
काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सबै सदस्य कम्पनीहरुको नाममा कोरोना जोखिम बीमा गरेको छ । संघले कोभिड-१९ को संक्रमणको जोखिम पनि बढि रहेको अवस्थामा आफ्ना सदस्य कम्पनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यबाट उक्त बीमा गरेको हो ।
संघले आफ्ना सम्पूर्ण ४६३ सदस्यहरु तथा ९ जना कर्मचारीहरुको कोरोना बीमा गरिदिएको छ । यस बीमा अन्तर्गत बीमित सदस्यहरुलाई कोभिड-१९ को संक्रमण भएको अवस्थामा एक लाख रुपैयाँ बराबरको जोखिम बहन गरिने छ । यो बीमा कार्यक्रम पोलिसी खरिद भएको मितिले १४ पछिबाट कृयाशिल हुनेछ ।
नेपाल सरकारले क्रमिक रुपमा लकडाउनको अवस्थालाई खुकुलो पार्ने तथा यसको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको अवस्थामा आगामी दिनमा शैक्षिक परामर्श व्यवसायलाई के कसरी बचाउने तथा संकटमा परेका सदस्यहरुको व्यवसायीक सुरक्षणका उपायहरुका विषयमा निरन्तर नेपाल सरकारका सम्वन्धित सरोकारवाला निकायहरु तथा बैंक तथा वित्तिय संस्था लगायतका निकायहरुसँग आवश्यक विचार विमर्श गरिरहेको जानकारी गराएको छ ।
इक्यान नेपाल स्थित शैक्षिक परामर्शदाताहरुको छाता संघ भएको नाताले यस महासंकटको समयमा हरतरहले आफ्ना सदस्य कम्पनीहरु मार्फत विदेश स्थित विभिन्न मुलुकहरुमा रहेका विद्यार्थीहरुका समस्या समाधानको प्रयास गरिरहेको छ । विदेश स्थित कुटनितिक नियोग, सम्वन्धित देशका सरकार तथा सम्वन्धित शैक्षिक संस्थाहरु, नेपाली विद्यार्थीहरु लगायत सम्वन्धित संघसंस्थाहरुसँगको जिवन्त सम्वाद, सम्पर्क र समन्वयका कारण विदेशमा रहेका नेपाली विद्यार्थीहरुले हालसम्म गम्भिर संकट व्यहोर्नु नपरेको संघले जानकारी गराएकाे छ ।
इक्यानले एकातिर लामो समय देखिको बन्दाबन्दिका कारण संकटमा परेको व्यवसाय, त्यसमा आश्रीत सदस्य कम्पनीहरु तथा तिनिहरु मार्फत श्रृजना भएको रोजगारीमा उत्पन्न भएको दुरावस्तालाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा निरन्तर सम्वन्धित निकाय तथा सरोकारवालाहरुसँग विचार विमर्श गरिरहेको छ ।