विकासन्युज

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ, पिसिआरकाे लागि टेकु पठाइयाे

काठमाडाैं । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो । आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । आरडिटी पोजेटिभ देखिएकामध्ये १५ जना पुरुष र छ महिला छन् । आरडिटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ । आरडिटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपिसिआर नै गर्नुपर्ने भएकाले आरडिटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे । रासस

विवादित पारिश्रमिकको व्यवस्थापन गर्न यस्तो छ मानव संसाधन समाजको सुझाव

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथाम गर्न लकडाउन भएसँगै विभिन्न संघ संस्थामा आवद्ध कर्मचारीको पारिश्रमिकमा पनि विवाद उत्पन्न भएको छ । देशभरिको सम्पुर्ण उद्योग व्यवसाय, कलकारखाना, प्रतिष्ठान र कम्पनीहरु प्रायः बन्द भए र कारोबारसँगै आवत जावत र बस्तु ओसार पसार पनि ठप्प भएपछि उक्त समस्या उप्पन्न भएको हो । लकडाउन लम्बिएसँगै उद्योग, प्रतिस्थान, कलकारखाना र निजी क्षेत्रका कार्यालयहरुमा कार्यरत श्रमिक कर्मचारीको पारिश्रमिक कति दिने र लकडाउन लम्बिदै जाँदा पारिश्रमिकको व्यवस्थापन कसरी गर्ने भनी रोजगारदाताहरुमा चिन्ता बढ्दै गएको छ । यसबाट सृजित विवादको समाधानका लागि मानव संसाधन समाज नेपाल (हुम्यान रिसोर्सेस सोसाइटी नेपाल)ले विभिन्न सुझाव दिएको छ । समाजले सीमित अवधिको लागि निजी क्षेत्र, सरकार र कर्मचारीहरुको बराबर योगदान हुनु पर्ने सुझाव दिएका छन् । नेपाल सरकार लगायत सरोकारवाला संघ संस्थाहरु समक्ष उक्त सुझाव तथा माग गरेको उक्त समाजका अध्यक्ष मोहन ओझाले जानकारी दिएका छन् । केही समयका लागि प्रतिष्ठानहरूले कम्तिमा ५०  प्रतिशत तलब उपलब्ध गराउने र त्यसमा बाँकि कति सकिन्छ सहमतिको आधारमा सरकारले र कर्मचारीले बेहोर्ने तर प्रतिष्ठानहरूले ५०  प्रतिशत ब्यहोरे बापतमा सरकारले उक्त भारलाई कुनै बाटोबाट प्रतिष्ठानहरूलाई अनुदानको ब्यवस्था मिलाइदिनु पर्ने समाजको सुझाव रहेको छ । लकडाउन लागु भएको अवधिबाट लागु हुने गरि सहमतीको आधारमा पहिलो महिना ८० प्रतिशत दोस्रो महिना ६० प्रतिशत तेस्रो महिना ४० प्रतिशत र त्यसपछिको ३ महिना लगातार २०प्रतिशतका दरले प्रतिष्ठानहरुले दिने र बाँकीको हकमा सहमतिको आधारमा सरकार र कर्मचारीले ब्यहोर्नु पर्ने छ । त्यसपछि पनि कोभिड-१९को समस्या समाधान भएन भने नेपाल सरकार, निजि प्रतिष्ठानहरु र श्रमिकहरुको त्रिपक्षीय आपसी सहमतीमा अगाडि बढ्ने समाजको सुझाव रहेको छ । [pdf id=216333]

संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा लैजाने सरकारको निर्णय

फाइल फाेटाे काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा लैजाने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधि सभाको आगामी बैठक जेठ १३ गतेकाे लागि बोलाइएको छ। संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आएपछि संविधानको निशान छापमै नक्सा परिवर्तन गरिने छ । यससँगै नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ। सरकारले गत सोमबार नयाँ नक्सा पारित गरी बुधबार सार्वजनिक गरेकाे थियाे ।

मुक्तिनाथ विकास बैंकद्वारा साकोसको अभियानलाई आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’ लाई आर्थिक सहयोग गरेको छ । उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका हुन् । मुक्तिनाथ विकास बैंकले विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित देशका विभिन्न स्थानहरुका श्रमिकहरुलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत सामाग्री वितरण गर्दै आएको हो । बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

एकैदिन २१ जनाले जिते कोरोना, आजै घर फर्किँदै

काठमाडाैं । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइने छ । सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार भइरहेको छ । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् । थप दुईमा सङ्क्रमण बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहनुभएका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका हन् । कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । खजुरा गाउँपालिकामा पहिलो पटक बुधबार वडा नं ५ निवासी एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार थप एक जनामा पुष्टि भएको छ । खजुरामा सङ्क्रमण नभई भारतबाटै सङ्क्रमित भई आएको पाइएकाले त्रसित हुनुपर्ने अवस्था नरहे पनि सजगता अपनाउनुपर्ने भएकाले थप उच्च सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । रासस

खाद्यान्न पसलै पिच्छे मूल्य फरक, नियामक भन्छः उजुरी नै आएकाे छैन

काठमाडौँ । उपत्यकलगायत देशैभरिका पसलै पिच्छे फरक फरक मूल्यमा खाद्यान्न बिक्री हुन थालेको छ । सर्वाधारण एकतिर लकडाउनको चपेटामा छन् भने अर्काेतिर बजारमा दाल, चामलदेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ । नियमक निकायलाई बजारमा खाद्यान्नको मूल्य वृद्धि भएको थाहा नै छैन। खाद्यान्नमा नून बाहेक अन्य खाद्य बस्तु दाल, चामल, विस्कुट, तेल, चिनीलगायका बस्तुहरुमा मूल्य वृद्धि भएको छ । उपभोक्तावादीहरु देशलाई सङ्कट परेका बेला नाफा कमाउनेभन्दा पनि सेवा गर्ने भएकाले आमव्यापारीलाई उपभोक्ताको भान्सामा असर गर्नेगरी खाद्यवस्तु महँगो नगर्न आग्रह गरिरहेका छन । खाद्यवस्तुको मूल्य थोकमै बढेकाले त्यसको असर खुद्रा पसलदेखि उपभोक्तासम्म परेको पासलेहरु बताउछन् । थोक व्यापारीहरु भने उपभोक्तालाई ठूलो मर्का पर्नेगरी कुनै पनि खाद्यवस्तुको मूल्य नबढेको दाबी गर्छन् । कलंकीका एक पसलेले तेलमा प्रतिकाटुन एक सय, चापलमा प्रतिबोरा १ सय, चिनीमा प्रतिकेजी ५ रुपैयाँ, विभिन्न दाहाल प्रतिकेजी १० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि भएको बताए । उनले गोदामा भएको खाद्य बस्तु पुरानै मूल्यमा बिक्री गरेपछि नयाँ समान ल्याउदा उतैबाट मूल्य वृद्धि भएको बताए । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष अध्यक्ष राजकुमार श्रेष्ठल २ महिनाअघिको तुलनामा १० दिनदेखि दैनिक खाद्यवस्तुको मूल्य थोक बजारमै महँगो भएको बताए । सङ्घले २ महिनाअघि सार्वजनिक गरेको मूल्यमा पहिले र अहिलेको तथ्याङ्क तुलना गर्दा अधिकांश खाद्यवस्तुको मूल्य प्रतिकेजी र लिटरमा १० रुपैयाँदेखि सय रुपैयाँसम्म बढेको बताए । इन्धनको मूल्य घट्दा पनि पनि ढुवानी खर्च वृद्धि भएकाे देखाएर मूल्य बढाइएकाे उनकाे भनाइ छ । ‘खाद्यवस्तुको मूल्य थोकमै बढेकाले त्यसको असर खुद्रा पसलदेखि उपभोक्तासम्म परेको परेको छ, अहिले दाल, चामल, तेल, आँटालगायत खाद्यान्नको सामान बढ्नुको ठूलो कारण नभए पनि अधिकांशको भाउ थोकबाटै बढेको छ,’ श्रेष्ठले भने । आफूहरुले वाणिज्य विभागमा १५ दिनअघि नै खाद्य बस्तुको मूल्य वृद्धि भयो भनेर उजुरी दिएकाे र विभागले ठूला व्यापारीहरुलाई बोलाएर अहिले मूल्य वृद्धि गर्ने समय नभएको र पहिले कै मूल्यमा बस्तु उपलब्ध गराउन निर्देशन दिएको बताए । तर, व्यापारीले भने कामदार अभाव, लोड अनलोड, डलरको मूल्य वृद्धि र ढुवानी खर्च बढेकाले मूल्य वृद्धि हुने भनेको श्रेष्ठ बताउछन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रबिन्द्र आचार्यले भने विभागमा खाद्य बस्तुको मूल्य वृद्धि भयो भनेर उजुरी नै नआएको बताए । ‘ग्यासको माग सामान्य भएपछि उपभोक्ताहरुले विभगमा विद्युतीय र पत्रमार्फत उजुरी आएको छैन, हामी आफै पनि बजार अनुगमनमा गएका छौं, तर मूल्य वृद्धि भएको फेला पारेका छैनौं,’ आचार्यले भने । उपभोक्ता अधिकार अनुसन्धान मञ्चमा अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन गर्ने जिम्मेवारी पाएका निकायको नियमति उपस्थिति हुन नसक्दा केही मुट्ठीभरका व्यापारीको बजारमा कालोबजारी धन्दा मौलाएको बताए । उनले बजार नियमन गर्ने जिम्मेवार निकायले अस्वाभाविक मूल्यवृद्धि भएको भनेर मात्रै हुन्छ ? त्यसको कारण खोज्नुपर्दैन भन्दै प्रतिप्रश्न गरे । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले सरकारले मानव स्वास्थ्यामा मात्रै हेरेको माैका छाेपी व्यापारीले मनाेमानी गरेकाे बताए । सरकारले स्वास्थ्यकाे साथसाथै बजार पनि हेर्नु पर्ने उनकाे भनाइ छ । तर, सरकारले बजारको कुनै मतलब नगरेकाे उनकाे भनाइ छ । बजारमा दैनिक उपभोग्य सामानको मूल्य अस्वाभाविक रूपमा बढेको सरकारले नदेखेकाे भन्दै उनले अहिले मूल्य बढ्नुको कुनै कारण नभएकाेले लकडाउनपछि उपभोक्ता नै व्यापारीको विरोध गर्न सडकमा उत्रिने बताए । उपभोक्ता संरक्षण ऐनले उपभोग्य वस्तुको जथाभावी मूल्यवृद्धि गर्ने व्यापारीलाई ५ हजारदेखि ३ लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । तर बजारमा पसलै पिच्छे मूल्य फरक हुदा समेत विभाग कानमा तेल हालेर बसिरहेको बानियाँ बताउछन् ।

अर्थ समितिले अर्थ मन्त्रालयलाई दियो यस्तो बजेट सुझाव, भ्याट र भन्सार छुट

काठमाडौं । संघीय प्रतिनिधिसभाको अर्थ समितिले आगामी वर्षको बजेटमा ६ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । समितिले विभिन्न मन्त्रालय, आयोग, निजी क्षेत्र तथा विज्ञसँगको छलफलपछि निष्कर्ष र सुझावसहितको प्रतिवेदन तयार पारेको हो । समितिले तयार पारेको प्रतिवेदनमा कोभिड १९ रोकथाम तथा नियन्त्रणसँगै स्वास्थ्य पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएको छ। दोस्रोमा कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगीकरण र रुपान्तरणमा बजेटले ध्यान दिनुपर्ने उल्लेख गरेको छ । बेरोजगारहरुलाई उत्पादनशील रोजगारी र श्रम व्यवस्थापन, साना तथा ठूला उद्योग व्यवसायलाई पुनसस्थापना र प्रवर्दधन, राहत व्यवस्थापन र विगतका आयोजना कार्यक्रमहरुको निरन्तरता हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । कोरोना नियन्त्रण तथा स्वास्थ्य क्षेत्रमा बजेटको १० प्रतिशत रकम हरेक तहले विनियोजन गरी समन्वयात्मक रुपमा काम गर्नुपर्ने समितिको सुझाव छ। स्थास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति, पूर्वाधारको आवश्यकता पहिचान तथा कोरोना संक्रमण फैलिन नदिन पर्याप्त मात्रामा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरेको छ । फ्रन्ट डेस्कमा काम गर्ने कर्मचारीहरुलाई ३५ लाखसम्मको बीमा, हरेक प्रदेशमा स्तरीय प्रयोगशाला, औषधि अनुसन्धान केन्द्र स्थापना गर्ने र मन्त्रालयमा आएको बजेटको ५ प्रतिशत छुट्याउने, कोरोनाको नाममा अन्य नियमित स्वास्थ्य सेवा छायामा परेकाले सबैको सुनिश्चित गर्न बजेट विनियोजन गर्नुपर्ने बताएको छ । कृषि क्षेत्रको विकासको लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषिलाई आत्मनिर्भर बनाउन बजेटको १५ प्रतिशत बजेट छुट्टाउनुपर्ने, कृषि प्रणालीलाई सामूहिक चक्लाबन्दीमा आधारित बनाई माटो र हावापानी अनुकूल हुने गरी विशेष स्थानमा विशिष्ट वस्तुको मात्र उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव दिइएको छ । समितिले तयार गरेको सुझावमा साना तथा ठूला उद्योग प्रर्वधनको लागि सञ्चालनमा नरहेका उद्योग बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने स्पष्ट नीतिगत व्यवस्था गर्न भनिएको छ । औद्योगिक क्षेत्रलाई उत्पादन, रोजगारी र निर्यातसँग आबद्ध गरी कर छुटको व्यवस्था गर्ने, सातै प्रदेशमा उद्योग प्रर्वधन केन्द्र स्थापना गर्ने, साना तथा घरेलु उद्योगलाई सहुलियत कर्जा उपलब्ध गराउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियत दिनुपर्ने प्रतिवेदनमा छ । मेसिन आयातमा भन्सार छुट, विद्युत् महशुलमा छुट र वर्तमान संकटबाट बढी प्रभावित श्रमिकलाई एक तिहाइ सरकार, एक तिहाइ व्यवसायी र एक तिहाइ श्रमिकले व्यहोर्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। आगामी वर्ष ३० लाख बढी बेरोजगार हुने देखिएकाले रोजगार र स्वरोजगारको ठोस कार्ययोजना बनाई तत्काल लागूपर्ने अर्थ समितिले बताएको छ । विदेशबाट फर्किएका युवालाई आफो सीप, क्षमता र अनुभवको आधारमा उद्यमशील हुन प्रोत्साहित गर्ने गरी बजेट आवश्यक भएको समितिको निकर्ष छ । पूर्वाधार क्षेत्रमा चालू आर्थिक वर्षमा सक्नुपर्ने काम सम्पन्न नहुने भएकाले औचित्य र आवश्यकताका आधारमा म्याद थप गर्न सुझाव दिइएको छ । समयमा काम नसकिने समस्या पहिचान गरी ठेक्का सम्झौताबमोजिम काम हुन नसके निर्माण व्यवसायीलाई जिम्मेवार तुल्याउने व्यवस्था गर्नुपर्ने सुझाव उल्लेख छ । सहकारी संस्थामार्फत सञ्चालित व्यवसायहरुमा भ्याट, भन्सार छुट दिनुपर्ने र सहकारीलाई एकीकरण गर्न प्रोत्साहन गर्नुपर्ने व्यवस्था पनि गर्न पनि भनिएको छ । राहत तथा आर्थिक पुनरुत्थान तथा अर्थतन्त्रलाई चलायमान बनाउन कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म राहत प्याकेज घोषणा गर्नुपर्ने समितिको निकर्ष छ । बजेट व्यवस्थापनको लागि सार्वजनिक खर्च पुनरवलोकन आयोग २०७५ का सिफारिसहरुलाई कार्यान्वयन गर्दै अनुत्पादनशील क्षेत्रमा हुने सार्वजनिक खर्चलाई कटौती गर्नुपर्ने प्रतिवेदनमा रहेको छ । आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हाराहारीमा ल्याउनुपर्ने समितिको निकर्ष रहेको छ । जसमा १० खर्ब राजस्व परिचालन, १ खर्ब वैदेशिक अनुदान, जीडीपीको ६ प्रतिशतसम्म आन्तरिक ऋण र नपुग रकम वैदेशिक ऋण लिएर परिचालन गर्न समितिले भनेको छ । कृषिको लागि आवश्यक मल, बीउ, औषधि स्थानीय तहले तोकेको सहकारी वा स्थानबाट लिने व्यवस्था मिलाउनुपर्छ । कृषि उपकरण खरिद गर्न कम्तीमा ५० प्रतिशत नगद अनुदान दिने, सिँचाइको सुविधा, प्रमुख बाली लगाउनुअगावै मूल्य निर्धारण, बिक्री नभए सरकारले स्थानीय तहमार्फत खरिद गर्नुपर्ने व्यवस्था बजेटमा राख्नुपर्ने सुझाव प्रतिवेदनमा छ । बेरोजगार हुनपुगेका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न आवश्यक पर्ने पुँजीको लागि सामूहिक जमानी र सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

आगामी बजेटमा लघुवित्त क्षेत्रका लागि के हुनुपर्ला ? यस्तो छ एनएमबीएको सुझाव

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) र लकडाउनकै बीचमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउन लागेको छ । उक्त बजेटमा विपन्न वर्गलाई वित्तीय सेवा दिन खुलेका लघुवित्त क्षेत्रको पुनरउत्थानको लागि नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबी)ले सरकार समक्ष विभिन्न सुझावहरु पेश गरेको छ । संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु पेश गरेको छ । कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना हालको परिस्थितिको कारण ऋण तिर्ने क्षमतामा ह्रास आउने तथा सञ्चालित व्यवसाय/परियोजनामा असर परी ऋणीले कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्न चाहेमा देहायका आधारमा लघुवित्त संस्थाले एक पटकका लागि १ वर्षसम्म कर्जा भुक्तानी अवधि थप हुने गरी कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्ने व्यवस्था लागु गर्न सुझाव दिएको छ । कर्जाको पूनरतालिकीकरण वा पूनरसंरचना गर्न ऋणीले लिखित निवेदन पेश गुर्नपर्ने छ । यस व्यवस्था बमोजिम ऋणीको पूनरसंरचना वा पूनरतालिकीकरण गरेको कर्जा भुक्तानी तालिका बमोजिम नियमित किस्ता वा ब्याज भुक्तानी गर्ने ऋणी अन्तर्गतको कर्जालाई असल कर्जामा वर्गीकरण गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने संघको सुझाव रहेको छ । त्यस्तै, यस व्यवस्था बमोजिम कर्जा पूनरतालिकीकरण वा पूनरसंरचना गर्दा २०७७ पुस मसान्तसम्ममा गरी सक्नुपर्ने छ । पूनरतालिकीकरण वा पूनरसंरचना गर्नु अघि समेत उक्त कर्जा असल बर्गमा वर्गीकरण गर्न सकिने छ । कर्जालाई पूनरतालिकीकरण वा पूनरसंरचना गर्दा सो मितिसम्म पाकेको ब्याजलाई पूँजीकरण गरी आम्दानी लेखाङ्कन गर्न सकिने संघको सुझाव रहेको छ । पुनरकर्जा प्रभावित ऋणी सदस्यको व्यवसाय वा परियोजनामा असर परी व्यवसाय/परियोजना पुनः सुचारु गर्न सघाउ पुर्याउन नेपाल राष्ट्र बैंकले स्थापना गरेको पुनरकर्जा कोष मार्फत तोकिएको निश्चित मापदण्ड अनुरुप बैंक दरमा लघुवित्त संस्थाहरुलाई पनि पुनरकर्जा दिने व्यवस्था गर्न उपयुक्त हुने संघको सुझाव रहेको छ । ग्रेस अवधि ऋणी सदस्यको व्यवसाय वा परियोजना सुचारु गर्न सहजताका लागि परियोजनाको उत्पादन वा निर्माण सम्पन्न हुन थप समय लाग्ने भएमा वा पूर्वनिर्धारित किस्ता भुक्तानी शुरु हुने अवस्थामा ग्रेस अवधि समाप्त भएता पनि बढीमा १ वर्षको ग्रेस अवधि थप गर्न सकिने संघको सुझाव छ । किस्ता भूक्तानीको समय सिमा तथा ब्याज छुट लामो समय बन्द रहेको व्यवसाय/परियोजना सुचारु हुन केही समय लाग्ने हुँदा सदस्यले किस्ता र व्याज समयमै भूक्तानी गर्न प्रायः असमर्थ हुने देखिन्छ । त्यस्तै, किस्ता भूक्तानी अवधि एक वर्षसम्म थप गर्नुपर्ने छ । संघका अनुसार समयमै किस्ता भूक्तानी गर्ने सदस्यलाई प्रोत्साहन स्वरुप पाकेको ब्याज रकमको १० प्रतिशत छुट दिने व्यवस्था २०७७ असारसम्म लागू गर्न उपयुक्त हुने छ । ब्याज छुट सम्बन्धी ब्यवस्था बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्ग कर्जा (थोक कर्जा) उपभोग गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई समेत उपलब्ध हुने व्यवस्था लागू गर्नु पर्ने छ । कर्जा/सापट र लगानीको सीमा सदस्यहरुलाई जिविकोपार्जन र व्यवसाय सुचारु गर्नका लागि केही समय सम्म थप रकमको आवश्यकता हुने कारणले देहाय बमोजिमको व्यवस्था गर्नु उपयुक्त हुने संघको राय छ । जसमा एकल ग्राहकले बिना धितो ऋण तथा धितो सुरक्षण ऋण गरी दुबै किसिमको कर्जा एकै पटक लिन पाउने व्यवस्था गर्नुपर्ने छ । त्यस्तै, लघु व्यवसाय वा परियोजना सञ्चालन तथा प्रबद्र्धन गर्न उत्प्रेरित गर्न स्वीकारयोग्य धितो सुरक्षण लिई खुद्रा कर्जा कारोवार गर्ने लघुवित्त संस्थाले अघिल्लो त्रैमासको प्राथमिक पुँजीको बढीमा ५ प्रतिशतभन्दा बढी नहुने गरी प्रति ऋणी सदस्य बढीमा २५ लाख रुपैयाँसम्म लघुकर्जा प्रवाह गर्ने व्यवस्था ल्याउन सुझाव छ । साथै, हालको असहज परिस्थितिका कारण खराब कर्जाको मात्रा बढ्न गई व्यवसायको उच्च जोखिमलाई केही हदसम्म कम गर्न धितो लिई प्रवाह गरिने कर्जा कुल कर्जाको बढीमा दुई तिहाई भन्दा बढी नहुने व्यवस्था संघको माग छ । तरलता व्यवस्थापन लघुवित्त संघले व्यवसाय संचालन तथा विस्तारका लागि संस्थामा उपलब्ध कोषहरुको उच्चतम उपयोग गरी तरलता व्यवस्थापन गर्न सरकारलाई विभिन्न सुझावहरु दिएको छ । पहिलो, अनिवार्य नगद मौज्दात कुल निक्षेप दायित्वको ०.२० प्रतिशत कायम गर्नुपर्ने छ । दोश्रो, सर्वसाधारणको समेत निक्षेप संकलन गर्ने लघुवित्त संस्थाको हकमा अनिवार्य नगद मौज्दात १.५० प्रतिशत कायम गराउन संघको सुझाव छ । अर्को, प्रत्येक वर्ष कर्मचारीको कुल तलब भत्ताको ३ प्रतिशत रकम तालीम तथा वृत्ति विकासमा खर्च गर्नुपर्ने व्यवस्था हाललाई स्थगित गराउन सुझाव दिएको छ । लगानीको स्रोत परिचालन तथा लागत कम गर्ने यस सम्बन्धमा लघुवित्त संस्थाहरुले भोग्दै आएको लगानी योग्य स्रोतको अपर्याप्तता तथा कोषको उच्च लागत कम गर्नका लागि विभिन्न व्यवस्था गर्नु पर्ने देखिन्छ । एक, विशेष लघुवित्त कोष स्थापना गर्नेः हालको विषम परिस्थितिका कारण लघुवित्त संस्थाहरुमा पर्न सक्ने अल्पकालिन तथा दिर्घकालिन असरलाई मध्यनजर गर्दै एउटा विशेष कोषको व्यवस्था गर्न उपयुक्त हुनेछ । यस प्रकारको कोष अन्य प्रयोजनका अतिरिक्त विभिन्न कारणले समस्याग्रस्त हुन पुगेका संस्थाहरुलाई उद्धार गर्न सहायक सिद्ध हुने र कोषको व्यवस्था विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहुलियतपूर्ण ऋणबाट समेत गर्न सकिने देखिएको । संघले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जालाई एउटा छुट्टै सेवाको रुपमा प्रवाह गर्ने र सो सेवामा न्युनतम ब्याज दर (सबै प्रकारका कर्जाहरुमा कायम मध्ये सबभन्दा कम दर) वा बेस रेट बमोजिमको दर कायम गर्नु पर्ने सुझाव दिएको छ । त्यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कूल कर्जाको ३ प्रतिशत सम्मको रकम कृषि कर्जाको रुपमा लघुवित्त संस्थाहरु मार्फत प्रवाह गर्नुपर्ने छ । उक्त संस्थाहरुले विपन्न वर्ग कर्जा अन्तर्गत ५ प्रतिशत लगानी गर्नुपर्ने हालको व्यवस्थामा ती संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गरेको थोक कर्जालाई मात्र गणना गर्न पाउने व्यवस्था गर्नु पर्ने संघको सुझाव रहेको छ । कार्यक्रम संचालन तथा लेखा विधिमा परिमार्जन गर्ने कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गरी केही समयसम्म समुहगत कारोवार गर्न सम्भव नहुने तथा ब्याज आम्दानी नियमित नहुने हुँदा हालको विषम परिस्थितिको प्रभाव सामान्य नभएसम्मका लागि विभिन्न व्यवस्था गर्नु उपयुक्त हुनेछ । यसको लागि कर्जा तथा बचत लगायत सञ्चालन सम्बन्धी क्रियाकलाप तथा कारोवार व्यक्तिगत रुपमा गर्ने व्यवस्था गर्नुपर्ने छ । त्यस्तै, ब्याज आम्दानी पाकेको आधारमा लेखाँकन गर्ने । तर यसरी लेखाङ्कन गरिने आम्दानी रकम कर्जा रकम पूर्ण रुपमा चुक्ता नहुञ्जेल बाँडफाँड नगरी छुट्टै कोषमा राख्नु पर्ने संघको सझाव रहेको छ । विविध व्यवस्था हालको विषम परिस्थितिका कारण लघुवित्त संस्थालाई पर्ने समस्याका सम्बन्धमा एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोवार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा विक्री, बन्द वा स्थानान्तरण गर्न सक्ने समय सीमा बढाई २०७८ असार मसान्तसम्म कायम गर्नुपर्ने छ । त्यस्तै, वित्तीय विवरणमा पर्न गएको नकारात्मक असरले पुँजीकोष सम्बन्धी निर्देशनहरुको पालना गर्न नसक्ने लघुवित्त वित्तीय संस्थाहरुलाई निश्चित समय सम्म अनुपालना (कम्प्लायन्स) सम्बन्धीे कारवाही नहुने व्यवस्था गर्न संघको सुझाव रहेको छ । साथै, नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध हुने सबै किसिमका सहुलियत सम्बन्धी व्यवस्थाहरुमा लघुवित्त वित्तीय संस्थाहरुलाई पनि समेट्न उपयुक्त हुने संघले सरकारलाई सुझाव दिएको छ ।