तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन- स्वास्थ्य मन्त्रालय
काठमाडौं । तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालय प्रवक्ता विकास देवकोटाले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने हुनाले त्यसलाई नष्ट नगर्न आग्रह गरेका हुन् । तरकारीहरु आयत गर्ने व्यक्तिले मन्त्रालयकाे सुरक्षा निर्देशिका पालना गरेकाे अवस्थामा काेराेना नसर्ने देवकाेटाले बताएका छन् । हालसम्म तरकारी र फलफूलबाट काेराेना सरेकाे कुनै पनि तथ्यांक छैन । तरकारी र फलफूल बाेक्ने व्यक्ति संक्रमित भएकाे अवस्थाम मात्रै भाईरस सर्ने विज्ञहरु बताउँछन् ।
एनआईसी एशिया बैंकमा अनलाईनबाट खाता खोल्न थप सहज, यस्तो छ प्रक्रिया
काठमाडौं । एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो । सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन् । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन् । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ । विदेशमा रहेकाले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्नेछन् । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । तसर्थ, अब ग्राहकले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ । यसरी अनलाईन खाता खोलेका ग्राहकहरूले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । यसैगरी यस लकडाउनको अवधिमा ग्राहकहरुले घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट÷क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरहरुबाट खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । अनलाईन खाता खोली मोबाईल बैंकिङ्ग वा बैंकको कार्डहरु मार्फत भुक्तानी गर्दा ग्राहकहरूले देशभरका २ हजार ५ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई २१ लाख रुपैयाँसम्मको बीमा सुविधा पनि प्रदान गरिनेछ र सो बीमा सेवा वापत लाग्ने बीमा शुल्क बैंक आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
कर तिर्ने म्याद असोज मसान्तसम्म थप गर्न नाडाको माग
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले कर तिर्ने म्याद आगामी असोज मसान्तसम्म थप्न माग गरेको छ । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएकाले सरकार समक्ष उक्त माग गरेको नाडाका महासचिव सुनिल रिजालले बताए । आन्तरिक राजश्व विभागले एउटा सार्वजनिक सूचना जारी गर्दै यही जेठ २५ गतेसम्म सबै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेकोे सम्बन्धमा ध्यानाकर्षण गरेको छ । साथै, समग्र अटोमोवाइल व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्ने गरी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद सो अवधिसम्म थप गरी सबै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माण गराउन सरकारसँग आग्रह गरेको छ । ‘विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम जनताको स्वास्थ रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र यो २०७७ साल जेठ ३२ गतेसम्म विस्तार गरिएकोे अवस्थामा सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द प्राय रहेको सम्बन्धित निकायहरुलाई जानकारी भए कै विषय हो ।’- नाडाले भन्यो । यस्तो अवस्थामा सबै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन समय सीमा थप गर्न नाडाले आग्रह गरेको छ ।
नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु, काे हुन् उनी ?
काठमाडौं । नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप एकजनाकाे काेराेनाबाट मृत्यु भएकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनकाे बुधबार मृत्यु भएको र उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूष रहेकाे देवकोटाले बताएका छन् । दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। हेमाेरेजिक स्ट्रोक भएकाे कारण उनलाई जेठ १३ गते सिनामंगलको केएमसी अस्पताल ल्याईएकाे थियाे । उनको न्यूरो सर्जरी गरिएको थियो। जेठ १४ गते उनकाे स्वाब संकलन गरेपछि उनमा काेराेना पाेजेटिभ देखिएपछि थप उपचारकाे लागि त्रिवि शिक्षण अस्पताल सारिएकाे थियाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जना काेराेना मुक्त
काठमाडौं । बुधबार त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ६ वर्षीय बालिका सहित १२ जनाले काेराेनालाई जितेकाे प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकाेटाकाे अनुसार त्रिवि शिक्षण अस्पतालबाट कपिलवस्तुकी ६ वर्षिय बालिका, टेकु अस्पतालबाट काठमाडौंका ६९ वर्षीय एक जना पुरुष, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट रौतहटका ३४ वर्षीय पुरुष, जनकपुर अस्पतालबाट पाँच जना, र बुटबलबाट चार जना डिस्चार्ज भएका हुन्। याेसँगै नेपालमा काेराेना जित्नेकाे संख्या २ सय ७८ पुगेकाे छ ।
थप २ सय १ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २३ सय नाघ्याे
काठमाडौं । बुधबार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय १ जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा काेराेना थपिएकाे जानकारी दिए। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय पुगेकाे छ जसमा २ सय ७८ जना निकाे भएका छन् र ९ जनाकाे मृत्यु भईसकेकाे छ ।
कर तिर्ने समय तीन महिनासम्म थप्न माग, नत्र आन्दोलनमा जाने चेतावनी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशले कर तिर्ने म्याद लकडाउन खुलेको कम्तिमा तीन महिना थप्न माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत जेठ २५ गतेभित्र कर, राजश्व तिर्ने र विवरण बुझाउनु पर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरेको छ । सरकारले यो समय राहत दिनुको बदला आफ्ना करदाताबाट जरिवाना र व्याज असुर गरी राजश्वको लक्ष्य पुर्याउने सोच राख्नु उचित नहुने महासंघले जनाएको छ । साथै, जेठ १५ गते सर्वोच्च अदालतले बन्दाबन्दीको समयलाई शून्य समय मान्ने गरि फैसला समेत गरेको परिपेक्षमा नेपाल सरकारबाट कर र विवरण बुझाउने सो निर्णय छिट्टै फिर्ता लिन आग्रह गरेको छ । अहिलेको विषम परिस्थिति दृष्टि गरी लकडाउन खोल्ने बित्तिकै सामान्य अवस्थामा आउन पनि अझै धेरै समय लाग्ने महासंघले बताएको छ । त्यसैले, उक्त निर्णय फिर्ता नलिएमा बाग्मती प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायीहरु देशभरका व्यवसायी साथ रहेर चरणवद्ध आन्दोलनमा जाने महासंघको चेतावानी रहेको छ ।
कर तिर्ने समयावधि असार ७ सम्म थपियाे
काठमाडाैं । सरकारले कर तिर्ने समयावधि असार ७ सम्म बढाएकाे छ । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी असार ७ सम्म बढाएको हाे । आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो । अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ । व्यवसायीहरुको प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग बुधबार बिहान छलफल गरेका थिए । उक्त छलफलमा कर तिर्ने अवधि बढाउन मन्त्रालय तयार भएको हो । लकडाउनको समय जेठ ३२ गतेसम्म रहेको तर त्यस अगाडि नै कर बुझाउन भनेपछि व्यबसायीहरुले कर तिर्न नसक्ने बताउदै आएका थिए । आन्तरिक राजश्व विभागले चैत्र मसान्तसम्मको आयकर, अन्तशुल्क र भ्याट विवरण तथा त्यसमा लाग्ने कर तिर्नुपर्ने सूचना जारी गरेको थियो । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो । त्यसयता मन्त्रिपरिषद्ले कर तिर्ने समयावधी बढाउने कुनै निर्णय गरेको छैन । सरकारले जेठ अन्तिमसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको थियो । नयाँ सूचनाअनुसार मूल्यअभिवृद्दि करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ । यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ सम्म नै बनाइएको छ । विभागका अनुसार आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि ७ नै हो । यस अवधिभित्रै कर दाखिला पनि गर्नुपर्छ । आयकर ऐन बमोजिम चैतमा बुझाउनुपर्ने चालू आवको संशोधित कर अनुमान र दोस्रो किस्ता बुझाउनुपर्ने म्याद उक साता बढी अर्थात् असार १५ हो । यसबाहेक फाुगन र चैतको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर असार ७ सम्मै बुझाउनुपर्ने छ । लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था छैन ।