विकासन्युज

छाकटार्न राहत खोज्नुपर्ने बेला छ, कहाँबाट कर तिर्नु ?

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको २ महिना नाघिसकेको छ । लकडाउनले धेरै मान्छेहरु भोकभोकै मर्ने अवस्था आउने भइसकेको छ । सरकारले लगडाउन शुरु गर्दा कसैले पनि यति लामो समयसम्म लकडाउन जारी रहन्छ भनेर सोचेको थिएन । लकडाउन लम्बिदै जाँदा समग्र आर्थिक क्रियाकलापहरूमा नकारात्मक असर परेको छ । सबै क्षेत्रमा असर परेपछि साना तथा घरेलु उद्योगहरुमा पनि असर परेको नै छ । सरकारले ४४ प्रकारका उद्योग सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो । तर सरकारले गरेको निर्णय अनुसार नै उद्योग सञ्चालन गर्न खोज्दा प्रदेश सरकार र स्थानीय सरकारले अवरोध गरिरहेका छन् । सरकारले उद्योग सञ्चालन गरभन्दा पनि उद्योग सञ्चालन गर्ने वातावरण बनेको छैन । लकडाउनका कारण अहिले सबैभन्दा धेरै असर परेको भनेको क्षेत्र नै साना तथा घरेलु उद्योगहरु नै हुन् । सरकारले लकडाउन कै बीचमा कर तिर्न भनिरहेको छ । तर उद्योगीहरु नै पैसा नभएर भोकै हुने अवस्था आइसकेको छ । सरकारले उद्योगीहरुलाई कर तिर्ने समय ३ महिना थप गर्नु पर्छ । उद्योगमा कार्यरत मजदुहरुको तलव पनि दिनै पर्यो । साना उद्योगीहरुलाई कर्मचारीको तलव खुवाउन मात्रै होइन अहिले आफ्नै दैनिकी चलाउन पनि समस्या परेको छ । साना उद्योग सञ्चालनका लागि सरकारले सहुलियत कर्जा दिनुपर्छ । सरकारले सहुलियत कर्जा नदिने हो भने कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने छन् । सरकारले त्यसलाई ध्यान दिएर साना उद्योगीको मर्का बुझेर ३ प्रतिशत व्याजमा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्छ । उद्योगी नै खानाको लागि राहत खोज्न जानुपर्ने अवस्था आइसकेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारसगँ समन्वय गरी ग्रील तथा स्टील उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्छ । अब कोरोनाको संक्रमणबाट जोगिदै काम गर्नुको विकल्प छैन। लकडाउन कहिलेसम्म हुने हो भन्ने ठेगान छैन । अहिले त लकडाउन छ । लकडाउन खुलेपछि उद्योगहरु शुचारु गर्न पनि हामीलाई समस्या छ । कर्मचारीको तलब दिनु पर्यो, घरभाडा तिर्नु पर्यो, बैंकको किस्ता तिर्नु पर्यो । लकडाउनभरी पनि उद्योगीलाई टिक्नै गाह्रो भएको छ । उत्पादन भइसकेको वस्तु कतिपय त बजारमा पुर्याइयो, धेरै गोदाममै थन्काउनु परेको अवस्था छ । लकडाउनकाे कारण अहिले हामीलाई टिक्न गाह्रो छ । लकडाउन खुलेपछि हामीलाई चल्न पनि गाह्रो हुनेछ । अब हामीलाई चालु पुँजीको आवश्यकता पर्नेछ । सरकारले यसमा ख्याल गर्नु पर्नेछ । धेरैलाई रोजगारी दिने क्षेत्र लघु, घरेलु तथा साना उद्योग क्षेत्रहरु नै हुन् । अहिले पनि हामीले करिब २६ लाखलाई प्रत्यक्ष रोजगारी दिएका छौं । ४ लाख १८ हजार लघु, घरेलु तथा साना उद्योगहरु छन् । ती सबैलाई चलाउन सक्ने हो भने यहाँ भएका धेरै बेरोजगार र विदेशबाट फर्कने समेत धेरैलाई बेरोजगार भएर बस्नु पर्ने दिन नआउन सक्छ । साना उद्योगीहरुको ठूला बैंकहरुमा पहुँच हुँदैन । ऋण पाए पनि महंगो व्याजमा पाइन्छ । महंगो व्याजमा पाएको ऋणका कारण उद्योगको लागत खर्च बढाउँछ । मेसिनहरु भित्र्याउनका लागि सरकारले भन्सार महशुल लिनु हुँदैन । भन्सार छुटको व्यवस्था गरिनुपर्छ । अहिले महिला उद्यमीहरुलाई सरकारले सहुलियत कर्जा दिदै आइरहेको छ । सरकारले लघु, घरेलु तथा साना उद्योगहरुका मेसिन धिताेमा ऋण दिने व्यवस्था गरिनुपर्छ । नत्र साना उद्योग सञ्चालन गर्न गाह्राे छ । अहिले ठूला ठूला उद्योगीहरुले ठूला मेसिन धितोमा राखेर बैंकबाट कर्जा पाउछन् । तर यो सुविधा सानाले अझै पनि पाउन सकेका छैनन् । सरकारले मेसिन धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्छ । उद्योगीसगँ भएको मेसिनलाई बैंकले धितो मानिदिने हो भने साना उद्योगीहरुले उद्योग राम्रोसँग चलाउन सक्नेछन् । आयात प्रतिस्थापन हुन्छ । साना उद्योगका क्षेत्रमा आत्मनिर्भर हुने पनि हुन्छ । देशभर गरेर ११ हजार ग्रील तथा स्टील  व्यवसायीहरु छन् । तीनले वर्षमा ५० अर्ब भन्दा माथिको कारोबार गर्ने गर्ने गरेका छन् । लघु तथा घरेलु सहुलियत तथा अनुदानका कार्यक्रमहरु अहिले पनि नभएका भने होइनन् । सरकारले कार्यक्रमहरु बनाएको छ । नीति बनाएको छ । ठूला उद्योगहरुको सहजै पहुँच पुग्ला, सानाको पुग्न कठिन छ । (ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष समेत रहेका घरेलु महासंघका उपाध्यक्ष कटुवालसँग गरिएको कुराकानीमा आधारित ।)

प्रतिभा प्रस्तुत गर्ने माध्यम ‘द ट्यालेन्ट’ शाे संचालनमा

काठमाडौं । आफ्नो प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम ‘द ट्यालेन्ट’को शुरुवात भएको छ । “म भित्रको म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्तिभित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम यहि जेठ १७ गतेबाट सञ्चालनमा आएको हो कस्मिक मिडिया प्रा.लिद्धारा सञ्चालित कस्मिक टिभि मा प्रसारण हुनेछ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए । विश्व माहामारीको रुपमा रहेको कोभिड १९ को यस समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा रहेको हुँदा, यस्तो अवस्थामा घरमा बसिरहदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने पोखरेलको भनाई छ । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ । सहभागीले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा [email protected] र कस्मिक मिडियाको फेसबुक म्यासेन्जरमा पठाउन सकिने व्यवस्था छ । कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग, प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने कार्यक्रम संचालक पोखरेलको भनाई छ । मानिसभित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस ‘द ट्यालेन्ट’ कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ । कार्यक्रममा ५ वर्षभन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नु पर्नेछ । एक जनाले जम्मा ३ देखी ५ वटासम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ ।  कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ । बिजेता को नाम अनलाईन , फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका बीच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए । बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने उनको भनाई छ । कस्मिक मिडियाले यस अघि पनि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए । द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने द ट्यालेन्ट कार्यक्रमले हरेक कलाको विकास गराउने पोखरेलको दाबी छ ।

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने- स्वास्थ्यमन्त्री

काठमाडाैं । स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गरे । उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए । फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख रुपैयाँ मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाए । सन् १९६६ मा बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानडासहित ६३ मुलुकमा शाखा स्थापित छन् । रासस

जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी ताकेतामा राष्ट्र बैंकको समर्थन, भन्योः कर लिन शनिबार पनि बैंक खोल्नु

काठमाडाैं । सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्नु पर्ने ताकेतामा नेपाल राष्ट्र बै‌कले पनि समर्थन जनाएकाे छ । राष्ट्र बैंकले सम्पू्र्ण बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार पनि बैंकहरुलाई आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको हाे। मन्त्रिपरिषदको निर्यण अनुसार करदाताहरुले बुझाउनु पर्ने फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने कर दाखिला गर्ने मितिसम्म शनिबार तथा जुनसुकै सार्वजनिक बिदामा पनि राजस्व संकलन गर्ने शाखा तथा काउन्टर खोल्न बैंकले निर्देशन दिएको हो। सरकारले चैत र फागुन महिनाको राजस्व आगामी जेठ २५ गतेभित्र भुक्तानी गर्न निर्देशन दिएको छ। जेठ २५ गतेसम्म कर भुक्तानी गर्न ताकेता गरेकाे सरकारकाे निर्णयप्रति अहिले ब्यापक विरोध विराेध भइरहेकाे छ ।

बुटवल कोरोना अस्पतालबाट चार जना घर फर्किए, प्रदेशमा ७९ जना निको भए

काठमाडाैं । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट बुधबार एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ । कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा. थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ । रासस

लुफ्थान्सा एयरलाइन्स २ अर्ब ३० डलर नोक्सानीमा, हजाराैं कर्मचारीकाे राेजगारी धरापमा

काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु परेकाे जनाइएकाे छ । तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो । यस समूहसँग रहेका कूल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २ सय वटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । एएफपी

देउवा भन्छन्: जेठ २५ गते भित्र कर तिर्नु पर्ने सरकारकाे ताकेता अवज्ञा गराैं

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । उनले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् । ‘करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ, सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन’ उनले भनेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ ।

स्वदेशी कृषिजन्य वस्तुको बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह 

काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रहसमेत गरेको बताए । कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी बन्दाबन्दीका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको उल्लेख गर्दै उनले मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गरेका छन् । अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गइ खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ उनले सचेत हुनुपर्नेमा जोड दिएका छन् । रासस