सिंहदरबार अगाडिको जग्गा प्रति राेपनी ५२ हजारमा किनबेच, केही दिनभित्रै पास हुने
काठमाडौं । सिंहदरवारकाे मुल ढाेका अगाडिको १५ रोपनी जग्गा प्रति राेपनी ५२ हजार रुपैयाँमा नै काराेबार हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई बेचेको उक्त जग्गा केही दिनभित्रै नामसारी गर्ने तयारी भैरहेकाे राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक महेश रिमालले जानकारी दिए । ४५ वर्षअघि नै जग्गा किनबेचकाे पैसा लेनदेन भएको जग्गा अहिलेसम्म नामसारी हुन सकेको थिएन ।सो जग्गा विवाद उत्पन्न भएकोले बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले करिब साढे ३ अर्ब रुपैयाँको जग्गा आफ्नो सम्पत्तिका रुपमा देखाउन पाएका थिएनन् । तर, सो जग्गामा यी दुबै बीमा कम्पनीले भोगचलन भने गर्दै आएका छन् । सो जग्गा विवाद सम्बन्धि विषय विकासन्युजले गत ६ माघमा २ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ४५ वर्षअघि तत्कालिन खाद्य संस्थानले प्रति राेपनी ५२ हजार रुपैयाँका दरले १५ रोपनी जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । राष्ट्रिय बीमा संस्थानले पनि कबोल गरेको रकम त्यतिबेला नै भुक्तानी गरेको थियो । विभिन्न कारण नामसारीमा ढिला भएपछि संस्थानले जग्गाको मूल्य बढाएर बेच्न खोजेको थियो । सिंहदरवार अगाडिको जग्गा प्रति राेपनी ५२ हजार रुपैयाँ बेच्न नसकिने बताउँदै खाद्य संस्थानले जग्गा पास गर्न अस्वीकार गर्दै आएकाे थियो । उक्त जग्गा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नामसारी गर्न नमान्दा सरकारी लगानीको दुई बीमा कम्पनीले १५ रोपनी जग्गा गुमाएको समाचार विकासन्युजमा प्रकाशित भएपछि समस्या समाधान गर्न सबै पक्ष जुर्मुराएका थिए । उक्त जग्गाको लागि ४५ वर्षअघि नै भुक्तानी गरिसकेकोले सोही मूल्यमा जग्गा पाउनु पर्ने भन्दै बीमा संस्थानले सरकारसँग सहयाेग मागेकाे थियाे । ‘जगाको विवाद मिल्ने क्रममा छ, क्षेत्रफलको आधारमा राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले आधा–आधा भाग लगाउँदै छौं । जग्गाको नापजाँचको कामहरु भईरहेको छ’ रिमालले भने । पहिले बीमा संस्थानले नै जीवन तथा निर्जीवन दुबै प्रकारका बीमा व्यवासय गर्दै आएको थियो । गत २०७१ सालबाट भने बीमा कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्ने किसिमले विभाजन गरिएको थियो । सोही कारण संस्थानले पाउने जग्गा जीवन तथा निर्जीवन तर्फका कम्पनीका लागि भाग लाग्छ । सम्बन्धित सामग्री २ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै
डोटीका पहिलो सङ्क्रमितले जिते काेराेना, १५ दिनमा फर्किए घर
डोटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ । अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए । उनले भने, ‘सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।’ सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उनका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्षण गरिएको थियो । दुवैको नतिजा नेगेटिभ देखिएको थियो । डोटीका थप पाँचजना अन्य सङ्क्रमित आइसोलेशनमा राखिएको छ । रासस
प्रोग्रेशिभ फाइनान्सले असारसम्मको ब्याजदरमा दियो २ प्रतिशतसम्म छुट
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई २०७७ असार मसान्तसम्मको कर्जाको ब्याजदरमा २ प्रतिशतसम्म छुट दिएको छ । कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई केही राहत होस भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा २ प्रतिशतले छूट दिइएको हो । प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यस कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पुर्याउने प्रयास गरेको र आगामी दिनमा अझ उत्तरदायी भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, सबै कर्जामा दिइएको २ प्रतिशतसम्म व्याजदर छुटबाट वित्तीय संस्थाको शाखा अभिवृद्धि हुने संस्थाको विश्वास रहेको छ ।
बिओके क्यापिटलको अध्यक्षमा मिश्र र संचालकमा शर्मा नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके) को सहायक कम्पनी बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएको छ । संस्थाको ५९औं संचालक समितिको बैठकले मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डूको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।
पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक देखिए- डा. रुना झा
काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छुक देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिए । प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पिसिआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पिसिआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाका निर्देशक डा झाका अनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेको उनले बताए । प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड-१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए । ‘हामीले प्रस्ताव गरेअनुसारको प्रयोगशालाले कोभिड-१९ परीक्षणका लागि इच्छुक देखाएका छन्’ निर्देशक डा झाले भने, ‘हामीले प्रस्ताव हेरेर ती प्रयोगशालालाई चाँडै नै परीक्षणको अनुमति दिन्छौँ ।’ प्रयोगशालामा प्रस्ताव पेश गरेका प्रयोगशालालाई परीक्षणको अनुमति दिएपछि कोभिड-१९ को परीक्षण गराउन चाहनेले सर्वसाधारणले आफैँ शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड-१९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड-१९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । प्रयोगशालालाई मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले यही जेठ २० गते कोभिड-१९ को परीक्षणको क्षमता बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा थप छलफल गरी यथाशीघ्र मोलाडिटी तयार गर्ने भनेर निर्देशनसमेत दिएको थियो । अहिले मुलुकभरि २१ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । प्रयोगशालाकी निर्देशक डा झाले मन्त्रालयले मापदण्ड बनाएपछि ती प्रयोगशालाले परीक्षण गर्ने अनुमति दिने बताए । अहिलेसम्म दैनिक एक लाख १५ हजार ९३७ पिसिआर र एक लाख ७८ हजार १४३ जनाको आरडिटी परीक्षण गरिएको छ । दैनिक २१ वटा ठाउँबाट करिब पाँच हजार परीक्षण हुँदै आएको छ । बिहीबार पाँच हजार १९३ जनाको पिसिआर परीक्षण गरिएको थियो । उपत्यकामा जनस्वास्थ्य प्रयोगशालासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले पिसिआर परीक्षणका लागि निजीलाई पनि दिइने सैद्धान्तिक निर्णय गरे तापनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताए । रासस
स्वास्थ्यमन्त्री ढकाल भन्छन्-कोरोनामा राजनीति मिसियो, व्यवस्थापन गर्न कठिन भयो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड १९)मा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् । नेपालमा कोरोना महामारीमा राजनीति मिसिएकाले यसलाई व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।
कृषि विकास बैंककाे कर्मचारीलाई काेराेना संक्रमण, नेकाे इन्स्याेरेन्सबाट १ लाख बीमा दावी भुक्तानी
काठमाडाैं । कृषि विकास बैंकका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएपछि नेकाे इन्स्याेरेन्सले कोरोना बीमा अन्तरगत एक लाख दावी भुक्तानी गरेकाे छ । कोरोना बीमामा परेकाे याे पहिलाे दावी तथा भुक्तानी भएको नेकाे इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक खड्काले जानकारी दिए । बैंकका सबै कर्मचारीकाे सामूहिक काेराेना बीमा नेकाे इन्स्याेरेन्स कम्पनीमा भएकाे थियाे । बैंकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मानव संशाधन विभाग प्रमुख दीर्घ बहादुर अर्याल मार्फत बीमितलाई बीमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको उनले बताए । कृषि विकास बैंकका अनुसार गुल्मी जिल्लाकाे फुर्काेट शाखामा कार्यरत अाेम बहादुर डाँगीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी हुने बताइएको छ । प्रति व्यक्ति एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ । समूहमा गर्दा एक लाखकाे बीमा प्रति व्यक्ति ६ सय रूपैयाँ र ५० हजारकाे बीमा गर्दा प्रति व्यक्ति ४ रूपैयाँमा काेराना बीमा हुन्छ । हाल यस बीमा गर्दा लाग्ने शुल्ककाे ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था बजेटमा गरिएकाे छ ।
भारतीयको बारम्बारको आक्रमण सहन नसकेपछि शसस्त्रले गोली ठोक्यो, एक जनाकाे मृत्यु
सांकेतिक तस्वीर काठमाडाैं । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिककाे मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भई सशस्त्र प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे बताइएकाे हाे । भारतीय नागरिकले नेपाल भारतका सीमानामा बाराम्बार आक्रमण गर्दै आएपछि सेनाले अनन्त गोली चलाउन बाध्य भएको हो । घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको बताइएकाे छ । प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।