गुल्मीमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु
काठमाडाैं । गुल्मीमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत रहेका उनीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएसँगै अस्पतालले जति काेशिस गर्दा पनि बचाउन असफल भएकाे बताएकाे छ । गत जेठ २ गते भारतबाट घर आएका उनी जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका र उनमा गत जेठ १२ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा राखिएको उनकाे गए राती मृत्यु भएकाे थियाे । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन्। सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ ।
पर्वतमा पहिरो: मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना वेपत्ता
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी गएर रातीको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । त्यस्तै पहिरोमा पुरिएर अझै ४ जना बेपत्ता भएका छन् । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा ५ जनाको शव फेला परेको कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकुमारी काफ्लेले बताइन् । गएराती नै भने ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो । हिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका उप्रमुख काफ्लेले जानकारी दिइन् । सम्बन्धित समाचार पर्वतमा पहिरोले पुरिएर ३ जनाकाे मृत्यु, ६ बेपत्ता
रूकुमकाे चुनबाङमा बाढीले बगायाे बसपार्क
रूकुमपूर्व । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखाैंको क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा २५ लाखदेखि ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई घट्ट र एउटा गुम्टी पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए । स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ । चुनबाङमा दाङबाट मात्र सीधा गाडी चल्छ । बसपार्क नै बाढीले बगाएपछि चुनबाङमा अहिले पार्किङका लागि अर्को कुनै क्षेत्र नभएको वडाध्यक्ष पुनले बताए । शुक्रबारदेखि परेको वर्षाका कारण शनिबार साँझसम्म पनि खोलामा पानीको बहाब नघटेपछि डोजर लगाएर खोला फर्काउने काम भइरहेको वडाध्यक्ष पुनले जानकारी दिए । बाढीकै कारण गैरीगाउँका केही घर जोखिममा परेको वडा कार्यालयले जनाएको छ । वर्षा शुरु नहुँदै बस्ती नजीकैको खोलामा बाढी आएपछि स्थानीयवासी त्रसित बनेका छन् । रासस
लकडाउनमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख
झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे । यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैंले पनि १५ लाखको खरबुजा बिक्री गरेको बताए । हरेक घरले कम्तीमा १ लाख र बढीमा १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताए । डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौं आर्जन गरेको देखेर सिको गर्दै उहाँका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट ५० लाख आम्दानी भएको छ । डिएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए । रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी ५० रूपैयाँमा बिक्री भएको खरबुजा यसपालि बन्दाबन्दीका कारण प्रतिकेजी ३० रूपैयाँमा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे । बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो । उप्रेतीले यस वर्ष ६० हजार रूपैयाँ खरबुजाकाे बिरुवा बिक्री गरेका हुन् । उनको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए । रासस
पर्वतमा पहिरोले पुरिएर ३ जनाकाे मृत्यु, ६ बेपत्ता
पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए । रासस
नेपालकाे नयाँ नक्सा: दाबी पछाडि ऐतिहासिक तथ्यमा आधारित नभएको भारतको प्रतिक्रिया
काठमाडौं । नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छोटो लिखित प्रतिक्रिया व्यक्त गर्दै ‘नेपालको दाबीको पछाडि ऐतिहासिक तथ्य वा प्रमाण नभएको’ उल्लेख गरेका छन् । ‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समेट्ने गरि नेपालको नक्सा परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा लिएका छौं । हामीले यस विषयमा पहिले नै हाम्रो धारणा प्रस्ट पारिसकेका छौं’ भारतीय प्रतिक्रियामा उल्लेख छ । ‘यो कृत्रिम विस्तार गरिएको दाबी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन् र यसको बचाउ गर्न पनि सकिन्न। साथै, थाती रहेका सीमा मुद्दाबारे वार्ता गर्ने हाम्रो वर्तमान समझदारीको यो विपरीत छ ।’ नेपालले नयाँ नक्सासम्बन्धी चालेकाे कदमलाई लिएर भारत पहिलेदेखि नै असन्तुष्ट रहँदै आएको थियो । यसैक्रममा भारतीय सेनापतिले नेपाल अरू कसैको इशारामा उचालिएको भनी गरेका टिप्पणीले दुई देशबीच थप तनाव बढेको थियो । शनिवार संसदले संशोधन प्रस्ताव पारित गरेपछि प्रधानमन्त्री केपी ओलीले भने अब भारतसँग वार्ता गरिने बताए । तर पछिल्लो भारतीय प्रतिक्रियाले वार्ताको बाटो सहज नहुने देखाएको परराष्ट्रमामिलाका सदस्यहरूले बताउँदै आएका छन् ।
नयाँ कोरोना संक्रमित देखिएसँगै इरानमा पुन लकडाउन
काठमाडौं । इरानमा थप कोरोना संक्रमित देखिएसँगै पुन लकडाउन गर्ने तयारी भइरहेको छ । विश्वमा नै पछिल्ला दिनमा नयाँ संक्रमित देखिने क्रम इरानमा पनि संक्रमणको घटना बढ्दोको छ । इरानका राष्ट्रपति हसन रूहानीले स्वास्थ्य नियमहरु राम्रोसँग पालना नभएकोले पुन लकडाउन गर्ने तयारी भएको बताए । शनिबार थप २ हजार ४ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ७१ जनाको मृत्यु भएको छ । यसका साथ इरानमा संक्रमित व्यक्तिको कुल संख्या बढेर १ लाख ८४ हजार ९ सय ५५ पुगेको छ । त्यस्तै ८ हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ । अधिकारीहरू चिन्तित छन् कि इरानमा कोरोना भाइरसको दोस्रो छाल संक्रमणको बढ्दो घटनाहरूको कारण हुन सक्छ । इरान कोरोनाद्वारा मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित देशहरूमा पर्छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख ५५ हजार २ सय ५८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३१ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको छ भने ४० लाख १९ हजार २ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १७ हजार ५ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ४२ हजार १७ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ भने अहिलेसम्म ९ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ हजार ३ सय ३५ जना संक्रमित भएका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ९ सय १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)