विकासन्युज

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १ सय ८९ घाइते

बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समय अनुसार बेलुका ४.४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो । चिनियाँ समाचा छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो । र संस्था सिन्ह्वाले दिएको जानकारी अनुसारदुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना विरूद्ध ट्राफिक प्रहरीले देखाए प्लेकार्ड

काठमाडौं । कोभिड-१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखा लगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान आइतबारदेखि शुरू गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाईरसबाट सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाएको जानकारी दिए । यसको लागि प्लेकार्डमा सँधै मास्क लगाएर यात्रा गरौं, जोर विजोर नियम पालना गरौं, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभावी हिडँडुल नगरौँ र ट्राफिक नियमको पालना गरौं जस्ता कुराहरू लेखिएका छन् । महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट काठमाडौ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख ढकालले बताए । उनले भने- ‘यस विशेष टोलीले सँधै मास्क लगाएर यात्रा गर्न, जोर विजोर नियम पालना गर्न, सामाजिक दुरी कायम गर्न, जथाभावी हिडँडुल नगर्न, भिडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन् ।’ आजदेखि दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । ‘यात्रु तथा सडक प्रयोगकर्ताहरूलाई लक्षित गरी कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ’ श्रेष्ठले भने ।

कर पारदर्शी बनाउन ‘सिंगल ट्याक्स पेयर नम्बर’ को तयारी गरिँदै (भिडियाेसहित)

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले करलाई पारदर्शी बनाउन ’सिंगल ट्याक्स पेयर नम्बर‘ को तयारी भइरहेकाे बताएका छन् । आइतबार बसेकाे प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले साे कुरा बताएका हुन् । ‘एक ब्यक्तिले ब्यापार गरेर कति कर तिरे, आय कर कति तिरे, अरु ब्यवसाय के के गरे भन्ने सबै जानकारी समेट्ने गरि आन्तरिक गृहकार्य भइरहेकाे छ, सिंगल करदाता एक ट्याक्सपेयर नंबर’ लागु गर्न चुनौती रहे पनि सरकारले योजना अघि सारेको छ,’ उनल ेभने । बैठकमा नेपाली काँग्रेसका नेता मिनेन्र रिजालले कर पारदर्शी बनाउन एक कर दाता एक ट्याक्स पेयरकाे व्यवस्था किन गर्न नसकेकाे भन्दै प्रश्न गरेका थिए । Yubraj Khatiwada 2 कर पारदर्शी बनाउन ‘सिंगल ट्याक्स पेयर नम्बर’ को तयारी गरिँदै Gepostet von Bikashnews.com am Sonntag, 14. Juni 2020

कोभिड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोभिड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भने १ लाख २ हजार ८ सय ४६ जना निको भएर घर फर्किएका छन् । अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरु सर्वाधिक प्रभावित भएको उल्लेख छ । उत्तर अफ्रिकी क्षेत्रमा कोभिड–१९ बाट भएको मृत्यु र संक्रमित दुबैको संख्या बढी छ । यद्यपी कोभिड–१९ बाट सर्वाधि असर परेका मुलुकहरुमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा १ हजार ६ सय ७७ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित इजिप्टमा संक्रमितको कूल संख्या ४२ हजार ९ सय ८० पुगेको छ । यहाँ हालसम्म १ हजार ४ सय ८४ जनाको मृत्यु भइसकेको छ । यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसंख्या रहेको इथियोपियामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ६६ पुगेको छ । अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कूल संक्रमितको संख्या ६५ हजार ७ सय ३६ पुगेको र त्यसमध्ये १ हजार ४ सय २३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) समेत लगाइएको छ । ७ वटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन् । केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन् । अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरु बन्द गरेका छन् ।  रासस–सिन्ह्वा

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

काठमाडाैं । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे । उनीहरुले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद उमाशङ्कर अर्गरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानविन गरी दोषीमाथि कारवाही माग गरे । सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौंलगायत शहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोललाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएको बताए । सांसद पे्रम सुवालले यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको,कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने गरेको जनाउँदै क्वारेन्टिनमा बसेकलाई पिसिआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश नं २ को रौतहटमा पिसिआर परीक्षण कम हुने, रिपोर्ट ढिला आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाको उपचारमा भएको खर्चको सार्वजनिक गर्न माग गरे । सांसद प्रदीप यादवले शनिबार पारित संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्ने बताए । उनले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाए । बैठकमा सांसदहरु लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पदम गिरीले पिसिआर परीक्षण बढाउन माग गरेका थिए । रासस

पर्वतमा पहिराे (अपडेट) : पुरिएका ९ जनामध्ये ८ जनाकाे शव भेटियाे, खाेजीकार्य जारी

काठमाडाैं । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने अझै १ बेपत्ता छन् । घर माथिवाट आएको पहिरोले दुई घर पुरिँदा २ परिवारका ९ जना सदस्य पुरिएका थिए । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकलगायत ८ जनाकाे शव भेटिएकाे कुश्मा नगरपालिका उपप्रमुख शान्तीकुमारी काफ्ले लामिछानेले बताइन् । शनिबार परेकाे मुसलधारे बर्षादका कारण पहिराे गएकाे र पहिराेले २ घर र पशुचाैपाय तथा घरका सदस्य सबै लगेकाे थियाे । राती नै स्थानिय तथा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल उद्धारलाई खटिरहेका छन् । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको उपप्रमुखले जानकारी दिइन । सम्बन्धित समाचार : पर्वतमा पहिरो: मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना वेपत्ता

अर्थमन्त्रीले भनेः बैंकहरुले अस्वभाविक नाफा कमाउनु हुँदैन, उद्योग बाँचे पो बैंक बाँच्छन् (भिडियाेसहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन् । उनले कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटको सामना गर्नको लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरुबीचकाे सम्बन्ध झन प्रगाढ हुनु पर्ने बताएका हुन् । ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई अस्वभाविक नाफाको अवस्थाबाट हटाएर सामान्य नाफाको रुपमा राख्नुपर्छ,  बैंकहरुले नाफा गर्न खाेज्याे भने उद्योगहरु मर्छन् त्यसपछि बैंकहरु पनि समस्यामा पर्छन्, यो समय भनेको एकले अर्कालाई सहयोग गर्ने हो,’ उनले भने । आफुले बैंकको स्प्रेड क्रमशः घटाउँदै लैजानु पर्ने धारणा राख्दै आएको बताउँदै कुनै बेलाको ८/९ प्रतिशतको स्प्रेड अहिले ५ प्रतिशतभन्दा तल छ झरहेको उनको भनाई छ । खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सामान्य नाफाको अवस्थामा राख्ने गरी कानुनी व्यवस्था गरिएको बताएका छन्। उनले उद्योगलाई अफ्ठेरो नपर्ने गरी बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर कम गर्ने पक्षमा सरकार सधैं रहेको पनि उल्लेख गरे। यस्तै, उनले नेपाल दूरसञ्चार प्राधिकरणले उठाएको रोयल्टी पनि राजस्व डाइभर्ट गरी संकलित रकम सरकारले राजस्व खातामा ल्याउन खोजिएको बताए । उनले सरकारको अनिवार्य दायित्व मासिक ४० अर्ब रूपैयाँ रहेको र त्यो धान्न अहिले राजस्व पर्याप्त नरहेको बताए । ‘भन्सारबाट मासिक १५ अर्ब उठेको छ, आन्तरिक स्रोत कमजोर भएको छ, उनले भने, अनिवार्य दायित्व पूरा गर्न थप स्रोत व्यवस्थापन गर्नुपरेको छ।’ खतिवडाले निजी महँगा विद्युतीय गाडीलाई कर लगाइएको भए पनि सार्वजनिक सवारीमा कर नलगाइएको पनि प्रष्ट पारेका छन्। Yubraj Khatiwada Gepostet von Bikashnews.com am Sonntag, 14. Juni 2020

विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंकले दियो तीन लाख रुपैयाँ

काठमाडौं । महालक्ष्मी विकास बैंकले रुपन्देहीको र चितवनको दुई विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि तीन लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको उक्त शौचालयका लागि एक लाख ५० हजार रुपैयाँको दरले उक्त सहयोग प्रदान गरेका हुन् । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । त्यसैगरी, विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।