विकासन्युज

थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । साेमबार थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनले नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार ७ सय ६२ पुगेकाे बताए । काेराेना संक्रमण हालसम्म १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ८८ जना निकाे भएर घर फर्किएका छन् ।  

भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताएकी छिन् । प्रतिनिधिसभाको साेमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उनले सिमानासम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको जनाउँदै द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत समस्या समाधान गरिने बताइन् । ‘राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुन्छ, सोका लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्शा प्रकाशन गरी प्रचलनमा ल्याउन अत्यन्त आवश्यक छ’, मन्त्री अर्यालले भनिन्, ‘विगतमा नेपालको नक्शामा छुट्याइएका गुञ्जी, नाभी, कुटीलगायतका भूभागसमेत समेटी देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्शामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्शा तयार गरी प्रकाशन गर्ने काम भइसकेको छ ।’ अर्को प्रसङ्गमा मन्त्री अर्यालले भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया, हलिया, हरुवाचरवा, कम्लहरीलगायत पिछडिएका र सीमान्तकृत वर्गको भूमि स्रोतमा पहुँच पुर्याइने र अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने स्पष्ट पारिन् । भूउपयोग गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गरिने तथा जग्गालाई उपयोगविहीन र बाँझो रहन नदिने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारी, सार्वजनिक, गुठीलगायत जग्गाको व्यवस्थित लगत तयार गर्ने, त्यस्ता जग्गाको अतिक्रमण हुन नदिने र समुचित उपयोग सुनिश्चित गरिने योजना रहेको उनले जानकारी दिइन् । मन्त्री अर्यालले नेपाल र नेपालीको राष्ट्रिय गौरवको प्रतीक सगरमाथाको सर्वेक्षण र उचाइ मापन विगतमा विभिन्न राष्ट्रले आआफ्नै किसिमले गर्ने गरेको पाइएको जानकारी दिँदै नेपालले अहिलेसम्म उचाइ मापन नगरेको कुरातर्फ ध्यानाकर्षित भई इतिहासमा पहिलो पटक आफ्नै स्रोतसाधन र सीपबाट मापनको फिल्ड कार्य सम्पन्न भएको सदनलाई जानकारी दिइन्। मन्त्री अर्यालले २६ जिल्लाका घरपरिवार सर्भेक्षण गरी गरीब पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरण शुरु गरिएको जानकारी दिँदै २३ जिल्लाको सर्वेक्षण अन्तिम चरणमा पुगेको र २८ जिल्लामा गरीब घरपरिवार सर्वेक्षण गरी परिचयपत्र वितरण गर्ने कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी कार्यक्रम तर्जुमा भएको बताइन् । रासस

गाडी सञ्चालन गर्नेबारे छलफल तीव्र, बैंकको किस्तामा सहुलियत र बीमा गर्नुपर्ने व्यवसायीको माग

काठमाडाैं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ। बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो। विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ। सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ। जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिनेरलिने कसरी गर्ने लगायतका विषय समावेश छ। थोरै सङ्ख्यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमितरुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ। उनले भने, “कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ।” सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ। बन्दाबन्दी खुकुलो गरेर विभिन्न कार्यालय सञ्चालनमा आउँदा सार्वजनिक सवारी साधन पनि खुलाउनुपर्नेगरी दबाब आएको महानिर्देशक हमालले बताए। उनले भने, “अरु सेवा खुलिरहँदा त्यसको पूर्तिका लागि पनि यातायात खुलाउनुपर्छ।” बन्दाबन्दीका बीचमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पनि सार्वजनिक यातायातका विषयमा छलफल भइरहेको उनले बताए। शुरुमा ठूला र साना कस्ता सवारी साधन वा कति सङ्ख्यामा कसरी सवारी साधन खुलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ। विभागले अहिले आवश्कतानुसार बैठक गरेर छलफल गरिरहेको उनले बताए। भाडादरका विषयमा भने तत्काल भाडा बढाउन सकिने अवस्था नरहेको उनको भनाइ छ। यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् । लामो समयसम्म सवारी साधन थन्किएकाले त्यसको मर्मत गरेर सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। लामो समय थन्किएका सवारी साधन सर्भिसिङ गर्ने, ब्याट्री फेर्नेलगायतका काम पहिले गर्नुपर्ने हुन्छ । उनले भने, “गाडी चलाउनुभन्दा पहिले झण्डै एक लाख खर्च गरेर बनाउनुपर्छ।” आवश्यक स्वास्थ्य सावधानी नभए सार्वजनिक सवारी साधनले कोभिड–१९ फैलाउन सक्ने उनले बताए। सवारी साधन सञ्चालन गर्दा यात्रु, चालक, सहचालक सबैको सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए। ट्याम्पो, माइक्रोलगायतका थोरै सिट क्षमताका सवारी साधनमा कसरी सामाजिक दूरी कायम गर्न सकिन्छ भन्नेमा पर्याप्त छलफल हुन जरुरी छ। यात्रु, चालक र सहचालकलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए। यो समयमा काम गर्दा चालक र सहचालक कोभिड–१९ को जोखिममा हुने भएकाले उनीहरुको पनि बीमा गर्नुपर्ने उनको भनाइ छ। उनले भने, “चालक र सहचालकको मनोबल उच्च बनाउँदा मात्रै उनीहरुलाई काममा लगाउन सकिन्छ।” सवारी साधन सञ्चालन गर्नुभन्दा पहिले बैंकको किस्ताका सम्बन्धमा पनि सरकारले सहजीकरण गनुपर्ने अध्यक्ष कर्माचार्यले बताए। “बन्दाबन्दीको समयमा सवारी साधन सञ्चालन नभएकाले किस्ता नमागे पनि सञ्चालनमा आएसँगै त्यसका लागि ताकेता गर्न सक्छन्”, उनले भने, “हामीले यो विषयमा वैशाखदेखि नै विभागीय मन्त्रालयमा आफ्ना कुरा राखिरहेका छौँ ।” सरकारले बन्दाबन्दी खुकुलो बनाउनका लागि यातायातको साधन खुलाउनुपर्ने भए पनि यसबाट सङ्क्रमण फैलनसक्ने जोखिम रहेको व्यवसायी र नागरिकले बताउँदै आएका छन्। बन्दाबन्दी जारी रहँदा कतिपय चालक र सहचालक घर फर्किसकेका छन् भने कतिपय काठमाडौँ उपत्यकामा नै छन्। सवारी साधन खुल्ने निश्चित भएपछि घर फर्किएकामध्ये कतिपयलाई फर्काउनुपर्ने महासङ्घले जनाएको छ। देशभर झण्डै दुई लाख ५५ हजार सार्वजनिक सवारी साधन सञ्चालनमा छन्। त्यसमा पाँच लाखभन्दा बढी जनसङ्ख्याले रोजगारी पाएका छन्। कतिपय व्यवसायी आफैँ गाडी चलाएर स्वरोजगार छन्। बन्दाबन्दीले व्यवसायी, चालक, सहचालक र आश्रित परिवारमा समस्या भइरहेको महासङ्घले जनाएको छ। रासस

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सबै सेवा बन्द

भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन् । महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजेटिभ आएको थियो । मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिए । उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताए । अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए । महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ । रासस

पाचौँ  युग

पटक-पटक कलियुग अट्टहास गर्दै थियो, “अब पृथ्वीमा एकछ्त्र मेरो मात्रै राज रह्यो हा ..हा..हा ..हा ..।” वसन्त ऋतुको आगमन भएको थियो । न त उष्ण ताप, न त कठ्याङग्रिने चिसो नै ।  उन्मुक्त भै  फक्रिएका  फूलहरुको सौन्दर्य र सुगन्धले मनमोहक बनाएको थियो वातावरण । प्रकृतिमा पनि कौमार्य सौन्दर्य पल्लवित भएर छताछुल्ल हुँदैथियो । चराचुरुङ्गी, कीट-पतङ्ग र प्राणीहरुमा त्यसको प्रत्यक्ष प्रभाव थियो । आल्हादित भएर सम्पूर्ण उर्जा प्रणयमा उत्सर्ग  हुँदै थियो सबैबाट। साँच्चिकै अलौकिक आनन्ददायी थियो वसन्त ऋतु । तपोभूमि कैलासको पवित्र र शान्त मनोरम वातावरणमा  ध्यानमा बसिरहेका महेश्वरको ध्यान अनायास पृथ्वीतिर गयो । सत्य , द्वापर, त्रेता युगले आफ्नो छुट्टै प्रभाव पारेर गैसकेका थिए पृथ्वीबाट  । अब कलि युगको पालो आएको थियो । हुनपनि कलि व्याप्त थियो पृथ्वीमा । कलियुगको पनि अब अन्तिम  चरण भएको थियो । समाप्तितर्फ उन्मुख । “अहो !  पृथ्वीमा त मानिसले मात्रै  पो एकछ्त्र अधिपत्य जमाएको रैछ त । जुनसुकै कुरामा पनि मान्छेकै उपस्थिति ? ल हेर ! भीमकाय जन्तुहरु पनि उसकै अधिनमा छन्  । विषैला जन्तु पनि उसैले नचाइरहेको छ । निहत्था छ मान्छे भनेको त एक सेकेन्डमा पृथ्वी नै ध्वस्त पार्ने हातहतियार पनि पो बनाएको रैछ त  उसले त । समुन्द्रलाई पनि मुठिमा बाँधेर राखेको छ । टाकुराहरू मरुभूमिजस्तो  मैदान बनाएको छ ।” जताततै मानिसका अचाक्ली देखेर तीन छ्क्कै परे महेश्वर । सत्य यो पनि बुझे कि यी मान्छे अहिले पृथ्वीको सबैभन्दा कुरुप प्राणी बनेको रहेछ र यसको कारक रहेछ कलीयुग  । लेखक धेरैबेर पृथ्वीको त्यो बिभत्स रूप हेर्न सकेनन् महेश्वरले । उनलाई  अत्यन्तै  चिन्ता लाग्यो । अब के गर्ने छट्पटी  भयो । मान्छेलाई चेतनाको पुनर्स्थापना र कलियुगको सम्हार कसरी गर्ने होला ? हुटहुटी चल्न थाल्यो । नेपथ्यमा कलीयुगको अट्टहास धुमिल रूपमा गुन्जिरहन्थ्यो बेलाबेला  हा …हा …….हा……….हा …………। ध्यानबाटै सृष्टिकर्ता ब्रम्हा र पालनकर्ता नारायणलाई पनि “आकस्मिक  भेलाको आयोजना गर्नुपर्ने भयो” भनेर कैलाशमा आमन्त्रण गरे । “नारद ! वायु वेगले तिमी उपस्थिति होउ त कैलासमा।”  आदेश दिए महेश्वरले । “सामान्य कुरा हुँदा त ध्यानबाटै छलफल हुन्थ्यो र निश्कर्ष निस्कन्थ्यो । तर आज कुरा गम्भीर नै छ  जस्तो छ प्रभु !” नारायणले पनि ध्यानबाटै  ब्रम्हाजीलाई मस्तिष्क  सन्देश पठाए  । “मलाई पनि कुरो गम्भीर नै भएजस्तै लागेको छ प्रभु । बरु निस्कौँ अब।”  ब्रम्हाजी पनि उठे ध्यानबाट । नारदले महेश्वरको आदेशमा यमराज र चित्रगुप्तलाई पनि बोलाए । पार्वती सहित सात सदस्यीय आकस्मिक बैठक बस्यो कैलाशमा । “तपाईंहरू सबैको मनमा कौतुहल होला, किन आकस्मिक  बैठक बस्नुपर्‍यो भनेर । कुरो अलिक गम्भीर नै भएर हो ।”  महेश्वरले सभाध्यक्षको भूमिकामा सभा शुरु गरे । सबैमा साँच्चिकै उत्सुकता थियो  । कुरा बुझिएन। सबैले एक अर्काको मुखामुख गरे। लामो श्वास फेर्दै महेश्वरले भने, “अब पृथ्वीमा कलि युगको अन्त्य र अर्को नयाँ युगको प्रादुर्भाव हुनुपर्ने अवस्था आएको छ । अब कसरी कलियुगलाई समाप्त गर्ने र नयाँ युगको प्रवेश गराउने मुख्य चुनौती यही हो । नयाँ युग कुन युग शुरूवात गर्ने  ? त्यो पनि अन्यौल छ।” अब ‘लाठी पनि नभाँचिने सर्प पनि मर्ने’ उपाय लगाउनुपर्ने भएको छ  । थाहै नपाई कलियुगको अन्त्य र अर्को युगको शुरूवात कसरी गर्ने ? यही विषयमा छलफल गर्न आकस्मिक आमन्त्रण गर्नुपरेको हो यहाँहरूलाई । “म पनि मान्छेको गतिविधि त पच्छ्याइरहेकै थिएँ । तर निर्दयी र  क्रुर बन्दै गएको मान्छेलाई आत्मबोध गराउने उपाय  केही निस्कन्छ कि सोच्दैथिएँ केही दिन अघिदेखि ।” नारायणले पनि आफ्नो मनको  कुरो सुनाए । “सँधै नारदले सामान्य जानकारी त दिइरहन्थे । तर त्यति वास्तै गरेको थिइनँ । एक्कासि  आज बिहान् ध्यानमा हेरेको त पृथ्वीमा कलियुग मान्छेको माध्यमबाट ब्याप्त पो हुन लागेछ अब त ।” जलचर, थलचर, उभयचर, कीट, पतङ्ग सम्पूर्ण प्राणीहरूको साझा वासस्थान पृथ्वी । तर पृथ्वीमा त मान्छे भनाउँदो जन्तुले  कोहराम नै पो मच्चाएको रैछ त । सबै कुरामा एकछ्त्र आधिपत्य ।” पुनः महेश्वरले आफ्नो तितो अवलोकन सभामा  राखे। “प्रभु  ………! मैले  सृष्टि गर्दा सबै प्राणीमा एउटा एउटा शक्ति  राखिदिएको थिएँ शस्त्रको रूपमा । आफ्नो आफ्नो जातिगत विशेषतालाई ध्यानमा राखेर । कसैलाई तीखा नङ्ग्रा दिएँ । कसैलाई दाँत । कसैलाई प्वाँख । कसैलाई विष  त, कसैलाई बल । कसैलाई सौन्दर्य र कसैलाई गन्ध । तर मान्छेलाई त त्यस्तो जन्मजात विशेष अस्त्र केही दिएको थिइनँ । सबैभन्दा सोझो, ज्ञानी, दयालु जन्तु मान्छे बनाएको थिएँ । कसरी सबैमा आधिपत्य जमाउन सक्यो होला त उसले ?  कसरी ती अरु प्राणीभन्दा शक्तिशाली हुनसक्यो त मान्छे  ? ”  ब्रम्हा विश्मित भावमा बोले । “अँ ! अलिकता धेरै बुद्धि भने मान्छे नामको जन्तुलाई हालिदिएको थिएँ।” ब्रहाजीले अब कुरोको चुरो खुस्काए । ” हो ..प्रभु ! जे गर्नु गरेको छ मान्छेले त्यही अलिकति बुद्धिले त गरेको छ नि ।” नारदले ब्रह्माको तर्कलाई पछ्याए। नारदले पृथ्वी र पृथ्वीवासीको सूक्ष्म रूपमा अध्ययन गरेर आउँथे र गतिविधि सुनाउँथे सधैं  शिवलोक, ब्रम्हलोक र वैकुण्ठलोक तीनै लोकमा  । “कलियुग मानिसको माध्यमबाट व्याप्त हुन लागेको छ भने अब मानिसकै माध्यमबाट कलिको पनि अन्त्य गर्नुपर्नेछ र नयाँ युगको शुरूवात पनि।” यमराजले आफ्नो राय दिए । “अब कुन नयाँ युगको शुरूवात गर्ने त?  कि सत्य युग नै पो दोहोर्‍याउने हो कि ?” पार्वतीले जिज्ञासा राखिन् । “सकेसम्म नयाँ युगको शुरूवात गर्न पाए राम्रो होला कि, प्रभु …? यी चारै युगमा काम गरिसकेको छु मैले । अब  फेरि पूरानै युग दोहोर्‍याएर पुरानै ढाँचाले पुरानै काम गर्ने कि नयाँ ढाँचाले ? सकस र अन्यौलमा त म हुन्छु, प्रभु । बरु नयाँ युग, नयाँ काम, नयाँ अनुभव हाँसिल गर्न पो मजा हुन्थ्यो कि, प्रभु ।” चित्रगुप्तले मध्यमार्गी तर्क प्रस्तुत गरे। चित्रगुप्तको कुरो सहि लाग्यो सबैलाई । तर अब पाचौँ  युग कुन युग शुरूवात गर्ने त ? सबै अन्योलग्रस्त देखिन्थे, विचारबिहिन । कसैको दिमागमा त्यस्तो युगबारे केही कुरा नै जन्मेन। “प्रभु पृथ्वीमा के कस्तो गतिविधि भैरहेको छ ? कली युगले कसरी आफ्नो वसमा पारेको छ मान्छेलाई र मान्छे भनाउँदो  जन्तुले के कस्तो क्रियाकलाप गर्दैछ ? त्यो सूक्ष्म रूपमा अनुगमन र मूल्यांकनका गरेर त्यही आधारमा तय गर्दा पो  राम्रो होला कि ? कुन युग शुरूवात गर्ने भनेर ।”  यमराजले थप राय चढाए। “के छ त नारद पृथ्वीतिरको सत्यतथ्य विवरण ? मान्छेले के कसो गर्दैछ ? उनीहरू आफ्नै जातीय समुदायमा  के, कसरी बाँचिरहेका छन् ? उनीहरूको गतिविधि र क्रियाकलाप के कस्तो छ ? सबै खुलस्त बताउ त।” नारायणले निर्देश गरे। ” नारायण, नारायण ! खै के बताउँ प्रभु । हजुरहरू आफैँ नै सृष्टि,पालन र सम्हारकर्ता हुनुहुन्छ । हजुरहरू नै तीन त्रिलोक चौध भूवनका द्रष्टा हुनुहुन्छ । म जाबोले के अवगत गराउनु र प्रभु हजुरहरूलाई नै ज्ञात भएको कुरा । यो त ‘सूर्यनारायणको अघिल्तिर  बत्ती देखाउनु’ जस्तो हुँदैन र, प्रभू ?” पितुर्के भावमा सत्य कुरा गरे नारदले । “त्यसो होइन नि नारद ! हामी सतही वा त मोटामोटी  रूपमा मात्रै हेर्छौँ  । धेरै तिरको जिम्मेवारी हुनेहुँदा  कतिपय कुरा बिर्सन्छौँ  पनि । तिमी पो घर परिवार नभएको फुक्का छौ । केहिले रोक्ने छेक्ने छैन । फुर्सद छौ । युवा छौ । जिज्ञासु छौ । त्यही भएर त तिमीलाई सुक्ष्म रूपमा अध्ययन र अनुगमन गरेर  सत्यतथ्य विवरण ल्याउने जिम्मेवारी  दिएको त।” ब्रम्हाले सम्झाए नारदलाई । लामो खुइ काढे नारदले एकपटक । “खै के भनौ र, प्रभु ! कलिले खर्लप्पै निलेको छ मान्छेलाई त कलिको प्रभावले नै त होला नि मान्छेमा नकारात्मकता मात्रै छ ।  सोचमा, भावमा, विचारमा, क्रियाकलापमा । सबैमा नकारात्मकता ।” पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ । पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ । “उफ ! अरु त अरु  हत्या, हिंशा, बलात्कार जस्तो जघन्य कार्य गर्दासमेत उसको मुटु काप्न छोडेको छ प्रभु !  सत्यता इमानदारिता अनि नैतिकता हराएको छ मान्छेबाट ।”-भक्कानिएर भने नारदले । “अब यो मान्छेलाई तहमा लगाएन र यस्तै उदण्ड छोडिदियो भने न त कलियुगको अन्त्य नै हुन्छ न त पृथ्वी लोकमा शान्ति र अमनचैन नै ।” पार्वतीले आशङ्का बोलिन् । “यिनीहरु स्व नियन्त्रणमा छैनन नि त पार्वती !  कलियुगले नै यिनीहरूको मस्तिष्क नियन्त्रणमा राखेर परिचालित गरिरहेको  छ परोक्षमा । त्यसैले त उदण्ड बनेका छन् मान्छे।”  महेश्वरले आफ्ना कुरा सुनाए। “मान्छेको उदण्डताको कारण कहिलेकाहीँ त मलाई पनि क्रुर र हिंस्रक बन्न बाध्य बनाउँछ, प्रभु ! कतिपय निरपराध र निर्दोष अतृप्त आत्मालाई  जबर्जस्ती उठाउनुपर्छ।” यमराजले थपे, “निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे। “मैले पनि ज्यादै अप्ठ्यारोमा काम गर्नुपर्छ कहिलेकाहीँ त प्रभु ! मान्छेले गरेका कस्ता कस्ता सुन्न पनि कहालिलाग्दो घटनाको र क्रियाकलापको लगत लेखेर राख्नुपर्छ यिनै हातले । कहिलेकाही त यस्तो झ्याउ काम छोडेर पाताल लोकतिर भासिनुजस्तै  लाग्छ प्रभु मलाई पनि  ।” चित्रगुप्तले पनि आफ्नो पीडा पोखे। “निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे। “धत ! यसरी  मान्छेजस्तो पिन्चे र एकलकाँटे कुरा गर्ने हैन नि यहाँहरू जस्तोले त । सबैले आफ्नो जिम्मेवारीबाट बिमुख भएर छोडेर हिँड्ने हो भने त कसरी  चल्छ र यो सृष्टिको क्रम ? सबैले स्व-स्थानमा रहेर स्व कर्म गरेको छ र पो त सृष्टि छ । पृथ्वी र प्रकृतिको स्व-अस्तित्व छ त । बरु अब कसरी मान्छेको  परिमार्जित व्यवहार र नयाँ युगको प्रार्दुभाव गर्ने सोचौं न सबैले।”  महेश्वरले चित्रगुप्त र यमराजलाई सम्बोधन गर्दै राय मागे । ” नारायण, नारायण ! सानो प्राणीका ठूला कुरा जस्तो होला, प्रभु ! अब मान्छेलाई ठूल्ठूला कुराले तह लगाउन सकिँदैन  ..पहिलाको जस्तो त । पहिले पनि त हामीले विभिन्न रोग र प्रक्रियाबाट तर्साउन त खोजेकै हो नि । बाढी, पहिरो, सुनामी , ज्वालामुखी, भूकम्प । खुरुखुरु पचाएन त …?  अहँ, अब केहीले तर्सन्न मान्छे । महामारीको रूपमा फैलाएका सुकेनास, ठेउला, दादुरा, बिफर, औलो, टीबी, एड्स, क्यान्सर, सार्स,  इबोला, वर्ड्फ्लु  सबैलाई पनि पचायो मान्छेले । मान्छे त ज्यादै ज्याद्रो प्राणी छ त प्रभु । एउटा न एउटा उपाय र विधि पत्तो लाएर जितेरै छोड्छ  सबैलाई । हैन, त्यो एक डल्लो गिदीको पनि कत्रो तागत, लौ !” नारदले विस्तृत विवरण दिए। अब मान्छेले नदेख्ने र सूक्ष्म कुराले तह लाउनुपर्छ मान्छेलाई । मान्छेलाई उसले निर्माण गरेका कुनैपनि पद्धति, हातहतियार, विधि, शुत्र र ज्ञानले परास्त गर्न नसक्ने तत्वका माध्यमबाट पराजित गराउनु पर्छ  । दम्भी र महत्वाकांक्षी मान्छेलाई जीवनबोध गराउनुपर्छ । सबै कुराको स्वअस्तित्व बोध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो । यसको लागि कस्तो तत्व निर्माण गर्न सकिन्छ होला त ?”  ब्रम्हाजीले  तर्कसहित अपेक्षा राखे । “सबैभन्दा अत्याचार त मान्छेले अरू प्राणीलाई गरेको छ, प्रभु । अनावश्यक प्रयोग र परीक्षणको बहानामा निरपराध निमुखा प्राणीहरूलाई हतियार बनाउँछ ।  आफ्नो स्वार्थ, स्वाद र इच्छा भोग गर्छ । सबै प्राणी आफ्नो अस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् छन् । अब तिनै प्राणीलाई अस्त्र (मोहरा) बनाएर मान्छेलाई परास्त गरि  जीव अस्तित्व वा स्वअस्तित्व बोध गराउनुपर्छ ।” नारदले पुनः आफ्नो राय बुलन्द गरे। “अब पृथ्वीमा त्यहीँ भएका जीवाशंहरुको प्रयोग गरेर नयाँ सुक्ष्म विषाणुको उत्पत्ति गराउनु पर्छ र मानवमाझ छोडिदिनुपर्छ । त्यसो गरे कसो होला प्रभु ?”  चित्रगुप्तले मत पेश गरे । “उत्तम ! अति उत्तम विचार !!  एक पन्थ दो काज हुने देखिन्छ यसो गर्दा त झन्। कलियुगले आफ्नो अन्त्य भएको पनि  थाहै पाउँदैन । स्वतःस्फूर्त अर्को युगको प्रार्दुभाव भैसकेको हुन्छ । उता मान्छेको पनि भाव र चेतनाको परिमार्जन  हुनसक्छ । यसमा अरुको राय के छ?” महेश्वरले याचना गरे । “मलाई पनि उत्तम लाग्यो यो तरिका । यही प्रक्रिया लागू गर्दा प्रभावकारी हुन्छ  नै होला।” नारायणले पनि सहमति जनाए । अरुले पनि नारायणसँगै होमा हो मिलाए । “स्वअस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् रहेका पृथ्वीमै भएका जीवात्माहरूका जीवाम्सहरूको उपयोग  गरेरै भएपनि नयाँ विषाणुको सृष्टि त मैले गर्नुपर्ने भो । तर पृथ्वीको कून भागमा सृष्टि गर्दा बढी प्रभावकारी होला त ?” ब्रम्हाले राय मागे सबैसँग । हुन त पृथ्वीभरि मान्छे नै मान्छेको उपस्थिति छ जहाँ सृष्टि गरे पनि हुन्छ । जहाँका मान्छेले पनि नजानेको र नगरेको कुरा केही छैन । अब  जीवनको सृष्टि नै  रोकेर  नयाँ प्रयोग र अनुसन्धानमा मात्रै समर्पित हुने गर्छन् । अनुसन्धान र निर्माणका यति धेरै निर्माणशालाहरू छन् कि मान्छे आफैँ नै यन्त्र जस्ता भएका छन् । तैपनि जहाँका मान्छेहरु अझै बढी महत्वाकांक्षी र पाषाण हृदयका देखिएका छन् , त्यहीँ नयाँ विषाणु सृष्टि गरेर छोडिदिँदा अझै  प्रभावकारी हुन्थ्यो कि त, प्रभु ।” नारदले नै उपाय बताए । ब्रम्हाको  चित्त नारदको कुराले बुझ्यो। सबैले सहमतिको मुन्टो हल्लाए। भेलाको निर्णय प्रभावकारी नै देखियो । सबैमा एकप्रकारको सन्तुष्टि देखियो । सामूहिक छलफल पछि साच्चिकै राम्रो र ठोस निश्कर्ष निस्कन्छ भन्ने प्रमाण देखिएको थियो, कैलाशमा बसेको आकस्मिक  भेलामा । भेला विसर्जन हुनै लागेको थियो । “ओहो! मुख्य कुरो त भुसुक्कै भएछ त,” झल्याँस्स झस्के महेश्वर । सबैले नबुझेको भावमा  सोधे  “के रह्यो र,  प्रभु?“ “नयाँ विषाणुको नाम नि त ?” सबैले मस्तिष्क मन्थन गरे । तर उपयुक्त  नाम कसैले  सोच्न सकेनन्  । सबैलाई चित्तबुझ्दो भएन एक अर्काले सोचेको नाम । धेरै जीवको सृष्टि गरेर नामाकरण गरेका ब्रम्हालाई नै जिम्मा दिए सबैले । ब्रम्हाले पृथ्वीमै भएका जीवहरुको जीवांश लिएर नयाँ विषाणुको सृष्टि गरे । रुप, गुण, मात्रृ अंश मिल्दोजुल्दो  नामाकरण गरे -“कोरोना” । ज्यादै  सूक्ष्म विषाणुलाई सब कोहीले देख्न सक्दैनथे त्यसैले ।  विषेश यन्त्रबाट सबैलाई कोरोनाको दर्शन गराइदिए ब्रम्हाजीले । “मेरो काम चैँ  के रहनेछ, प्रभु ?” नवजात सुक्ष्म विषाणु कोरोनाले  अन्यौल भएर सोध्यो ब्रम्हाजी समक्ष । “तिम्रो मुख्य काम भनेको पृथ्वीमा गएर मानव जातिमा आतङक मच्चाउनु हो । तर्साउनु हो । भौतिक शक्तिको होडबाजीमा मान्छेले आफ्नो नैतिकता, कर्तव्य र स्व अस्तित्वलाई बिर्सिएको छ । स्वार्थ र सामर्थ्य अनि  शक्तिको होडबाजीले यान्त्रिकण हुँदै गएको छ मान्छे। उसलाई  थर्काएर धम्क्याएर तिमीले यथार्थ रूपमा ल्याउनुपर्नेछ। जीवन र जीवात्माको सत्यता देखाइदिनुपर्नेछ । अहम या त म भनेर प्रकृतिलाई जित्न दौडेको मान्छेलाई  स्व अस्तित्व र सह अस्तित्वको बोध गराइदिनुपर्नेछ ।” बस ! यतिमात्र त हो तिम्रो काम  । तर याद रहे,  तिमीलाई सकेसम्म मान्छेले नभेटोस् नि । उसको नियन्त्रणमा  नपर्नु भरसक तिमी । शक्तिशाली छु  भनेर घमण्ड गरेको मान्छेसङ्ग तिम्रो युद्द हुनेछ अब । बिना शस्त्र अस्त्रको  युद्ध । अनि अर्को कुरा पनि याद राखेस, “अरु कुनै   प्राणीलाई चाहिँ तिमीले नछुनु नि मान्छे बाहेक ।” “ल विजयी भव:।” कैलाशमा कोरोनालाई  आशीर्वाद दिए सबैले । अन्ततः  सूक्ष्म विषाणु कोरोनालाई पृथ्वीमा छोडियो । कोरोनाले पृथ्वीभर कोहराम मच्चाउन थाल्यो । मानवसङ्ग भएका कुनै पनि अणु , परमाणु, बम , क्षेप्यास्त्र, बन्दुक,  औषधि, हातहतियार केहीले पनि रोक्न सकेन कोरोनाको कहरलाई । कोरोना आतङ्क  पृथ्वीको एकठाउँबाट  शुरूवात भएता पनि विस्तारै पृथ्वीभरी नै प्रभाव फैलिँदै गयो । सबैलाई जितेर मुठ्ठी भित्र  राखेको गर्व गर्ने मान्छे तुच्छ विषाणुदेखि हार्दै गयो । सारा संसारका  मानिस भयभित देखिए ।  धेरैले सदाहत प्राप्त गरे । सबै त्राही त्राही भए । धन, सम्पत्ति, वैभव केहीको मोह भएन । ” मात्रै ज्यान जोगाउन पाए हुन्थ्यो” भन्ने एउटा मात्र उद्देश्य रह्यो मानव मात्रको । पृथ्वीभरी एकछत्र आधिपत्य जमाएको मान्छे एकाएक शून्यता तिर गयो ।  सबैथोक शून्य हुँदै गयो ।  मान्छेमा बाँच्ने जिजिविषा  बाहेक अन्य कुनै लोभ रहेन । विस्तारै मान्छेमा हत्या,  हिंशा , बलात्कार, चोरी, डकैतीको भावना गायब हुँदै गयो ।  सबैमा बन्धुत्व प्रेम जागृत हुदैगयो । मबाट मान्छेमा हामी भन्ने भावनाको विकास भयो ।  धनी, गरीब,जात, धर्ममा भएको  विभेद हटेर  बन्धुत्व र समानताको भाव निशृत भयो  । माया प्रेम भाइचाराको विकास भयो ।  बाँच र बचाउ, मानव मानव एक हौँ   भन्ने भावनाले  स्वतस्फूर्त मानवीय मूल्य र मान्यताको बोध  हुँदैगयो मान्छेमा । लोभ र तृष्णा मुक्त हुँदै गयो मान्छे । कोरोनाको त्रासले एकान्तवास बस्दा प्रकृतिमा मान्छेको  पहुँच पुगेन । फूलबारीमा फूलहरु उन्मुक्त भएर फूले । पशुपन्छि स्वतन्त्र र निर्भय भएर  विचरण गर्न थाले । फूलको मनमोहक सुगन्ध बोकेर प्रदूषण मुक्त स्वच्छन्द हावा बहन थाल्यो । कतै मानवनिर्मित फोहोर देखिएन । सफा र स्निग्ध  देखियो वातावरण । एकान्तवासमा बसेर मान्छेले सादा सात्विक भोजन मात्रै खान थाल्यो । मान्छेहरुले  मद, मदिरा मांश सेवन गर्न छोडे । प्राणी हत्या हुन छोड्यो । सम्पूर्ण प्राणीले भयमुक्त भएर  उन्मुक्त र पूरा  जीवन बाच्न पाए । जीव हत्या गर्नुहुन्न । मान्छे लगायत सबै जीव र प्राणीहरुको एउटै जीवात्मा हो भन्ने बोध हुँदै गयो मान्छेमा । सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो । सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो । कोमल हुदैगए मान्छे  । स्वमूल्यांकन गऱ्यो मान्छेले  । आसुरी प्रवृत्तिमा पुगिसकेको मान्छे कोरोनाको एकान्तवासमा क्रमशः बुद्धत्व प्राप्त गर्दै गयो र देवत्वमा रूपान्तरित हुँदै गयो । कोरोना कहर अघि सबैभन्दा कुरुप बनेको प्राणी मान्छे अहिले अत्यन्तै सुन्दर देखिएको थियो।  उसको मन मस्तिष्क विचार र क्रियाकलापले । कोरोनाको त्रासबाट ऊ कहिल्यै ग्रसित र त्रसित भएन । ओहो ! कस्तो अलौकिक परिवर्तन हुँदै गयो एकाएक पृथ्वीमा ।  आनन्दै आनन्द । शान्ति नै  शान्ति ।  प्रेम नै प्रेम । करुणै करुणा ।  यस्तो परिवर्तन देखेर कलि युगको प्रभाव पनि विस्तारै सकिँदै गयो । र अन्त्य  नै भयो । पृथ्वीमा यस्तो प्रेमको शक्ति फैलियो कि त्यहाँ कोरोनाको विषाणुले हमला गर्न आँट नै गर्न सकेन । सहनशीलता मौनता र प्रेममा । “प्रेम नै युद्द जित्ने एकमात्र सबैभन्दा ठूलो अस्त्र रहेछ” भन्ने बुझ्यो उसले पनि । अन्तत ऊ प्रेमको अगाडि  नतमस्तक भएर स्वर्ग फर्कियो र ब्रम्हाजीलाई  सम्पूर्ण यथार्थता बतायो । मेरो हार भयो प्रभु ! दुहाई !! उसको उत्पती गर्नुपर्ने खास कारण थाहा नपाएको  विषाणुलाई सत्य कुरा बताउँदै  भने ब्रम्हाजीले ” तिम्रो बिजय नै भएको छ कोरोना ! खासमा मान्छे  पूर्ण रूपमा विनासको हेतु तिम्रो उत्पत्ति गरेको होइन मैले । कर्तव्य च्युत र अस्तित्व बोध नभएको मान्छेलाई बोध गरादिइनु, सहि दिशातिर मोड्नु मात्रै थियो तिम्रो सृष्टिको उद्देश्य  । र मोडिएको छ मान्छेको दिशा पनि हामीले चाहेजस्तै मार्गमा । स्यावास !  कोरोनालाई धाप मारे ब्रम्हाजीले । यता पृथ्वीमा पनि  सत्य युग, द्वापरयुग, त्रेता युग  जस्तै गरि चौथो  कलि युग पनि समाप्त भयो र पाचौं युगको। शुरूवात भयो – प्रेम युग अर्थात करुणा युग ।।। अस्तु । मन्दिरा कोइराला भोजपुर. हाल काठमाडौ ।

गोरखा अस्पतालमा भेन्टिलेटरसहित आइसियु सेवा शुरू

गोरखा । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको एक करोड रूपैयाँको लागतमा उपकरण खरिद गरी जडान गरिएको उनले जानकारी दिए । पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो । भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड-१९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत अस्पतालमै राखेर उपचार गर्न सकिने उनले बताए । अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उनको भनाइ छ । प्रदेश सरकारअन्तर्गत रहेको यस अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु दुई श्यया क्षमताको रहेको उनले बताए । प्र्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चैत महिनामा रकम निकास गर्ने भनिए पनि ढिलो गरी बजेट प्राप्त भएकाले सेवा शुरु गर्न केही ढिलाइ भएको जनाइएको छ । सेवा विस्तार भएसँगै कोरोना सङ्क्रमणलगायतका अन्य रोगका कारणसमेत भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भए अब सिफारिस गरेर पठाउनुपर्ने अस्पतालको बाध्यता हटेको छ । रासस

नयाँ चार शहरः तीन शहरको डीपीआर स्वीकृत, ललितपुरको बन्नेमा अन्योल

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका चार शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले तीन शहरहरुको डीपीआर स्वीकृत गरेको हो । तीनै शहरको डीपीआर स्वीकृत भएसँगै अन्तिम स्वीकृतीका लगि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय भएको छ । प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए । ललितपुरमा बन्ने भनिएको नयाँ शहरमा भने अन्योलता देखिएको छ । ललितपुर महानगरपालिका नगरप्रमुख बैठकमा अनुपस्थित रहेकोले ललितपुर जिल्लामा पर्ने प्रस्तावित शहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको तिवारीले बताए । ‘हामीले तीन शहरको डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेका छौं, ‘काठमाडौँ नैऋत्य को शहरका लागि मेयरसाव दुई/तीन पटक बैठकमा बोलाएर पनि नआएपछि त्यतिकै रोकिएको छ, अर्को बैठकमा माग गरेर आयो भने स्वीकृत हुन्छ, नत्र त्यस्तै स्थगित रहन्छ,’ उनले विकासन्युजसँग भने । समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नयाँ शहरहरुको अन्तिम स्वीकृतीका लागि डीपीआर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको तिवारीले बताए । उनले सो डीपीआर मन्त्रिपरिषदबाट पास भएपछि निर्माणका लागि ठेक्का प्रकृयाको काम सुरु हुनेबताए । आगामी आर्थिक वर्षको सुरु देखि नै नयाँ शहरको निर्माण प्रक्रियाका लागि गर्नुपर्ने ठेक्कापट्टा लगाउने काम सुरु हुने उनको भनाई छ । उपत्यका विकास प्राधिकरणका अनुसार पहिले एकै पटक ४ वटै नयाँ शहर निर्माण सम्भव नभएको बताएपनि अहिले भने तीनै शहरको निर्माण प्रक्रिया सँगै सुरु गर्ने भएकाे हाे । आगामी आर्थिक वर्षको सुरुदेखि नै तीनै शहरको निर्माण प्रक्रिया सुरु गरी समयावधि भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम हुने तिवारीले बताए । आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा तीन सानो सहरका लागि ५०/५० लाख र ठूलो शहरका लागि १ करोड रुपैयाँ विनियोजन भएपछि सबैको सँगै काम सुरु गर्ने उनले बताए । नयाँ शहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । त्यसको २० प्रतिशत जग्गा सडकमा आउने बताइएको छ । बाँकी ५ प्रतिशत खुल्ला मैदान र पार्कका लागि छुट्याइने छ । डीपीआर अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इसान’ को कुल निर्माण लागत चार खर्ब रुपैयाँ हुनेछ भने अन्य तीन वटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ । त्यसैगरी, काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ । नयाँ शहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, प्रहरी चौकी, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरु विकास गरिने छ । मन्त्री नेम्वाङ भन्छन्ः चारै शहर बनाउने योजना पुरा गर्छौं शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा बन्ने चारै शहर बनाउने योजना पुरा गरेरै छाड्ने बताएका छन् । काठमाडौंको अव्यस्थित बस्ती विस्तार भएका कारण संघीय राजधानीलाई व्यवस्थित बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको बताउँदै उनले चारै शहर निर्माण हुने बताएका हुन् । उनले चारै शहरको सिटीको काम आगामी आर्थिक वर्षमा तीव्र बन्ने बताए । विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सोमवार संसद्मा जवाफ दिँदै मन्त्री नेम्वाङले संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटी बनाउन लागिएको बताएका हुन् । ‘कुनै पनि भूमाफियाको प्रलोभन र दबाबमा सरकार पर्दैन, संसारभरिका राजधानीहरू अति सुन्दर हुन्छन्, वातावरणीय दृष्टिले, सांस्कृतिक र सभ्यताले व्यवस्थित हुन्छन्, संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको हो,’ उनले भने । सम्बन्धित समाचार:  नयाँ चार शहरः आठ आनाभन्दा कम जग्गा हुनेले पनि छोड्नु नपर्ने, जमिनको मूल्य यस्तो छ चारै नयाँ शहरको डीपीआर तयारः न्युनतम ८ आना जग्गा किनबेच गर्न सकिने, मूल्य बढ्ने

एनएमबि बैंकले कञ्चन डेभलपमेन्टलाई प्राप्ति गर्ने, भयो अन्तिम सम्झौता

काठमाडौं । “क” वर्गको एनएमबि बैंकले राष्ट्रिय स्तरको “ख” वर्गको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच जेठ २५ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीका सचिव ध्रुव प्रसाद अधिकारीले जनाएका छन् । यसअघि दुई कम्पनीबीच माघ १६ गते(आइतबार) पहिलो सम्झौता भएको थियो । अन्तिम सम्झौता पश्चात नेपाल राष्ट्र बैंक र बैंकहरुले पनि साधारण सभा मार्फत पारित गर्नुपर्ने व्यवस्था रहेकाे छ । त्यसपछि दुई कम्पनीबीच एकीकृत कारोबार हुने छ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । एनएमबि बैंकको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको “क” वर्गको बैंक हो । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई सो क्षेत्रका सर्वसाधारणहरुलाई थप बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने कम्पनीको विश्वास छ ।