क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु
स्वर्गद्वारी । प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको बिहान मृत्यु भएको छ । उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृतकसँगै रहेका १३१ जनाको पिसिआरका लागि स्वाव सङ्कलन गरी पठाइएको थियो । यसमध्ये आज ५२ जनाको रिपोर्ट आए पनि मृतक युवकको भने रिपोर्ट नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले जानकारी दिए । रासस
राष्ट्रियतामा एकताः ओली, देउवा, प्रचण्ड र झलनाथ एकैसाथ उत्रिए मतदानमा
काठमाडाैं । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्नकाे लागि बसेकाे शनिबारकाे प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपा र सबै प्रतिपक्ष दलहरुबीच एकता देखिएकाे छ । संविधान जारी हुँदा भन्दा बढी ऐतिहासिक एकता प्रस्तुत गरेको संसदले संविधान संसोधनको पक्षमा मत दिने वेलामा पनि राम्राे एकताकाे संकेत देखाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका नेता कांग्रेस सभापति शेर बहादुर देउवा सँगै मत दिन गए। उनीहरु सँसँगै मात्र गएनन खुसीका साथ कुराकानी गर्दै मतदान गर्न तर्फ दागे । उनीहरु सँसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल पछि लागेका लागे । ओली र देउवा सँगै हिडेपछि संसदले उनीहरुका लागि ताली बजाएर सम्मान गरेको थियो। त्यसपछि पालैगरि सबै सांसदहरु लाइनमा मत दिन अघी बढे । अर्काे कुरा प्रमुख प्रतिपक्ष दलका नेताले संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्रीले टेवल ठाेकेकाे इतिहास नेपालमा सायद विरलै हाेला । तर, आज संसद बैठकमा त्याे माहाेल पनि देखियाे । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गज्जवले टेवल ठाेकेका थिए ।
भारतको मध्य प्रदेशमा रोजगार मेला हुने
भुपाल । भारतको मध्य प्रदेश सरकारले रोजगार मेलाको आयोजना गर्ने भएको छ । प्रदेश भरीमा रोजगारी दिने र रोजगारी खोज्नेहरुका बीचमा समन्वय गराउने गरी मेलाको आयोजना गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई सहयोग पुग्ने उद्धेश्यले रोजगार मेलाको आयोजना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । ‘विभिन्न प्रदेश तथा देशबाट आएका आप्रवासी कामदारहरुका लागि पनि काम खोजी दिन मेलामार्फत् सहयोग पुग्ने विश्वास गरिएको छ’ एक सरकारी अधिकारीले भने । विषेश गरेर प्रदेशभन्दा बाहिरबाट फर्किएका आफ्नो प्रदेशका जनतालाई प्राथमिकतामा राखेर रोजगारदातासँग सामन्वय गरिदिन लागिएको ती अधिकारीको भनाई छ । अत्यधिक महत्वका साथ हेरिएको यो प्रदेशस्तरी मेला यही जुन महिनाको तेस्रो हप्तातिर शुरु हुने जनाइएको छ । कामदारहरुले आफै सरकारलाई रोजगारीका लागि नाम दर्ता गराउने छन्, उनीहरुलाई नै रोजगारी मेलामा बोलाइनेछ र उनीहरुलाई रोजगारदातासँग भेट गराईनेछ, सरकारी अधिकारीले भने । कारखाना सञ्चालक, निर्माण व्यवसायीलगायतसँग भेट गराएर बेरोजगारलाई रोजगारीको व्यवस्था गरिने जनाइएको छ । मेलामा सहभागी हुन आउने कामदारहरुलाई खाना तथा पानीको समेत व्यवस्था गरिनेगरी प्रदेश सरकारले योजना बनाएको छ । मेलाका बेलामा कोरोना भाइरसबाट जोगिनका लागि अप्नाउनु पर्ने आधारभूत सतर्कताहरुलाई पनि ध्यान दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क तथा पन्जा लगाउनु पर्ने लगायतका व्यवस्था पनि उनीहरुले गराउने भएका छन् । रासस/पिटिआई
युरिया र डिएपी मल अभावले किसान समस्यामा
धनगढी । धानखेती गर्ने समयमा देखिएको रासायनिक मल अभावले किसान समस्यामा परेपछि यहाँका कृषि सहकारी संस्थाले मल आपूर्तिको पहल थालेका छन् । सरकारी अनुदानको रसायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा मल मौज्दात सकिएपछि कृषि सहकारी संस्था आफँैले अनुदानको मल आपूर्तिको पहल गरेका हुन् । कोभिड–१९को समस्यासँगै जारी बन्दाबन्दीका कारण भैरहवास्थित कृषि सामग्री कम्पनीको कार्यालयबाट मल ढुवानी गरी ल्याउन असज हुँदा समयमै पर्याप्त परिमाणको मल आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनीको धनगढीस्थित कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए । मल अभावसँगै किसान समस्या पर्न थालेपछि मलको आपूर्ति गर्न चाहने सहकारी संस्थालाई कार्यालयले कृषि सामग्रीको भैरहवास्थित कार्यालयलाई सिफारिसपत्र बनाइदिन थालेको छ । “मल ढुवानी गर्ने जिम्मा लिएको ठेकेदारले बन्दाबन्दीका कारण मल ढुवानी गरी ल्याउन नसकेकाले कार्यालयमा पर्याप्त मल आउन सकेन, प्रमुख बोगटीले भने अहिले कृषि सहकारी संस्था आफैंले मल ल्याउने भनेपछि ६ सय मेट्रिक टनका लागि सिफारिस गरी पठाएका छौं ।” कृषि सहकारी संस्था कैलालीका भोजराज भट्टले धानखेती गर्ने समयमा मल अभाव भई किसान समस्यामा परेकाले सहकारी संस्था आफैंले मल आपूर्तिको पहल गरेको बताए । कृषि सामग्री र साल्ट ट्रेडिङले सहकारी संस्थामार्फत किसानलाई अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको छ । मल अभाव भएपछि खेती कसरी गर्ने भन्ने समस्या आएको कैलालीका किसान वीरबहादुर चौधरीले बताए । “एकतिर कोरोनाको डर र अर्कोतिर मल नहुँदा खेती कसरी गर्ने भन्ने समस्या आइलागेको छ, धनगढी उपमहानगरपालिका–१३ का किसान चौधरीले भने, “मल प्रयोग नगरौं भने धान उत्पादन घट्ने डर लागेको छ ।” मल मौज्दात सकिएपछि कृषि सामग्रीले थप ७ हजार मेट्रिक टन र साल्ट ट्रेडङले थप ५ हजार मेट्रिक टन मल आपूर्तिको पहल पनि गरेको छ । तर तत्काल मल आउने सम्भावना नदेखिएको भन्दै कृषि सहकारी संस्थाहरु मल आपूर्तिका लागि आफैं अग्रसर भएका हुन् । साल्टटे«डिङ कर्पोरेशनको यहाँस्थित कार्यालयले चालू वर्षमा तोकिएको कोटाअनुसार युरिया र डिएपी मल पहिले नै बिक्री गरिसकेको छ । कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले चालू वर्षमा तोकिएको कोटाअनुसारको १० हजार १ सय ३० मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिसकिएकामा अहिले अभाव देखिँदा थप मल मगाइएको बताउनुभयो । सरकारले अनुदानमा खरिद गर्नेमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत परिमाणको मल साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको जनाइएको छ । कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्पेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ । तर यो मल महङ्गो पर्ने गरेको किसानको भनाइ छ । सयममै पर्याप्त मलको आपूर्तिका लागि उचित व्यवस्थापन हुन नसक्दा खेती गर्ने समयमा वर्षेनी सुदूरपश्चिम प्रदेशका किसानले मलको अभाव झेल्दै आएका छन् । यहाँस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले चालू आवको गत साउनदेखि जेठ २२ गतेसम्म युरिया ८ हजार १ सय ८६ मेट्रिक टन र डिएपी ५ हजार ५ सय ७२ मेट्रिक टन सहकारी संस्थालाई बिक्री गरिसकेको छ । गत आवको यसै अवधिमा कार्यालयले युरिया ६ हजार ७ सय ५८ मेट्रिक टन र डिएपी ४ हजार ६ सय ७ मेट्रिक टन बिक्री गरेको थियो । कार्यालयले कञ्चनपुर र डोटी जिल्लाबाहेकका प्रदेशका अन्य सबै जिल्लामा मल आपूर्ति गर्दै आएको छ । कृषि सामग्रीको कार्यालय भीमदत्तनगरले कञ्चनपुर र डोटी जिल्लामा यो मल आपूर्ति गर्दै आएको छ । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ । सरकारले विदेशवाट मल खरिद गरेर किसानलाई बिक्री गर्दा खरिदभन्दा कम मूल्य (अनुदानित मूल्य) मा उपलब्ध गराउने गरेको छ । किसानलाई अनुदानित मूल्यमा मल उपलब्ध गराउने सरकारको नीति भए पनि दिइएको अनुदान मूल्यभन्दा महङ्गोमा मल खरिद गर्नुपरेको कतिपय किसानको गुनासो छ । मलको ढुवानी र लोड–अनलोड गर्दा लाग्ने खर्चअनुसार मलको मूल्य पनि ठाउँअनुसार फरक–फरक हुने गरेको छ । कृषि सहकारीमार्फत यो मल बिक्री वितरणको व्यवस्था गर्दा कतिपय क्षेत्रमा यो मल महङ्गो पर्ने गरेको गुनासो किसानको छ । सहकारीले मल किसानलाई बिक्री गर्दा मलको ढुवानी र लोडअनलोड गर्दा लाग्ने खर्च र केही प्रशासनिक खर्चसमेत जोडेर बिक्री गर्न पाउने मापदण्ड बनाइएको छ । तर, कुन ठाउँको सहकारीले कति मूल्यमा मल बिक्री गरिरहेका छन् भन्नेमा अनुगमन हुनसकेको छैन । लहान– धान रोपाइँ हुनै लाग्दा सिरहामा यतिबेला युरिया र डिएपी (रासायनिक मल) को चरम आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । धान रोपाइँ गर्ने बेला भएकाले मलखादको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा युरिया र डिएपी मल आभाव भएको कृषि सामग्री कम्पनी लहानका प्रमुख कमल पोखरेलले जानकारी दिए । उनका अनुसार सिरहामा तत्कालै ३ हजार बोरा डिएपी र त्यति नै परिमाणमा युरिया मल चाहिएकामा हाल कृषि सामग्रीको गोदाममा एक बोरा पनि मल छैन । गोदाम नै खाली भएपछि दैनिक मलका लागि आउने किसानलाई रित्तो हात फर्काउने गरेको प्रमुख पोखरेलको भनाइ छ । किसान रासायनिक मल खरिद गर्न दैनिक सहकारी संस्थामा आउने गरे पनि मल नपाएपछि निरास भएर फर्कने गरेका छन् । अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाइए धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत घट्ने किसानको भनाइ छ । “धानको बेर्ना लगाएदेखि नै अर्थात् जेठको पहिलो सातादेखि नै किसानलाई मलखादको आवश्यकता पर्छ, तर जेठ बित्नै लाग्दासमेत अझै मलखाद पाउन सकेका छैनौं”, सिरहाको धनगढीमाई नगरपालिका–५ का किसान प्रदीपकुमारसिंह दनुवारले भने, “पटक–पटक मलका लागि कार्यालयदेखि सहकारी संस्थासम्म धाउँदै आएँ तर अझै मल पाउन सकिनँ”, मल नपाएपछि समस्यामा परेको उनको गुनासो छ । गोदाममा भएको ४ सय ८४ मेट्रिक टन डिएपी र २ सय ६९ मेट्रिक टन युरिया गत जेठ १८ गतेदेखि २२ गतेसम्ममा बिक्री गरेकोे र अहिले मलखादको मौज्दात शून्य भएको प्रमुख पोखरेलले बताए । तत्काल चाहिने युरिया र डिएपी तीन–तीन हजार मेट्रिक टन उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पत्राचार गरे पनि अझै मल आउने वा नआउने भन्ने अन्योल रहेको प्रमुख पोखरेलको भनाइ छ । यस्तै लहानस्थित साल्ट ट्रेडिङ कम्पनीमा पनि युरिया र डिएपीको अभाव भएको जनाएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भए पनि आभाव हुँदा किसान मारमा परेका छन् । रासस
संविधानकाे दाेस्राे संशोधन विधेयक संसदबाट सर्वसम्मतिले पारित (भिडियाेसहित)
काठमाडाैं । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। उक्त विधेयक शनिबारकाे प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले पारित गरकाे हाे । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो। बैठकले संविधानको दोस्रो संशोधन विधेयककाे पक्षमा २ सय ५८ जना सांसदले मतदान गरेका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा २ सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ। सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो। सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्। Matadan Parinam लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा अनुमोदन भएको ऐतिहासिक क्षण Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020
सरिता गिरीलाई संसदमा बोल्न नदिएपछि रुष्ट हुँदै बाइकमा घर फर्किइन्
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकाेटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसदमा बाेल्न निदएपछि उनी रुष्ट हुँदै बाइकमा घर फर्किएकी छिन् । संसद भवनबाट घर फर्किँदै उनले जातिय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको पनि बताएकी छिन् । संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताइन् । सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् ।
थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो
काठमाडौं । नेपालमा थप २ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना भएकाे प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको बताउँदै नेपालमा काेराेनाबाट १८ जनाकाे मृत्यु भएकाे बताएका छन् । बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो भने गत जेठ २८ गते बुधबार वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताइएको छ। नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७३ थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
थप २ सय ७३ जनामा देखियो कोरोना
नेपालमा २ सय ७३ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा २ सय ७३ जनामा कोरेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ५ हजार ३ सय ३५ रहेको छ । जसमध्ये ९ सय १३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भइसकेकाे छ ।