विकासन्युज

थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे  छ । मन्त्रालयकाे अनुसार संक्रमित हुनेहरुमा बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुष, सप्तरीको बलान-बिहुल गाउँपालिकाकाे ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिला रहेका छन् । याेसँगै नेपालमा संक्रमितकाे संख्या ५ सय १७ पुगेकाे छ जसमा ७० जना निकाे भएर घर गएका छन् ।

अपांगता भएका व्यक्ति र एकल महिलाको भत्ता नरोक्न संसदीय समितिकाे निर्देशन

काठमाडौं । सरकारलाई ६० वर्ष मुनिका एकल महिला र अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिले निर्देशन दिएको छ। शुक्रबार बसेकाे संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिकोबैठकले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोक्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो। सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रूटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ।

बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो । थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए । शिवनाथ–४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहे पनि रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका हुनाले ती युवकको यसअघि दुई पटक आरडिटी गरिएकामा नेगेटिभ आएको थियो तर पिसिआर गर्दा पोजेटिभ आएको हो । ती युवकलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिल कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । “थुनुवा सम्पर्कमा रहेका प्रहरीको कोरोना परीक्षण गर्छौं”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौँ ।” रासस

सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको शाखा आइतबारदेखि खुल्ने

काठमाडौं । कर्मचारीमा कोरोनो संक्रमण देखिएपछि सिल गरिएको सिद्धार्थ इन्स्योरेन्सको कमलादी शाखा आइतबारदेखि खुल्ने भएको छ । उक्त शाखा कार्यालय संक्रमण रहित गरी कम्पनीले जेठ ११ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो । उक्त शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि साे शाखा सिल गरिएको थियो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि इन्स्याेरेन्सले शाखा सञ्चालनमा ल्याउने निर्णय गरेकाे हाे । इन्स्योरेन्सका अनुसार उक्त शाखा कार्यालयको नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम सरसफाईका साथै संक्रमण रहित बनाइएको छ । यससँगै, आगामी जेठ ११ गतेदेखि सीमित कर्मचारीबाट उक्त शाखा सञ्चालन हुने र बीमितहरुले पूर्ववत रुपमा बीमा सेवा लिन सक्ने सिद्धार्थ इन्याेरेन्स कम्पनीले जनाएकाे छ । यस विषम परिस्थितिमा प्रभावकारी बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको छ । त्यस्तै, कोरोना देखिएको संक्रमित कर्मचारीको अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको इन्स्योरेन्सले जनाएको छ ।

दश करोडभन्दा बढी घुस लिनेलाई १४ वर्ष जेल सजायको व्यवस्था गर्न सहमति

काठमाडौं ।  विधायन व्यवस्थापन समितिमा दश करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजायको व्यवस्था गर्ने सहमति जुटेको छ । शुक्रबार समितिकाे भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा याे विषयमा सहमति जुटेको हो । यस्तै एक करोडदेखि दश करोडसम्म घुस लिने व्यक्तिलाई आठदेखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि एक करोडभन्दा बढी जतिसुकै रकम घुस लिए पनि आठदेखि १० वर्षसम्म कैद र घुस लिएको रकम जफत हुने प्रावधान थियो । साथै क करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान पनि थपिएको छ ।  घुस लिएको रकम जफत हुने र सोहीबराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको छ ।  

अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो- अनुसन्धान

अमेरिका । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यदि त्यति नै बेला लकडाउन या अरु नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ । अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएनआई

पाकिस्तानको विमान दुर्घटनामा परेका सबैको मृत्यु

पाकिस्तान । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् । पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले बताए । विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु अगाडि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे । प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए । घटनास्थलमा प्रहरी, सैनिक, स्वयंसेवकलगायतलाई परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय टेलिभिजनहरुले घटनास्थलमा आगो बलिरहेको, स्वयंसेवक तथा सुरक्षाकर्मीहरुले आगो निभाउन खोजेको र उद्धार गर्न लागिरहेको दृश्य प्रसारण गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको हो । रासस/एपी

उधारो कारोबार बन्द गर्ने तयारी गर्दै पेटोलियम डिलर्स

काठमाडौं । उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई स्थानीयस्तरमा नै सबै पेटोल पम्पहरुले निर्णय गरी कारोबार बन्द गर्ने विषयमा छलफल भएको छ । नेपाल पेटोलियम डिलर्स राष्टिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा शुक्रबार भिडियो कन्फरेन्समार्फत देशभर उपलव्ध पदाधिकारीहरु तथा स्थानीय संस्थाका अध्यक्षहरुको हालको परिस्थिति र भविष्यमा हुनसक्ने जोखिम तथा संकटकाबारेमा भएको छलफलमा यसबारे छलफल चलेको हो । अनलाइन भिडियो कन्फरेन्समार्फत भएको छलफलमा उधारो भुक्तानी नगर्ने कारोबारीहरुलाई देशभरिकै पेटोल पम्पहरुबाट पेटोल नदिनेलगायतका तत्काल गर्न सकिने उपायका अविलम्ब गर्न सबै स्थानीय व्यवसायीहरुलाई अनुरोधसहित जानकारी गराउने विषयमा छलफल भएको जनाएको छ । बैठकले अनि आवश्यक पदार्थको कारोबार गर्ने हुँंदा आपूर्ति सुचारु राख्न पम्पहरुमा पोटेलियम पदार्थका स्कट हुनुपर्ने तर पुजीँंगत खर्च यथावत राखी अति न्युन परिणाम मात्रै स्कटमा राख्नुपर्ने, अति आवश्यक बाहेकका खर्चहरु कटौती गर्नुपर्ने, नगदमा मात्रै कारोबार गर्नुपर्ने, यस अगाडि भएका उधारोहरु शिघ्र उठाई पुनर्ताजगी गरेर कारोबार गर्नुपर्ने लगायतका छलफल भएको जनाएको छ । साथै यस अवधिमा राजधानीमा उपलव्ध केन्दिय्र पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा बीमा समिति, आन्तरिक राजश्व कार्यालय मन्त्रालय तथा निगम समक्ष आगामी वजेटमा पेटोलियम व्यवसायीहरुलाई हुनुपर्ने राहत एवं बैंक व्याजदर, राजश्व तथा बीमादरमा हुनपर्ने छुटका सम्वन्धमा तथा निगम समक्ष यस एसोसियएनकातर्फबाट पटकपटक पेश भएका कमिशन वृद्धिलगायतका मागहरु कार्यान्वयनका लागि अनुरोध सहित ताकेका भइरहेको र हालसम्म कुनै ठोस निर्णय हुन नसकेको विषय दुखका साथ जानकारी गराएको छ । यस भयंकर महामारीका कारण उत्पन्न आर्थिक, समाजिक तथा मानव्य संकमा विश्वभरका मानव समुदायकले कुशलताका साथ विजय प्राप्त गर्न सकून पनि अपेक्षा पनि छलफलले गरेको थियो ।