विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासमा, स्वदेश फर्किने पर्खाइमा
काठमाडौं । कोरोनो भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गएपछि यतिबेला स्वदेशमा रहेकाभन्दा विदेशमा रहेका नेपालीलाई बढी पिरोलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली कोरोनाको सन्त्रासका बीच जति सक्दो छिटो स्वदेश फर्किन पाउने दिनको पर्खाइमा छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको सिलसिलामा विदेशी भूमिमा रहेकालाई यतिबेला रोजगारी र अध्ययनभन्दा पनि स्वदेश फर्कने तीव्र इच्छाले सताएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै आन्तरिक एवं बाह्य उडान रोकेपछि विदेशमा रहेका नेपाली आउने सबै बाटा बन्द भएका छन् । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द नगर्दो हो त अहिलेसम्म विदेशमा भएका लाखौँ नेपाली स्वदेश भित्रिसकेका हुने थिए, अझै पनि उनीहरु उडान खुल्ने प्रतीक्षामा छन् । कोरोना भाइरस शुरु भएको चीनमा यसको प्रभाव कम हुँदै गए पनि अन्य मुलुकमा भने सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चापाकोट नगरपालिका–१ घर भइ हाल ब्रिेटन९युके०मा बस्दै आएका विष्णु थापाले लण्डनमा बस्ने नेपालीको अवस्था दयनीय रहेको बताए । दिनदिनै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि युकेमा रहेका भूतपूर्व गोरखा सैनिक र उनीहरुका परिवार समस्यामा परेको थापा बताए । थापाका अनुसार युकेमा अधिकांश भूतपूर्व सैनिकका परिवार बसोबास गर्दै आएको र उनीहरु वृद्घवृद्घा भएको आफन्त एवं परिवार नेपालमा भएकाले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । अधिकांश भूतपूर्व गोरखा सैनिकका परिवार वृद्धवृद्धा र त्यसमाथि भाषाको समस्या हुँदा मनलागेको कुरा किनेर खान र बिरामी पर्दासमेत उपचारमा समस्या हुने गरेको थापाकाे भनाइ छ । उनले भने, “म पनि एक महिनादेखि जागिर छाडेर होम क्वारेन्टिनमा बसेको छु, अहिले बाहिर निस्कने अवस्था छैन, कतिबेला के हुनेहो भन्ने चिन्ताले सताएको छ ।” युकेको अल्डसटमा बस्दै आएका चितवनका ७७ वर्षीय भोजराज पौडेल र उनकी श्रीमती ६६ विष्णुमाया पौडेल अहिले समस्यामा परे । बुढेसकालमा विदेशी भूमिमा आफन्त कोही नभएर बेसहारा हुनुपर्दा समस्यामा परेको पौडेल दम्पतीको भनाइ छ । भोजराजले युकेबाट भने, “म बिरामी छु, बूढीले आँखा देख्दिन आफन्त कोही नहुँदा समस्यामा परेकाछाैं।” विष्णुमायाले भने, “के गर्ने छोराछोरीको भविष्यका लागि यहाँ बसेर दुःख गरेकाछौँ ।” छोराछोरीको कागजपत्र नमिलेकाले आफूहरु समस्या झेलेरै भए पनि बस्न बाध्य भएको पौडेल दम्पतीको भनाइ छ । लण्डनको एक केयर होममा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी शर्मिला राना थापाले शुरु शुरुमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न आवश्यक सामग्रीको अभावमा काम गर्नु पर्दा निकै डर लागे पनि अहिले भने त्यस्तो नभएको बताए । शर्मिलाले भने, “स्वास्थ्यकर्मी भएपछि डराएर आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन सुरक्षित भएर काम गर्नुपर्छ । अहिले हामी त्यसै गरिरहेका छौँ ।” शुरु शुरुमा आफूहरुले पनि पिपिइ, मास्कको अभाव झेल्नुपरे पनि अहिले भने त्यस्तो नभएको थापाले जनाएका छन् । स्याङ्जा समाज युकेका महासचिव डा बलराम ढकालले लण्डनमा रहेका नेपालीमा परेको समस्या समाधानका लागि स्याङ्जा समाज युकेले सक्दो सहयोग गर्ने बताए । कोरोना रोकथाम र नियन्त्रमा सहयोग पुग्ने भन्दै पिपिइलगायतका स्वास्थ्य सामग्रीसमेत जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई सहयोग गरेको समेत ढकालले भने । कतारको दोहामा रहेका वालिङ नगरपालिका–८ का अजमत अलिले त्यहाँ रहेका धेरै नेपाली कोरोना सङ्क्रमणका कारण प्रभावित भएको बताए । “यहाँ रहेका केही नेपालीको रोजगारीसमेत प्रभावित भएको छ । केही कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्”, स्याङ्जा सहयोग समाज कतारका अध्यक्षसमेत रहेका अलीले भने, “कतार च्यारिटीसँग समन्वय गरेर रोजगारी गुमेर समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेका छौं।” जापानमा बसेर पत्रकारिता गर्दै आउनुभएका मोहन घलेले कोरोना भाइरसका कारण नेपाली विद्यार्थी र होटल व्यवसाय गर्दै आएका बढी प्रभावित भएको बताए । पत्रकार महासंघ जापानका अध्यक्षसमेत रहेका घलेले भने, “नेपालबाट अध्ययनका लागि जापान आएका विद्यार्थी समस्यामा परेका छन् ।” प्रतिव्यक्ति एक लाख राहत दिने जापान सरकारको घोषणाले धेरै लाई राहात मिलेको घलेको भनाइ छ । नेपालीको बढी रोजगारीको क्षेत्रका रुपमा चिनिएको होटल व्यवसाय बन्द गर्नुपर्दा होटल व्यवसाय गर्दै आएका नेपाली र त्यस क्षेत्रमा काम गर्दै आएका मजदुर प्रभावित भएको घलेको भनाइ छ । रोजगारीको सिलसिलामा दुवैमा रहनुभएका वालिङ नगरपालिका–१२ का जनार्दन पराजुलीले दुवैमा रहेका नेपालीको अवस्था दयनीय रहेको र रोजगारी गुमाएका नेपाली जति सक्दो छिटो सरकारको उद्धारको पर्खाइमा रहेको बताए । भारतको चण्डिगढमा रहेका चापाकोट नगरपालिका–१० का हरिप्रसाद भण्डारीले नेपाल सरकारलाई अप्ठेरोमा परेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो नेपाल फर्काउन आग्रह गर्दै आफूहरु सरकारले भनेजति अवधिभर क्वारिन्टिनमा बस्न तयार रहेको बताए । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याउने तयारी गरिरहेकाले केही समय धैर्य गर्न आग्रह गरे पनि विदेशमा रहेका नेपाली भने स्वदेश फर्किन आतुर रहेका छन् । भारतबाट आएकाको कोरोना परीक्षण नेगेटिभ जिल्लामा भारतबाट आएकाको कोरोना परीक्षण गरिएको गरिएको छ । बिहिबार भारतबाट आएका गल्याङ नगरपालिकाका एक व्यक्तिको कोरोना परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेश र ५ नं प्रदेशको सिमाना राम्दीमा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएकामा गल्याङ नगरपालिकाका युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले गल्याङबाट पठाइएको पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ आाएको र कालीगण्डकी गाउँपालिकामा शुक्रबार आरडिटी परीक्षण गर्र्दा पोजेटिभ देखिएका एक व्यक्तिको पिसियार परीक्षणका लागि स्वाब लिने तयारी भइरहेको बताए । भारतबाट आएका कालीगण्डकी गाउँपालिका एक व्याक्तिको आरडिटी दुई पटक परीक्षण गर्दा एक पटक पोजेटिभ र अर्कोपटक नेगेटिभ गरी दुईथरि नतिजा आएपछि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको तयारी गरिएको हो । भारतबाट आएकालाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको छ भने जिल्लामा अहिले १ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने तीनजना होमक्वारेन्टिनमा रहेका छन् । रासस
कालीगण्डकी करिडोरको काम, लकडाउनमा धमाधम
काठमाडौं । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । यस अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस पनि यही बीचमा प्रदर्शन भइरहेको छ । बन्दाबन्दीको समय आफैंमा कष्टकर भएपनि अन्य उपाय छैन सरकार र नागरिकका सामु । यही बीचमा केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधिन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा स्पष्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको छ । आगामी असार भित्रै देशको सबैभन्दा ठुलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ । माथिल्लो तामाकोशीको काम पनि गतिमा नै छ । यसले विपदमा पनि सामाजिक दुरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रमा भए गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दर भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहे । सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पु¥याएको छ । ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ । दाना र कुश्मास्थित खुर्कोटमा २२०र१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ । दाना—कुश्मा खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । सो प्रसारण लाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गरेका थिए । पछिल्लो पटक उनले नियमित रुपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीय स्तरमा समन्वय गरिरहेका छन् । यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ । हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ । घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए । उनले भने, “गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।” दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्याउनु भएको प्राधिकरणको बुझाइ छ । स्थानीय स्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ । प्रसारण लाइनमा हरेक टावर नै एउटा आयोजना जस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैमा अनुकरणयोग्य रहेको प्राधिकरणको भनाइ छ । कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जनाए । उनले भने लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तिब्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ । सो प्रसारण लाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ । प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ । त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । रासस
बैंकरका दुःख
“ओ…हो शर्मा जी, कहिले आउनु भो पहाड बाट ? के सारो मोटाउनु भएको ….पेट पनि लागेछ । पहाड त फापेछ, बैंकको जागिर जचेछ हजुरलाई । टन्न कमाउनु भो कि क्या हो ?” वाह् ! नेपाली समाज, अलिकति मोटायो भने कमायो भनिदिन्छन् । दुब्लायो भने चिन्ता पर्यो की भनिदिन्छन् । दुईचार दिन दारी काटेन भने किन बैराग्गेको भनिदिन्छन् । अचेल त बानी परिसकें म । बल्ल बल्ल चार दिनको घर विदा मिलाएर बिराटनगर गएको बसबाट उत्रँदै गर्दा छिमेकी टिकाराम सरसँग ट्याक्क बाटैमा भेट भयो । चार दिनको बिदा पनि के भन्नु र ! बिकट पूर्वि पहाडको दुर्गम शाखा र त्यसको कर्मचारी भएदेखि जानै एक दिन लाग्छ आउन एक दिन । दुई दिन बिदा त बाटैमा सकिन्छ । यो पल्ट पनि घरमा धेरै कहाँ बस्न पाउँछु र ! घर नपुग्दै श्रीमतीजीले भन्छिन्, “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि…, हेर्नु है… जहिल्यै हतार गर्न पाइँदैन नि, मैले भन्दिएको छु, फेरि म रिसाउँछु नि ।” अनि अठार महिनाको छोरी मलाई देखेर मैसँग डराउँछिन् । “नानु बाबा हो नि, बाबा भन…” सानी छोरी डराएर रुन्छे र पर पर भाग्छे । मन अमिलो हुन्छ… थुक घुटुक्क निल्छु । “यो पल्ट त बिदा टन्न लिनु भाको होला नि ।” फेरी जिज्ञासा आउँछ । पहिलो भेटमै श्रीमतीलाई खिन्न नपारुम भनेर बिस्तरै “अँ…” मात्र भन्छु । “ल आउनुस खाना खाम् । अब यहाँ जाने… यो किन्ने … अँ त्यहाँ पनि जानु पर्छ तपाईंलाई थाहा छ ? फलानोको छोरा त विदेस गयो नि…, तपाईं राम्रो भन्नु हुन्थ्यो नि पर्तिरको छिमेकीसँग अस्ति हाम्रो सिमानामा देबाल लगाउँदा कम्ति झगडा परेन… ए साँच्चि, त्यो अंकिता थि नि… तपाईंले चिन्नु भएन ? नयाँ छिमेकी हुन् क्या, त्यो त भागी नि… ।” बल्ल बल्ल भेट भएको म सँग ऊ महिनौं देखिका उकुसमुकुस एकै सासमा यो सुनाउँ कि त्यो सुनाउँ भन्दै खसी ब्याएको सम्म सुनाउँछिन् । “ल मैले आज हजुरलाई भनेर तिन थोक तरकारी पकाएको छु । पहाडमा तरकारी पाउँदैन के खानु हुन्छ तपाईं ? पुरै दुब्लाउनु भएछ ।” बैंकको जागिर खाए देखि करिब पाँच÷छ महिना पछि घर जाँदा म आफूलाई पूर्ण र बिछट्टै परिवर्तनको वातावरणमा पाउँछु । एउटा मानविय परिवेसमा । चिटिक्क परेको लुगा, टाइ, सुट, कोट, टलक्क जुत्ता, हँसिलो मुहार अनि आत्मविश्वासका साथ ठाँटिएर कार्यालय गएको आजको बैंकिङ युवावर्ग देख्दा जोकोहिलाई पनि लोभ लाग्दो हो । आहा… कति राम्रो नोकरी, कती सुन्दर जागीर, म पनि खान पाए हुन्थ्यो । तर उनीहरुलाई के थाहा… त्यो टाइभित्रको अर्थ, कोट भित्रको अर्थ, अनि टलक्क टल्केको जुत्ता भित्रको पिडा । यो जुत्ताले कैयौं पल्ट मेरा आफ्ना सपना र रहरहरु कुल्चेका छन्, ब्यक्तिगत जीवन र जिन्दगी… मनका हजारौं आकांक्षाहरु दबिएका छन् । कार्यालय र काम ब्यस्तताले के थाहा छिमेकीको विवाहमा सरिक नहुनुको पिडा, आफन्तको मुत्युमा मलामी जान नपाउनुको पिडा, अनि सुटुक्क झिसमिसेमै श्रीमती र छोरीसँग छुट्टिनुको दुःख । फ्रन्ट डेस्कमा बसेर केवाईसी भरिरहँदा पहिलो पल्ट छोरी बामे सरेको फोनबाटै सुनेर चित्त बुझाउनुको दुःख । यो टाइ, सुट र कोटले मेरा एक युगका सपना र रहर उधारै छोडेका छन् । कहिलेकाहिँ त लाग्छ म मान्छे नभएर ढुंगा हुँ, बिहान नौ बजे देखि एकनासले बेलुका अबेरसम्म सेवाग्राहीको काम गर्दागर्दा म मेसिन हुँ, प्रबिधि हुँ, फगत मात्र ढुंगा । कोरोनाको डरले सारा विश्व… मानिस मानिससँग डराएको वेला अति आवश्यकिय सेवा भन्दै कार्यालय खोल्नुुको पिडा । खै बुझेको यो समाजले हामी बैंकरको पिडा । किन कटाक्ष गरेर सोध्छ समाजले बोनस कति खानु भो, व्हेल फेयर कति आयो, तपाईं घमण्डी हुनुहुन्छ, व्यस्त छु भन्नु हुन्छ खालि, …व्यस्त त बहाना हो काम के नै हुन्छ र बैंक मा… । दिनरात उनिहरुकै सेवामा खटिँदा पनि किन बुझ्दैन समाजले । किन बैंकरलाई मिहिनेत अनुसारको इज्जत गर्न हिचकिचाउँछन् । फेरी बैंकमा दिन प्रतिदिन जोखिम पनि त छ नि । अरु क्षेत्रको जस्तो निश्चित कार्यालय समय मात्र काम कहाँ हुन्छ र बैंकमा ! बदलिँदो प्रबिधि र परिवर्तित नितीसँग अपडेट भैरहनु पर्यो । उफ्… गाह्रो छ । समाजको मात्र के कुरा हामी बैंकरहरु ब्यक्तिगत रहर र पारिवारिक इच्छाहरुलाई दवाएर कार्यालयलाई नै घर मान्दै गर्दा र सिनियरलाई अभिभावकको नजरले हेर्दै गर्दा खालि टार्गेट मात्र किन सोधिन्छ ? काम काम मात्र किन भनिन्छ ? काम त गरिहालिन्छ नि गरिएकै छ नि । कहिलेकाहीं सदा भन्दा अलि पर सोचेर के छ घर परिवार को खवर ? बुबा आमा सन्चै हुनुहुन्छ ? भनेर सोध्दा के बिग्रिन्छ र ! बैंकका लाखौं ग्राहकलाई सिस्टमले अटो एस.एम.एस बर्थ डे विस गरिरहँदा सिनियर कर्मचारी र केन्द्रिय कार्यालयको, विभागको डेस्कटप बाट आफ्नो कर्मचारीलाई बर्थ डे विस गर्न मिल्दैन र ! कत्ति खुसी लाग्थ्यो होला… हामी सानालाई त्यति ठुलो मान्छेले बर्थ डे विस गर्दा आखिर कतिनै कर्मचारी हुन्छन् र ! के यसले कार्यक्षमता घटाउँछ हो ? ठुलो मान्छेले सानोलाई सम्झिँदा खुसी नै लाग्छ नि होइन र ! आदर बढ्छ नि होइन र ! संस्था प्रति झन् माया हुन्छ नि… लगाब हुन्छ नि । अनि त संस्थाको विकास सजिलै भै हाल्छ नि । बैंकर भनेको पेलिने बस्तु हो र ! बैंकिंग संस्था भनेको सरकारलाई चाहिएको वेला रकम सहयोग गर्ने दुहुनो गाई मात्र हो भन्ने नसोची अलिकति म, अलिकति समाज, अलिकति सरकार बदलिए त भै हाल्थ्यो नि । कहिलेकाहीं सोच्छु मैले निजी जिन्दगी जिउन पाइन, परिवारलाई खुसी राख्न पाइन, ब्यस्तताले आमा, बाबा, श्रीमती अनि छोरीलाई समय दिन पाइन । बरु जागिर छोडिदिन्छु र राजिनामाको कागज खल्तीमा राखेर कार्यालय हिँड्छु । अनायासै बाटोभरी कुराहरु खेल्छन् – म को हो र आफैंमा । ऊसँग विवाहको कुरा चल्दा केटो बैंकमा नोकरी गर्ने भनेर बैंककै परिचयले विवाह गर्न सजिलो भएको थियो । फेरी पैसा कहाँ थियो र म सँग, यही बैंकबाटै त हो नि ‘स्टाफ होम लोन’ लिएर घर बनाएको । फेरी यही बैंक त हो नि जसले मलाई पेशागत परिचय दिएको छ र बाँच्ने आधारशिला भएको छ । सम्झिन्छु, श्रावण महिना लाग्दा नलाग्दै आउने मेरो एकमुस्ट बोनस र त्यो बोनसमा श्रीमतीको यो पल्ट किन्ने रानीहारको सपना… जसले केही हदसम्म बिर्साइदिन्छ मैले उसलाई समय दिन नसकेको वर्षौंका उसका गुनासाहरु… अनि फेरि सम्झिन्छु, बोनस पछि लगत्तै दशैंमा आउने एकमुस्ट पेश्की जसले बुबा, आमा र छोरीलाई नयाँ लुगा अनि मिठो खाना । फेरी लगत्तै आउने व्हेल फेयर र फोर्स लिभको एकमुस्ट रकम जसले परिवारै नयाँ–नयाँ ठाउँमा घुम्नुको मज्जा दिन्छ र मेरा सबै तिक्ततालाई मेटाइदिन्छ । यही बैंकको नोकरीले त हो नि, जहाँ म मासिक तलब आउने आसमा किराना पसलबाट ढुक्कसँग रासन उठाई परिवार चलाउँछु । बैंक नहुनु हो त मेरो परिचयनै के पो छ र ! बाटोभरी नानाथरी कुराहरु खेलाउँदै गर्दा अनायासै झसङ्ग याद आउँछ सीईओ सर अनि डीसीईओ म्याडमको एउटा इमेल जुन हरेक बर्ष श्रावण १ गते बिहानै मेरो अफिस टेवलको डेस्कटपमा आउँछ, “शर्माजी, बधाइ छ तपाईलाई ! तपाईले हरेक वर्षजस्तै यो आर्थिक बर्षमा पनि सजिलै टार्गेट पुर्याउनु भयो, राम्रो गर्नु भयो, गुड वर्क, किप इट अप”, जसले मेरो बर्षौंको सबै गुनासा र तिक्ततालाई मेटाइ दिन्छन्, अनि मलाई फ्रस्टेशन हुनबाट बचाउँछ र बिच बाटोमै खल्तिको राजिनामा पत्र च्यातिदिन्छु र केही नसोची नयाँ जोसका साथ हतार–हतार अफिस तर्फ लाग्दछु । बिराटनगर–५ हाल मेन्छयायेम्, तेह्रथुम
लुम्बिनी विकास बैंकले गरायाे कर्मचारी कोरोना बीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी एक लाखको कोरोना बीमा सम्बन्धी एभरेष्ट इन्योरेन्स कम्पनीका बीचमा बैंकले सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ । कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ । यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहकलाई बैंकले आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बिमान कम्पनी ग्राउन्डेड बीमाको मनस्थितिमा, बीमा कम्पनी भन्छन्ः शुल्क घट्न सक्छ
काठमाडौं । विमान सेवा संचालक व्यवसायीहरुले लकडाउनको कारण विमानहरुले आफ्नो उडान भर्न नपाई ग्राउण्डेड रहदा ग्राउण्डेड बीमा गर्नु पर्ने बाध्यता आउन सक्ने बताएका छन् । बीमा कम्पनीका अनुसार विमान सेवा संचालकहरुले बीमा शुल्क बुझाउने अवधि थप्न माग गर्दै आएका छन् । ‘उडेको विमानमा खतरा पनि धेरै हुनेले त्यस्तो अवस्थामा बिमांक महङ्गो हुन्छ, तर रोकेर राखेको बीमानमा खतरा कम हुन्छ, सोही कारण विमान उड्दा बीमा शुल्क धेरै बुझाउनु पर्छ भने नउडाई राख्ने बेलामा बीमा शुल्क निकै कम हुने गर्छ, यसरी विमान उडनै पाएन भने हामीले ग्राउण्डेड बीमा गर्न बाध्य हुन्छौ,’ श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धरले विकासन्युजसँग भने । प्रबन्धक मानन्धर बीमा कम्पनीहरुलाई आफूहरुले बीमा शुल्क बुझाउने म्याद थप्ने विषयमा सल्लाह भइरहेको र एक हप्ता भित्र टुङ्गो लाग्ने बताउँन् । अहिले छैन ग्राउण्डेड इन्स्योरेन्स, बाध्यता आईलाग्न सक्छ विमान व्यवसायीहरुका अनुसार अहिले विमान कुनै पनि बेलामा संचालनमा आउनु पर्ने हुन सक्छ । यस्तो अवस्थामा ग्राउण्डेड बीमा गराउनु राम्रो हुँदैन । तर लकडाउन निकै बढेको अवस्थामा तथा विमानलाई ग्राउण्डेड अवस्थामा लामो समय राख्नु पर्ने निश्चित भएमा उक्त बीमा गराउन आवश्यक हुन्छ । अहिले विश्वमा कोरोना महामारी फैलिएका कारण धेरै वटा देशहरु लकडाउनमा छन् । नेपालले गत चैत ११ गतेदेखि सुरु गरेको लक डाउन जेठ २० गतेसम्म निरन्तर रहने सरकारको निर्णय छ । तरपनि आगामी दिन विगतको तुलनामा कस्तो अवस्थामा कस्तो रहला सहजै अनुमान गर्न सक्ने स्थिति छ्रैन । विशेष गरेर हवाई क्षेत्रपनि विगतको जसरी चल्न त्यति सहज नरहेको व्यवसायीको धारणा छ । मुख्यत विदेशी पर्यटकहरुबाट आय आर्जन गर्ने भएकाले अहिले हवाई व्यवसायीहरुले भोलिका दिन ठ्याक्कै कस्तो होला भन्ने धारण बनाई नसकेको बताउँछन् । यस्तो छ बीमा कम्पनीको भनाई नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काका अनुसार लकडाउनका कारण हवाई बीमाको बीमा शुल्क त्रैमासिक रुपमा बुझाउने प्रस्ताव व्यवसायीहरुले ल्याएका छन् । ‘अहिले लक डाउनको कारण विमानहरु उड्न पाएका छैनन् । अन्य बेलामा विमान कुनै किसीमका दुर्घटनामा नफसेको बेलामा बीमा शुल्कमा छुट दिने गरिन्छ, त्यस्तै अहिले विमान नउड्दा जोखिम कम भएकोले सोही कारण जोखिमको घटबढका आधारमा बीमा शुल्कमा केही हेरफेर हुनसक्छ, अहिले विमान व्यवसायीको तर्फबाट पनि बीमाशुल्क त्रैमासिक रुपमा बुझाउने कुरा आई रहेको छ’, प्रमुख कार्यकारी अधिकृत खड्काले भने ।
पेट्रोलियम डिलर्स एशोसियशनबाट कोरोना परीक्षण माग
काठमाडौं । बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले आफ्ना सदस्य पम्पलाई अति आवश्यकबाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो । भिडियो कन्फ्रेन्समार्फत शुक्रबार बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दात राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । उनका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उनले जनकारी दिए । “अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, बन्दाबन्दी अझै थपिँदै गए ५० प्रतिशत सम्म कर्मचारी कटौती हुनेछ”, उनले भने, “पम्प सञ्चालन भए पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।” एशोसिएशनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोवार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एशोसिएशनमा आबद्ध १ हजार ५ सय पम्पमा करीब ५ हजार कर्मचारी छन् । एउटा पम्पमा ५ देखि १० कर्मचारीले काम गर्दै आएका छन् । एशोसिएशनले निरन्तर नेपाल आयल निगमलाई कर्मचारीको कोरोना परीक्षण गर्न माग राखे पनि सुनुवाइ नभएको उनले बताए । ‘हामीले निरन्तर जोखिम मोलेर काम गरेका कर्मचारीको परीक्षण गर्न माग गरेका छौं, निगमले आफ्ना कर्मचारीको मात्र परीक्षण गरेर हाम्रा कर्मचारीलाई वेवास्ता ग¥यो’, उनले भने । एशोसिएशनका अनुसार हाल सम्पूर्ण पम्प खुला रहेको र पर्याप्त मात्रामा तेल छ । बन्दाबन्दीका शुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम शुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ । रासस
जीवात्मा
हो मानिस मलाई त सँग बदला लिनुछ मलाई मारेझै, तलाई मार्ने मेरो साथी कोरोना आको छ। दुवै पखेटा फैलाएर आत्मा समर्पण पनि गरे चारै वटा खुटा जोड्दै जीवनको भिक पनि मागे तर के गरिस? त आफै भन, हरेक पटक किन यस्तै गरिस? छालहरू सँगै बग्ने म, दुई पेक रक्सी सँगै पेटभित्र बगाइस लेखक जंगलको राजा म चारभिते दिवार भित्र कैद गराइस हो मानिस, मलाई त सँग साचै बदला लिनुछ मलाई मारेझै , तलाई मार्ने मेरो साथी कोरोना आको छ। मेरो छाला, तैले कपडा बनाइस मेरो अंग, तेरो घरको सझावट रमाउन मलाई सिकार बनाइस छानि छानि हामीलाई तेरो निशाना बनाईस हेर त मानिस तैले के के गरिस? एउटाको रिसमा, लाचार बनिस सोच त, सबै मिले के गछस् ? यस पटक , बाच्लास त अको पटक के गरछस् ? [email protected]
पाकिस्तानमा पनि कोरोना भाइरसका संक्रमित बढ्दै
काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या ५२ हजार ४ सय ३७ पुगेको छ भने विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७ सय ४३ संक्रमित थपिएका बताइएको छ । पछिल्लो समय दक्षिण एसियाली मुलुकमा भारत पछि पाकिस्तानमा कोरोना संक्रमण फैलिएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार १ सय १ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ । वल्डोमिटरको तथ्यांक अनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये १६ हजार ६ सय ५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने विभिन्न अस्पतालमा ३४ हजार ६ सय ८३ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।