विकासन्युज

व्यापक विरोधपछि सरकार व्याक, कर तिर्ने समयावधि थपिने

काठमाडौं । सरकारले कर तिर्ने समयावधि थप गर्ने भएकाे छ । यसअघि जेठ २५ भित्र कर तिर्नु पर्ने ताकेता गरेपछि त्यसकाे सर्वत्र विराेध भएकाे थियाे । आज नेपाल उद्योग वाणिज्य महासं र नेपाल उद्योग परिसंघको टोलिसगँ अर्थमन्त्रालयमा कर तिर्ने समय बढाउन सहमत भएको बताइएकाे छ । नेपाल उद्योग बाणिज्य महासंका अध्यक्ष भवानी राणाले सरकारले कर तिर्ने समय बढाउन सहमत भएको बताइन्।  ‘हामीले असार मसान्तसम्म कर तिर्ने समय मागेका छौं,  त्यसका लागि आन्तरिक राजस्व कार्यालयले बेलुकासम्म सूचना निकाल्ने भनेको छ,’ उनले भनिन् । व्यबसायीहरुबाट चर्को विरोध भएपछि अर्थ मन्त्रालयले कर तिर्ने अवधि बढाउन लागेको हो । आन्तरिक राजश्व विभागले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सूचना जारी गरेपछि व्यवसायीले लकडाउन जारी रहेको अवस्थामा कर तिर्न नसक्ने भन्दै विरोध गरेका थिए । व्यवसायीहरुको प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग बुधबार बिहान छलफल गरेका थिए । उक्त छलफलमा कर तिर्ने अवधि बढाउन मन्त्रालय तयार भएको हो । नेपाल चेम्बर अफ कर्मशले पत्र मार्फत तत्काल कर तिर्न नसकिने भनेर मन्त्रालयलाई पत्र पठाएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । लकडाउनको समय जेठ ३२ गतेसम्म रहेको तर त्यस अगाडि नै कर बुझाउन भनेपछि व्यबसायीहरुले कर तिर्न नसक्ने बताउदै आएका थिए । आन्तरिक राजश्व विभागले चैत्र मसान्तसम्मको आयकर, अन्तशुल्क र भ्याट विवरण तथा त्यसमा लाग्ने कर तिरी सक्न सूचना जारी गरेको थियो ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

काठमाडौं । मेगा बैंक नेपालले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा वृद्धि हुने मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । सभामा बोल्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अझै बढ्ने बताईन् । उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिईन् । यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सीईओ खुञ्जेलीले जानकारी दिईन् । उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिव ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् । यसै बीच, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ । दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।

सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले आफ्नो विवरण घर मै बसेर हेर्न सक्ने भएका छन् । उनीहरूले इन्स्याेरेन्सकाे मोबाइल एप मार्फत आफ्नो विवरण हेर्न सक्ने भएका हुन् । इन्स्योरेन्सले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा(युजर पाेर्टल) को शुभारम्भ गरेको छ । सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ । साथै, सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, सानिमा एडभाइजर्स पाेर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ । बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर इ-सेवा, खल्ती, कनेक्ट आइपीएस, सेल-पे लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।  

‘तत्काल कर बुझाउने उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको छ, असोजसम्म मिति थप्नुहोस्’

काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघले लकडाउन भई उद्योग व्यवसाय बन्द रहेको बेला सरकारले जेठ २५ को समय सीमा तोकेर कर बुझाउन जारी गरेको उर्दीले उद्योग व्यवसायीको घाटी निमोठ्ने काम भएको टिप्पणी गरेको छ । त्यसैले असारदेखि चार महिना थप गरी असोज मसान्तभित्र कर तिरे पुग्ने गरी कर तिर्ने मिति लम्व्याउन महासंघका अध्यक्ष शिव कट्टेलले माग गरेका छन् । ‘कोभिड-१९ को संक्रमणले मुलुक लकडाउनमा भएका भई उद्योग व्यवसायीहरु सबै थिलथिलो रहेको बेला कर उठाउन सरकारले लिएको दोहोरो नीति गलत छ, अध्यक्ष कट्टेलद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसले उद्योग व्यवयासीको घाँंटी निमोठ्ने काम मात्रै भएको छ ।’ राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकेको सरकारले खर्च धान्न धौधौ भएपछि लकडाउनकै बीचमा कर तिर्न उर्दी जारी गरेको थियो । बजेटमा पर्याप्त राहत प्याकेज नल्याउँदा असन्तुष्टि जनाइरहेका बेला आन्तरिक राजस्व कार्यालयले कर तिर्न मंगलबार सूचना प्रकाशित गरेको थियो । कर उठाउने विषयमा जबरजस्ती नगर्न सरकारलाई व्यवसायिक संघ संस्थाहरुले पनि चेतावनी दिएका छन् । गत चैत ११ बाट सुरु भएको लकडाउन जेठ ३२ सम्म निरन्तर छ । लकडाउनले सबै क्षेत्र ठप्प भएपछि सरकारले फागुन-चैतको कर तिर्ने समय पछि सारेर जेठसम्मका लागि लम्ब्याएको थियो ।

गहुँ आयातमा लगाईएको कृषि सुधार शुल्क संसोधन गर्न मैदा उद्योग संघको माग

काठमाडौं । नेपाल मैदा उद्योग संघले गहुँ आयातमा लगाईएको कृषि सुधार शुुल्क संसोधन गर्न माग गरेको छ । उक्त शुल्कमा परिमार्जन वा संसोधन गरी उद्योगकै नाममा गहुँ आयात गर्दा १ प्रतिशत कृषि सुधार शुल्कमा आयात गर्ने व्यवस्था मिलाउन सरकार समक्ष संघका अध्यक्ष माधवलाल श्रेष्ठले आग्रह गरेका हुन् । साथै, उक्त व्यवस्था मिलाई स्वदेशी मैदा उद्योगहरु रुग्ण हुनबाट बचाई दिन पनि संघले सबै पक्षमा आग्रह गरेको छ । ‘लकडाउनका कारण मैदा उद्योगहरुमा कर्मचारी, श्रमिक, मजदुरका पारिश्रमिक, भाडा, बिधुत महसुल, ढुवानी, कच्चा पदार्थको अभाव, होटल, बेकरी, रेष्टुरेन्ट, मःम पसल आदी बन्द लगाएत समस्याले उद्योगले आफ्नो क्षमताको २५ प्रतिशतको हाराहारीमा मात्र उद्योग संचालन गर्नु पर्ने बाध्यता छ । बैंकहरु आलो पालो गरी हप्ताको २ दिन चल्नु र उद्योगका कर्मचारीहरु आवत जावत गर्न नपाएका कारण देश भरी पठाईएका सामानको पेमेन्ट कलेक्सनमा समस्या आएको छ । उद्योगको चालु पुँजी बजारमा अडकीएको छ भने अर्कोतिर चर्को बैंक ब्याजको मारमा उद्योगहरुछन् । उपभोक्तालाई खाद्यान्न अभाव नहोस भनी लकडाउनको अवधिमा पनि देशभर मैदा आंटा सहज आपूर्ति गर्दै आएको सर्बबिदितै छ ।’- विज्ञप्तिमा भनिएको छ । नेपाल सरकारले कृषि र कृषिमा आधारित उद्योग संरक्षणको लागि गरिएका सकारात्मक कदमकोे स्वागत गरेको बताउँदै संघले- ‘मैदा उद्योग स्वदेशमा आत्मनिर्भर भएको कृषि उद्योग हो । तर यसरी स्वदेशमा आत्मनिर्भर बनेको मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाई ९ प्रतिशत कायम गरिनुले ठूलो समस्या पैदा गरिदिएको छ । बजेट भाषणमा समेत तयारी वस्तु र कच्चा वस्तुको आयातमा एक तह फरक हुन्छ भनिएकोमा यो निर्णय नेपाल सरकारको नीति विपरित हुन पुगेको छ ।’- प्रतिक्रिया दिएको छ । उद्योगको नाममा गहुँ आयात गर्दा १ प्रतिशत कृषि सुधार शुल्क भएमा मैदा उद्योगलाई राहत मिल्ने संघले जनाएको छ । यसको लागि संघले विगतदेखिनै नेपाल सरकार समक्ष संघको तर्फबाट बारम्बार अनुरोध गर्दै आएका जनाएको छ । १) मैदा (पिठो) मा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, गहुँ आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क, आँटा र सुजिमा मुल्य अभिवृद्धि कर यसरी कर माथि करको भार थपिदै जांदा मैदा उद्योग रुग्ण बनको छ । स्वदेशी उत्पादनमा मैदा मात्र यस्तो खाद्य वस्तु हो जुन नेपालमा आत्मनिर्भर भई विदेशमा निर्यात गर्ने सम्भाबना बोकेको छ, अतः सरकारले निर्यातमा सहज वातावरण बनाई दिनु पर्छ । २) नेपाली गहुँले वर्षको ३/४ महिना मात्र पुग्ने हुँदा बाँकी समय पुरै आयात गर्नु पर्ने बाध्यता छ । मैदा आयात गर्नु भन्दा गहुँ आयात हुन सकेमा स्वदेशी उद्योग चल्ने र यस्ले राज्यलाई प्रत्यक्ष र प्रत्यक्ष रुपमा धेरै फाईदा पुग्ने हुन्छ । ३) विगतमा मूल्य अभिवृद्धि कर र अन्य करका कारण स्वदेशी खाद्य उद्योगहरु रुग्ण भई अर्बौंको लगानी डुबेको तितो यथार्थ हामी सबैको सामु छर्लङ्ग छ । कोरोना महामारी र करहरुका कारण उद्योग कलकारखाना बन्द हुँदा रोजगारी सृजनाको नीतिमा प्रत्यक्षअसर पर्ने भएको छ । यसले कोरोना माहामारीबाट पिडीत आम उपभोक्तामा समेत प्रत्यक्ष असर पर्ने भएको छ । ४) मैदामा आयातमा कृषि सुधार शुल्क ९ प्रतिशत कायम छ र अहिले गहुँमा पनि नयाँ एचएस कोड कायम गरी ९ प्रतिशत गरियो । कच्चा र तयारी दुबैमा समान दर अत्यन्त असान्दर्भिक भयो । यसले भारत बाट आयात हुने तैयारी माल मैदासँग यहाँका उद्योगहरुले प्रतिस्पर्धा गर्ननै नसक्ने हुँदा, यहाँका उद्योगहरु बन्द गर्नु बाहेकको विकल्प छैन । उद्योगहरु धमाधम बन्द भई किसानहरुले समेत गहुँको उचित मुल्य नपाउने हुँदा गहुँ खेतिनै बिस्तारै हराउँदै जाने धेरै सम्भावना देखिएको छ । साथै, औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा २३ को उपदफा (ङ) अनुसारः ‘कुनै उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्रीमा लाग्ने भन्सार महसुल सामान्यतः त्यस्तो “कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको आयातमा लाग्ने भन्सार दर भन्दा एक तह कम हुनेछ ”’ भनिएकोमा यथार्थमा यसको लागु नहुँदा मैदा उद्यमी मारमा परेका छन् ।

शाखा कम खुल्दा बैंकमा ग्राहकको भीड, बैंकर भन्छन्ः थोरै कर्मचारीलाई काममा लगाउनु भनिएको थियो

काठमाडौं । थोरै संख्यामा बैंकका शाखा खुल्दा ग्राहकको भीड लाग्न थालेको छ । सरकारले जारी गरेको लकडाउन २ महिनाभन्दा लामो समय भइसकेपछि सर्वसाधारणलाई बैंकबाट रकम निकाल्नुपर्ने वाध्यता आइपरेको छ । यसैकारण बैंकमा भीड बढेको हो । यस्तै, सरकारले नै ४४ प्रकारका उद्योग प्रतिष्ठान खोल्ने भनेपछि कारोबार बढेको छ । र, बैंक वित्तीय संस्थाले छोटो समयका लागि कम शाखा मात्रै खोल्दा भीड बढेको छ । सरकारले नै एकतिहाई कर्मचारीबाट काम गर्नु गराउनु भनेर सिमित मात्रामा पास उपलब्ध गराएपछि कम शाखा खुलेका ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले बताए । ‘सर्वसाधारणले घरमा राखेको रकम सकियो, पछिल्लो समय थप उद्योग प्रतिष्ठान पनि खुलेका छन्, त्यसैले बैंकमा निकै ग्राहक आइरहनु भएको छ, सरकारले पास भएका गाडीबाट मात्रै स्टाफ ल्याउनु भनेको र सिमित संख्यामा पास दिएका कारण चाहेजति शाखा खोल्न पाएका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत कुँबरले भने । तर, सरकारले जेठ २१ गतेदेखि बैंकका कर्मचारीले आफ्नो परिचयपत्र देखाएको आधारमा हिडडुल गर्न पाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थापछि धेरै शाखा खुल्ने र भीड कम हुने बैंकको भनाइ छ । तर, २१ गते विहान कार्यालय आएका बैंकका कर्मचारीलाई प्रहरीले ठाउँठाउँमा रोकेको पनि बैंकहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले भने भीड नहुने गरी बैंकिङ सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बढी भिडभाड हुँदा संक्रमण विस्तारको जोखिम बढी हुने भएकोले आवश्यक सावधानी अपनाएर बैंकिङ सेवा प्रभावकारी बनाउन निर्देशन दिइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘कुनै प्राविधिक समस्या छ भने त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले पहल गर्छ, भीड बढी नहुने गरी बैंकिङ सेवालाई प्रभावकारी बनाउनुस् भनेर हामीले भनिरहेका छौं,’ डा. भट्टले भने । सामान्य अवस्थामा बैंकहरुले विहान १० बजेदेखि दिउसो ४ बजेसम्म बैंकिङ काउन्टर खोल्ने गरेका थिए । देशभरका सबै शाखाका काउन्टर दिनभर खुल्दा पनि भीड हुने बैंकमा भने पछिल्लो समय एक तिहाई शाखा र विहान ११ बजेदेखि १ बजेसम्म मात्रै काउन्टर खुल्दा भीड बढी देखिएको हो ।

नेपालको ऊर्जा विकासका लागि विश्‍व बैंकले १२ अर्ब ऋण दिने

काठमाडाैं । विश्‍व बैंकले नेपाललाई दिने भनिएकाे १० करोड अमेरिकी डलर अर्थात करिब १२ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ। काेराेना भाइरसले पारेकाे असरलाई पुनरूत्थान तथा  नेपालको विद्युत क्षेत्रको विकास र सुधारका लागि साे रकम ऋण दिने बताइएकाे छ । विश्‍व बैंकले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपाललाई डेपलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गत उक्त ऋण दिने निर्णय गरेको हाे । साे ऋणबाट नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग पुग्‍नुका साथै विद्युत प्राधिकरणलाई थप स्वायत्त, पारदर्शी र जवाफदेशी बनाउने गरी नियम ढाँचा तयार गर्न सहयोग पुग्‍ने विश्‍व बैंकले बताएको छ। त्यसैगरी, नेपालको जलविद्युत स्रोतको अधिकत उपयोग गरी क्षेत्रीय बजार एकीकृत रूपमा उपयोग गर्न र संघीय प्रणालीमा नेपाल विद्युत प्राधिकरणलाई पुनर्संरचना गर्न सहयोग मिल्ने विश्‍व बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “संकट र संकटपछिको अवस्थामा पनि नेपालको विद्युत क्षेत्रलाई सुदृढ पार्न निरन्तर सहयोग जारी रहनेछ,” विश्‍व बैंकको नेपालका लागि कन्ट्री म्यानेजर फेरिस हदाद जार्भोसले भनेका छन्। पछिल्लो समय नेपालमा विद्युत उत्पादनमा उल्लेख प्रगति भएको, प्रणाली चुहावटमा सुधार भएको र अन्तरदेशीय प्रसारण लाइनको क्षमता विकास भइरहेकाले देश लोडसेडिङ मुक्त भएको तथा कुल जनसंख्याको ८८ प्रतिशतमा विद्युतको पहुँच पुगेको विश्‍व बैंकले उल्लेख गरेको छ। नेपालको स्थायी र बलियो सरकारले विद्युत क्षेत्रको विकास, प्राधिकरणको व्यवस्थापन सुधार, प्रणाली चुहावटमा नियन्त्रण र प्राधिकरणको नाफामा सुधारको काम गर्ने प्रतिवद्धता व्यक्त गरेको विश्‍व बैंकले उल्लेख गरेको छ।

केएमसी अस्पतालकाे आकस्मिकसहित सम्पूर्ण सेवा बन्द

काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालले प्रकाशन गरेको सूचनामा २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिने व्यवहोरा रहेको थियो । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भए । बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।