विकासन्युज

साना कर्जाको व्याज ३% मा झारौं, तलवमा ३०% अनुदान दिऊँ

कोरोना महामारीको कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धि १ देखि ३ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान हो । त्यो पनि नहोला जस्तो छ । यो वर्ष मात्र होइन, आगामी दुई वर्षसम्ममा आर्थिक वृद्धि ३ प्रतिशतभन्दा माथि जान सक्दैन । पर्यटन क्षेत्रले ८० प्रतिशत आम्दानी पनि गुमाउदै छ । त्यस्तै, यो क्षेत्रले ८० प्रतिशत रोजगारी पनि गुमाउदै छ । उद्योग क्षेत्रले ६० प्रतिशतले आम्दानी गुमाउदैछ । औपचारिक क्षेत्रबाट करिव १२ लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान छ । निजी क्षेत्रले श्रमिकलाई मासिक औषतमा २० हजार रुपैयाँ तलव दिने गरेको एक सर्भेले देखाएको छ । यो राम्रो रकम हो । अब निजी क्षेत्रले यति तलव दिन सक्दैन । सरकार, रोजगारदाता र श्रमिकबीच मिलेर काम गर्नुपर्छ । सरकारले २० देखि ३० प्रतिशत तलव अनुदान दिनुपर्छ । त्यसको लागि सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गर्नुपर्छ । र, श्रमिकबाट १ प्रतिशत कर सबैले तिर्नुपर्छ । अनौपचारिक क्षेत्रमा ४४ लाख मानिस सक्रिय छन् । अनौपचारिक क्षेत्रमा कार्यरत मध्ये करिव २० लाखलाई राहात जरुरी छ । उनीहरुलाई मासिक ६ अर्बको राहात आवश्यक छ । राहातमा स्थानीय तहको पैसा सकिएको छ । अब प्रदेश र केन्द्र सरकारले पैसा खर्च गर्नुपर्ने देखिएको छ । तरलता सहज बनाउन राष्ट्र बैंकले लचिलौ मौद्रिक नीति लिनुपर्छ । ठूला उद्योगहरुलाई चालु पुँजी (वर्किङ क्यापिटल) बढाईदिनुपर्छ । पुर्नकर्जा कोष १०० अर्ब बनाउने राष्ट्र बैंक तयारी छ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने घरेलु तथा साना उद्योग हुन् । यो क्षेत्रले करिब ३०० अर्ब रुपैयाँ कर्जा उपभोग गरेको छ । उनीहरुलाई ३ प्रतिशत व्याजमा कर्जा दिनुपर्छ । यसरी राहात दिनको लागि तत्काल १०० अर्ब रुपैयाँ जुटाउनुपर्छ । खराब अवस्थामा २०० खर्ब रुपैयाँ आवश्यक हुन्छ । थप स्रोत जुटाउनको लागि अहिले दीर्घकालिन योजना र नयाँ योजना बन्द बन्द गर्नु राम्रो हुन्छ । सम्पन्न हुने योजनाहरु मात्र अगाडि बढाऔं । यसबाट १०० अर्ब रुपैयाँ बचाउन सकिन्छ । त्यस्तै चालु बजेट अन्तरगतको सार्वजनिक खर्चबाट १०० अर्ब रुपैयाँ बचाउन सकिन्छ । यतिबेला सरकारको फोकस राहात वितरण, स्वास्थ्य र शिक्षामा हुनुपर्छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा शंकर शर्माले सीएनआईले आयोजना गरेको वेविनारमा व्यक्ति विचारको सार)

भारत र चीनसँग सम्बन्ध सुधार गरौं, धेरै लगानी आउँछः डा. भट्टराई

फाइल तस्बीर काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमणको कारण थला परेको नेपाली अर्थतन्त्र उकास्न लगानीको समस्या नहुने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको बेविनारमा सहभागी हुँदै डा. भट्टराईले भारत र चीनसँग सम्बन्ध सुमधुर बनाउन सकेन आपूर्ति प्रणाली ध्वस्त भएका कारण लगानीको नयाँ गन्तव्य खोजी गर्दै गरेको अवस्थामा नेपाल एक उपयुक्त स्थान हुन सक्ने बताए । ‘१० वर्षअघि नै मैले भारतसँग विप्पा सम्झौता गरेको थिए, यस्तो सम्झौता चीनसँग पनि गर्नुपर्छ, अरु देशहरुसँग पनि गर्नुपर्छ, छिमेकीसँग अनावश्यक पाखुरा सुर्केर निहूँ खोज्नु हुँदैन, सम्बन्ध सुमधुर बनाउने हो भने भारत र चीनबाट ठूलो परिमाणमा लगानी आउँछ, यस्तो लगानीलाई नेपालका ठूला उद्योगी व्यवसायीसँग समन्वय गरेर ठूला उद्योग प्रतिष्ठान स्थापना गर्न सकिन्छ,’ डा. भट्टराईले भने । उनले बैदेशिक रोजगारीबाट फर्कने युवालाई कोरोनाको सम्भावहकको रुपमा नहेरी ज्ञान र शीप भएको साधनको रुपमा हेर्नुपर्ने बताए । यसरी फर्केका युवालाई आवश्यक तालिम तथा पुँजी र प्रविधि प्रदान गर्न सके उनीहरु रोजगारदाता बनेर अरुलाई रोजगारी दिन सक्ने डा. भट्टराईको भनाइ छ । यस्तै, उनले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकरण गरेर ठूलो जनशक्तिलाई रोजगारी दिन सक्ने बताए । कोरोना सन्त्रासका कारण अहिले २५ देखि ३० लाख जनशक्तिले रोजगारी गुमाएको अवस्थामा उनीहरुलाई पुनः रोजगारी प्रदान गर्नु नै सबैभन्दा चुनौतिपूर्ण कार्य भएको उनको भनाइ छ । कृषिपछि सबैभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र लघु, साना तथा मझौला उद्यम व्यवसाय भएको डा. भट्टराईले बताए । सस्तो दरमा पुँजी उपलब्ध गराउन सके अर्थतन्त्रको लाइफ लाइन मानिने यो क्षेत्रले फेरि पनि नेपाली अर्थतन्त्रलाई माथि उकास्ने उनको भनाइ छ । अहिलेको संकटमा सरकारले उद्योग प्रतिष्ठान तथा सर्वसाधारणको लागि राहत प्याकेज नल्याएकोप्रति पनि डा. भट्टराईले असन्तुष्टि जनाए । ‘धनी तथा गरिब सबै प्रकारका देशले विभिन्न प्रकारका राहत प्याकेज ल्याएका छन्, नेपालमा पनि निजी क्षेत्रले जीडीपीको ५ प्रतिशत रकम बराबरको राहत प्याकेज ल्याउनु पर्छ भनिरहेको छ, म आफै त यो ५ प्रतिशतले पनि पुग्दैन भन्ने मान्यता राख्छु, तर सरकारले राहत प्याकेज ल्याउँछ भन्नेमा म आशावान छैन,’ उनले भने । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम र प्रधानमन्त्री केपी शर्मा ओलीले सो नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अभिव्यक्त गरेका धारणाको कारण आफू आशावान हुन नसकेको उनको प्रष्टोक्ति छ । डा. भट्टराईले अवको अर्थ नीति मानवलाई केन्द्रमा राखेर बनाउनु पर्ने धारणा पनि राखे । अहिलेसम्मका नीतिले व्यक्ति र बजारलाई केन्द्रमा राखेको भन्दै उनले अबका दिनमा अर्थनीतिको अवधारणा परिवर्तन अपरिहार्य भएको धारणा राखेका हुन् । कोरोना संन्त्रासको कारण नेपालको अर्थतन्त्रमा साढे ४ खर्ब रुपैयाँ जतिको नोक्सानी भएको तथ्य सार्वजनिक भएको भन्दै उनले संकटमा फसेको अर्थतन्त्र उकास्नको लागि सरकारले विशेष कार्यक्रम नै ल्याउनु पर्ने बताए । राहत प्याकेज ल्याउनको लागि सरकारले रकम नभएको बताइरहेको बेला डा. भट्टराईले त्यसको विकल्प पनि पेश गरे । ‘अहिले हाम्रो जीडीपी र ऋण अनुपात ३० प्रतिशत छ, यसलाई बढाएर ६० प्रतिशतसम्म पुर्याउन सकिन्छ, त्यसैले सरकारले आन्तरिक तथा वाह्य ऋण लिएर पनि राहत प्याकेज ल्याउन सक्छ,’ उनले भने । डा. भट्टराईले शिक्षा र स्वास्थ्यमा राज्यले नै जिम्मेवारी लिनुपर्ने पनि बताए । निजी क्षेत्रले शिक्षा र स्वास्थ्यमा सामाजिक उत्तरदायित्वको रुपमा नाफारहित ढंगले मात्रै सहभागिता जनाउन सक्ने उनको भनाइ छ । उनले संकटमा परेका नेपालीलाई नगद राहत दिन आवश्यक रहेको धारणा पनि राखे । भारतले जनधन योजना, आधार कार्ड, मोबाइल जस्ता कार्यक्रम संचालन गरेर राहत दिनुपर्ने वर्गलाई सोझै नगद दिएको दृष्टान्त पेश गर्दै उनले राम्रो काम जहाँबाट सिके पनि हुने बताए । कुनै उपयुक्त विकल्प तयार पारेर नगद राहत दिनुपर्ने उनको भनाइ छ । आर्थिक तथा सामाजिक सुधारको लागि राजनीतिक र प्रशासनिक सुधार पहिलो शर्त भएको डा. भट्टराईको भनाइ छ । उनले सार्वजनिक खरीद ऐन जस्ता ऐन कानुन सुधार गरेर प्रभावकारी रुपमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

छिमेक लघुवित्तले सिद्धार्थ इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्थाले संस्थामा आवद्ध सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड-१९) बीमा गराएको छ । संस्थाले सिद्धार्थ इन्स्योरेन्सबाट आफ्ना एक हजार एक सय २० जना कर्मचारीहरुको कोरोना बीमा गराएको हो । संस्थाले प्रत्येक कर्मचारीको एक लाख रुपैयाँ बराबरको कोरोना जोखिम बेहोर्ने गरी बीमा गराएको हो । संस्थाले गत बैशाख १९ गतेदेखि लागू हुने गरी सम्पूर्ण कर्मचारीको कोरोना बीमा गराएको जानकारी दिएको छ ।

पिसिआर रिपोर्ट पर्खँदै गुल्मीकाे मृतकका गाउँले

काठमाडाैं । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा आएका ३० जनाको पिसिआर रिपोर्टका आधारमा थप रणनीति तय गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय शिक्षक उनलाई कोरोना लागेको हो वा होइन भन्नेबारे गाउँमा अन्योल छ । मृतकको स्वाब संकलनमा अस्पतालले गम्भीर त्रुटि गरेको र दोस्रो पटक स्वाब लिइएको स्थानीयवासीको आरोप छ । गाउँमा शंकास्पद मुलकबाट २१ दिनयता कोही नआएको र आएका अन्य वडाका मानिस क्वारेन्टाइनमा बसेकाले कोरोना संक्रमणबारे अन्योल भएको स्थानीयवासी भरत चन्दले बताए । स्थानीयवासी प्रेम केसीका अनुसार गाउँलेहरु मृतकको दोस्रो पटकको स्वाब र उनीसँ प्रत्यक्ष सम्पर्कमा जोडिएका ३० जनाको स्वाब रिपोर्ट पर्खेर बसेका छन् । कोरोना संक्रमण पुष्टि हुँदाको दिन स्थानीयवासी धेरै त्रसित भए पनि अहिले त्रास हराउँदै गएको चन्दले बताए । परीक्षणको दायरा बढाइने स्वास्थ्य कार्यालयका अनुसार गाउँका ३० जनाको पिसिआर रिपोर्ट आज साँझसम्म आउँदैछ । स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिको मोबाइलमा समेत रिपोर्टको म्यासेज आउनेछ । उक्त रिपोर्टका आधारमा गाउँपालिकाले परीक्षणको दायरा बढाउने प्रमुख प्रशासकीय अधिृकत सुरेश भण्डारीले बताए । ‘कहाँ र कोबाट कोरोना संक्रमण भयो भन्नेबारे नै अन्योलमा छौं’, उनले भने, ‘स्थानीयको पनि रिपोर्ट पोजेटिभ आएमा परीक्षणको दायरा बढाउने तयारीमा छौँ ।’ त्यसका लागि आवश्यक किटको व्यवस्था गर्ने आश्वासन प्रदेश र संघीय सरकारबाट आएकाले किटको अभाव नहुने उनले बताए । अहिले गाउँपालिकालाई पूर्ण रुपमा बन्द गरिएको छ । मानिसलाई घरबाहिर निस्कन तथा हिँडडुल गर्नलाई आजदेखि पूर्णरुपमा प्रतिबन्ध लगाइएको उनले जानकारी दिए । रासस

८० प्रतिशत बैंकहरू बन्द हुन सक्ने विनोद चौधरीको चेतावनी

काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । ऋणिले बैंकलाई तिर्नु पर्ने कर्जाको व्याज तथा किस्ता तिर्ने समय पटक पटक पर सार्दै जाने, ऋणिले तिर्नु पर्ने व्याज सरकारले घटाई दिने तर सरकारले बैंकहरुलाई छुट दिएको व्याज बराबर अनुदान नदिने हो भने ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने वा रुग्ण हुने निश्चित भएको उनकाे भनाइ छ । ‘बैंकहरु पनि ठूलो समस्यामा पर्नेवाला छन् । उनीहरुको सबै ग्राहक आर्थिक संकटमा परेका छन् । ८० प्रतिशत बैंकहरु समस्यामा पर्न सक्छन् । बन्द हुन सक्छन’ उनले भने । उनी विहीबार साँझ नेपाल उद्योग परिसंघले आयोजना गरेको वेविनार सम्मेलनमा बोल्दै थिए । उनले दुई दशकअघि सरकारी बैंक समस्यामा परे झै अब निजी क्षेत्रका बैंकहरु समस्यामा पर्ने जोखिम औल्याए । ‘पहिला सरकारी बैंकहरु गम्भिर संकटमा परेकाे थिए। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक डुब्ने अवस्थामा पुगेपछि विश्व बैंक र एशियाली विकास बैंकबाट ऋण लिएर पुनउत्थान गर्नु परेको थियो । अब निजी क्षेत्रका बैंकहरु पनि त्यहि अवस्थामा पुग्न सक्छन्’ उनले भने । उनी निजी क्षेत्रकाे लगानीमा खुलेकाे सबैभन्दा पुरानाे र लिडिङ बैंक नविल बैंककाे ५१ प्रतिशत भन्दा बढी सेयरका मालिक पनि हुन् । उनले वित्तीय क्षेत्र गम्भिर अवस्थामा पुगिसकेको बताए । बैंकहरुले यसअघि देखाएको नाफा नगद प्रवाहमा आधारित नभएकोले कागजी नाफा देखाउनेहरु पहिला समस्यामा पर्ने उनको भनाई छ । ‘बैंकका सबै ग्राहक संकटमा परेका छन् । यो अवस्थामा बैंकहरुले जोखिम मुक्त हुनै सक्दैनन्’, उनले भने । उद्याेगि व्यवासायी संकटमा परेकाे र यति बेला नै व्यवसायीलाई  अप्ठ्याराेमा पार्ने काम भएकाे उनकाे भनाइ थियाे । विम्बात्मक रूपमा उनले भने ‘उद्योग भनेको दुध दिने गाई जस्तै हाे तर अहिले गाई विरामी परि हस्पिटल राखिएको छ । यस्तो बेलामा दुध दिएन भनेर गाईलाई यातना दिनु मूर्खतापूर्ण काम हाे ।’ उत्पादन क्षेत्र, निर्माण क्षेत्र सबै समस्यामा रहेको उनले बताए । निर्माण क्षेत्र पुरै बन्द छन् । उनीहरुलाई समस्याको आधारमा वर्गिकरण गर्नुपर्ने र राहात दिनुपर्ने उनले बताए । ‘कृषिमा पनि समस्या छ । उत्पादन लागत ३० प्रतिशत बढी छ । र, बजारीकरणमा ठूलो समस्या छ । देशभर उत्पादित तरकारीहरु गार्भेजमा परिणत भएका छन्’ उनले भने ।

आयल निगमका १४६ कर्मचारीको पिसिआर परीक्षण

काठमाडाैं । नेपाल आयल निगममा कार्यरत १४६ कर्मचारीको कोरोना परीक्षण गरिएको छ। निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत अपरेटर कर्मचारीको पिसिआर विधिबाट परीक्षण गरिएको निगमले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले जानकारी दिए । उनका अनुसार विभिन्न नाका हुँदै पेट्रोलियम पदार्थ बोक्ने ट्रकका चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा आएर फ्रन्टलाइनमा कार्यरत कर्मचारीको परीक्षण गरिएको हो । आज बिहीबार काठमाडौंबाट शुरु भएको परीक्षण सातै प्रादेशिक कार्यालयमा छिट्टै सञ्चालन गरिनेछ । कर्मचारीको मनोबल वृद्धि गर्न निगम सञ्चालक समिति सदस्यको समेत परीक्षण गरिएको उनले जानकारी दिए । गत वैशाख अन्तिम साता बसेको निगम सञ्चालक समितिको बैठकको निर्णयानुसार निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारी सहित) को एक लाख रूपैयाँ बराबरको कोरोना बीमा गरिसकिएको छ ।

बुटवलमा स्थानीयले उत्पादन गरेका तरकारी तथा फलफूल मात्रै बेच्न पाइने

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारीलाई मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको छ । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पु¥याउन पाउने जनाउँदै बुटवलले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । बुटवलका १९ वटै वडामा उत्पादन हुने तरकारी तथा फलफूल र बुटवलसंँग जोडिएका छिमेकका पालिकामा उत्पादन भएका र त्यहाँका पालिकाबाट ताजा तरकारीको प्रमाणपत्र लिएर किसानले नै उपभोक्ताका घरटोलसम्म बिक्रीवितरण गर्न पाउने नियम बनाइएको छ । स्थानीय किसानलाई हौसला र उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले उपमहानगरले यस्तो कामको थालनी गरेको नगर प्रमुख शिवराज सुवेदीले बताए । टोलटोलमा असुरक्षित तरिकाले जोकोही पनि अब हिंँड्न पाउने छैनन् । आफूले उत्पादन गरेको र सम्बन्धित पालिकाले प्रमाणीकरण गरेका ताजा उत्पादनलाई मात्रै सामाजिक दूरी कायम गराउँदै बिक्रवितरण गर्ने व्यवस्था गर्दा त्यसको सकारात्मक लाभ किसान र उपभोक्ता दुवैलाई पुग्ने प्रमुख सुवेदीको विश्वास छ । उपभोक्ताको जीउधन र स्वास्थ्यलाई ध्यानमा राखी गरिएको यसखालको निर्णय सकारात्मक रहेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्च प्रदेश ५ नं का अध्यक्ष तेजकुमार पाठकले कोरोना भाइरसको महामारीका बेला सुरक्षाको उपाय अपनाउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथिमकतामा राख्नु उचित भएको विचार राखे । उपमहानगरभित्रको भए सम्बन्धित वडा कार्यालयले तथा छिमेकका पालिकाको भए त्यहाँको पालिकाले जाँच गरेर योग्य छ भनी दिएको सिफारिसशका आधारमा मात्र बुटवलका टोलटोल र उपभोक्ताका घरघरमा डुलाएर बिहान ७ देखि १० बजेसम्म बिक्रीवितरण गर्न पाइने नियम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । बुटवलका किसानलाई पहिलो प्राथिमकतामा राखिए पनि सार्वजनिक सूचनाले अरु कुनै पालिकाले बिक्रीवितरण गर्न नपाउने भन्ने नियम नबनाइएको बरु सबैलाई उपभोक्ताको स्वास्थ्यमा थप जिम्मेवार एवम् संवेदनशील बनाउने काम गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । रासस

सेञ्चुरी बैंकले सबै कर्मचारीको कोरोना बीमा गराउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।