लामाे प्रतिक्षा, ठूलाे क्षति
चीनकाे वुहानबाट शुरु भएकाे काेभिड-१९, अर्थात् काेराेना भाईरसले चीन मात्र नभएर सारा विश्व नै प्रभावित बनाएकाे छ । यस राेगलाई बितेका १०० वर्ष काेराेना सबै भन्दा ठूलाे महामारीकाे रुपमा लिईएकाे छ । काेराेनाकाे निदानका निम्ति वैज्ञानिकहरुकाे अनुसंघान जारी भएतापनि हालसम्म यसकाे औषाधी वा भ्याक्सीनकाे अविष्कार भएककाे छैन । विज्ञका अनुसार काेराेना भाईरसकाे औषाधि तत्काल बनेपनि विभिन्न चरणका सफल परिक्षण पश्चात यसकाे प्रयाेग गर्न कम्तीमा एक वर्ष लाग्नेछ । काेराेना महामारीकाे प्रभावलाई कुनै एक पाटोबाट हेरेर मात्र हुदैन यसले आगामी दिनमा मानवजातिकाे सम्पूर्ण क्रियाकलापमा प्रभाव पार्दैछ । काेराेना महामारीको प्रभाव र मानवजातिककाे भविष्यबारे यहा चर्चा गरौं। काेराेना महामारीको विश्वब्यापी अवस्था र नेपाल चीनकाे वुहानमा गत डिसम्बरमा देखापरेको काेराेना भाईरस त्यहाँको ठूलो मासुबजारमा चमेरोबाट मानिस, मानिसबाट मानिसमा संक्रमण भई बढेको रोगले उत्पत्ति स्थल चीनमा भन्दा बाकी बिश्वमा ठूलो संकट उत्पन्न गरेको छ, खासगरी यूरोपमा र अमेरिकामा । यदि समयमा सतर्कता अपनाईएन भने अबको इपीसेन्टर अफ्रिका हुने र त्यहाँ लाखौले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोनाका कारण चीनमा भन्दा बढि अमेरिका, ईटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी, बल्जियम, नेदरल्याण्ड, इरानमा मृतक र संक्रमितको संख्या बढि छ । संसारमा सबैभन्दा बढि मृत्यु र संक्रमितकाे संख्या अमेरिकामा देखिएकाे छ । विश्वका २१२ भन्दा बढि देशमा कोरोना संक्रमित भेटिएका छन भने संसारका अधिकांश देशका नागरिक लकडाउनमा घरभित्र बस्न बाध्य छन । चीनले वुहानको लकडाउन ७६ दिनपछि हटाएको छ भने नेपाल, भारत, स्पेन, ईटली, क्यानडा, बेलायत लगायतका देशमा लकडाउनको समय बढेको छ ।विश्व स्वास्थ्य संगठनद्वारा महामारी घोषित कोरोनाको प्रभाव हाम्रो मुलुकमा पनि परेको छ । सरकारले चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउन पटक पटक समय थप गरेकाे छ । नेपालमा देखिएका संक्रमित विदेशबाट आएका र विदेशी बढी छन । चीनको वुहानमा धेरै नेपाली नहुनु ,नेपाली ब्यपारीको गन्तब्य उक्त क्षेत्र नहुनु पनि संक्रमण कम हुनु एउटा प्रमुख कारण हो । हाम्रो जस्तो स्वास्थ्य सेवा, उपकरण आदिको अभाव , जनमानसमा रोग संक्रमण भएमा समयमा आवश्यक उपकरणको अभावमा उपचार पाईदैन र अकालमा मृत्युवरण गर्नुपर्छ अर्थात सरकारी संयन्त्र प्रतिको अविशवासले गर्दा पिडा सहेर भएपनि जनताले देखाएको जिम्मेवारीले कोरोना संक्रमितको संख्या कम देखिएको छ । कोरोनाबाट कसरी बच्ने कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै घरभित्र बस्नु , सामाजिक दूरी कायम गर्नु, तातोपानीको नियमित सेवन, सेनेटाईजरको प्रयोग सुरक्षित मानिएको छ । अत्यावश्यक काममा बाहिर निसक्नु परेमा सुरक्षाकर्मीको स्वीकृतिमा सामाजिक दूरी कायम गरी मास्क लगाई बाहिर निस्कनु पर्दछ र साबुन पानीले नियमित हात धुनु पर्दछ । नमस्ते संस्कारको विकास जुन हिन्दु संस्कारमा आदर र सम्मानको प्रतिक हो, यसलाई अंगिकार गर्ने, हग नगर्ने, हात नमिलाउने बानी गर्नुपर्छ । अनावश्यक काममा आफन्त वा अरु को घरमा नजानु पनि कोरोनाबाट बच्ने उपाए हो । अमेरिकी वैज्ञानिकले कोरोना संक्रमित ब्यक्ति हाच्छयु गर्दा ३ फिट टाढासम्म अरुलाई सर्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन । विश्व समुदायमा कोरोनाले ल्याएको चुनौतिहरु विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन । यतिबेला विश्वनै कोरोना महामारीको संत्रासले थलिएको छ । विश्व भरिका सरकारको ध्यान कोरोनाको नियन्त्रण र आफना नागरिकको जीवन रक्षामा केन्द्रित छ । यति बेलाको प्रमुख चुनौती स्वास्थ्यकर्मी र उपकरणको अभाव हो । नेपाल, अमेरिका, स्पेन, भारत, ईटली, बेलायत, लगायतका देशमा स्वास्थ्य सामाग्री अभावका समाचारहरु आईरहेका छन । स्वास्थ्य सामाग्री र औषधीको उचित र समयमा व्यवस्थापन, घरभित्र बन्द नागरिकको रोजगारी, पीडितलाई राहत , आपूर्तिको चेन टुटनबाट रोक्नु ,अर्थतन्त्र जोगाउन गरिने प्रयत्न आदि प्रमुख चुनाैतिकाे रूपमा देखिएका छन् । विभिन्न अन्तराष्ट्रिय संगठनको प्रक्षेपण अनुसार गरिबी को संख्या बढने बताईएको छ । त्यसमा पनि खाशगरी एशियामा बढी समस्या हुने भनिएकाे छ । प्रभावितको निम्ति राहतको कार्यक्रम ल्याउनु सरकारको प्रमुख कर्तब्य हुनेछ । अहिले लकडाउनको समयमा बाच्नु नै ठूलो भनिएको भएतापनि लकडाउन पश्चात पनि कायम रहने कोरोनाबाट सुरक्षित रहदै नागरिकको जीवनयापन सहज तुल्याउन गरिने प्रयत्न प्रमुख चुनौतीको रुपमा देखा पर्नेछ । अहिलेको संसारको स्वास्थ्य संरचनाले अचानक आइपर्ने महामारी बाट जुधन सक्ने त्यारी कम रहेछ भन्नेत हाम्रो जस्तो पछाडी परेको देशको के कुरा गर्नु विकसित भनिएका देशले पनि देखाएका छन । यस्ता खाले महामारीसँग जुध्न पूर्व तयारी अपनाउन आवश्यक देखिएको छ । नेपालमा देखिएका चुनौतिहरु विश्वब्यापी रुपमा कोरोनाको कहर जति बढिरहेको छ त्यति चुनौती पनि थपिरहेकोछ । नेपालमा काेराेना भाइरस संक्रमण बढ्दै गएकाे छ । सम्पूर्ण देश लकडाउन भईरहदा गरिब दुःखीलाई समयमा राहत उपलब्ध गराउनु पर्नेमा ढिलो गरी राहत दिने काम अगाडी बढाईयो, अझै राहतमा पनि कुहिएका, म्याद सिद्धिएका सामाग्री बाढिएका छन् । कतै त जनप्रतिनिधिले चामलका बोरा घरमा लगेका छन । यस विसम परिस्थितिमा सरकार गर्नुपर्ने काममा भन्दा नगर्ने काममा बढी सक्रिय भएको भान आम सर्वसाधारणमा छ । औषधी उपकरण खरिदमा व्यापक भ्रष्टचारको विषय, संयन्त्रभित्र कै मन्त्रीमा कार्यगत एकताको कमी, स्वास्थ्य मन्त्रिकाे विवादित भनाई, सबै भन्दा ठूलो कुरा त प्रधानमन्त्रीबाट भए गरेका गल्ती कमजोरीलाई ढाक छोप गर्न गरिने बयानले नागरिकमा नैराश्यता छाएको छ । कोरोनाको कहरले असर गरेका क्षेत्र उद्याेग कलकारखाना, मजदुर वर्ग, पर्यटन, मासिक पारिश्रमिकमा काम गर्ने व्यक्ति, गरीब दुःखी, राजस्व संकलनमा आएको कमी, लकडाउनपछि विदेशबाट आउने नेपालीको उचित ब्यवस्थापन अहिलेको प्रमुख चुनौती हो । कुनै पनि नराम्रो घटनालाई सही शिक्षाको रुपमा ग्रहण गर्न सकियो भने यसले पक्कै पनि केही सकारात्मक आयामहरु ल्याउन मद्दत पुर्याउछ । विश्वलाई दिएको संदेश कुनै पनि माहामारी आउनु भन्दा अगाडी वा आईसकेपछि चनाखो हुनुपर्दछ । महामारीले भयावह रुप लिई सकेपछि नियन्त्रण गर्न गाह्रो मात्र होईन, असम्भव हुन्छ भन्ने पाठ त यस घटनाले देखाएको छ । शुरुवाती चरणमा यसको निदानको उपाय चीनबाटै खोजिएको वा कोरोना देखिने बित्तिकै सम्पूर्ण क्षेत्र लकडाउन गरि अन्तराष्ट्रिय उडान समेत बन्द गरेको भए यस्तो अवस्था आउने थिएन भन्ने मत त विभिन्न विज्ञहरुबाट सुनिदै आएका छौ । अमेरिका, ईटली, स्पेन जस्ता देशले हेल्चेक्राई नगरेको भए ,नागरिकले सरकारबाट घोषणा गरिएको नियम पूर्ण रुपमा पालना गरेको भए आज संसारमा यस्तो भयावह अवस्था आउने थिएन । धर्म रोगसगं लडदैन भन्ने धर्म गुरूले बुझेको भए भारतमा जमातीको यसरी मृत्यु र संक्रमित भई भयावह अवस्था आउने थिएन । अमेरिकामा केहि हुदैन भन्ने धर्मगुरुको निधन नहुदो हो । यदि समयमै सचेत भएको भए । कुनै महामारीले धर्म, जात, लिंग, उमेर भन्दैन भन्ने पाठ सिक्नु आवश्यक छ हामीले । महामारीको प्रकोप देखा पर्न साथ सावधानी अपनाउनु, सतर्क गराउनु/रहनु , औषधीको उचित प्रयोग गर्नु बुद्धिमानी हुन्छ । अहिले अमेरिका र विश्व स्वस्थ्य संगठन देखापरेको विवद अहमको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वाराविश्व स्वस्थ्य संगठनलाई दिने सहयोग रोक्ने घोषण गर्नु, विश्व स्वस्थ्य संगठन चीको पछि लागेको जस्ता आरोप लगाउने समय उपयुक्त होईन । यो समय जनताको जीवनको रक्षा गर्नु हो । विश्व समुदायबाट यसको विरोध भएको छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु कोरोना महामरीले १९३० पछिको ठूलो समस्या निम्त्याएको छ । संसारका लाखौ उद्योग बन्द छन् । करोडौ जनता घरमा लकडाउनमा छन्, मानव जीवनका प्रत्यक गतिविधि प्राय ठप्प छन् । विज्ञ भन्छन-भ्याक्सीन यदि बन्न सकेन भने यसको प्रभाव २०२४ सम्म रहने छ । यसरी वर्षौसम्म संसारनै ठप्प भएर बस्ने त कुरा भएन । क्रमिक रुपमा सुरक्षाका उपायहरु अपनाउदै निर्माण तथा उत्पादनका काम शुरु हुन थालेका छन । कोरोना प्रभावका कारण अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थव्यवस्था ऋणात्मक भई –३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अमेरिका, बेलायत, जर्मनी, स्पेन, इटलीको अर्थव्यवस्था त ७/८ प्रतिशतले ऋणात्मक रहने उल्लेख छ । खाशगरी पर्यटनमा भर पर्ने देशलाई बढी असर पर्ने देखिन्छ । त्यस्तै नेपालको आर्थिक वृद्धि गत माघमा अ.मु.कोष ले ६ प्रतिशत हुने बताएकोमा कोरोना कहर पछि वृद्धि दर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि ठूलो संख्यामा विदेशमा रहेका नेपाली एकै पटक स्वदेश फर्किए भने बेरोजगारको संख्या त बढछ नै हाम्रो अर्थतन्त्रको प्रमुख श्रोत रेमिटयान्समा कमी आई नकारात्मक असर पर्न जान्छ । त्यस निम्ति सरकार सजग भई विदेशमा रहेका नेपालीको निम्ति त्यहाँको सरकारसँग सकारात्मक पहल गर्नु जरुरी छ । विदेशबाट आएको रकमले घर खर्च चलाउने, शिक्षा दिक्षा दिने, परिवार पाल्ने व्यक्ति स्वयं घर फर्कदा पर्ने प्रभाव सकारात्मक हुन सक्दैन । लकडाउनको कारण सुसुप्त प्राय रहेको अर्थतन्त्र र घरभित्र रहेका जनताको राहतको लागि अमेरिका, क्यानडा, भारत , स्पेन ,इटली लगायतका देशले करोडौ डलरको राहत घोषणा गरेका छन् । विडम्बना हाम्रो देशमा राहतको नाममा दिने ५/ १० किलो चामल पनि कुहिएको बाडेको समाचार आएका छन । यो भन्दा लाजमर्दो अरु के हुन सक्छ ? विश्व अर्थतन्त्रमा पार्ने प्रभावको कारण रोजगारी गुम्दा विश्वमा हिंसक घटनामा वृद्धि हुन सक्छ । हाम्रो जस्तो अविकसित देश जहाँ अधिकाशं जनता जीवन निर्वाह मुखी कृषि कर्ममा छन तिनको जीवन स्तर उकास्नको निम्ति राज्यले उचित अनुदान र सहयोग गर्नु पर्दछ । विदेशबाट आएका नेपालीलाई सीप अनुसारको काम गर्नको निम्ति प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ । किसानलाई सहयोग गर्ने नाममा पार्टीका कार्यकर्तालाई सहयोग गरिनु हुदैन प्रदेश ५ सरकारले गरे जस्तो । मानव सभ्यता र संस्कृतिमा पार्ने प्रभावहरु आदिम कालदेखि क्रमिक रुपमा विकास हुदै आएको मानव सभ्यतालाई समाप्तै पार्ने अवस्थासम्म त यो महामारी नपुग्ला, काँही कतै अल्पसंख्यक,लोपन्मुख जाती आदीमा यसको संक्रमण देखिएमा केहि समस्या उत्पन्न हुन सक्दछ र कोरोनाले मानवको सास्ंकतिक गतिविधिमा भने यसले प्रभाव पार्ने निश्चित छ । हात मिलाउने, हग गर्ने, चुम्वन गर्ने, परिपटिको केहि हदसम्म अन्त्य हुन सक्दछ । नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ । नमस्ते अब हिन्दु संस्कारमा मात्र नभएर सम्पूर्ण मानव जाति कै संस्कार बन्न सक्दछ । जन्म, विवाह र मृत्यु संस्कारमा कम मान्छे निम्ता गर्ने परिपाटीको विकास हुन सक्दछ । अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ ,पर्यटकीय स्थल अवलोकन घुमघाम आदी रोगको कारण प्रभाव पर्न सक्दछ । नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ ।अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ । मानवजाति को भविष्यमा थपिएका चुनौती महामारी पूर्व को अवस्थामा जसरी मानवजाति एक ठाउँबाट अर्को ठाउमा सहज रुपमा आवतजावत गर्न सक्थ्यो, घुम्न सक्थ्यो, विभिन्न आफना धार्मिक क्रियाकलापमा सामेल हुन सक्थ्याे । त्यस्तो परिपाटीमा परिवर्तन आउन सक्छ । मानविय जीवनको ठूलो क्षति,अर्थतन्त्र धरासायी, बेरोजगारको संख्यामा अत्याधिक वृद्धि भएपनि विकसित देशबाट सम्पूर्ण मानवको कल्याणको निम्ति उदार भई सहयोगका कार्यक्रम अगाडि बढाएमा यस महामारीबाट परेको असरलाई केही वर्षमा पूर्ति गर्न सकिन्छ ।कोरोना महमारीले विश्व नै घर/देश भन्ने मान्यतालाई तोडदै देश/परिवारको अवस्था आउने देखिन्छ । वातावरण र जीवजगतमा पर्ने असर केहि नकारात्मक घटनाले पनि कहि न कहि सकारात्मक सन्देश प्रभाह गरेको हुन्छ । अहिले केरोना महामारीले वातावारणमा सकारात्मक सूचक ल्याएको छ । संसारका अधिकाशं मानिस घरभित्र छन, उद्योग धन्दा बन्द छ, सवारीसाधन आवश्यक बाहेक ठप्प छन, यसले पर्यावरणीय क्षेत्रमा अदभूत परिवर्तन ल्यएको छ । तापक्रम कम छ , प्रदूषण शुन्य बराबर छ । नदिको पानी सफा भएर बगेका छन । ध्वनि प्रदुषणले जीवजन्तुलाई हुने हानी कम भएको छ । चोरी सिकारी कम छ । यसैबीच विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा बिक्री प्रतिबन्ध लगाउने सम्बन्धी कडा कानुन बनाउन विश्व समुदायसँग आग्रह गरेको छ । समग्रमा कोरोनाले मानवजातीलाई घरभित्र खुम्चाएपनि पर्यावरणीय र जीवजन्तुको हिसाबले सकारात्मक संदेश दिएको छ । अन्तयमा यस बिषम परिस्थितीमा अहोरात्र काममा खटिने प्रहरी, सफाईकर्मी, डाक्टर, नर्स, चालक लगायत सम्पूर्णमा नमन ।
वुहान ल्याबका प्रमुख भन्छन् – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन
न्यूयोर्क । कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरे । धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ । पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ । दी न्युयोर्क टाइम्सले आइतवारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ । “यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ । अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ । मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नु भएको थियो । उहाँले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गर्नु भएको छ । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ । क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् । न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७ सय ९९ जनासम्मको ज्यान गएको थियो । करिब १ लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् । कोरोना भाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा संक्रमण भएको देखिएको छ । दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो । ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो । ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ । भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ । केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । रासस–एपी
राेजगारी सिर्जना र स्वराेजगार बनाउन कस्ता कार्यक्रम ल्याउँदै छ सरकार ?
काठमाडौं । कोरोना सन्त्रासका कारणले विश्वभर नै धेरैकाे रोजगारी गुमेको छ । नेपालमा पनि कोरोना असर गम्भीर रूपमा देखिएकाे छ । विदेशमा रहेका करिव ५० लाख नेपालीले पनि राेजगारी गुमाउने अवस्था सिर्जना भएकाे छ । ती नेपालीहरुलाई लक्षित गरेर सरकारले विभिन्न परियोना निर्माणको काम सुरु गरेको हो । २ महिनादेखि अतिआवश्यक बस्तु उत्पादन गर्ने बाहेकका उद्योग कलकारखाना बन्द छन् । नेपालमा अब नयाँ रोजगारी कसरी दिन भनेर नै चर्चा हुँदै आएको छ । नेपालमा रोजगारीको अवस्था अन्य मुलुकभन्दा फरक छ । कलकारखाना थोरै छन् । साना तथा घरेलु उद्योगहरु पनि थोरै छन् । ती क्षेत्रमा रोजगारीको अवसर पनि सीमित छ । देशमा नै अन्तरिक उत्पादनलाई बढवा दिनसके नयाँ रोजगारी सिर्जना हुनेछ । सरकारले पनि नयाँ क्षेत्रमा रोजगारी सिर्जना गर्ने भनिरहेको छ । वैदेशिक रोजगारबाट नेपाल फर्किएका र पछि फर्किने नेपालीलाई कसरी रोजगार दिने भनेर आउने बजेटमा सबै मन्त्रालयले समेटने प्रयास गरिरहेको छन् । सरकारले विदेशबाट आएका र स्वदेशमै भएका विरोजगारहरुलाई रोजगारी दिने र स्वराेजगार बनाउने लक्ष्यकासाथ काम गरिरहेको बताउने गरेकाे छ । भूमि बैंक, प्रधामन्त्री कृषि अधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजन, समृद्धि परियोजना र औद्योगिक ग्रामसगँ जोडेर विदेशबाट आएका र स्वदेशका नै विरोजगार भएर बसेका नेपाली नगरिकलाई सरकारले रोजगारी दिने योजनाको कार्यक्रम निर्माण गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले सरकारले अन्तरिक रोजागर सिर्जनाका लागि अब आउने बजेटमा केही पुराना परियोजनालाई निरन्तरता दिने र केही नयाँ योजना आउने बताए । ‘सरकार वैदेशिक रोजगारीलाई बाध्यकारी नभइ स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कार्यमा लगेको छ, नयाँ बजेटले रोजगारीका क्षेत्रहरुलाई कति र कसरी समेट्छ भन्ने जिज्ञासा पनि छ, बजेटपछि मात्रै कति र कसरी रोजगारी दिन सकिन्छ भन्ने जानकारी हुनेछ,’ घिमिरेले भने । उनले प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजना, समृद्धि परियोजना र औद्योगिक ग्राममा आवद्ध गरेर विदेशबाट आएकाहरुलाई उत्पादनमूलक साना उद्योग जोडेर रोजगार दिने कार्य योजना बनाइएको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव टोलराज उपध्यायले सकारले नीति तथा कार्यक्रममा भूमि बैंकलाई केही समेटेको र बजेटमा के कसरी प्रयोग गर्ने भनेर उल्लेख हुने बताए । उनले भने अघिल्लो वर्षको बजेटमा पनि भूमि बैंक भनेर आएको थियो जानकारी दिए । तर त्यसमा खासै केही काम भएन । ‘अब आउने नयाँ बजेटले के कसरी भूमिको बैंकको व्यवस्था गर्ने भनेर उल्लेख गर्नेछ, नयाँ रोजगारीका लागि भूमि बैंक उपयोगी पनि हुने छ,’ उपध्यायले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद केसीले केही दिन अगाडी एक कार्यक्रममा भूमि बैंकमा भूमि हुनेले भूमि राख्न पाउने र अवश्यक पर्नेले त्यो भूमि प्रयोग गर्न सक्ने बताएका थिए । तर भूमि के कसरी प्रयोग गर्ने भनेर नीति भने बनिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले स्वदेशमा भएका र विदेशबाट आएकाहरुलाई उत्पादनमूलक उद्योगमा जोडेर उत्पादन गर्ने नयाँ रोजगारी सिर्जना हुने बताए । ‘विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी युवालाई सरकारले सहजिकरण गर्नेछ, नयाँ उद्योग सञ्चालन गर्न चाहानेलाई कति पैसा दिने हो भनेर कार्ययोजना निर्माण भइरहेको छ, कृषि, श्रमलगायतका मन्त्रालयहरुसगँ समन्वाय गरी काम भइरहेको छ,’ सचिव घिमिरेले भने ।
आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु
सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी कायम गरेर बैठक सञ्चालन गर्न लागिएको बताए । यसका लागि प्रदेशसभाका ४० सिटका अतिरिक्त दर्शकदीर्घा र सञ्चारकर्मीका छुट्याइएका बाँकी सबै सिट प्रदेशसभा सदस्यका लागि व्यवस्थापन गरिएको छ । मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेशसभाका सदस्य, सचिवालयका कर्मचारी मर्यादापालक, चालकसमेत गरी १ सय ६५ जनाको यसअघि कोरोना परीक्षण भइसकेको छ । बैठककक्षमा क्लोरिन छर्केर निर्मलीकरण गर्नुका साथै प्रदेशसभा सदस्यहरुले स्यानिटाइजर प्रयोग गरेर मात्रै हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ । बैठक कक्षभित्र सिट अभावका कारण यसपटक दर्शक र सञ्चारकर्मीलाई भिडियोको कन्फ्रेन्सका माध्यमबाट अधिवेशन अवलोकन तथा रिर्पोटिङको व्यवस्था मिलाइएको छ । आजको बैठकमा सभामुखले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र संसदीय दलका नेताहरुले बोल्ने कार्यसूची रहेको छ । कार्य व्यवस्था परामर्श समितिका सदस्य धर्मराज रेग्मीले अधिवेशन सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेट केन्द्रित मात्र नहुने बताए । “यस अधिवेशनमा विश्वका साथै नेपालमा समेत महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ ले कर्णाली प्रदेशमा निम्त्याएको सङ्कट, रोकथामका लागि सरकारले चालेका कदमबारे छलफल हुनेछ”, उनले भने । रासस
आइतबारदेखि चार स्थानीय तह सिल, एम्बुलेन्स बाहेक अरू गाडी चल्न नदिने
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । ‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ’, उनले भने, ‘निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।’ बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ । बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् । शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ । ‘भारतबाट आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ’, अध्यक्ष पाइजाले भने, ‘स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ ।’ भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टिनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ । जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी छ । बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन् । भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरु गरेको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए । थपिँदै क्वारेन्टिन भारतबाट जिल्ला भित्रनेको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले क्वारेन्टिन विस्तार गरिरहेका छन् । गलकोट नगरपालिकाले ११ वटै वडालाई कम्तीमा १० श्ययाको क्यारेन्टिन बनाउन निर्देशन दिएको छ । सबै वडा क्वारेन्टिन व्यवस्थापनमा जुटेका छन् । वडा नं ३ ले १५ श्ययाको क्वारेन्टिन बनाएको छ । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको हो । क्याम्पसको कोठालाई क्वारेन्टिनका रूपमा प्रयोग गरिएको छ । ‘क्वारेन्टिन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानिटाइजरसम्म श्ययामै उपलब्ध गराएका छौँ’, वडाध्यक्ष वीरजङ्ग भण्डारीले भने । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्ने योजना बनाएको छ । क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नेछन् । ‘तत्कालाई भारतबाट आउने नागरिकलाई लक्षित गरी क्वारेन्टिन बनाएका छौँ, आवश्यकता पर्दा श्यया थपिनेछ’, वडाध्यक्ष भण्डारीले भने । सङ्क्रमणको जोखिम हुन नदिन गलकोट क्षेत्रमा पनि विशेष सावधानी र सतर्कता अपनाइएको छ । गत वैशाख ११ गते गलकोटबाट पर्सा पुगेका १४ जना मजदुरमा कारोना सङ्क्रमण पुष्टि भएपछि गलकोटमा एकाएक त्रास छाएको थियो । तत्कालै स्वास्थ्य कार्यालयले ‘कन्टयाक्ट ट्रेसिङ’ गरी गलकोटका १०९ जनाको कोरोना जाँच गरेको थियो । पिसीआर विधिबाट गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई त्रास घटेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ३५० भन्दा बढी श्यया रहेका क्वारेन्टिन तयारी अवस्थामा छन् । यस्तै १६ श्ययाको आइसोलेसन बनाइएको छ । गत चैतमा सङ्क्रमित जिल्लाका दुई जना निको भइ घर फर्किसकेका छन् । त्यसयता नयाँ सङ्क्रमण देखिएको छैन । रासस
नेपाल एयरलाइन्सको जापानमा चौथो उडान
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर्ड उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १ सय ९७ नेपालीसहित जम्मा २ सय ६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १ सय ९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् । सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो । नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको चौथोपटकको चार्टर्ड उडानका लागि २ सय ६० भन्दा बढी यात्रुको बुकिङ छ । नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारोबडी ए–३२० जहाज आज बिहान चीनको चाङ्शा उडेको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हिमालयको जहाज चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर्ड गरेको बताइएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीको अवस्थामा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ । पछिल्लोपटक चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्शालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् । रासस
कोरोनाबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजारभन्दा बढी संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे तथ्यांक अनुसार संसारभरी १२ हजार ८ सय २१ जना नेपाली कोरोना संक्रमित रहेका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएले जानकारी दिएको छ । शनिबार (२३ मे २०२०) साँझसम्म एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका जानकारी दिएको । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । यो साता मात्र युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । हालसम्म युएईमा १८ जना नेपालीको कोरोनाबाट मृत्यु भइसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । गैरआवासी नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ । अमेरिका र युरोपियन मुलुकमा कोरोनाले भयावह स्थिति पैदा गरेको छ भने पछिल्लो दिनमा कोरोना संक्रमण मध्यपूर्वी देशमा बढ्दै गएको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि एनआरएनएले राहत वितरण गर्न परिचालन गरिरहेको छ ।
कैलालीमा उच्च सर्तकता, क्वारेन्टिन थपसँगै प्रवेशमा कडाइ
लम्की । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ । टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप एकएक वटा क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो । “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने तयारी गरेका थियौं”, टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौं ।” हाल नगरपलिकाका क्वारेन्टिनमा १ सयभन्दा बढी बसिरहेका छन् । स्थानीय पालिकामा क्वारेन्टिनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको भने अभाव छ । ‘‘क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला ?”, रावल भने, “प्रदेश सरकारसँग माग गरिरहेका छौं । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन् ।” उता सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ । नगरसँग नजिकैको तहमा कोरोना सङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्तकता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टिन छन् । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जोखिममा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाइएको चौधरी बताए । “सतर्कता अपनाउनुका साथै थप क्वारेन्टिन स्थापना गर्न थालेका छौँ”, चौधरीले भने, “जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौं।” कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताए । जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टिन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ । भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ । पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ ।