सुदूरपश्चिममा कोरोना परीक्षणमा ढिलाई
भीमदत्तनगर । प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाई हुन थालेको छ । पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच दिनका लागि नमूना सङ्कलन स्थगन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले तीन दिनपछि स्वाब सङ्कलन पुनः शुरु गरिने जानकारी दिए । “हामीसित अझै एक १६० स्वाब परीक्षण गर्न बाँकी छ ।” निर्देशक डा अवस्थीले भने, “स्वाब स्टोर गर्ने क्षमता कम भएकाले केही समय नमूना सङ्कलन स्थगन गरेका हौँ ।” उनले सुर्खेत र काठमाडौँ प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्न पहल गरे पनि सबैतिर चाप रहकाले नसकिएको बताए । “सबैतिर ल्याबहरुमा परीक्षणका लागि चाप छ”, उनले भने, “यहाँ हामी दैनिक २५० भन्दा बढी परीक्षण गर्न सक्दैनौँ ।” प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशालाको स्थापनाको प्रक्रिया अघि बढे पनि सुस्त गतिमा छ । “सेतीमा प्रयोगशाला स्थापना भए हामीसित जनशक्ति खटाउन सकिने अवस्था भए पनि पहाडका दुई प्रयोगशालाका लागि जनशक्ति एक जना पनि छैन ।” अवस्थीले भने, “आगामी असार १५ गतेभित्र पिसीआर मेसिन यहाँ आइपुग्छ ।” धनगढीमा केन्द्रबाट पठाएको प्रयोगशाला सञ्चालनमा आउनुअघि यहाँ सङ्कलन गरिएका स्वाब सुर्खेत र काठमाडौँ प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम बढेसँगै कोरोनाको सङ्क्रमण फैलिने सम्भावना बढिरहेको छ । शनिबार साझँसम्म सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका क्वारेन्टिनमा ६२ हजार ५२७ जना बसिरहेका छन् । एक सय सात कोरोना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशका आइसोलेसन वार्डहरु सङ्क्रमित बिरामीले भरिएका छन् । आइसोलेसन वार्ड बढी रहेका कैलाली र कञ्चनपुरमा पनि सङ्क्रमितको चाप बढेपछि स्थानीय प्रशासनले आइसोलेसन वार्ड थप्ने गृहकार्य गरिरहेका छन् । यहाँका एक हजार ६०० भन्दा बढी स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको भएपनि व्यवस्थापन नहुँदा समस्या भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको बताए । “यहाँ क्षमता हुँदासम्म बिरामी राखिने कुरा भएको छ”, उनले भने, “भरिए पनि यहाँको सेफर अस्पताल र सीएमए महिला छात्रावासलाई पनि आइसोलेसन वार्ड बनाउने तयारी छ ।” त्यसैगरी अस्पतालमा निर्माण भइरहेको ५० श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको जोशीको भनाइ छ । सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भएको छ भने छ जनाको क्वारेन्टिनमा मृत्यु भएछ । जसमध्ये तीन जनाको कोरोना नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सात हजार ४९ पिसीआर विधि र ३२ हजार ७५६ आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टमा पिसीआर स्वाब सङ्कलन स्थगन भए पनि स्थानीय पालिकाले सम्बन्धित तहमा आरडिटी विधिबाट परीक्षण गरिरहेको बताए । “हामीबाट आरडिटीका लागि किट लगेर पालिकासित भएको जनशक्तिले नै परीक्षण गरिरहेको छ”, भट्टले भने, “त्यसको तथ्याङ्क हामीकहाँ पनि पठाउने गरेका छन् ।” धनगढीस्थित पशुपक्षी अन्वेशण प्रयोगशालामा पनि जनशक्ति कमी रहेको छ । “प्रयोगशालाको पूरै टिम दैनिक १२ देखि १३ घण्टा खटिरहेको छ ।” प्रयोगशाला स्रोत भन्यो, “कर्मचारी अभावले पनि परीक्षणमा केही ढिलाइ हुन गइरहेको छ ।” रासस
धादिङको धार्के र काभ्रेको पाँचखालमा २ रुपैयाँ केजीमा पाइने तरकारी काठमाडौंमा कति पर्छ ?
काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य अति न्युन भएको छ । लकडाउन अगाडी प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री हुने गोलभेडाँको मूल्य अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँ रहेको छ । स्थानीय तहमा कृषिजन्य बस्तु उत्पादन गरिरहेका किसानले भने प्रतिकेजी २ देखि ५ रुपैयाँमा पनि तरकारी विक्री गरिरहेका छन् । काठमाडौं उपत्यकामा तरकारीको मूल्य कम भएपनि किसानले बेचेको भन्दा निकै गुणा बढीमा तरकारी विक्री भइरहेको छ । धादिङको थाक्रे गाँउपालिकामा केही दिन अगाडी धेरै तरकारी नष्ट गरिएको थियो । तर, अहिले कम मूल्यमा केही तरकारी उपत्यका आउने गरेको उपप्रमुख अम्बिका रुपाखेतीले जानकारी दिइन । दैनिक ३ गाडी तरकारी कालिमाटी तरकारी बजार व्यवस्थापन गर्ने आग्रामय संयुक्त कृषि फार्मका संचालक केशव रुपाखेती कोरोना संक्रमणसँगै बजारमा तरकारी खपत नहुँदा कृषकहरु मर्कामा परेको बताउँछन् । थाक्रे गाँउपालिका ११ मा करिब ३० रोपनी जग्गामा २ वर्ष यता तरकारी खेती गर्दै आएका रुपाखेतीले सरकारले लकडाउन गर्दा किसानले काउली, बन्दा, काक्रो,भेडेखुर्सानी, करेला जस्ता तरकारी १० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्नु परेको जानकारी दिए । ‘कोरोना संक्रमण हुनु अगाडी थाक्रे गाँउपालिकाबाट कम्तीमा १० वटा गाडीमा तरकारी कालिमाटी तरकारी बजार भित्रिने गर्थे तर अहिले त्यो अवस्था रहेन’ उनले भने । हाल मुस्किलले २ वटा सानो गाडीमा तरकारी काठमाडौं आउने उनले बताए । अगाडी नै उत्पादित कृषिजन्य सामग्री विक्री नभएर आर्थिक भार खेपिरहेका किसानले नगदेवालीको सिजन सकिँदै जाँदा अन्नबाली लगाउने बेला मल नपाउने डरसँगै फौजी किरा देखिएपछि झन समस्यामा रहेका रुपाखेतीले बताए । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाबाट दैनिक सय गाडीभन्दा बढी तरकारी कालिमाटी तरकारी बजार आउने गर्थे भने हाल कोरोनासँगै २ गाडी तरकारी कालिमाटी तरकारी बजार भित्रिने गरे उपप्रमुख लक्ष्मी दनुवारले बताइन् । प्रतिक्रेट १५ सय रुपैयाँमा बिक्री हुने टमाटर अहिले २ सय रुपैयाँमा बिक्री गर्न पनि गाह्रो रहेको उनले बताइन । ‘काउली, करेला, भेडेखुर्सानी लगायतका तकारीहरु प्रतिकेजी १० देखि १५ रुपैयाँ बिक्री भइरहेको छ’ उनले भनिन् । तरकारीको मुख्यबजार कालिमाटी भएकोले त्यहाँ ल्याउनको लागि ढुवानी समस्या झेल्नु पर्ने गुनासो किसानहरुले गर्दै आएका छन् । एकातिर तरकारीको खपत कम हुनु र अर्काेतिर अति न्यून मूल्यमा पनि तरकारी बिक्री गर्न नपाउँदा धेरै तरकारी नष्ट भइरहेको अवस्था रहेको उपप्रमुख दनुवारले बताइन् । ठूलो मात्रामा तरकारी उत्पादन हुने मकवानपुर जिल्लाको थाहा नगरपालिकामा कोरोनाले कृषकहरु मारमा रहेको त्यहाँका उपप्रमुख खड्गबहादुर गोपाली जानकारी दिए । अधिकांश कृषकले तरकारी बाली लगाउँदै आउने सो स्थानमा यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले लकडाउन गर्न परेसँगै उत्पादित तरकारले बजार नपाउँदा कृषक मारमा रहेको नगरपालिकाका उपप्रमुख गोपालीको भनाइ छ । ‘बजारमा ५० देखि ५५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको काउलीको भाउँ किसानकोमा ४÷५ रुपैयाँ छ, बजारमा २० रुपैयाँ प्रतिकेजीको गोलभेडा २÷३ रुपैयाँमा बिक्री भइरहेको छ’ उनले भने । हाल किसानको लगानी उठ्ने उठ्ने अवस्था नै नरहेको भन्दै उनले लगानी उठ्नका लागि प्रतिकेजी कम्तिमा पनि ८ रुपैयाँमा बिक्री हुनु पर्ने तर अहिले त्यो अवस्था नरहेको उपप्रमुख गोपालीले बताए । केही दिनयता मकवानपुर कै अन्य पालिकाहरुमा तरकारी अति नै कम मूल्यमा फ्याल्नुभन्दा भनेर काउली, बन्दा, मुला प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म विक्री गर्दै आएको र कतिपय तरकारी खाल्डो खनेर पुरेको अवस्था रहेको उनले जानकारी दिए । पहिला पहिला थाहा नगरपालिकाबाट दैनिक कम्तीमा २० देखि २५ गाडीसम्म तरकारी उपत्यका भित्रिने गरेको थियो । पछिल्लो समय लकडाउनले ग्रामीण भेगका कृषकले उत्पादन गरेको तरकारी बजारमा ल्याउन त समस्या छ नै तर उपत्यका नजिक भित्रका किसान उत्पादनले उचित बजार र मूल्य पाउन सकेको छैन । काभ्रे जिल्लाको पनौती नगरपालिकाका स्थानीय किसानले यस बर्ष असिनापानीले ठूलो क्षति वेहोरेका छन् । कोरोनाको महामारीसँगै बजारमा कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीको मूल्य अति कमी आएको छ । ‘अधिकांश कृषिजन्य उत्पादन असिनापानीले खायो भने टनेलामा रहेका तरकारी बाली कृषि सहकारीको माध्यमबाट बजारमा पुराउने कार्य भइरहेको छ । कृषिजन्य उत्पादनको मूल्य पनि घटेका कारण किसानलाई थप समस्या भएको छ, हाल दैनिक यति नै तरकारी बजारमा व्यवस्थापन गर्न सकिएको भन्ने त्यस्तै तथ्यांक छैन,’ पनौती नगरपालिकाकी उपप्रमुख गिता बन्जारा भन्छिन् । त्यस्तै, काठमाडौं उपत्यकासँग सिमाना जोडिएको नुवाकोटको ककनी गाउँपालिकामा पछिल्लो समय तरकारी केही मात्रामा उपत्यका भित्रिरहेका उपप्रमुख सिता लामाले बताइन् । केहीदिन अगाडी ककनीमा कोरोना संक्रमण पुष्टी भएपछि भने सिल गरिएको थियो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगा चोकगढीमा पनि तरकारीको मूल्य अति नै कम रहेको र प्रायः सबै तरकारी प्रतिकेजी १० देखि २० रुपैयाँसम्म बिक्री भइरहेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । स्वास्थ्य अधिकारीहरुले तरकारी तथा फलफूलबाट कोरोना सर्दैन भन्दै आएका छन् । केही दिन अगाडी जनप्रतिनिधिको मातहतमा गण्डकी प्रदेशका केही स्थानीय तहमा उत्पादित तरकारी खाल्डोमा पुरिएको घटनाले एक किसिमको चेतनास्तरलाई औल्याएको छ । कालिमाटी तरकारी बजारमा दैनिक ५ सय मेट्रिक टन तरकारी भित्रिने गरेको छ । लकडाउन भएसँगै तरकारी मूल्यमा कमी भएसँगै खपत कम भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताएका छन् । ‘विशेष गरी चितवन, धादिङ, मकवानपुर, काभ्रेलगायतका जिल्लाबाट दैनिक करिब ५ सय मेट्रिक टन तरकारी भित्रिने गर्छ भने फलफूल तथा प्याज भने व्यापारीको सम्पर्क अनुसार भित्रिरहेको पाइएको छ,’ पौडेलले भने । ठूलो संख्यामा रहेका होटलका साथै अतिआवश्यक पसलबाहेक सबै बन्द भएको हुँदा तरकारी खपत भएसँगै मूल्य पनि भटेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
हवाई भाडा ११ सयभन्दा बढीले घट्यो, कुन ठाउँ जान कति ? (भाडादरसहित)
काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनको समयमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको हो । निगमले अप्रिलमा हवाई इन्धनको मूल्य १५ रुपैयाँ र सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट मार्फत पूर्वाधार कर १० रुपैयाँ हटाएपछि संघले पनि भाडा घटाएको बताएको हो । संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ११ सय ५ देखि न्युनतम २ सय २५ रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ । यसबाट सबैभन्खदा बढी लाभान्वित धनगढी जाने यात्रुहरु हुनेछन् । धनगढी जाने यात्रुहरुका लागि ११ सय ५ रुपैयाँले हवाई भाडा घटेको हो । कम्पनीले लकडाउनपछि उडान सूचारु गर्न पूर्वतयारीको कामलाई समेत तीव्रता दिएको बताएको छ।लकडाउनमा केही जहाज उडेपनि तिनीहरुको नियमित मर्मतसम्भार तथा परीक्षणको काम जारी रहेको कम्पनीले उल्लेख गरेको छ । संघका अनुसार अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइट ८ सय ६० रुपैयाँ सस्तो हुनेछ । काठमाडौंबाट भद्रपुरमा ७ सय ५०, भरतपुर, पोखरा र विराटनगरको भाडा क्रमशः २ सय ७०, ३ सय ९५ र ६ सय रुपैयाँले कम भएको छ । यस्तै, जनकपुरका लागि ३ सय २०, सिमरामा २ सय २५, भैरहवामा ५ सय १५, र नेपालगन्जमा ८ सय १५ रुपैयाँ भाडा घटेको उल्लेख गरिएको छ । अब हवाई जहाज उडान गर्ने भन्ने विषय भने अनिश्चि नै छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ देखि आन्तरिक उडान गर्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ। प्राधिकरण र हवाइ व्यवसायीसँग भएको छलफलमा आन्तरिक उडान गर्ने असार १७ बाट चरणबद्ध रुपमा गर्ने प्रस्ताव पास भएको हो। मन्त्रालयले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गर्ने बताइएको छ ।
कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार- चिरञ्जीवी चापागाईं
काठमाडौं । कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । बीमा क्षेत्रको नियमक निकायबाट बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै, बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पुँजी दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। बीमा क्षेत्रको नियमक निकायबाट सुझाव दिँदै उनले ऋणपत्रकाे काराेबारलाई छिटाे भन्दा छिटाे दाेश्राे बजारमा ल्याउन पहल गरेका छन् । त्यस्तै, बीमा कम्पनीहरुलाई अल्पकालिन समयको लागि लगानीको व्यवस्था गर्न समेत बोर्डलाई सुझाव दिएका छन् ।
पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्छ- गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पुँजीबजार म्याच्योर हुन धेरै टाइम लाग्ने बताएका छन् । उनले पुँजीबजारमा गर्नुपर्ने कामहरु धेरै भएकाले यो क्षेत्र म्याच्योर हुन समय लाग्ने बताएका हुन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘नेपाल राष्ट्र बैंकका नीतिहरुले पुँजी बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसनको नीतिले पुँजी बजारमा सकारात्मक असर परेको थियो ।’- उनले बताए । त्यस्तै, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुँजीबजारका सुझावहरु समेट्ने अपेक्षा गरेको उनले बताए ।
उत्तरी नाइजेरियामा भिषण सैनिक कारबाहीमा, ७० जना बन्दुधारी मारिए
अबुजा । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको कारबाहीमा ती व्यक्ति मारिएको बताए । कडुनाको ठूलो क्षेत्रमा बन्दुकधारीहरुले स्थानीय गाउँलेको सम्पत्ति र गाईवस्तु लुटपाट गर्नुका साथै प्रतिरोध गर्ने स्थानीयवासीको हत्या गर्ने गरेका छन् । लगातार त्रासको वातावरण सिर्जना गरेको भन्दै नाइजेरियाली सेनाले सो क्षेत्रमा अहिले अपरेशन एकर्ड नामको सैनिक अभियान सञ्चालन गरेको छ । सेनाले पैदल सहित हेलिकप्टरबाट बन्धुकधारीहरु लुकेका स्थानमा कारबाही गरेको प्रवक्ताले जानकारी दिए। कारबाहीमा अरु धेरै घाइते व्यक्ति फरार भएको पनि सेनाको भनाई छ । सेनाले अझै पनि जंगल क्षेत्रमा कारबाही जारी राखेको जनाएको छ । एक साता अघि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले कुडुना क्षेत्रमा सक्रिय बन्दुकधारीलाई पूर्ण रुपमा निर्मूल गर्नेगरी सैन्य कारबाही तिब्र बनाउन आदेश दिएका थिए । रासस–सिन्ह्वा
लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग
वासिङ्टन । कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय संचालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ । रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ । व्यापार व्यवसाय संचालन गर्दा कामदारका लागि र ग्राहकहरुका लागि पनि सामाजिक दुरी बढाउन पहिले प्रयोग गर्दै आएको ठाउँ साघुँरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनु परेको व्यवसायीहरुले बताएका छन् । माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरुलाई अहिले भ्याई नभ्याई देखिएको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार एकै पटक धेरै उत्पादन, वितरण वा सेवा प्रवाह गर्नु पर्ने भएकाले पनि व्यवसायीहरुले टेन्टको माग गरेको पाइएको छ । उनीहरुले आफ्ना मेसिन तथा अन्य सामानहरु, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् । अध्ययनकर्ताहरुले सबै सेवा तथा उत्पादनको मुल्य बृद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् । टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच बर्ष यताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ । म्याक किन्नीका सहप्रवन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झण्डै तेब्बर व्यापार भएको जानकारी दिए । व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरुका लागि टेन्टको माग बढेको उनीहरुले बताएका छन् । साविकको ठाउँ सामाजिक दुरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्ट मार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षा कोठा बनाइएको उनीहरुको भनाई छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म १९ लाख ९८ हजार ५ सय बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या १ लाख १२ हजार नाघेको छ । रासस/एएनआई
राजविराजमा पिसीआरद्वारा परीक्षण शुरु
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ । पिसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पिसीआर मेसिन जडानकार्य गरेपछि स्वाब परीक्षण शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । पहिलोपटक राजविराज नगरपालिका–१ स्थित राजदेवी माविको क्वारेन्टिनमा रहेको २२ जनाको स्वाब परीक्षण गरिएको छ । सङ्कलित स्वाब परीक्षणको प्रक्रियामा राखिएकाले आजै रिपोर्ट आउने उहाँले जानकारी दिए । यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण हुने गरेको थियो । धरानबाट स्वाबको रिपोर्ट आउन पाँच दिनदेखि सात दिनसम्म लाग्ने गरेकामा राजविराजमै परीक्षण कार्य शुरु भएपछि सहज हुने भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगीसमेत गरी १० जनशक्ति परिचालित भएका छन् । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमा जडान गरिएको मेसिनमा एकपटकमा ९६ क्यासेट लाग्ने छ । एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको नमूना परीक्षण गर्दै क्रमशः बढाइँदै लगिने अस्पतालले जनाएको छ । बाहिरको प्रयोगशालाबाट स्वाब रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेकामा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीव्रता आउने कोभिड–१९ व्यवस्थापन संयोजक डा रणजितकुमार झाले बताउनुभयो । सप्तरी जिल्लामा भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, बिहारलगायतबाट आएका एक हजार ८०२ जनालाई हाल सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसअघि धरान र विराटनगर पठाइएको ३७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी छ । सप्तरीका सङ्क्रमित ७७ मध्ये ७६ राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा राखिएको छ । एक सङ्क्रमित डिस्चार्ज भएका छन् । रासस