काठमाडाैं नयाँबानेश्वरका तीन घर सिल
काठमाडाैं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ । रासस
बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ
सिञ्जा । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे पनि उल्लङ्घन भएपछि जोखिम बढेको छ । बाहिरबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भीडभाड बढेको भन्दै प्रशसानले बिहीबारबाट कडाइ गरेको हो । कोरोनाको जोखिम न्यूनीकरणका लागि जुम्लामा अत्यावश्यकबहेकका पसल खोलिएको र मानिसहरु आत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गर्न थालेको हो । लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि मास्कबिना नागरिक हिँडडुल गरिरहेकाले खाद्यान्नलगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारवाही गर्ने बताए । उनले नागरिकलाई लकडाउनको पूर्णपालना गर्न र कोरोनाबाट जोगिन अनुरोध गरे । बजारमा जथाभावी हिँड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मेहनत गरेर क्वारेन्टाइनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाइएको छ तर जथाभावी बजारमा हिँड्ने क्रम बढेको छ । जुम्लामा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजार खुल्ने समय बिहान ७ देखि ९ बजे र बेलुका ४ देखि ६ बजेसम्म निर्धारण गरिएको छ तर नागरिकले अटेर गरी सबै पसल खोलेपछि बजारमा भीडभाड बढेको भन्दै प्रशासनले जुम्लामा कडाइ गरेको हो । प्रशासनले आम नागरिकलाई आत्यावश्यक वस्तु खरिदका लागि दूरी कायम गरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । बाहिरबाट जिल्लामा भित्रिएका व्यक्तिलाई एकीकृत क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । हाल ४३ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । रासस
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७२
काठमाडाैं । पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ । ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए । बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए । उनीहरुलाई स्थानीय कङ्कालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो । करैयामाई गाउँपालिका–५की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमान्मा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो । परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको हो । सर्लाहीका १३ मध्ये १२ जना सङ्क्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ । सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ । यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ सङ्क्रमितलाई मलङ्गवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको सचिव डा घिमिरेले बताए । सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए । उनको गजेन्द्रनारायणसिँह अस्पताल राजविराजमा उपचार भइरहेको छ । सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ सय ७२ पुगेको छ । यसैबीच प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । अहिलेसम्म यस प्रदेशमा सात हजार ९ सय ४५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पाँच हजार ५ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ हजार २ सय ३४ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशको २ सय ४८ वटा क्वारेन्टाइनमा ८ हजार १ सय १९, होम क्वारेन्टाइनमा ५ हजार २ सय २० र आइसोलेशनमा १ सय ७० जना बसेका छन् । रासस
जर्मनीको एक चर्चमा ४० जनामा देखियो कोरोना, अब अनलाइनबाट प्रार्थना
काठमाडौं । जर्मनीको एक चर्चको प्रार्थना सभामा उपस्थित भएका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जर्मनीमा लकडाउनको नियममा राहत पाएपछि चर्चमा गरिएको प्रार्थनामा उपस्थित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चर्चमा सामाजिक दुरीका नियमहरु पालना गरेका भनिएता पनि उक्त संक्रमण देखिएसँगै चर्च बन्द गरि अनलाइनबाट प्रार्थना सभा आयोजना गरिएकाे छ । लकडाउनकाे पुन पालना तथा संक्रमण नफैलियाेस् भनि अनलाइनमार्फत प्रार्थना शुरू गरिएकाे चर्चमा एक अधिकारीकाे भनाइ छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट जर्मनीमा १ लाख ८० हजार संक्रमित छन् भने ३ सय ६६ जना मानिसको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ५९ हजार उपचारपछि निको भएका छन् । (बीबीसी हिन्दी)
गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता
रूकुम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए । उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख ९७ हजार ८ सय ५७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४३ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ४४ हजार ८ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९८ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ६६ हजार ८ सय १ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने अहिलेसम्म ३ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ सय ९१ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्ति गर्न माग
पोखरा । पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरिएको छ । पोखरा विश्वविद्यालय, प्रजातन्त्रवादी प्राध्यापक संघले हालै एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । संघका अध्यक्ष सञ्जीव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेकाले तत्काल नियुक्ति गरी विश्वविद्यालयलाई नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ । लामो समयदेखि विश्वविद्यालयमा शैक्षिक एवम् प्रशासनिक गतिविधि ठप्प भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३०,००० विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सम्बन्धित पक्षलाई गम्भीर बन्न आग्रह गरिएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लकडाउन गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्त गर्नसमेत विज्ञप्तिमा माग गरिएको छ । पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २४(२) र २६(२) अनुसार क्रमशः उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्ति गर्न विज्ञप्तिमार्फत विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री) र सह–कुलपति (शिक्षामन्त्री) को ध्यानाकर्षण गराइएको छ । साथै विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति पनि विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षितपूर्वक रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ । स्मरण रहोस् पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् । त्यसैगरी २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीनहरू र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पदसमेत रिक्त हुन पुगेको अवस्था छ ।
लकडाउनमा दिएको सुविधाले नाफा घट्ने सरकारी बैंकको धारणा, राष्ट्र बैंक भन्छः पोहोरको भन्दा कम हुँदैन
काठमाडौं । सरकारी लगानी समेत रहेका तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनले आफूहरुको नाफा कम हुने बताएका छन् । राष्ट्र बैंकले लकडाउनको अवधिमा ऋणको किस्ता तिर्ने ऋणीलाई व्याज रकम १० प्रतिशत छुट दिन र १५ लाख रुपैयाँभन्दा कम ऋण रकममा २ प्रतिशत छुट दिन गरेको नीतिगत निर्णयले आफूहरुको नाफा प्रभावित हुने बताएका हुन् । विकासन्युजले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गरेको भर्चुअल भिडियो कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृतहरुले यस्तो धारणा राखेका हुन् । ‘चैत मसान्तमा उठ्नुपर्ने व्याज रकमको ५७ प्रतिशत मात्रै उठ्यो, नउठेको ४३ प्रतिशत व्याज रकम नै १ अर्ब ८ करोड रुपैयाँ थियो, व्याज रकम १० प्रतिशत छुट दिँदा नै १२ करोड रुपैयाँ कम भयो, असार मसान्तमा पनि यसरी छुट दिँदा हाम्रो बैंकको मात्रै व्याज आम्दानी ४५ करोड रुपैयाँ कम हुने देखिएको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले भने । राष्ट्र बैंकले तोके अनुसार २ प्रतिशत व्याज छुट दिँदा आफ्नो बैंकको व्याज आम्दानी करिब ९० करोड रुपैयाँ कम हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले चालु आर्थिक वर्षको चैत ९ अघिसम्म बैंकको नाफा उत्साहजनक नै भएपनि लकडाउनपछिको अवस्था विश्लेषण गर्दा नाफा उच्च नहुने बताए । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले अहिलेको परिस्थिति नै प्रतिकुल रहेकोले सबैले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठान बचाउनको लागि कर्जामा सुविधाको नीतिगत व्यवस्था गरिएको भन्दै उनले यस्तो सुविधा लामो समयसम्म दिन नसकिने बताए । ‘यो महामारीको बेलामा एकअर्कालाई सहयोग गर्नुको विकल्प छैन, बैंकहरुले पनि सामाजिक लागतको भार व्यहोर्नु परेको हो, देशलाई अप्ठेरो परेको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्छ,’ डा. भट्टले भने । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बैंकको व्यालेन्ससीट विग्रने चिन्ता गरिरहेका बेला प्रवक्ता डा. भट्टले भने राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बैंक नोक्सानीमै जाने अवस्था भने नआउने दाबी गरे । ‘लामो समय लकडाउन गरेर बस्न सकिदैन, अन्य देशको उदाहरणले पनि यही देखाएको छ, त्यसैले कोरोना महामारीको समयमा दिइएको सुविधा पनि लामो समयसम्मको लागि होइन, त्यसैले बैंक नै नोक्सानीमा जाने वा अन्य यस्तो अप्ठेरो अवस्थामा बैंक पुग्न सक्ने अवस्था आउँदैन, चालु आर्थिक वर्षमा बैंकहरुले गत वर्षको हाराहारीमा नै नाफा गर्ने देखिएको छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने । राष्ट्र बैंकले तोकिएको कर्जाहरुमा २ प्रतिशत व्याज कम गर्न निर्देशन दिएपछि बैंकहरुले निक्षेपमा १ देखि साढे १ प्रतिशतसम्म व्याज घटाएका छन् । नेपाल बैंकर्स एसोसिएसनले निर्णय गरेर नै निक्षेपको व्याज घटाइएको प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् । एसोसिएसनले निक्षेपको व्याज कम गरेकोप्रति भने नेपाल राष्ट्र बैंकले मौन समर्थन गरेको छ । व्याजदर स्थीर हुनुपर्ने भएपनि विशेष परिस्थितिमा विशेष निर्णय गरेर अघि बढ्न सकिने प्रवक्ता डा. भट्टले बताए । यद्यपि उनले निक्षेपको व्याजदरलाई मुद्रास्फीतिदरसँग ‘एङ्करिङ’ गर्न आवश्यक रहेको धारणा राखे । सो छलफलको विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।