नगद कारोबार गर्नेसँग कोरोना कर लिन बैंकरको सुझाव
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले नगद कारोबार गर्नेहरुसँग कोरोना कर लिन सुझाव दिएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि दिएको सुझावमा निश्चित परिमाणभन्दा बढीको नगद कारोबारमा कोरोना कर लगाउन सुझाव दिइएको हो । नेपालमा नगद कारोबार बढी हुने गरेको र यसको व्यवस्थापनको लागि राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाको ठूलो स्रोत साधन प्रयोग भएकोले यसलाई कम गर्नुपर्ने आवश्यकता बोध गरी यस्तो सुझाव दिइएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘नेपालमा अहिले वार्षिक साढे ४ खर्ब रुपैयाँ बराबरको नोटको चलनचल्तीमा आउने गरेको छ, नोट छाप्न लाग्ने खर्च, त्यसपछि नोट व्यवस्थापनको लागि बैंक वित्तीय संस्थाले खटाउने पर्ने कर्मचारी खर्च तथा नोटबाट पनि कोरोना भाइरस संक्रमण हुन सक्ने खतरा औल्याइएको सन्दर्भमा नगद कारोबारलाई निरुत्साहित गरेर डिजिटल पेमेन्टलाई प्रोत्साहित गरौं भन्ने हाम्रो प्रस्ताव हो, अध्ययन गरेर निश्चित परिमाणभन्दा बढीको नगद कारोबारमा कोरोना कर लिन सकिन्छ भन्ने सुझाव दिएका छौं,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले विकासन्युजसँग भने । संघले अहिलेको नगद कारोबारको परिमाणलाई ५ वर्षभित्रमा ३० प्रतिशतमा सिमित गर्ने गरी डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । कति परिमाणभन्दा बढीमा कोरोना कर लिने, डिजिटल पेमेन्टमा के कस्ता प्रोत्साहनका कार्यक्रम ल्याउने, पेमेन्ट गेटवे सेटअपका लागि के कस्तो तयारी गर्ने भन्ने लगायत विषयमा नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय, बैंकर लगायत सरोकारवाला निकायका प्रतिनिधि संलग्न समिति बताएर अघि बढ्नु उपयुक्त हुने अध्यक्ष दाहालको भनाइ छ । यस्तै, संघले बजेट तर्जुमामा अवको विशेष ध्यान निर्वाहमुखी परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र यान्त्रीकरण गरी व्यवसायिक बनाउनु उपयुक्त हुने सुझाव दिएको छ । नेपालले बर्सेनि १ खर्ब रुपैयाँभन्दा बढीको दाल, चामल, तरकारी, फलफूल जस्ता खाद्यान्न आयात गर्ने गरेको सन्दर्भ स्मरण गर्दै संघले बैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि क्षेत्रमा संलग्न गराउनको लागि आवश्यक नीति र कार्यक्रम आउनु पर्ने र त्यसमा बैंकको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफूहरु तयार रहेको बताएको छ । ‘बैदेशिक रोजगारीमा रहेका धेरै युवाले रोजगारी गुमाएर फर्कन सक्ने सम्भावना अधिक छ, बैदेशिक रोजगारी गुमेपछि नेपालमा आउने रेमिटान्स पनि कम हुन्छ, त्यसैले विदेशबाट फर्केका युवालाई कृषि क्षेत्रमा संलग्न गराउन पाइयो भने आयात प्रतिस्थापन हुने र रेमिटान्स घटेका कारण बैदेशिक मुद्रामा परेको चाप पनि न्यूनिकरण गर्न सकिन्छ, त्यसैले रोजगारी सिर्जना र आयात प्रतिस्थापनका लागि यो कार्यक्रम प्रभावकारी हुन्छ भनेर सुझाव दिएका छौं,’ अध्यक्ष दाहालले भने । संघले कृषिमा लगानी बढाउने गरी सरकारले कार्यक्रम बनाउन र त्यसको कार्यान्वयनमा सहजीकरण गर्नको लागि बैंकरको समेत संलग्नतामा प्रभावकारी समन्वय समिति बनाउन पनि सुझाव दिएको छ । यस्तो समिति संघीय तहमा कृषिमन्त्रीको संयोजकत्वमा र प्रदेश तथा स्थानीय तहमा पनि सम्बन्धित अधिकारीको संयोजकत्वमा स्थायी प्रकृतिको संयन्त्र बनाउनु पर्ने संघको सुझाव छ । ‘कृषि क्षेत्रमा सरकारले लगानी बढाउन प्रयास गर्दा पनि आशातित सफलता मिलेको छैन, कार्यान्वयन तहमा केही समस्या भएर नै यो अवस्था आएको हुन सक्छ, त्यसैले स्थानीय तहमा भएका समस्या स्थानीय स्तरमै, प्रदेशस्तरमा भएका समस्याको समाधान प्रदेश स्तरमै र केन्द्रीय तहमा भएका समस्या संघीय स्तरमा समाधान गर्नको लागि स्थायी प्रकृतिको संयन्त्रको परिकल्पना गरिएको हो, कृषि क्षेत्रमा लगानी जाने र लक्षित वर्गले सहजै पुँजी प्राप्त गर्ने गरी कार्यान्वयन संयन्त्र बनाउनु पर्छ भन्ने हाम्रो सुझाव छ,’ अध्यक्ष दाहालले थपे । संघले ठूला र दीर्घकालिन महत्वका परियोजना बनाउन पनि सुझाव दिएको छ । यसका लागि निर्माण सामाग्री उत्पादकहरुसँग सरकारले समन्वय गरेर उनीहरुको नाफा निश्चित प्रतिशतमा ग्यारेन्टी गर्ने र त्यस्तो सामाग्री प्रयोग गरेर पूर्वाधार निर्माण गरिनु पर्ने संघले सुझाव दिएको हो । संघले ३/४ वटा उत्तर दक्षिण राजमार्ग बनाउनु उपयुक्त हुने सुझाव दिएको छ । यस्ता सडक पूर्वाधार बनाउँदा सिमेन्टबाट बन्ने सडक बनाउनु पर्ने संघको सुझाव छ । अहिलेसम्म नेपालमा बनेका अधिकांश सडकको माथिल्लो तहमा अलकत्रा राखिने गरेको भएपनि अवदेखि सिमेन्ट सडक बनाउनु पर्ने सुझाव दिइएको छ । ‘उत्पादकहरुसँग सिमेन्टको मूल्यमा छलफल गरौं, उनीहरुलाई ५ देखि १५ प्रतिशतसम्म कुन दरको नाफा दिने हो त्यो दर तय गरौं, सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलेका छैनन्, उनीहरुलाई पूर्ण क्षमतामा चलाउन भनौं, बैदेशिक रोजगारी गुमाएर आउनेमध्ये केही श्रमिक निर्माण क्षेत्रको ज्ञान र शीप भएकाहरु पनि आउने छन्, उनीहरुलाई त्यस्ता पूर्वाधारमा रोजागरी दिने र आर्थिक क्रियाकलापलाई बढावा दिने गरी यो काम गरिनु पर्छ भन्ने हो,’ अध्यक्ष दाहालले थपे । यस्तै, संघले विदेशबाट नेपाली बैंकिङ क्षेत्रमा आउने निक्षेप तथा ऋण रकममा व्याजकर छुट दिनु उपयुक्त हुने सुझाव पनि दिएको छ । अहिले नेपालमा ठूलो मात्रामा पुँजीको आवश्यकता महसुस भएकोले व्याजकरको व्यवस्थाले त्यस्तो पुँजी नेपाल आउन निरुत्साहित भएको संघको भनाइ छ । सरकारले अहिलेसम्म १५ प्रतिशत व्याजकर लिने गरेको छ ।
विदेशी नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने, यस्ताे छ प्रक्रिया
काठमाडौं । अब विदेशबाट आउने व्यक्ति तथा नागरिकले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन् । भारत लगायत कुनैपनि मुलुकबाट नेपाल भित्रिने व्यक्तिले १५ दिन क्यावरेन्टाइनमा बसेपश्चात मात्र कोरोना बीमा गर्न पाउने बीमा समितिले जनाएको छ । शुक्रबार परिपत्र जारी गर्दै समितिले यो अवस्थामा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरु नेपाल फर्कने क्रम बढ्ने भएपछि यस्तो निर्णय गरेको हो । यससँगै, विदेशी नागरिकले क्वारेन्टाइनमा बसेको १५ दिन पश्चात मात्र उनीहरुले आफ्नो परिवारमा समावेश भएको १५ दिनपछि मात्र कोरोना बीमालेख खरिद गर्न सक्ने छन् । यसको प्रमाण सम्बन्धित स्थानिय तहले गरेको हुनुपर्नेछ । त्यस्तै, विदेशबाट नेपाल फर्केको नेपाली नागरिक र निजको परिवारले अनिवार्य आरडीटी परीक्षण गराई सो को नेगेटिभ रिर्पोट भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ । आरडीटी परिक्षणको रिर्पोट नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट प्रमाणित भएको हुनुपर्ने छ । साथै, उक्त व्यहोराका अण्डरराईटिङ् कार्यका लागि पुरक फारम सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वेव साईटमा राख्नु पर्नेछ । उक्त फारम भरी स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने गरी कम्पनीहरुले आफ्नो विद्युतीय बिक्री प्रकृयामा अनिवार्य रुपमा थप व्यवस्था गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जनाएका छन् । [pdf id=216396]
पाकिस्तानमा ९० यात्रु चढेको विमान दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँचीमा ९० जना यात्रु रहेकाे एक विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हाे । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।
नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघ्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे जनाएकाे हाे । शुक्रबार साँझ थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ५ सय नाघेकाे हाे । यी नयाँ संक्रमितहरु डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूष रहेकाे मन्त्रालय प्रवक्ता विकास देवकोटाले बताए। याेसँग नेपालमा काेराेना संक्रमितको संख्या ५ सय ७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।
लकडाउनको समयमा बेनेलीले ल्यायो यस्तो अफर
काठमाडौं । लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ । पहिलो अप्सन अन्तर्गत बाइक खरिदकर्ताले ८ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । त्यस्तै, दोश्रो अन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्स लगायतका बेनेली सेफ्टी गियर रहेको छ । त्यसैगरी, तेश्रो अप्सन अन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत गरी १ वर्षको फ्री सर्भिसिङ प्राप्त गर्न सक्ने छन् । यो अफर एक महिनाको लागि लागू हुने छ । यस बारेमा थप जानकारी लिनका लागि ९८०१२३३०२५ मा सम्पर्क गर्न वा बेनेलीको वेबसाइटमा लगइन गर्न सकिने छ ।
संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौँ । संविधान संशोधन विधेयक संसदमा दर्ता भएकाे छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो। नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।
वडाध्यक्षले नै एम्बुलेन्स चलाएर बिरामी अस्पताल लगे
डोटी । एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो। दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैं एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन्। वडाध्यक्ष खड्काले आफैंले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्याए। खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उनको उपचारका लागि वडाध्यक्ष खड्का आफैले एम्बुलेन्स चलाएर ल्याएका हुन् । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताए। उनले भने, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पुर्याएँ, उपचार पाउनुभयो।” शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैं एम्बुलेन्स लगेर बिरामीको उद्धार गरेका हुन्। वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए। कोरोना सङ्क्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफैले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताए। उनले भने “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।”
गोरखा अस्पतालले ओरिजिनल आईसियु मेसिन किन्ने, अघि बढ्याे प्रक्रिया
गोरखा । गोरखा जिल्ला अस्पतालले ओरिजिनल मेसिन सहितको आईसियु कक्ष निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । कोभिड १९ अर्थात कोरोना भाईरसको कारण यसबाट सिर्जित अवस्थाका बिरामी र अस्पतालमा आउने अन्य विरामीका लागि आवश्यक पर्दा प्रयोग गर्ने गरी अस्पतालले उक्त प्रक्रिया बढाएको हो । नेपाल सरकारको प्रचलित खरिद ऐन, नियमावली अनुसार प्रक्रिया अघि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु) नविन थापाले बताए । स्वास्थ्य मन्त्रालयमा रहेको नीति योजना तथा अनुगमन महाशाखाले गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आईसियू निर्माण गर्न बजेट निकासा गरेको छ । सार्वजनिक खरिद प्रक्रिया मिचेर काम गर्दा यस अघि सुदुरपश्चिम प्रदेशमा पुरानो नक्कली मेसिन परेको थियो । जिल्लामा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले प्रदेशबाट इन्जिनियर बोलाइएको मेसु थापाले बताए । मापदण्ड नपुगेका टेण्डरहरु रद्द गरेर पुनः टेण्डर प्रक्रियामा गएको उनले बताए । प्राविधिक र आर्थिक मूल्याङ्कन गरेर ठेक्का सम्झौता गर्ने नीति रहेको थापाको भनाई छ । गोरखामा समेत काम गरेका स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार नेपाल सरकारका सबै नियम पुरा गरेर मात्र आईसियु मेसिन जडान गर्न सकिन्छ, गोरखा जिल्लाको प्रक्रिया अघि बढेकाले केही हप्ता भित्र अस्पतालमा आईसियु कक्ष निर्माण हुनुपर्छ । यस कार्यका लागि महाशाखाले अस्पतालको खातामा रकम पठाइसकेको उनले बताए ।