विकासन्युज

दयाहाङ राई जोडिए क्रिएशन र कोका-कोलाको जारी राहत वितरण पहलमा

काठमाडौं । क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको साथमा सफाईकर्मी समुदायका लागि तेस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिनेता तथा क्रिएशनका सद्भावना दूत दयाहाङ राई र ललितपुर क्षेत्रमा ललितपुर नगरपालिकाका मेयर चिरी बाबु महर्जनको उपस्थीति रहेको थियो । यो राहत वितरण कार्यक्रम क्रिएशन र द कोका—कोला फाउन्डेशनको संयुक्त पहलमा ३२०० जना सफाईकर्मीहरुलाई सहयोग गर्ने लक्ष्यका साथ जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो । उक्त टोलीले यस साताको चार दिनको वितरण अवधिमा २८७ सफाईकर्मी माँझ पुगी लाभान्वितहरुलाई गुणस्तरिय राशन प्याकेजहरु, औषधी, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई समावेश गरिएको रक्षात्मक सामग्री प्रदान गरेका थिए । यसका साथै चिकित्स परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रमहरु टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानहरुमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो । सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म १५ वटा राहत कार्यक्रम सम्पन्न गरि १४ सय भन्दा बढि सफाईकर्मीहरु लाभान्वित भइसकेका छन् । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ७ हजार १ सय भन्दा बढि लाभान्वित भइसकेका छन् । यसका साथै ४ सय ५० वटा रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो ।    

पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्छ- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारलाई कर प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बजारमा सरल ढंगले कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका हुन् । साथै, बजार विस्तारको लागि केही कुरा मिलाउनु पर्ने भए छलफल गरेर अगाडि बढ्ने उनले जानकारी गराए । ‘हामीले पुँजी बजारमा सबैको पहुँच पुर्याउनु पर्छ । सेयर बजारमा सर्वसाधारणको सहभागि सूनिश्चित गुर्नपर्छ । कसरी गर्न सकिन्छ भन्नेमा दुईटा कुरा छन् । पहिलो सुचनाको आधारबाट उसले कुन कम्पनीको सेयरमा लगानी गर्न उपयुक्त हुन्छ ऊ आफैले निणर्य गर्छ । यसको लागि बजार सूचना प्रणाली लगायत कम्पनीको प्रोफाइल पारदर्शी हुनु पर्छ ।’ ‘दोश्रो, उसले जोखिम मोल्न जानेको छैन तर बजारमा सहभागि हुन चाहन्छ भने म्युचअल फण्ड ल्याइएको छ । आफु सँधै सेयर बजारमा सक्रिय हुन नसक्नेको लागि उक्त फण्ड बजारमा ल्याइएको हो ।’ ‘तेश्रो, बजारमा सेयरको मूल्य स्थायी रुपमा अनुमान योग्य तरिकाले अघि बढाउनु पर्छ । त्यसको लागि व्यक्तिगत लगानीकर्ता भन्दा संस्थागत लगानीकर्ताले बढी सूचना प्राप्त गर्न सक्ने, बढी विश्लेषण गर्न सक्ने र आफ्नाे  सेयरमा आउन सक्ने उतारचढावलाई पनि धान्न सक्ने क्षमता हुन्छ । त्यसैले संस्थागत लगानीकर्ता बढाउनको लागि स्टक डिलरलाई ल्याउने तयारी भइरहेको छ । यसले बजारमा अस्वभाविक रुपमा हुने उतारचढाव तथा बजार अस्थीर पनि हुँदैन ।’ उनले भने- ‘वित्तीय साक्षरता पुगेकै छैन । सेयर बजार कसरी अगाडि बढाउन सकिन्छ, नाफा कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने पनि साक्षरता नै हो । भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्ड ल्याउनको लागि बिनियमावलीहरु बनाईसकेका छौं ।’ ‘पुनरसंरचना सम्बन्धमा सिडीएस र नेप्सेले एकीकृत रुपमा कारोबार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा छलफल भइरहेको छ ।’ ‘कोभिडका कारणले विश्व अर्थतन्त्रले नयाँ मोड लिँदै छ । युरोपेली र अमेरिकी बजारहरु हाम्रो भन्दा बढी प्रभावित भएका छन् । केही सीमित मुलुकहरु मात्रै आगामी आवमा पोजेटिभ आर्थिक वृद्धिमा जाने छन् । त्यसैले पुँजी पनि यहि हुने हो । बचत पनि यहि हुने हो । लगानी पनि यहि क्षेत्रमा हुने हो । त्यसको लागि चाहिने पुँजीबजारको संलग्नता सार्क क्षेत्रमा पुँजीबजार चलायमान गर्नको लागि एकआपसमा प्राविधिक सहयोग, बजारको समन्वय र भोलि आवश्यक पर्यो भने सहकार्य गर्दै अघि जानु पर्ने हुन्छ ।’- उनले बताए । ‘एशियाली र दक्षिण एशियाली मूलकमा पुँजी बजार परिचालनमा अत्यन्तै धेरै सहकार्य गर्नुपर्ने देखिएको छ । जसले प्रविधि हस्तान्तरणसँगसँगै केहि क्षेत्रमा पुँजी परिचालन गर्न पनि सहयोग हुने छ ।’ ‘कोभिडलाई परास्त गर्दै अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउँछौं । ७ प्रतिशतको आर्थिक वृद्धि भनिरहँदा आकाश छुने कुरा गरेको होइन । विगत तीन वर्षको औसतमा पुग्ने कुरा गरेका हौं र पुग्छौं पनि । यसको लागि पुँजी परिचालन गर्नु पर्ने छ । यसमा बोर्डको प्रमुख भूमिका हुने र निजी क्षेत्रलाई स्वपुँजीको माध्यमबाट पुँजी परिचालन गर्ने कुरामा केहि हदसम्म ऋणपत्रको माध्यमबाट समेत सहयोग पुग्ने छन् । निजी क्षेत्रका पुँजी पूर्ण परिचालित भई आगामी आवको आर्थिक वृद्धि हासिल गर्न सक्छौं ।’

वहसमा जलविद्युत कम्पनी मर्जको निर्देशिकाः उर्जा उद्यमी भन्छन्ः निर्देशिकासँगै सहुलियत पनि चाहिँन्छ

काठमाडौं । अब जलविद्युत कम्पनीहरु पनि एक आपसमा मर्ज तथा गाभ्ने तथा गाभिन सक्ने भएका छन् । विद्युत नियमन आयोगले जलविद्युत कम्पनी मर्ज सम्बन्धि निर्देशिका तयार पारेसँगै जलविद्युत कम्पनीहरुङ्काे पनि मर्ज हुन सक्ने बाटाे खुला भएकाे हाे । विद्युत नियमन आयोगले रुग्ण तथा वित्तीय रुपमा नाजुक जलविद्युत कम्पनीहरुले अर्को जलविद्युत कम्पनीको साहयता लिई सवल बन्न सक्ने गरी नयाँ निर्देशिका सार्वजनिक गरेको हो । आयोगले सो निर्देशिकाको नाम “विद्युत नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका” राखेको छ । आयोगले जलविद्युत कम्पनी मर्ज गर्न सकिने निर्देशिका ल्याएसँगै यसको बारेमा अहिले उर्जा उद्यमीहरुबीच अनौपचारिक छलफलहरु पनि चलिरेहका छन् । आयोगले निर्देशिका माथि आफ्ना प्रतिक्रिया जनाउनको लागि सम्बन्धित सबैलाई १५ दिनको समयावधि दिएको छ । यसले पनि अहिले उर्जा उद्यमीहरु त्यसको अध्ययनमा जुटेका छन् । आयोगका अध्यक्ष दिल्ली बहादुर सिँहले वित्तीय रुपमा कमजोर, उपभोक्ता तथा लगानीकर्ताको हित संरक्षण गर्न असफल तथा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने रहेका जलविद्युत आयोजनाहरु एक आपसमा गाभिन तथा मर्ज हुन सक्ने बताए । सोही अनुरुप यो निर्देशकिा तयार पारेको उनले बताए । साथै उनले अनुमति प्राप्त व्यक्तिको ५० प्रतिशत वा त्यसभन्दा बढी सेयर खरिद बिक्री गर्न सकिने बताए । सो निर्देशकिाका अनुसार गाभिने र गाभ्ने चाहना भएका जलविद्युत कम्पनीहरुले पब्लिक कम्पनी भए साधारणसभा र प्राइभेट कम्पनी भए सञ्चालक समितिबाट निर्णय गरी मर्ज हुने सक्ने बताए । सो प्रक्रिया पेश भइसकेपछिको ९० दिनपछि आवश्यक प्रावधान पुरा गरेर मर्ज स्वीकृत दिन सक्ने उनको भनाई छ । सो निर्देशिकाका अनुसार मर्ज गाभ्ने गाभिने जलविद्युत कम्पनीहरुको वामित्व खरिद बिक्रीका लागि निवेदन दिँदा १० करोड रुपैयाँसम्म कारोबार गर्ने निकायको हकमा एक लाख रुपैयाँ र १० करोड रुपैयाँभन्दा माथि कारोबार गर्नेका लगि ५० हजार रुपैयाँ शुल्क कायम गरिएको छ । अब आयागले ल्याएको मर्ज निर्देशिकासँगै धेरै रुग्ण जलविद्युत कम्पनीहरुलाई सहज हुने विश्वास पनि लिइएको छ । उर्जा उद्यमी भन्छन्ः निर्देशिकाले मात्र हुँदैन सहुलियत पनि हुनु पर्यो  विद्युत नियमन आयोगले ल्याएको मर्ज सम्बन्धि निर्देशिका सकारात्मक भएपनि यसको कार्यान्वयन हुन भने आवश्यक रहेको उर्जा उद्यमीहरुले धारणा राखेका छन् । साथै, उनीहरुले यससँगै गाभ्ने र गाभिने कम्पनीहरुका लागि पनि कुनै सहुलियतको नीति तथा कार्यक्रम हुनु पर्ने धारणा राखेका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईँले निर्देशिका सकरात्मक भएपनि यसको कार्यान्वयनको पक्ष भने चुनौतीपूर्ण नै रहेको बताए । अहिले धेरै आयोजनाहरु वित्तीय अवस्थाले रुग्ण भएको बताउँदै उनले वित्तीय अवस्था हुनुको कारण पीपीए रेटको कारण भएकोले सरकारर्ले चिलिमेलाई दिएको पीपीए रेट यी निजी कम्पनीलाई दिए सबै समस्या समाधान हुने बताए । ‘समाधान गर्न नखोज्ने तर रुग्ण आयोजनाको रेस्क्यु मात्र गरिनेछ भन्ने, यसले कहिल्यै समाधान हुँदैन, उयो सबै भन्ने कुरा मात्र हो, तत्काल पीपीएदर परिमार्जन गरे सबै समस्याहरु समाधान हुन्छन्,’ उनले भने । यस्तै इप्पानकै उपाध्याक्ष कुमार पाण्डेले दुई कम्पनी मर्जको उद्देश्य नाफा गर्नलाई भएकोले जलविद्युत कम्पनी मर्ज गर्नको लागि पनि निर्देशिका मार्फत नै मर्ज हुने र गराउनेकम्पनीलाई सहुलितको कार्यक्रम हुनु पर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर राष्ट्र बैंकले उनीहरुलाई केही सहुलित तथा छुट दिए जस्तै जलविद्युत कम्पनीहरु मर्ज भयो भने उनीहरुलाई पनि कुनै छुट हुनु पर्ने उनको धारणा छ । ‘एउटा सबल कम्पनीले कमजोर कम्पनीलाई लिँदा केही छुटको व्यवस्था गरिनु पर्छ, नत्र उसलाई कुनै फाइदा हुँदैन, उसको भएको नाफा बाँड्नलाई मात्र मर्ज गर्न चाहँदैन, अथवा दुई निर्वल–निर्वल कम्पनी मर्ज भए झन निर्वल बन्न सक्छन्, त्यसैले ती कम्पनी मर्ज हुँदा केही राहत सुविधा दिनु पर्छ,’ तव मात्र यो निर्देशिका कार्यान्वया हुन सक्छ,’ उनले भने । यस्ता छुट तथा सहुलियतका कार्यक्रम तथा नीति नआइकन जलविद्युत कम्पनी मर्ज गर्ने उद्देश्य सफल हुने अर्थात निर्देशिका कार्यान्वयनमा पनि जान नसक्ने उनको धारणा छ । यस्ताे छ निर्देशिका: [pdf id=220308]

बोर्डलाई अर्थमन्त्रीले भने- चुप लागेर नबस्नुस्, आवश्यक तयारी गरेर बजार खुलाउनुस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आवश्यक तयारी गरेर बजार खुलाउन नेपाल धितोपत्र बोर्डलाई भनेका छन् । कोरोनासँग लड्दै देशकाे दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्दै जानु पर्ने जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् । बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले, ‘लामो समयसम्म लकडाउन होला । त्यसैले चुप लागेर नबसी सुधारहरु, बजार खोलेको दिन गर्नुपर्ने तयारी गरेर अघि बढ्न उपयुक्त हुने’ जनाएका छन् । उनले कोभिडका कारणले बजार बन्द गर्दै जाँदा सेयर कारोबार गर्ने लगानीकर्तालाई अफ्ठ्यारो परेको हुन सक्ने बताए । साथै, देशको समग्र आर्थिक क्रियाकलापहरु सिथिल हुँदै जाँदा त्यसको प्रभाव धितोपत्र बजारमा पनि परेको उनले बताए । पुँजी बजारको औचित्यको बारेमा पहिलेदेखि बहस गरिरहेको बताउँदै उनले आन्तरिक पुँजी परिचालनका माध्यमबाट दीर्घकालिन लगानीका लागि अवसर सृर्जना गर्ने प्रणाली धितोपत्र बोर्ड रहेको बताए । ऋणपत्रको दोश्रो बजार विकासको कुरा उपयुक्त रहेकाे जनाउँदै उनले अहिले नेपाल सरकारले सार्वजनिक ऋण व्यवस्थापन गर्ने र आन्तरिक ऋणपत्रहरु सरकारी ऋणपत्र समेत बजारमा परिचालन गर्न सकिने जान खोजेको जानकारी गराए । ‘बैंकहरुले ठूलो परिमाणमा डिबेन्चरहरु जारी गर्दै छन् । क्रमशः भोलि औद्योगिक ऋणपत्रहरु पनि आउने सम्भावना छ । यो भयो भने ऋणपत्रको बजार अघि बढ्दै जान्छ ।’- उनले भने । कोभिडका कारणले बस्तु बिनिमय बजार तत्कालको लागि ठूलो सम्भाभ्य व्यवसाय नहुन सक्ने बताउँदै उनले आगामी दिनमा यो क्षेत्रमा लगानी बढ्ने जानकारी गराए । यसको लागि नियामकको रुपमा धितोपत्र बोर्डलाई नै राखिएको उनले जनाए । अब आउने ऐनले यसलाई अझ व्यवस्थित गर्ने उनले जनाएका छन् । साथै, वस्तु विनिमय बजारका एक्टरहरु पनि पुँजीबजारका एक्टरहरु वा संस्थाहरु जस्तै हुने उनले बताए । त्यसैगरी, बाेर्डले क्रेडिट रेटिङको लागत घटाउँदै जानु पर्ने आवश्यकता देखिएको उनले भने । २७ वर्ष पार गरिरहँदा बोर्ड निकै परिष्कृत संस्थाको रुपमा अगाडि बढीसकेको बताउँदै आगामी दिनमा सशक्त नियमकको हिसावले अघि बढ्ने अपेक्षा रहेकाे जनाएका छन् ।

एक सय २ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

काठमाडौं । आईतबार एक सय दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सय दुई जना काेराेना निकाे भएर घर फर्किएकाे जनाएकाे छ । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ४ सय ६७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३४ सय ४८ पुगेको छ जसमध्ये १३ जनाले ज्यान गुमाएका छन्

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका पुर्व निर्देशक रहेका गाैतमले आईतबार  प्रवक्ताको जिम्मेवारी पाएका हुन् । उनी भाेलीदेखि स्वास्थ्य मन्त्रालयकाे काेभिड १९ काे नियमित लाईभ मार्फत उपस्थित हुनेछन् ।उनलाई बिहिबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ । यस्तै विकास देवकाेटालाई भने मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ।  

थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३४ सय नाघ्याे

काठमाडौं । आईतबार थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ सय नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले थप दुई सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना डिस्चार्ज भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई हटाईयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई हटाईएको छ । उक्त स्थानमा मन्त्रालयले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल पुर्व निर्देशक डा. जागेश्वर गौतमलाई नियुक्त गरेको छ । देवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। उनले आईतबारसम्म गरेर ७६ दिन मन्त्रालयका काेभिड-१९ सम्बन्धि नियमित लाईभ कार्यक्रम संचालन गरेका छन् । गाैतमलाई बिहीबार मन्त्रालय तानिएकाे थियाे र उनकाे जिम्मेवारी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रालाई दिइएको छ।