एनआईसी एशिया बैंकका ग्राहकले कोरोना सुरक्षा सामान किन्दा १० प्रतिशत छुट पाउने
काठमाडौं । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकका बिचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्डबाट रकम भुक्तान गर्दा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् । रिचार्जरले विश्व बजारको तुलनामा नेपालमा सस्तो मूल्यमा के एन ९५ मास्क उपलब्ध गराउँदै आई रहेको छ । निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा के एन ९५ मास्क उपलब्ध गराउँदै आएको रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराइएको जनाएको छ । रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको छ । मुलुकभर थोक मात्रामा पनि यी सामानहरु सस्तोमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । थोक मात्रामा मास्क, स्यानिटाइजर, थर्मल गन लगायतका सामान आवश्यक परेमा रिचार्जरमा सम्पर्क गर्न सकिने छ । रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ । ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । ‘एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ’ उनले भने । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए । ‘यो मास्कको बजार मूल्य ३५० देखि ५५० रुपैंयासम्म सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने । टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ । मोबाइल, ल्यापटप, क्यामेरा लगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ । नेपाली एप हामी नेपाली हरुकै लागी भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेलका मोबाइल तथा ल्याण्डलाइन फोन रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने विद्युत, सबै इन्टरनेट सेवाप्रदायक, बीमा, सिनेमा लगायतका सेवाको बिल भुक्तान गर्दा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गरी सस्तोमा सामान किन्न सकिन्छ ।
थप ६ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ६ जनामा कोरोना संक्रमण देखिएकाे बताएका छन् । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं- १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका देवकाटाले बताएका छन् । यसैगरी कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ जससँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ६ सय ८२ पुगेकाे छ जसमा १ सय १२ जना निकाे भएका छन् र ४ जनाकाे मृत्यु भएको छ ।
दुग्ध उद्योगले मागे पाँच वर्षका लागि सहुलियत दरको ऋण
काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट तथा कार्यक्रममा समावेश गरी राहत प्याकेज घोषणाको माग राखेको छ । राहतका लागि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्दै एशोसिएशनले साेमबार भिडियो कन्फ्रेसमार्फत पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेको हो । दुग्धजन्य पदार्थको मुख्य याममा नै बन्दाबन्दीका कारण ८० प्रतिशत बजार गुम्न गई उत्पादन लागतमा वृद्धि हुँदा किसानलाई भुक्तानीदेखि घरभाडा, बिजुली र कर्मचारीको तलब भुक्तानीमा समस्या भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार यामका लागि मौज्दात राखिएको धुलो दूध र नौनीको म्याद सकिन लाग्दा पाँच अर्ब रूपैयाँ नोक्सान थपिने अनुमान गरिएको छ । डेरी सञ्चालकलाई सरकारले विनाधितो उद्योगको प्रमाणपत्रका आधारमा पाँच वर्षका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन माग गरिएको छ । यसैगरी उद्योगले यसभन्दा पहिला लिएको ऋणको भाका दुई वर्ष बढाई लकडाउन अवधिभरको व्याज मिनाहा गरिनुपर्ने, विद्युत्मा ५० प्रतिशत छुट र यसअघि दिइँदै आएको भ्याटमा ५० प्रतिशत छुट पुनः लागु गरिनुपर्ने माग रहेको जनाइएको छ । मागपत्रमा उल्लेख भएअनुसार सरकारले नयाँ उद्योगीलाई अनुदान दरको ऋण प्रदान गरी नयाँ उद्योगीलाई प्राथमिकता दिनुभन्दा ४० देखि ५० प्रतिशत क्षमतामा सञ्चालन भएका पुराना उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गराउने वातावरणको सिर्जना गर्नुपर्ने, बन्दाबन्दीभरको विद्युत्, टेलिफोन र इन्टरनेट शुल्क तथा एक वर्षसम्मको संस्था नवीकरणमा छुट गरी जरिवाना हटाउनुपर्ने, सहुलियत दरको ऋणको सीमा पाँच करोड रूपैयाँबाट वृद्धि गरेर १० करोड रूपैयाँ बनाई दुई प्रतिशत व्याजमा झार्नु पर्ने लगायत समस्यालाई समावेश गरिएको छ । एशोसिएशनका अनुसार बन्दाबन्दीमा एशोसिएशनमा आबद्ध डेरीले निःशुल्क रुपमा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण गरेका थिए । विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनदेखि ट्राफिक प्रहरी तथा सुुत्केरीलाई निःशुल्क रुपमा दूध तथा घिउसमेत वितरण गरिएको थियो । तीन अर्ब रूपैयाँ नोक्सानी बन्दाबन्दी शुरु भएको दुई महिनाका अवधिमा तीन अर्ब रूपैयाँभन्दा बढीको नोक्सान भएको डेरी सञ्चालक बताउँछन् । दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक लकडाउनका कारण गाउँ फर्केकाले पछिल्लो समय दूधको खपत २० प्रतिशतमा झरेको डेरी एशोसिएशनले जनाएको छ । संस्थाका अनुसार दुग्धजन्य पदार्थ खपतको मुख्य याममा बन्दाबन्दीका कारण नोक्सानी व्यहोरेका डेरी सञ्चालकलाई मौज्दात राखिएका पदार्थको म्याद सकिने अर्को चिन्ता थपिएको छ । मुख्य यामका लागि मौज्दात राखिएको रु पाँच अर्ब बराबरको धुलो दूध र नौनी बिक्री नभई थुप्रिएको एशोसिएशनका महासचिव दाहाल बताउँछन् । उनका अनुसार एक वर्ष मात्र अवधि भएका पदार्थको अवधि अब पाँच महिना मात्र बाँकी रहँदा सञ्चालकलाई अर्को चिन्ता थपिएको छ । बन्दाबन्दीका कारण दुग्धजन्य पदार्थको खपत न्यून हुँदा उत्पादन लागतमा वृद्धि भएको तथा किसानलाई समयमा भुक्तानीमा समस्या भएको उनले जानकारी दिए । ‘हामीले नियमित रुपमा कृषकबाट दूध लिइरहेका छौँ, खपत कम भएपछि हामीले पाउडर दूध, बटर तथा अन्य परिकार बनाएर स्कट राखेका छौँ’, उनले भने, ‘तर सिजनका लागि बनाइएको पुराना मौज्दातसमेत बिग्रने डर भएको छ । पर्याप्त मात्रामा दुग्धजन्य पदार्थको मौज्दात रहँदा किसानलाई भुक्तानीदेखि कर्मचारीलाई तलब, घरभाडा तथा बिजुलीलगायतका खर्च यथावत् रहँदा व्यवस्थापनमा समस्या भयो ।’ तीस अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको एशोसिएशन करीब पाँच लाख कृषक परिवारलाई प्रत्यक्ष रोजगारको माध्यम बनेको तथा २० हजारभन्दा बढीले रोजगारी पाएको उनले जानकारी दिए । उनका अनुसार दैनिक शहरबाट रु पाँच करोडभन्दा बढी रकम गाउँसम्म तथा ३१ लाख लिटर दूध प्रत्येक दिन बजारमा पुग्ने गरेको छ । डेरी एशोसिएशनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस
प्युठान जिल्लाका स्थानीय तह सीमामा अलपत्रलाई उद्धार गर्दै
झिमरुक। प्युठान जिल्लाका विभिन्न स्थानीय तहले बन्दाबन्दीका कारण अलपत्र व्यक्तिको उद्धार गरेका छन् । भारतका विभिन्न ठाउँबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई उद्धार गरेर जिल्ला फर्काउने काम हँुदै आएको स्थानीय तहले जनाएका छन । प्युठानका नौ स्थानीय तहले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अलपत्र हालसम्म करीब दुई सय नागरिकलाई जिल्लामा ल्याएको सरुमारानी गाउँपालिका वडा नं २ का वडाध्यक्ष तथा दाङ र प्युठानको सिमानामा निर्माण गरिएको अस्थायी क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य वसन्त जिसीले बताए । त्यसमध्ये गाउँपालिकामध्ये ऐरावतीका ४९२, मल्लरानीका ३०६, सरुमारानीका २४६ , माण्डवीका ३३०, नौबहिनीका २०, गौमुखीका ५८ र झिमरुकका २४७ तथा नगरपालिका स्वर्गद्वारीका १९५ र प्युठानका ४६३ जना गरी यही जेठ १ गतेदेखि हालसम्म दुई हजार ५६६ व्यक्ति जिल्लाका नौै स्थानीय तहमा आएका छन् । आज मात्रै जिल्लाका विभिन्न स्थानीय तहमार्फत तीन बस पठाइएको उनको भनाइ छ । सीमाबाट जिल्ला भित्रिएकालाई प्युठान र दाङको सिमाना सरुमारानी २ ददेरीमा व्यक्तिको पहिचान गरी सम्बन्धित स्थानीय तहमा पठाइएको छ । जिल्लाका नौ स्थानीय तहले भारतबाट नेपाल आएकालाई नाकामै सवारी साधन पठाएर ल्याएका छन् । उनीहरु सबैलाई सम्बन्ध्तित स्थानी तहले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा बस्दै आएकालाई १४ दिन पुगेपछि आरडिटीमार्फत रिपोर्ट नेगेटिभ आएमा घर पठाउने गरिएको छ ।
मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य बहादुर थापाले मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिएका हुन् । यस्तै, आज बेलुका ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने पनि उनले जानकारी दिएका छन् । काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि उनी आज फेरि राष्ट्रका नाममा सङ्गबाेधन गर्ने भएका हुन् । आज प्रधानमन्त्री ओलीले आम नागरिकका लागि केही राहतको घोषणा गर्ने स्रोतले जानकारी दिएकाे छ ।
बैंकका सीईओको तलबमा अब संसदीय समितिको पनि नजर, सभापति भन्छन्ः यो ठीक भएन
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता बढी भयो भन्ने विषय उठेको लामो समय भइसक्यो । करिब १० वर्षयता उनीहरुको तलब घटाउन नेपाल राष्ट्र बैंकले धेरै पटक पहल गरेको पनि हो । अहिले फेरि यो विषयले प्राथमिकता पाएको छ । निजी क्षेत्रका प्रतिनिधिले नै कम्पनी तथा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको तबल धेरै भएका कारण आफूहरुको लागत बढी भएकोले सीमा तोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिको बजेट सम्बन्धी सुझाव संकलन छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले कम्पनी र उद्योगका सीईओहरुको तलब बढी भएको प्रसंग उठाएपछि आफूहरुको पनि चासो बढेको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । ‘निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुले सुझाव दिने क्रममा कम्पनी र उद्योगहरुका सीईओको तलब बढी भएकोले आफूहरुले उत्पादन गरेको वस्तु तथा सेवाको लागत बढी भएको प्रसंग उठाउनु भएको थियो, हामीहरुले बुझ्दा पनि तलब निकै भएको पायौं, त्यसैले एउटा सीमा कायम गर्नु उपयुक्त हुन्छ भनेर सरकारलाई सुझाव दिइएको छ,’ सभापति दाहालले भने । समितिले विशेष गरेर सेवा क्षेत्रका संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतको तलव बढी भएको महसुस गरेको हो । सेवा क्षेत्रका पनि विशेष गरेर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा दूरसंचार सेवा प्रदाक संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबका विषयमा प्रश्न उठेको छ । तल्लो तहको कर्मचारी र सीईओको तलब धेरै हुने तथा उद्योग र व्यापारिक संस्थाहरुमा लगानीकर्ताले नै बढी तलब खाएर नाफा कम देखाउने गरेका कारण यसमा सीमा तोकिनु उपयुक्त हुने देखिएको सभापति दाहालको भनाइ छ । ‘सरकारले तोकेको न्यूनतम तलब १४ हजार रुपैयाँ छ, त्यही कम्पनी वा उद्योगमा काम गर्ने सीईओले मासिक २० लाखभन्दा बढी तलब बुझ्ने अवस्था देखियो, यो त र्यासनल भएन, त्यसैले कि योभन्दा बढी हुन नपाउने गरी एउटा सीमा तोकौं, कि त माथिल्लो पदको र तल्लो पदको कर्मचारीको तलब भिन्नताको निर्धारण गरौं भन्ने हाम्रो सुझाव हो,’ सभापति दाहालले भने । धेरै हो भन्ने लाग्छ भने घटाइदिनुस्ः बैंकर नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले बैंकका सीईओहरुको तलब धेरै भयो भन्ने सबैले महसुस गरेको र कम दिदा पनि हुन्छ भन्ने निष्कर्ष हो भने घटाउँदा हुने प्रतिक्रिया दिए । बैंकका सीईओलाई तलब धेरै दिनुपर्छ भन्ने मान्यताले नै सरकारले आफ्नो स्वामित्वसमेत रहेका बैंकका सीईओहरुको तलब पनि धेरै तोकेको अध्यक्ष दाहालको भनाइ छ । ‘बैंकका सीईओलाई अरु पेशाका व्यक्तिहरुलाई भन्दा अलि बढी नै तलब दिने प्रचलन छ, सरकारी सेवामा ३ लाख तलब कसैको पनि छैन तर सरकारले नै आफ्नो स्वामित्वका बैंकका सीईओलाई ३ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने । सीईओहरुको तलबको विषय विगतदेखि नै उठ्दै गरेको भन्दै अध्यक्ष दाहालले अध्ययन गरेर एउटा निर्णयमा पुग्नुपर्ने आवश्यकता हो भने त्यसो गर्न पनि सुझाव दिए । उनले दक्षिण एसियाली देशमा बैंकका सीईओहरुको तलब कति हुने रहेछ भनेर अध्ययन गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने बताए । ‘दक्षिण एसियाली देशमा बैंकका सीईओहरुलाई कति तलब दिने गरिएको रहेछ भनेर अध्ययन गरौं, त्यसरी अध्ययन गर्दा नेपालका सीईओहरुको तलब बढी रहेछ भने घटाउदा हुन्छ, त्यसमा हामी तयार छौं,’ अध्यक्ष दाहालले भने । समिति सभापति दाहालले पनि अध्ययन गरेर सीईओहरुको तलबको विषयमा निक्र्याेलमा पुग्नु उपयुक्त हुने बताए ।
टिचिङ अस्पतालमा पनि पिसिआर परीक्षण हुने
काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पनि अब पिसिआर विधिबाट परीक्षण हुने भएकाे छ । अस्पतालले साेमबार पिसिआर विधिबाट परीक्षण गर्न सकिने ल्याब स्थापना गरेकसँगै टिचिङ अस्पतालमा पनि अब पिसिआर विधिबाट परीक्षण हुने भएकाे हाे । याे छिटै प्रयोग आउने अस्पताल प्रशासनले जनाएकाे छ । काेराेना संक्रमण बढेसँगै सरकारले परीक्षणहरु बढाउँदै लगेकाे छ ।
बन्दाबन्दीमा अफिस जाँदै हुनुहुन्छ ? यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम
काठमाडाैं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन् । मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए । कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए । माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ । आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ । उनले भने, ‘कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ ।’ कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उनले सबैलाई सल्लाह दिए । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन । कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा पाण्डेले बताए । कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ । कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ । उनले भने, ‘कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ ।’ कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ । कार्यालय बाहिर जाँदा पनि भीडभाड हुने ठाउँमा नजान उनले सुझाव दिनुभयो । उनले भने, ‘मानिसहरु भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ ।’ हामीमध्ये अधिकांशको पटक पटक हात, नाक, मुख, आँखालगायतका अङ्गमा लैजाने बानी हुन्छ । एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ । कोभिड-१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य सङ्गठनले बताइरहँदा हामीले यीलगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ । मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए । उनले भने, ‘चिलाउँदा पनि सहनुपर्छ हातमा सङ्क्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन ।’ कार्यालयमा हुँदा पनि पटक पटक साबुनपानीले हात धोएर हातलाई सङ्क्रमणमुक्त गर्न सकिन्छ । खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा पाण्डेको सुझाव छ । साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा सेनिटाइजर लगाएर चम्चाले खान सकिन्छ । अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड-१९ ले आक्रमण गरेको पाइएको छ । आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ । कार्यालय आउन/जानका लागि प्रयोग गर्ने सवारी साधनमा सावधानी अपनाउँदा पनि सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ । अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ । यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए । कार्यालयका गाडी, एम्बुलेन्सलगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसङ्क्रमित बनाउनुपर्छ । बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ । हरेकपटक प्रयोग गरेपछि सवारी साधनलाई निसङ्क्रमित गर्नुपर्ने उनले बताए । यस्तो समयमा कार्यालयको सवारी साधन असाध्यै जरुरी भएका व्यक्तिमात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ । सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ ।’ कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ । अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरु घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा सङ्क्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ । परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरुको सम्पर्कमा आउनुहुँदैन । उनले भने, ‘घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ ।’ रासस