विकासन्युज

तेस्रो पटक अष्ट्रेलियामा उड्दै नेपाल एयरलाइन्स

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौं – क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २ सय ५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो । यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।   रासस

अनलाइनबाट काेराेना संक्रमित भर्ना

विराटनगर । मोरङको सुन्दरहरैंचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितकाे  भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनका अनुसार संक्रमितले बेड बुक गरेपछि बेड नं र संक्रमितकाे ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमित देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए । सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिए । संक्रमितकाे उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ । रासस

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ थान साइकलसहित अन्य सामान अभियुक्तबाट बरामद गरिएको छ । “लकडाउनका बेला चोरीमा संलग्न हुनेमध्ये अधिकांश युवा छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, “यसअघि चोरी मुद्दामा कैद भोगेकासमेत पुनः पक्राउ परेका छन् ।” उनले चोरीलगायत आपराधिक घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र खोजीकार्य जारी रहेको बताए । “साइकललगायत सामान हराएका व्यक्तिलाई कागजातसहित प्रहरीको सम्र्पकमा आउन सूचितसमेत गरेका छौं”, उनले भने, “अभियुक्तको अदालतबाट म्याद थप भएर अनुसन्धान अघि बढेको छ ।” चोरीमा संलग्न अधिकांश भीमदत्तनगरदेखि कैलालीका रहेको प्रहरीले जनाएको छ ।  रासस

सल्यानमा श्रीमतीले गरिन श्रीमानकाे हत्या

काठमाडाैं । सल्यान जिल्लामा  एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ ।

सदनमा उठेका प्रश्नको जवाफ दिँदै, विनियोजन विधेयक पारित गर्ने

काठमाडौं । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम पछि विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आज नयाँ बानेश्वरको संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । आगामी आर्थिक वर्षको बजेट बारे सांसदले सदनमा राखेका दुई दर्जन बढी खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची छ । मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची सचिवालयले तयार पारेको जनाएकाे छ  ।

अर्ना : न फस्टायो, न मोटायो

चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएका थिए । त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन् । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए । त्यसै वर्ष १५ मध्ये ६ वटा मरेका थिए । चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका तीन वटा मरेका थिए । ४ वटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । तीमध्ये सात वटा माउ पोथी र ४ वटा भाले माउ रहेका छन् । पछि जन्मिएका बच्चामध्ये तीन वटा भाले र एउटा पोथी छ । ४ वर्ष बितिसक्दा सातवटा पोथीबाट ४ वटा बच्चामात्र जन्मिएका छन् । तत्कालीन समयमा ५ भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन् । खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उनले भनाइ छ । भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताए । नियमित दाना दिइएको, औषधोपचार भइरहेको भन्दै उनले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताए । उनले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैंसीजस्ता देखिएको जानकारी दिए । अहिले पनि केही अर्ना ब्याउने भएकाले विस्तारै सङ्ख्या बढ्दै जाने उनको भनाइ छ । निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताए । उनले भने, “तर पनि त्यस्तो दुब्ला छैनन् ।” बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उनको भनाइ छ । ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकिएको उनको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ । यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उनले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरु लागेको बताए । खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उनको भनाइ छ । कम्तीमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उनले बताए । कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताए । अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरु लागि परेको बताए । रासस

स्याङ्जाका एक जना कोरोना संक्रमितकाे पाेखरामा मृत्यु

काठमाडाैं ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ १ संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । याेसँगै नेपालमा १४ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ । गण्डकीमा संक्रमित १ सय १५  गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमित १ सय १५ जना पुगेका छन् । बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो । गण्डकीका ९ जिल्लामा गरी कोभिड–१९ सङ्क्रमित १ सय १५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । बागलुङका २ र लमजुङका १ जना निको भएका हुन् । प्रदेशमा हालसम्म ५ हजार ३ सय ५ को पिसिआर विधिबाट परीक्षण गरिएकामा ४ हजार ४ सय ५४ मा कोरोना देखिएको छैन । परीक्षण गरिएकामध्ये ७ सय ३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । प्रदेशमा आरडिटी विधिबाट भने ९ हजार ३ सय ५० को परीक्षण गरिएको छ ।

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ निर्माण हुँदै

मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा १ करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५ सयले ज्यान गुमाएका थिए । तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए ।   रासस