले हाउजिङ व्यवसाय उकास्न सरकारले व्याज छुटदेखि विभिन्न प्रकार राहत कार्यक्रम ल्याउन भनेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव दिदै काँग्रेसले नेपालमा फस्टाएको व्यवसाय भएकोले हाउजिङका लागि बेग्लै प्रकारको राहत कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो । पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित कोरोना अर्थतन्त्र विशेष समितिले यस्तो सुझाव दिएको हो । समितिमा समिति सदस्यहरुमा पूर्वमन्त्रीहरु महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा तथा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका अर्थशास्त्रीहरु पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वार्णिम वाग्ले सदस्य थिए । कोरोना अर्थतन्त्र केन्द्रीत विशेष समितिको सदस्य सचिव डा. प्रदीप पराजुली थिए । काँग्रेसले हाउजिङ व्यवसाय नेपालमा फस्टाएको व्यवसाय हो भन्दै यसले सबै प्रकारका जनशक्तिलाई रोजगारी प्रदान गर्ने र स्वदेशी निर्माण सामाग्रीको अधिकतम उपयोग गर्ने हुनाले यस व्यवसायलाई उद्योगको रुपमा विकाश गर्न सकिने बताएको छ । यसवाट राष्ट्रलाई आम्दानीका साथै तुरुन्तै रोजगारी सिर्जना गर्न सकिने काँग्रेसको धारणा छ । ‘विदेशवाट फर्केका नेपालीहरु जो धेरैजसो निर्माण कार्यमा संलग्न छन्, उनीहरुको रोजगारी समेत हल गर्न सकिन्छ, हाल यो व्यवसाय पनि अन्य उद्योग जस्तै कोरोनाको माहामारीबाट प्रताडित छ, कोरोनाको माहामारीबाट घरजग्गा व्यवसायलाई पुनर्जिवित गर्न पुनर्कर्जा, व्याजमा छुट, कर्जाको पुर्नसंरचना तथा लगानीलाई सहज बनाउन हाल कायम गरिएको लगानीका सीमा र सुबिधालाई परिमार्जन गरी लगानी बृद्धि गर्नु पर्दछ । गैरआवासीय नेपालीहरुले नेपालमा घर वा अपार्टमेन्ट खरीद गर्न चाहेमा रजिष्ट्रेशन दस्तुर तथा सम्पत्ति करमा विशेष छुट दिने व्यवस्था गर्नुपर्दछ,’ काँग्रेसको सुझावमा भनिएको छ । यस्तै, काँग्रेसले विदेशी नागरिकलाई अरु मुलुकमा झै नेपालमा पनि अपार्टमेन्ट खरीद गर्न चाहेमा निश्चित मूल्यभन्दा माथिको (जस्तै दुई लाख डलर) अपार्टमेन्ट खरीद गर्न अनुमति दिन सकिने सुझाव दिएको छ ।