इक्यानले सबै सदस्य तथा कर्मचारीको गरायो कोरोना बीमा
काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सबै सदस्य कम्पनीहरुको नाममा कोरोना जोखिम बीमा गरेको छ । संघले कोभिड-१९ को संक्रमणको जोखिम पनि बढि रहेको अवस्थामा आफ्ना सदस्य कम्पनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यबाट उक्त बीमा गरेको हो । संघले आफ्ना सम्पूर्ण ४६३ सदस्यहरु तथा ९ जना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । यस बीमा अन्तर्गत बीमित सदस्यहरुलाई कोभिड-१९ को संक्रमण भएको अवस्थामा एक लाख रुपैयाँ बराबरको जोखिम बहन गरिने छ । यो बीमा कार्यक्रम पोलिसी खरिद भएको मितिले १४ पछिबाट कृयाशिल हुनेछ । नेपाल सरकारले क्रमिक रुपमा लकडाउनको अवस्थालाई खुकुलो पार्ने तथा यसको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको अवस्थामा आगामी दिनमा शैक्षिक परामर्श व्यवसायलाई के कसरी बचाउने तथा संकटमा परेका सदस्यहरुको व्यवसायीक सुरक्षणका उपायहरुका विषयमा निरन्तर नेपाल सरकारका सम्वन्धित सरोकारवाला निकायहरु तथा बैंक तथा वित्तिय संस्था लगायतका निकायहरुसँग आवश्यक विचार विमर्श गरिरहेको जानकारी गराएको छ । इक्यान नेपाल स्थित शैक्षिक परामर्शदाताहरुको छाता संघ भएको नाताले यस महासंकटको समयमा हरतरहले आफ्ना सदस्य कम्पनीहरु मार्फत विदेश स्थित विभिन्न मुलुकहरुमा रहेका विद्यार्थीहरुका समस्या समाधानको प्रयास गरिरहेको छ । विदेश स्थित कुटनितिक नियोग, सम्वन्धित देशका सरकार तथा सम्वन्धित शैक्षिक संस्थाहरु, नेपाली विद्यार्थीहरु लगायत सम्वन्धित संघसंस्थाहरुसँगको जिवन्त सम्वाद, सम्पर्क र समन्वयका कारण विदेशमा रहेका नेपाली विद्यार्थीहरुले हालसम्म गम्भिर संकट व्यहोर्नु नपरेको संघले जानकारी गराएकाे छ । इक्यानले एकातिर लामो समय देखिको बन्दाबन्दिका कारण संकटमा परेको व्यवसाय, त्यसमा आश्रीत सदस्य कम्पनीहरु तथा तिनिहरु मार्फत श्रृजना भएको रोजगारीमा उत्पन्न भएको दुरावस्तालाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा निरन्तर सम्वन्धित निकाय तथा सरोकारवालाहरुसँग विचार विमर्श गरिरहेको छ ।
कृषि मन्त्री भन्छन्: अरुले सोचेभन्दा बजेट धेरै राम्रो छ तर मैले सोचेजस्तो भएन
काठमाडौं । कृषिमन्त्री घनश्याम भूषालले आगामी आर्थिक वर्षको बजेट अरु धेरैले सोचेभन्दा राम्रो भएपनि आफूले सोचेजस्तो नआएको बताएका छन् । कृषिका क्षेत्रमा आफूले बढाएका कार्ययोजना अनुसार बजेट नआएको स्वीकार गरेका छन् । संरक्षित कृषि सुनिश्चित बचत भन्ने नाराका साथ उनले कृषिमा नयाँ व्यवस्था बसाल्ने बेला भएको र बिचौलिया पूँजीबाद अर्थतन्त्रलाइ अन्त्य गर्न आफुले ठोस ५ आधार बनाएको बताए । बजेट विनियोजन विधेयकको विषयमा बोल्दै कृषिमन्त्रीले भने, हामीले के गरेयौं र के गर्दैछौं आगामी दिनमा के गर्ने तयारीमा छौं । बजारमा विचौलिया अर्थतन्त्रलाई कसरी परिवर्तन गर्नछौं भनेर आएको छु । ‘विगत ३० वर्षदेखि कृषि कर्मले घरपरिवार तथा बजार धन्न नसक्ने प्रक्रियाको रुपमा रहेको छ । उत्पादनका सामग्रीमा समानरुपले वितरण गर्नछ । गोठ र खेतमा नै कृषि प्रविधि तथा सामग्री पुराउनु पर्छ । किसानलाई सहुलियत ऋण दिने कुरा अझै लागु भएको छैन्’ उनले भने । हरेक बालीको बीमा गर्नुका साथै कृषकले उत्पादन १५,२० प्रतिशत बचतको ग्यारेन्टी गरि सरकारले खरिद गर्नपर्छ । ‘ मन्त्रालयका राजनितिकरण चल्दैन अगाडी के भयाे थाहा छैन् म मन्त्रालयमा गएको पछि मैले कसैलाई पनि अनुदान दिएको छैन । अब विचौलियाको मातहतमा याे क्षेत्र चल्दैन हेराैं कतिकाे सुधार्न सक्छु’ मन्त्री भूसालले भने । कृषि क्षेत्रमा छुट्याएकाे बजेट केन्द्रमा नराखेर स्थानिय तहमा नै पठाउने जानकारी दिँदै विउविजन लगाउनु भन्दा मूल्य तोक्ने जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकिकरणलाई पुन व्यवस्थापन गरि आउने ३ वर्षभित्रमा बजारव्यवस्था गरि अगाडी बढ्ने जानकारी दिए । उनले भने, ‘डेढ खर्बको नयाँ लगानीले ठूलो परिवर्तन हुन्छ हेर्दै जानु होला ।’ कृषक र कृषि उद्यमको तथ्यांक संकलन गर्ने र नार्कलाई अझै उत्तम बनाउँने तयारीमा रहेकाे बताउँदै उखुकाे मूल्य नपाउनुकाे मुख्य समस्या उखु किसान, उद्योगीबीचकाे जानकारी दिए ।
‘बेरोजगारलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम’
काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको दोहोर्याएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगारीबाट फर्केका तथा कोभिड-१९ का कारण श्रम स्वीकृति लिएर पनि वैदेशिक रोजगारीमा जान नपाएका युवालाई उक्त कार्यक्रमअन्तर्गत रोजगारीको अवसर प्रदान गरिने बताए । उनले रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकासनिर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गरिने बताउनुभयो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गरिने लक्ष्य लिइएको छ । उनले समन्वय गरी प्राथमिकता प्राप्त क्षेत्रमा रोजगारी सिर्जना गर्ने व्यवस्था गरिएको बताए । आगामी आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई रोजगारी दिन पाँच अर्ब एक करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । प्रत्येक स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रलाई अब श्रम सूचना बैंकका रुपमा रुपान्तरण गरिने उल्लेख गर्दै उनले त्यस्तो बैंकबाट सिफारिश भएका श्रमिकलाई रोजगारीसहितको तालीम प्रदान गर्नेगरी सोही व्यक्तिलाई न्यूनतम दुई वर्ष रोजगारी सुनिश्चित गरेमा बढीमा तीन महिनासम्मको तालीम अवधिको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम अनुदानका रुपमा त्यस्ता प्रतिष्ठानलाई उपलब्ध गराइने बताए । सरकारले सबै श्रमिक तथा कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन प्रोत्साहित गरिने बताए । मन्त्री यादवले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम सरकार स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उक्त रकम सम्बन्धित प्रतिष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीका रुपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भएपछि कोषमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो । कोभिड-१९ को महामारीका कारण वैदेशिक रोजगारी पनि प्रत्यक्ष प्रभावित भएको उल्ल्लेख गर्दै उनले विदेशी भूमिमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने बताए । स्वदेश फर्कनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रम, वित्तीय एवं गैरवित्तीय पहुँच वृद्धि गर्दै स्वरोजगारी तथा रोजगारीका अवसर सिर्जना गरी पुनःएकीकरणलाई प्रभावकारी बनाइने उनले दृढता व्यक्त गरे । मन्त्री यादवले कोभिड-१९ का कारण निश्चित सङ्ख्या पुर्याउन नसकेकै कारण म्यानपावर कम्पनीको इजाजत नवीकरण नहुने अवस्था आउन नदिइने बताउनुभयो । कोभिडका कारण वार्षिक सय कामदार विदेश पठाउन सक्ने अवस्था नभएको निष्कर्षसहित गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले तोकेको सङ्ख्यामा कामदार नपठाएकै कारण म्यानपावरको इजाजत खारेजी हुने हालको व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । ‘आरोप पुष्टि भए राजनीतिक सन्न्यास’ मन्त्री यादवले आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका अमरेशकुमार सिंहले वार्षिक १०० कामदार विदेश पठाउन नसक्ने ५१२ म्यानपावर कम्पनीले मन्त्री यादवलाई एक/एक लाख दिएर आफ्नो इजाजतपत्र नवीकरण गराउने खेलमा लागेको अभिव्यक्ति दिएका थिए । आफू जस्तै अरुलाई पनि बुझ्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै उनले आरोपमा लगाइएजस्तै भ्रष्टाचार प्रमाणित गरेर देखाइदिए आफूले राजनीतिक सन्न्यास लिने घोषणा गरे । सांसद डिला सङ्ग्रौला र प्रेम सुवालले मन्त्री यादवको जवाफ चित्त नबुझेको भन्दै थप प्रष्टीकरण मागेका थिए । साढे छ लाख रोजगारी सिर्जना कोरोनाको कहरबीच सरकारले आगामी आव २०७७/०७८ को बजेटमार्फत करीब साढे छ लाख थप रोजगारी सिर्जना गर्ने आधार प्रस्तुत गरेको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्दै आगामी आवमा दुई लाखलाई प्रत्यक्ष रोजगारी दिने घोषणा गरिएको छ । त्यस्तै कोरोनाका कारण रोजगारी गुमेका र तत्काल पुनःउत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत मजदूरको सीप रुपान्तरण गरी अन्यत्र काम गर्नका लागि सक्षम तुल्याउन उत्पादन र सेवा क्षेत्रका हस्तकला, प्लम्बिङ, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कालीगढी, सिकर्मी-डकर्मी काम सिलाइकटाइ, शृङ्गार सौन्दर्य, कपालकटाइ लगायत सीप विकास तालीम तथा प्रशिक्षण सङ्घ र प्रदेशस्तरमा सञ्चालन गरिने बजेटमा समावेश गरिएको छ । रासस
कोरोनाको लागि स्वास्थ्य सामाग्री किन्न करिब ३ अर्ब खर्च
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री किन्न २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार खर्च भएको जनाएको छ । सोमबारको प्रतिनिधी सभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री किन्न २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार खर्च भएको जनाएका हुन् । याे सबै खर्च पारदर्शी भएकाे र सबैले हेर्न पाउने पनि उनले बताएका छन् । सरकारले यो भाइरसको जोखिम कम तथा नियन्त्रण गर्नको लागि हालसम्म पौने १० अर्ब रुपैयाँ खर्च गरेको बताएको छ । सरकारले कोरोना भाइरस भएका बिरामीको उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बताएको हो । प्रतिनिधि सभा बैठकका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल प्रतिनिधि सभा बैठकका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल Gepostet von Bikashnews.com am Montag, 8. Juni 2020
पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई (भिडियाेसहित)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र पुनरुत्थान गर्नकको लागि सरकारले साढे एक खर्ब रुपैयाँ बराबरको राहतको व्यवस्था गरेका बताएका छन् । आगामी आर्थिक वर्ष २०७७ ७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा लागेका व्यवसायीको आर्थिक पुनरुत्त्थानका लागि सो रकम बराबरको राहत ल्याएको बताएका हुन् । ‘हामीले १ खर्ब रुपैयाँको पुरुत्थान कर्जाको व्यवस्था गरेका छौं, ५० अर्ब रुपैयाँको पुनरुत्थान कोषको समेत व्यवस्था सरकारले गरेको छ, सो कोष पर्यटन व्यवसायीले ५ प्रतिशत ब्याजमा चलाउन पाउने छन्,’ उनले भने । अब कोरोना भाइरसको असर कम हुने बित्तीकै सरकारले आन्तरिक पर्यट प्रवद्र्धन मार्फत होमस्टेको सुचारु गर्ने उनले बताए । अब सरकारले चाँडै पर्यटन सम्बन्धि आन्तरिक गतिविधि बढाउने उनको भनाई छ । पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई पर्यटनको पुनरुत्थानका लागि साढे एक खर्बको राहत ल्याएका छौं: मन्त्री भट्टराई Gepostet von Bikashnews.com am Montag, 8. Juni 2020
मेलम्ची आयोजनाको बारेमा प्रश्न उठाउने समयको अन्त्य हुन्छ : खानेपानी मन्त्री मगर (भिडियाे सहित)
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्ची खानेपानी आयोजनाको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची आयोजनाका विषयमा वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय आईसकेको बताएका हुन् । उनले मेलम्ची खानेपानी आयोजनाको भौतिक निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गरेर उद्घाटनको मिति सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको संसदलाई जानकारी दिइन् । खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन र कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मगरले भनिन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नकोहरुको बिट मार्ने बेला आएको छ । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछ । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं, भन्ने जानकारी गराउन चाहन्छु ।’ विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै मन्त्री मगरले त्यसको अब अन्त्य हुन लागेको बताइन् । ‘विगत दुई दशकदेखि मेलम्ची खानेपानीले आशाहरू सँगसँगै उब्जाएका निराशाहरू अन्त्यको समय आएको छ ।’ उनले भनिन् । मेलम्ची खानेपानीको भौतिक पूर्वाधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो । उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उक्त पानी वितरण गर्ने तयारी गरिरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन्। ‘भौतिक काम चालु आर्थिक वर्षमै सम्पन्न हुने र त्यसको वितरण प्रणालीलाई अबको आर्थिक वर्षमा व्यवस्थित ढंगले गराउने जानकारी गराइसकेका छौं ।’ उनले भनिन् । उनले संसदमा बोल्दै भनिन्, ‘दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिनेछ । आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिनेछ ।’ तराई क्षेत्र खासगरी प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सेनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दीर्घकालिन योजनासहित अगाडि बढेको मन्त्री मगरले बताइन् । वास प्लान अनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दिर्घकालिन रुपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्षदेखि नै डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको उनले जानकारी दिइन् । ‘यस्तै देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने छ, थप जोड दिंदै उनले भनिन्, ‘आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको छ । इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको छ र छिट्टै कानूनको रुपमा आउने छ ।’ मेलम्ची खानेपानीको चाँडै उद्घाटन गर्छौंः मन्त्री बिना मगर मेलम्ची खानेपानीको चाँडै उद्घाटन गर्छौंः मन्त्री बिना मगर Gepostet von Bikashnews.com am Montag, 8. Juni 2020
नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउने संख्या १४
काठमाडौं । नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउने संख्या १४ पुगेकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको मृत्यु भएसँगै नेपालमा काेराेनाकाे कारण ज्यान गुमाउने संख्या १४ पुगेकाे हाे । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु पुष्टि गरेको हो । यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।
सुदूरपश्चिममा बढ्यो सङ्क्रमणः सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास
डोटी । भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको हप्तौँदेखि कसैको पनि कोरोना परीक्षण त परै जाओस् जरोसमेत मापन गरिएको छैन । स्वास्थ्य परीक्षणबिना नै भारतीय सीमा क्षेत्रबाट नागरिक ल्याएर सिधै यहाँका क्वारेन्टिनमा राखिएका कारण अहिले गाउँमा कोरोना सङ्क्रमण फैलिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । डोटी जिल्लामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कैलालीमा ४७, अछाममा १५, कञ्चनपुरमा १३, बैतडीका ६, डडेल्धुरामा सात, बाजुरामा तीन, बझाङमा सात र दार्चुलामा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ । सुदूरपश्चिम प्रदेशका चार नाका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट एकहप्ताको अवधिमा ६० हजार ५३० जना सुदूरपश्चिमेली स्वदेश भित्रिएका छन् । भारतबाट भित्रिएकाहरुलाई यहाँका नौवटै जिल्लामा निर्माण गरिएका कूल एक हजार ६३९ क्वारेन्टिनमा राखिएको छ । नाममात्रका क्वारेन्टिनमा नागरिक राखिँदा सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण दैनिक बढ्ने भन्दै यहाँका स्थानीयवासीमा त्रास फैलिएको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाठकले बताए । उनले भने, ‘स्वास्थ्य जाँचसमेत हुने गरेको छैन भने कतिपय ठाउँमा त पाल टाँगेर क्वारेन्टिन निर्माण गरिएका छन् । यस्तो अवस्थामा एकजनामा कोरोना सङ्क्रमण देखिए सबैलाई समस्या हुने निश्चितजस्तै छ । नाममात्रका क्वारेन्टिनको काम छैन ।’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सुदूरपश्चिम भित्रिएकामध्ये ५१ हजार ९७० जना पुरुष र आठ हजार ५६० जना महिला रहेका छन् । उहाँका अनुसार सबैभन्दा बढी कैलालीमा १७ हजार ५२७ जना, कञ्चनपुरमा आठ हजार ३०४ तथा डोटीमा आठ हजार ९३१ जना रहेका छन् । त्यसैगरी भारतबाट भित्रिएका अन्य जिल्लामा अछाममा ६ हजार १८६, बैतडीमा पाँच हजार ६४५, डडेल्धुरामा चार हजार ६०८, बझाङमा तीन हजार २१०, बाजुरामा चार हजार ६३७, दार्चुलामा एक हजार ४८२ जना रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । भारतबाट दैनिक हजारौँ नागरिक भित्रिएका कारण यहाँका क्वारेन्टिनमा राख्न निकै समस्या उत्पन्न हुँदै आएको छ । भारतबाट घर फर्किएका यहाँका नागरिक भारतका कोरोनाको जोखिम भएका शहर तथा क्षेत्रबाट फर्किएको देखिन्छ । यसका कारण पनि यहाँका स्थानीयवासीमा झन ठूलो त्रास फैलिएको हो । सुदूरपश्चिम प्रदेश सरकार तथा यहाँका स्थानीय तहको पहलमा उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल प्रवेश दिन थालिएपछि अहिले दैनिक सयौँको सङ्ख्यामा नागरिक घर आउन थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘भारतमा रोजगार गर्ने नागरिक सीमा क्षेत्रमा आएर अलपत्र परेपछि प्रदेश सरकार र स्थानीय तहको पहलमा उनीहरुलाई घर आउन दिइएको छ । जसका कारण दैनिक हजारौँ नागरिक भित्रिन थालेका छन् ।’ नागरिक भित्र्याउँदा सीमा क्षेत्रमा प्रदेश सरकारले कोरोनासम्बन्धी कुनै जाँच नगरेका कारण भारतबाट आएका नागरिकबाट अब कोरोनाको महामारी फैलिन सक्ने आशङ्कामा सुदूरपश्चिमेली नागरिकमा भने त्रास फैलिन थालेको हो । पछिल्लो समय यहाँका नौवटै जिल्लामा कोरोना महामारीका सङ्क्रमित देखिएका छन् । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर ल्याई यहाँका क्वारेन्टिनमा राखिएका नागरिकलाई चाँडो कोरोना जाँच गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिएका सातजनाको एकहप्ताको अवधिमा मृत्यु भइसकेको छ । सरकारी मापदण्डअनुसार क्वारेन्टिनमा स्वास्थ्य उपचारलगायतका व्यवस्था नभएका कारण एक हप्तामा सातजनाको ज्यान गएको स्थानीयवासीको आरोप छ । भारतबाट आएका यहाँका नौवटै जिल्लाका ११० जना व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए । कोरोना सङ्क्रमितमध्ये एकजना बाजुराका बालकको मृत्यु भएको छ भने ११ जना डिस्चार्ज भएका छन् । पाँचजना पुराना र ६ जना नयाँ व्यक्ति कोरोना जितेर घर फर्किसकेका छन् । गएको शुक्रबार मात्रै कोरोना जितेर घर फर्किनेहरुमा अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ का २० र २७ वर्षीय युवक तथा शिवनाथ गाउँपालिका वडा नं २ का २० र २२ वर्षीय युवकलाई डिस्चार्ज गरिएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट आएका डोटीका १० जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण छ भन्ने अन्य कतिजनामा सङ्क्रमण छ भन्ने जानकारी जतिसक्दो चाँडै लिन सबैको पिसिआर परीक्षण गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका बमबहादुर बोहराले बताए। उनले भने, ‘ठूलो सङ्ख्यामा एकैपटक हुल बाँधेरै मान्छेको उद्धार गरिएको छ, उनीहरुसँगै आएका कतिपय व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको पनि छ, अन्यलाई पनि चाँडो जाँच गर्न आवश्यक छ ।’ अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी सुदूरपश्चिम प्रदेशमा भित्र्याउने काम तीव्र गतिमा भइरहेको छ । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि भएकाले अन्यलाई सङ्क्रमण फैलिन नदिन यहाँका स्थानीय तहले ठोस मात्रामा सावधानी अपनाउनुपर्ने नेपाली काँग्रेस डोटीका क्षेत्रीय सभापति विजय खड्काले बताए । उनले भने, ‘उद्धारका नाममा हजारौँको सङ्ख्यमा मान्छे भित्र्याएरमात्रै हुँदैन, गाउँका क्वारेन्टिनलाई व्यवस्थित बनाउनाका साथै उनीहरुको अनिवार्यरुपमा कोरोना जाँच गर्नु पर्छ ।’ त्यस्तै जिल्ला अस्पतालमा व्यवस्थित आइसोलेशन रहेको भन्दै कोरोनाको अवस्था भयावह होला भनेर अहिले नै डराइहाल्नु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उनले भने, ‘कोरोना सङ्क्रमणबाट जोगिन र फैलिन नदिन जिल्लामा सबै सुरक्षा प्रविधि अपनाउनाका साथै तयारी पनि गरिएको छ, आत्तिइहाल्नुपर्ने अवस्था आएको छैन ।’ अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टिनमा राख्नुपर्ने बताउँदै प्रजिअ पौडेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने जानकारी दिए । जिल्लामा रहेका नौवटै स्थानीय तहले गम्भीर भई सरकारले बनाएको मापदण्डलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने जिल्लामा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न सकिने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए । उनले भने, ‘सरकारी मापदण्डअनुसारका क्वारेन्टिन स्थापना गरी कोरोनाविरुद्ध सबैले एकजुट भए जिल्लामा कोरोना नियन्त्रण गर्न कुनै गाह्रो छैन ।’ यहाँका ग्रामीण क्षेत्रका क्वारेन्टिनमा राखिएका नागरिक आफूखुशी जथाभावी हिँडडुल गरिरहेकाले समस्या हुनसक्ने स्थानीयवासी बताउँछन् । यतिमात्र नभई सुदूरपश्चिम प्रदेशमा पाँच दिनसम्म पिसिआर परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले गएको शुक्रबार एक सूचना जारी गर्दै पाँच दिनसम्म थप थ्रोट स्वाब नलिन मातहतका निकायलाई निर्देशनसहितको पत्राचार गरेको छ । सुदूरपश्चिम प्रदेशमा हाल एउटामात्रै ‘आरटिपिसिआर’ प्रयोगशाला रहेको र प्रयोगशालामा नौ जिल्लाबाट आएका हजारौँ किट स्वाब परीक्षण गर्न बाँकी रहेको र धेरै दिन स्वाब राखे बिग्रिने भएकाले पाँच दिनसम्म ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन दिइएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए । उनले भने, ‘हामीसँग भएको मेसिनको जाँच क्षमता जम्मा २५० मात्रै छ, एक हजार ८३ स्वाब परीक्षण गर्न बाँकी रहेकाले केही दिन स्वाब सङ्कलन कार्य रोकेर पुनः पठाउन सूचना जारी गरेका हौँ ।’ प्रदेश स्वास्थ्य निर्देशनालयले ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन दिएपछि यहाँका सबै जिल्लामा स्वाब’ सङ्कलन कार्य रोकिएको छ । ‘थ्रोट स्वाब’ सङ्कलन नगरिँदा भारतबाट आएका डोटीका आठ हजार १४३ जना समस्यामा परेका छन् । किट आएसँगै तीव्ररुपमा सञ्चालन भएको ‘थ्रोट स्वाब’ सङ्कलन कार्य रोक्न परिपत्र आएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘किट आएसँगै हामीले ‘थ्रोट स्वाब’ सङ्कलन गर्न गाउँ गाउँका क्वारेन्टिनमा स्वास्थ्यकर्मीको टोली पठाएका थियौँ, रोक्नु भन्ने खबर आएपछि समस्या भएको छ ।’ रासस