विकासन्युज

ट्रम्प ‘संविधानदेखि टाढिएको’ पूर्वसैनिक प्रमुख पावलको आरोप

काठमाडाैं । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गर्दै उनी ‘संविधानदेखि टाढिएको’ बताएका छन् । पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन् ।प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए । पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन् । ट्वीट गर्दै ट्रम्पले पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन् । अफ्रिकी/अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन् ।ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन् । प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो । तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन् । न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताएका छन् । पावलले के भनेर ? सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ । तर राष्ट्रपति संविधानदेखि टाढिएका छन् ।’ ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन् । किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन् ।’ अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भने, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ ।’ उनले थपे, ‘सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु । मैले उनीसँग ३५, ४० वर्ष काम गरेको छु । अहिले उनी उम्मेदवार छन् र म उनलाई मत दिनेछु ।’ मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिएनन् । आफ्नो अन्तर्वार्तामा उनले पछिल्ला दिनमा ट्रम्पको आलोचना गरेका सैनिक नेतृत्त्वहरूप्रति समर्थन पनि जनाए । तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेका जनरल मार्टिन डेम्प्सेले राष्ट्रपति ट्रम्पका शब्दले अमेरिकी नागरिक र सैनिकबीचको सम्बन्धमा आघात पुगेको एबीसीको द वीक कार्यक्रममा आइतवार बताए । (बीबीसी नेपालीबाट)

ती चार नेता जसले आफैं तोडे लकडाउनको नियम

काठमाडौं । बृद्ध वृद्धाहरु आफ्नै नाती नातिनीलाई काखमा राख्नका लागि लालायित छन्, आफन्तहरु आफ्ना प्रियजनहरुको अन्तिम संस्कारमा उपस्थित हुन पाइरहेका छैनन् । वास्तवमै लकडाउनको नियमले कोरोना भाइरसलाई फैलनमा कम त गरेको छ तर यो क्रममा मानिसहरुले ठूलो संख्यामा बलिदान पनि दिएका छन् । लकडाउनको नियम कडाइका साथ पालना गर्नेहरु सुरक्षित रहँदै आएका छन् भने यो नियमको पालना नगर्नेहरु चाहिँ खराब परिस्थितीको सामना गरिरहेका छन् । यत्ति हुँदाहुँदै पनि कतिपय राजनेताहरुले चाहिँ आफैंले बनाएको नियम तोडेको पाइएको छ । यहाँ हामी चर्चा गर्दैछौं ती ४ चर्चित नेताहरुको वारेमा जसले आफैंले बनाएको नियमलाई तोड्दै गरेको पाइएको छ । डोनाल्ड ट्रंप, अमेरीका कोरोना भाइरस महामारीका कारण दुनियाँभरमा भएको कूल मृत्युको ३० प्रतिशत मृत्यु अमेरीकामै मात्र भएको छ । गत अप्रिल पहिलो हप्ता अमेरीकाको सेंटर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेंशन (सीडीसी) ले यो सल्लाह दिएको थियो कि कोरोना भाइरससँग जुध्नका लागि सबै अमेरिकीले मास्क लगाउनु पर्छ । यो सल्लाहका बाबजुद राष्ट्रपति ट्रंपले मास्क लगाउन चाहेनन् । त्यसैगरी २१ मईमा उनले फोर्ड प्लान्टको भ्रमण गरे जसले भेन्टिलेटरको निर्माण गरिरहेको थियो । त्यहाँका कर्मचारीहरुले आफ्नो अनुहार मास्कले ढाकेका भएपनि ट्रंपले चाहिँ त्यसो गरेनन् । भ्लादिमीर पुटिन, रुस रुसका राष्ट्रपति भ्लादिमीर पुटिन कडा मिहिनेतका साथ काम गर्ने नेताका रुपमा चिनिन्छन् । २४ मार्चमा जब कोरोना भाइरसको प्रकोप शुरु भइरहेको थियो तब उनले मस्कोको एउटा अस्पतालको भ्रमण गरेका थिए । उनले अस्पतालको भ्रमणका बखत हेजाड्र्स मेटेरियल सूट लगाएका भएपनि त्यहाँका डक्टरहरुसँग भेट गर्दा चाहिँ कुनैपनि किसिमको प्रोटेक्टिव गियर प्रयोग गरेका थिएनन् । त्यो एउटा जोखिमले भरिएको व्यवहार थियो, खासगरी त्यो वेला जब उनले अस्पतालका चिफ डक्टर डेनिस प्रोत्सेनकोसँग हात मिलाए । केही दिन पछि मात्र डक्टर प्रोत्सेनकोमा कोरोना पोजिटिभ देखिएको थियो । बिन्यामिन नेतन्याहु, इजरायल इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहु तथा राष्ट्रपति रुवेन रिवलिन त्यो समय आलोचनाको शिकार भए जब तिनीहरुले आफ्ना ब्यस्क बच्चाहरुका साथ पासोवर चाडको भोज आयोजना गरे । केही दिन अघि मात्र उनले लकडाउनको घोषणा गर्दै देशवासीहरुसँग कुनैपनि किसिमको भोज आयोजना नगर्नका लागि अपिल गरेका थिए । यो घटनालाई लिएर इजरायलका मिडियाहरुले प्रश्न खडा गरेका थिए । योगी आदित्यनाथ, भारत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चका दिन दुनियाँको सवैभन्दा ठूलो लकडाउनको घोषणा गरे जसले १ अर्ब ३५ करोडको आवादी वाला देशलाई पूर्ण रुपमा रोकिदिएको थियो । यो क्रममा पूजा तथा प्रार्थनास्थलहरु पनि बन्द गरिएको थियो । यत्ति हुँदाहुँदै पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन लागू भएको पहिलो दिन नै यसको उल्लंघन गरिदिए । अयोध्याको विवादित स्थलमा मन्दिर निर्माणका लागि गरिएको धार्मिक अनुष्ठानमा उनले भाग लिँदै गरेको तस्विर बाहिरियो । श्रोतः बीबीसी

चीनमा भेटिए कोरोनाका लक्षिणविहीन संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा चीनमा ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । लामो समयसम्म संक्रमित नभेटिएको चीनमा  जुन ६ मा ३ जनामा काेराेना देखिएकाे थियाे । फेरी जुन ७ अर्थात पछिल्लाे २४ घण्टा यता ५ जना काेराेना लक्षिणविहीन र १ जना कोरोनाको लक्षण देखिएको व्यक्तिमा कोरोना पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ ।  । चीनमा संक्रमणको संख्या ८४ हजारभन्दा बढी रहेका छन् भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७० लाख ८१ हजार ५ सय ९४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५ हजार ७४ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ५३ हजार ७ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ७ हजार २ सय ३२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ६ पुगेको छ भने अहिलेसम्म ७ हजार २ सय ७ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको सिजिआजुङबीच सम्झौता

काठमाडौं । शिक्षा, अनुसन्धान तथा संस्कृति आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र चीनको सिजिआजुङ टाइडाओ विश्वविद्यालयबीच सम्झौता भएको छ । एमयूका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह तथा सिजिआजुङतर्फबाट उपकुलपति प्रा डा फेङ बेन्जीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको एमयूले जनाएको छ । सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुनेछ । सम्झौतापश्चात् मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु उक्त चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् । एमयूका सूचना प्रविधि सङ्कायका उपप्राध्यापक पञ्चदेव भट्टले अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाइका लागि प्राध्यापकसमेत आदानप्रदान गर्न सकिने जानकारी दिए । “सम्झौता हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ, त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकताअनुसार थप गरिने प्रावधान राखिएको छ”, उनले भने, “यो सम्झौता एमयूमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।” सिजिआजुङ टाइडाओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनीयरिङसँग सम्बन्धित चीनको एक प्रख्यात विश्वविद्यालय मानिन्छ । रासस

नेपाल धितोपत्र बोर्ड स्थापनाको २८ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोर्डले वार्षिकोत्सव कार्यक्रमलाई वेबिनारमार्फत सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सभापतित्वमा आयोजित कार्यक्रको प्रमुख अतिथि माननीय अर्थ र सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडा रहेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी तथा अतिथिहरुमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, नेपाल मर्चेन्ट बैैकर संघका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाट रहेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि डा. खतिवडाले बोर्डको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै बोर्ड, नेपालको धितोपत्र बजार विकास तथा सुधारमा सशक्त नियमन निकायको रुपमा अगाडि बढने अपेक्षा गर्दै बजार विकास तथा विस्तार सम्बन्धमा अगाडि बढ्न निर्देशन दिए । मन्तव्यको क्रममा उनले बोर्ड हालैका दिनहरुमा थप संगठित र व्यवस्थित संस्थाको रुपमा अगाडि बढिरहेको बताए । नेपाल सरकारको ऋणपत्र बजारको विकास तथा विस्तार, पूर्ण स्वचालित दोस्रो बजार कारोवार प्रणाली र संस्थागत लगानीकर्ताको बजार प्रवेश तथा सहभागीता बढाउनमा जोड रहेको बताउँदै ऋणपत्रको दोस्रो बजार कारोबारलाई आगामी दिनमा सकृय गराउन, पूर्ण स्वचालित कारोवार प्रणालीको विकास तथा संस्थागत लगानीकर्ताको रुपमा धितोपत्र व्यापारी (डलर) लाई बजार प्रवेश गराउनका लागि आफुले बजेटमा समेत सो नीति तथा कार्यक्रम ल्याएको समेत बताए । धितोपत्र बजारमा साख मूल्यांकन संस्थाहरुको स्तरीकरणले नयाँ लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने सन्र्दभमा साख मूल्यांकन संस्थालाई थप विश्वसनीय, भरपर्दो प्रतिस्पर्धी बनाउनुका साथै यसको लागत घटाउन तर्फ लाग्नुपर्नेमा जोेड दिए । लकडाउन पश्चात खुल्ने धितोपत्र बजारमा तरलता ल्याउन बोर्ड तथा सम्बन्धित पक्षहरुले तरलता व्यवस्थापन, मार्जिन कारोबार सम्बन्धी व्यवस्था तथा सहज रुपमा राफसाफहुने व्यवस्था सम्बन्धमा छलफल गर्नका लागि निर्देशन दिए । मन्तव्यकै क्रममा उनले सूचनाको आधारमा नै लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्ने हुनाले सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाइ सुसूचित निर्णय गर्न सक्ने बनाउनुपर्ने बताए । त्यसैगरी कम जोखिम लिन चाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषमार्फत लगानी गर्न सक्ने परिप्रेक्ष्यमा सोलाई थप व्यवस्थित गर्नका लागि निर्देशन दिए । त्यसैगरी बजारमा स्थायित्वका लागि संस्थागत लगानीकर्ताहरुको विशेष भूमिका रहने सन्र्दभमा स्टक डिलरलाई अनुमति दिंदा अस्वभाविक उतारचढाव हुनबाट रोक्न सकिने समेत बताए । धितोपत्र बजारमा प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल, हेज फण्ड जस्ता संस्था तथा उपकरणहरुको प्रवेश भएतापनि लगानीकर्ताहरुमा सो सम्बन्धी ज्ञान कम रहनुका साथै वस्तु विनिमय बजार सम्बन्धमा समेत ज्ञान कमी रहेको सन्र्दभमा बोर्ड लगायतका निकायहरुले श्रव्यदृश्य, तालिम, गोष्ठी तथा अन्य प्रसारणका माध्यमबाट प्रभावकारीरुपमा जनचेतना अभिवृद्धि सम्बन्धी कार्यहरु गर्नुपर्ने समेत बताए । कोभिड-१९ पश्चातको अब विश्व अर्थतन्त्रले नयाँ मोड लिने सन्र्दभमा सार्कस्तरमा पुँजी बजारलाई विकास तथा विस्तार गर्न एक आपसमा प्राविधिक सहयोग तथा सहकार्य गर्न आवश्यक देखिएको समेत बताए । कार्यक्रमका सभापति तथा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डको कार्य प्रगति विवरण र आगामी दिनमा बोर्डका प्राथमिकतासहितको भनाई राखेका थिए । उनले नेपाल सरकारले गरेको लकडाउन तथा कारोनाको थप संत्रास र अललाइन कारोवार प्रणालीमा सम्लग्न लगानीकर्ताको संख्या न्यून रेहका कारणबाट हाल धितोपत्र बजार बन्द रहेकोमा बोर्ड नेप्से, सिडिएससि, धितोपत्र व्यवसायी र लगानीकर्ताहरुसँग के कसरी सहजरुपमा कारोबार संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताए । बोर्डबाट यस आ.व. मा धितोपत्र सम्बन्धी नियमावलीहरुमा संशोधन गरी समसामयिक बनाइएको, सूचना प्रविधि नीति लागू गरिएको, नयाँ उपकरणको रुपमा खुलामुखी सामूहिक लगानी योजना ल्याउनुका साथै लगानीकर्ता साक्षरता अभिवृद्धि सम्बन्धी कार्यहरु सञ्चालन गरिएको र लगानीकर्ताहरुको लगानी अवसर बढाउन वस्तु विनिमय बजार संचालनका लागि अनुमति दिने र भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालन अनुमति दिने प्रकृया अगाडि बढाइएको समेत जानकारी दिए । मन्तव्यकै क्रममा बोर्ड अध्यक्षले बोर्डले आगामी आा.व.मा धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै लैजाने, सूचना प्रविधिको प्रयोग बढाई बजार तथा नियमन कार्यलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै दोस्रो बजारको संरचनात्मक सुधार लगायतका कार्यहरुलाई प्राथमिकता दिई कार्य गर्ने विचार व्यक्त गरे । कार्यक्रमको विशेष अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले शुभकामना मन्तव्य दिंदै वित्तीय क्षेत्रको विकाससँगसँगै यसको स्थायित्वमा यस क्षेत्रका नियमनकारी निकायहरु सफल हुने विश्वास आफुले लिएको बताए । हालको धितोपत्र बजारको संस्थागत, संरचनागत र नीतिगत विषयहरु हेर्दा यसको दायरा बढनुका साथै यो बजार आधुनिकीकरण तर्फ उन्मुख रहेको भनाइ राखे । नेपालको वित्तीय बजारलाई परिपक्व तथा विश्वसनीय बनाउका लागि नियमन निकायहरुले अझै मेहनत गर्नुपर्ने औल्याए । साथै मुद्रा बजार तथा पूँजी बजार विकासहुने क्रममा रहेको सन्र्दभमा यी बजारको विकास सँगसँगै देशको अर्थतन्त्रको विकासमा समेत सघाँउ पुगिरहेको धारण समेत राखे । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारणले वित्तीय क्षेत्रमा आत्मबल कमजोर हुन पुगेको सन्र्दभमा यस क्षेत्रका नियमन निकायहरु एकीकृत रुपमा अगाडि बढी समग्र वित्तीय प्रणालीमा सहभागीहरुको आत्मबल उकास्न लाग्नु पर्ने समेत बताए । कार्यक्रमका अतिथि बीमा समितिका अध्यक्ष चापागाईले सो अवसरमा शुभकामना व्यक्त गर्नुहुदै बोर्डले प्राथमिक बजारमा आस्वा प्रणाली लागू गरी लगानीकर्तालाई सहज रुपमा सेयर आवेदन गर्न सक्ने व्यवस्था गरी सराहनीय कार्य गरको बताए । त्यसैगरी उनले प्राथमिक बजारमा जस्तै बोर्डले धितोपत्रको दोस्रो बजारलाई समेत पूर्ण स्वचालित बनाउने कार्यमा समन्वय तथा सहजीकरण गर्नुपर्ने बताउँदै वास्तविक क्षेत्रका कम्पनीहरुलाई बजारमा भित्रयाउन र बीमा कम्पनी जस्ता दीर्घकालीन बचत परिचालन गर्ने संस्थाहरु ठूलो रकम कोषको रुपमा रहेकोले उक्त बचत धितोपत्र बजारमा लगानी गर्न सक्ने अवसर उपलब्ध गराउन विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु सञ्चालनको व्यवस्थाका लागि थप कार्य गर्नुपर्ने समेत भनाई राखे । त्यसैगरी कोभिड-१९ का कारण उत्पन्न समस्या समाधानका लागि नियमन निकायहरुबीच समन्वय जरुरी रहेको समेत बताए । नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका अतिथि चन्द्र सिंह साउदले बजार संचालकको रुपमा रहेको नेप्सेले सदैव बोर्डको निर्देशन र समन्वयमा कार्य गरिरहेकोमा आगामी दिनहरुमा समेत सोही अनुसार कार्य गर्ने बताए । त्यसैगरी उनले हालको नेप्सेको कारोबार प्रणालीमा ऋणपत्रको कारोबार हुन सक्ने व्यवस्था गरिसकेको जनाउँदै इक्विटी डेरिभेटिभ्सको संचालनका लागि आवश्यक अध्ययन तथा छलफल भैरहेको समेत जानकारी गराए । कार्यक्रमा अतिथि रहेका नेपाल मर्चेन्ट बैैकर संघका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले धितोपत्र बजार सहभागीहरु नियमन निकायको निर्देशनमा यसको सुधार तथा विकासका लागि निरन्तर सहकार्य गर्न तत्पर रहेको भनाइ राखे । उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बोर्डका कार्यकारी निर्देशक निरज गिरीले गराएका थिए । साथै कार्यक्रममा बोर्डमा २० वर्ष अवधि पुरा गरेका कर्मचारी क्रमशः उप कार्यकारी निर्देशक डा.नवराज अधिकारी, का.मु निर्देशक सुरज प्रधानांग र सहायक निर्देशक नवराज पण्डितलाई बोर्डका अध्यक्षबाट दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव लेख विशेषांक, २०७७ को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको लाईभमा कूल ८,८२४ सरोकारवालापक्षहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका

चीनको वुहान सहरबाट सन् २०१९ को अन्त्यतिर शुरु भएको श्वासप्रश्वासको मध्यमबाट सर्ने कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्व समुदाय नै आतंकित छ । तर कोरोनाको कहर गहिरिँदै जाँदा भने मानव समुदायले अब नयाँ बाटो तय गर्ने पक्कापक्की भइरहेको छ । विश्वभर काेराना संक्रमण दिनदिनै बढेकाे छ । युरोप, अमेरिका र बेलायत जस्ता विश्व महाशक्ति तथा स्वास्थ्य क्षेत्रका हस्ती मुलुकहरुसमेत यो महामारीका अगाडि बेचैन भइरहेको अवस्थामा यसले दक्षिण एसिया र अफ्रिकालाई समेत बिस्तारै प्रभावित पारिरहेको छ । यो विश्वव्यापी संकटलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यवापी महामारी (पेन्डामिक) को रुपमा व्याख्या गरिसकेको छ भने विश्व नै अहिले बन्दाबन्दी (लकडाउन) को अवस्थामा विगत एक महिनादेखि गुज्रिरहेको छ । कोरोना भाइरसकै कारण विगतमा सार्स र मार्स जस्ता रोगहरुले पनि संसारलाइ केही समय आक्रान्त बनाएकै थियो । तर त्यसको फैलावट, गति र क्षति भने उत्परिवर्तन (म्युटेसन) भएर आएको यो नयाँ (नोबेल) कोरोना भाइरस (त्यसैले नाम नोबेल कोरोना भाइरस भएको) को भन्दा कम थियो । यसका विरुद्ध हालसम्म कुनै पनि खोप वा औषधि पत्ता लागेको छैन । जसका कारण यसको संक्रमण रोक्नु र यसको चेन तोड्नु नै यसबाट बच्ने एउटै उपायका रुपमा हाम्रो सामु रहेका छन् । कोरोना संक्रमणको विश्वव्यवापी प्रभाव लेखक विश्वभरको अर्थतन्त्र विशेषतः पर्यटन उद्योग र यसका सहयोगी व्यवसायहरु जस्तै ट्राभल कम्पनी, हवाई क्षेत्र, रेष्टुरेन्ट, डिस्को, क्यासिनो, पव, सार्वजनिक यातायात आदि क्षेत्रहरुमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । साथै महामारी सकिएको केही समयसम्म शेयर बजार, रियल स्टेट, अटोमोवाइल, फर्निचर तथा फर्निसिङ्ग, निर्माण, बैंक, प्रकाशन तथा छापाखाना, पार्टि प्यालेस तथा इभेन्ट हाउस, सिनेमा हल, जिम हाउस, स्विमिङ्ग पुल, फुटसल जस्ता विविध क्षेत्रमा यसले प्रभाव पारिरहने विभिन्न आर्थिक विश्लेषकहरुले अनुमान लगाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले समेत यो परिस्थितीलाइ ‘द ग्रेट लकडाउन’ को संज्ञा दिँदै विश्वव्यापी अर्थतन्त्रमा गम्भिर प्रभाव पर्ने जनाएको छ । कोषले प्रकाशन गर्ने ‘वल्र्ड इकोनमिक आउटलुक’ मा २०२० मा विश्वको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने आंकलन गरेकोमा त्यसलाई पुनर्मुल्याङ्गन गर्दै पछिल्लो संकटका कारण विश्वले आर्थिक वृद्धि माइनस ३ प्रतिशतले उधों लाग्ने जनाएको छ । सन् २०१९ मा २.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको संसारको अर्थतन्त्र यसरी ओरालो लाग्दा सन् २००८–०९ को आर्थिक संकटभन्दा पनि दयानिय अवस्था आउने प्रक्षेपण पनि कोषले गरेको छ । यसको प्रभाव २०२० को मध्यभन्दा पछाडीसम्म पनि पुगेको खण्डमा यो आंकडा झनै तल झर्ने समेत कोषको दावी छ । यसरी ओरालो लाग्दा त्यसको गम्भिर भार भने विकसित देशहरुको अर्थतन्त्रले व्यहोर्नु पर्ने आइएमएफले सोही रिपोर्टमा जनाएको छ । सन् २०१९ मा १.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेका र सन् २०२० मा १.६ प्रतिशतमा स्थिर रहने मानिएको विकसित देशहरुको अर्थतन्त्रमा यो संकटका कारण ६.१ प्रतिशतको गिरावट आउने पनि कोषले जनाएको छ । नेपालको सन्दर्भमा पनि यही रिपोर्टले नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहने जनाएको छ । जव कि यो वर्षको शुरुवातमा सो आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो भने नेपाल सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यिनै आंकडाहरुले पनि नेपालको अर्थतन्त्रमा गम्भिर धक्का लाग्नेछ भन्ने सहजै बुझ्न सकिन्छ । आर्थिक सर्वेक्षण सन् २०१७/१८ अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा विप्रेषण (रेमिन्टान्स) र कृषि क्षेत्रले क्रमशः २९.९ प्रतिशत र २९.३७ प्रतिशत ओगटेको थियो । कोरोना संक्रमणका कारण विश्वव्यापी आर्थिक मन्दी सृजना भएमा त्यसबाट साँढे २ करोड रोजगारीहरु गुम्ने चेतावनी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिइसकेको छ । यसको प्रभाव विभिन्न देशहरुमा काम तथा अध्ययन गरिरहेका नेपालीहरुलाई पक्कै पनि पर्नेछ । फलतः एकातिर त्यसले विप्रेषण घटाउने छ भने अर्काे तर्फ उनीहरु नेपाल फर्के पछि देशमा बेरोजगारीको दर बढ्नेछ । ‘आफैं त महादेव…., कसले देला बर’ भने जस्तो विकसित अर्थतन्त्रहरु नै गम्भिर आर्थिक संकटमा परिरहँदा ति देशहरुले वैदेशिक सहायताका कार्यक्रमहरुमा भारी कटौति गर्नेछन् । विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएका सबै प्रकारका आर्थिक दायित्वबाट अमेरिका पछाडी हट्नु यसैको शुरुवात मान्न सकिन्छ । फलतः नेपाल जस्ता देशहरुको अर्थतन्त्रमा वैदेशिक अनुदान, सहयोग वा सहुलियतहरुको पनि कटौति हुनेछ । नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउन गरेको ठूलो लगानी ‘बालुवामा पानी’ बराबर भएको छ । नेपालको पर्यटनको मुख्य बजार भारत, चीन र युरोप नै आज यो महामारीको विभिन्न चरणहरुको इपिसेन्टरका रुपमा परिणत हुनुले नेपाली पर्यटनलाई पक्कै लामो समयसम्म धक्का दिने नै छ । यी सबैको बुई चढेर अन्य विविध मनोसामाजिक समस्याहरु आउनेछन् । यसको प्रतिफल स्वरुप संघर्ष, हड्ताल, राजनैतिक प्रदर्शन, विरोध तथा हिंसाका घटनाहरु बढ्न सक्छन् । देशमा भ्रष्टाचार, कालोबजारी, चेक बाउन्स, चोरी, ठगी, लुटपाट, डकौति, घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न अपराधहरुको श्रृङ्खलामा वृद्धि हुनेछ । अर्काे तर्फ विभिन्न मानसिक समस्याहरुमा वृद्धि भई मानसिक चिन्ता, तनाव, मानसिक रोग तथा आत्महत्याहरु पनि बढेर जानेछन् । इतिहासको सन्देश तर यो महामारीले यसरी विविध क्षेत्रमा प्रभाव पारिरहँदा के हामी महासंकटको सम्मुख नै आइसकेका हौं त ? के लकडाउनले सिर्जना गरेको मौन वातावरण ‘आँधी अघिको सन्नाटा’ नै हो त ? सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।” सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।” यसका काफी प्रमाणहरु मानव सभ्यताका दौरान हामी पाउन सक्छौं । छैठौं शताब्दीदेखि अठारौं शताब्दीसम्म नै करिब दर्जन पटक विश्वव्यापी महामारीको रुपमा आएको प्लेगको सबैभन्दा ठूलो प्रकोप चौंधौं र अठारौं शताब्दीमा मानव सभ्यताले ब्यहोर्यो । ब्ल्याक डेथ (कालो मृत्यु)को उपमा पाएको चौधौं शताब्दीको प्लेगले चार वर्षमा युरोपको एक तिहाई जनसंख्या नै सखाप बनाइदियो । अठारौं शताब्दीमा संसारभर यसले २० करोडको हाराहारीमा मानिसहरुको चिहान खनेको थियो । तर यसैका कारण घटेको मानव जनसङ्ख्याले युरोपलाई कृषि युगबाट यान्त्रीकरण र औद्योगिकरणको युगमा लगिदियो । उता जनस्वास्थ्यतर्फ समेत सचेतता अपनाउँदै अर्काे ठाउँबाट समुद्री मार्ग हुँदै आएपछि ४० दिन बन्दरगाहाकै बेग्लै कक्षमा राख्ने चलनको शुरुवात भयो । इटालियन भाषामा ४० लाई क्वारेन्टिन भनिने हुनाले नै कालान्तरमा यो प्रक्रियाको नाम नै क्वारेन्टाइन रहन पुग्यो । यही क्रममा नै यसको महामारी रोक्नका लागि संक्रमित सहर सिल (बन्द) गर्ने तौर तरिकाको समेत विकास भयो । उन्नाइसौं शताब्दीमा आधा दर्जन पटक संसारलाई हैरान बनाएको हैजाको महामारीले पनि संसारभर ३ करोड बढिको ज्यान लिएको थियो । तर यसैको प्रतिक्रिया स्वरुप वैज्ञानिकहरुले किटाणु पत्ता लगाउन सफल भए र जनस्वास्थ्य, सरसफाइ, शुद्ध खानेपानी, फोहोर व्यवस्थापन, व्यवस्थित बधशाला, नाला व्यवस्थापन जस्ता अवधारणाहरुको विकास संसारभर हुन सक्यो । प्रथम विश्व युद्धको अन्त्य तिर सन् १९१८ देखि १९२० सम्म विश्वभर फैलिएको स्पेनिस फलुका कारण संसारभर करिब ५ करोड मानिसहरुको मृत्यु भयो । यो संख्या प्रथम विश्वयुद्धका चार वर्षमा मारिएकाको कुल संख्याभन्दा तेब्बर धेरै थियो । तर यही कारणले संसारभर भर्खर ताते ताते गर्न थालेको जनस्वास्थ्य क्षेत्रको तिब्रतर विकास भयो । तत्कालिन लिग अफ नेशन्स (राष्ट्र संघ) को एक अंगका रुपमा स्वास्थ्य विभागलाई राख्न विश्व समुदाय सहमत भयो । यसैको विकसित रुपका रुपमा संयुक्त राष्ट्र संघको गठन पछि आजको विश्व स्वास्थ्य संगठनको गठन भएको थियो । संसारभरका सरकारहरुले स्वास्थ्य मन्त्रालयको आवश्यकता पनि त्यसपछि नै महशुस गरेका थिए । प्लेग महामारीकाे एक दृष्य त्यसपछि तुलनात्मक रुपमा साना महामारीहरु जस्तै हङ्गकङ्ग फलु, सार्स, एभिएन फलु, स्वाइन फलु र इबोला आदिले पनि भाइरसको विशेषताहरु, नियन्त्रणका उपायहरु र पूर्वतयारीहरुको बारेमा पाठ सिकाइरहेकै छन् । विशेषतः इबोला संक्रमणको बेलादेखि शुरु भएको ‘डक्टर्स विथआउट बोर्डस’ (सिमाबिहिन चिकित्सकहरु) अभियानले आज कोरोना संक्रमणमा पनि निकै प्रभावकारी भूमिका खेलिरहेको हामी पाउछौं । यस्तै सिकाइहरुको जगमा आज मानव सभ्यता कोभिड—१९ विरुद्धको लडाईंमा सफलता प्राप्त गर्दैछ । अर्काे पाटो केलाउँदा मानव सभ्यताका लागि कुनै पनि युद्धहरु अभिशाप नै हुन् । तर सत्य के पनि हो भने युद्ध कै विभीषिकाबाट रेडक्रस र स्काउट जस्ता मानवतावादी संगठनहरुको जन्म मात्र होइन सुरक्षा, सञ्चार र प्रविधिको उच्चतम विकास पनि भएको छ । दोस्रो विश्वयुद्धको उदाहरण यदि हेर्ने हो भने यसले एकातिर ६ करोड बढिको ज्यान लिने त्रासद इतिहास संसारलाई दियो भने अर्काे तर्फ भुमण्डलीकरण र अन्तरिक्ष युगको नयाँ ढोका पनि खोलिदियो । युद्धको समयको सञ्चारका साधनहरु नै कालान्तरमा रेडियो, टेलिफोन, टेलिग्राफ र टेलिभिजनका रुपमा संसारभरका मानिसहरुको सम्पत्ति बन्न पुग्यो । यही क्रममा प्रयोग भएका गाडी, ट्रक, ठूला पानीजहाज र हवाईजहाजहरु नै पछि सार्वजनिक यातायात तथा ढुवानीका नयाँ साधनहरु बन्न पुगे । यसैको बाछिटाका रुपमा संसारभर राष्ट्रिय मुक्ती संग्रामहरुले गति लियो र उपनिवेश युग सदाका लागि अन्त्य भयो । संसारभर मानव अधिकार, स्वतन्त्रता, विभेदरहित बाँच्न पाउने अधिकार, सामाजिक विकास, समानता र सबैलाई शिक्षा जस्ता विषयहरु जनस्तरमा विस्तारित हुनुमा यही युद्धको परिणाम स्वरुप बनेको संयुक्त राष्ट्र संघ जिम्मेवार छ । नेपालमा पनि २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्व नेपालको कालो इतिहास थियो । तर यसैको जगमा नै नेपालमा राजनैतिक तथा सामाजिक चेतनाको उच्चतम विकास भएको सत्य पनि नकार्न सकिन्न । महिला, जनजाति, मधेशी, कर्णाली जस्ता विभिन्न सिमान्तकृत समुदायको आवाज मुल प्रवाहमा ल्याउन यो द्वन्द्वको विशिष्ट भूमिका थियो । अर्काे तर्फ यही कालखण्डमा नेपालका धेरै युवाहरु विदेश भासिन बाध्य भए । फलतः एकातिर नेपालको अर्थतन्त्र जागिन सक्यो भने अर्काेतर्फ नेपालले विश्वव्यापीकरण, सूचना प्रविधि तथा मिडिया क्षेत्रको तिब्र विकास, शैक्षिक क्षेत्रमा विशिष्ट उपलब्धीहरुसँग साक्षात्कार गर्ने मौका पाए । नेपालीहरुको जीवनस्तर र प्रति व्यक्ति आयमा पनि वृद्धि भई गरिबी निवारणमा पनि तिनै युवाहरुले विदेशमा कमाएको रेमिन्टान्स, सीप र अनुभवको विशिष्ट भूमिका रहेको छ । यी सबै दृष्टान्तहरुको पछाडी संकटहरुको स्वागत गर्नुपर्दछ भन्ने मनशाय पक्कै पनि होइन । तर हरेक संकटको कालो बादलमा रहेको चाँदीको घेरो भने पक्कै चिन्नुपर्दछ । त्यसै पनि भनाइ नै छ संकट भनेको सम्पत्तिको पुनर्वितरण मात्र हो । एउटा क्षेत्रको संकटले नै अर्काे क्षेत्रलाई अवसरको ढोका खोलिरहेको हुन्छ । जस्तो कि मानव सभ्यता डिजिटल युगमा पुग्नका लागि कोडाकको रिलमा संकट आउन अनिवार्य थियो भने नोकियाको चिहानमा नै हामीले स्मार्ट फोन चलाउन पाएका थियौं । सम्भावनाका ढोकाहरु अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ । अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ । यो महामारीपछि मानिसहरु कठोर आत्मअनुशासनको परिपालना गर्दै भौतिक दूरीका लागि मञ्जुरी प्रदान गर्नेछन् । मानिसहरु सम्पत्तीभन्दा स्वास्थ्यलाई जोड दिनेछन् । यसले गर्दा स्वास्थ्य क्षेत्र जस्तै अस्पताल, स्वास्थ्य केन्द्र, क्लिनिक, स्वास्थ्य प्रयोगशाला, औषधि कम्पनी तथा स्वास्थ्य वीमा कम्पनीहरु आदिको व्यापार सम्भावना बढेर जानेछ । भिडभाड युक्त क्षेत्रहरुबाट मानिस तर्सनेछन् भने व्यक्तिगत स्वास्थ्यमा सजग रहनेछन् । यसले गर्दा माक्स, पञ्जा, सेनिटाइजर, साबुन, ट्वाइलेट पेपर, शुद्ध खानेपानी, पानी शुद्धिकरणका साधनहरु, पौष्टिक खाना आदिको क्षेत्रमा नयाँ सम्भावनाहरु सहज हुनेछन् । यसका साथै संसारभर सुरक्षाका उपकरणहरुको माग समेत बढेर जानेछ । संक्रमितहरुको खोजीका लागि ट्रेकिङ्ग र ट्रेसिङ्ग उपकरणहरुको प्रयोग बढेर जानेछ । यसका लागि यातायातका साधनहरु तथा सार्वजनिक क्षेत्रहरुमा समेत जिपिएस तथा सिसिटिभीहरुको प्रयोग बढेर जानेछ । अझ भिडभाड हुने क्षेत्रमा अनुहार पहिचान गराउन सक्ने (फेस डिटेक्टर) सिसिटिभीको समेत प्रयोग हुनाले संक्रमितहरु मात्र नभई अपराधीहरु पहिचानमा समेत ठूलो सहयोग मिल्नेछ । यसका कारण अपराध तथा आतंकवाद न्युनिकरणमा समेत सहायता हुनेछ । अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ । अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ । संसारभर अघिल्लो शताब्दीको अन्त्य तिरदेखि विद्यमान विभिन्न अनलाइन प्ल्याटफर्महरुमा इतिहास कै सबैभन्दा बढि अवसर अहिले सृजना भएको छ । सन् १९९७ मा शुरु भएको नेटफ्लिकमा फिल्म हेर्नेहरु, सन् १९९८ मा स्थापना भएको पेपलबाट कारोबार गर्नेहरु, सन् १९९९ देखि व्यापार थालेको अलिबाबामा सामान अर्डर गर्नेहरु अनि सन् २०११ मा स्थापना भएको जुममा बैठक वा कक्षा चलाउनेहरु सबै यही बीचमा बढेका छन् । सन् १९९० देखि नै संसारभर र नेपालमा समेत दोस्रो जनआन्दोलन पछि भित्रिएको अनलाइन बैंकिङ्ग प्रणालीमा समेत यतिबेला अलिक बढि चासो र प्रयोग बढेको बैंकरहरुले विभिन्न सञ्चार माध्यमहरुमार्फत बताउने गरेका छन् । नेपालमा सन् २००९ मा शुरु भएको इसेवा, २०१७ मा शुरु भएको खल्ती वा २०१८ मा मात्र पाइला राखेको आएमई पे जस्ता पेमेन्ट गेटवेहरुको प्रयोग पनि यही बीचमा बढिरहेको हाम्रै माझमा अनुभव गरिरहेकै छौं । विश्व समुदायमा रोजगारीका अवसरहरु गुम्ने चिन्ताहरुका बीचमा संसारको सबैभन्दा पुराना अनलाइन सामान बिक्रेता कम्पनीहरुले विगत एक महिनामा लाखौं नयाँ रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । अमेजनले यो चार हप्तामा पौने दुई लाख, वालमार्टले डेढ लाख र अलिबाबाले आधा लाख नयाँ कर्मचारीको माग गरेको छ । यसको आधारमा पनि यो संकटबाट मुक्ति भएपछि यिनीहरुको व्यापारबारे पक्कै पनि हामी अनुमान लगाउन सक्छौं । अब इन्टरनेट, मोवाइल वा क्युआरकोडबाट बैंङ्गको सुविधा लिने दिशा तर्फ विश्व समुदाय नै लाग्नेछ । चलचित्र हेर्नका लागि युट्युव, नेटफ्लिक्स, आइफ्लिक्स आदिको प्रयोग बढेर जानेछ । जुम, गुगल क्लासरुम, क्यानभास, मुडल, टिम्स, ब्ल्याकबोर्ड आदिजस्ता एप्सहरु कक्षाकोठाको विकल्पका रुपमा स्थापित हुनेछन् । शैक्षिक संस्थाहरुमा स्टडी फ्रम होम जस्तै कार्यालयहरुमा वर्क फ्रम होमको अवधारणा शुरु भइसकेको छ । जसको निरन्तरताले सेवा क्षेत्रमा काम गरिरहेका धेरै कार्यालयहरुले आफ्नो भौतिक कार्यालयहरु बन्द गरी अनलाइन सेवा मात्र प्रदान गर्नेछन् । यसमा अग्रणी स्थानमा बैंक, यातायात क्षेत्रको टिकट काउन्टर, विभिन्न सामानको होम डेलिभरी सेवा आदिले तत्कालै यो क्रमलाई पछ्याउनेछन् । जसरी नर्वेको सेन्ट्रल बस टर्मिनलमा सन् २०१८ देखि नै कुनै पनि बस कम्पनीलाई काउन्टर राख्न नदिने नियम शुरु भएकोमा हाल यसका छिमेकी देशहरुले पनि सोही कार्यलाई पछ्याउन शुरु गरेकाछन् । अब हरेक क्षेत्रमा मानिसहरुको कम भन्दा कम सहभागितालाई जोड दिनका लागि ड्रोन डेलिभरी, अनलाइन गेम, मोवाइल एप्सबाटै उजुरी दिन सकिने प्रहरी चौकी, कर तिर्न वा किनबेच गर्न सकिने मालपोत, अनलाइन सिफारिस तयार गरिदिने प्रशासन कार्यालय वा स्थानीय तह आदिको युग आउनेछ । यसका लागि हरेक जनताको आधिकारिक डिजिटल सिग्नेचर बनाएर सोहीका आधारमा आधिकारिकता पहिचान पछि सेवा लिने र दिने दिन पनि धेरै पर पक्कै छैन । यसरी मानिसहरुको चहलपहलमा कमि आएपछि विश्वको वातावरण पनि पुनः सफा र सहज हुन थाल्नेछ । यो वसन्तले संसारभर हरियाली र पुष्पाञ्जलीको सृजना गर्नेछ । यसले पृथ्वीलाई केही समयका लागि आराम दिएको छ भने मानव सिर्जित प्रदुषणमा पनि कमि आउन थालेको छ । परिणामतः विश्वव्यवापी लकडाउनका बेला कार्वन उत्सर्जनमा कमि भएका र ओजन तहमा सकारात्मक परिवर्तनहरु देखिन थालेका रिपोर्टहरु आइरहेका छन् । अर्काे तर्फ विश्वभरका अर्थराजनैतिक विश्लेषहरुको मत अनुसार अब या त भुमण्डलिकरण (ग्लोबलाइजेशन) को अन्त्य हुनेछ वा यसको केन्द्र पूर्वतर्फ रहनेछ । पहिलो मतका अनुसार अब मानिसहरु स्थानीयतामा बढि सुरक्षित महशुस गर्नेछन् वा बढिमा आपसी सहकार्यमा आधारित अर्ध भूमण्डलीकरणको अभ्यास गर्नेछन् । दोस्रो मतले के मान्दछन् भने यो महामारीका कारण पश्चिमा अर्थतन्त्र मुलतः अमेरिका र युरोप धरासायी हुनुका कारण तथा पूर्विय देशहरुले छिटै महामारीबाट बाहिर निस्कनुले अबको नयाँ भूमण्डलीकरणको तालाचाबी चीन, जापान, भारत, कोरिया, सिंगापुर आदि देशहरुको खल्तीमा हुनेछ । यी दुई मध्ये कुनै पनि परिस्थितीमा पनि नेपाली अर्थतन्त्रलाई भने त्यस अघिको अवस्थामा भन्दा त्राण मिल्नेमा भने शंका छैन। यो कोणबाट पनि नेपालले विचार पुर्याउन सकेमा यसबाट राम्रो फाइदा लिन सकिनेछ । साथै हरेक राज्य संयन्त्रहरु यस्ता महामारीसँग लड्नका लागि थप तदारुकताका साथ तयारी अवस्थामा बस्नेछन् । यी सबै तयारीका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति तथा विज्ञहरुको आवश्यकता पर्नेछ । यसरी सम्भावनाहरुको अन्त्य हुने होइन नयाँ ढोकाहरु खुल्ने कुरामा कुनै शंका छैन । नेपाल कसरी हिस्सेदार बन्न सक्छ ? माथिल्लो खण्डमा चर्चा गरिएका सम्भावनाका ढोकाहरु के नेपालका लागि खुला छन् त ? निकै र पक्कै गाह्रो छ । हामी बलबल्ल दुई तिहाई मानिसहरुलाई साक्षर बनाउन सकेका नेपालीहरुलाई यी सबै प्रविधिहरुलाई एकै चोटी अंगिकार गर्न पक्कै सहज छैन । सिटामोल र मास्क त भारत र चीनबाट मगाउनु पर्ने हामी स्वास्थ्य सेवा बेचेर फाइदा लिन सक्ने अवस्थामा छैनौं भने पछि पर्यटन क्षेत्रले अहिलेको अवस्थामा माथि उठ्न निकै कसरत गर्नुपर्ने अवस्थामा नेपालका ढोकाहरु बन्द नै भएका हुन् त ? आउनुहोस् केही चर्चा गरौं । वास्तवमा नेपाली अर्थतन्त्रको मूल आधार भनेको अब पनि कृषि नै हुनेछ । तर हामीले कृषिको विद्यमान प्रवृत्तिमा भने आमूल परिर्वनको खाँचो यो संकटले मागिरहेको छ । विगतमा हरेक संकटमा हामीलाई बचाएको कृषिलाई अब हामीले यसको संकटबाट बचाउने बेला आएको छ । यसलाई निर्वाहमुखीबाट व्यवसायिक, फोगटेबाट चक्लाबन्दीमा आधारित तथा परम्परागतबाट प्राविधिक रुपान्तरणबाट नै यो सम्भव छ । माग र आपूर्तिका आधारहरु तय गरेर कृषिलाई पेशा होइन उद्योगको रुपमा विकास गर्नु जरुरी छ । यसलाई नेपाली उद्योगहरुका लागि कच्चा पदार्थ उत्पादन गर्ने थलोका रुपमा सप्लाई चेनको हिस्सा बनाउनुपर्दछ । तेल उद्योगका लागि तोरी वा सूर्यमुखि, चाउचाउ उद्योगका लागि मैदा र मसला, कपडा उद्योगका लागि कपास र धागो अनि दाना उद्योगका लागि मकै र चना विदेशबाट आयात गरुन्जेल नेपाली उद्योग र कृषिले बाटो बिराइ नै रहनेछ । साथै कृषिलाई अब पर्यटन र जडिबुटीसँग जोड्न सकेमा हामी पुनः विश्व बजारमा स्थापित हुन सक्छौं । नेपाल आयुर्वेदको भूमि हो भन्ने संसारले बुझेको छ । तर हामीले नै अरु देशबाट औषधि आयात गर्नुपर्ने अवस्था हाम्रो गौरवमय इतिहासलाई शोभा दिदैन । अब हामीले ति जडिबुटीको बारेमा अध्ययन, अनुसन्धान, उत्पादन, प्रशोधन तथा औषधिका रुपमा बजारिकरण गर्नु जरुरी छ । जडिबुटी प्रयोग गरेर औषधिका अलावा चिया, बिस्कुट, टनिक, पेय पदार्थ, मसला आदि बनाएर पनि संसारलाई बेच्न सकिन्छ । अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ । स्वच्छ हावा, प्रकृतिसँग सामिप्यता, आयुर्वेदमा आधारित खानपिन र पूर्विय जीवन शैलीका कारण नै हाम्रो आरोग्यताको कारण हो भनेर बुझाउन अब अप्ठ्यारो पनि पक्कै हुनेछैन । साथै नेपाललाई आयुर्वेदक उपचार र अध्ययन अध्यापनको हव पनि बनाउन सकिन्छ । अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ । त्यति मात्र होइन अब नेपाली शैक्षिक क्षेत्रमा पनि नयाँ सम्भावनाका ढोकाहरु खुल्नेछन् । नेपालीहरुकको विदेश अध्ययनका हबहरु युरोप, अमेरिका तथा अस्ट्रेलियामा हाल कोरोना आतंक पश्चात नेपालका शैक्षिक प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीहरु आगामी वर्षहरुमा बढ्नेछन् । यही मौकामा सरकारमा नेपालमा नै नेपाली आवश्यकता अनुसारको शिक्षा र शिक्षा अनुसारका अवसरहरु प्रदान गर्न सके नेपालले अब परनिर्भरताको युगको ढाड पनि भाँच्ने मौका यो बन्न सक्छ । कोरोना कहरपछि देश फर्किने हाम्रा युवाहरुलाई देशमा रोक्न र माथि उल्लेखित पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले भने निकै राम्रो तयारी गर्नुपर्दछ । यसका लागि सरकारले तत्काल पूँजीगत खर्चमा व्यापक वृद्धि गरी जडिबुटी केन्द्रीत कृषिमा ठूलो संख्याका युवाहरुलाई लगाउनु जरुरी छ । यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम वा स्वरोजगार कार्यक्रमको सहारा लिन सकिन्छ भने संसद विकास कोष वा विकास बजेटबाटै भए पनि रकमान्तर गरी काम गर्न सकिन्छ । यसले एकातिर बेरोजगारी समस्याको समाधान गर्नेछ भने अर्काे तिर अर्थतन्त्रलाई चलायमान पनि बनाउन सक्नेछ । साथै आयात प्रतिस्थापनका लागि जलविद्युत आयोजनाको काम अबिलम्ब सकेर इन्धनमा आत्मनिर्भर हुन सकिन्छ । नेपालको हरियो वनमार्फत नेपालीहरुको जीवनमा बहार ल्याउन सक्ने गरी दीगो उपयोगको नीति पनि ल्याउनु आवश्यक छ । विलाशिताका सामाग्रीहरु जस्तै महंगा गाडी, रक्सी, सुन चाँदी, फर्निचर आदिको आयातमा केही महिना रोक र त्यसपछिका केही वर्ष निरुत्साहित गर्नु पनि जरुरी छ । संसारभर प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुलाई नेपालमा नै कम्पनी खोलेर कार्य गर्नका लागि प्रोत्साहित गर्न सके पनि नेपालले प्राविधिक क्षेत्रमा आएको यो नयाँ बहारको फाइदा लिन सक्नेछ । यस प्रकार कोरोनाको महामारी एउटा महाविपत्तीलाई सहजै हामीले सम्पत्तिमा परिवर्तन गर्न सक्ने ल्याकत राख्छौं । यसका लागि विद्यमान वैज्ञानिक आविष्कारसँग हाम्रा जीवनशैली र संस्कार मिलाउन सक्ने योग्यता भने हामीमा पक्कै चाहिन्छ । यी सारा अवसरहरुले हाम्रो ढोका ढकढकाइरहँदा हामी नकारात्कताको अन्धकारमा जकडिएर निदाइरहनु भने पक्कै हुँदैन ।

रोल्पामा पनि कोरोना संक्रमित फेला

रोल्पा । रोल्पामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकै पटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७ वर्षीय तथा वडा नं ६ का २० वर्षीय युवा रहेको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत अनिल केसीले जानकारी दिए । संक्रमित युवा यह जेठ १२ भारतबाट आएका थिए । उनीहरुलाई अलगअलग क्वारेन्टिनमा राखिएको थियो । वडा नं ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका दुई र वडा नं ६ को जनज्योति मावि क्वारेन्टिनमा रहेका एक जनाको कोरोना पुष्टि भएको हो । क्वारेन्टिनमा बसेका उनीहरुको एक साताअघि स्वाब संकलनका गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन अरुण भिटुका अनुसार जिल्लामा हाल दुई हजार १२६ जना क्वारेन्टिनमा छन् । तीमध्ये एक हजार ४७६ जना भारतबाट फर्किएका हुन् ।