लालबन्दी–मरिण जोड्ने सडकको डिपिआर बनाउने सहमति
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं १३ र १४ को चुरेक्षेत्र हुँदै गाउँपालिका–५ बडीमुहान, अम्बास जोड्ने सडक निमार्णका लागि डिपिआर तयार गर्ने सहमति भएको हो । नगरपालिकाका प्रमुख मानबहादुर खड्का र गाउँपालिका अध्यक्ष पानीराज बम्जनसहितको जनप्रतिनिधिबीच भएको छलफलले दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर निर्माण गर्ने र तत्काल सञ्चालनका लागि सडकको स्तरोन्नति गर्ने सहमति भएको नगरपालिकाका उपप्रमुख शान्तिकुमारी लामाले जानकारी दिए । सडकको डिपिआर निर्माण र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ मा दुवै स्थानीय निकायले बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । “दुवै स्थानीय तहका जनप्रतिनिधिबीच छलफल भयो । तत्कालका लागि नगरपालिकाभित्र पर्ने सडक र गाउँपालिकाभित्र पर्ने सडकको स्तरोन्नति गर्ने र आगामी आवमा बजेट विनियोजित गर्ने सहमति भएको छ । दीर्घकालीनरूपमा सडक निर्माणका लागि डिपिआर तयार गर्ने सहमति भएको छ”, नगरपालिकाका प्रमुख खड्काले भने । दुवै स्थानीय निकायले आ–आफ्नो स्थानीय निकायभित्रका सडकको स्तरोन्नति गर्दा बाँकी थोरै क्षेत्रको मात्रै सडक जोड्ने काम बाँकी रहने र आर्थिक भार पनि कम पर्ने गाउँपालिकाका अध्यक्ष बम्जनले बताए । सडकको डिपिआर तयार गर्नका लागि आगामी आव २०७७÷७८ मा दुवै स्थानीय तहहरुले स्रोतले भएसम्म बजेट छुट्याउने सहमति भएको अध्यक्ष बम्जनको भनाइ छ । “यो सडक निर्माणमा स्थानीय तहहरुले मात्रै सकिँदैन । हामीले स्रोतले पुगेसम्म लगानी गर्छौँ । डिपिआरदेखि सडक निर्माणसम्मका लागि बजेट नपुगेको खण्डमा सङ्घ, प्रदेश सरकारसँग पनि बजेट माग गर्नुपर्छ ।” सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन दुवै स्थानीय तहले समन्वय गर्ने सहमति भएको दुवै स्थानीय निकायका प्रमुखले बताए । करिब ३५ किलोमिटर लम्बाइ रहेको सडक निर्माणपछि तराईसँग मरिण गाउँपालिकाको आवातजावतमा सहज हुनेछ । सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजार उक्त सडक निर्माणपछि थप व्यस्त रहने हुँदा सोहीअनुसार व्यवस्थित बनाउने नगरले तयारीसमेत गरेको नगर उपप्रमुख लामाले बताए । रासस
विदेश यात्रामाथि प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्छः डा.फाउची
काठमाडौं । मुलुकमा कोरोनाको संक्रमण नरोकिएकाले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्नेछ। कोरोना भाइरस महामारी विरूद्धको लडाईंको अग्रमोर्चामा रहेका अमेरिकी स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्ने बताए । लकडाउनलाई खुकुलो पार्नाले त्यसले दोश्रो लहरको महामारी आउनसक्ने खतरा रहेको विज्ञहरुले चेतावनी दिदैं आएका छन् । लकडाउन खुकुलो पारेसँगै अमेरिकाका कयौं शहरहरूमा पछिल्लो समय संक्रमित संख्यामा वृद्धि देखिएको छ । कोरोनाको संकट सुरू भएपछि राष्ट्रपति ट्रम्पले युरोप, चीन तथा ब्राजिलबाट हुने अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेका थिए । टेलिग्राफलाई दिएको अन्तरवार्तामा फाउचीले यो प्रतिबन्ध कोरोना विरूद्धको भ्याक्सिन नबन्दासम्म लम्बिन सक्ने बताएका छन् । अमेरिकामा २० लाख बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १ लाख १५ हजार बढीको मृत्यु भएको छ । यसैगरी कोरोना कहरको सर्वाधिक मार खेपेको न्यू योर्क राज्यका गभर्नर एन्ट्रयू कुमोले कोरोना रोक्न लगाइएको लकडाउन हटाउनु ठूलो त्रुटि हुनसक्ने बताएका छन् । ‘संसारका धेरै देशमा लकडाउन हटाएपछि संक्रमणको दोश्रो लहरको खतरा बढेको देखिरहेका छौं । विश्व स्वास्थ्य संगठन, डाक्टर फाउची र रोग नियन्त्रण केन्द्रले यस बारेमा चेतावनी दिएका छन् । यसलाई नजरअन्दाज गर्न सकिदैन’, उनले भने । (बीबीसीकाे सहयाेगमा)
आजबाट दुई सिफ्टमा कार्यालय सञ्चालन, यस्ताे छ समय तालिका
काठमाडाैं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनसमेत आजबाट सञ्चालन हुन पाउने छ । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ । बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन् । रासस
एउटै गाँउपालिका ५ जनामा काेराेना, गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ सय ४
काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ४ पुगेकाे छ । उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी.कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।
सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो
लहान । गत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो । “न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्”, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब सङ्कलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउन’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउन, भनेकाले रोकेका हौं ।’ मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब सङ्कलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब सङ्कलन नै रोकिएपछि कोरोना सङ्क्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताए । ‘‘हामीसँग अझै स्वाब सङ्कलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट सङ्कलन गर्न निर्देशन नै आएको छ”, प्रमुख यादवले भने, “त्यसैले स्वाब सङ्कलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौं ।” पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते सङ्कलन गरी पिसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १ सय ५० को मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टिनमा बसेकाहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् । गत जेठ १७ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढेकाे सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए । “दैनिक क्वारेन्टिनमा आउनेको सङ्ख्या बढ्दै गएको छ”, गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टिनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौं ।’ भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टिन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए । “हामीसँग दुई हजार श्ययाको क्वारेन्टिन छ तर अहिलेसम्म करिब १ हजार ५ सयभन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्”, प्रजिअ गुरागाईँले भने, “दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टिन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ ।” त्यसैले अब आरडिटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईँले बताए । हालसम्म सिरहामा १ हजार ८ सय ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र १ हजार ४ सय ४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिर्पोट आएको छ भने ३ सय ४२ जनाको रिर्पोट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । आरडिटी किटबाट कूल १ हजार ७ सय ७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र १ हजार ७ सय १० जनाको रिर्पोट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन् । रासस
चन्द्रागिरि नगरपालिकामा डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित
काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पु¥याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पुर्याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिए । “डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौं”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो । डिप बोरिङ निर्माणका लागि नगरपालिकाले ५० लाख रूपैयाँ, वडा नं १० ले रु ६ लाख ७० हजार तथा वडा नं ११ ले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेका थिए । यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ । सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पुर्याएको थियो । रासस
फ्रान्समा लकडाउन उल्लेख्य रूपमा खुकुलो, क्याफे तथा रेष्टुराँ पनि खुल्ने
काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोना भाइरस सङ्क्रमणका कारण लागु गरिएका लकडाउन व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ । कोभिड-१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ । टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले ूपहिलो जितू हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए । यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो । माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ । सावधान रहन आवश्यक तर राष्ट्रपति माक्रोंले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौं । सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ ।’ मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन् । ‘भाइरस फैलाउने मुख्य स्थान भन्दैू ठूला सभाहरूको आयोजनामा कडा रूपमा नियन्त्रण गर्नुपर्नेछ’ उनले भने । पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९ हजार ४ सयभन्दा बढी छ। त्यस्तै १ लाख ९४ हजारमा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो । त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो । (बीबीसीबाट)
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७९ लाख ८२ हजार ८ सय १७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ३५ हजार १ सय ६६ जनाको मृत्यु भइसकेको छ भने ४१ लाख ३ हजार ९ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १७ हजार ८ सय ५३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख ६२ हजार ४९ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ३३ हजार ८ पुगेको छ भने अहिलेसम्म ९ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ हजार ७ सय ६० जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ९ सय ७४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)