फ्लाईओभर नै जाम व्यवस्थित बनाउने उपाय हो: मन्त्री नेम्वाङ
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले काठमाडाैं उपत्यकाकाे जाम व्यवस्थित बनाउने एउटा मात्र उपाय फ्लाईओभर भएकाे बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको जवाफ दिदै उनले साे कुरा बताएका हुन्। उनले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २२ अर्बले कम रहेको बताउँदै उनले संघीय राजधानीलाई सुन्दर बनाउन, ट्राफिक जामलाई व्यवस्थित बनाउने एउटै मात्र उपाय फ्लाईओभर भएकाे बताएका हुन् । लामो समयदेखि महत्वपुर्ण बाटोको रुपमा रहेको पुर्वपश्चिम राजमार्गको ४ लेन विस्तार र निर्माण कार्यलाई थालनी गरिएको र केही वर्ष यसको पुर्णतामा लाग्ने भएकाले हुलाकी सडक चार लेनको बनाउने योजना अहिले भएको उनले स्पष्ट पारे। उनले सबै निर्वाचन क्षेत्रहरुमा तराई मधेश पूर्वाधार कार्यक्रममा भने सबै निर्वाचन क्षेत्रमा विस्तार गरिएको, पुर्वपश्चिम विद्युतीय रेलमार्गको सबै डीपीआर कार्य सम्पन्न भएको र डीपीआर बमोजिम बर्दिबासमा काम सुरु भईसकेको जानकारी दिए। राजधानीमा फ्लाईओभर बनाउन छुट्याएको बजेट प्रदेशमा पठाउनुपर्ने भन्ने सांसदहरुको थियाे । तर, उनले भने, ‘फ्लाई ओभरको बजेट प्रदेशलाई पठाउनुपर्ने भन्नुभएको छ, यो होइन, संसारभरीका राजधानीहरु अत्यन्तै व्यवस्थित हुन्छन् । हाम्रो राजधानी धार्मिक, सांस्कृतिक सबै कुराले धनी छ । बाटाहरु साना छन् । ट्राफिक बढ्दो भएकाले जाम नियन्त्रण गर्नुपर्ने भएकाले एउटा दुईवटा मात्रै होइन काठमाण्डौमा साह्रै धेरै आवश्यकता छ ।’
नेपाली पुँजी बजार २७ वर्षदेखि बामे मात्रै सरिरहेको छ, अब हिड्नु पर्यो
मार्केटमा चुनौतिहरु धेरै छन् । बजार विकासको जिम्मेवारी लिएर स्थापना भएको धितोपत्र बोर्ड सरकारको निकाय हो । र, बोर्ड पुँजी बजार विस्तारको सरकारको सल्लाहकार पनि हो । त्यसैले यस बजार विस्तारको नेतृत्व लिने निकाय पनि बोर्ड नै भयो । यो भन्दै गर्दा बोर्ड एक्लैले मात्र बजार विस्तार गर्न सम्भव हुँदैन । पुँजी बजार विकासको लागि पहिलो कुरा त सरकारले यसलाई प्राथमिकता राख्नै पर्छ । बोर्डले पनि बजारको महत्व यस्तो यस्तो छ भनेर सरकारलाई बुझाउन सक्नुपर्ने हुन्छ । यससँगै, व्यवसायी लगायत यस क्षेत्रका सरोकारवालाहरु सबैलाई समेटेर सफल नेतृत्व दिएर अगाडि बढ्न सफल हुनुपर्ने हुन्छ । बजार सम्बन्धि नीतिगत तथा बजारमैत्री व्यवस्थाहरु गर्न सक्नु पर्यो । बजार संरचना, पूर्वाधारहरुको विकास अन्तर्राष्ट्रियस्तरको हुनु पर्यो । हामीकहाँ कतिपय बजार पूर्वाधारहरु छन् । तर त्यो भईकन पनि तिनीहरुले पूर्णता पाईसकेको अवस्था छैन । यसलाई पूर्णता दिन पनि बोर्डले पहल गर्नुपर्यो । जे जति पूर्वाधारहरु छन्, त्यसमा केही न केही कमी कमजोरी पक्कै छन् । जस्तै, नेप्सेकै अपरेसनको कुरामा, सीडीएससी कै अपरेशनको कुरामा छन् । म्युचअल फण्ड सञ्चालनमा आएका छन् । तर उनीहरुले व्यवस्थित वातावरणहरु पाई राखेका छैनन् । अरु आईपीओमा पनि प्राइस फरमेसनका कुराहरु जस्तै अन्य धेरै कुराहरु बाँकी छन् । यी सबैको पूर्वाधारहरुलाई पूर्णता दिनुपर्यो । एउटा वातावरण दिनुपर्यो । त्यसपछि मर्चेन्ट बैंकर, ब्रोकर लगायतका धितोपत्र व्यवसायहरुको स्तर वृद्धि गराउन पनि अन्तर्राष्ट्रिय स्तरबाट नीतिगत निर्णय तथा व्यवस्था गर्नुपर्ने हुन सक्छ । व्यवसायीहरुको सेवालाई परिष्किृत गर्नलाई त्यही अनुसारको वातावरण सिर्जना गर्नुपर्यो । यी सबै काम गर्नलाई नियामक निकायमा सबैको कुरा सुन्ने नेतृत्व चाहिन्छ । बोर्ड एक्लैले मात्र पनि गर्ने होइन । बजारको हामी सबै सिक्दै गर्दै गर्ने अवस्थामा छौं । यो अवस्थामा सबैले सबैको कुरा सुन्ने हुनुपर्छ । आफूले बोलेको कुरा मात्रै ठिक छ भन्ने हिसावले एकोहोरो जाने भन्दा पनि सबैको कुरा सुनेर अघि बढ्नु पर्ने हुन्छ । जस्तै, धितोपत्र बोर्ड होस्, मर्चेन्ट बैंकर होस्, धितोपत्र व्यवसायी होस् जो सुकैले राखेको ओपिनियन उपयुक्त छ भने त्यसलाई अनुसरण गर्ने हो । होइन, भने त्यसलाई छोड्न पनि तयार हुनुपर्छ । यो किसिमको उदार सोच नेतृत्व लिनेले देखाउनु पर्ने हुन्छ । जुन अहिलेको बोर्डको नेतृत्वले त्यो किसिमको व्यवहारहरु देखाईरहेको मेरो अनुभव छ । हामीले हाम्रा कुराहरु लिएर गयो भने कमसेकम त्यस्ता कुराहरु सुनिदिनु हुन्छ । अहिले बजेट आउने बेलामा पनि हामी व्यवसायीहरुले दिएका सुझावहरु बोर्डले मन्त्रालयसम्म पुर्याउने काम गरेको पाइयो । तर अब मन्त्रालयमा पुर्याएर मात्र भएन । त्यो कुरामा बढी नै जोड दिएर व्यवस्थामा ल्याउन सक्ने हुनु पर्यो । यसरी गर्ने हो भने बजार विकास पनि हुन्छ र बोर्ड पनि सफल हुन्छ । मलाई लाग्छ, आगामी दिनमा बोर्डले यी सबै कुरालाई समेटेर बजार विकासमा एउटा सफल नेतृत्वदायी भूमिका प्रदान गर्छ भन्ने मर्चेन्ट बैंकर एशोसियसनको अपेक्षा रहेको छ । बोर्ड यसरी अगाडि बढेको क्रममा मर्चेन्ट व्यवसायी तथा अन्य धितोपत्र व्यवसायीले हरेक कुरामा साथ दिन तयार हुनेछन् । बोर्डमा नयाँ नेतृत्व आएको धेरै समय त भएको छैन । र, योभन्दा अगाडि काम भएको छैन भन्ने पनि होइन । काम भएको हो । तर पनि बजारमा तात्विक असर पार्ने काम भन्दा पनि अपरेसनल इफिसेन्सीमा डिजिटाईज गर्ने कुरामा आश्वा, अनलाईन ट्रेनिङ्हरु ल्याईयो । तर सबै पूर्ण देखिएनन् । काम नगरेको हैन, काम भएको पनि हो पहिला भन्दा धेरै कुराहरु डिजिटाईज पनि भएका छन् । त्यतिले नपुग्ने देखियो । त्यसमा धेरै जोखिमहरु पनि छन् । सबैलाई सम्हालेर लानुपर्यो । तर अपरेशनल रुपमा इफिसेन्सी मात्र ल्याएर हुँदैन । नीतिगत व्यवस्था र यसको मुख्य मुख्य कुराहरुलाई बढी जोड दिनुपर्ने हुन्छ । जस्तो, बजार भन्ने बित्तिकै यहाँबाट पुँजी परिचालनको लागि गतिलो माध्यम बन्नु पर्यो । गतिलो र भरपर्दो माध्यम बन्नको लागि कुनै पनि कम्पनीले पुँजी परिचालन गर्न खोज्यो भने त्यसको लागि बजार तयार हुनुपर्छ । यसको मतलब पर्याप्त मात्रामा लगानीकर्ताको सहभागिता हुनुपर्यो । त्यसमा व्यक्तिगत लगानीकर्ता मात्र भएर भएन । संस्थागत लगानीकर्ताहरुको बढी सक्रियता तथा सहभागी हुनु पर्यो । यसको विकास नगरी हामीले डिमाण्ड साईडलाई क्रियट गर्न पनि सक्दैनौं । जस्तो हामीले स्टक डिलरको कुरा गरेका छौं । त्यो आएका छैन । एनआरएनको लगानी भित्र्याउने कुरा छ, त्यो आएको छैन । यो विषयलाई चासो दिएर कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ । यो कार्यान्वयमा ल्याउन केही मोटिभेसनहरु हुनु पर्छ । सरकारले नै यसलाई प्राथमिकतामा हेर्न थाल्यो भने स्वतः स्पष्ट गर्दै जाने कुरा हो । यसलाई वास्ता नगर्ने हो भने यो सँधै यस्तै नै हुन्छ । दशकौंदेखि हामीले हाम्रो पुँजी बजार बामे सर्दै छ भन्दै आएका छौं । एउटा बच्चा जन्मिएर ६ महिनापछि आफैं खुट्टा टेकेर हिड्न थाल्छ भने हाम्रो बजारको सँधै बामे सर्ने मात्रै ? सँधै बामे मात्र सरेर त भएन, उठेर हिड्ने पनि बनाउनु पर्यो । पछिल्लो समय अपरेशनको परिपेक्ष्यमा केही पूर्वाधारहरु तयार भएका छन् । ती पूर्वाधारहरु तयार भएपनि त्यसलाई पूर्णता दिन अरु थप गर्नुपर्ने कामहरु एकातिर गर्नु पर्यो भने अर्कोतिर, अपरिहार्य कुराहरुलाई कसरी हामीले विकास गर्न सकिन्छ भन्नेमा पहल गर्नुपर्यो । जस्तो, बचतकर्ताहरुको बचतलाई क्यापिटल मार्केटमा परिचालन गर्नु पर्यो, उनीहरुलाई प्रोत्साहन गर्नुपर्यो । यसका लागि विभिन्न किसिमका उपकरणहरु हुन्छन् । सामूहिक लगानी कोष मात्रै नभएर अरु किसिमका ट्रष्टहरु जस्तै, पेन्सन फण्ड, रिटायरमेन्ट फण्ड, भेन्चर फण्डहरु सबैको प्रयाप्त विकास नभएसम्म पुँजीबजार आफैमा पनि सष्टेन हुन सक्दैन । प्रयाप्त लगानीकर्ता छैन, लगानीकर्ताको सहभागिता छैन भने एउटा राम्रो कम्पनीले सेयर जारी गर्दा पनि बिक्री गर्न नसक्ने अवस्था आयो भने कम्पनी पुँजी बजारमा जान डराउँछ । त्यसैले यस्तो कुराहरुमा ध्यान दिनु पर्ने कुरा हुन्छ । विश्वमा हेर्ने हो भने ठूला ठूला बजार पूर्वाधारहरु फण्डिङ् पुँजी बजारबाटै भएको छ । हाम्रोमा हुन नसक्नुको कारण के हो ? अहिले पनि भएको छ । नभएको होइन । जस्तो तामाकोसी जस्ता ठूला परियोजनाले पुँजी परिचालन गरे । कतिपय उर्जा लगायत अन्य क्षेत्रकाले पनि पुँजी परिचालन गरेका छन् । रियल सेक्टरका कम्पनी धेरै नभएपनि शुरुवात भएको छ । यसमा पक्कै पनि नीतिगत कुराहरु र अन्य केके कमी कमजोरीहरु छन्, त्यसलाई केलाएर उपयुक्त व्यवस्था गर्न सक्नु पर्यो । पहिलो कुरा त सरकारले पुँजी बजारलाई प्राथमिकतामा राख्नु पर्यो । तर यसले प्राथमिकता पाएन भनेर यत्तिकै चुप लागेर बस्ने कुरा हुँदैन । नीतिगत कुराहरुको व्यवस्था गर्ने, लगानी गर्नको लागि प्रोत्साहनका कुराहरु गर्ने व्यवस्था ल्याइयो भने यसको प्रभाव बजारमा पर्छ र यसले अल्टिमेटली विस्तारै बजार विकास भइरहेको हुन्छ । मतलब सकारात्मक तरिकाबाट यसलाई प्राथमिकता दिनु पर्यो । किनभने कुनै पनि परियोजनाको लागि पुँजी बजार भनेको विकल्प होइन, परिपूरक हो । परियोजनाको लागि बैंक तथा सहकारी भए पुग्छ भन्ने हो भने देशको विकास कहिल्यै पनि हुुन सक्दैन, आर्थिक सम्वृद्धि पनि आउन सक्दैन । त्यसैले यी कुरालाई मनन गरेर अगाडि बढ्नु पर्यो । मलाई लाग्छ, धितोपत्र बोर्ड २७औं वर्ष पुरा गरिसक्दाको अवस्थामा यी सबै कुराहरु बुझिसकेको छ । अब उसको अर्को पाइला भनेको आफूले बुझेको कुराहरुलाई प्राथमिकताका साथ सरकारसँग राखेर कार्यान्वयनमा ल्याउन सफल नेतृत्व लिन सक्षम हुनुपर्यो । त्यसपछि मात्रै पुँजी बजारको यर्थाथमा विकास हुन सक्ने वातावरण बन्छ । (मर्चेन्ट बैंकर एशोसियसनका अध्यक्ष तिमिल्सिनासँग गरिएको कुराकानीमा आधारित)
महिला सहयात्रा लघुवित्तले विपन्न समुदायलाई वितरण गर्यो साढे ५ लाख बराबरको राहत
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले उक्त रुपैयाँ बराबरको राहत सहयोग गरेको हो । साथै, यस वित्तीय संस्थाले असार मसान्तसम्मका लागि कर्जामा ३ प्रतिशत छुट दिएको छ । वित्तीय संस्थाले लकडाउनको अवस्थालाई मध्यनजर गरी ग्राहक मैत्री कर्जा नीति ल्याउँनुका साथै विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बताएका छन् । राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको यस वित्तीय संस्थाको ३४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउने आर्युर्वेदिक उत्पादन बजारमा
काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो । आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ । परापुर्व कालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुदा गुर्जोको झोल पिउदै आएका छन् । भारतिय योग गुरु वावा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउदै आएका छन् । यहि सर्वगुणकारी गिलोय (गुर्जो) का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको हो । गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए । ‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरिरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोना विरुद्ध लड्न सकिने पुष्टी भएको छ’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ । कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डिडिएबाट पनि स्वीकृत छ । नेपाली जडिबुटीको प्रयोगबाट निर्मीत आर्युवेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्न सक्ने र कुनै साईट इफक्ट नभएको कम्पनीले जनाएको छ । यी उत्पादनहरुमा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट तत्व भएकाले नियमित सेवनले वालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्दै कोरोना लगायतका भाइसरबाट बचाउने छ । साथै पाचन क्रियालाई सक्रिय गराउने, शारिरीक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारीरीक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सिइओ शाहीले जानकारी दिए । कोरोना संक्रमण र लकडाउन अवधिमा पनि कम्पनीले स्वास्थ्य सजगता अपनाउँदै उत्पादन तथा वितरण जारी राखेको छ । देशभर आफ्ना थोक तथा खुद्रा विक्रेतामार्फत सजिलै उत्पादन खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका बजार व्यवस्थापक द्धारिका गौतमले जानकारी दिए ।
अढाइ महिनादेखि पसल बन्द गरेका व्यापारी भन्छन्ः सटर खोल्ने वित्तिकै ग्राहक होइन, भाडा माग्न घरभेटी आए
काठमाडौं । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीलाई घरधनीले लकडाउनकै बीचमा फोन गरेर घरभाडा मागेको थिए । पसल खुल्न थालेपछि व्यापारीले पसल खोल्नुभन्दा पहिले नै आएर घरधनीहरुले भाडा माग्न थालेका छन् । व्यापारीहरुले लकडाउन अवधिभर पसल बन्द गरेर बसेका थिए । लकडाउनमा पसल बन्द गरेको व्यापरीहरुलाई घरधनीले फोन गरेर घरभाडा माग्ने गरेको थिए । तर, लकडाउनका कारण हातमुख जोर्नै समस्या परेको भन्दै केही दिनयता व्यापारीहरुले पसल खोल्न थालेका छन् । अढाइ महिनादेखि व्यापार बन्द भएपछि आफूहरु भोकै हुने अवस्था आएको व्यापारीहरु बताउछन् । लकडाउनभर पनि व्यापारीहरु पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा परिरहेका थिए । व्यापार खोल्नुको बिकल्प नभएको भन्दै व्यापारीहरुले विस्तारै पसलहरु खोल्न सुरु गरका हुन् । तर पसल खोल्न आउदा भाडा माग्न घरधनी आएकाले पसलेहरु पसल नै छाड्ने अवस्थामा पुगिसकेको बताउछन् । नेपाल व्यापार संघका उपाध्यक्ष तथा चाहाना भोटाहिटी व्यापार संघका आजिवन सदस्य हरि गौतमले पसल खोल्ने बितिकै घरधनी भाड माग्न आएको बताए । अढाइ महिनादेखि व्यापार बन्द छ, त्यसैले पसल खोल्ने बितिकै भाडा दिने अवस्था नभएको भनेर घरधनीलाई जानकारी दिएको गौतमले बताए । धेरै पसलेहरु पसल खोले पनि घरधनीले भाडा माग्ने, व्यापार नहुने, कोरोनाबाट कसरी बचेर व्यापार गर्ने भनेर चिन्तामा रहेको उनको भनाइ छ । ‘पहिले घरभाडा तिर, अनि मात्रै पसल खोल भनेर घरधनीले भनिरहेका छन्, व्यापार भएर कमाएको पैसा पनि लकडाउनको समयमा बसेर खादा सकिएको छ, व्यापारीहरु नै भोकै हुने अवस्थामा आइसकेका छन्, यो बेला घरधनीलाई भाडा दिन सकिने अवस्था नै छैन्’, गौतमले भने । धेरै व्यापारीहरुलाई घरधनीहरुले पहिले भाडा तिर, अनि मात्रै पसल खोल भनेर भनेकोले अब के गर्ने भनेर आफूलाई फोन गर्ने गरेका उनले सुनाए । सबै घरधनीलाई सम्झाउन सकिने अवस्था नरहेको भन्दै उनले यस्तो बेलामा पनि संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहले समस्या समाधानको लागि कुनै पहल नगरेको गुनासो गरे । व्यापारीहरुले स्थानीय तहसगँ बसेर पनि आफूहरुका समस्याका बारेमा जानकारी गराएका थिए । तर खासै पहल नभएको उनको गुनासो छ । ‘लामो समयदेखि व्यापारमा लागेका साथीहरुले अब यो क्षेत्रमा आफ्नो भविष्य देख्न छोडिसके, अब कहाँ जाने, के गर्ने भनेर चिन्ता थपिएको छ, बैंक ऋणको व्याज, सरकारलाई कर, कर्मचारीलाई तलब घरधनीलाई घरभाडाको नै सबै भन्दा ठूलो समस्या भएको छ,’ उनले थपे । गौतमको पनि पसलको भाडा १ लाख ८० हजार रुपैयाँ तिर्न बाँकी भइसकेको छ । उनले भोटाहिटीमा मासिक ६० हजार भाडा तिरेर रेडिमेट पेन्सी पसल सञ्चालन गरिरहेका छन् । खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पसल खोले पनि व्यापार नभएको बताए । सावर्जनिक सवारी साधन सञ्चालन नहुने बेलासम्म मान्छे नै नहुन भन्दै उनले मान्छे नभए पछि व्यापार पनि नहुने र यसैकारण व्यापारी समस्यामा परेको बताए । ‘उपत्यकामा मान्छेको चहलपहल नै छैन, अहिले होलसेल मात्रै खेलेका हुने, स्थानीय सरकारले पनि केही नयाँ निर्णय आउछ भनेको छ, बिहान ८ बजेदेखि ११ बजेसम्म मात्रै पसल खोलेर के गर्नु, सामान किन्न मानिस हिडेर आउन सक्ने अवस्था नै छैन,’ न्यौपानेले भने । पिपुल प्लाजा व्यापार संघका अध्यक्ष युवराज चापागाईले खुद्रा पसलहरु सञ्चालन भएपछि मात्रै व्यापार सुरु हुने बताए । अहिले खुलेका पसलहरु पनि सफा गर्ने, मुसा र चिसोबाट जोगाउने काम मात्रै भैरहेको उनको भनाइ छ । ‘अहिले पसल खुलेको उपभोक्तालाई जानकारी मात्रै हो, हिडेर आएर सामान किन्ने अवस्था नै छैन, व्यापार राम्रो हुनका लागि केही समय लाग्छ, हामी पनि अब पर्ख र हेरको अवस्थामा छौं,’ चापागाईले भने । काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुको सगंठले धेरै पटक व्यापारीको समस्या सरकारलाई सुनाउने प्रयास गरे । तर सरकारले भने व्यापारीहरुको कुरा नै सुन्न नचाहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । अरुबेला उपत्यका र उपत्यका बहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान जस्तै नै छ । पसल खुले पनि व्यापार नभएको व्यापरीहरु बताउछन् । किनमेल गर्नेको सधैं भीड रहने देशभरिकै अति व्यस्त सहरहरु पनि अहिले धेरै बन्द छन् । खुलेका पसल पनि घरधनीदेखि सरकारसम्मले दुःख दिएको व्यापारी बताउँछन् । सरकारले कर तिर भनिरहेको तथा घरधनीले भाडा मागिरहेका व्यापारीको गुनासो छ । व्यापारीहरुले सामान चीनबाट सोझै आयात गर्ने गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाका खुद्रा बिक्रेताले हारालुछ गरेर सामान लाने गरेका थिए । भीड कहिल्यै नघट्ने दबारमार्ग, न्युरोड, ठमेल, महाबौद्धका लगायतका बजार यतिबेला सुनसान देखिन्छन् । लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल शुन्य नै छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स शून्य देखिएका छन् । न्यूरोडका इलेक्टीक सामानका व्यापारी महेन्द्र चित्रकार विहान ८ बजेदेखि ११ बजेसम्म पसल खोलेर बसे पनि व्यापार नै नहुने गरेको बताउछन् । उनका हजुरबाको पालादेखि पसल सञ्चालन गरेको उनी बताउछन् । करिब ३ महिन पसल बन्द भएपछि खुले पनि व्यापार नभएको उनको भनाइ छ । महाबौद्धका कपडा व्यापारी रमेश लामिछानेको पनि पसल खोले पनि सटर भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । लकडाउनकै समयमा पसल खुले पनि व्यापार नभएको र कहिलेदेखि व्यापार राम्रो हुने हो भनेर उनले अनुमान लगाउन सकेका छैनन् । लकडाउन कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । लकडाउन नखुली व्यापार नहुने व्यापारीहरुको भनाइ छ । व्यापारी केन्द्रहरुका घर भाडा नै महिनाको ३ लाख रुपैयाँभन्दा बढी छ । समस्या परेको बेलामा सरकारले सहयोग गर्छ कि भन्ने आसा व्यापारीहरुको थियो । व्यापार बन्द हुदा धेरै समस्या परेको भन्दै काठमाडौंका व्यवसायीहरुले २१ जेठ बिहीबारदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए । सरकार पनि व्यवासायीको निर्णयमा शान्त बस्यो । सरकारले गरेको लकडाउन नमान्दै पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएर पसल सञ्चालग भैरहेको व्यापारीहरुको भनाइ छ । सम्बन्धित सामग्री भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक !
तेल चोरी र मिसावट रोक्न नेपाल आयल निगम अटोमेशनमा जाँदै
काठमाडौं । नेपाल आयल निगम तेल चोरी र मिसावट रोक्न अटोमेशनमा जाने भएको छ । निगमले पहिलो चरणमा तेल चोरी तथा मिसावट रोक्नका लागि २८ करोडको सफ्टवेयर जडान गर्ने भएको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गर्ने भएको हो । सफ्टवेयर जडान गर्दै नेपाल आयल निगमले सबै सेवाहरुलाई अटोमेशनमा लैजाने प्रक्रिया सुरु गरेको छ । इआरपी प्रणालीले निगमको एकिकृत व्यवस्थापन गर्ने छ । नेपाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाल आयल निगाम अटोमेशनमा लाने काम सुरु भएको बताए । विस्तारै निगम पुर्णरुपमा अटोमेशमा जाने छ । ‘मेकानिकल लकिङ् सिस्टमले मिसावट र चोरी नरोकिएपछि अटोमेशनको काम सुरु भएको हो, इआरपी सिस्टम जडान भए पछि सबै काम कम्युटरकृत हुने छ,’ पौडेलले भने । नेपालभर १ हजार ४ सय वटा पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री भइरहेको छ । तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको लागि २८ करोड रुपैयाँ बजेट छुट्याएर टेन्डर भएको छ ।
लकडाउनकाे प्रभाव: न्युजिल्याण्डले कोरोना संक्रमितकाे संख्या शून्यमा झार्याे
काठमाडौं । करिब ५ साता लकडाउन गरेकाे न्युजिल्याण्डमा हाल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या शून्यमा झरेको छ । केहीदिन यता नयाँ संक्रमित नभेटिनुकाे साथै उपचारपछि निकाे भइ सबै संक्रमितहरू अस्पतालबाट घर फर्किसकेका छन् । न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेकामा खुसी व्यक्त गरेका छन् । पछिल्लो ४८ घण्टादेखि आइसोलेसनमा रहेका विरामीलाई कुनै लक्षण नदेखेपछि निकालिएको हो । न्युजिल्याण्डमा १ हजार ५ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । १ हजार ४ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । मार्च १९ देखि कडाइका साथ लकडाउन घोषणा गरेको न्युजिल्याण्डले पछिल्ला दिनमा शुन्य कोरोना संक्रमित भएसँगै बन्दाबन्दी खुकुलो बनाइएको छ । (अलजिजराबाट)
अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना
काठमाडाैं । सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए । गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ । “अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो”, मौसमविद् बासीले भने । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ । मनसुन शुरु हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन । मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ । यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस