चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने
काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुन लागेका चार नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएकाे छ । चारवटा नयाँ शहरमध्ये एक लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको डीपीआर तयार पार्न भ्याट बाहेक ७ करोड रुपैयाँ खर्च भएको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए । सो शहरको डीपीआर तयार गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन भएको थियो । तिवारीले अन्य तीन नयाँ शहरका लागि ४ करोड २० लाख रुपैयाँ खर्च भएको उनले बताए । उनका अनुसार बाँकी १० रोपनी क्षेत्रफल भएका तीन परियोजनाको डीपीआरको लागि दुई–दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याटबाहेक एक करोड ४० लाख खर्च भएको छ । काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्सले गरेको छ । अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन् । यसअघि केही शहरको डीपीआर निर्माण हुन बाँकी रहेपनि अब भने चारै शहरको निर्माण भएर दुई शहरको स्वीकृत पनि भइसकेको बताइएको छ । प्राधिकरणका अनुसार काठमाडौं नैऋत्य र काठमाडौं हरितको डिपीआर स्वीकृत गरेको भइसकेको छ । बाँकी दुई शहर काठमाडौं ईसान र काठमाडौं आग्नेयको जेठ २५ गते बस्ने बैठकले स्वीकृत गर्ने तिवारीले बताए । उनका अुनसार समितिबाट चारै शहरको डीपीआर स्वीकृत भइसकेपछि सोको प्रस्ताव मन्त्रिपरिषदमा पेश हुने उनले बताए । मन्त्रिपरिषद्ले पनि सो प्रस्तावलाई स्वीकृत गरेपछि नयाँ शहरको निर्माण कार्य थाल्ने उनले बताए । न्युनतम ८ आनाबाट किनबेच गर्न सकिने निर्माण भएका विस्तृत अध्ययन प्रतिवेदनका अनुसार अब चारै नयाँ शहरमा जग्गा किनबेच गर्दा न्युनतम आठ आना हुनु पर्नेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चारै शहर भित्रका जमिन खरिद विक्रीका लागि केही मापदण्डहरु बनाएको छ । प्राधिकरणले ८ आनाभन्दा कम कित्ताकाट गर्न नसकिने उल्लेख गरेको छ । उपत्यकामा व्यवस्थित बस्ती विकास गर्नका लागि प्राधिकरणले नयाँ शहरहरुमा विभिन्न मापदण्डहरु तय गरी कार्यक्रहरु अगाडि बढाउने छ । प्राधिकरणले नयाँ शहरचित्र पर्ने जग्गालाई प्लटिङ गर्नेछ । शहर विकास आयोजनाको योजना अनुसार नयाँ शहर बन्दा एक जनापनि विस्थापित हुनु नपर्ने तिवारीले बताए । आयोजना क्षेत्रमा पर्ने १ वा २ आना जग्गा हुने व्यक्तिलाई पनि अर्को स्थानमा जग्गा मिलाउने गरी काम भइरहेको उनले बताए । आयोजना क्षेत्रमा भने हाल कित्ताकाट गर्न प्रतिबन्ध लगाइएको छ । जग्गाको मूल्य बढ्ने चार नयाँ शहर विकासपछि जग्गाको मूल्य बढ्ने भएको छ । सो कूरा डीपीआरमा पनि उल्लेख गसरिएको बताइएको छ । नयाँ चार शहर सेवा सुविधायुक्त हुनेछन् । जहाँको जमिनको मूल्य पनि बढ्नेछ । तिवारीले धेरै सेवा सुविधा हुने भएकोले नयाँ शहरको मूल्य पनि अन्य ठाउँको भन्दा बढ्ने बताए । जमिनकाे ठाउँ हेरेर जग्गाकाे मूल्य कायम हुने उनकाे भनाई छ । उत्कृष्ट स्वदेशी तथा विदेशी परामर्श दाताहरुले अध्ययन गरी प्लानिङ गरिएको घडेरीले राम्रो मूल्य पाउन सक्ने विस्वास गरिएको छ । चार नयाँ शहर विकास भइसकेपछि हरेक घडेरीमा विजुली, पानी, सडक, पार्क, पार्किङ, विद्यालय इत्यादिको विकास हुनेछ । यसले उपत्यकामा मानिसको चापलाई सन्तुलन गर्ने प्राधिकरणले विस्वास लिएको छ । सरकारले राजधानी काठमाडौंको कोलाहल र अव्यवस्थित सहरको संरचनालाई हटाउनका लागि नयाँ शहर अर्थात स्मार्ट सिटीको परिकल्पना गरेको हो । त्यहि परिकल्पना अनुरुप स्मार्ट सिटी बने साँच्चिकै स्मार्ट सिटीवासीले राम्रो सुविधा पाउने छन् । जहाँ सविधासम्पन्न भौतिक पूर्वाधारहरुसहित व्यवस्थित र सफा सुग्घर शहर हुनेछ । रोजगारीको हब बन्ने विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले धेरै मासनिसको रोजगारी गुमेको छ । लकडाउनको समयमा अर्थतन्त्र ठप्प रहेको समयमा नयाँ बन्ने शहरले पनि अब धेरै मानिसलाई रोजगारी पाउने अवसर मिल्नेछ । चारवटै नयाँ शहर निर्माण प्रक्रियामा गएपछि त्यहाँ उल्लेख्य मानिसहरुले रोजगारी पाउनेछन् । निर्माण कार्य पूरा भइसकेपनि त्यहाँको भौतिक संरचना र शहर भित्र निर्माण भएका विभिन्न व्यवसायहरुले मानिसहरुलाई आत्मनिर्भर बन्न उत्प्रेरित गर्नेछ । यस्तै, नयाँ तथा स्मार्ट शहर भनेपछि उपत्यकामा जथाभावी रुपमा छरिएर रहेका बिजुली तारलाई अन्डरग्राउन्ड गरिनेछ त्यसमा पनि उल्लेख्य मानिसको सहभागिता रहनेछ । शहरहरुको फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइड, व्यवस्थित सडक सञ्जाल र औद्योगिक क्षेत्र समेत रहनेछन् । ती क्षेत्रहरुमा पनि जनशक्ति परिचालन गरिनेछ । चार शहर कुन–कुन ठाउँमा हुन् ? काठमाडौं आग्नेय भक्तपुरमा निर्माण हुने यो शहर १० हजार रोपनीमा फैलिएको हुनेछ । यसको पूर्वमा अरनिको राजमार्गको सूर्य्विनायक चोकबाट सूर्यविनायक मन्दिर अगाडिको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिमतर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य यो शहरको डीपीआरको काम इआरएमसी एनइएसटी एडीए जेभी कम्पनीले गरिरहेको छ । १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भू–भागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पूर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदी छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । इशान काठमाडौं यो शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले निर्माण गरेको हो । यो शहर काठमाडौंको पूर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पूर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सबैभन्दा ठूलो शहरको रुपमा हेरिएको छ । काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पूर्व्तिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यो शहरको वृस्तिृत योजना प्रतिवेदन डीपीआर फुल ब्राइट कम्पनीले बनाइरहेको छ ।
अबदेखि ब्राजिल भएर अमेरिका जान नपाइने
अमेरिका । संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ । अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजिल पुगेका या पछिल्लो १४ दिनयता ब्राजिल भएर यात्रा गरेका नागरिकलाई अबदेखि अमेरिका प्रवेश गर्न दिइने छैन । अमेरिकामा कोभिड १९ को प्रकोप रोक्नका लागि अमेरिकाले यो नीति अख्तियार गरेको जानकारी दिइएको छ । अमेरिकाले नागरिकहरूलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले जनाएका छन् । दक्षिण अमेरिकी देश ब्राजिलमा साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो देश संक्रमणको हिसाबले विश्वको दोस्रो ठूलो केन्द्र बन्न पुगेको बताइएको छ ।ब्राजिलमा २२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यस्तो प्रतिबन्धलाई अमेरिकामा नयाँ संक्रम्रमण भित्रिन नदिनका लागि गरिएको प्रयासका रुपमा मात्र लिनुपर्ने अमेरिकाले अथ्र्याएको बताइएको छ । ह्वाइट हाउसकी प्रवक्ता कालेह म्याकन्यानीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएका हुन् । हालैको यो नयाँ प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर नगर्ने पनि ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यो प्रतिबन्धले अमेरिकी नागरिकहरुका साथै उनीहरूका परिवार, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका उनीहरुका दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन । अत्यावश्यक भएर अमेरिका प्रवेश गर्नेहरुलाई पनि स्वास्थ्यका तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने भएको बताइएको छ । रासस/एपी
कोरोना अपडेटः विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या एक लाख नजिक
जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ । रासस/एएफपी
गोकर्णेश्वरको शिवचोकका सात घर सिल
काठमाडाैं । गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । सङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए । नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । पहिलो सङ्क्रमित गोकर्णेश्वर-४ क्षेत्रमा ट्रेसिङ गरिएका १९७ जनाको आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उनले जानकारी दिए । नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । रासस
कोरोना पुष्टि भएका बूढानीलकण्ठका ३७ वर्षीय पुरुष टेकुको आइसोलेशनमा
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ-३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए । कोरोना पुष्टि भएसँगै उक्त पुरुषलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको बताइएको छ । यससमेत बूढानीलकण्ठमा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ-१२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिकाले बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ पुरुषलाई नगरपालिका-७ स्थित छहारी भवनको क्वारेन्टाइनमा राखेको थियो । ती पुरुषको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । रासस
निम्न चापीय प्रणालीको प्रभाव: अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडाैं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीको प्रभावले आज देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । भोलि देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार देशको मध्य तथा पूर्वी भूभागका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस रहेको छ । रासस
देशको बजेटभन्दा ठूलो आकारको पुँजी बजार आइसोलेसनमाः दुःखको बेला न कम्युनिष्टले सम्झे, न काँग्रेसले नै
काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्नभन्दै सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनको कारण नेपालको पुँजी बजार बन्द छ । चैत ९ गतेदेखि नै नियमित रुपमा बजार खुलेको छैन । बीचमा केही दिन खुलेपनि कारोबार प्रणाली र समय परिवर्तन गरेर स्वभाविक रुपमा चलेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार अहिले सूचिकृत कम्पनीको बजार पुँजीकरण १५ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको छ । यो आकार भनेको नेपालको एक वर्षको बजेटभन्दा ठूलो हो । यस्तै, चालु आर्थिक वर्षको चैत पहिलो सातासम्मको दैनिक औसत कारोबार रकम ८० करोड रुपैयाँभन्दा बढी छ । डिम्याट खाता खोल्नेहरुको संख्या १६ लाख ६० हजारभन्दा बढी छ । दैनिक किनबेच गर्न मिल्ने सेयर (फ्लोटेड) को बजार पुँजीकरण ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी छ । तर, लकडाउनको कारण बन्द भएको बजारका बारेमा राज्यपक्षबाट खासै कुनै चासो र चिन्ता प्रकट गरिएको छैन । दैनिक औसत १६ हजार मानिस खरिद विक्रीमा सहभागी हुने सेयर बजारप्रति सरकार मात्रै होइन, प्रमुख प्रतिपक्षी दलले पनि चासो देखाएको छैन । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा २ सय ७६ बुँदा छन् । तर, तीमध्ये कुनै बुँदामा पनि नेपालको पुँजी बजार सम्बन्धी विषय परेको छैन । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको सबैभन्दा प्रभावकारी ठूलो नीति तथा कार्यक्रमको संगालो नै त्यही हो । बरु पुँजी बजारका लागि नकारात्मक व्यक्तिको रुपमा व्याख्या गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले नै केही विषय संलग्न गराएका छन् । मन्त्री खतिवडाले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा पुँजी बजारलाई समेटेका छन् । ‘वित्तीय स्थायित्व कायम गर्दै वित्तीय साक्षरता र पहुँच अभिबृद्धि गरिनेछ । व्यवसायिक लागन न्यूनिकरणलाई प्राथमिकता दिदैं वित्तीय साधनहरु उत्पादनमुखी बनाइनेछ । बीमा तथा पुँजी बजारको दिगो विकासको लागि संस्थागत र प्रणाली सुधारमा जोड दिइनेछ । लगानीका नयाँ र वैकल्पिक वित्तीय उपकरणहरु प्रयोगमा ल्याउन प्रोत्साहित गरिनेछ । लगानीको वातावरणलाई थप सहज तुल्याई नेपाललाई प्रतिस्पर्धात्मक लगानी गन्तव्यको रुपमा स्थापित गरिनेछ,’ भन्ने व्यवस्था आगामी बजेटका सिद्धान्त र प्राथमिकताको बुँदा ५० मा छ । यस्तै, नेपाली काँग्रेसले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा समिति गठन गरेर कोरोना संक्रमणको कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि सरकारलाई सुझाव दिएको छ । सो सुझावमा पनि पुँजी बजार सम्बन्धी कुनै विषय समेटिएको छैन । सरकारको नीति तथा कार्यक्रम र भेट्रान अर्थशास्त्री सहभागी भएको प्रमुख प्रतिपक्षी दलको सुझावमा पनि पुँजी बजारसँग सम्बन्धित विषयले स्थान नपाउनुले संकटका बेलामा पुँजी बजारलाई कम्युनिष्ट वा काँग्रेस कसैले पनि नसम्झेको एक लगानीकर्ताले बताए । अहिले झण्डै दुई तिहाई मतसहितको कम्युनिष्ट पार्टीको सरकार भएकोले सरकारको नीति तथा कार्यक्रममा पुँजी बजारको विषय नसमेटिएको विषयलाई उनले कम्युनिष्टले नसम्झैको अर्थमा लिएका हुन् । सम्बन्धित सामग्री गत वर्षसँग नीति तथा कार्यक्रमको तुलनाः ‘मेरो सरकार’ हट्यो, ५८ बुँदा र ३७ पेज बढ्यो, अरु यस्ता छन् भिन्नता काँग्रेसको ९ हजार शब्दको बजेट सुझावः साना व्यवसायीलाई १ बर्ष व्याज छुट देऊ, विद्युतको डिमाण्ड शुल्क हटाऊँ
लकडाउनको समयमा कालोबजारी, निर्माण सामग्रीको मूल्य बढ्याे
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिटी, बालुवालगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि भएको बताएको छ । लकडाउनको समयमा निर्माण सामग्रीहरुके मूल्य बढेको भन्दै महासंघको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । महासंघका अध्यक्ष रवि सिँहले एक विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल कालोबजारी गर्नेलाइई नियन्त्रणमा लिन तथा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको समयमा निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागतसमेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेका छन् ।’ नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनको अवसरमा निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न सरकारसंग आग्रह गरेको छ। महासंघले निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मूल्य बढाएको भन्दै रोक्न माग गरेको हो। ‘प्रतिकूल अवस्थाको फाइदा उठाउँदै निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गरिएको प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघले भनेको छ, ‘बन्दाबन्दी अगाडिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको छ। त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि बन्दाबन्दी अगाडिको मूल्यमा डेढ गुणा बढी मूल्यवृद्धि भएको महासंघले उल्लेख गरेको छ। विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ।