कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति खारेज
काठमाडौं । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको हो । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोना विरुद्दको अभियानमा लड्न धेरै वटा निकाय हुँदा काम गर्न असजिलो भएको भन्दै मन्त्रीहरुले मन्त्रिपरिषद् बैठकमा एउटै निकायबाट काम गर्न सजिलो हुने भन्दै सुझाव दिएका थिए । त्यसपछि सरकारले उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मार्फत काम गर्ने निर्णय गरेको छ । तर उच्चस्तरीय समन्वय समिति खारेज नै गर्ने निर्णय भएर माइन्युट नै भने नलेखिएको तर हाललाई निष्क्रिय मात्रै राखिएकोे छ । सीसीएमसीको नेतृत्व पनि उपप्रधानमन्त्री पोखरेलले नै गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समन्वय समितिभन्दा सीसीएमसी मार्फत भएका काम नै प्रभावकारी हुने देखिएकोले सीसीएमसीमा ४ जना मन्त्रीहरु पनि थप गरेका छन् । चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन गरेको थियो ।
हिमालय एअरलाइन्सको चार्टर उडानकाे तालिका सार्वजनिक
काठमाडौं । हिमालय एअरलाइन्सले विदेशबाट नेपाली नागरिक ल्याउने चार्टर उडानको तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले सोमबार एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो । एअरलाइन्सले जुन १६ मा श्रीलङ्काको कोलम्बो , माल्दिभ्सको मालेबाट नागरिक ल्याउने छ भने जुन १७ तारिख बंगलादेशको ढाका र सिंगापुर कम्कोडिायाबाट नेपालीलाई नागरिकलाई स्वदेश ल्याउने छ। यस्त्तै, जुन १८ तारिख मलेसिसयाको क्वालालम्पुर र साउदी अरयिबा दमामबाट ल्याउन जानकारी दिएको छ। जुन १९ तारिखमा पनि साउदीबाट ल्याउने दोस्रो उडान रहेको छ भने सोही दिन माल्दिभ्स मालेबाट पनि ल्याउने छ । यस्तै, जुन २० तारिखका दिन युएईको अबुधावी र बंगलादेशको ढाकाबाट पनि नेपाली नागरिक ल्याउने कार्यतालिका रहेको छ । एअरलाइन्सले ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्डर उडान हुने बताएको छ । एअरलाइन्सले काेलम्बाे र मालेकाे क्रमश: ३८० र १६५ अमेरिकी डलर, कम्कोडिाया र क्वालालम्पुर क्रमश: ५२० र ३७२ अमेरिकी डलर र दमाम र माल्दिभ्स क्रमश: ४६५ र ४८० अमेरीकी डलर ताेकिएकाे छ ।
कर्णाली र सुदूरपश्चिमलाई बजेटले न्याय गर्न नसकेको गुनासो
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको बजेटले पनि न्याय गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसद महेशकुमार महराले आगामी आवमा पनि कर्णाली र सुदूरपश्चिममा न्यायोचित र सन्तुलित बजेट विनियोजन नभएको बताए । कर्णाली र सुदूरपश्चिमको विकास बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना गर्न नसकिने भन्दै उहाँले विगतदेखि पछाडि पारिएको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको विनियोजन विधेयकले पनि उचित ध्यान दिन नसकेको गुनासो गरे । “महाकाली कोरिडोरका लागि पहिलो वर्ष पनि ३२ करोड, चालू आर्थिक वर्षमा पनि ३२ करोड र आगामी आर्थिक वर्षका लागि पनि ३२ करोड विनियोजन गरिएको छ । यो आयोजना कहिले सम्पन्न हुन्छ, अध्यक्ष महोदय ?”, पछिल्लो तीन वर्षको बजेटको दृष्टान्त पेश गर्दै उनले भने, “त्यतिमात्र होइन, विपीनगर–दिपायल–खुटिया सुरुङ मार्ग निर्माण गर्न तीन आर्थिक वर्ष ५०/५० लाख विनियोजन गरिएको छ, यसको सम्भाव्यता अध्ययन कहिलेसम्म गरिसक्ने ?” सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा ति आयोजना कहिले ठेक्का लाग्ने र कहिले सम्पन्न हुने हो भन्ने अन्योलता छाएको उनले बताए । “बजेटको रुपमा हेर्दा केही सम्बोधन गरेको जस्तो देखिएको छ”, उनले भने, “तर केलाएर हेर्दा सार पक्षमा विगत र वर्तमानमा केही फरक पाइएन ।” नेकपाकै नन्दा चपाईं बजेट विगतजस्तै भएको र कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको विकासलाई ध्यान नदिएको टिप्पणी गरे । उनले भने, “बजेट असन्तुलित र मन्त्री केन्द्रित छ । आफ्नै पार्टीको सरकार छ, दुःखका साथ भन्नुपर्छ, ‘मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ’ ।” नेकपाकै सांसद भैरवसुन्दर श्रेष्ठले भने सडक पूर्वाधार विकासमा बजेटले पर्याप्त ध्यान दिएको र विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशलाई बजेटले न्याय गरेको बताए । उनले भने, “कर्णाली प्रदेश, राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, भेरी करिडोर र कर्णाली करिडोरलाई भौतिक मन्त्रालयले विशेष बजेट विनियोजन गरेको छ । पूर्वपश्चिम राजमार्गलाई एशियाली मापदण्ड (चार लेन) को बनाउन बजेट विनियोजन हुनु सुखद पक्ष हो ।” नेकपाका अगमप्रसाद बान्तवा राईले बजेट समग्रमा राम्रो भएपनि यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सोही पार्टीका खिमकुमार विकले बजेट केही कुरामा प्रभावमुखी रहेपनि समग्रमा सन्तुलित र समय सान्दर्भिक रहेको बताए । उनले कर्णालीको विकास र समृद्धिलाई बजेटले प्राथमिकता दिएको भन्दै बजेट कार्यान्वयनका लागि क्रियाशिल पूँजीगत क्षमता वृद्धि गरिनुपर्नेमा जोड दिए । नेकपाका कविता बोगटीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा न्यायोचित बजेट विनियोजन भएको तथा एकल महिलाको सामाजिक सुरक्षा, सडक बालबालिकाको संरक्षणलगायत क्षेत्रमा पनि बजेटले सम्बोधन गरेको उल्लेख गरे । सोही पार्टीका नैनकला ओझाले समृद्धिको आधारको रुपमा रहेको भौतिक पूर्वाधारका लागि पर्याप्त बजेट विनियोजन भएको बताए । उनले रेल र पानी जहाजको कुरा उठेको लामो समय भइसकेकाले अब बजेटमार्फत ती आयोजनाले सार्थकता पाउनुपर्नेमा जोड दिए । नेकपाकै रामलखन चमारले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक बनाउने गरी बजेटमा व्यवस्था भएको उल्लेख गरे । राष्ट्रियसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्नेछ । रासस
कर्णाली प्रदेशकाे बजेट ३३ अर्ब ७३ करोडकाे, नयाँ गाडी नकिन्ने, काेराेनाकाे कारण मृत्यु भएका परिवारलाई १ लाख दिने
काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार छ। चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ। प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए। प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ। बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन्। कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक कनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन्।
प्रोग्रेशिभ फाइनान्सले ल्यायो नयाँ निक्षेप योजना, एक लाखसम्मको बीमा सुविधा पाइने
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो । यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा १ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै, न्यूनतम मौज्दात ५० हजार रुपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरु १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् । संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ । ‘एक लाखको मुद्धति खोल्नुस्, एक लाखकै कोरोना बीमा सुविधा पाउनुहोस्’ योजना अनुसार १ लाख रुपैयाँ वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि १ लाख रुपैयाँकै कोभिड-१९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ । संस्थागत ग्राहकहरुको सुविधाका लागि पनि फाइनान्स कम्पनीले नयाँ योजना अघि सारेको छ । ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्स कम्पनीले हाल ७ वटा शाखाहरु तथा ४ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा प्रवाह गरिरहेको छ ।
सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु
मोगादिशु । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ । सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिए । उनले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाब विरुद्ध सेनाले कारबाही गरेको स्पष्ट गरे । प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताए । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकूबीच भिडन्त भएको बताएका छन् । गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो । रासस–सिन्ह्वा
एशियन पेन्ट्सले सबै व्यवसायी साझेदारलाई पीपीई वितरण गर्ने
काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षा पोशाक पीपीई सामग्री वितरण गर्ने भएको छ । एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गर्ने भएको हो । साथै, कम्पनीले साझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहन कोभिड-१९ निदेशित सुरक्षाका निर्देशन गर्न अनुरोध गरेको छ ।
सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार
काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको ७ किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता ढुङ्गानाले जानकारी दिए । सहमतिसँगै चालु आर्थिक वर्षको अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । ५८ करोड लागतमा भइरहेको काम असार मसान्तसम्म नसकिने निश्चित भएको बिस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताए । बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि विद्युत्को पोल, तार लगायत संरचना हटेको छैन । सडकको काम नसकिँदा यस वर्ष पनि वर्षाद्का समयमा हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले गुनासो गरे । यसैबीच जोरपाटी चोकबाट सुन्दरीजलतिर जाने मुखका स्थानीयवासी मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि हाल त्यहाँको काम रोकिएको छ । अन्य स्थानमा भने हाल सुरक्षाका विधि अपनाएर एक समूहमा १० जना मानिसले गर्ने एवं यन्त्रले गर्न सकिने ढलका लागि हिमपाइप राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । त्यहाँभन्दा बढी कामदार जम्मा हुने काम भने हुन सकेको छैन । वर्षा अघि नै सडकमा ग्राभेलसम्म गर्न सकिने गरी काम अघि बढाइएको नगरपालिका वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले सुनाए । ग्राभेल हालेर डोजर र रोलरले सम्याएर वर्षाका समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको जनाइएको छ । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनका इञ्जिनीयर सनम श्रेष्ठ बन्दाबन्दी शुरु भएपछि सुरक्षित तरीकाले काम गर्न कामदार पाउन नसकिएको बताए । यही महीना काम सकिनुपर्ने भएपनि हालसम्म मुस्किलले ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । रासस