विकासन्युज

साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू

पृष्ठभूमि सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भाइरल निमोनियाको रुपमा देखा परेको कारोना भाइरस रोग (कोभिड–१९) आज विश्वभर महामारीको रुपमा फैलिएको छ । शुरुमा यो रोग के हो भन्नेमा बिज्ञहरु र विश्व स्वास्थ्य संगठन नै अनविज्ञ रहेको अवस्थामा जनवरी ७, २०२० मा चीनियाँ बैज्ञानिकहरुले यो रोग पहिले नै पत्ता लागेको कोरोना भाइरस को नयाँ रुप भएको पत्ता लगाए । कोरोना भाइरसको नयाँ रुप भएकोले चीनिया बैज्ञानिकहरुले यसलाई नोबेल कोरोना भाइरस नामाकरण गरे जुन समयमा चीनमा भाइरसबाट संक्रमित हुनेको संख्या ४४ पुगिसकेको थियो । यस भाइरसको बारेमा विस्तृत अध्ययन गरिरहेको चीनले १२ जनवरी, २०२० मा कोरोना भाइरसको जेनेटिक सिक्वेन्स सार्वजनिक गर्दै सो रोग पहिचानको लागि विशिष्ट किटको आविस्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्यो । लगतै यस रोगले अन्तर्राष्ट्रिय रुप लिन पुग्यो फलस्वरुप २० जनवरी २०२० सम्म चीनसहित थाइलैण्ड, जापान र दक्षिण कोरिया गरी चार देशमा भाइरसबाट संक्रमित व्यक्ति फेला परेपछि विश्व स्वास्थ्य संगठनले २१ जनवरी २०२० देखि अवस्था प्रतिवेदन (सिचुएसन रिपोर्ट) सार्वजनिक गर्न थाल्यो । भाइरसको संक्रमण देश–महादेश हुँदै नेपाल सहित २६ देशका ४३ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका र विभिन्न देशहरुले यस भाइरसलाई चिनियाँ भाइरस भनि टिका टिप्पणी गरिरहेको सन्दर्भमा ११ फेब्रुअरी, २०२० मा विश्व स्वास्थ्य संगठनले यो भाइरसको नाम कोभिड–१९ भनि औपचारिक रुपमा नामाकरण गर्यो । कोरोना महामारीको विश्वव्यापी अवस्था कोरोना भाइरसको तिब्र विस्तारसँगै समग्र विश्व नै भाइरसको उच्च जोखिममा रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनले १० जनवरी २०२० मा ट्राभल एडभाइजरी जारी ग¥यो । त्यस पछि विभिन्न देशहरुले पनि यस्तो ट्राभल एडभाइजरी जारी गरी कतिपय स्थानमा आवागमन प्रतिबन्ध लगाउन शुरु गरे । हाल केही अपवाद र अत्यावश्यक वस्तुको उत्पादन, वितरण तथा सेवाको सञ्चालन बाहेक विश्वभरका सबै व्यपार व्यवसाय बन्द गरिएका छन् । रेल्वे, जल यातायात, सार्बजनिक सवारी लगायत गैर–सैनिक हवाई उडानहरु बन्द गरिएका छन् भने धेरै देशले लकडाउन घोषणा गरी सर्वसाधारणलाई घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरस विरुद्ध हालसम्म कुनै खोप तथा औषधिको आविष्कार नभएको सन्दर्भमा यस भाइरसबाट बच्ने मूख्य उपायको रुपमा व्यक्ति–व्यक्तिबीचको सामाजिक दुरी कायम गर्न कतिपय सरकारी र गैर–सरकारी सेवाहरु समेत सम्भव भएसम्म घरबाटै गर्न मिल्ने गरी वर्क फ्रम होमको व्यवस्था गरिएको छ । विश्वका २१० देशमा फैलिसकेको यो भाइरसबाट भौगोलिक रुपमा सबैभन्दा बढी अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी लगायतका देशहरु प्रभावित भएका छन् भने अधिकांश युरोपियन राष्ट्रहरु अस्त व्यस्त भएका छन् । यो आलेख तयार पार्दासम्म विश्वभर २३ लाख ५१ हजार व्यक्तिहरु संक्रमित भएका छन् जसमध्ये १ लाख ६१ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने ६ लाख ६ हजार व्यक्तिहरु उपचार पछि निको भइसकेका छन् । नेपालमा कोरोना महामारीको अवस्था लेखक नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण २५ जनवरी, २०२० मा चीनबाट आएका व्यक्तिमा देखिएको थियो । विश्वभर फैलिएको महामारी नेपालमा समेत भित्रिन सक्ने देखिएकोले नेपाल सरकारबाट गठित “कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति” को २०७६ चैत्र ५ गतेको निर्णयानुसार सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन तथा डान्स बार, विश्वविद्यालय तथा कलेजहरु, सामुदयिक तथा संस्थागत विद्यालय र बालविकास केन्द्रहरु २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरियो । यसको साथै, सञ्चालनको क्रममा रहेका सबै निकाय तथा तहका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरियो भने सामाजिक साँस्कृतिक कार्यहरु लगायत सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन प्रतिबन्ध लगाइयो । विदेशबाट आउने व्यक्तिहरुबाट भाइरस संक्रमणको जोखिम उच्च देखिएकोले २०७६ चैत्र ७ गते (२० मार्च, २०२०) रातको १२ बजेबाट लागू हुने गरी २०७६ चैत्र ३० गते (१२ अप्रिल, २०२०) सम्म युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरु एवम् टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट आउने र ती देशहरुमा ट्रान्जिट गरी आउने यात्रुहरुलाई आगमन प्रतिबन्ध लगाउने सम्बन्धमा ट्राभल एडभाइजरी जारी गरियो । यस लगतै २०७६ चैत्र ९ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०७६ चैत्र ११ गतेदेखि १ हप्ताको लागि अत्यावश्यक वस्तुको उत्पादन, वितरण र ढुवानी तथा सेवा सञ्चालन बाहेक नेपाल भर लकडाउन घोषणा गरी नेपालको अन्तर्राष्ट्रिय सीमानाकाहरुबाट हुने आवागमन समेत स्थगन गरियो । पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको करिब २ महिनापछि अर्थात २४ मार्च, २०२० मा नेपालमा दोस्रो संक्रमित व्यक्ति फेला परे । लकडाउनको अवधिमा क्वारेन्टाइन र आइसोलेसनमा राखिएका व्यक्तिहरुको परीक्षणको क्रममा २०७६ चैत्र २३ (५ अप्रिल, २०२०) मा स्थानिय रुपमा संक्रमित व्यक्ति भेटिएसँगै नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गर्यो । त्यसपछि पटक पटक गरी देशभर लागू गरिएको लकडाउनकाे अवधि लम्ब्याइएकाे छ । यसका साथै, सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडानहरुलाई  पनि स्थगन गरिएको छ भने विश्वविद्यालय, कलेज तथा विद्यालयहरु र विभिन्न निकायका परीक्षा कार्यक्रमहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । संक्रमितको संख्या बढेसँगै आवागमनमा थप कडाई गरिएको छ भने परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ । पहिले पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट मात्र परीक्षण गर्ने गरिएकोमा हाल द्रुत गतिको र्यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटि) विधिबाट समेत परीक्षण गरिएको छ । त्यस्तै, पिसिआर विधिबाट गरिने परीक्षण केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र भइरहेकोमा त्यसको दायरा विस्तार गरी देशभर हाल १३ वटा प्रयोगशाला मार्फत पिसिआर विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने संक्रमित व्यक्तिको उपचारको लागि २५ वटा अस्पताललाई कोरोना विशेष हब अस्पतालको रुपमा तोकिएको छ । यसको साथै, कोरोनाको शंकास्पद व्यक्ति भेटिएमा तुरुन्त अस्पताल पुर्याउन सबै जिल्ला, प्रदेश र केन्द्रमा एम्बुलेन्स, चिकित्सक र सुरक्षाकर्मी सहितको डेडिकेटेड टिम चौबिसै घण्टा तैनाथ गरिएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्रोत जुटाउने उद्देश्यले नेपाल सरकारले रु. ५० करोड जम्मा गरी स्थापना गरेको केन्द्रीय राहत कोषमा २०७७ बैशाख ५ गतेसम्म रु. २ अर्ब ७ करोड ४६ लाख रकम जम्मा भइसकेको छ भने राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । त्यस्तै विभिन्न प्रदेश र स्थानीय तहहरुले पनि आ–आफ्नो स्तरमा यस्तो कोष स्थापना गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८ हजार ८१ व्यक्तिको पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गरिएकोमा ३१ जना संक्रमित भएको पाइएको छ । जसमध्ये ४ जना उपचारपछि निको भइसकेका छन्, २७ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने कुनै पनि व्यक्तिको यो रोगका कारण मृत्यू भएको छैन । आरडिटि परीक्षणलाई समेत समावेश गर्दा नेपालमा हालसम्म कुल २८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । कोरोना महामारीबाट बच्ने उपायहरु विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले संक्रमित व्यक्ति र यसको लक्षण देखिएका शंकास्पद व्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने मूख्य उपाय हो । विज्ञहरुका अनुसार यो रोग चमेरो, बिरालो, कुकुर लगायतबाट समेत सर्ने सम्भावना देखिएकोले यो रोगबाट बच्न यस्ता पशुपंक्षीबाट समेत टाढा रहनु पर्दछ । यो रोग विरुद्ध हालसम्म कुनै खोप वा औषधिको विकास भैसकेको छैन । तसर्थ, यस विषम परिस्थितिमा महामारीबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न र व्यक्ति व्यक्ति बिचको सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । विश्व स्वस्थ्य संगठनको मापदण्ड बमोजिम एक देश वा स्थान बाट अर्को देश वा स्थानमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु यो रोग फैलिनबाट रोक्ने महत्वपूर्ण उपाय हो । शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्नु पनि रोगबाट बच्ने उपाय भएकोले नियमित रुपमा स्वच्छ तथा पौष्टिक आहार सेवन गर्ने र नियमित योग तथा व्यायम गर्न आवश्यक हुन्छ । यसको साथै, संक्रमण हुनबाट बच्नको लागि सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी निर्देशनको पालना गर्ने, लकडाउनको समयमा अनावश्यक रुपमा घरबाहिर ननिस्कने, अत्यावश्यक कामको लागि घरबाहिर जानु परेमा मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै सामाजिक दुरी कायम गर्नुपर्दछ । कोरोना महामारीले विश्व समुदायमा ल्याएका चुनौतिहरु विज्ञान र प्रविधिको विकासले संतृप्त भएको र जस्तोसुकै परिकल्पनालाई पनि वास्तविकतामा बदल्न सफल भएको विश्व मानव समुदाय आज कोरोना महामारीको अगाडि निरिह सावित भएको छ । कोरोना विरुद्धको औषधि तथा खोप विकासको लागि ६० भन्दा बढी देशका वैज्ञानिकहरु रात दिन अनुसन्धानमा लागि परेका छन् तर अहिलेसम्मको प्रयास जंगलको रुवाई मात्र भएको छ । तथापि, यसमा केहि प्रगति नभएको भने होइन । केही देशले खोपको विकास गरिएको र मानवीय परीक्षण भइरहेको बताइरहेता पनि पूर्ण सफल भने भइसकेका छैनन् । तसर्थ, महामारीको तिब्र विस्तार भइरहेको र औषधिको विकास नभएको यस्तो संक्रमणकालीन समयमा कोरोना भाइरसले विश्व समुदायमा सिर्जना गरेका चुनौतिहरुलाई निम्न दुई पक्षमा विश्लेषण गर्नु उपयुक्त हुने देखिन्छ । (क) मानवीय चुनौतिहरु कोरोना महामारीले गर्दा आज विश्व मानव समुदाय इतिहाँसकै सकटपूर्ण अवस्थामा बाँचिरहेको  छ । संक्रमणको जोखिम उच्च हुने हुनाले संक्रमित व्यक्तिले समयमै उपचार नपाउने सम्भावना पनि उत्तिकै छ । अझ संक्रमित व्यक्तिलाई छुट्टै आइसोलेसनमा राख्नुपर्ने हुनाले संक्रमित व्यक्ति रोगसँगै मानसिक तनावले बढी पीडित भएका छन् । रोगको संक्रमण रोक्नको लागि विश्वभर नै लकडाउन लागू गरिएका छ जसले गर्दा कतिपय मानिसहरु बीचबाटोमै अलपत्र परेका छन् भने कतिपय अर्को मुलुकमा रोकिन बाध्य भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने सर्वहारा मजदुर वर्गको रोजीरोटी खोसिएको छ जसले गर्दा गरीब तथा मजदूर वर्ग रोगले भन्दा पनि भोकले मर्ने सम्भावना देखिएको छ । महामारीका कारण गरिएको लकडाउनले उत्पादन र वितरणमा समस्या आएको छ भने विश्वभर आपूर्ति श्रृखला अवरुद्ध भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको व्यवस्थापन समेत चिन्ताको विषय बनेको छ । महामारीबाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा विश्वभरका अस्पतालका बेडहरु भरिन गई थप संक्रमितले उपचार पाउने सम्भावना समेत न्यून हुँदै गएको छ । विश्वभर नै महामारीको उस्तै अवस्था रहेकोले औषधि लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमणको उच्च जोखिम देखिएको छ । विज्ञहरुका अनुसार यो रोगबाट बृद्ध–बृद्धा, दीर्घरोगीहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, दम आदिका बिरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले यस्ता बिरामीहरुको जीवन रक्षा थप चुनौतिपूर्ण बन्दै गएको छ । (ख) आर्थिक चुनौतिहरु कोरोना महामारीको तिब्र विस्तार रोक्न लागू गरिएको लकडाउनको कारण विश्वभरका कलकारखाना, व्यापार व्यवसाय लगायत सम्पूर्ण आर्थिक गतिविधिहरु बन्द प्रायः भएका छन् । विश्वभरका शेयर बजारमा उच्च अंकले गिरावट आएको छ भने कच्चा तेलको मूल्य दुई दशक यताकै न्यून बिन्दुमा झरेको छ । विश्व अर्थतन्त्रको आपूर्ति श्रृखला अवरुद्ध भएको छ भने समग्र माग (एग्रिगेट डिमाण्ड) तथा आपूर्तिमा समेत आकस्मिक झट्का लागेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा सन् २०२० अप्रिलमा प्रकाशित वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारण विश्व अर्थतन्त्र सन् १९०८ को आर्थिक मन्दी भन्दा पनि खराब अवस्थामा पुगेको छ भने सन् २०२० मा ३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ । कोषका अनुसार सन् २०२० मा विकसित अर्थतन्त्र ६.१ प्रतिशतले र विकासशील तथा उदाउँदा अर्थतन्त्र १.० प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । त्यस्तै, विश्वको सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र ५.९ प्रतिशतले र समग्र युरो क्षेत्रको अर्थतन्त्र ७.५ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिएको छ । यद्यपि, एशियाका दुई ठूला भारत र चीनको अर्थतन्त्र भने क्रमशः १.२ र १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ । विश्व खाद्य संगठनका अनुसार सन् २०१४ मा अफ्रिकी राष्ट्रहरुमा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण अफ्रिकी राष्ट्रहरुमा ४७ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहन गई खाद्य संकट देखिएको थियो । तसर्थ, कोरोना महामारी अझै बढ्दै गएमा सन् २०२० मा समत विश्वभर खाद्य संकट आउन सक्ने, खाद्यान्नको मूल्यमा वृद्धि हुने र गरीबीको रेखामुनि रहेका जनसंख्यामा खाद्य पहुँचमा समेत गम्भिर असर पर्ने संगठनले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ । राष्ट्र संघीय विश्व पर्यटन संगठनका अनुसार कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटन आगमन २० देखि ३० प्रतिशतले कमि आउने र पर्यटन आय ३०० देखि ४५० अर्ब डलरले संकुचन हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको संख्यामा ५० देखि ६० करोडले कमि आउने र एयरलाइन्स कम्पनीहरुलाई ११२ देखि १३५ अर्ब डलर सञ्चालन नोक्सानी हुने अनुमान गरिएको छ । कोरोना महामारीले नेपालमा ल्याएका चुनौतिहरु (क) मानवीय चुनौतिहरु कोरोना महामारीका कारण नेपालमा हालसम्म कुनै मानवीय क्षति त भएको छैन तर यसले अन्तर्राष्ट्रिय समुदायमा पुर्याएको क्षतिलाई विश्लेशण गर्दा नेपाल पनि त्यस्तो जोखिमबाट मुक्त भने छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बैशाख ७ गतेसम्म नेपालमा ३१ जना संक्रमित भएकोमा ४ जना निको भइसकेका छन् भने अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेकाले मानवीय क्षति हुने सम्भावना न्यून छ । लकडाउन जारी रहेको र परीक्षणलाई तिब्रता दिइएका कारण सम्भावित महामारी निम्तिन सक्ने सम्भावना पनि न्यून छ । यद्यपि, लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र गरीब परिवारको दैनिकी भने कष्टकर बन्दै गएको छ । विशेष गरी शहरी क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको रोजगारी गुमेको र खर्चको अभाव भई खान समेत नपाउने अवस्था सिर्जना भएकोले शहरी क्षेत्रका कतिपय मजदुरहरु लकडाउनको बाबजुत पनि पैदल हिडेर गाँउ फर्कन बाध्य भएका छन् । (ख) आर्थिक चुनौतिहरु नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसँगै होटल तथा पर्यटन सम्बद्ध क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरेका थिए । तर २०२० को पूवाद्र्धसँगै छिमेकी चीनमा कोरोनाको संक्रमण देखिएपछि विश्वव्यापी रुपमा पर्यटकको आगमनमा कमि आयो भने नेपालमा पनि त्यसको असर प¥यो । जसका कारण नेपालको होटल तथा पर्यटन क्षेत्र सन् २०२० को शुरुदेखि नै व्यवसाय विहिन बन्न पुगेको छ भने पर्यटन वर्षलाई लक्षित गरी गरिएको होटल तथा पर्यटन क्षेत्रको अर्बौको लगानी खेर जाने निश्चित प्रायः भएको छ । सम्भावित महामारीबाट बचाउन नेपाल सरकारले देशभर लागू गरेको लकडाउनका कारण अत्यावश्यक बाहेक सबै व्यापार व्यवसाय, कलकारखाना, उद्योगधन्दा बन्द भएका छन् । यसरी दैनिक आर्थिक गतिविधि बन्द हुँदा व्यवसायी तथा मजदुरको अर्बौंको आम्दानी गुमेको छ । यसबाट अर्थतन्त्रमा करिब ३ प्रतिशतको योगदान गर्ने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने १४.४ प्रतिशतको योगदान गर्ने थोक तथा खुद्रा व्यापार क्षेत्र बढी प्रभावित भएको दोस्रो क्षेत्र हो । त्यस्तै, निर्माण क्षेत्र ७.८ प्रतिशत, रियल स्टेट क्षेत्र ११.५ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्र ७.२ प्रतिशत समेत प्रभावित हुने देखिएको छ भने यी सबैको असर ६.३ प्रतिशत योगदान रहेको वित्तीय क्षेत्रमा पर्नेछ । लकडाउनको कारण कतिपय नष्ट हुने खालका कृषियोग्य उत्पादनको बजारीकारण गर्न नसकिएको र मागमा समेत कमि आएका कारण अर्थतन्त्रमा २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्र समेत प्रभावित हुने देखिन्छ । आर्थिक शिथिलतासँगै सरकारको राजस्व आम्दानी तथा विकास निर्माण लगायतमा हुने खर्चमा समेत उल्लेख्य कमि आई आर्थिक मन्दी हुने देखिन्छ । विश्व बैंकका अनुसार सन् २०२० मा नेपालको अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्राकोषले आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने जनाएको छ । कोरोना महामारीका कारण वातावरण र जीवजगतमा पर्ने असर विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ । (क) वातावरणमा पर्ने असरहरु महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । कार्बन ब्रिफका अनुसार चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ । त्यस्तै इटली, स्पेन र बेलायतमा पनि हानिकारक ग्याँस नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा उल्लेख्य कमि आएको छ । बैज्ञानिकहरुका अनुसार खिइदै गएको वायुमण्डलको ओजोन तह विश्वभर गरिएको लकडाउनको कारण पुरिदै गएको छ । यसको साथै, मानवीय आवागमन बन्द भएका कारण बाटो, मन्दिर, खेलमैदान लगायतका सार्वजनिक स्थलहरु प्राकृतिक रुपमा निर्मलीकरण भएका छन् । (ख) जीवजगतमा पर्ने असरहरु कोरोना महामारी रोक्न गरिएको लकडाउनका कारण मानव वस्तीसँग समिप्य रहने कतिपय जीवजन्तुमा नकरात्मक असर परेको छ । मानिसले फालेको फोहोर खानेकुराहरु खाएर हुर्कने कुकुर, बिरालो, बाँदर र चराचुरुङ्गीहरु मानिस घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण प्रतिकुल असर पर्ने देखिन्छ भने यसको विपरित जंगली जीवजन्तु तथा जनावरहरुको अनावश्यक गैरकानूनी शीकार तथा मानवीय हस्तक्षेपमा कमि आई समग्र पर्यावरणीय सन्तुलनमा मिश्रित प्रभाव पर्ने देखन्छ । कोरोना महामारीका कारण मानव सभ्यता र संस्कृतिमा पर्ने असर (क) सभ्यता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस जंगली जनावरबाट मानिसमा सरेको आशंका गरिएको गर्दै जंगली जनावरको मासु सेवन गर्न प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ । चीनमा गरिएको परीक्षणमा कुकुर, बिरालो, चमेरो, सर्प लगायतमा कोरोना भाइरस भेटिएकोले पनि यो तर्कमा बल पुगेको छ । त्यस्तै कोरोना महामारीको समयमा मासु तथा मासुजन्य पदार्थको सेवन नगर्न पनि विश्व स्वास्थ्य संगठनले सुझाव दिएको कारण विश्व समुदायले आफ्नो खाद्य व्यवहार तथा सभ्यतामा परिवर्तन गरी शाकाहारी हुने बलियो सम्भावना देखिन्छ । हाल विश्वको कुल जनसंख्यामा करिब १० प्रतिशत शाकाहारी भएको अनुमान छ । (ख) सँस्कृति कोरोना महामारीका कारण सम्पूर्ण मानव समुदाय घरभित्र नै सीमित हुनु परेको कारण साँस्कृतिक रुपमा मनाउनुपर्ने चाडपर्वहरु पनि ओजेलमा परेका छन् । समयमा चाडपर्वहरु मनाउन नपाउने तथा आवश्यक संख्यामा मानिसहरु भेला हुन नहुने कारण भोलिका दिनहरुमा चाडपर्वहरुको महत्व र औचित्य पनि न्यून हुने सम्भावना रहेको छ । त्यस्तै, विवाह, मृत्यूसंस्कार, भोजभतेर, उत्सव लगायतका सामाजिक कार्यहरु समेतमा धेरै मानिसहरु भेला हुन प्रतिबन्ध लगाइएकोले अबका दिनहरुमा यसले स्वभाविक रुपमा यस्तो भिडभाड कम गरी अनावश्यक तडक–भडक देखाउने व्यवहारमा कमि आउने देखिन्छ । कोरोना महामारीले विश्वलाई दिएको सन्देश २१ औ शताब्दीमा विश्व मानव समुदायको अगाडि आएको सबैभन्दा ठूलो कुनै चुनौति छ भने त्यो कोरोना महामारी नै हो । शक्ति, स्रोत र प्रविधिले सम्पन्न राष्ट्रहरु पनि कोरोना महामारीमा निरीह बनेका छन् । अनुसन्धानबाट लाखौं करोडौं अन्वेषण गरिसकेका विश्वका बैज्ञानिकहरुलाई कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । सबै विज्ञानलाई छोडेर परम्परागत छोइछिटोमा फर्कनु परेको छ भने विश्वको सबैभन्दा उत्कृष्ट र शुन्य त्रुटि रहेको चिकित्सा विज्ञान जनस्वास्थ्यको सामान्य स्वास्थ्य विधि साबुन पानीले हात धुनेमा सीमित बनेको छ । समय परिवर्तनशील छ, हिजोको उपलब्धीले आजको आवश्यकता पूरा भएन भने आजको उपलब्धीले पनि भोलिको आवश्यकता पूरा गर्न सक्दैन । त्यसैले भोलिका दिनहरुमा आउन सक्ने मानवीय विपत्तीसँग जुध्न अझै धेरै गर्नु छ । हाम्रो बिचार, व्यवहार र काममा परिवर्तन गर्नु छ । अझै धेरै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । आजका बैज्ञानिक उपलब्धी संतृप्त होइन त्यसैले यसमा अझै नयाँ ज्ञान र उपलब्धी घोल्नु छ । आजका बैज्ञानिक उपलब्धी र विकासमा असन्तुष्ट हुनुपर्दछ किनकी विकासको निमित्त असन्तुष्ट हुनु नै विकास हो । (लेखक नेपाल राष्ट्र बैंकमा  सहायक निर्देशक हुन् र लेखका व्यक्त विचार व्यक्तिगत हुन् ) [email protected]

डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु

काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ की ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। गए राती १ श्रीमनसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएको केही समय पछि उनको मृत्यु भएको जनाएका छन् । मृतक महिला ४ दिन अगाडि गौरीफन्टा नाका हुँदै भारतबाट आएकी हुन् । श्रीमान् र बच्चासहित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय रौनाकोटको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । घटनास्थलमा स्वाथ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको र कोरोना परीक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी गरिएको जनाएको छ ।

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी । जिल्लाको शिखर नगरपालिका-९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ । आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । पक्राउ पर्नेमा शिखर नगरपालिका-७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन् । स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए । स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताए । उनले भने, ‘स्वास्थ्यकर्मी कुँवरमाथि कुटपिटमा संलग्नलाई पक्राउ गरेका छौँ, आवश्यक कानूनी कारवाही अगाडि बढाउने छौँ ।’ कोभिड-१९ जस्तो महामारी रोगको नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको यहाँका स्वास्थ्यकर्मीले विरोध गरेका छन् । नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले समग्र स्वास्थ्य क्षेत्रमा असर परेकाले तत्काल दोषीलाई कारवाही नगरे कडा आन्दोलन गरिने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

बजेट मन्त्रालयले प्रस्ताव गरे भन्दा फरक आयोः कृषि सचिव भारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले अर्थमन्त्रायले कृषिले प्रस्ताव गरे भन्दा फरक पारेको बताए । एसोसिएसन अफ एग्रिकल्चरण जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै भारीले मन्त्रालयको नाममा विनियोजन गरिएको बजेट नै बजेट भाषण भन्दा ४ अर्व कम भएको जानकारी दिए । अर्थमन्त्री युवराज खतिवडाको बजेट वक्तव्यमा कृषि मन्त्रालयका लागि ४१ अर्ब ४० करोड रूपैयाँ बजेट उल्लेख छ । भारीले रातो कितामा उल्लेख भएको बजेटको विस्तृत विवरण अनुसार ३७ अर्ब ४० करोड २० लाख रूपैयाँ मात्र मन्त्रालयको वित्तिय जिम्मेबारी भित्र रहेको बताउनु भयो । चालू आर्थिक वर्षमा ३४ अर्व ४१ करोड बजेट छ । ‘हामीले ४ लाखलाई रोजगारी दिने गरी विभिन्न कार्यक्रम प्रस्ताव गरेका थियौं, त्यो अनुरूपको बजेट आएन,’ भर्चुअल अन्तरक्रियामा बोल्दै भारीले भने,’ ‘हामीले रासायनिक मलको लागि १० अर्ब २५ करोड प्रस्ताग गरेका थियौं । त्यसमा ७५ करोड बढाएर ११ अर्ब दिइएको छ ।’ समावेशी कृषि रूपान्तरण कार्यक्रमको लागि ३ अर्ब र ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यक्रमका लागि १ अर्ब छ्ट्याइएको छ । यो बजेट बजेट दातृृ निकायबाट आएर अर्थले हस्ताक्षर गरेपछि उक्त शीर्षकमा अर्थ मन्त्रालय मातहतमै रहेर खर्च हुन्छ । जसको वित्तिय जिम्मेबारी अर्थमा रहेको भारीको भनाइ छ । कोभिड १९को कारण थिचिएको अर्थतन्त्र उकास्नका लागि कृषिमा आशालाग्दो बजेट नआएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको भनाइ छ । ‘मलखालमा कृषिले मागेको १० अर्व २५ करोड रहेको कृषि सचिवले भने, यसलाई बढाएर ११ अर्वको बजेट रासायनिक मलमा कसले थप्यो?,’ अन्तरक्रियामा बोल्दै भने, ‘बाहिरबाट आएका जनशक्ति, यहाँ बेरोजगार भएका जनशक्ति सबैको कार्यथलो भनेको खेतीपाती हो, बजेटले त्यसलाई समेटेन ।’ प्रांगारिक मल र खेतिका लागि बजेट प्रयाप्त नभएको, सीमाकृन्त किसान, साना किसानलाई बजेटले सम्बोधन नगरेको गुनासो अधिकारीको छ । बर्षौदेखि किसान सूचीकरण, किसान वर्गीकरण लगायतका कुरामा आवान उठाए पनि आगामी आर्थिक वर्षमा यसले पूर्णता नपाएको उनले गुनासो गरे । सम्बन्धित समाचार कृषि मन्त्रालयको योजना अनुसारको बजेट आएन्, काममा थप चुनौती  

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकले मङ्गलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभा बैठकमा पेश गरेकाे प्रस्ताव बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रममा भने प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संशोधन प्रस्ताव पेश गरेका थिए । सभामुख राजबहादुर शाहीले नेता शाहीलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गरेका हुन् । नेता शाहीले उक्त संशोधन प्रस्ताव फिर्ता नलिने घोषणा गरेकाे थिए । संशोधनका सो प्रस्तावलाई बैठकमा सत्ता पक्षका सदस्यहरुको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिपक्षी दलले प्रदेशसभामा संशोधन प्रस्ताव फिर्ता नलिए पनि प्रदेशसभा सदस्यहरुको बहुमतले प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । महामारी र भोकमरीबाट बचाउन केन्द्रित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महामारी र भोकमरीबाट जनतालाई बचाउन प्रदेश सरकार केन्द्रित रहेको बताए । प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले नीति तथा कार्यक्रममा व्यक्त प्रतिबद्धतालाई बजेटमार्फत पूरा गरिने विश्वास व्यक्त गरे । प्रदेश सरकारले कोष खडा गरेर क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाइएको उनले बताए । क्वारेन्टिन व्यवस्थापनपछि परीक्षण नै मुख्य समस्या रहेको उनको भनाइ छ । दुई पिसीआर मेसिन छन् । भारतबाट आउने नागरिकको सङ्ख्या बढेको बढ्यै छ । “अहिलेको मेसिनबाट सम्भव छैन । तीन वटा मेसिनबाट परीक्षण कार्य अघि बढाउने प्रयास भएको छ”, उनले भने, “पिसीआर र आरडिटी दुवै विधिबाट परीक्षण गर्ने नीति लिएका छाैं ।” मुख्यमन्त्री शाहीले पिसीआर खरिद प्रक्रिया अघि बढिसकेको जानकारी दिए । “सङ्क्रमित हुनै नदिने भनेर लकडाउन कडाइ गर्याैं। प्रदेशका नाका सिल नै गर्याैं, त्यति गर्दागर्दै पनि भयावह हुँदैन भन्ने सोचेका थियौं । शुरुमै धेरै खर्च नगरी तीन–तीन सयको श्यया सुर्खेत तथा जुम्ला र १ सय श्यया चौरजहारीमा आइसोलेसन बनाउने नीति लिइयो । भारतबाट ह्वात्तै नेपाली आएपछि अहिले काबुभन्दा बाहिर जाने अवस्था देखिएको छ ” उनले भने । बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाको उचित सम्बोधन गरिने वचनसमेत मुख्यमन्त्री शाहीले दिए । कर्णाली प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ १६ गते आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको जारी छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य यामलाल कडेँलले दुई वर्षको अनुभवबाट पाठ सिकेर आफ्नो सीमा र दायरालाई सम्झेर बजेट ल्याउन सुझाव दिए । सङ्घ र स्थानीय तहसँग समन्वय हुन नसकेकको भन्दै उनले भने, “आफ्नो सीमा र दायरालाई बुझेर कार्यक्षमता बढाउनुस् । दुई वर्षको पाठ सिक्नुस् ।” अर्का प्रदेशसभा सदस्य विन्दमान विष्टले नीति तथा कार्यक्रमले वर्तमान चुनौती र समस्यालाई निराकरण गर्न आधार तय गरेको बताए । “कोभिड–१९ ले सकारात्मक चुनौती दिएको छ । स्वास्थ्य पूर्वाधार, जनशक्ति विकास गर्न सके दूर भविष्यका लागि पनि उपयोगी भएको छ”, उनले भने, “यसका लागि बजेट पनि छुट्याऔँ, युवा, उद्यमशीलता र रोजगारीमा जोड दिऔं ।” प्रदेशसभा सदस्य मीनासिं रखालले नीति तथा कार्यक्रमले हिंसापीडित महिला र जनजाति समुदायलाई सम्बोधन नगरेको गुनासो गरे । प्रदेशसभा सदस्य वीरबहादुर शाहीले हिमाली जिल्लामा काठेपुल अन्त्यको घोषणा गर्न माग गरे । उनले भने, “डोल्पामा काठेपुलमाथि गाडी चढ्छन् । काठेपुलमा ज्यान बाजी राखेर यात्रा गर्नुपर्ने अवस्था छ । आगामी वर्ष हिमाली जिल्लामा काठेपुलको अन्त्य गरियोस् ।”   रासस

छुवाछुतसम्बन्धि घटनाका अपराधीलाई सजाय दिन सरकारले कुनै सम्झौता गर्नेछैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुतसम्बन्धि जघन्य घटनाको अपराधीलाई सजाय दिनका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । छुवाछुत एक मानव सभ्यताको कलंक र स्वतन्त्र मानव समुदायको बाधकको रुपमा रहेको भन्दै यस्ता जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाए । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिर्दै प्रधानमन्त्री ओलीले अहिले पनि दलितको हीन पहिचान व्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनुपरेका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सम्वोधनमा भनिएको छ, ‘नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । अर्थात् मानव हितविरुद्धका यस्ता गतिविधिलाई सरकारले किञ्चित सहने छैन । यस्ता अमानवीय हिंसाका घटनाहरुको छानविन गरी दोषीहरुलाई कारवाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।’ ‘युगौं अघिदेखिको कुप्रथाबाट प्रभावित सामाजिक सोचमा रहेको असंवेदनशीलता र गरिवीका कारण हाम्रा दिदीबहिनी दाजुभाइहरु अहिले पनि कथित दलितको हीन पहिचान ब्यहोर्दै छुवाछुतमा आधारित जघन्य अपराधको शिकार हुनु परेका घटना हामी देख्दै आएका छौं ।’ जारी सन्देशमार्फत भने । मानव सभ्यताको कलङ्क र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने बताउँदै प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ। त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन’ प्रधानमन्त्रीले उक्त सन्देशमार्फत उल्लेख गरेका छन् ।

दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रूपैयाँ घुस लिएको अभियोमगा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ २ लाख रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना आयोगमा पुगेको थियो । सोहीअनुसार आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट १/१ लाख रू घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । आयोगका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।  रासस

ट्रम्पले आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएकाेमा प्रमुख पादरीले गरे आलोचना

काठमाडाैं ।  वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन् । प्रहरीकाे हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको प्रमुख पादरीले आलोचना गरे । ट्रम्पले राष्ट्रपति कार्यालयबाट नजिकै रहेको आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएका थिए । शान्तिपूर्ण प्रदर्शनमा रहेकाहरुलाई सुरक्षाकर्मीले जबरजस्ती हटाएकाे हुन् । राष्ट्रपतिको कार्य निन्दनीय रहेकाे भन्दै सेन्ट जोन पल द्वितिय नेशनल शरिनका प्रमुख पादरी विल्टन डी ग्रेगोरीले राष्ट्रपति ट्रम्पको भ्रमणलाई शक्तिको ‘दुरुपयोग’ र ‘म्यानुपुलेटेड’ कार्यको संज्ञा दिएका छन् । जर्ज फ्लोइडको निधनले अमेरिकामा संस्थागत रुपमा रहेको रंगभेद र अन्याय विरुद्धको आवाजलाई वुलन्द पारेको बताइन्छ। ४६ वर्षका फ्लोइडको निधनपछि प्रहरी ज्यादती र रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । विगत एक हप्तादेखि जारी प्रदर्शनले केही स्थानमा हिंसात्मक रुपमा पनि लिएको छ । (बीबीसी)