विकासन्युज

नरैनापुरका फरार सङ्क्रमित भेटिए

राँझा । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए । बाह्र सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए । स्थानीयवासी र अन्य सरोकार भएकाहरुले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर सङ्क्रमित पत्ता लगाउदै व्यवस्थापन गर्न खोज्दा बिरामीलाई क्वारेन्टिनबाट आइसोलेशन केन्द्र र अस्पतालसम्म ल्याउन सबैको साथ नपाउनु चिन्ताको विषय भएको उनको भनाइ छ । सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुर मात्रै ८७ सङ्क्रमित पुगेका छन् । रासस

दक्षिण अमेरिका कोरोना महामारीको नयाँ केन्द्रविन्दु

काठमाडौं । दक्षिण अमेरिका कोरोना भाइरस महामारीको नयाँ केन्द्रविन्दु बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसको प्रकोपले ब्राजिलमा भयावह सिर्जना गरेको छ । डब्ल्यूएचओका अनुसार अफ्रिकाका ती देशहरूमा पनि महामारीको प्रभाव तुलनात्मक रूपमा कम भएको ठाउँमा पनि संक्रमणका घटनाहरू द्रुत गतिमा बढेको जानकारी दिएको छ । विज्ञप्ती जारी गर्दै डब्ल्यूएचओको आपतकालीन विशेषज्ञ डा.माइक रायनले भने, ‘दक्षिण अमेरिका महामारीको नयाँ केन्द्र बनेको छ भने ब्राजिल सबैभन्दा बढी प्रभावित भएको छ ।’ विश्वभरी नै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिका पछि ब्राजिल रहेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार ४ सय जनामा कोरोना लागेको छ भने २१ हजार १ सय १६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अफ्रिका महादेशका केही देशमा कोरोना बढेको देखिएको छ । शुक्रबार बेलुकीसम्म उक्त महादेशमा ३ हजार १ सय जनाको मृत्यु भएको र १ लाखभन्दा बढी काेराेना संक्रमित छन् । (बीबीसी)

बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग : मन्त्री बस्नेत

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी आर्थिक वर्षका लागि बजेट सीमा जम्मा रु चार अर्बको प्राप्त भएको र सो बजेट अपुग हुने बताए । चालू आर्थिक वर्षमा मन्त्रालयको पूँजीगत बजेट १२ अर्ब ९१ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षका लागि जम्मा चार अर्ब रुपैयाँ रकमको सिलिङ प्राप्त भएपछि मन्त्रालयले कार्यक्रम तथा योजना छनोटको काम अगाडि नबढाएको उनले जानकारी दिए । बहुवर्षे योजनालाई निरन्तरता दिनसमेत उक्त रकम अपुग हुने भन्दै उनले अर्थ तथा विकास समितिलाई प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट बढाउन सुझाव दिन आग्रह गरे । प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रममा समावेश प्रदेशभित्र एक घर एक धारा, प्रदेशको राजधानीबाट प्रत्येक स्थानीय तहको केन्द्रसम्म पुग्ने कालोपत्र मोटरबाटो, उज्यालो प्रदेशलगायतका महत्वपूर्ण कार्यक्रमसमेत प्रभावित हुने उनको भनाइ छ । मन्त्री बस्नेतले वैशाख महिनासम्म मन्त्रालयको ३९ प्रतिशत वित्तीय प्रगति रहेको जानकारी दिँदै एक निर्वाचन क्षेत्र एक नमूना सडकको वित्तीय प्रगति ८६।७९ प्रतिशत रहेको बताए । छलफल कार्यक्रममा अर्थ तथा विकास समितिले पूर्वाधार विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षमा अघिल्ला योजनालाई निरन्तरता दिँदै काम सम्पन्न गर्न निर्देशन दिएको छ । प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सम्पन्न नभएका पुराना आयोजनालाई बीचमा अलपत्र नछाड्न निर्देशन दिँदै बजेट विनियोजन गर्दा जनताको आवश्यकताका आधारमा गर्न सुझाव दिए । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले पुरानो खरिद ऐनकै कारण काममा ढिलासुस्ती हुने गरेको बताउँदै नीतिगत समस्या समाधान भए खर्च गर्ने तौरतरिका र कामले समेत गति लिने विश्वास व्यक्त गरे । रासस

राष्ट्रपति ट्रम्पले भन्छन् : चर्चहरु तुरुन्तै खोल्न पर्छ, अमेरिकालाई प्रार्थना आवश्यक छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरू तुरुन्त खोलिनु पर्ने बताएका छन् । अमेरिकामा अहिले प्रार्थना आवश्यक रहेको भन्दै ह्वाइट हाउसमा भएकाे प्रेस सम्मेलनको क्रममा भने, ‘हामीलाई धेरै प्रार्थना चाहिन्छ, कम होइन ।’ अमेरिकामा कोरोना संक्रमण फैलिएसँगै चर्च लगायत भीडभाडजन्य क्षेत्र बन्द गरिएको थियो । अमेरिकी राष्ट्रपतिले प्रान्तका गभर्नरहरूको निन्दा गर्दै तर्क गरे कि रक्सी पसल र गर्भपतन क्लिनिक खुला गरेका थिए । ट्रम्पको यो बयान रोग नियन्त्रण तथा रोकथाम केन्द्रले चर्चलाई कसरी फेरि खोल्न सकिन्छ भन्ने बारे निर्देशन जारी गरेका हुन् । राष्ट्रपति ट्रम्पले  प्रान्तहरूमा चर्चहरू खोलिनु पर्छ किनकि अमेरिकामा प्रार्थना आवश्यक बताए । यो अब राज्यपाल हो कि कसले र कसरी प्रतिबन्ध गर्ने निर्णय गर्नेछ । यसमा चर्चमा मानिसहरू भेला हुने हद पनि समावेश गरिने जनाएका छन् । हालसम्म अमेरिकामा काेराेना भाइरसबाट १६ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ९७ हजार ६ सय ४७ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै उपचारपछि ४ लाख मानिस घर फर्किएका छन् ।

कोभिड-१९ काे विषयमा नेपाली वैज्ञानिकहरू कस्तो चल्दैछ अनुसन्धान

काठमाडाैं । नेपालमा कोरोना भाइरसको अनुवांशिक संरचना र सङ्क्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिवले बताएका छन् । स्वास्थ्य मन्त्रालयको उक्त अनुसन्धान परिषद्ले नेपालमा स्वास्थ्यसँग सम्बन्धित रहेर गरिने सबै खालको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ । सो परिषद्ले हालसम्म ३३ वटा विभिन्न अनुसन्धान प्रस्तावलाई स्वीकृति दिइसकेको छ भने आफ्नै अग्रसरतामा १० वटा अनुसन्धान अघि बढाउँदैछ । विज्ञहरूले चाहिँ नेपालमा भाइरसहरूसँग जोडिएका कतिपय अध्ययन तथा अनुसन्धान गर्न प्रविधि र स्रोत साधनको अभाव रहेको औँल्याएका छन् । सरकारी स्तरको अनुसन्धान नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीका अनुसार परिषद्ले विभिन्न निकाय र सङ्घसंस्थाले प्रस्तुत गरेका ३३ वटा अनुसन्धानको प्रस्ताव अनुमोदन गरिसकेको छ भने आफैँ १० वटा अनुसन्धान अघि बढाउन लागेको छ । विभिन्न तहमा रहेका अस्पतालको अवस्था र तयारी, कोभिड-१९ बारेको सर्वसाधारणको बुझाइ, क्वारन्टीनमा रहेका मानिसको मनोवैज्ञानिक अवस्था, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको मानसिक अवस्था, विदेशबाट फर्किएका व्यक्तिमा देखिएका कोरोना भाइरसको लक्षण र बजारमा उपलब्ध द्रूत परीक्षण किट आरडीटीको प्रभावकारिताबारे परिषद्ले अध्ययन अघि बढाएको छ । ज्ञवालीले नेपालमा कोरोना भाइरससको सङ्क्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा थेरपी’ विधिबाट कोरोना भाइरसको उपचार गर्ने विधिबारे अनुसन्धान अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति दिएको जानकारी दिए । उनी भन्छन्, ‘यो अनुसन्धानअन्तर्गत निको भएको व्यक्तिको रगतबाट प्लाज्मा निकालेर त्यहाँ उत्पादित एन्टीबडी सङ्क्रमण देखिएका व्यक्तिहरू दिने भन्ने कुरा छ । कसरी गर्ने भन्ने विधि र आचारसंहिताबारे पनि कुरा गरिरहेका छौँ। यो अनुसन्धान चाँडै अघि बढाउन सकिने अवस्था देखिन्छ ।’ औषधिको पनि अनुसन्धान उनका अनुसार सङ्क्रमण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गरेर कोरोना भाइरसको आनुवंशिक संरचनाको (जीन) सिक्वेन्सको अध्ययन गरी बिरामीको प्रतिरक्षा विज्ञानबारे अनुसन्धान गर्ने सोच बनाइएको पनि उल्लेख गरे । यो अध्ययनबाट नेपालमा देखिएको कोरोना भाइरसको शक्ति र सङ्क्रमणको स्वरूप जानकारी पाउन सकिने उनको भनाइ छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कम्तीमा ५० जना कोरोना भाइरस सङ्क्रमितहरूमा यो अध्ययन गर्ने योजना बनाएको र यसका लागि परिषद्अन्तर्गत रहेको आचारसंहिता हेर्ने निकायबाट अनुमोदन प्राप्त गरिसकेको सदस्यसचिव ज्ञवाली बताउँछन् । त्यसबाहेक विश्व स्वास्थ्य सङ्गठनले ऐक्यबद्धता जनाएका औषधि र खोपको क्लिनिकल परीक्षणबारे पनि वैज्ञानिक अध्ययन गर्न लागिएको छ । निजी क्षेत्रले सिफारिस गरेको औषधि वा खोपमा जाने मनसाय नरहेको भन्दै परिषद्का सदस्यसचिव ज्ञवालीले हाल अमेरिकी नियामक निकायले परीक्षणका लागि अनुमति दिइएको रेम्डेसिभिर औषधिको परीक्षण गर्न सकिनेबारे पनि छलफल भइरहेको जानकारी दिए । परिषद्ले अरूलाई अनुसन्धान गर्न स्वीकृति दिएका भनिएका अनुसन्धानहरू कोरोना भाइरससँगै देखिएका मनौवैज्ञानिक समस्या, क्वारन्टीनका चुनौती, अस्पताल र कार्यस्थलमा देखिएका असहजता जस्ता विषयसँग सम्बन्धित छन् । त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख मेघराज बन्जाराका अनुसार विभागका वैज्ञानिकहरूले कतिपय अनुसन्धानमा परिषद्लाई सघाइरहेका छन् । उनी भन्छन्, ‘हामी नेपालमा देखिएको भाइरसको आनुवंशिक चरित्र र अरू देशको भाइरसको चरित्र कस्तो छ भनेर परिषद्सँगै अध्ययनमा संलग्न छौं । त्यसबाहेक हालसम्म नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाएका व्यक्तिमा देखिएको भाइरसको चरित्र र अरू व्यक्तिमा देखिएका सङ्क्रमणलाई पनि दाँज्न सकिन्छ कि भनेर हेर्न खोजिरहेका छौं ।’ ‘परिषद्‌बाट कागजी प्रकिया पूरा हुनेबित्तिकै यी अनुसन्धान अघि बढ्छन् ।’ बन्जाराले यस्ता अनुसन्धान अघि बढाउन नेपालमा स्रोतसाधनको चुनौती रहेको पनि बताए । (बीबीसी नेपाली)

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ९८ हजार १ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३९ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ भने २१ लाख ५१ हजार ७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९७ हजार ६ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ४५ हजार ११ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ भने अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ सय १६ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

धर्तीका सेता फूलहरु

गहका आँशु पुछेर तिम्ले, औषधी खुवाउँदा आधा रोग भाग्छ, मायालु हातको स्पर्श पाउँदा ती सेता वस्त्र, आशाको आधार देख्दछु जीवन दिन रात खटी बिरामी जाँची बनाउँछौ नवीन । आपतै लाग्यो, महामारी छायो हतास भइनौ व्यक्तिगत सुख सुविधा खोजी अन्यत्र गइनौं सेवा नै परम धर्म हो ठान्ने वाणीमा बसिछौ रहर छैन छापामा छाउने सिद्धान्त कसिछौ । लेखक मृत्युको मुखमा पुगेका हाम्लाई बचायौ धन्य छ तिम्रो यो कामको कदर गर्न सालिक बन्ने छ पुण्य छ यही, पवित्र पेशा युगाैं युग जिउनु है धर्तीकी तिमी जिउँदी देवी आशीवार्द लिनु है । यी सेता फूल शक्तिका पुञ्ज प्राणको सञ्चार सहारा तिम्रो नमिले आखिर कहाँ उठ्थ्यो संसार बस्नलाई लायक रहन्छ धर्ती मानवता रहन्जेल फर्केर आए झै जस्तो लाग्यो फ्लोरेन्स नाइटिङगेल ।

धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने

धनकुटा । धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यही जेठ ४ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित सरोकारवालाको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो । धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले आइतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा सो अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पतालसम्बन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो । विज्ञ टोलीको सुझावअनुसार सामाजिक विकासमन्त्री घिमिरेसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा मेहता, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागार्इं, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरिकृष्ण भट्टराईसहितको अनलाइन बैठकले अस्पताल पूर्ववत्रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा मेहताले बताए । धनकुटामा आजसम्म १८० जनाको थ्रोट स्वाब सङ्कलन गरिएकामध्ये सात जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितको अहिले कोशी अस्पतालमा कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस