विकासन्युज

‘कर्णालीमा नियन्त्रणमा आएन कोरोना सङ्क्रमण’

कर्णाली । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना सङ्क्रमणको ‘इपिसेन्टर’ बनेको छ । जेठ ५ गते दैलेख आठबीस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना सङ्क्रमण देखिएयता यो सङ्क्रमण अङ्कगणितीय अनुपातमा बढिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९६७ पुगेको छ । एक्काइस दिनमा ९६७ जनामा फैलिएको कोरोना सङ्क्रमण औसतमा दैनिक ४६ जना सङ्क्रमित भएको पाइन्छ । त्यसमा दैलेखमा मात्र ५३८ जना कूल सङ्क्रमित सङ्ख्याको (५६ प्रतिशत) मा यो रोगको सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । महाशाखा प्रमुख तिवारीका अनुसार सुर्खेतमा २१२, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पामा एकजनामा कोरोना पुष्टि भएको छ । रुकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । यसबाट कर्णालीमा डोल्पा, दैलेख र सुर्खेतका तीनजनाको ज्यान गएको छ । यो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित दैलेखमा दिनहुँ ३०–५० को सङ्ख्यामा सङ्क्रमित थपिने गरेको उनले बताए । भारतबाट शनिबारसम्म ४२ हजार ४३२ नागरिक कर्णाली भित्रिएका छन् । त्यसमा १४ हजार १८ नागरिक दैलेखका मात्रै भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार सुर्खेतका ११ हजार ५३०, कालीकोटका पाँच हजार १५८, जाजरकोटका तीन हजार ७७१, सल्यानका तीन हजार २८२, रुकुमपश्चिमका एक ६४३, मुगुका एक हजार ३९७, जुम्लाका एक हजार ३५७ र हुम्लाका २७५ नागरिकले कर्णाली प्रवेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख भित्रिने नागरिकहरुको अत्यधिक चाप र नमूना स्वाब सङ्कलन गरी पठाएकाको आरटी पिसिआर रिपोर्ट निकै ढिलो आएका कारण दैलेखमा तीव्र रुपमा सङ्क्रमण फैलिएको बताए । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरु पनि दैलेखको समस्यामा केन्द्रित भएर लागेको प्रजिअ कट्टेलको भनाइ छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी (भण्डारी)ले प्रदेश सरकारबाट दैलेखका लागि स्वास्थ्य जनशक्ति, स्वास्थ्य सुरक्षा सामग्री थप गरिएको बताए । “कर्णालीभरिका जिल्लाहरु मध्य दैलेखमा नै स्वास्थ्य सेवा केन्द्रित गरिएका छ”, निर्देशक जोशीले भने, “अब त्यहाँ जतिसक्दो चाँडै आरटी मेशिन सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ ।” दैलख क्षेत्र १ (क) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले भारतबाट आउने कर्णालीका नागरिकहरुको यकिन र त्यही अनुसारको व्यवस्थापनको पूर्वतयारी गर्न नसक्दा प्रदेशले अनपेक्षितरुपमा सङ्क्रमण फैलिएको बताए । “नागरिकहरु भारतबाट आउने क्रम रोकिएको छैन,” सदस्य रेग्मीले भने, “यो व्यवस्थापनमा सरकार गम्भीर भएर लाग्नुपर्दछ, अन्यथा त्यसले विकराल रुप लिन सक्छ ।” सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आज पनि दैलेखमा ३७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा तीनजनाबाहेक सबै भारतबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । यसरी दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै जाँदा प्रदेश तथा स्थानीय सरकारलाई कोरोना सङ्क्रमण नियन्त्रण ल्याउन निकै सकस हुँदै गएको छ । यता कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले अधिकांश सङ्क्रमतिहरुमा कोरोना सङ्क्रमण नदेखिएको बताए । उच्च मनोबल राख्न, खानपिन, सरसफाइ र व्यायाममा ध्यान दिन सके कोरोनालाई जोसुकैले सजिलै जित्न सक्ने भन्दै सम्पर्क व्यक्ति डा पौडेलले यसबाट कसैलाई नआत्तिन सुझाए ।

चारमहिने शिशुसहित २५ जनाले जिते कोरोना

मान्म । कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र बाजुरा जिल्लाका एकएक जना कोरोनालाई जितेर घर फर्केको सूचना अधिकारी महतले जानकारी दिए । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधार: काँग्रेस प्रवक्ता शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताए । काँग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार हो भने । प्रवक्ता शर्माले भने, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।” सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उहाँको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उनले भने, “सुनेको भरमा धारणा बनाउनु हुँदैन ।” मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए । यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली काँग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । केन्द्रीय समितिको निर्देशनबमोजिम काँग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए ।

राष्ट्र बैंकले भन्योः आवश्यक परे मात्र २ सिफ्टमा बैंक खोल्नु, नत्र पहिलेकै समय ठीक छ

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहलाइ साविककै समयमा बैंकहरू खाेल्न निर्देशन दिएकाे छ । बैंककाे नियमन विभागले आइतबार एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको हाे । यस्तै, बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ । यस्तै, बैंकहरूमा स्वास्थ्य सुरक्षाका सामग्रीहरूकाे प्रयाेग गरी  ग्राहकलाई लामबद्द रूपमा लाइनमा राख्न  निर्देशन दिएकाे छ । जेठ २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार असार १ गतेदेखि सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ । यस्तै बैंकले याे समयमा बढी भन्दा बढी डिजिटल काराेबारलाई प्राेत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई  निर्देशन दिएकाे छ । सम्बन्धित समाचार: २ सिफ्टमा बैंक खोल्ने सरकारी निर्णयकाे विपक्षमा बैंकर्स, राष्ट्र बैंकमा पुग्याे लविङ बैंक, बीमा र सहकारी २ सिफ्ट चलाउने नौटंकी बन्द गर  

मौद्रिक नीतिका लागि उद्योग परिसंघले पेश गर्यो यस्तो सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका लागि सुझावहरु आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ अधिकारीहरु समक्ष प्रस्तुत गरेको छ । परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलन गरिएका सुझावहरु परिसंघको तर्फबाट नेपाल राष्ट्र बैंकमा हस्तान्तरण गरि छलफल समेत गरेको हो । नेपाल उद्योग परिसंघले पेश गरेको सुझावमा मौद्रिक नीतिले लगानी प्रबद्र्धन गर्न व्याजदर घटाउँदै लैजाने नीति लिनु पर्ने भनिएको छ । यस अघि नै राष्ट्र  बैंकले यसतर्फ चालेको कदम स्वागत योग्य हुदा हुँदै पनि त्यो प्रयाप्त नभएको भन्दै त्यस तर्फ थप नीतिगत सुधारको आवश्यकता रहेको परिसंघले जनाएको छ । त्यस्तै हालको विषम परिस्थितिमा व्याजलाई पुँजीकरण गर्ने, कर्जाको समय बढाउनु पर्ने, थप कर्जा लिने व्यवस्था समेत सहज बनाई ऋणको पुनरसंरचना गरिनु पर्ने व्यवस्थाको समेत माग गरिएको छ । परिसंघले हालै सरकारले व्यवस्था गरेको पुनर कर्जा कोष मार्फत १५० अर्वको पुनरकर्जाको प्रवाहको प्रक्रिया सरल बनाई अविलम्ब सुरु गर्न समेत आग्रह गरेको छ । यस्तो सहुलियतपुर्ण कर्जाको सीमालाई हाल उद्योग व्यवसायको कूल ऋणको २० प्रतिशत वा २० करोडसम्म पु¥याउनु पर्ने माग राखेको छ । त्यस्तै यो कोषबाट ऋण लिन कुनै पनि प्रकारका उद्योग व्यवसायलाई बञ्चित गर्न नहुने समेत परिसंघले भनेको छ । त्यस्तै मझौला, साना तथा घरेलु उद्योगहरुलाई पुनरकर्जामा विशेष व्यवस्था गर्न समेत परिसंघले आग्रह गरेको छ । सो छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले परिसंघका सुझावहरु सान्दर्भिक रहेको भन्दै ती सुझावहरुलाई सकारात्मक रुपले हेर्ने बताएका छन् । देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको र यस्तो अवस्थामा अर्थ व्यवस्थालाई जोगाई पुनरसञ्चालनमा लैजान निकै चुनौति रहेको भन्दै राष्ट्र बैंकको यसमा प्रमुख भूमिका रहेको बताउँदै उनले सरकारले लिएको लक्ष्य हाँसिल गर्दै उद्योग व्यवसायलाई समेत सहुलियत हुने गरि आगामी नीति लिने राष्ट्र बैंकको सोच रहेको बताए । सो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, परिसंघ बैंकिङ समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

मोटर बीमाको बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन

काठमाडाैं । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी दिँदै गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको घोषणा गरिएको अवस्थालाई दृष्टिगत गरी गत जेठ ६ गते जारी भएको परिपत्रबमोजिम थन्किएको अवधिका बारेमा बीमकलाई पूर्वसूचना दिन भनेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सोमबारदेखि लकडाउनको ढाँचा परिवर्तन हुने निर्णय भएकाले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम बीमकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको हो । समितिले बीमकलार्ई लिखित रुपमा पूर्वसूचना दिई सोहीअनुसार गर्न÷गराउनु हुन निर्देशन दिएको छ ।

घरेलु लघुवित्तले तीन स्थानिय तहलाई दियो आर्थिक सहयोग

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्द लड्न ३ वटा स्थानीय निकायलाई जम्मा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले इन्द्रसरोवर गाउँपालिका, पोखरिया र बनेपा नगरपालिकाको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको दरले ३ वटा स्थानीय निकायलाई सो मात्राको सहयोग गरेको हो । सोही शाखाका शाखा प्रबन्धकहरु क्रमशः नेत्र प्रसाद निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई, सरोज कुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाई र राम प्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना कोषमा सो मात्राको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि डोटीमा २ हजार जनालाई घर पठाइयो

डोटी। भारतबाट रोजगारी गरी जिल्ला फर्किएर यहाँका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका कम्तीमा पनि १० हजार ४ सय जनामध्ये दुई हजार जनामा गरिएको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ । आज आइतबारसम्म क्वारेन्टिनबाट घर पठाइएकामध्ये एक हजार ८ सय पुरुष तथा २०० महिला रहेका छन् । उनीहरु सबैको आरडिटी तथा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाहरु भारतबाट रोजगारी गरी आएका जिल्लाका दिपायल सिलगढी नगरपालिका तथा शिखर नगरपालिका र केआई सिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी र आदर्श गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “कोरोना रिपोर्ट नेगेटिभ आएपछि हामीले क्वारेन्टिन बसेका मान्छे घर पठाउन थालेका छौँ, पहिलो चरणमा दुई हजारभन्दा बढी गएका छन्, बाँकी अन्यको रिपोर्ट आएपछि पठाइनेछ ।” कोरोना रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टिन बसेका नागरिकलाई घर पठाउन थालिएसँगै जिल्लामा निर्माण गरिएका क्वारेन्टिन खाली हुन थालेका छन् । भारतबाट जिल्लामा आएका १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एकजना कोरोना जितेर घर गएका छन् । जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेका तर आरडिटी रिपोर्ट पोजेटिभ आएका २०५ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी कैलालीस्थित धनगढी प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले बताए । उनले भने, “हामीले आरडिटी परीक्षण गर्ने क्रममा पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि धनगढी ल्याबमा पठाएका छौँ, रिपोर्ट आउन बाँकी रहेको छ ।” जिल्लामा पिसिआर परीक्षणको रिपोर्टमा पोजेटिभभन्दा नेगेटिभ आउनेको सङ्ख्या बढी भएको उनले जानकारी दिए । रासस