बेलायतबाट नेपाल फर्किन चाहने ३ सय ९१ को विवरण नेपाल पठाइयो
लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३ सय ९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १सय ५४ जना रहेको छ । त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् । गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ । रासस
एक युवकले गरे रुपन्देहीमा श्रीमान श्रीमतीसहित ५ जनाको हत्या
काठमाडाैं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवामा गए राती ५ जनाको सामुहिक हत्या भएकाे छ । याे घटना रूपन्देही मैनहवास्थित गंगादेवी गाई फार्मकाे हाे । साे गाई फार्ममा स्थानिय ५ जनासँगै काम गर्ने सुर्खेतकाे एक युवकले घरेलु हतियार प्रयाेग गरि हत्या गरेकाे वडाध्यक्ष दानबहादुर चाैधरीले बताए । दुई जना श्रीमान श्रीमतीलाई काेठामा र अन्य ३ जना २० देखि २५ वर्ष उमेर समुहकाे युवकहरूलाई फार्ममा नै हत्या गरेकाे जानकारी दिए । स्थानियले समातेका ति हत्यारालाई बिहानै प्रहरीकाे जिम्मा लगाएका थिए । प्रहरीकाे नियन्त्रण पछि साेधपुछकाे क्रममा फार्ममा काम गर्दा आफूले हेपेको भनेर हत्या गरेको स्वीकार गरेकाे कुरा भर्खरै प्रहरीबाट जानकारी आएको वडाध्यक्ष चौधरीले बताए ।
करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ । पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताए । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उनले भने, “घटनाका विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।” पीडक बाँस्तोलाले यही जेठ ३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपातसमेत गरेकाले उनीविरुद्ध कारवाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटकपटक फर्काइदिएपछि मानवअधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताए । “म अन्यायमा परेकी छु”, उनले भने, “प्रहरीमा न्याय माग्न जाँदा उल्टै हप्काएर पठाएपछि मानवअधिकार आयोग गुहारेकी हुँ ।” मादक पदार्थ सेवन गरेर आएका पीडक बाँस्तोलाले गाउँका जोसुकैकी श्रीमती, छोरी र बुहारी पनि समाउन सक्छु भन्दै आफूलाई बलात्कार गर्न हातपात गरेको पीडित महिलाले बताए । “बेलुकाको करिब ९ बजेको समयमा हाम्रो घर आएका बाँस्तोलाले मेरो श्रीमान्सँग विभिन्न बहानामा निहुँ खोजिरहेका थिए”, उनले भने, “खाना खाइसकेर श्रीमान् चर्पी गएको मौका छोपेर मलाई कम्मरमा समाएर लडाउनुका साथै मेरो संवेदनशीन अङ्गमा समेत पक्रेर बलात्कार प्रयास गरे ।” घटनास्थलमा पीडक भनिएका बाँस्तोला र महिलाबीच दोहोरो हात हालाहालसमेत भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनामा महिलाले बाँस्तोलालाई दाउरा प्रहार गर्दा बाँस्तोलाको टाउकोमा चोटसमेत लागेको छ । बलात्कारको प्रयास असफल भएपछि घटनास्थलबाट भागेका बाँस्तोलाले प्रहरी टोली ल्याएर आफूहरुलाई नै उल्टै पक्राउ गराएको पीडित पक्षको आरोप छ । घटनालगत्तै पक्राउ परेका पीडित भनिएकी महिला र उनका श्रीमान्विरुद्ध प्रहरीले अभद्र व्यवहार अभियोगको मुद्दा दर्ता गरेर कारवाही गरेको थियो । ११ दिन हिरासतमा बसेर तारिखमा छुटेका उनीहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा धरौटी बुझाएका छन् । धरौटीमा छुटेपछि पीडक बाँस्तोलाविरुद्ध मुद्दा दर्ता गर्न जाँदा प्रहरीले पटकपटक फर्काउने गरेको उनीहरुको आरोप छ । उता प्रनाउ चिमोरियाले भने महिलामाथि भएको घटना करणी उद्योग नभई यौन दुव्र्यवहार भएकाले उनले प्रहरीमा दिएको उजुरी फर्काइएको बताए । “यौन दुव्र्यवहारसम्बन्धी मुद्दा अदालतले हेर्छ”, उनले भने, “पीडित भनिएकी महिलाले करणी उद्योगको मुद्दा ल्याएकाले प्रहरीकै परामर्शमा यौन दुव्र्यवहारअन्तर्गतको मुद्दा लिएर अदालत जान सुझाव दिइएको छ ।” पीडक भनिएका बाँस्तोलाले भने आफूमाथि योजनाबद्ध तरिकाले हातपात गर्नुका साथै चरित्रहत्या गर्न झुटो आरोप लगाएको बताएका छन् । यसअघि भएको घरायसी विवादमा उनीहरुले योजनाबद्ध तरिकाले कुटेर फालेको बाँस्तोलाको आरोप छ । पीडित भनिएकी महिलाबाट कुटाइ खाएका बाँस्तोलालाई एम्बुलेन्समार्फत काठमाडौँ लगेर उपचार गरिएको आफन्तले बताएका छन् । उनको टाउको, हात र आँखामा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस
चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने
काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रि-एजेन्टलगायतका सामग्रीसमेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेशको प्रवेशविन्दुमा नेपाली सेनाले ‘होल्डिङ एरिया’ बनाई व्यवस्थापन गर्ने र काठमाडौंबाट तोकिएको क्वारेन्टिनसम्म पुग्दाको खाना, खाजालगायतका खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई दिएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णयसमेत गरिएको छ । रासस
चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ । “शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन् । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिकामा १५ वडा रहेका छन् । यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ । सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो । “भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले चन्द्रागिरिले क्वारेन्टिनको क्षमतालाई विस्तार गर्न लागेको हो”, प्रवक्ता महर्जनले भने । चन्द्रागिरीले पछिल्लो समय पिसीआर परीक्षणलाई समेत तीव्रता दिएको छ । रासस
गण्डकी प्रदेशमा थप २४ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या १ सय ४४
काठमाडाैं । गण्डकी प्रदेशकाे ३जिल्लामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेकाे काेराेना परीक्षणमा नवलपरासी बौदीकाली गाँउपालिका निवासी १२ जना रहेकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद बिन्दु शर्माले बताए । म्याग्दी जिल्ला बेनी नगरपालिका निवासी १ जना र बाग्लुङ निसीखोला गाँउपालिकाका ३ जना र सोही जिल्लाको बरेङ गाँउपालिका निवासी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए ।
ब्राजिललाई कोरोना संक्रमण सम्बन्धि तथ्यांक सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह
काठमाडौं । ब्राजिललाई काेराेना भाइरस संक्रमण सम्बन्धि सबै तथ्यांक सार्वजनिक गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आग्रह गरेकाे छ । विश्वकाे दाेस्राे काेराेना संक्रमण रहेकाे ब्राजिलमा मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भएसँगै पछिल्लाे समय ब्राजिल सरकारले संक्रमित र मृत्युदरकाे तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखेसँगै डब्ल्यूएचओले चासाेका साथ काेराेनाकाे तथ्यांक पारदर्शिता रूपमा विवरण सार्वजनिक गर्नआग्रह गरेकाे हाे । विश्व स्वास्थ्य संगठनका आपातकालीन प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने– नागरिकहरुको सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ । उनले भने– ‘आखिर के भइरहेको छ भनेर जान्नु जरुरी हुन्छ । भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर पनि थाहा पाउनु आवश्यक छ । उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ ।’ वल्डाेमिटरका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ७ लाख १० हजार ८ सयभन्दा बढी संक्रमित छन् भने ३७ हजार ३ सय १२ जनाको मृत्यु भइसकेकाे छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा चिन्ता व्यक्त
काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस अधानोम गेब्रियेससले कोरोना संक्रमणको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् । पहिले धेरै संक्रमित पाइँदै आएका केही देशहरुमा हाल त्यो संख्यामा कमी आएतापनि विश्वस्तरमा यो अझ खतरनाक बन्दै गइरहेको प्रति टेडरोसले चिन्ता व्यक्त गरेका हुन् । उनका अनुसार बितेका दस दिनमध्येका नौ दिनमा संक्रमणका एक लाखभन्दा बढी मामलाहरुको पुष्टि भएको छ । जति पनि मामलाहरु देखिएका छन् ती मध्येका ७५ प्रतिशत मामला जम्मा दस ओटा देशहरुका छन् । त्यसमा पनि सवैभन्दा धेरै मामला अमेरिका तथा दक्षिण एशियाका छन् । उनले यो पनि भनेका छन् कि, विभिन्न अध्ययनहरुबाट स्पष्ट भए अनुसार विश्वव्यापी रुपमा ठूलो जनसंख्या कोरोना संक्रमणका लागि अत्यधिक संवेदनशील छ ।