विकासन्युज

सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

काठमाडाैं । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ । प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधबार कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो । अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने विभिन्न समस्याका बारेमा सिसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहजरूपमा काम गर्ने गरी अधिकार दिनुपर्ने बताए । खाना खर्च कसले व्यहोर्ने, पैसा तिर्न नसक्नेले के गर्ने, यहाँका स्वयंसेवक एवं कर्मचारीका लागि खाना, पानीलगायतको व्यवस्थापन कसरी गर्ने कुनै स्पष्ट नीति नहुँदा जिल्लास्थित सिएमसी समस्यामा परेको उनको भनाइ थियो । “जिल्लाको सिएमसीलाई यहाँका अवस्थाअनुसार काम गर्न सक्ने गरी सहज व्यवस्था गर्नुपर्यो, सबै काम सिएमसीले गरोस् भन्ने बजेट चाहिँ नदिने, यसरी कसरी काम गर्न सकिन्छ रु, जिसस प्रमुख गेलालले भने, “१०–१२ लाखले के गर्ने रु, कोरोना राहत कोषमा भएको रकम खर्च गरेर भए पनि सरकारले सहज व्यवस्थापन गर्नुपर्छ ।” जिल्लास्तरीय सिएमसीको संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा आउनेका लागि आवश्यक मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री आवश्यक रहेको, यहाँसम्म आउने र जानेहरुको गाडी भाडाको व्यवस्थापन, होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेसलाई तिर्नुपर्ने भाडा, यहाँ आउने र बस्नेका लागि खाना, पानीजस्ता सामान्य कुराको व्यवस्थापनमा जरुरी रहेको बताए । नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्म गरिएको तयारीका बारेमा जानकारी दिए । एउटा सेल्टरमा एक हजारसम्म राख्न सकिने गरी व्यवस्थापन गरिएको र आवश्यक परेमा एउटा सेल्टरमा बढीमा २० जनासम्म सुत्न मिल्ने गरी व्यवस्थापन गरिएको बताए । उनले निःशुल्क सिमकार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अवस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यवस्था गरिएको र एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने बताए । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने सल्लाघारीको चौरमा ल्याएर सम्बन्धित नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ । एयरपोर्टबाट सेल्टरमा ल्याएकालाई प्रदेश सरकारको समन्वयमा जतिसक्दो छिटो पठाउने व्यवस्था गर्नुपर्ने, पानीलगायत प्याकिङ खाजा किन्न मिल्ने गरी डेस्क राख्नुपर्ने र निर्देशिकाले तोकेको भन्दा तलमाथि गर्न नपाउने व्यवस्था गरिएको छ । विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको जानकारी दिए ।  रासस

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

दार्चुला । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गरे । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोचेयौं, तर बन्दाबन्दीको समय थपिएको थपियै भएपछि उनलाई दैनिकी गुजार्न धौधौ हुन थाल्यो । अरु बन्दाबन्दी भयो भनेर कोही घरमै बसे । कोही गाउँको घरतिर लागे तर बोहराको दैनिकी बन्दाबन्दीमा पनि उस्तै छ । बोहराको पुख्र्यौली घर बैतडी हो । विसं २०५४ मा परिवारसहित बोहरा दार्चुलामा मजदुरी गर्न आएका हुन् । त्यो बेलादेखि उनको परिवार खलङ्गामै छ । दुई छोरी, एक छोरा र बूढाबूढीको परिवारको जागिर केही छैन । छ त केवल महाकाली नदीको बालुवा । बन्दाबन्दीले बैतडी जान पनि सकेको छैन । उनले बैतडीको सबथोक छाडेर आएको दुई दशक बढी भयो । आजकल बोहराका श्रीमान् बिसनसिंह र राजमती महाकाली नदी किनारमै हुन्छन् । बन्दाबन्दी भएपछि बोहरा परिवारमा झन् बढी कामको बोझ बढेको छ । नदीको मध्यभागसम्म पुगेरै अहिले पनि बालुवा सङ्कलन गर्ने काम भइरहेको राजमतीले बताए । अहिले त हामी १०÷१५ जना दैनिक नदीबाट बालुवा निकाल्छौं, तर बन्दाबन्दी अघि झण्डै दुई÷तीन सय परिवारले बालुवा निकाल्दै आएका थिए । “बालुवा न निकाल्ने हो भने छोराछोरीको पढाइ खर्च, घरभाडा र दैनिक चुलो केबाट बाल्नु ?”, उनले भने, “मासिक दुई हजार भाडा तिर्ने गरी दुई कोठा भाडामा लिएका छौं ।”, शुरुमा दुई प्रतिकट्टा बालुवा बिक्री हुन्थ्यो, अहिले नदीबाट निकाल्ने बित्तिकै ६० प्रतिकट्टा पुगेको छ । रामजतीले भने, “कहिलेकाहीँ भारी बोकेर पनि गुजारा हुन्थ्यो, अहिले बन्दाबन्दीले भारी बोक्न नपाइने भएपछि सपरिवार बिहान–बेलुकी यही महाकाली बगरमा बालुला निकाल्छौं ।” बगर क्षेत्रमा सङ्कलन गर्न रोक लगाइएको छ । तटबन्धको संरचना भत्किने भन्दै बगर क्षेत्रमा बालुला निकाल्न नदिएपछि नदीको बीच भागसम्म पुगेर बालुवा निकाल्नुपरेको उनले बताए । केही वर्ष यता धेरै मानिस गिट्टीबालुवामै निर्भर भएपछि बालुवा पनि कम हुँदै गएको छ । अहिले बन्दाबन्दीका करणले महाकाली किनारमा बालुवा सङ्कलन गर्नेहरु सङ्ख्या केही कम भएको छ । कुनै दिन बिहान ४ बजे उठेर महाकाली नदीबाट बालुवा निकाल्ने गरेको रामजती बताउनुहुन्छ । उनले भने, “यो हाम्रो बाध्यता हो । काम नगरे बन्दाबन्दीमा के खानु ? राहतको नाममा झण्डै यो तीन महिनाभित्र २५ किलो चामल पाएको रामजतीले बताए । उनले भने,– यही बालुवामा काम नगर्ने हो भने त्यो राहतले कहाँ पुग्नु ? दोस्रोपटक राहत दिने सुरसार केही छैन ।” उनको मात्र होइन, महाकाली नगरपालिका–१ का ६० वर्षीया द्रोपती धामीको पनि कथा उस्तै छ । उमेर ढल्के पनि महाकाली नदीमा गएर एक–एक कट्टा बालुवाको भारी थुपार्दै बालुवा बिक्री गर्छन। विसं २०७० को बाढीले १६ कोठा भएको घर बगाएपछि धामी अहिले बालुवा बोकेर परिवारको जोहो गर्छन् । “बाढीले घर बगायो रु ३५ हजार राहत पाइयो । अहिले बन्दाबन्दीको तीन महिना हुनथाल्यो, २५ किलो राहत पाएका छौं । यो राहतले पाँच जनाको परिवार कसरी चल्छ”, धामीले भने, “वर्षौंको मेहेनतले बनाएको घर क्षणभरमै महाकालीमा विलय भयो । बाढीले घर बगाएदेखि माथि उठ्न सकेका छैनौं । धनीले महल बनाइसके, अरुबाट पनि राहत लिए, हामी गरिबलाई कसले हेथ्र्यो ।” “त्यही बालुवा बिक्री गरेको पैसाले छोराछोरी पढाउँछु, घर खर्च चलाएको छु । छोरा काठमाडौं पढाउँदैछु । छोराले पैसा पठाइदेऊ भन्छ”, उनले भने, “अहिले बन्दाबन्दीले खर्च कसरी पठाउनु । घर बगायो केही पाएनौं, भएको सम्पत्ति महाकालीले बगायो, अहिले त्यही महाकालीको बालुवा सङ्कलन गरी घरपरिवारको जोहो चलेको छ ।” जिल्लाभरि सयौं व्यक्तिको अहिले बन्दाबन्दीले घरमा चुलो बाल्न समस्या भएको छ । बालुवा–गिट्टी गर्ने, भारी बोकेर परिवारको आर्थिक जोहो गर्ने परिवारलाई अहिलेको बन्दाबन्दीले समस्या पार्न थालेको छ । लामो समयसम्म पनि बजार नखुल्दा मजदुरी गरी खाने परिवार समस्यामा रहेका हुन् । स्थानीय तहले एक चरणमा मात्रै राहत वितरण गर्दा गरिब घरमा अहिले गुजारा चलाउन समस्या भएको छ । रासस

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो । केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो । त्यसपछि वडाध्यक्ष केसीसहित दुवै युवा फरार थिए । प्रहरीले फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा १० दिनको म्याद थप गरिएको प्रनाउ केसीको भनाइ छ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उनले बताए । सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०र२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताए । नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्याएको इन्चार्ज साउदले बताउनुभयो । यस घटनाले शान्ति सुरक्षामा खटिएको प्रहरीको मनोबल घटाउने काम गरेको र आफूहरुले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६५ लाख ६७ हजार २ सय २६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८७ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख ६४ हजार ३ सय ४६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ९ हजार १ सय ४२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख १ हजार ७ सय ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ भने अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ३ सय जना संक्रमित भएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ सय ७८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी हुँदै, के हुन्छ यस्ताे अवस्थामा ?

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘कोभिड–१९ महामारीमा स्वास्थ्य क्षेत्रकाे आपत्कालीन योजना’ मा विश्वव्यापी प्रक्रियाअनुसार सङ्क्रमितको सङ्ख्या र अवस्थाका आधारमा महामारीलाई स्तर निर्धारण गरिएको छ । उक्त योजनामा दुई हजारदेखि पाँच हजारसम्म सङ्क्रमित पुगेपछि ‘लेभल–२’ मानिने र यस स्थितिमा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था (जनस्वास्थ्य संकटकाल)’ घोषणा हुन सक्ने उल्लेख छ । सङ्क्रमितको सङ्ख्या निरन्तर बढेपछि मन्त्रालयले उक्त ऐनका व्यवस्था र आफ्नो कोरोना रोकथाम योजनाको अध्ययन थालेको छ । नेपालमा म‌ंगलबार नै संक्रमितकाे संख्या २ हजार कटेकाे थियाे र बुधबार साँझसम्म यसकाे संख्या २३ सय पुगेकाे छ । के हुन्छ यस्ताे अवस्थामा ? जनस्वास्थ्य विपद् अवस्था’ घोषणा भएमा अति गम्भीर अवस्थाका बाहेक सामान्य अवस्थाका सङ्क्रमित ‘होम आइसोलेशन’ मा रहनुपर्नेछ । यो लेभलसम्म मुलुकका सबै कोरोना डेडिकेटेड अस्पतालमा ८० प्रतिशत आइशोलेसन बेड क्षमता प्रयोग गर्दा चार हजार सङ्क्रमितलाई उपचार गर्न सक्ने क्षमता विकास गरेको हुनुपर्छ । यो लेभलबाट माथि गएपछि कोरोना डेडिकेटेड घोषित नगरिएका र सबै निजी अस्पतालले पनि अनिवार्य रुपमा कोरोना परीक्षण र उपचार गराउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनले ‘लेभल–३’ पछि विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको छ । यस्तो स्थितिमा विश्वव्यापी उत्पादन र वितरणको प्रणालीमा अवरोध पुग्न जानेछ । नेपाल अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिका लागि विदेशी मुलुकसँग निर्भर रहँदै आएको छ । छिमेकी भारतमा पनि सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ को दफा ४८ ९१० मा ‘आपत्कालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवा पु¥याउन तोकिए बमोजिमको दू्रत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह रहने उल्लेख छ । सो ऐनले सङ्घ, प्रदेश र स्थानीय तहले आपतकालीन स्वास्थ्य योजना विकास गरी लागू गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ४८ को उपदफा ९२० बमोजिम प्रदेश सरकार र स्थानीय तहले योजना विकास गर्दा नेपाल सरकारले सङ्घीय कानूनबमोजिम निर्धारण गरेका मापदण्ड तथा निर्देशिकाअनुरूप हुने गरी गर्नुपर्ने भनिएको छ । ऐनको दफा ४८ को उपदफा ४ मा भनिएको छ, ‘स्थानीय तहले प्रचलित कानूनबमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्नेछ तर, कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना हुन गएमा नेपाल सरकारले तोकिए बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्नेछ ।’ उपदफा ९५० ले जनस्वास्थ्य विपद् अवस्था घोषणासम्बन्धी जानकारी सम्बन्धित सबैका लागि सार्वजनिक माध्यमबाट प्रचारप्रसार गर्नुपर्ने, जनस्वास्थ्य विपद्को समयावधि र क्षेत्रलगायत अन्य पक्षमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा थपघट वा हटाउन सकिने जनाइएको छ । उपदफा ९७० ले आपतकालीन स्वास्थ्य अवस्थासम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ भनिएको छ । हाल नेपालमा सरकारी र निजी गरी २६ हजार ९३० अस्पताल, एक हजार ५९५ सघन उपचार कक्ष ९आइसियु०, आठ सय ४० भेन्टिलेटर, आइसियुसहितको अस्पताल १९४, कोरोना क्लिनिकसहितका अस्पताल १११ छन् । मन्त्रालयको उक्त योजनामा लेभल १ का १३, लेभल २ का लागि १२ र लेभल ३ का लागि ३ कोरोना अस्पताल रहेको जनाइएको छ । योजनामा लेभल २ सम्ममा मात्र विद्यमान स्वास्थ्य प्रणालीले धान्न सक्ने र लेभल ३ मा पुगेपछि अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक पर्ने उल्लेख छ ।

डामाडोल अर्थतन्त्र र हाम्रो कार्यशैली

चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको मानिएको कोरोना भाइरसले अहिले विश्वमाहामारीको रुप लिइसकेको छ । यसले हामी मानव प्रजाती प्रकृति अगाडी कति नाजुक छौँ भनेर पनि देखाउँछ । यसको पहिलो केस ३१ डिसेम्बर २०१९ वुहानमा देखिएको थियो र नेपालमा पहिलो केस १३ जनवरी २०२० मा देखिएको थियो । पहिलो केस वुहान समुद्री खाना थोक बजारसँग सम्बन्धित थियो र त्यसैले भाइरस जुनोटिक मूल भएको मानिन्छ । यो कोरोना रोगको आधिकारिक रूपमा कोभिड १९ नाम दिइएको छ । कोरोनाभाइरस महामारीले धेरै देशका राजनीतिक प्रणालीहरूलाई असर गरेको छ । यसले विधायकीय गतिविधिहरू निलम्बिन पारेको छ । केही राजनीतिज्ञ एवं उच्च पदस्थ व्यक्तिहरूमा समेत काेराेना संक्रमण भएकाे छ । विभिन्न देशमा भाइरस फैलिने डरले चुनावहरु पनि सार्ने काम हुदैछ । कोरोनाभाइरसको डरले विश्वव्यापी अत्यावश्यक सामानहरू जस्तै रोटी, चामल, तरकारीहरू, टोइलेट पेपर, चाउचाउ र कीटनासक आतंकित भएको छ । यसले विश्वव्यापी व्यक्तिगत सुरक्षात्मक उपकरणको अभाव पनि निम्त्याएको छ । डब्ल्यूएचओको चेतावनी अनुसार यसले स्वास्थ्यकर्मीहरूलाई जोखिममा पार्ने छ । कोरोनाभाइरस महामारीको कारण विश्वव्यापी अवरोधले वातावरण र मौसममा असंख्य असरहरू ल्याएको छ । यात्रामा आएको गम्भिर गिरावटले धेरै क्षेत्रहरूलाई वायु प्रदूषणमा खस्केको अनुभव गरेको छ । चीनमा तालाबन्दी र अन्य उपायहरूले गर्दा कार्बन उत्सर्जन २५ प्रतिशत घटेको छ, जुन वैज्ञानिकले अनुमान गरेको दुई महिनामा कम्तिमा ७७००० जनाको ज्यान बचाइएको छ । यद्यपि यसको प्रकोपले २०२० को संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन स्थगित गर्ने लगायतका वातावरणीय कूटनीति प्रयासलाई पनि अवरोध पुर्याएको छ र यसबाट हुने आर्थिक नतिजाले हरियो उर्जा प्रविधिमा लगानी सुस्त हुने अनुमान गरिएको छ । चिनियाँ मानिसका साथसाथै अन्य एशियालीहरुमा जातीय दुर्व्यवहार र हमलाको स्तर भने बढेको छ । अहिले यसको संक्रमन रोक्न विश्वमा लकडाउन लागु भएको छ जसले गर्दा अर्थतन्त्रलाई नराम्ररी हानी पुर्याएको छ । जस्तै कार्यालय तथा कारखानाहरु सबै ठप्प छन् । विश्वका हुने खाने देशहरु जस्तै अमेरिका, इटलीमा नै ठूलो रुपमा माहामरी फैलिरहेको छ तर दक्षिण कोरियामा भने यो संक्रमन धेरै फैलिन नपाउदै नियन्त्रनमा ल्याइसक्यो । अरु देशहरुले पनि कोरियाली मोडेलको प्रयोग गर्दा रामो हुने थियो । त्यो भने लकडाउन गरेर विदेशबाट आएको व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर फैलिने सम्भावना हटाउने । अमेरिकामा लकडाउन लागु भएको छैन अनि बेलायतमा पनि ढिला गरिएको लकडाउनले गर्दा नै होला त्यहाँ कम समयमा धेरै संक्रमण फैलिएको पाइयो । तर नेपालको अहिले सम्मको अवस्था सोचे जति नाजुक भएको छैन । दोश्रो केस आए लगतै लकडाउन गरेको हुनाले यो माहामारी ठूलो रुपमा फैलिएकाे छैन । सरकारले विद्यालय, कलेज बन्द गर्दै परीक्षाहरु सार्ने र लकडाउन गर्ने निणय गरेकाे छ । सरकारले त्यो निर्णय अलि अगाडि नै गर्नु भएको भए झनै राम्रो हुने थियो । अहिले सरकारले लगाएको लकडाउनलाई जनताले राम्ररी पालना गरिरहेका छन् । सरकारले टेस्टइङ किटको खरिदमा देखिएको अनिमियता जस्ता कार्ये भने जनताहरुकोे नराम्रो नजरमा परेको पाइन्छ । मजदूरहरु तथा निम्न आयहरुका लागि राहत वितरणमा पनि समस्या देखिएको छ । सरकारको सम्पूर्ण काम हेर्ने भए, सरकारले ठिकै काम गरिरहेको छ । कोभिड १९ महामारीको प्रतिक्रियाहरू केवल अन्य सामाजिक र पर्यावरणीय संकटहरूको विस्तार हो । एउटा क्षेत्रको भन्दा बढि अरु क्षेत्रको प्राथमिकतामा ध्यान गएको छ । यो प्राथमिक गतिशिलले कोभिड १९ को लागि विश्वव्यापी प्रतिक्रियाहरू ड्राईभ गर्न ठूलो भूमिका खेलेको छ ।  आर्थिक भविष्य  आर्थिक परिप्रेक्ष्यमा यहाँ चार सम्भावित भविष्यहरू छन् । ती हुन बर्बरवादमा उत्रन, एक मजबूत राज्य पूँजीवाद, कट्टरपन्थी राज्य समाजवाद, र पारस्परिक सहायतामा निर्मित ठूलो सामाजिक रूपान्तरण । यी सबै भविष्यको संस्करणहरू पूर्ण रूपमा सम्भव छन्। कोरोनाभाइरस, जलवायु परिवर्तन जस्तै, आंशिक रूपमा हाम्रो आर्थिक संरचनाको समस्या हो । यो दुबै “वातावरणीय“ वा “प्राकृतिक“ समस्याहरू जस्तो देखिन्छ तर त्यी सामाजिक रूपमा संचालित छन् । हो जलवायु परिवर्तन केहि ग्याँसहरुले गर्दा ताप सोस्नुको कारण हुन्छ तर त्यो एक धेरै ख्रोक्रो विवरण हो । मौसम परिवर्तनलाई वास्तवमै बुझ्नका लागि हामीले सामाजिक कारणहरू बुझ्नु आवश्यक छ जसले गर्दा हामीले ग्यासको उत्सर्जन गर्दछौँ । यसको प्रत्यक्ष कारण भाइरस हो तर यसको प्रभावहरू प्रबन्ध गर्न हामीले मानवीय व्यवहार र यसको फराकिलो आर्थिक प्रसंग बुझ्नु आवश्यक छ । यदि हामीले गैर आवश्यक आर्थिक गतिविधिलाई कम गर्यो भने कोभिड १९ र जलवायु परिवर्तन दुबैलाई सम्हाल्न सजिलो छ । मौसम परिवर्तनका लागि हेर्ने हो भने यदि हामीले कम सामान उत्पादन गर्यौ भने, हाम्राे कम ऊर्जा प्रयोग हुन्छ र कम ग्रीनहाउस ग्यास उत्सर्जन हुन्छ । कोभिड १९ को महामारी विज्ञान द्रुत रूपमा विकसित हुँदैछ तर मूल तर्क यस्तै सरल छ । व्यक्तिहरू एकसाथ हुलमा संक्रमण फैलियो । यो घर, कार्यस्थलहरूमा मानिसहरूले यात्रा गर्दछ । यस हुललाई कम गर्नाले व्यक्तिदेखि व्यक्ति संक्रमण कम र सम्भवत कम केसहरू निम्त्याउने सम्भावना छ । सामान्यतया संकतको यो सामना गर्नका लागि सिद्धान्त सरल छ । सरकारले खर्च गर्छ र खर्च तबसम्म गर्दछ जबसम्म मानिसहरूले उपभोग गर्न र फेरि काम गर्न सुरु गर्दैनन् । लकडाउनले विश्वव्यापी अर्थतन्त्रमा दबाब दिइरहेको छ । हामी गम्भीर मन्दीको सामना गर्दछौं । यस दवावले विश्वका केही नेताहरुले लकडाउनसहज बनाउनका लागि उपायहरु आह्वान गरेको छ । कोभिड १९ ले बजारको बारेमा हाम्रो विश्वासहरू कत्तिको झूट छन् भनेर देखाउछ । विश्वभर सरकारहरूलाई आपूर्ति चेन, सामाजिक हेरचाह र मुख्य रूपमा स्वास्थ्य सेवा जस्ता संवेदनसिल सिस्टमहरु विफल वा ओभरलोड हुने डर छ । यसमा योगदान पुर्याउने धेरै कारकहरू छन् । धेरै व्यक्तिहरू व्यर्थका काम गर्छन्, अांशिक रूपमा व्यर्थको काम गर्छन जसको कारण हामी कोभिड १९ लाई जवाफ दिन असामर्थिय छौं । महामारीमा धेरै त्यस्ता कामहरू आवश्यक छैनन । हाम्रो खराब अवस्थाको बेला पर्याप्त कुञ्जीका कामदारहरू अभाव छन् । नेपालको लागि २०२० अर्थतन्त्र अभिवृद्धिको लागि महत्वपूर्ण वर्ष हुने थियो । पर्यटन वर्षले नेपाली अर्थतन्त्रमा ठूलो उर्जा देखाएको थियो । तर यस्तो माहामारी आएर सरकारले प्रक्षोपन गरेको लक्ष्यबाट नतिजा एकदमै टाढा आउने देखिन्छ । नेपालमा लगभग सम्पूर्ण अर्थतन्त्र पर्यटन व्यवसाय र कृषिसँग जोडिन जान्छ । अब विश्व अर्थतन्त्र नै डामाडोल हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्न छ । अहिले नेपालमा मुख्य गरी राहत व्यवस्थापनामा ध्यान दिन सक्नुपर्छ । श्रमिकहरु जो आफ्नो घरबाट धेरै टाढा छन्, उनीहरु सबै भन्दा बढी प्रभावित भएको देखिन्छ । भाईरसले भन्दा पनि भोकै भएर मर्ने अवस्था आउन सक्छ । ऋण लिनेहरुलाई केही समय सम्म भएपनि भुक्तानी गर्न सहुलियतको व्यवस्था अति महत्वपूर्ण हुन जान्छ । लकडाउनमा सबै ठप्प भएको हुनाले खाद्यान्नहरुको वितरण पनि हुन सकिरहेको छैन । अहिले तत्कालका लागि यी समस्याहरु समाधान गर्नुपर्छ । नेपालमा पहिले जस्तै अर्थतन्त्र हुन अली समय लाग्छ किनभने पर्यटनमा केही समय सम्म गिरावट भइरहनेछ । हाम्रो अर्थतन्त्र कति कमजोर छ भनेर २०७२ सालको भूकम्प पछि अहिले फेरी देखियो । त्यो बेला त नेपालले राहत स्वरुप धेरै कुराहरु पाए । तर अहिले विश्व नै यसको चङगुलमा हुँदा राहत खासै पाउने छैनौँ । यो सबैबाट हामीले ठूलो पाठ सिक्नुपर्छ । हामीले चाहिने कुरामा लगानी गरिरहेको छैनौ । यदि विश्वले युद्ध गर्नको सट्टा विकासका कुरा गेरेको भए यस्तो अवस्था कहिले आउने थिएन । विज्ञान र स्वास्थ्यमा हाम्रो ध्यान कहिले गएन । केवल पैसा कसरी बढी कमाउनेमा गयो । यही क्रममा हामीले पृथ्वीलाई अत्यन्त हानी पुर्यौउन थाल्याैं र अझै पुर्याइरहेका छौं । पेट्रोलिएम पदार्थको प्रयोगमा कमी छैन नगरेर होस या पृथ्वीलाई फोहोर गर्दै बसेको भएर होस, जुन थालीमा खान्छौ, त्यही थालीमा प्वाल पारी रहेको छाैं । यो लकडाउन अवधिमा प्रकृतिले आफ्नो पहिलेको रुप लिन थालेको छ । यस्तो सफा हावापानी यो सबै बिरलै हुन पाउछ । अहिले वातावरण हिसाबले पनि हामी मानव सभ्यताले के कुरा गरिराखेका छौं भनेर थाहा पाउने यो सुन्दर अवसर हो । यी परिवर्तनहरूले हामीलाई आशा दिन्छ । तिनीहरूले हामीलाई भविष्यमा धेरै जीवनहरू बचाउने मौका दिन्छन् । यिनीहरूले लामो अवधिको परिवर्तनको सम्भावना संकेत गर्छ जसले हामीलाई खुसी पार्नेछ र जलवायु परिवर्तनसँग जुझ्न मद्दत गर्नेछ तर हामीलाई यहाँ पुग्न किन यति लामो समय लाग्यो ? किन धेरै देशहरू उत्पादन सुस्त हुदा तयार अवस्थामा थिएन ? यसको जवाफ भर्खरको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टमा छ । उनीहरूसँग सहि “मानसिकता“ थिएन । कोभिड १९ ले धेरै पुरानो र परिचित शत्रुको फिर्ताको चिन्ह देखाउँछ । इतिहास भरमा, भाइरस, ब्याक्टेरिया र परजीवीहरुबाट रोगको कारण भन्दा अरु कुनैले त्यति मानिस मारेको छैन । भूकम्प वा ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरू, युद्धहरुबाट मृत्यु हुनेको संख्या नजिक पनि छैन। हामीले अहिले नै कडा कदम चालेर दीर्घकालिन विकासको तरिकामा चलेन भने अबको ५० वर्ष भित्र पृथ्वीमा बाँच्न मिल्ने वातावरण हुने छैन । इन्धनका रुपमा प्रयोग हुने पेट्रोल, डिजेल जस्ता कुरामा कमी ल्याएर सफा इन्धनमा (विद्युत) लगानी गर्नु पर्छ किन भने यसले हानिकारक रसायनहरुको उत्पत्ति गर्दैन । जल, वायु र सौर्य शक्तिमा ध्यान दिनुपर्छ । यो लकडाउनले ठप्प गरेको बेला, विश्वमा नै वातावरणीय हिसाबले राम्रो परिवर्तन भईरहेको छ । नेपालमा पनि अब सबै कार्यहरु विद्युतीय माध्यमबाट गरिनु पर्छ र पेट्रोल, डिजेलका गाडीहरुको संख्या घटाउन पर्छ । हामीले सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउनु पर्छ । जसरी अमेरिकी सेनालाई दुई मोर्चामा युद्ध लड्नका लागि वित्तीय पोषित बनाइएको छ, त्यसरी नै हाम्रो स्वास्थ्य सेवा प्रणालीहरुमा अर्को महामारीको सामना गर्न उर्जा क्षमता हुनुपर्छ। विशेषज्ञहरू अनुसार महामारीको तयारीमा एउटा निरन्तर चुनौती भनेको स्तब्ध पर्ने र बिर्सने कुरा हो । धेरै जसो राजनीतिज्ञहरूले सार्स वा इबोला जस्ता संकटको लगत्तै आर्थिक सहयोगको प्रतिज्ञा गर्छन् तर ती प्रतिज्ञाहरूलाई सफल हुन दिनैन । अहिले भएको कोरोना भाइरसको सकारात्मक पक्ष पनि छ किनभने यो पृथ्वीले हामी मानव सभ्यतालाई आफ्नो कार्यशैलीबारे सोच्न बाध्य बनाइ दिइएको समय हो । हामीलाई बिरामी पर्दा ज्वरो आएर औषधी खाएको जस्तै पृथ्वीलाई पनि हानी भएकोले मानिसलाई सतर्क रहन दिएको सङ्केत हो । सार्स कोभ १९ (कोभिड १९) धेरै फैलिने भाइरस हो तर यो त्यति घातक भने होइन । यो इबोला भाइरस जतिकै घातक भइदिएको भए के हुन्थ्यो ? हामी मानव जातिले मान्नै पर्छ कि हामीले अहिले जे गर्दैछौं, त्यो कुनै हालतमा पनि दिगो छैन । यो नै समय हो जुन संशाेधनको निम्ति नीति परिवर्तन गर्नु पर्छ । हामीले चुनावमा नेताहरू त्यसलाई जिताउनु पर्छ जसले विज्ञानका कुरा बुझेर नीति निर्माण गर्छ । अनुसन्धान र विकासमा ध्यान दिनु पर्छ । हामीले गरिरहेका कार्यहरूले भने प्रकृतिलाई हानी पुर्याईरहेको छ । अहिले ग्लोबल वार्मिङ्ले समुद्रको सतह बढिरहेको छ, हिउँ पग्लिरहेको छ । के थाहा कुन घातक भाइरस पग्लिरहेको हिउँमा लुकिरहेको छ । यदी हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेन भने निकट भविष्यमा यो भन्दा खतरनाक महामारी आउन सक्छ जसले मानव प्रजातीको अन्त्य गर्ने सामथ्र्य राख्छ। म आशा गर्दछु कि कोभिड १९ को मामलामा त्यस्तो हुने छैन। हामीले यस महामारीबाट बाँच्नका लागि यथासक्दो प्रयास गर्नुपर्दछ जसले यो पक्का गर्छ कि अहिले भएको गल्ती तथा लापर्वाही बिगतमा नै सीमित रहनेछ र भविष्यमा दोहोर्याइने छैन ।

कर तिर्ने म्याद ३ महिना थप्न घरेलु महासंघको माग

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै महासंघले उक्त माग गरेको हो । महासंघले विगतमा लकडाउन समाप्त भएको मितिले कर चुक्ता गर्ने म्याद ६ महिनाको थप गरिदिन माग गरेको भएपनि हाललाई कम्तिमा ३ महिना कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्नु न्यायोचित भएकाले लघु, घरेलु तथा साना उद्योगहरुका लागि कर विवरण तथा कर दाखिला गर्ने म्याद ३ महिना थप गरिदिने व्यवस्था हुन सरकारसँग माग गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएका छन् । ‘लघु, घरेलु तथा साना उद्योगहरु थोरै पुँजीमा स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्दै संचालन हुने उद्योग भएकाले लामो समयको लकडाउनका कारण यस्ता उद्योग व्यवसायीहरु आर्थिक रुपमा जर्जर हुन पुगेको सर्वविदितै छ । मुलुकको समग्र विकासका लागि सरकारलाई कर तिर्नु आवश्यक छ र यसको दायित्व वोध उद्यमी व्यवसायीले पनि गरेका छन् । तर कोरोना भाइरसको संक्रमणका कारण लकडाउनले सवै क्षेत्र आर्थिक रुपमा प्रायः टाट पल्टिन लागेको वर्तमान अवस्थामा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले हालै सूचना जारी गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ गतेसम्म तोकेकोमा हामी उद्यमी व्यवसायी मर्माहत भएका छौं ।’- विज्ञप्तिमा उल्लेख छ । कोभिड-१९ को महामारीले आक्रान्त पारेको वर्तमान अवस्थालाई यथास्थानमा पुर्याउने प्रमुख माध्यम नै उद्योग व्यवसाय भएको र मुलुकको आर्थिक समृद्धीको आधार पनि लघु, घरेलु तथा साना उद्योगको क्षेत्र भएकाले यसलाई दृष्टिगत गरी सरकारले कर विवरण तथा कर दाखिला गर्ने म्याद खुकुलो बनाउनु पर्ने अवस्थामा यस क्षेत्रलाई नै आतंकित बनाउने तरिकाले लकडाउनको अवधिमै कर दाखिला गर्ने म्याद तोकिनु उचित नभएको महासंघले जनाएको छ ।

‘सागसब्जी नष्ट गर्न नदिनू, उत्पादन बजारसम्म पुर्याउने व्यवस्था मिलाउनू’

काठमाडाैं । पोखरा महानगरपालिका-१५ मा झण्डै चार ट्रकभन्दा बढी तरकारी खाल्डोमा हालेर पुरियो । सागसब्जी पुर्दा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति थियो । पोखरा महानगरपालिकाले जेठ ११ गते नै आयातित तरकारीलाई निषेध गर्ने निर्णय गरेकाले पनि तरकारी नष्ट गर्न बल पुगेको देखिन्छ । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले कोरोना सङ्क्रमणको डरले नष्ट गर्न भन्दै स्थानीयवासीबाट माग आएपछि नष्ट गर्नु परेको प्रष्टिकरण दिएका छन् । ‘स्थानीयवासीबाट ठूलो आक्रोश आयो, तरकारी नष्ट नगरे त्यही समस्या आउने देखिएपछि खाल्डोमा हाल्नु परेको हो’, नेपालीले कुराकानीमा भने । त्यहाँ चितवन र धादिङबाट बिक्रीका लागि तरकारी लगिएको थियो । कपिलवस्तुबाट गएको तरकारी अर्घाखाँचीमा पनि यसैगरी नष्ट गरिएको थियो । केहीअघि चितवनका दुग्ध किसानले सडकमा दूध पोखेर नष्ट गरेका थिए भने चितवनमा फलेको तरकारीबारी जोतेर नष्ट गरिएको थियो । यस्ता घटना मुलुकका विभिन्न जिल्लामा फाट्टफुट्ट देखिने गरेको छ । कतै ढुवानीमा अवरोध भइरहेको छ । कृषिउपज उत्पादनको बजारीकरणमा प्रहरी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिले सहयोग गर्नुपर्नेमा त्यसलाई रोक्ने काममा लागेको घटनाक्रमले देखाएको छ । काठमाडाैं । त्यसैले गृह मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै उत्पादित तरकारी नष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्था मिलाउन भनेको छ । ‘स्थानीय कृषि उत्पादन खान मिल्दैन भनेर ढुवानी रोक्ने र नष्ट गर्ने क्रम देखियो, त्यसलाई रोक्न र बजारसम्म पुर्याउनका लागि समन्वय गर्न स्थानीय प्रशासनलाई निर्देशन भएको छ’, मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने । गृहले पठाएको परिपत्रमा किसानलाई निरुत्साहित हुने जस्ता गतिविधि रोकी उत्पादनलाई सहजरुपमा बजारमा पुर्याउने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न भनिएको उनले जानकारी दिए । त्यस्ता गतिविधि गर्नेलाई कारवाहीको दायरामा ल्याउनसमेत भनिएको छ । कृषि उपजलाई उत्पादन भएको क्षेत्रमा रोक्ने, नष्ट गर्ने बारीमै कुहिने अवस्थाले स्थानीय उत्पादनलाई ठूलो असर गर्न सक्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैको भूमिका महत्वपूर्ण हुन्छ । पटकपटक जिल्लामा घटना घटेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा अवरोध आइरहेको सन्दर्भमा त्यसलाई रोक्न मागसहित गृहमा पत्र पठाएको थियो । मन्त्रालयले अन्यत्र जिल्लाबाट ल्याएको कृषि उपजको ढुवानी तथा बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने सन्दर्भमा मन्त्रालयले यस्ता कार्यले कृषिउपज खेर जाने मात्र नभई कृषकको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना हुन आउनेतर्फ सचेत गराएको छ । यस्ता कार्य कहीँ कतैबाट हुन नदिन र कृषकका उत्पादन सहजरुपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउनसमेत मन्त्रालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ । उक्त विषयमा नेपाल सरकारले गत वैशाख दोस्रो साता निर्णय गर्दै स्वास्थ्य मापदण्ड अपनाएर कृषिकर्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ । वैशाख १५ गते नै कृषि मन्त्रालयले विज्ञप्तिमार्फत जमिन बाँझो नराख्न, कृषि कर्मलाई निर्वाधरुपमा सञ्चालन गर्न, उत्पादित वस्तुको बजारीकरणको काम निर्वाधरुपमा सञ्चालन गर्न र काम गर्दा सुरक्षात्मक उपाय अपनाउन अनुरोध गरेको थियो । आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको सन्दर्भमा किसानका उत्पादनलाई नष्ट गरेर किसानलाई हतोत्साही हुने कार्य गलत भएको भन्दै सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भइरहेको छ । रासस