विकासन्युज

निसर्ग अस्पतालले भारतबाट उद्धार गरिएका नेपालीलाई खाना खुवाउँदै

काठमाडौं । धनगढीकाे निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले भारतबाट उद्धार गरिएका नेपालीहरुलाई खाना खुवाउने काम सुरु गरेको छ । भारतबाट उद्धार गरी धनगढी उप महानगरपालिका २ भन्सार स्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्सको खाना खुवाउने अभियान अन्तर्गत निसर्ग अस्पतालले खाना खुवाउन शुरुवात गरेको हो । पहिलो दिन शुक्रवार साँझ सो विद्यालयमा राखिएका ५ सय भन्दा बढीलाई रोयल कोलावोरेटिभ्स सञ्चालन गरेको दानापानी अभियान अन्तर्गत खाना खुवाईएको छ । अव दैनिक रुपमा भारतबाट आउने नेपालीहरुलाई निसर्ग हस्पिटलले खाना खुवाउने अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । दैनिक सात सय जनालाई खाद्यान्न लगायतको सवै व्यवस्थापन निसर्ग हस्पिटलले गरिरहेको छ । खाना पकाउने र खुवाउने कामको जिम्मेवारी आफुहरुले लिएको रोयल कोलाबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिए ।

‘डिशहोममा डीलर दाईको डिस्काउन्ट’ याेजना अन्तर्गत १० जना ग्राहकलाई १/१ लाख उपहार 

काठमाडौं । डिशहोमले ‘डिशहोममा डीलर दाईको डिसकाउट’ योजना अन्तरर्गत चैत ७ गतेदेखि २०७७ साल जेठ ८ गतेसम्म फाण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर ‘मेगा लकी ड्र’सम्पन्न गरेको छ । याे याेजना गत जेठ ९ गते शुक्रबार साँझ ५ बजे शोकेस च्यानल नम्बर १०० बाट ‘लाइभ लकी ड्र’ प्रसारण गरिको थियो । उक्त याेजनाका १० जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति १/१ लाख नगद प्रदान गर्ने भएको छ । मेगा लकी ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नं. ७१९१३३००७९५, ०२५१९२२९२३४, ७१९०३३९३८००, ०२५५८११४७०९, ७१९१२४०१५११, ७१९०७४७९५०६, ७१९१३३५५०९६४, ७१९०८१६६५७३, ७१९०५८५१५८१, ०२५१९२४५७५२ लाई विजेता घोषणा गरिएको छ । ‘लाइभ लकी ड्र’ २०७७ साल जेठ १६ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । २०७७ साल जेठ ९ गते शुक्रबार देखि जेठ १५ गते बिहिबारसम्म कोष स्थानान्तरणबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेठ १६ गतेको ‘लाइभ लकी ड्र’ मा समावेश गरिने छ ।

जीवित भगवानहरू

सुरक्षित ठाउँहरु असुरक्षित भएका छन् असुरक्षित ठाउँहरु सुरक्षित भएका छन् रोवर्ट सरी दौडिरहने मान्छेहरु दुलही सरी सिंगारिरहने सहरहरु आजको दैनिकीमा परेका छैनन् । सपनाको सहरहरुमा सपना देख्न छोडिएको छ मान्छे, मान्छेको भेदभावका ग्रेटवालहरु एक एक गरी क्षण भरमै ढलेका छन् । पैसाले सुख अनि सुखले खुसी किन्न नसकेर निरीह भएको छ जोडिएका सम्बन्धहरु तोडिएका छन् तोडिएका सम्बन्धहरु जोडिएका छन् । विज्ञानका अनेकौं चमत्कारहरु आज टुलुटुलु हेरिरहेका छन् अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु आज व्यर्थ व्यर्थ लाग्दै छन् मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा आज भगवानहरू एक्लै छन् मान्छेहरुको स्वर सुनिएको छैन लेखक मान्छेलाई एकपटक थचक्कै थचारिदिएको छ मान्छेको अहंमतालाई सिसा सरी चकनाचुर पारिदिएको छ अहंमताका कठोर महलहरु तासको घर सरी ढलाइदिएको छ मान्छेले, मान्छे मार्ने कला सिकेको रहेछ मान्छेले, मान्छे बचाउने कला सिक्न बाँकी रहेछ । प्रकृतिको सानो अंश सिक्दैमा मान्छे रमाएको रहेछ मान्छे मृगतृष्णा सरह टाढा टाढा भागिरहेको रहेछ । विज्ञानका अनेकौं चमत्कारहरु आज टुलुटुलु हेरिरहेका छन् अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु आज व्यर्थ व्यर्थ लाग्दै छन् मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा आज भगवानहरू एक्लै छन् मान्छेहरुको स्वर सुनिएको छैन तर पनि मान्छेहरु यतिबेला भगवानकै उपासना गरिरहेका छन् भगवानकै साक्षात्कारमा रमाइरहेका छन् । मात्र फरक ठाउँमा अनि फरक परिवेशमा निर्जीव भगवान होइन जीवित भगवानकाे । मान्छेको जीवनसंग नजोडिएको विज्ञानको के काम ? मान्छेको जीवनसंग नजोडिएको अध्यात्मको के काम ? विज्ञान र अध्यात्मको नयाँ अध्याय खोज्नु पर्ने भएको छ सफलताको इतिहास फरक रंगले लेखिनु पर्ने भएको छ छापामा नछाउने ती मान्छेहरु प्रतिमामा नअटाउने ती मान्छेहरु खोजी खोजी पुज्नु पर्ने भएको छ मान्छेहरु होइनन्, भगवानहरू हुन् उनीहरु जीवित भगवानहरू हुन् । मान्छेलाई मन मस्तिष्कमा अटाइन्छ भगवानलाई, जीवित भगवानलाई आस्था र विश्वासको धरोहरलाई जीवन र मृत्युको साक्षी र पहरेदारलाई सिधै मन मुटुमा सजाउनु पर्ने भएको छ निर्जीव भगवानको खोजमा अनवरत लम्किने पाइलाहरु जीवित भगवानहरुका खातिर रोकिनु पर्ने भएको छ श्रद्धाका दुई शब्दहरु चढाउँदै समर्पणका दुई हातले नमन गर्दै हौसलाका शिखरहरु अनि आत्मविश्वासका सगरमाथाहरु उक्लन सहयोगी बन्नु परेको छ विजयको झन्डा छिटो भन्दा छिटो गाड्नु परेको छ विजयको बिगुल छिटो भन्दा छिटो फुक्नु परेको छ ।  ख्वप इन्जिनियरिङ कलेज, भक्तपुर । [email protected]

सिटिजन्स बैंकले गर्यो आफ्नो कर्मचारीको कोभिड–१९ बीमा

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा सिटिजन्स बैंकले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको कोभिड—१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ । बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ । सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा रु ७लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख गरि हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ । विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्था यस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयाश गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको ए।टी।एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

२ सय ७ जनाको शव विदेशमा, ५८ शवको अन्त्येष्टिका लागि परिवारबाट स्वीकृति

काठमाडौं । विदेशमा हालसम्म मृत्यु भएका २ सय ७ शवहरूमा ५८ शवलाई गन्तव्य मुलुकमा अन्त्येष्टिका लागि परिवारले स्वीकृति दिएका छन् । कोरोना भाइरस फैलिनु अगाडी १ सय ९७ शव रहेका थिए भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ । श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा गत वैशाखमा बसेको बैठकले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको शव गन्तव्य मुलुकमा नै अन्त्येष्टि गर्न दिने परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने भनिएको छ । लामो समयसम्म लकडाउनका कारण शव ल्याउन नसकेको बोर्डले जनाएको छ । वैदेशिक राेजगारीमा रहेका युएइमा ५ जना, कतारमा १ जना, साउदीमा ३ जना, टर्कीमा १ जनामा गरि  १० जनामा काेराेनाबाट मृत्यु भएकाे छ भने करिब ७ हजारजनामा काेराेना पुष्टि भएकाे छ ।

बन्दाबन्दीले खानेपानी आयोजना ठप्प

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यहाँका खानेपानी आयोजना ठप्प हुँदा स्थानीयवासी प्रभावित भएका छन् । बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा जिल्लाको दक्षिण भेगमा पर्ने गोठार्दी डुकुडाँडा खानेपानी आयोजना ठप्प भएका छन् । आयोजना ठप्प हुँदा ऋषिङगाउँपालिका–६ करिब १ हजार बासिन्दा प्रभावित बनेका हुन् । बन्दाबन्दीले प्राविधिक आउन नसक्दा पाइप विस्तार गरी घर घरमा धारा जडान गर्ने कार्य रोकिएपछि स्थानीयवासी चिन्तित भएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । बस्तीदेखि तल रहेको घिरोदी खोल्सीको मुहानको पानी करिब ५ सय मिटर उचाइमा लिफ्टिङ गरी रिजर्भ ट्याङ्कीमा पानी जम्मा गर्ने कार्य सम्पन्न गरिएको छ । उनले भने, “बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा मुख्य ट्याङ्कीबाट घर घरमा धारा जडान गर्ने कार्य रोकिएपछि स्थानीयवासी ट्याङ्कीको पानी हेरेर बस्न बाध्य छन् ।” उक्त योजनाबाट त्यस क्षेत्रका १ सय ९० घरधुरीका करिब एक हजार बासिन्दा लाभान्वित हुने बताइएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका त्यस क्षेत्रका बासिन्दा जतिसक्दो चाँडो आफ्नो घरमा पानी आएको हेर्ने प्रतीक्षामा छन् । ऋषिङ गाउँपालिका–६ का रामडाँडा, गोठार्दी, जैसीहटिया, डुकुडाँडा र इमिर क्षेत्रका बासिन्दाको घर घरमा खानेपानी पुर्याउने लक्ष्यअनुरुप योजना थालिएको ऋषिङ गाउँपालिका–६ का वडाध्यक्ष भक्तबहादुर आलेले बताए । उक्त वडाका करिब ५०/६० घरमा पानी वितरण गरिसकिएको छ । उनले भने, “पानीको मुहानदेखि रिजर्भ ट्याङ्कीसम्म पानी ल्याउन सफल भए पनि ट्याङ्कीबाट घर घरमा धारा जडान गर्ने कार्य रोकिएको छ ।” सङ्घीय सरकारको ३५ लाख, गण्डकी प्रदेश सरकारको २५ लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ र स्थानीयवासीको ४० प्रतिशत जनसहभागितामा उक्त आयोजना सम्पन्न गर्न लागिएको समितिका अध्यक्ष थापाले जानकारी दिए । सडकबाट करिब आधा किलोमिटर ओरालो दूरीमा बाटो बालुवा, सिमेन्ट, छडलगायत सम्पूर्ण सामग्री स्थानीयवासीले नै बोकेर लिफ्टिङस्थलमा पुर्याएर श्रमदान गरेका थिए । ऋषिङ गाउँपालिका वडा नं ५ का वडाध्यक्षसमेत रहेका थापाले भने, “खानेपानी योजना सम्पन्न गर्न स्थानीयवासीको योगदान सराहनीय छ ।” लामो दूरीबाट पानी बोक्नुपर्ने समस्याको अन्त्य हुने भएपछि त्यस क्षेत्रका स्थानीयवासी हर्षित बने पनि प्राविधिकको अभावमा काम रोकिँदा उनीहरु चिन्तित भएका छन् । पानी लिफ्टिङ गर्नका लागि १७ वटा सोलार प्यानल जडान गरिएको समितिका सचिव दानबहादुर आलेले बताए । त्यसैगरी सोही वडाको ढुङ्गाढेस्थित पहराको पानी लिफ्टिङ कार्यबाट त्यस क्षेत्रका करिब ५० घरधुरी लाभान्वित हुने भएका छन् । साविक भिरकोट–१ र कोटदरबार–८ हालको ऋषिङ–६ मा पर्ने रानाभाट बस्तीमा खानेपानी वितरण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको ८ लाख र अन्य श्रमदान गरी करिब १२ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको बताइएको छ । रासस

पछिल्लो समय ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ८४

काठमाडौं । पछिल्लो समय नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल भरी ५ सय ८४ जना मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । झापा जिल्लाका स्थित झापा गाउँपालिकाका १ जना, बाँकेका नरैनापुरका २७ जना, बैतडी शिवनाथ गाउँपालिकाका ४ जना, बर्दिया बढैयाताल गाउँपालिकामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका हुन् । शनिवार विहानमात्र ६ जिल्लाका ३२ जना मानिसमा कोरोना पुष्टि भएको थियो ।  नेपालमा हालसम्म ४० जिल्लामा ८८ महिला र ५ सय ३ पुरूषमा काेराेना देखिएकाे छ ।

उच्च तहका केही माथि अनुसन्धान जारी : सेना

काठमाडौं । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो । सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठहर्याइ कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो । उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै १ करोड ८५ लाख ४० हजार रुपैयाँ असुलउपर गर्ने निर्णय सुनाएको छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट ४ लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको ३ लाख ६० हजार रुपैयाँ असुलउपर गर्ने फैसला गरेको छ । त्यस्तै हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर्याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी १० हजार रुपैयाँ असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् । सेनाले पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा दण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दायरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ । यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झङ्कर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अनियमिततको आरोप लागेकामाथि अनुसन्धान र छानविन गरिरहेको थाहा भएको छ । सङ्गठनभित्र आर्थिक अनियमितताको अभियोग खेप्नुपर्ने आशङ्का गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसे पनि उनीहरुलाई अनुसन्धान दायरामा ल्याएर छानविन भइरहेको जानकारी प्राप्त भएको छ । रासस