मानवता माथिनै गम्भिर प्रश्न, विष्फोटक तत्व भरिएको अनारस खुवाउँदा गयो गर्भवती हात्तीको ज्यान
काठमाडौं । भारतको केरल राज्यमा विष्फोटक तत्वले भरिएको अनारस खाँदा एउटा गर्भवती हात्तीको ज्यान गएको छ । घाइते भएपछि त्यो हात्ती यति पिडामा थियो कि तीन दिन सम्म एउटा नदीमा आफ्नो मुख र सुँडलाई पानी भित्र डुबाएर उभिएको थियो । वन विभागका कर्मचारीले त्यो हात्तीलाई पानीबाट बाहिर निकाल्न तथा उपचार गर्न धेरै प्रयास गरेको भएपनि सफल हुन सकेनन् । अन्ततः २७ मईको दिन त्यही नदीमै उसको ज्यान गएको छ । निलांबुर वन क्षेत्रमा जनावर र मानिसका बिच संघर्ष चलिरहने भएतापनि गर्भवती हात्तीलाई फलफूल भित्र विष्फोटक पदार्थ राखी खान दिएको घटनाले मानवता माथि नै गंभिर प्रश्न उब्जाएको छ । हाल सो स्थानमा त्यो हात्तीलाई विष्फोटक पदार्थ खुवाउने व्यक्तिहरुको खोजी भइरहेको छ । श्रोतः बीबीसी
अर्थतन्त्र चलायमान बनाउन माग
काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घसहित निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अर्थतन्त्रलाई चलायमान बनाउने व्यवस्था मिलाउन माग गरेका छन् । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखेरललाई मंगलबार भेटी निजी क्षेत्रले बन्दाबन्दीमा भोग्नुपरेको समस्याका बारेमा जानकारी गराएका थिए । महासङ्घको तर्फबाट अध्यक्ष रवि सिंहले कोरोनाको सङ्क्रमण लामो समयसम्म रहने हुँदा बन्दाबन्दीलाई खुकुलो बनाउँदै उच्च सतर्कता अपनाएर विकास निर्माणका लागि नदीजन्य सामग्री र अन्य निर्माण सामग्री सहजरूपमा उपलब्ध हुनुपर्ने बताए । स्थानीयलाई रोजगारी दिने, विदेशबाट स्वदेश फर्कने र अन्य क्षेत्रबाट बेरोजगार हुने करिब १५ लाख श्रमिकलाई रोजगारी सिर्जना गर्न जिल्लामा ५ करोडसम्मका निर्माण खुला बनाइ स्थानीयस्तरमा प्रतिस्पर्धा गराउने गरी प्याकेज बनाउनुपर्ने धारणा उनले राखे । भौतिक पूर्वाधार विकासमार्फत समृद्ध अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य प्राप्त गर्न र कोभिड–१९ का कारण गम्भीर असर परेको निर्माण व्यवसायको उत्थानका लागि महासङ्घले सरकारलाई बजेट निर्माण सन्दर्भमा उपलब्ध गराएका सुझावमध्ये बाँकी सम्बोधन हुन नसकेका सुझाव कार्यान्वयनका लागि पनि अध्यक्ष सिंहले अनुरोध गरेका थिए । ‘पसल खोल्न देऊ’ बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ र ६ क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले मङ्गलबार विरोधस्वरुप बजार खोलेका हुन् । पसल खोल्न नदिए सटर भाडा सरकारले तिरिदिनुपर्ने जोरपाटी व्यापार सङ्घको माग छ । अरु धेरै व्यवसाय खुला हुँदा पनि कपडा, जुत्ता, मोबाइललगायत केही मात्र बन्द रहेकाले खोल्न बाध्य हुनुपरेको व्यवसायी आत्माराम चौलागाईंले बताए । कम मानिस आउने र सामाजिक दूरी कायम गरेरै खोल्न सकिने व्यवसाय बन्द गर्नु नपर्ने माग व्यवसायीको छ । जोरपाटी चोक क्षेत्रका करिब ४० अत्यावश्यक सेवाबाहेकका पसल खुलेपछि महानगरीय प्रहरी वृत्त बौद्धले बन्द गर्न अनुरोध गरेको थियो । घरबेटीले भाडा पनि छुट नदिएको, रोगसँग भन्दा भोकले समस्या भएको भन्दै पसल खोलेपछि स्थानीय सरकार, व्यवसायी र प्रशासनका बीचमा वार्ता भएको वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए । रासस
नयाँ नक्सामा सुस्ता समेट्न आग्रह
काठमाडौं । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल स्पष्टरूपमा उल्लेख गर्न माग गरिएको हो । सुस्तासहित भारतले अतिक्रमण गरेका भूभागमा सीमाङ्कन गरी जङ्गे पिलर सीमास्तम्भ कायम गर्नुपर्ने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए । करिब १९ हजार ४ सय ८० हेक्टर जमिन विवादित भन्दै भारतले सुस्तावासीलाई उपयोग गर्न नदिएको अभियानका अध्यक्ष गुरुङले उल्लेख गरे । बाँकी रहेको ७ हजार हेक्टर मात्र अहिले सुस्तावासीले भोगचलन गर्दै आएका छन् । विसं २०६२ देखि २०६४ भित्रमा भारतले सुस्ता क्षेत्रमा अतिक्रमण गरेको थियो । अहिले भोगचलन गर्दै आएको ७ हजार हेक्टर जमिनको पनि लालपुर्जा नभएकाले तत्काल नापी नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने अभियानका उपाध्यक्ष आदम खाँले माग गरे। विवादित भनिएको १९ हजार ४ सय ८० हेक्टर र भारतले अतिक्रमण गरेको भूमिसमेत फिर्ता ल्याउनुपर्ने भन्दै विवादित भनिएको भूमिमा सुस्तावासीले विसं २०६० सम्म जोतभोग गर्दै आएको उनले बताए । सुस्तामा विसं २०२२ देखि बसोबास शुरु भएको थियो । विसं २०३४ मा नारायणी नदीमा आएको बाढीका कारण तत्कालीन सुस्ता पञ्चायत (हालको विवादित भनिएको १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल जमिन) मा रहेका ९ गाउँलाई पक्लिहवा, त्रिवेणीलगायतका स्थानमा स्थानान्तरण गरिएको थियो । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले निर्माण गरेका संरचनाका कारण नारायणी नदीको बहाव परिवर्तन भइ सुस्तातर्फ केन्द्रित हुँदा सुस्तावासीले समस्या भोग्दै आएका छन् । सुस्तामा नेपाल र भारतको सीमा छुट्याउने कुनै स्तम्भ छैनन् । सडक, रुख र नदीलाई सीमा मानिएको अभियानका सदस्य रवीन्द्र जयसवालले बताए । सुस्तामा अहिले ३ हजार १ सय ३३ जनसङ्ख्या छ । त्यसमध्ये २ सय ९७ जनाको मात्र नेपाली नागरिकता रहेको छ । सुस्तावासी आफ्नै वडा कार्यालय, गाउँपालिका कार्यालय तथा नेपाली भूमि आउन पनि भारतको बाटो हुँदै आउनुपर्ने बाध्यता छ । नारायणी नदीमा पुल नहुँदा डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । नारायणीमा झोलुङ्गे पुल निर्माण भइसकेको छैन । नारायणीमा वर्षात्को समयमा वारपार गर्न कठिन हुने भएकाले सुस्तावासी भारतको बाटो हुँदै जाँदा भारतको इच्छाअनुसार जानुपर्छ भने त्यहाँ जाँदा भारतीय सुरक्षाकर्मीले अनेक यातना दिने गरेको सुस्तावासीको गुनासो छ । स्थानीय लैला बेगमले सुस्तामा रहेको जग्गाको लालपुर्जा र अधिकांशको नागरिकता नहुँदासमेत समस्या भएको भन्दै सीमा विवादसहित सबै समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । सुस्तामा २ सय ६५ घरधुरी छन् । रासस
उद्योगी र श्रमिकको चुल्हो बल्न छोड्ने वेला राजश्व नतिरे कारबाहीको सूचनाले चिन्ता
काठमाडौं । विगत ७२ दिन देखि सबै उद्योग व्यापार व्यवसाय बन्द गरेर सरकारले दिएको आदेश पालना गरि घरमै नजरबन्दमा बसेका ग्रील तथा लघु घरेलु तथा साना उद्योगीमा अर्काे चिन्ता थपिएको छ । सरकारले जेठ २५ गतेभित्र राजश्व दाखिला नगरे कार्वाहिमा पर्ने सुचना प्रकाशित भएपछी ब्यवसायिहरुमा कोरोनाको संक्रमण भन्दा पनि करको त्रासका कारण ज्यान गुम्ने चिन्तामा परेको आशका बढेको ग्रील तथा स्टील ब्यवसायी महासघ अध्यक्ष मोहन कटुवाल बताए । ग्रील तथा लघु घरेलु तथा साना उद्योगीहरुको वास्तविक अवस्थालाइ मनन गरेर जेठ २५ गते भित्र फरफारक गर्न दिइएको निर्देशनलाइ लकडाउन खोलेपछीको कम्तिमा ३ महिनाको समयावधि थप गरि जिम्मेवार अभिवाकत्वको भुमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उनले भने, ‘स्वयम आफू र आफ्ना श्रमिकहरुको बिहान बेलुकाको छाक टार्दै आइरहेका छौं तर लकडाउनको अवधी जेठ ३२ गतेसम्म कायम गरेको अवस्थामा घरमा चुल्हो बल्न छोड्न लागेको बेलामा यस्तो सूचनाले त्रास बढेको छ ।’ सिमित लगानीमा स्थानिय स्तरमै आवश्यक पर्ने सेवा तथा उत्पादनहरु उपलब्ध गराउदै देशमा रोजगारी सृजना गरि राज्यलाइ राजश्य बुझाउदै आइरहेका ग्रील तथा साना लघु घरेलु उध्योग ब्यवसायीहरु यस कठिन अवस्थामा अभिवावक रुपमा रहेको नेपाल सरकारबाट सकन्टमा परेका उध्योगिहरुलाई उद्दार गर्न विशेष राहत सहितको आर्थिक प्याकेज उपलब्ध गराउने आस्वासन पाएको स्थितिमा एक्कासी दबाब सहितको कर तिर्ने कुराले उद्योगीहरु समस्यामा परेको जानकारी दिए । देशको असहज अवस्थाको बारेमा अनबिग्य नरहेको तथा अब मुख्य चुनौतिको रुपमा देशले सामना गर्न लागेको बेरोजगारिको समस्या समाधानमा थप रोजगारी सृजना गरि आत्मानिर्भर अर्थतन्त्र निर्माणमा काधमा काध मिलाएर देशलाई अहिलेको असामान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याउने प्रण गरेको छ । ४ लाखभन्दा बढिको संख्यामा रहेका ग्रील तथा लघु घरेलु तथा साना उद्योग र उद्योगमा संलग्न २६ लाखभन्दा बढि श्रमिकहरुलाई सरकारले दिएको निर्देशन अनुसार राजश्व दाखिला गर्न नसक्नेहरुका जानकारी दिए । यस्ताे अवस्थामा सरकारले गम्भीर एवम जिम्मेवार भएर समयावधि थप गर्न र सुरक्षात्मक विधिहरु अपनाएर व्यापार ब्यवसाय सन्चालन गर्ने वातावरण मिलाइ अर्थतन्त्रलाई चलायमान बनाइ अगाडी बढ्न महासंघका अध्यक्ष कटुवाल आग्रह गरेका छन् ।
आज मुम्बईले १ सय २९ वर्ष पछिकै कडा तूफानको सामना गर्ने
काठमाडौं । सन् १८९१ देखि यता कुनैपनि गम्भिर चक्रवातको सामना नगरेको मुम्बईले आज बुधवार भने १०० देखि २०० किलोमिटर प्रतिघन्टाको रफ्तारवाला चक्रवातीय तूफानको सामना गर्दैछ । भारतीय मौसम विभागले शहरको तल्लो भाग डुब्न सक्ने बताउँदै हावाहुरी, भारी वर्षा तथा तूफानका वेला सावधानी अपनाउन जनतालाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये एक तिहाई मानिसहरु गुमाइसकेको महाराष्ट्रमा फेरी यो अर्को संकट आउन लागेको हो ।
ब्राजिलमा दैनिक कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो
काठमाडौैं । ब्राजिलमा एकै दिन फेरि १ हजार २ सयभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको छ । विश्वमा सबैभन्दा कोरोना संक्रमण हुने दास्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टा यता १ हजार २ सय ३२ जनाको मृत्यु भएको छ भने २७ हजार २ सय ६३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । उच्च कोरोना संक्रमण भएको अमेरिका पछि दोस्रो स्थानमा रहेको ब्राजिलमा ५ लाख ५६ हजार ६ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ । ब्राजिलको सबैभन्दा ठूला आदिवासी समुदायमध्ये एक यानोमामीका धेरै सदस्यको मृत्यु पछि खानीमा काम गर्नेहरूलाई हटाउने माग गरिएको छ । यानोमामी समुदायका मानिसहरू बाहिरी व्यक्तिहरूलाई उनीहरूको बसोबासको क्षेत्रबाट टाढा रहन चाहेकाे कुरा विदेशी संचारमाध्यममा आएका छन् । पान अमेरिकी स्वास्थ्य संगठनले सरकारले भाइरस रोक्नको लागि अझै पर्याप्त कदम चालेको छैन भन्छ । पीएचओले सरकारलाई यो भाइरस रोकथाम गर्न नदिएका प्रतिबन्धहरूलाई शिथिल नगर्न चेतावनी दिएको छ । पीएएचओले भनेका छन कि यो ब्राजिलियालीहरुलाई हुने खतराको बारेमा चिन्तित छ । संगठनले आदिवासी समुदायहरूको अझ राम्रो अनुगमन हुनुपर्ने भनेको छ ।
कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७३ हजार ५ सय ६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ भने ३० लाख ५ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ८ हजार ५७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १८ लाख ८० हजार ९ सय ३० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ भने अहिलेसम्म ५ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ हजार ९९ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
सिमेन्टको गुणस्तर मापन तीव्रताका साथ हुँदै
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ । सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट उद्योगबाट नमूना सङ्कलन गरेको जानकारी दिए । “बन्दाबन्दीको समय पारेर उपभोक्ता गुणस्तरबाट ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले विभिन्न ठाउँबाट १०० बढी नमूना सङ्कलन गरेका छौँ”, उनले भने । विभागले काठमाडौँ उपत्यकामा मात्र विभिन्न १२ वटा हार्डवेयरबाट नमूना सङ्कलन गरेको छ । महानिर्देशक पुडासैनीले विभागले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरे कारवाही गरिने स्पष्ट पारे ।