मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ
गुल्मी । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य कार्यालयको टोलीले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएको थियो । स्वाब सङ्कलन भएकाहरुमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक सञ्चालकलगायत थिए । तीमध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालय तम्घासका ६ र मदानेका ३० गरी कुल ३६ को स्वाब पठाइएको थियो । त्यसमध्ये मदानेका पाँच र तम्घासका छ गरी अझै ११ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
भारतबाट आएकाको पिसीआर परीक्षण गरिँदै
काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो । सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । बुधबार व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका-४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअगाडि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।
प्रदेश नं ५ काे बजेट अधिवेशन शुरु, शनिबार नीति कार्यक्रम पेश हुने
काठमाडाैं । प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको छ । बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले कोभिड १९ संक्रमण नियन्त्रणमा सरकारले पर्याप्त ध्यान पुर्याउनुपर्ने तथा भारतबाट स्वदेश फर्किने हजाराैं नेपाली सीमा क्षेत्रमा अलपत्र र कष्टपूर्ण रुपमा रहेकाले उनीहरुको उद्धारमा ध्यान दिनुपर्न बताए । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उपसचेतक पार्वती पुनले सबैको एकताले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउँदै सरकारले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने विश्वास व्यक्त गरे । उनले बालबालिकाको शैक्षिक व्यवस्थापनका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गरे । प्रदेशसभा सदस्य कल्पना पाण्डेले विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापनमा सरकारले ध्यान दिन नसक्दा संक्रमण बढ्दो अवस्थामा रहेको बताए । बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बजार नियमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेकामा पारित भएको थियो । बजेट अधिवेशनको आज पहिलो दिनको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पत्र तथा यसअघिको पाँचौँ अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विभिन्न विधेयकसम्बन्धी पत्र पढेर सुनाएका थिए । रासस
बैशाख ११ गते कोरोना संक्रमित मुक्त बनेको काठमाडौंमा अहिले २९ संक्रमित
काठमाडौं । उपत्यकामा कोरोना भाईरस संक्रमितको संख्या २९ पुगेको छ । बैशाख ११ गते सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेपछि काठमाडौं कोरोना संक्रमित मुक्त बनेका थियो । तर बैशाख २३ गते सनसिटी अर्पाटमेन्टका पुरुष पुनः संक्रमण देखिएपछि काठमाडौंमा फेरि संक्रमण देखिन थाल्यो । त्यसपछि सरकारले संक्रमितको संख्या काठमाडौंमा कम देखिएको काराण लकडाउन केही खकुलो गर्न सुरुमात्र के गरेको थियो बैशाख ३० गते एकैपटक ३ जनामा संक्रमण देखिएको थियो । ती ३ संक्रमित चन्द्रागिरीकी ३३ वर्षीय महिला, भक्तपुरकी २५ वर्षीय महिला र २७ वर्षिय पुरुष रहेका थिए । उनीहरु तीनै जना उपत्यका बाहिरबाट आएका थिए । चन्द्रागिरी नगरपालिका ९ की महिला बैशाख २९ गतेमात्र कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन् । लकडाउन हुनुभन्दा पहिले नै पारिवारिक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी निजी गाडीको पास बनाएर काठमाडौं आएकी थिइन् । यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौं आएकी थिइन् । त्यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएका थिए । उनी पनि सवारी पास बनाएर काठमाडौं छिरेका थिए । यसरी उपत्यकामा एकपछि अर्को कोरोना संक्रमित थपिँदै गएपछि कोरोना संक्रमितको संख्या ३३ पुगेको थियो । तर, बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित निको भएपछि उपत्यकामा कोरोना संक्रमितको संख्या २९ पुगेको हो । उपत्यकाका कोरोना स्क्रमितहरु कुन कुन अस्पतालमा छन् ? उपत्यकाका २९ संक्रमित हाल तीन अस्पतालमा उपचार गराईरहेका छन् । अहिले टेकु अस्पतालमा ४ जना डिस्चार्ज भएसँगै १ जना मात्र संक्रमित बाँकी रहेका अस्पतालका निर्देशक डा. सागर राज भण्डारी बताए । पाटन अस्पतालमा १३ जना संक्रमित उपचार गराईरहेकाे अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए । यस्तै सशस्त्र प्रहरी अस्पतालमा १५ जना संक्रमित उपचार गराईरहेको डिआईजी चन्द्र अधिकारी जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनीहरु बताउँछन् ।
एलआरआई स्कूलले त्रिवि शिक्षण अस्पताललाई दियाे विभिन्न स्वास्थ्य सामाग्री
काठमाडाैं । कलङ्कीको एलआरआई स्कूलले कोभिड-१९ रोग नियन्त्रणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीका लागि करिब दुई लाख रूपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको विद्यालयले यसअगाडि स्थानीय तहका फोहरमैला, सरसफाइ तथा व्यवस्थापनमा सहभागी कर्मचारीका लागिसमेत यस किसिमका सामग्री उपलब्ध गराएको थियो । यहाँ शुक्रबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक गुठीयार यशोधरा पन्तले अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिआई) १७ थान, केएन–९५ मास्क ९२ थान, भाइजर १०७ थान, सर्जिकल मास्क ३०० थान, साधारण मास्क ९० थान, सेनिटाइजर १०० थानलगायत सामग्री हस्तान्तरण गरे । विद्यालयका अध्यक्ष शिवराज पन्तले परोपकारी कार्य निरन्तर गर्दै आएको आफ्नो संस्थाले विश्वमा महामारीका रूपमा फैलिइरहेको कोभिड-१९ ले नेपालमा पनि जोखिम बढाइरहेकाले अग्रस्थानमा निरन्तर कार्य गर्नुपर्ने स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक खड्गाले करिब एक हजार ४०० कर्मचारी रहेको अस्पतालमा स्वास्थ्य सामग्रीको खपत हुने हुँदा त्यसको अत्यधिक माग बढेको अवस्थामा विद्यालयले गरेको सहयोगको सराहना गरे । उनले लकडाउनको अवधिमा सर्वसाधारणले जथाभावी हिँडडुल गर्न नहुनेमा जोड दिँदै अस्पतालमा एक जना कोरोना सङ्क्रमित बालिकाको उपचार भइरहेको र आवश्यकताअनुसार आइसोलेसन केन्द्रको विकास गरिने बताए । विद्यालयका कन्फुसियस कक्षाका निर्देशक तान पानले ट्रष्टद्वारा सञ्चालित यस संस्थाले सामाजिक सेवामा सधैँ समर्पित रहेको विचार व्यक्त गरेका छन् । यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रूपैयाँ सहयोग गरेको शिक्षक दीपक जोशीले जानकारी दिए । विद्यालयले कोरोनाबाट बढी प्रभावित सुदूरपश्चिम प्रदेशलाई १५ हजार थान सर्जिकल पञ्जा, कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन स्थललाई ५० थान बेड, सोही सङ्ख्यामा म्याट्रेस, सिरानी, बेडसिट र कम्बल प्रदान गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका–१४ र नागार्जुन नगरपालिका–१० अन्तर्गत तारकेश्वर युवा क्लब स्युचाटारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । रासस
मृत्यु भएको ३१ घण्टापछि सेनाले व्यवस्थापन गर्याे कोरोना संक्रमितकाे शव
गुल्मी । गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि आज अपराह्न पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना भएका उनको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक बिकास मन्त्रालयले पुष्टि गरेको थियो । रासस
प्राईम लाईफको नाफा ११.८५ प्रतिशतले बढ्यो
काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा ११.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ३० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १६ करोड ३८ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद बीमाशुल्क: यस्तै, गत आर्थिक वर्षकोे तेस्रो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही समयमा खुद बीमाशुल्क २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोष: गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ८ अर्ब १४ करोड ७६ लाख रुपैयाँमा सिमीत थियो भने चालु आर्थिक वर्षकोे सोही समयमा जीवन बीमा कोष १० अर्ब ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
एनएमबि बैंकले ल्यायो परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग
काठमाडौं । एनएमबि बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ्ग प्रस्तुत गरेको छ । विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै बैंकले सुरक्षित र छरितो डिजिटल बैंकिङ्ग अनुभव प्रदान गर्न उक्त सेवा ग्राहकमाझ प्रस्तुत गरेको हो । उक्त इन्टरनेट बैंकिङ्गको माध्यमबाट ठुलादेखि साना कर्पोरेट हाउसहरुले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरु तत्कालै प्राप्त गर्न सक्नेछन् । एनएमबि बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत कारोवारहरु जस्तै आफ्नो खाताको विवरणहरु हेर्न, सबस्क्राइव गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ । वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ्ग माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ । बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ्ग, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, ट्रेड फाइनान्स, कर्जा प्रोसेसिङ्ग लगायत अन्य विभिन्न व्यवसायीक कार्यहरु सम्बन्धि सेवा लिन सकिने उच्च कारोवार सीमा सहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुँच भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधाबाट लाभान्वित हुन सकिने बैंकले जनाएको छ । सन् २०१६ बाटै शुरु भएको एनएमबि कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोवारका लगायत अन्य धेरै कार्यहरु सजिलै गर्न सकिने छ ।